Skip to main content

त्यो एक दिन

रेलभित्र यात्रुहरु पस्दै थिए । म भित्र छिरे लगत्तै एउटी मगन्ते फिनिश बुढीआमा पनि रेलभित्र पसीन । रेलको टिकट बेच्ने मानिसले मलाई पुलुक्क हेर्दै, आँखा झिम्काउँदै ती बुढी आमालाई टिकट छ ? भनेर सोध्यो ! टिकट बेच्नेलाई जाँच्ने अधिकार भएपनि उनीहरुले त्यसो गरेको मैले देखेको थिइँन । उसले मलाई आँखा सन्काएका हिसावले मैले के बुझेँ भने – ऊ सायद रेलका यात्रुहरु ती बुढी आमाको माग्नेकामले आजित नहुन भन्ने चाहन्थ्यो । बुढीआमा टिकटको वैधानिकता जाँच गर्ने यन्त्र भएको ठाउँमा पुगिन, यन्त्रमा यात्रुकार्ड राखेपछि हरियो बत्ति बल्यो । बुढीआमा यथास्थानमा फर्किन । ऊ मुसुक्क हाँस्यो । बुढी आमालाई धन्यवाद भनेर चालक कक्षभित्र छिर्यो । म ट्वा परेँ !
माग्नेमान्छे समेत टिकट लिएर यात्रा गर्छ । माग्ने मान्छेलाई पनि सम्मानपूर्वक व्यवहार गरिन्छ । हाम्रो र यिनीहरुको संसार कति फरक ?! नियमका कुरा सबैलाई बरावरी लागू हुन्छ । र, नियमको सम्मान पनि त सबैले नै गर्छन । यहाँका मान्छेहरुको “सभ्य व्यवहार” को उत्कृष्ट नमुनाहरुको दृश्यपान गरेपछि मैले धेरैपटक यसरी नै ट्वा पर्नु परेको छ । 
***
एकदिन जेब्रा पारमा म, एकजना युवती र उनको बच्चासँगै भयौं । रातो बत्ती बले पनि त्यहाँ गाडीहरु ओहोेरदोहोर गरेका थिएनन् । म हतारमा थिइँन, त्यसकारण रोकीराखेको थिएँ, तर ती महिलाले जेब्रापार गरेपछि बस चढ्नुपर्ने रहेछ, बस बिसौनीमा आइसकेको थियो । उनीमा अलिकति हतासा देखेँ । हरियो बत्ति बल्यो, हामीहरुले जेब्रापार गर्नै लाग्दा, उनको बस बिसौनीबाट छुट्यो । मेरो बस आईपुग्न अझै छ मिनेट जति थियो ।  
जेब्रा पार गर्दै गर्दा मैले सोधेँ, 
तपाइँले बस छुटाउनु भो, हो ?
हो त ! थोरै निराश भावमा उनले भनीन ।
बाटो पार गर्नुभएको भए हुन्थ्यो नी त, एउटा गाडी पनि त थिएन ।
बच्चाकै अगाडि त्यस्तो गर्यो भने उसले के सिक्ला ? आफ्नो चारपाँच वर्षे बच्चालाई हेर्दै उनले प्रष्ट पारिन ।
मैले समर्थन जनाउनु नपर्ने कारण देखिन । उनले अझ प्रष्ट्याउँदै भनीन – “अधिकांश फिनिश बाबुआमाहरुले जस्तो सुकै परिस्थिती भएपनि आफूसँग बच्चा भएका बखत स–साना कुरामा ध्यान दिने प्रयत्न गर्दछन् ।” 
“तर मैले धेरैपटक देखेको छु कि स–साना बच्चाबच्चीका अगाडि फिनिस बाबुआमाहरुले वेपर्वाह धुम्रपान गरिरहेका हुन्छन् । उनीहरुले यस्तो किन गरेका ?” यसको बचाउमा उनले केही पनि भनिनन् । “यो बिडम्बनापूर्ण छ ।” उनले थप भनिन् – “तर सरकारले १८ वर्ष मुनिकालाई सूर्ति वा अल्कोहलजन्य पदार्थ किन्न र पिउन प्रतिबन्ध लगाएको छ । यसकारण पनि फिनिश बाबुआमाहरुले त्यसो गरेको हुनसक्दछन् ।” उनको यो तर्कले मेरो जिज्ञासालाई पूर्णत सम्बोधन नगरेकाले मैले उनको मत जान्न चाहेँ – “धुम्रपान गर्नेलाई भन्दा उसको वरिपरी रहेका व्यक्तिहरुलाई बढ्ता असर पर्ने हिसाबले पनि के तपाइँ सरकारले आमाबाबुहरुलाई आफ्ना बालबच्चाका अगाडि धुम्रपान गर्न प्रतिबन्ध लगाओस् भन्ने चाहनुहुन्न ?”
“म त सार्वजनिक स्थलमा हुने धुम्रपानलाई समेत प्रतिबन्ध लगाओस् भन्ने चाहन्छु ।” अलिकति मुस्कुराउँदै उनले भनिन ।
“भनेपछि तपाइँ धुम्रपान गर्नुहुन्न ?” मैले जिस्काएको भावमा सोधेँ ।
“म मदिरापान पनि गर्दिन !” उनको बोनस जवाफ आयो ।
“म पनि गर्दिन ।” मैले भनेँ ।
“त्यो हातको के ?” उनले मेरो हातमा भएको वियरको बट्टा औल्याउँदै सोधीन ।
“म गर्मी याममा कहिलेकाही एक वा दुई क्यान पिउँछु । त्यस्तै आधा लिटर भन्दा अलिकति बढी !” झुटको ढाकछोप गर्ने असफल प्रयास थियो मेरो । 
उनी चुप बसिन् । 
मैले प्रसंग बदले । बच्चातिर हेर्दै मैले उनलाई सोधेँ – “बाबुको बुबा ख्वै त ?”
“म एकल आमा (सिंगल मदर) हो । हामी पाँच वर्षजति सम्बन्धमा रह्यौं । बच्चा भैसकेपछि हाम्रो कुरो मिल्न छाड्यो । अनि हामी छुट्टियौं ।” उनले भनिन् ।
“मेरो मुर्ख प्रश्नका लागि मलाई माफ गर्नुस हैं !” विनीतभावमा मैले भनेँ ।
“हैन, केहि छैन ।” सहजतापूर्वक उनको जवाफ आयो ।
“कहाँबाट आउनुभएको ?” उनको प्रश्न थियो ।
मैले जवाफमा भनेँ – “नेपालबाट ।”
“नेपालबाट ?” आश्चर्यतापूर्वक उनले प्रश्न गरिनँ ।
“हजुर ।”
“मेरो पूर्वप्रेमी पनि नेपालको त हो नी ।” बच्चाको कपाल सुम्सुमाउँदै भनिन् । 
“या के गनुहोन्छ ?” नेपाली बोल्ने प्रयास गर्दै सोधीन ।
“म बिद्यार्थी हुँ ।” मैले जवाफ फर्काए ।
मैले केही पर म चढ्ने बस आउँदै गरेको देखेँ । मैले भने – “ल मेरो बस आयो ।”
“हामी साथी बन्न सक्छौं नी ?” उनले साथी बन्ने प्रस्ताव राखीन ।
मैले सहमती जनाएँ । मोबाइल नम्बर आदानप्रदान भयो । बसमा चढेपछि मैले उनको नम्बरमा एसएमएस पठाएँ – हाउस्का तुतुस्तुवा (तपाइँलाई भेटेर खुशी लाग्यो) !
उनले पनि खुशी भएको स्माइली :) पठाईन । 

