Skip to main content

कम्प्यूटर, इन्टरनेट र म

एस. एल. सी. अर्थात प्रवेशिका परीक्षापछि नतिजा प्रकाशित हुन्ज्यालसम्मको करिब साढे तीन महिनाको फुर्सदमा कम्प्युटर चलाउन सिक्ने चलन भर्खर शुरू हुँदै थियो । त्यहि छेकोमा मैले पनि कम्प्युटर सिक्ने अवसर पाएथेँ । घरबाट ७ किलोमिटर टाढा रहेको बागलुङ बजारमा रहेका एक नातेदारको कम्प्युटर शिक्षणालयमा म अरू २ जना हितैषीहरूसँग कम्प्युटर सिक्न जान्थेँ । बाले इन्सिच्युट नजिकैको चियानास्ता पसलमा कम्प्युटर सिकेपछि खाजा स्वरूप चिया बिस्कुट खाने ब्यवस्था गर्दिनुभएको थियो ।  एक प्याकेट नुनिलो बिस्कुट र एक कप चिया खाएर साढे २ महिना जति मैले कम्प्युटर सिकेँ । कम्प्युटर सिक्दा किबोर्डमा भएका अक्षर नहेरी टाइप गर्ने प्रशिक्षक देख्दा, मनमनै लाग्थ्यो कि मैले पनि उनले जस्तै कहिले सम्म टाइप गरूँला ? अतः देब्रे हातको कान्छी औंलामा ए, साइलीमा एस, माझीमा डि, यस्तै गरी अरू औंलामा अरू अक्षरहरू लेखेर टाइपिङ क्षमतालाई निखार्ने मेरो प्रयास रहन्थ्यो । पछि प्रशिक्षकले टाइपशालाको रामायण खेल खेल्न सिकाए, जुन खेलले मेरो टाइपिङमा धेरै सुधार ल्याउन मद्दत गर्यो ।

टाइपिङमा अलिकति अभ्यस्त हुन थालेपछि मैले माइक्रोसफ्ट वर्ड, एक्सेल, पेजमेकर सिकेको थिएँ । पछिपछि त पेजमेकरमा पत्रिकाको डिजाइन पनि गर्न थालेँ । अलिपछि मैले कम्प्युटरमा इन्टरनेटको प्रयोगका बारे जान्न थालेपछि हटमेलमा एउटा इमेल ठेगाना बनाएँ । २० बर्षको उमेरमा पुग्दै गर्दा मैले पहिलोपटक इमेल इन्टरनेटका बारे थाहा पाएको थिएँ । आज फर्केर हेर्दा त्यहि दिनदेखि मैले भर्चुअल दुनियाँमा रम्ने लतको विकास गरेकी भन्ने लाग्दछ । कुनै पनि सेवा सुविधाको उचित प्रयोग र अति प्रयोगले मानिसको जीवनमा छुट्टै तरिकाले प्रभाव पार्दो रहिछन् भन्ने बुझ्नलाई मैले १३ बर्ष खर्च गर्नुपर्ने स्थिति बनेछ ।

म सामाजिक संजालमा हामीले बिताउने समयले लाभभन्दा धेरै हानी नै पुर्याउँछ भन्ने निचोडमा पुगेको छु । यस्तो निचोडमा पुग्नुका केहि कारणहरू छन् । तीनलाई म बुँदागत रूपमा उल्लेख गर्ने प्रयास गर्दछु ।

१. फरक एवं झुटो व्यक्तित्व
सामाजिक संजालमा अधिकांश मानिसहरू आफूहरूलाई फरक तरिकाले प्रस्तुत गरिरहेका हुन्छन । साथै, अर्को ब्यक्तिलाई पनि फरक ब्यक्तित्वका रूपमा स्वीकार गर्न विवश छन । सामाजिक संजालमा हामीहरू वास्तविक जीवनमा जे जस्ता छौं या हुन्छौं त्यो रूपमा नै प्रस्तुत गर्न सकिरहेका छैनौं । सक्दैनौ पनि । यसले हाम्रो व्यक्तित्वलाई निर्माणभन्दा ध्वंस गर्ने सम्भावना रहन्छ ।


