Skip to main content

सामाजिक संजाल, म अनि मेरा साथीहरू

अचानक १६ डिसेम्बरको दिन, अभूतपूर्व साहसका साथ मैले एउटा निर्णय लिएँ । विद्यमान सामाजिक संजालहरूबाट बाहिरिने । उसो त बेलाबेलामा म सामाजिक संजालहरू विशेष गरी फेसबुकबाट दुईचार दिनका लागि विश्राम लिने गर्दथेँ । त्यसरी विश्राम लिदा एकाध साथीभाईहरूले बडो प्रेमपूर्वक मसँग संचार सम्पर्क स्थापित गर्थे। फेसबुकमा निकै नै सक्रिय हुने मलाई छिट्टै फर्किनलाई आग्रह पनि गर्थे । उनीहरूको आग्रह सँगसँगै म फेरि त्यहि भर्चुअल दुनियाँमा सामाजिक सम्बन्धहरूको नविकरण गर्ने कामलाई निरन्तरता दिने गर्दथे । ट्विटरमा खासै सक्रिय नहुने मलाई इन्स्टाग्राममा बेलाबेलामा तरह तरहका तस्बीरहरू पोस्टिनु मन पर्थ्यो । तर, फेसबुकमा चाँहि म अचाक्ली नै सक्रिय थिएँ । तर ८ बर्षदेखिको फेसबुकको खातालाई सदाका लागि निष्क्रिय पारेपछि मसँग चल्तिका सामाजिक संजालमा प्रोफाइल रहेन ।  अतः बितेका आधा महिनादेखि म साँच्चिकै सामाजिक जीवन बाँच्ने प्रयत्नमा लागेको छु ।

उसो त सामाजिक संजालबाट बाहिरिनुलाई कतिपयले साथीभाईहरूको विशाल संजालबाट आफूलाई विमूख पार्नु हो भनेर बुझ्ने गर्दछन् । यहिँ नेर म फेसबुकमा मसँग जोडिएका करिब १२०० जना साथीहरू र मसँग जोडिन चाहेका उत्तिकै संख्याका ज्ञात अज्ञात मानिसहरूलाई याद गर्न पुग्छु । मसँग साथी भएका १२०० जना साथीहरू मध्य बढीमा २ प्रतिशत करिब २२/२४ जनासँग मात्र मेरो अलिकति आत्मिय र अर्थपूर्ण संवाद हुने गर्थ्यो । ती मध्य पनि बढीमा तीनचारजनासँग नियमित (उदा. कम्तिमा पनि साप्ताहिक) रूपमा संचार या संवाद हुन्थ्यो । १२०० जना साथीहरू मध्य प्रायःजसो ५० देखि ६० सम्मले मेरा सम्प्रेषणहरूमा विभिन्न प्रतिक्रिया (Like, Love, Wow, Angry, Sad) र, ती मध्य ५ देखि ७ जनाले टिप्पणी दिने गर्थे । त्यस्तै म चाँहि मेरा १२०० साथिहरू मध्ये प्रायः ३५ देखि ५० जनासम्म साथीहरूका विभिन्न सम्प्रेषणहरूमा प्रतिक्रिया दिने गर्थेँ, जसमध्य ५-७ जनासँग मेरो दोहोरो संवाद टिप्पणी हुने गर्थ्यो । अतः तथ्यगत विश्लेषणमा पनि म के पाउँछु भने सामाजिक संजाल आफ्ना साथीभाईहरूबीचको एउटा ठूलो संजाल निर्माणमा सहायक त छ नै तर अर्थपूर्ण संजाल विस्तारका लागि यो त्यति उपयोगी माध्यम हुनेमा गहिरो सशंय रहन्छ ।

बितेको दुई हप्ताभन्दा बढिको समयमा मैले अनावश्यक सन्दर्भहरूमा घोत्लिनु या समय खेर फाल्नु परेको छैन । जस्तै को साथी कहाँ यात्रा गर्दैछ ? कुन साथीले के खाना खायो ? कुन साथीले कुन ब्रान्डको जुत्ता किन्यो ? कुन रेस्टुरेन्टमा पुगेर कुन साथीले कुन मम खायो ?  कुन साथी कुन संस्था (टोल छिमेकका संस्था जुन दर्ता पनि छैन) के मा निर्वाचित भो ? कसको भाई या बैनी पढ्न या काम गर्नका लागि कुन देशका लागि कतिबेला उड्दै छ ? कुन केटी साथी कोसँग बिहाबन्धनमा बाँधिदै छे ? कसले कसको खोइरो खन्यो ? कसले कसको प्रशंसामा फूलबुट्टा भर्यो? फलानाले बिहेमा कस्तो सुट लगायो ? अझ गज्जप त त्यतिखेर लाग्दो रहिछ, जब हरेक मान्छे राजनैतिक, समाजशास्त्रिय, लैङ्गिक, आर्थिक, द्वन्द्व सम्बन्धि विश्लेषकका रूपमा आफूलाई प्रस्तुत गरिरहेको हुन्छ । यसकारण पनि सामाजिक संजालमा आबद्द अधिकांश आम प्रयोगकर्ताहरू अविश्लेषकहरूको अवैज्ञानिक विश्लेषणमा निर्भर छन । विशेषतः वस्तुपरक एवं तथ्यगत विश्लेषण नगरिएका अपुष्ट एवं अप्रमाणित स्रोतलाई उद्दृत गर्दै कुनै पनि ब्यक्ति या समूहलाई प्रोत्साहन या मानमर्दन गर्ने समाचार, लेख आदिहरू अति थोरै समयमा धेरै मानिसहरूबीच पुर्याइन्छन् या प्रायोजित गरिएका हुन्छन । 

