Skip to main content

नेताको छोरा २ - टिकट, उत्साह र यात्रा

"दाई, बधाई छ । अंकलको टिकट भएजस्तो छ ।"

एकजना गाउँले भाईले फेसबुक म्यासेन्जरमा खबर गरेको रहिछन् ।

मैले आश्चर्यतापूर्वक उनलाई प्रतिप्रश्न गरेँ – "को अंकल ?"

मेरो प्रश्नले ती भाई झन छक्क परे । भने, "को अंकल हुनु ? हजुरको बाबा के!"

"कहाँ अंकल भन्या त ? तिमीले मेरो बाबालाई पुसाजु भन्नुपर्छ ।" मैले उनलाई हाम्रो नाता सम्झाउनु आफ्नो कर्तव्य ठानेँ । फेरि चुनावको पारो ह्वात्तै बढ्दै थियो । बाबाले टिकट पाएको अपुष्ट समाचार जसले सुनाएको छ, प्रचार उही ब्यक्तिबाट थाल्नु पनि चुनावी रणनीतिको एउटा पाटो त छँदै थियो ।

यसरी, एउटा गाउँले भाईबाट बाले संसदीय निर्वाचनमा प्राप्त गरेको टिकटका बारे थाहा पाएपछि मैले बाबाटै आधिकारिक पुष्टी लिन चाहेँ । फोन गरेँ । बाको फोन लगभग डेढ घण्टासम्म ब्यस्त रह्यो त्यो दिन । पछि फोन गरेर थोरै दुखेसो पनि पोखेँ, "बा कति ब्यस्त के तपाइँको फोन ? डेढ घण्टामा बल्ल लाग्यो ।"

"चुनावमा मेरो टिकट भो बाबु, त्यो भएर यहाँ साथीभाईको बधाईको फोन आएको आयै छ ।" फोनमा बाको आवाजबाटै म वहाँको भावभंगिमाको अनुमान गर्न सक्थेँ । पक्कै पनि अत्यन्तै धेरै खुशीले बाको मुहार धपक्कै बलेको हुनुपर्छ । दुई मिनेट चौतिस सेकेण्डको कुराकानीमा मैले अन्तिम प्रश्न गरेँ, "बा, जितिन्छ त चुनाव?"

अलिकति उत्साह अनि केहि आशङ्काका बीच बाले जवाफ दिनुभो- "जितिएला नी!" 

मैले ढाडस दिदै भनेँ, "अब चुनावमा उठेपछि जितिएला नी भनेर कहाँ भो ? जितिन्छ भन्ने हुनुपर्यो नी !" सायद पुत्रको हुनुको धर्म निर्वाह गरिरहेथेँ म । मैले दुई पटकसम्म "बा बा" भनिरहेँ । बाको कुनै जवाफ आएन । लगत्तै टुई टुई --- आवाज सहित फोन विच्छेद भो ।

नेपाल गएर फर्केको तीन हप्ता हुँदै थियो, फेरि नेपाल जानु पर्ने अवस्था बन्न थाल्यो । मलाई खासमा चुनावी भुङ्ग्रोमा पर्नलाई उति इच्छा जागिरहेको थिएन । तर धेरै प्रबुद्द मानिसहरूकै मत के रह्यो भने, छोरा भएको नाताले बासँग साथमा हुनु अनिवार्य शर्त हुनजान्छ । उसोभए राजनीतिमा बाले खर्च गरेको उर्जाशिल समय, मेहनत अनि योगदानको अवमुल्यन भएन र ? मेरो मनले मलाई नै प्रश्न गर्यो । म नाजवाफ रहेँ । कुनै एउटा ब्यक्तिले राजनीतिमा दशकौं लगानी गरेपनि चुनावी मैदानमा घरकै सदस्य भएका नाताले जिम्मेवारी लिनुपर्ने भए संगठन, सहयात्रीहरूको उपादेयता चाँहि के रह्यो त ? धेरैलाई मेरो प्रश्न बकबास लाग्यो । अधिकांशले यसलाई भावनासँग जोडेर मलाई नै प्रतिप्रश्न गरेँ, "हैन तँलाई बाको माया लाग्दैन ?"

"हैन तँलाई बाको माया लाग्दैन?" साधारण वाक्य नै हुनसक्छ, जसले केहि पटक तपोबन पुगेर ध्यानमग्न भएको अनुभव गरेको छ । तर म? मसँग त्यो स्वर्णीम अनुभव छैन । त्यसैले, मनमै बिझ्यो । झटपट मैले टिकट पनि हेरेँ । कतारमा पन्ध्र घण्टाको विश्राम हुने गरी मैले नेपाल जाने टिकट लिएँ । त्यो टिकटसँगै मनमा अनेकन् रणनीति, दाउपेच, योजनाका एउटा लामो श्रृङ्खला नै तयार भो । तिनै दाउपेच, रणनीति, योजना अनि चुनावी रणनीतिमा केहि उन्नत परिवर्तन गर्ने उत्कट चाहनाकाबीच मैले फेरि हबाइजहाजमा पाईला राखेँ । चूनौती, उत्साह, जिम्मेवारी र परिवर्तनका केहि अठोटले भरिपूर्ण त्यो यात्रा मेरो जिन्दगीकै एक उत्साहपूर्ण यात्रा थियो ।

Comments

Popular posts from this blog

को नायक? खलनायक को ?

