Skip to main content

अत को मनको भडाँस

समकालिन अंग्रेजी साहित्यका युवा कवि क्रिश जेमीको एउटा भनार्इ छ - 
“There are two circumstances that lead to arrogance: one is when you're wrong and you can't face it; the other is when you're right and nobody else can face it.” 
(दुर्इ वटा परिस्थतिहरू जसले आक्रोशपूर्ण अवस्थामा लैजान्छन् - एउटा जतिखेर तिमी गलत हुन्छौं, र त्यसको सामना गर्न सक्दैनौ, र अर्को त्यतिखेर जतिबेला तिमी सहि हुन्छौ तर अरू कसैले  त्यसको सामना गर्न सक्दैनन् ।)
दुरूस्तै यहि भनार्इको सादा अर्थ, अहिले हामीले भोगिरहेकाे अवस्था हाे । ६५ बर्ष अगाडिदेखिको सार्वभौम सत्ता सम्पन्न जनताको चाहनाअनुरूप संविधानसभाले संविधान जारी गर्यो, खुशियाली मनाउनुपर्छ । दिपावली गराउनुपर्छ । एशियाकै उत्कृष्ट संविधान आएको छ । जोजससँग असन्तुष्टिहरू छन् ती पनि समयक्रमसँगै संबोधन हुँदै जान्छन् । बग्रेल्ती यस्तै टिप्पणीहरू सुनेँ, पढेँ । ९० प्रतिशत भन्दा बढी जनताका प्रतिनिधीहरूले हस्ताक्षर गरेको संविधान जारी हुँदा एक नेपाली हुनुको नाताले प्रफुल्ल हुनुपर्ने हो तर हृदयदेखि मुस्कान मेराे निस्किन सकेन, मलार्इ माफ गर्नुहोला । तर यहि आधारमा मलार्इ - तँ नेपाली हैनस् नभनिदिनुहोला, चित्त दुख्छ मेरो । 
छिमेकी देशमा संविधान जारी हुँदा, स्वागत गरेन, भारतले अघोषित नाकाबन्दी गर्यो । डटेर सामाना गरौं । त्यसले नाकाबन्दी गरे के भो ? चिन छँदै छ ! भूकम्पले प्रभावित नाका यथाशिध्र खोल्नुपर्छ, अरू संभावित नाकाहरू पनि सुचालू गराउनुपर्छ । भारतीय च्यानलहरू बन्द गरौं । पेट्रोल नपाए केहि हुँदैन, साइकल चढौंला । हाम्रो स्वाभिमान गिर्न दिनु हुँदैन । नेपाली शीर ठाडो पारेर हिड्नुपर्छ कटबाँस जस्तो । उसको देशमा भएका असमझदारीका बारेमा हामीले कहिल्यै हस्तक्षेप गरेनौं, उसले कसरी हाम्रो स्वाधिनतामा दख्खल दिन पाउँछ ? यस्ता थुप्रै टिप्पणीहरू गरिए, भनिए, । भारतको पछिल्लो रबैयाबाट अाघात पुग्नुपर्ने थियो, त्यो क्षोभ ममा पैदा भएन । माफ गर्नुहोला  । तर यहि आधारमा म एक सामान्य युवालार्इ भारतीय एजेन्ट नठानिदिनुहोला, चित्त दुख्छ मेरो । 
एक थान संविधान जारी त भएको छ, तर थुप्रै विमति र असमझदारीबीच जारी भएको संविधान जसले देशको आधा हिस्सा ओगटेको जनसंख्यालार्इ खुशी पार्न सकिरहेको छैन त्यस्तो अवस्थामा सचेत युवाका हिसाबले मलार्इ यो दिपावली मनाउने हदको खुशीको क्षण हो भन्ने लागेन । मैले यसको पूर्ण समर्थन गर्न सकिनँ । भन्न त ९० प्रतिशत जनताका प्रतिनिधीहरूको हस्ताक्षरबाट आएको भनिएको संविधान भनिएको छ, तर ९० प्रतिशतभन्दा बढी जनताले सुझाएको प्रतक्ष्य कार्यकारीको सुझावलार्इ रद्दीको टोकरीमा फ्याकेर देशलार्इ मुलधारका दुर्इ/तीन दलको मनखुशीमा नचाउने प्रपञ्चका साथ संसदीय ब्यवस्था लादिए पछि मैले कसरी मान्न सक्छु यो ९० प्रतिशत जनताको जनप्रतिनिधीहरूको सहभागिताले पारित गरेको संविधान हो ? भनिएला, नब्बे प्रतिशतको हस्ताक्षर छ, लोकतान्त्रिक प्रक्रियाबाट आएको हो । तर अचम्म लाग्दो यस्तो लोकतान्त्रिक प्रक्रिया जहाँ सभासद संसोधन प्रस्ताव राख्न पाउँदैन, राखिएको संसोधन प्रस्तावमा स्वस्थ छलफल र बहस हुँदैन । हुन्छ र हुन्नको ध्वनी मतका आधारमा संविधानका धाराहरू पारित हुँदै जान्छन । अनि त्यहि ९० प्रतिशतको आलाप लगाएर संविधानको वैधता प्रष्ट्रयाउन जोरजबरजस्ती गर्न खोज्ने कथित राष्ट्रवादी नेताहरूको रवैयाले मलार्इ वाक्क पारेको छ ।