अझ केहि ब्यक्तिहरू सामाजिक संजालका माध्यमबाट आफ्ना कुत्सित मनोकाङ्क्षा पूरा गर्न लागिपरेको पाइन्छ । विशेषत तस्वीर बाडिने सामाजिक संजालहरू मार्फत प्रायः मानिसले आफूलाई सुन्दर मानिसका रूपमा चिनाउन प्रयत्न गरिरहेका छन । म स्वंयले नै कतिपय समयमा कुनै पनि विशिष्ट समय या स्थानमा सम्झनाका लागि भन्दा फेसबुक या इन्स्टाग्राममा प्राप्त हुने रियाक्सनका लागि तस्बीर खिचाएँ । अझ दुःख लाग्दो कुरो त सामाजिक संजालमा सक्रिय रहँदा नै दुर्भाग्यवशः मैले जिन्दगीमा सबभन्दा बढी क्रुरूर फोटोग्राफरहरूका तस्बीरहरू हेर्नुपर्यो । आगोमा जलेका, गाडिले किचेका, धारिलो हतियारले मारिएका मानिसहरूको तस्वीर मात्र हैन सबभन्दा बढी हत्या, हिंसा, बलत्कार, कुटपिट, झैझगडासँग सम्बन्धित समाचारहरू नै धेरैजसोले बाँडेको पाएँ । यस्तो हुँदा नचाहेर पनि ती समाचार या तस्वीरमा आँखा पुग्दो रहिछ र समाचारहरू पढिदो रहिछ । यस्ता समाचार पढेपछि कस्ता भयानक सपनासम्म देखेँ भन्ने म यहाँ लेख्न पनि सक्दिनँ । 

अचानक सामाजिक संजालबाट बाहिरिएपछि मलाई याद गरेर फोन गर्ने मेरा आधा दर्जन साथीहरूलाई म यस बखत विशेष याद गरिरहेको छु । म खासमा कोलाहलबाट बाहिरिएको हुँ । चहलपहलबाट बाहिरिएको हुँ । देखाउनेहरूबाट टाढिएको हुँ । रोष, घृणा, तनाव, कुण्ठा ओकल्नेहरूको जमातबाट अलिकति टाढा बस्न मात्र खोजेको हुँ । साथीहरूबाट टाढिएको छैन । तपाइँ हाम्रा साथीहरूको खास संख्या मुश्किलले १ दर्जन मात्र हो । तपाइँ हामीलाई अप्ठ्यारोमा मद्दत गर्ने साथीहरू पनि दुईचार जना नै हुन् । तपाइँका प्रगति, सफलता या लाभमा  साँचो अर्थमा खुशी हुने साथी भनेको तपाइँ स्वंय बाहेक अरू कति जना हुन्छन होला ? तपाइँका दुःखलाई तपाइँले झैं महशुस गर्ने साथी तपाइँबाहेक अरू कति जना हुन्छन होला ? म मेरो खुशी बाहेक मेरा साथीहरूको खुशीमा खुशी हुने र आफ्ना दुःखहरू जस्तै उनीहरूका दुःखलाई महशुस गर्ने प्रयत्नमा छु । त्यसैले म  खास सामाजिक हुने प्रयासमा छु ।
info@thapanirajan.com