Comments

Popular posts from this blog

को नायक? खलनायक को ?

बुडापेष्टको एउटा बगैंचामा राता र सेता गुलाफहरूबीच रहेको एक मूर्ति मुनि बसेर गिटार बजाउँदै गीत गाउँदै गरेका एक बुढा बाजेलाई खल्ति रित्ताएर पैसा दिन मन भएथ्यो । मसँग खल्ती भरी रूपैयाँ थिएन्, बुढीमाउलाई २ यूरो मागेर उनलाई दिएँ ।  बुढा बाजेले जर्मनमा केहि बोले, मैले नबुझेको अड्कल गरेर होला, उनले सोधे अङ्ग्रेजीमा "ह्वेय आर यू फ्रम ?" "नेपाल" मैले भनेँ । "वाउ क्याट्मान्डु ? यू केम फ्रम क्याटमान्डु टु बुडापेष्ट?" उनले बडो उत्साहित हुँदै प्रश्न गरे ।  मलाई झुटो बोल्न प्रायः सकस पर्छ, यसैकारण, मैले सत्य बोलिदिएँ - "नो सर। इट इज नट लाइक द्याट, आइ लिभ इन हेलसिन्की डिस्पाइट विइङ्ग ए नेपाली ।" (होइन् नी महोदय त्यसो । मान्छे नेपालको भएपनि क्याटमान्डु नभै हेलसिन्की बस्छु, म ।) छोटो तर यादगार कुराकानीमा ती बुढा बाजे आफूले नेपालका अग्ला हिमालहरू सम्झिएर, मलाई चाँहि मेरो घर सम्झाए । मैले नबुझ्ने भाषामा मन छुने संगित भरेर ती बाजेले  पूर्ववतः   गीतको भाका हाल्न थाले । उनको गायकी र उनले झंकार निकालेको गिटारको धुन पर पर सम्म पुगिरहेथ्यो, मानिसहरू प्रायः फर्केर एकपटक उ...

