Skip to main content

म पुस्तक पढ्दिनँ

पाँच वर्षपहिले नर्वेमा छँदा, एक बेलायती साथीले मुहारप्रिस्थिका (फेसबुक) मा सयवटा कितावहरुको सूची प्रस्तुत गरेपछि म निकै बेर सोचमग्न बने । अंग्रेजी साहित्यका पुस्तकहरुको सूचीमा दिइएका मध्य तीनवटा पुस्तकहरुका समीक्षा सम्म मैले पढेको रहिछु । एनीमल फार्म, ग्रेट ग्याट्सबी, वथेलो ! तर उमेरले म भन्दा ३ वर्ष कान्छी उनले एक सय मध्य सत्ताइसवटा पुस्तकहरू अध्ययन गरेकी रहिछन् । र, बाँकी त्रिहत्तर वटा पुस्तकहरू क्रमशः पढ्दै जानेमा आफू विश्वस्त रहेको पनि उल्लेख गरेकी थिईन । 
कितावसम्बन्धी उनको सम्प्रेषण पढेपछि मैले पनि नेपाली साहित्यका दशवटा पुस्तकहरुको सूची बनाएर मुहारप्रिस्थिकामा राखेको थिएँ । तीन दिनसम्म मेरो सम्प्रेषण बार्‍ह जनाले मन पारेको, र एकजना मित्रले चाँहि सूचीमा रहेको तीन वटा पुस्तकहरु अध्ययन गरेको टिप्पणी राखे । बाल्यकालमा पढिसकेको तर कथावस्तु बिर्सीसकेको एक कृति पनि मैले त्यो सूचीमा रोखको थिएँ । जुन कृति पढिसकेको भनेर टिप्पणीकर्ता मित्रले गरेका थिए । त्यसकारण, मैले मित्रवरको टिप्पणीमा विश्वेश्वरप्रसाद कोइरालाको “मोदिआइन” कृतिका बारेमा उनको धारणा जान्न चाहेँ । उनले भने – “खासै त्यस्तो विशेष छैन । अब उहाँको सृजना भएकाले अलिअलि यौन मनोविज्ञान हुने नै भो, नत्र मोदि भन्ने पात्र श्रीमानसँग झगडा गरेर माईती जान्छे, पछि फेरि यौनको तलतल, पारिवारीक दायित्व सम्झेर घर फर्किन्छे । कथा यहि हो !” मलाई मोदिआइनमा कोही मोदी पात्र भएजस्तो याद भएन । मलाई त मोदिआइन नै स्वयं मुख्य पात्र हुन भन्ने लागिरहेथ्यो । तैपनि मित्रलाई यो भेदका बारेमा जान्नलाई केहि सोधिन । 
तर जब मोदिआइन दोश्रो पटक मेरो हातमा पर्‍यो, कृतिलाई गम्भिरतापूर्वक बुझ्ने चेतना एक हिसावले उन्नत नै बनिसकेको अवस्था थियो । धर्म र शास्त्रीय मान्यतामा गहिरो बुझाई भएका विश्वेश्वरप्रसादको कृति मोदिआइन भौतिक आकारले जति सानो र तुच्छ देखिन्छ, यसले प्रसार गर्ने ज्ञान र कथाको केन्द्रिय भाव ती मित्रवरको झुटो अझै तुच्छ टिप्पणीभन्दा हजार गुणा वजनदार पक्कै थियो । लघु आकारको यो उपन्यासको कथा नै मुख्य पात्र मोदिआइनमा केन्द्रित छ । प्रेमदेखि युद्धका पाटाहरु अटाएको कृतिमा यौनमनोविज्ञान मात्र हैन मनोविज्ञानका अनेकन आयामहरु छन । 
यतातिर म रेलमा, बसमा वा हवाइजहाजमा मान्छेहरु पुस्तक पढ्न ब्यस्त भएको देख्छु । उनीहरुले पढिरहँदा मलाई कुत्कुताउँछ । कहिलेकाही म पनि आफूसँग भएका पुस्तकहरु मध्ये कुनै एउटा यात्रा गर्दा बोक्ने गर्छु । पढ्न शुरु पनि गर्छु । तर कोही परिचित मानिस कतै देखिहाले, किताव लुकाउँछु र उतैतिर कुद्छु । यहि बानीका कारण एक वर्ष पहिले किनेको एउटा किताबको एक चौथाई पनि मैले पढ्न भ्याएको छैन । किताब लुकाउनुको पनि कारण छ । मलाई मान्छेहरुले किताब पढेकै कारण “शान झारेको” नदेखुन भन्नेमा म सचेत हुन खोज्छु । तर कहिले काही मनमा यस्तो पनि लाग्छ, के आफूलाई मन परेको पुस्तक आफूनो फुर्सदको समयमा पढ्नु पनि शानको कुरो हुन्छ र ? अरुलाई प्रदर्शन गरेको हुन्छ र ? हुँदैन नी हैं !? तर हामीले यात्रामा कसैले पुस्तक पढ्दै गरेको देख्यौं भने एकपटक अवश्य सोच्छौं – उसले पढेर हामीलाई देखाएको !
गलत सूचना प्रवाह गर्नेहरुदेखि मलाइ एकदमै रिस उठेर आउँछ । जस्तै ती मित्रले जस्तो पढ्दै नपढेको कृतिमा हावादारी विवेचना गर्ने काम । नपढेको वा थाहा नभएको कुरामा त थाहा छैन वा पढेको छैन भने पनि भैहाल्छ नी । तर हामी मध्ये केहीलाई यस्तो लाग्छ कि अहिले झुटो बोलेर कसैको अगाडि सम्मानयोग्य हुन सकिन्छ भने किन झुटो नबोल्नु ? यस्तो सन्दर्भमा प्रायशः म पश्चिमेलीहरु निकै इमान्दार अनि विश्वसनीय भएको पाउँछु । एकपटक एक फिनिश साथीको घरमा रुवान्डाको नरसंहार सम्बन्धी एउटा किताब देखेँ । “ब्रोकन मेमोरीः अ स्टोरी अफ रूवान्डा” ! मैले उनलाई त्यो पुस्तकका बारेमा सोधेँ । उनले किताब पढ्न नभ्याई सकेको कुरा बताए । सायद उनले पढेको छु भनेर सामन्यतयाः रुवान्डाको नरसंहारका बारेमा एकदुई कुरा भनेका भए मैले उनको कुरा अविश्वास गर्नुमा कुनै कारण रहने थिएन । एकछिनका लागि झुटो बोलेर पछि आफ्नो विश्वसनीयता गुमाउनुभन्दा त्यसो नगर्नु उनलाई वेश लागेको हुनुपर्छ । 
पुस्तक पढ्ने बानीले हामीलाई तार्किक बन्न मद्यत गर्छ भनेर पढ्ने हैन, खासमा पुस्तकहरुले हामीलाई मूर्ख हुनबाट जोगाइराखेका हुन्छन् । फुर्सदका समयमा बेकामका चिया गफमा अल्झिनुभन्दा, वा चोके गफहरुमा मस्तिनु भन्दा, एउटा किताव पढौं । त्यसले जीवनका अनेकन् आयामहरुलाई बुझ्न मद्यत गरोस् । यदि आफूले पढ्न खोजेको किताव अझै लेखिएको छैन भने १९९३ को साहित्यतर्फको नोबेल पुरस्कार विजेता अमेरिकी लेखिका टोनी मोर्रिसनले भने झैं “आफैले त्यो लेख्नुपर्छ !” को मर्मलाई पनि बुझिदिओं । 
पुस्तकका विषयमा कुरा गर्दैगर्दा समकालिन विश्व साहित्यका एक हस्ती, जापानी लेखक हारुकी मुराकामीको एक भनाई उद्दरित गर्नु मन लाग्छ । उहाँ भन्नुहुन्छ – "यदि तिमी अरुले पढेजस्तै किताब मात्र पढ्छौं भने तिमी पनि त्यही मात्रै सोच्नेछौ जुन उनीहरुको जस्तै हुनेछ ।” हाम्रो सोचाइको दायरा फगत चिया गफहरुले वा चोके गफहरुले विस्फारित हुन सक्दैन । सोचाइको दायरा बढाउनलाई पनि हामीले पुस्तकहरु अध्ययन गर्ने बानीको विकास गर्नु जरुरी छ ।

