Skip to main content

कम्प्यूटर, इन्टरनेट र म

एस. एल. सी. अर्थात प्रवेशिका परीक्षापछि नतिजा प्रकाशित हुन्ज्यालसम्मको करिब साढे तीन महिनाको फुर्सदमा कम्प्युटर चलाउन सिक्ने चलन भर्खर शुरू हुँदै थियो । त्यहि छेकोमा मैले पनि कम्प्युटर सिक्ने अवसर पाएथेँ । घरबाट ७ किलोमिटर टाढा रहेको बागलुङ बजारमा रहेका एक नातेदारको कम्प्युटर शिक्षणालयमा म अरू २ जना हितैषीहरूसँग कम्प्युटर सिक्न जान्थेँ । बाले इन्सिच्युट नजिकैको चियानास्ता पसलमा कम्प्युटर सिकेपछि खाजा स्वरूप चिया बिस्कुट खाने ब्यवस्था गर्दिनुभएको थियो ।  एक प्याकेट नुनिलो बिस्कुट र एक कप चिया खाएर साढे २ महिना जति मैले कम्प्युटर सिकेँ । कम्प्युटर सिक्दा किबोर्डमा भएका अक्षर नहेरी टाइप गर्ने प्रशिक्षक देख्दा, मनमनै लाग्थ्यो कि मैले पनि उनले जस्तै कहिले सम्म टाइप गरूँला ? अतः देब्रे हातको कान्छी औंलामा ए, साइलीमा एस, माझीमा डि, यस्तै गरी अरू औंलामा अरू अक्षरहरू लेखेर टाइपिङ क्षमतालाई निखार्ने मेरो प्रयास रहन्थ्यो । पछि प्रशिक्षकले टाइपशालाको रामायण खेल खेल्न सिकाए, जुन खेलले मेरो टाइपिङमा धेरै सुधार ल्याउन मद्दत गर्यो ।

टाइपिङमा अलिकति अभ्यस्त हुन थालेपछि मैले माइक्रोसफ्ट वर्ड, एक्सेल, पेजमेकर सिकेको थिएँ । पछिपछि त पेजमेकरमा पत्रिकाको डिजाइन पनि गर्न थालेँ । अलिपछि मैले कम्प्युटरमा इन्टरनेटको प्रयोगका बारे जान्न थालेपछि हटमेलमा एउटा इमेल ठेगाना बनाएँ । २० बर्षको उमेरमा पुग्दै गर्दा मैले पहिलोपटक इमेल इन्टरनेटका बारे थाहा पाएको थिएँ । आज फर्केर हेर्दा त्यहि दिनदेखि मैले भर्चुअल दुनियाँमा रम्ने लतको विकास गरेकी भन्ने लाग्दछ । कुनै पनि सेवा सुविधाको उचित प्रयोग र अति प्रयोगले मानिसको जीवनमा छुट्टै तरिकाले प्रभाव पार्दो रहिछन् भन्ने बुझ्नलाई मैले १३ बर्ष खर्च गर्नुपर्ने स्थिति बनेछ ।

म सामाजिक संजालमा हामीले बिताउने समयले लाभभन्दा धेरै हानी नै पुर्याउँछ भन्ने निचोडमा पुगेको छु । यस्तो निचोडमा पुग्नुका केहि कारणहरू छन् । तीनलाई म बुँदागत रूपमा उल्लेख गर्ने प्रयास गर्दछु ।

१. फरक एवं झुटो व्यक्तित्व
सामाजिक संजालमा अधिकांश मानिसहरू आफूहरूलाई फरक तरिकाले प्रस्तुत गरिरहेका हुन्छन । साथै, अर्को ब्यक्तिलाई पनि फरक ब्यक्तित्वका रूपमा स्वीकार गर्न विवश छन । सामाजिक संजालमा हामीहरू वास्तविक जीवनमा जे जस्ता छौं या हुन्छौं त्यो रूपमा नै प्रस्तुत गर्न सकिरहेका छैनौं । सक्दैनौ पनि । यसले हाम्रो व्यक्तित्वलाई निर्माणभन्दा ध्वंस गर्ने सम्भावना रहन्छ ।