संविधानसभाका हलमा कर्मकाण्डी प्रक्रिया चलिरहँदा देशको आधा हिस्सा ओगट्ने जनसंख्या सडकमा ओर्लिदा, राज्यको प्रभावकारी भूमिका किन हुन सकेन ? के ती नेपाली जनताहरू हैनन् ? के तीनका मागहरूका विषयमा संवाद हुन सक्दैन ? निरंकुश चित्रित गरिएको राजसंस्था परिवर्तनका लागि २५ जनाको शहादत काफि थियो, तर युगौको आन्तरिक उत्पीडन अन्त्यका लागि ४२ जनाको बलिदानी काफि छैन मेरो देशका शासकहरूका लागि । के ती मधिसे थारूहरूको जीवनको कुनै मूल्य छैन ? मेरो स्पष्ट मान्यता हो, राज्य अभिभावक हो । के जनतालार्इ अधिकतम खुशी दिनुपर्ने राज्य संचालकहरूको दायित्व होइन र ? 
सामाजिक संजालमा चलिरहेको नेपाली राष्ट्रवादी अभियानमा मेरो पृथक मान्यता रह्यो, यसैकारण म जस्तै विदेशिएका तर दोश्रो विश्वयुद्दपूर्वका जर्मन नाजीहरू भन्दा खुँखार राष्ट्रवादी एक मित्रले मलार्इ भारतमा बसार्इ सर्न चेतावनीयुक्त आग्रह गरे । जापानको विस्फारीत चेतनामा रहेर पनि आफ्नो दिमागको संकुचनलार्इ अझ फराकिलो पार्न नसकेका नबनेपाली नाजी मित्रको मनोदशाले मलार्इ एउटा प्रश्न गर्न बाध्य बनायो - भारतले दुर्इतीन दिन अघोषित नाकाबन्दी लगाउँदा थला पर्ने कस्तो राष्ट्र निर्माण गरेका रहिछन् हाम्रा नेताहरूले ? मित्र, यति कमजोर धरातलको तिम्रा राष्ट्रवाद कति दिगो छ ? आफूभन्दा फरक नश्लको समुदायलार्इ घृणा गर्ने राष्ट्रवादले साँचो हैन खोक्रो राष्ट्रवादको जन्म गराउँछ । अंग्रेजी वाक्यमा बुझाउन चाहेँ - Such Nationalism creates xenophobes. अहिलेको अपरिहार्यता भारतविरोधी राष्ट्रवाद हो या देश निर्माण गर्ने राष्ट्रवाद ? आत्मनिर्भर हुने राष्ट्रवाद ? दक्षिण कोरियाको राष्ट्रवाद या उत्तर कोरियाको राष्ट्र्वाद ? भारत बिरोधी भावनाको विकासले हाम्रो राष्ट्रियतामा के टेवा दिन्छ ? के यसले मानिसहरूलार्इ हिंसा भड्काउन मद्दत गर्दैन ? हिंसा भड्काउने मध्यपूर्वका देशहरूको राष्ट्रवाद भनेको - स्वाधिन जनताहरूलार्इ फिरन्ते, भगुवा र निरीह शरणार्थी बनाउने नै हो । यसप्रति सचेत हुनुपर्छ कि पर्दैन ? 
मलार्इ लाग्दछ, आडम्बरी देशभक्तिको जुग सकियो, यो युग भनेको चेतनाले भरिएको राष्ट्रियता निर्माण गर्ने युग हो । जसले अन्तर्राष्ट्रिय सम्बन्धहरूको सबलिकरण र आफ्नै राज्यसत्ताप्रति आलोचनात्मक समर्थनमा महत्व दिन्छ । अन्ध राष्ट्रवादको जबरजस्त पक्षपोषणले मानिसलार्इ एउटा कुनै देशको नागरिक हुनुमा गर्व त गराउँला तर मानिस हुनुमा आत्मसन्तुष्टि दिन सक्दैन । हाम्रा लागि भारतले के गर्यो वा गर्छ भन्दा हाम्रा शासकहरूले के गर्दैछन् वा गर्छन् ? के दिए वा दिएनन ? के सके वा सकेनन ? हामी भित्र साँचो राष्ट्रवाद छ वा छैन ? भन्ने बुझार्इ प्रधान हो । आज खुलेर राष्ट्रवादका बारेमा सामाजिक संजालका भित्ता रंगाउने मेरा साथीहरूले कुनै सम्पन्न मुलुकको लागि देशको स्वाभिमान बन्धक राखेको सुन्नु र देख्नु नपरोस् । एक अराष्ट्रिय ब्यक्तिको राष्ट्रिय ब्यक्तिहरूलार्इ शुभकामना छ । जय नेपाल ! जय नेपाली !!!