Comments

Popular posts from this blog

अनि रोशन भाइले टिपेछन् ६ बाल्टिन बेरी

गएको साल, हेर्दै कलिला देखिने दुई जना ठिटाहरू तिक्कुरिला रेल बिसौनीको कुनामा मस्त चुरोटको पफ लिदैं गरेका बेला, "भाइहरू नेपाली हो ?" भनेर मैले सोधेको थिएँ । मेरो प्रश्न भुँइमा झर्न नपाउँदै, आफूले तान्दै गरेको चुरोट आफ्नो साथीलाई दिदैँ, झन कलिलो देखिने ठिटोले भनेथ्यो, "हो दाई । कसरी पो ठम्याउनु भो ?"  दुई फरक मुहारको बनोट लिएका मानिसहरू सँगै बसेर एउटै चुरोट तान्दैछन् भने ती पक्कै नेपालीहरू हुनुपर्छ, त्यसमाथि तिमीहरू नेपाली मैं बातचित गर्दै थियौ नी त । मेरो जवाफ सुनेपछि त्यो ठिटोले कपाल कन्याउँदै भनेथ्यो, "हाउ दाजु पनि, सारै मजाको पो हुनुहुदोँ रहिछ !" मैले बात मार्न खोज्दा, निसंकोच बात मार्न खोज्ने ठिटो त पूर्वतिरको लिम्बु भाइ रहेछन् । अनि खासै बात मार्न नचाहने चाँहि रहिछन् - काठतिरका बाहुन भाइ ।  त्यो दिन ती भाइहरू हेलसिन्कीबाट सवा घण्टाको रेल यात्रामा पुगिने ठाउँबाट काम पाइने आशामा साथीलाई भेट्न आएका रहेछन् । आफूलाई भेट्न निम्ता दिएको साथीसँग भेट  नभएपछि  कामको खोजीमा हेलसिन्की झरेका उनीहरूलाई  आफू बस्ने ठाउँतिर फर्कने क्रममा मैले भेट्न पुगेको थिएँ । छोटो भ...

बोई, बार्ह वर्षमा खोलो किन फर्किएन् ?

हिजो भर्खर जस्तो लाग्छ, २७ औं वसन्तमा हिड्दै गरेको म विना कुनै योजना देश छाडेर परदेश हिडेको । आज १२ वर्ष नाघिसकेछ, परदेश भनिएको ठाम देशजस्तै अनि देश ठानिएको ठाम परदेशजस्तै भएको । मेरी बोइ भन्नुहुन्थ्यो, "बार्ह बर्षमा खोलो फर्किन्छ ।" बार्है बर्ष वितिसकेछन्, म मान्छे भएर होला सायद आफूले आएको बाटैबाटो घर फर्किन नसकेको ! बोइ नफर्किने गरी गएको पनि ५ वर्ष त नाघिसकेछ, सायद अझै हुनुहुन्थ्यो भने फोन गरेर म सोध्दो हुँ, - बोइ बार्ह वर्षमा खोलो कसरी फर्किन्छ ? सिकाइमाग्दो हुँ फर्किने सुत्र, शिरोपर गर्दो हुँ ती सुत्रहरू र लाग्दो हुँ ढोडेनीको पक्की पुल तरेर किनारै किनार तेर्सिएर घैयारासम्म अनि अलिकति माथि उक्लिएर हाम्रा जिजुको पालादेखिको हाम्रो स्थायी ठेगाना उही ढुंगेपाली टोलमा । छिर्दो हुँ आफ्नै मेहनतले बनाएको साढे दुई तले पक्की घरको दैलोभित्र ।           दिनहरू यस्ता पनि थिए, जहिले म कविताहरू लेख्ने गर्थेँ । मेरा कविताहरूमा देश छाड्नेहरूलाई स्वदेशमैं बस्नु भनेर आव्हान हुने गर्थे । अहिले म तीनै कविताहरूका पात्र बनेर आफैले बाँच्नु परेको परिस्थितीलाई पचाउने प्रयत्न गर्दै...

को नायक? खलनायक को ?

बुडापेष्टको एउटा बगैंचामा राता र सेता गुलाफहरूबीच रहेको एक मूर्ति मुनि बसेर गिटार बजाउँदै गीत गाउँदै गरेका एक बुढा बाजेलाई खल्ति रित्ताएर पैसा दिन मन भएथ्यो । मसँग खल्ती भरी रूपैयाँ थिएन्, बुढीमाउलाई २ यूरो मागेर उनलाई दिएँ ।  बुढा बाजेले जर्मनमा केहि बोले, मैले नबुझेको अड्कल गरेर होला, उनले सोधे अङ्ग्रेजीमा "ह्वेय आर यू फ्रम ?" "नेपाल" मैले भनेँ । "वाउ क्याट्मान्डु ? यू केम फ्रम क्याटमान्डु टु बुडापेष्ट?" उनले बडो उत्साहित हुँदै प्रश्न गरे ।  मलाई झुटो बोल्न प्रायः सकस पर्छ, यसैकारण, मैले सत्य बोलिदिएँ - "नो सर। इट इज नट लाइक द्याट, आइ लिभ इन हेलसिन्की डिस्पाइट विइङ्ग ए नेपाली ।" (होइन् नी महोदय त्यसो । मान्छे नेपालको भएपनि क्याटमान्डु नभै हेलसिन्की बस्छु, म ।) छोटो तर यादगार कुराकानीमा ती बुढा बाजे आफूले नेपालका अग्ला हिमालहरू सम्झिएर, मलाई चाँहि मेरो घर सम्झाए । मैले नबुझ्ने भाषामा मन छुने संगित भरेर ती बाजेले  पूर्ववतः   गीतको भाका हाल्न थाले । उनको गायकी र उनले झंकार निकालेको गिटारको धुन पर पर सम्म पुगिरहेथ्यो, मानिसहरू प्रायः फर्केर एकपटक उ...