बुडापेष्टको एउटा बगैंचामा राता र सेता गुलाफहरूबीच रहेको एक मूर्ति मुनि बसेर गिटार बजाउँदै गीत गाउँदै गरेका एक बुढा बाजेलाई खल्ति रित्ताएर पैसा दिन मन भएथ्यो । मसँग खल्ती भरी रूपैयाँ थिएन्, बुढीमाउलाई २ यूरो मागेर उनलाई दिएँ ।  बुढा बाजेले जर्मनमा केहि बोले, मैले नबुझेको अड्कल गरेर होला, उनले सोधे अङ्ग्रेजीमा "ह्वेय आर यू फ्रम ?" "नेपाल" मैले भनेँ । "वाउ क्याट्मान्डु ? यू केम फ्रम क्याटमान्डु टु बुडापेष्ट?" उनले बडो उत्साहित हुँदै प्रश्न गरे ।  मलाई झुटो बोल्न प्रायः सकस पर्छ, यसैकारण, मैले सत्य बोलिदिएँ - "नो सर। इट इज नट लाइक द्याट, आइ लिभ इन हेलसिन्की डिस्पाइट विइङ्ग ए नेपाली ।" (होइन् नी महोदय त्यसो । मान्छे नेपालको भएपनि क्याटमान्डु नभै हेलसिन्की बस्छु, म ।) छोटो तर यादगार कुराकानीमा ती बुढा बाजे आफूले नेपालका अग्ला हिमालहरू सम्झिएर, मलाई चाँहि मेरो घर सम्झाए । मैले नबुझ्ने भाषामा मन छुने संगित भरेर ती बाजेले  पूर्ववतः   गीतको भाका हाल्न थाले । उनको गायकी र उनले झंकार निकालेको गिटारको धुन पर पर सम्म पुगिरहेथ्यो, मानिसहरू प्रायः फर्केर एकपटक उ...

अनि रोशन भाइले टिपेछन् ६ बाल्टिन बेरी

गएको साल, हेर्दै कलिला देखिने दुई जना ठिटाहरू तिक्कुरिला रेल बिसौनीको कुनामा मस्त चुरोटको पफ लिदैं गरेका बेला, "भाइहरू नेपाली हो ?" भनेर मैले सोधेको थिएँ । मेरो प्रश्न भुँइमा झर्न नपाउँदै, आफूले तान्दै गरेको चुरोट आफ्नो साथीलाई दिदैँ, झन कलिलो देखिने ठिटोले भनेथ्यो, "हो दाई । कसरी पो ठम्याउनु भो ?"  दुई फरक मुहारको बनोट लिएका मानिसहरू सँगै बसेर एउटै चुरोट तान्दैछन् भने ती पक्कै नेपालीहरू हुनुपर्छ, त्यसमाथि तिमीहरू नेपाली मैं बातचित गर्दै थियौ नी त । मेरो जवाफ सुनेपछि त्यो ठिटोले कपाल कन्याउँदै भनेथ्यो, "हाउ दाजु पनि, सारै मजाको पो हुनुहुदोँ रहिछ !" मैले बात मार्न खोज्दा, निसंकोच बात मार्न खोज्ने ठिटो त पूर्वतिरको लिम्बु भाइ रहेछन् । अनि खासै बात मार्न नचाहने चाँहि रहिछन् - काठतिरका बाहुन भाइ ।  त्यो दिन ती भाइहरू हेलसिन्कीबाट सवा घण्टाको रेल यात्रामा पुगिने ठाउँबाट काम पाइने आशामा साथीलाई भेट्न आएका रहेछन् । आफूलाई भेट्न निम्ता दिएको साथीसँग भेट  नभएपछि  कामको खोजीमा हेलसिन्की झरेका उनीहरूलाई  आफू बस्ने ठाउँतिर फर्कने क्रममा मैले भेट्न पुगेको थिएँ । छोटो भ...

मेरो एउटा साथी छ (हुनुहुन्छ)

 " नीराजन, मेरो बेस्ट फ्रेन्ड हो ।" जन्मेर २६ वर्ष बिताएको देश नेपालमा मलाई यस्तो भन्ने कोही थिएन् । तर यतै फिनल्याण्ड आइपुगेपछि,  मलाई यस्तो भन्ने एक जना भेट्टिएकी थिइन् ।  जोसँग बसेर एकै कप चिया वा कफि पिएकै थिइँन्, मैले । मनभरीका बह न मैले उनीसँग केहि पोखेकै थिएँ, न त उनले विशेष केही त्यस्त्तो साझा गरेकी थिइन् मसँग । तर मलाई चिन्ने र मसँग सम्पर्कमा रहेका धेरै साथीभाइसँग उनले सुनाउन बिर्सेकी रहिन्छिन् कि निराजन उनको बेस्ट फ्रेन्ड हो ।  यो पढ्दै गर्दा यहाँलाई लाग्ला, कि आफूलाई बेस्ट फ्रेन्ड बताउने साथीका सम्बन्धमा लेख्ता पनि यसले किन भूतकालको प्रयोग गर्यो ? प्रश्न स्वभाविकै हो तर मेरो जवाफ अलिकति अस्वभाविक लाग्न सक्ला यहाँलाई । कि मलाई बेस्ट फ्रेन्ड भन्ने उनको, खासमा म  फ्रेन्ड पनि थिइँन् । न उनी थिइन्, मेरो कुनै त्यस्तो विशेष मित्र । बस्, हाम्रो सामान्य चिनजान मात्र थियो । केहि मानिसहरू हुँदारहेछन्, जो सामान्य चिनजानलाई मित्रताको नाम दिदाँरहिछन्, उनले जस्तै । अनि कोही यस्ता पनि हुँदा रहिछन् कि जोसँग हामी विशेष सामिप्यतामा भएको ठानेका हुन्छौं, तर उनीहरूका ...