अनि रोशन भाइले टिपेछन् ६ बाल्टिन बेरी

गएको साल, हेर्दै कलिला देखिने दुई जना ठिटाहरू तिक्कुरिला रेल बिसौनीको कुनामा मस्त चुरोटको पफ लिदैं गरेका बेला, "भाइहरू नेपाली हो ?" भनेर मैले सोधेको थिएँ । मेरो प्रश्न भुँइमा झर्न नपाउँदै, आफूले तान्दै गरेको चुरोट आफ्नो साथीलाई दिदैँ, झन कलिलो देखिने ठिटोले भनेथ्यो, "हो दाई । कसरी पो ठम्याउनु भो ?"  दुई फरक मुहारको बनोट लिएका मानिसहरू सँगै बसेर एउटै चुरोट तान्दैछन् भने ती पक्कै नेपालीहरू हुनुपर्छ, त्यसमाथि तिमीहरू नेपाली मैं बातचित गर्दै थियौ नी त । मेरो जवाफ सुनेपछि त्यो ठिटोले कपाल कन्याउँदै भनेथ्यो, "हाउ दाजु पनि, सारै मजाको पो हुनुहुदोँ रहिछ !" मैले बात मार्न खोज्दा, निसंकोच बात मार्न खोज्ने ठिटो त पूर्वतिरको लिम्बु भाइ रहेछन् । अनि खासै बात मार्न नचाहने चाँहि रहिछन् - काठतिरका बाहुन भाइ ।  त्यो दिन ती भाइहरू हेलसिन्कीबाट सवा घण्टाको रेल यात्रामा पुगिने ठाउँबाट काम पाइने आशामा साथीलाई भेट्न आएका रहेछन् । आफूलाई भेट्न निम्ता दिएको साथीसँग भेट  नभएपछि  कामको खोजीमा हेलसिन्की झरेका उनीहरूलाई  आफू बस्ने ठाउँतिर फर्कने क्रममा मैले भेट्न पुगेको थिएँ । छोटो भ...

मेरो एउटा साथी छ (हुनुहुन्छ)

 " नीराजन, मेरो बेस्ट फ्रेन्ड हो ।" जन्मेर २६ वर्ष बिताएको देश नेपालमा मलाई यस्तो भन्ने कोही थिएन् । तर यतै फिनल्याण्ड आइपुगेपछि,  मलाई यस्तो भन्ने एक जना भेट्टिएकी थिइन् ।  जोसँग बसेर एकै कप चिया वा कफि पिएकै थिइँन्, मैले । मनभरीका बह न मैले उनीसँग केहि पोखेकै थिएँ, न त उनले विशेष केही त्यस्त्तो साझा गरेकी थिइन् मसँग । तर मलाई चिन्ने र मसँग सम्पर्कमा रहेका धेरै साथीभाइसँग उनले सुनाउन बिर्सेकी रहिन्छिन् कि निराजन उनको बेस्ट फ्रेन्ड हो ।  यो पढ्दै गर्दा यहाँलाई लाग्ला, कि आफूलाई बेस्ट फ्रेन्ड बताउने साथीका सम्बन्धमा लेख्ता पनि यसले किन भूतकालको प्रयोग गर्यो ? प्रश्न स्वभाविकै हो तर मेरो जवाफ अलिकति अस्वभाविक लाग्न सक्ला यहाँलाई । कि मलाई बेस्ट फ्रेन्ड भन्ने उनको, खासमा म  फ्रेन्ड पनि थिइँन् । न उनी थिइन्, मेरो कुनै त्यस्तो विशेष मित्र । बस्, हाम्रो सामान्य चिनजान मात्र थियो । केहि मानिसहरू हुँदारहेछन्, जो सामान्य चिनजानलाई मित्रताको नाम दिदाँरहिछन्, उनले जस्तै । अनि कोही यस्ता पनि हुँदा रहिछन् कि जोसँग हामी विशेष सामिप्यतामा भएको ठानेका हुन्छौं, तर उनीहरूका ...