Comments

Popular posts from this blog

मेरो एउटा साथी छ (हुनुहुन्छ)

 " नीराजन, मेरो बेस्ट फ्रेन्ड हो ।" जन्मेर २६ वर्ष बिताएको देश नेपालमा मलाई यस्तो भन्ने कोही थिएन् । तर यतै फिनल्याण्ड आइपुगेपछि,  मलाई यस्तो भन्ने एक जना भेट्टिएकी थिइन् ।  जोसँग बसेर एकै कप चिया वा कफि पिएकै थिइँन्, मैले । मनभरीका बह न मैले उनीसँग केहि पोखेकै थिएँ, न त उनले विशेष केही त्यस्त्तो साझा गरेकी थिइन् मसँग । तर मलाई चिन्ने र मसँग सम्पर्कमा रहेका धेरै साथीभाइसँग उनले सुनाउन बिर्सेकी रहिन्छिन् कि निराजन उनको बेस्ट फ्रेन्ड हो ।  यो पढ्दै गर्दा यहाँलाई लाग्ला, कि आफूलाई बेस्ट फ्रेन्ड बताउने साथीका सम्बन्धमा लेख्ता पनि यसले किन भूतकालको प्रयोग गर्यो ? प्रश्न स्वभाविकै हो तर मेरो जवाफ अलिकति अस्वभाविक लाग्न सक्ला यहाँलाई । कि मलाई बेस्ट फ्रेन्ड भन्ने उनको, खासमा म  फ्रेन्ड पनि थिइँन् । न उनी थिइन्, मेरो कुनै त्यस्तो विशेष मित्र । बस्, हाम्रो सामान्य चिनजान मात्र थियो । केहि मानिसहरू हुँदारहेछन्, जो सामान्य चिनजानलाई मित्रताको नाम दिदाँरहिछन्, उनले जस्तै । अनि कोही यस्ता पनि हुँदा रहिछन् कि जोसँग हामी विशेष सामिप्यतामा भएको ठानेका हुन्छौं, तर उनीहरूका ...