Comments

Popular posts from this blog

को नायक? खलनायक को ?

बुडापेष्टको एउटा बगैंचामा राता र सेता गुलाफहरूबीच रहेको एक मूर्ति मुनि बसेर गिटार बजाउँदै गीत गाउँदै गरेका एक बुढा बाजेलाई खल्ति रित्ताएर पैसा दिन मन भएथ्यो । मसँग खल्ती भरी रूपैयाँ थिएन्, बुढीमाउलाई २ यूरो मागेर उनलाई दिएँ ।  बुढा बाजेले जर्मनमा केहि बोले, मैले नबुझेको अड्कल गरेर होला, उनले सोधे अङ्ग्रेजीमा "ह्वेय आर यू फ्रम ?" "नेपाल" मैले भनेँ । "वाउ क्याट्मान्डु ? यू केम फ्रम क्याटमान्डु टु बुडापेष्ट?" उनले बडो उत्साहित हुँदै प्रश्न गरे ।  मलाई झुटो बोल्न प्रायः सकस पर्छ, यसैकारण, मैले सत्य बोलिदिएँ - "नो सर। इट इज नट लाइक द्याट, आइ लिभ इन हेलसिन्की डिस्पाइट विइङ्ग ए नेपाली ।" (होइन् नी महोदय त्यसो । मान्छे नेपालको भएपनि क्याटमान्डु नभै हेलसिन्की बस्छु, म ।) छोटो तर यादगार कुराकानीमा ती बुढा बाजे आफूले नेपालका अग्ला हिमालहरू सम्झिएर, मलाई चाँहि मेरो घर सम्झाए । मैले नबुझ्ने भाषामा मन छुने संगित भरेर ती बाजेले  पूर्ववतः   गीतको भाका हाल्न थाले । उनको गायकी र उनले झंकार निकालेको गिटारको धुन पर पर सम्म पुगिरहेथ्यो, मानिसहरू प्रायः फर्केर एकपटक उ...