२. सामाजिक संजाल - कुण्ठा बिसाउने चौतारी
सामाजिक संजाल धेरै मानिसहरूका लागि घृणा, आवेग, फरक मत, निन्दा, भत्सर्ना, कुण्ठा एवं निराशा पोख्ने ठाउँ बनेको छ । केहि हदसम्म म स्वंयलाई नै महशुस हुने गरी स्वंयले त्यस्ता पीडादायी अनुभवहरू सार्वजनिक गर्ने गरेको छु । यसले केहि हदसम्म ब्यक्तिमा रहेको निराशाको भावबाट मुक्त हुने अवसर त देला तर आफ्नो आत्मसन्तुष्टिका लागि मैले पोख्ने निराशाहरूले त्यो ग्रहण गर्ने ब्यक्तिलाई चैं मलाई जत्तिकै आनन्ददायक अनुभूति दिने निश्चित गर्न सकिदैन ।  त्यस्तै, विभिन्न मिडियामा प्रकाशित समाचारहरूलाई आधार मानेर कुनै पनि विषयको पक्ष या विपक्षमा रहेर बहस गर्दा कहिल्यै पनि ठोस निश्कर्षमा पुग्न नसक्ने स्थिति बन्दो रहिछ ।

३. नभएको ठाउँमा हुनू र भएको ठाउँमा नहुने स्थिति
भर्च्युल दुनियाँमा व्यस्त हुँदै गर्दा हामीले हाम्रै वरिपरी हुने गरेका घटनाहरूमा उति चासो नराख्दा रहिछौं । मेरै व्यक्तिगत अनुभवमा पनि सामाजिक संजालमा अत्याधिक सक्रियताले मैले मेरो आफ्नो जिन्दगी बाँच्न नै बिर्सिन थालिसकेको रहिछु । निन्द्राले छाड्दा बितिकै फेसबुकमा कसले के लेखे ? कसले मेरो सम्प्रेषणमा के टिप्पणी दियो ? इन्स्टाग्राममा कसले के खाएको या लगाएको तस्वीर राख्यो ? यस्तै यस्तै अनावश्यक गतिविधीहरूमा व्यस्त हुँदै जान थालेछु । तर आफ्नै वरिपरी भएका परिवारका सदस्य या साथीभाईहरू के भनिरहेछन् ? के चाहिरहेछन् ? के खोजिरहेछन् ? भन्नेमा ध्यानै नजादो रहिछ । अझ महत्वपूर्ण त मेरो आफ्नो आवश्यकता के हो ? मैले गर्नुपर्ने के छ ? भन्ने  विषयमा सोच्नै छाडिदै गइदो रहिछ ।

प्रवेशिका परीक्षा पछिको फुर्सदको समयलाई कम्प्युटर सिक्नमा प्रयोग गर्नु मलाई मेरो जिन्दगीभरी कै एक महत्वपूर्ण निर्णय लिएँ भन्ने लाग्दै गर्दा इन्टरनेटको दुनियाँमा अनावश्यक लत पार्दै जानु चाँहि दुःखद गल्ति गरेको महशुस भैरहेको छ । यसर्थः सामाजिक संजालमा अभ्यस्त भैराख्ने लतमा नपरियोस् भन्ने हेतूले केहि समय पहिलादेखि मैले यसको प्रयोगलाई कम गर्दै मात्र ल्याएको छैन कि पूर्ण रूपमा यसको प्रयोग नै नगर्ने निचोडमा पुगेको छु ।

Comments

Popular posts from this blog

अनि रोशन भाइले टिपेछन् ६ बाल्टिन बेरी

गएको साल, हेर्दै कलिला देखिने दुई जना ठिटाहरू तिक्कुरिला रेल बिसौनीको कुनामा मस्त चुरोटको पफ लिदैं गरेका बेला, "भाइहरू नेपाली हो ?" भनेर मैले सोधेको थिएँ । मेरो प्रश्न भुँइमा झर्न नपाउँदै, आफूले तान्दै गरेको चुरोट आफ्नो साथीलाई दिदैँ, झन कलिलो देखिने ठिटोले भनेथ्यो, "हो दाई । कसरी पो ठम्याउनु भो ?"  दुई फरक मुहारको बनोट लिएका मानिसहरू सँगै बसेर एउटै चुरोट तान्दैछन् भने ती पक्कै नेपालीहरू हुनुपर्छ, त्यसमाथि तिमीहरू नेपाली मैं बातचित गर्दै थियौ नी त । मेरो जवाफ सुनेपछि त्यो ठिटोले कपाल कन्याउँदै भनेथ्यो, "हाउ दाजु पनि, सारै मजाको पो हुनुहुदोँ रहिछ !" मैले बात मार्न खोज्दा, निसंकोच बात मार्न खोज्ने ठिटो त पूर्वतिरको लिम्बु भाइ रहेछन् । अनि खासै बात मार्न नचाहने चाँहि रहिछन् - काठतिरका बाहुन भाइ ।  त्यो दिन ती भाइहरू हेलसिन्कीबाट सवा घण्टाको रेल यात्रामा पुगिने ठाउँबाट काम पाइने आशामा साथीलाई भेट्न आएका रहेछन् । आफूलाई भेट्न निम्ता दिएको साथीसँग भेट  नभएपछि  कामको खोजीमा हेलसिन्की झरेका उनीहरूलाई  आफू बस्ने ठाउँतिर फर्कने क्रममा मैले भेट्न पुगेको थिएँ । छोटो भ...