अनि रोशन भाइले टिपेछन् ६ बाल्टिन बेरी

गएको साल, हेर्दै कलिला देखिने दुई जना ठिटाहरू तिक्कुरिला रेल बिसौनीको कुनामा मस्त चुरोटको पफ लिदैं गरेका बेला, "भाइहरू नेपाली हो ?" भनेर मैले सोधेको थिएँ । मेरो प्रश्न भुँइमा झर्न नपाउँदै, आफूले तान्दै गरेको चुरोट आफ्नो साथीलाई दिदैँ, झन कलिलो देखिने ठिटोले भनेथ्यो, "हो दाई । कसरी पो ठम्याउनु भो ?"  दुई फरक मुहारको बनोट लिएका मानिसहरू सँगै बसेर एउटै चुरोट तान्दैछन् भने ती पक्कै नेपालीहरू हुनुपर्छ, त्यसमाथि तिमीहरू नेपाली मैं बातचित गर्दै थियौ नी त । मेरो जवाफ सुनेपछि त्यो ठिटोले कपाल कन्याउँदै भनेथ्यो, "हाउ दाजु पनि, सारै मजाको पो हुनुहुदोँ रहिछ !" मैले बात मार्न खोज्दा, निसंकोच बात मार्न खोज्ने ठिटो त पूर्वतिरको लिम्बु भाइ रहेछन् । अनि खासै बात मार्न नचाहने चाँहि रहिछन् - काठतिरका बाहुन भाइ ।  त्यो दिन ती भाइहरू हेलसिन्कीबाट सवा घण्टाको रेल यात्रामा पुगिने ठाउँबाट काम पाइने आशामा साथीलाई भेट्न आएका रहेछन् । आफूलाई भेट्न निम्ता दिएको साथीसँग भेट  नभएपछि  कामको खोजीमा हेलसिन्की झरेका उनीहरूलाई  आफू बस्ने ठाउँतिर फर्कने क्रममा मैले भेट्न पुगेको थिएँ । छोटो भ...

अनि मलाई खुबै राजनीति लाग्छ ...

कहिले काही मैले फोकस गुमाएको जस्तो मेरा नजिकका प्रिय मान्छेहरूले महशुस गर्नुहुन्छ ।  राजन दाईले अस्ति फोन गरेपछि पो झल्याँस्स भएँ । वहाँको गुनासो मिश्रित प्रश्नले सिधै मेरो दिमागमा झड्का दिन पुग्यो, दाईसँग खास घुलमिल नभएकाहरूलाई चाँहि वहाँको प्रश्नले दिमागमा हैन् सिधैं मुटुमा हान्न सक्छ । वहाँका प्रायः प्रश्नहरू तारा खेलमा निशाना लगाउन प्रयोग हुने वाण जस्तो सिधा र तिखो हुन्छन् । जस्तो मेरो दिमाग मैं झङ्कार लेराउने प्रश्न थियो वहाँको,  "हैन पाक्षिक रूपमा ब्लग अद्यावद्यिक (अपडेट) गर्छु भन्या हैन् ? एक महिना पुग्न लाग्यो त सर !"    मलाई व्यंग्य गर्नुपर्दा दाइले सर भन्नुहुन्छ, अनि वहाँलाई चाहिँ म भन्छु, साहुजी । यत्तिमा मात्र दाजुको प्रश्न सिमित हुन्थ्यो भने, सायदै म आजको यो ब्लग लेख्न बस्थेँ । तर वहाँको प्रश्नसँग व्यंग्यमिश्रित सानो जिज्ञासा पनि थियो, "खुबै चुनाव लाग्या छ हैन् तिमीलाई !?" यो जिज्ञासामिश्रित व्यंग्य हो या व्यंग्य मिसिएको जिज्ञासा । या यो जिज्ञासा हुँदै नभएर केवल व्यंग्य मात्र थियो । तर जेहोस् यो केहि न केहि चाँहि पक्कै थियो ।  खुबै चुनाव लाग्ने आफत ...