अनि रोशन भाइले टिपेछन् ६ बाल्टिन बेरी

गएको साल, हेर्दै कलिला देखिने दुई जना ठिटाहरू तिक्कुरिला रेल बिसौनीको कुनामा मस्त चुरोटको पफ लिदैं गरेका बेला, "भाइहरू नेपाली हो ?" भनेर मैले सोधेको थिएँ । मेरो प्रश्न भुँइमा झर्न नपाउँदै, आफूले तान्दै गरेको चुरोट आफ्नो साथीलाई दिदैँ, झन कलिलो देखिने ठिटोले भनेथ्यो, "हो दाई । कसरी पो ठम्याउनु भो ?"  दुई फरक मुहारको बनोट लिएका मानिसहरू सँगै बसेर एउटै चुरोट तान्दैछन् भने ती पक्कै नेपालीहरू हुनुपर्छ, त्यसमाथि तिमीहरू नेपाली मैं बातचित गर्दै थियौ नी त । मेरो जवाफ सुनेपछि त्यो ठिटोले कपाल कन्याउँदै भनेथ्यो, "हाउ दाजु पनि, सारै मजाको पो हुनुहुदोँ रहिछ !" मैले बात मार्न खोज्दा, निसंकोच बात मार्न खोज्ने ठिटो त पूर्वतिरको लिम्बु भाइ रहेछन् । अनि खासै बात मार्न नचाहने चाँहि रहिछन् - काठतिरका बाहुन भाइ ।  त्यो दिन ती भाइहरू हेलसिन्कीबाट सवा घण्टाको रेल यात्रामा पुगिने ठाउँबाट काम पाइने आशामा साथीलाई भेट्न आएका रहेछन् । आफूलाई भेट्न निम्ता दिएको साथीसँग भेट  नभएपछि  कामको खोजीमा हेलसिन्की झरेका उनीहरूलाई  आफू बस्ने ठाउँतिर फर्कने क्रममा मैले भेट्न पुगेको थिएँ । छोटो भ...

यो के गर्यौ तिमीले मेरा प्यारा हन्तकालीहरू हो?

"सर, चाउमिन बाँकी रह्यो । एक प्लेट थपिदिऊँ ?" स्कुलको क्यान्टिनका मुख्य कुक पाण्डे दाईले मलाई कान मैं आएर भनेपछि मैले नाइँ भन्नुपर्ने कारण देखिनँ ।  वाइवाइ चाउचाउको चाउमिन यस्तो मीठो थियो कि एक प्लेट खाँदा पनि मेरो जिब्रोको भोक मेटिएकै थिएन् । मैले अर्को प्लेट हसुरेँ ।  पाण्डे दाईले थपिदिएको त्यो उभ्रेको एक प्लेटबाट दोस्रो चोटी काँटामा बेरेर मैले मुखमा पुर्याउनै आँटेको के थिएँ, टेबलटेनिसको पुरानो हरियो टेबलमाथि बसेर भर्खर सकिएको दोस्रो त्रैमासिक परीक्षाको कापि जाँच्दै गरेका जनसंख्या शिक्षक एवं म अध्यापनरत विद्यालयका संस्थापक नराम्ररी बिच्किए । भन्दै थिए, "यहाँ आफूले एक प्लेट पाइया छैन्, सरले दुइ प्लेट नै उठाइदिने ?"  भोकले रन्थनिएका केसी सरले अहिले मैले मिलाएर लेखेको भन्दा तिखा शब्दहरू उनेर केहि भनेका थिए । सायद उनको ठाउँमा म र मेरो ठाउँमा उनी भएका भए त्यसबखत उनले मलाई मारेभन्दा बड्ता पेचिलो डायलग म मार्ने थिएँ होला । डायलग मार्न म बच्चैदेखि खप्पिस हुँ ।  तर त्यो वखत डायलग बेहोर्नेमा म थिएँ, मार्ने अर्को कोही । एकैछिन अघिसम्म मीठो भएको त्यो वाइवाइ चाउचाउको चाउमिन के...