मेरो एउटा साथी छ (हुनुहुन्छ)

 " नीराजन, मेरो बेस्ट फ्रेन्ड हो ।" जन्मेर २६ वर्ष बिताएको देश नेपालमा मलाई यस्तो भन्ने कोही थिएन् । तर यतै फिनल्याण्ड आइपुगेपछि,  मलाई यस्तो भन्ने एक जना भेट्टिएकी थिइन् ।  जोसँग बसेर एकै कप चिया वा कफि पिएकै थिइँन्, मैले । मनभरीका बह न मैले उनीसँग केहि पोखेकै थिएँ, न त उनले विशेष केही त्यस्त्तो साझा गरेकी थिइन् मसँग । तर मलाई चिन्ने र मसँग सम्पर्कमा रहेका धेरै साथीभाइसँग उनले सुनाउन बिर्सेकी रहिन्छिन् कि निराजन उनको बेस्ट फ्रेन्ड हो ।  यो पढ्दै गर्दा यहाँलाई लाग्ला, कि आफूलाई बेस्ट फ्रेन्ड बताउने साथीका सम्बन्धमा लेख्ता पनि यसले किन भूतकालको प्रयोग गर्यो ? प्रश्न स्वभाविकै हो तर मेरो जवाफ अलिकति अस्वभाविक लाग्न सक्ला यहाँलाई । कि मलाई बेस्ट फ्रेन्ड भन्ने उनको, खासमा म  फ्रेन्ड पनि थिइँन् । न उनी थिइन्, मेरो कुनै त्यस्तो विशेष मित्र । बस्, हाम्रो सामान्य चिनजान मात्र थियो । केहि मानिसहरू हुँदारहेछन्, जो सामान्य चिनजानलाई मित्रताको नाम दिदाँरहिछन्, उनले जस्तै । अनि कोही यस्ता पनि हुँदा रहिछन् कि जोसँग हामी विशेष सामिप्यतामा भएको ठानेका हुन्छौं, तर उनीहरूका ...

अनि मलाई खुबै राजनीति लाग्छ ...

कहिले काही मैले फोकस गुमाएको जस्तो मेरा नजिकका प्रिय मान्छेहरूले महशुस गर्नुहुन्छ ।  राजन दाईले अस्ति फोन गरेपछि पो झल्याँस्स भएँ । वहाँको गुनासो मिश्रित प्रश्नले सिधै मेरो दिमागमा झड्का दिन पुग्यो, दाईसँग खास घुलमिल नभएकाहरूलाई चाँहि वहाँको प्रश्नले दिमागमा हैन् सिधैं मुटुमा हान्न सक्छ । वहाँका प्रायः प्रश्नहरू तारा खेलमा निशाना लगाउन प्रयोग हुने वाण जस्तो सिधा र तिखो हुन्छन् । जस्तो मेरो दिमाग मैं झङ्कार लेराउने प्रश्न थियो वहाँको,  "हैन पाक्षिक रूपमा ब्लग अद्यावद्यिक (अपडेट) गर्छु भन्या हैन् ? एक महिना पुग्न लाग्यो त सर !"    मलाई व्यंग्य गर्नुपर्दा दाइले सर भन्नुहुन्छ, अनि वहाँलाई चाहिँ म भन्छु, साहुजी । यत्तिमा मात्र दाजुको प्रश्न सिमित हुन्थ्यो भने, सायदै म आजको यो ब्लग लेख्न बस्थेँ । तर वहाँको प्रश्नसँग व्यंग्यमिश्रित सानो जिज्ञासा पनि थियो, "खुबै चुनाव लाग्या छ हैन् तिमीलाई !?" यो जिज्ञासामिश्रित व्यंग्य हो या व्यंग्य मिसिएको जिज्ञासा । या यो जिज्ञासा हुँदै नभएर केवल व्यंग्य मात्र थियो । तर जेहोस् यो केहि न केहि चाँहि पक्कै थियो ।  खुबै चुनाव लाग्ने आफत ...