२. सामाजिक संजाल - कुण्ठा बिसाउने चौतारी
सामाजिक संजाल धेरै मानिसहरूका लागि घृणा, आवेग, फरक मत, निन्दा, भत्सर्ना, कुण्ठा एवं निराशा पोख्ने ठाउँ बनेको छ । केहि हदसम्म म स्वंयलाई नै महशुस हुने गरी स्वंयले त्यस्ता पीडादायी अनुभवहरू सार्वजनिक गर्ने गरेको छु । यसले केहि हदसम्म ब्यक्तिमा रहेको निराशाको भावबाट मुक्त हुने अवसर त देला तर आफ्नो आत्मसन्तुष्टिका लागि मैले पोख्ने निराशाहरूले त्यो ग्रहण गर्ने ब्यक्तिलाई चैं मलाई जत्तिकै आनन्ददायक अनुभूति दिने निश्चित गर्न सकिदैन ।  त्यस्तै, विभिन्न मिडियामा प्रकाशित समाचारहरूलाई आधार मानेर कुनै पनि विषयको पक्ष या विपक्षमा रहेर बहस गर्दा कहिल्यै पनि ठोस निश्कर्षमा पुग्न नसक्ने स्थिति बन्दो रहिछ ।

३. नभएको ठाउँमा हुनू र भएको ठाउँमा नहुने स्थिति
भर्च्युल दुनियाँमा व्यस्त हुँदै गर्दा हामीले हाम्रै वरिपरी हुने गरेका घटनाहरूमा उति चासो नराख्दा रहिछौं । मेरै व्यक्तिगत अनुभवमा पनि सामाजिक संजालमा अत्याधिक सक्रियताले मैले मेरो आफ्नो जिन्दगी बाँच्न नै बिर्सिन थालिसकेको रहिछु । निन्द्राले छाड्दा बितिकै फेसबुकमा कसले के लेखे ? कसले मेरो सम्प्रेषणमा के टिप्पणी दियो ? इन्स्टाग्राममा कसले के खाएको या लगाएको तस्वीर राख्यो ? यस्तै यस्तै अनावश्यक गतिविधीहरूमा व्यस्त हुँदै जान थालेछु । तर आफ्नै वरिपरी भएका परिवारका सदस्य या साथीभाईहरू के भनिरहेछन् ? के चाहिरहेछन् ? के खोजिरहेछन् ? भन्नेमा ध्यानै नजादो रहिछ । अझ महत्वपूर्ण त मेरो आफ्नो आवश्यकता के हो ? मैले गर्नुपर्ने के छ ? भन्ने  विषयमा सोच्नै छाडिदै गइदो रहिछ ।

प्रवेशिका परीक्षा पछिको फुर्सदको समयलाई कम्प्युटर सिक्नमा प्रयोग गर्नु मलाई मेरो जिन्दगीभरी कै एक महत्वपूर्ण निर्णय लिएँ भन्ने लाग्दै गर्दा इन्टरनेटको दुनियाँमा अनावश्यक लत पार्दै जानु चाँहि दुःखद गल्ति गरेको महशुस भैरहेको छ । यसर्थः सामाजिक संजालमा अभ्यस्त भैराख्ने लतमा नपरियोस् भन्ने हेतूले केहि समय पहिलादेखि मैले यसको प्रयोगलाई कम गर्दै मात्र ल्याएको छैन कि पूर्ण रूपमा यसको प्रयोग नै नगर्ने निचोडमा पुगेको छु ।

Comments

Popular posts from this blog

अनि मलाई खुबै राजनीति लाग्छ ...

कहिले काही मैले फोकस गुमाएको जस्तो मेरा नजिकका प्रिय मान्छेहरूले महशुस गर्नुहुन्छ ।  राजन दाईले अस्ति फोन गरेपछि पो झल्याँस्स भएँ । वहाँको गुनासो मिश्रित प्रश्नले सिधै मेरो दिमागमा झड्का दिन पुग्यो, दाईसँग खास घुलमिल नभएकाहरूलाई चाँहि वहाँको प्रश्नले दिमागमा हैन् सिधैं मुटुमा हान्न सक्छ । वहाँका प्रायः प्रश्नहरू तारा खेलमा निशाना लगाउन प्रयोग हुने वाण जस्तो सिधा र तिखो हुन्छन् । जस्तो मेरो दिमाग मैं झङ्कार लेराउने प्रश्न थियो वहाँको,  "हैन पाक्षिक रूपमा ब्लग अद्यावद्यिक (अपडेट) गर्छु भन्या हैन् ? एक महिना पुग्न लाग्यो त सर !"    मलाई व्यंग्य गर्नुपर्दा दाइले सर भन्नुहुन्छ, अनि वहाँलाई चाहिँ म भन्छु, साहुजी । यत्तिमा मात्र दाजुको प्रश्न सिमित हुन्थ्यो भने, सायदै म आजको यो ब्लग लेख्न बस्थेँ । तर वहाँको प्रश्नसँग व्यंग्यमिश्रित सानो जिज्ञासा पनि थियो, "खुबै चुनाव लाग्या छ हैन् तिमीलाई !?" यो जिज्ञासामिश्रित व्यंग्य हो या व्यंग्य मिसिएको जिज्ञासा । या यो जिज्ञासा हुँदै नभएर केवल व्यंग्य मात्र थियो । तर जेहोस् यो केहि न केहि चाँहि पक्कै थियो ।  खुबै चुनाव लाग्ने आफत ...

को नायक? खलनायक को ?

बुडापेष्टको एउटा बगैंचामा राता र सेता गुलाफहरूबीच रहेको एक मूर्ति मुनि बसेर गिटार बजाउँदै गीत गाउँदै गरेका एक बुढा बाजेलाई खल्ति रित्ताएर पैसा दिन मन भएथ्यो । मसँग खल्ती भरी रूपैयाँ थिएन्, बुढीमाउलाई २ यूरो मागेर उनलाई दिएँ ।  बुढा बाजेले जर्मनमा केहि बोले, मैले नबुझेको अड्कल गरेर होला, उनले सोधे अङ्ग्रेजीमा "ह्वेय आर यू फ्रम ?" "नेपाल" मैले भनेँ । "वाउ क्याट्मान्डु ? यू केम फ्रम क्याटमान्डु टु बुडापेष्ट?" उनले बडो उत्साहित हुँदै प्रश्न गरे ।  मलाई झुटो बोल्न प्रायः सकस पर्छ, यसैकारण, मैले सत्य बोलिदिएँ - "नो सर। इट इज नट लाइक द्याट, आइ लिभ इन हेलसिन्की डिस्पाइट विइङ्ग ए नेपाली ।" (होइन् नी महोदय त्यसो । मान्छे नेपालको भएपनि क्याटमान्डु नभै हेलसिन्की बस्छु, म ।) छोटो तर यादगार कुराकानीमा ती बुढा बाजे आफूले नेपालका अग्ला हिमालहरू सम्झिएर, मलाई चाँहि मेरो घर सम्झाए । मैले नबुझ्ने भाषामा मन छुने संगित भरेर ती बाजेले  पूर्ववतः   गीतको भाका हाल्न थाले । उनको गायकी र उनले झंकार निकालेको गिटारको धुन पर पर सम्म पुगिरहेथ्यो, मानिसहरू प्रायः फर्केर एकपटक उ...

यो के गर्यौ तिमीले मेरा प्यारा हन्तकालीहरू हो?

"सर, चाउमिन बाँकी रह्यो । एक प्लेट थपिदिऊँ ?" स्कुलको क्यान्टिनका मुख्य कुक पाण्डे दाईले मलाई कान मैं आएर भनेपछि मैले नाइँ भन्नुपर्ने कारण देखिनँ ।  वाइवाइ चाउचाउको चाउमिन यस्तो मीठो थियो कि एक प्लेट खाँदा पनि मेरो जिब्रोको भोक मेटिएकै थिएन् । मैले अर्को प्लेट हसुरेँ ।  पाण्डे दाईले थपिदिएको त्यो उभ्रेको एक प्लेटबाट दोस्रो चोटी काँटामा बेरेर मैले मुखमा पुर्याउनै आँटेको के थिएँ, टेबलटेनिसको पुरानो हरियो टेबलमाथि बसेर भर्खर सकिएको दोस्रो त्रैमासिक परीक्षाको कापि जाँच्दै गरेका जनसंख्या शिक्षक एवं म अध्यापनरत विद्यालयका संस्थापक नराम्ररी बिच्किए । भन्दै थिए, "यहाँ आफूले एक प्लेट पाइया छैन्, सरले दुइ प्लेट नै उठाइदिने ?"  भोकले रन्थनिएका केसी सरले अहिले मैले मिलाएर लेखेको भन्दा तिखा शब्दहरू उनेर केहि भनेका थिए । सायद उनको ठाउँमा म र मेरो ठाउँमा उनी भएका भए त्यसबखत उनले मलाई मारेभन्दा बड्ता पेचिलो डायलग म मार्ने थिएँ होला । डायलग मार्न म बच्चैदेखि खप्पिस हुँ ।  तर त्यो वखत डायलग बेहोर्नेमा म थिएँ, मार्ने अर्को कोही । एकैछिन अघिसम्म मीठो भएको त्यो वाइवाइ चाउचाउको चाउमिन के...