Skip to main content

नेताकाे छाेरो ३, हैन कहिले आउने हो ?


चुनाव सम्पन्न भैसकेपछि छलफलको एक तस्बीर, तस्वीरः दिपेन्द्र श्रेष्ठ

बाको उम्मेदवारी निश्चित भैसकेपछि, मैले केही वर्षपहिलेदेखि चिनेको एकजना भाई मसँग निरन्तर सम्पर्कमा थिए । “बुढाको सादागीपन देखेर जनताहुरले (जनताहरुले) भोट दिन्छन् दाई । तपाइँ ढुक्क हुनुस्, बुढाले जित्छन् ।” प्रत्येक पटक गफगाफ गर्दा उनले यो वाक्य तारन्तार दोहोर्याइ रहन्थे । 


जुझारु स्वभावका उनी बा संलग्न दलमा थिएनन । अहिले पनि मलाई अचम्म लाग्दछ कि मैले कहिल्यै पनि कुराकानीको आरम्भ नगरेता पनि फेसबुकमा मेरो उपस्थिती हुँदा साथ उनले संवादको थालनी गरिहाल्थे, “दाई, नमस्कार । सन्चै हुनुुहुन्छ ?” 


यो सामान्य औपचारिकता पूरा गरेपछि उनले एक संशयका साथ संवादलाई अगाडि बढाउथे, “हैन तपाइँ नआउने हो र? ढिला भैसकेन र ?” 


मेरो उही जवाफ हुन्थ्यो, “म मिलाउँदैछु ।” अनि मात्र उनी मसँग कुराकानीलाई लगभग बिट मार्न खोज्थे, “ढुक्क हुनुस् दाई, बुढाले जित्छन! तर अलि मेहनत चाँहि गर्न पर्छ हैं ।”


चारपाँच महिना पहिले उनी जस्तै विभिन्न वर्ग, उमेर, लिङ्गका अनेक थरी ब्यक्तिहरुसँगको कुराकानीमा धेरै पटक दोहोरिने शब्दहरु मध्य एक थियो— मेहनत ! अर्काे शब्द हुन्थ्यो, युवा परिचालन ! झट्ट सुन्दा सामान्य जस्तै लाग्ने यो शब्द, चुनावी माहोल तात्तिदै जान थालेपछि ज्यादातार प्रयोग हुने शब्द रहिछ, खैर यसका बारे विस्तृतमा पछि सबिस्तार बताउने नै छु । अहिले मलाई उनै भाईले प्रयोग गर्ने “अलि अलि मेहनत”का बारे केही बताउने अनुमति दिनुस । त्योभन्दा पहिले उनै भाईसँगको कुराकानीमा मैले प्रयोग गर्ने वाक्यांश “म मिलाउँदैछु ।” बारे थोरै प्रष्ट पार्न चाहेँ ।


बाको टिकट निश्चित भैसकेर पनि उम्मेदवारीको मनोनयन दर्ता भैसकेको थियो । अझ मनोनयन दर्ता गरीवरी बासँगै एउटा सानो टोली प्रारम्भिक चुनावी प्रचारप्रसारमा जुटिसकेको थियो । म यतै थिएँ । अनि बारम्बार तीनै जुझारु युवा भाई जस्तै थुप्रै अरुहरुसँगको मेरो अनलाइन गफगाफमा उक्त वाक्यांश अधिकतम प्रयोग भै रहेथ्यो । उता चुनावमा खटिएका, नखटिएका, मलाई चिन्ने या नचिन्ने तर सांसदमा उठेको उम्मेदवारको जेठो छोरो बाहिरै छ रे भन्ने थाहा पाएकाहरु मध्य धेरैको प्रश्न, “हैन बाबु नआउने भए र ?” हुने रहेछ । प्रचारको क्रममा बासँग प्रत्येक साँझ फोनमा कुराकानी भैरहन्थ्यो । यस्तैमा कुनै कुनै साँझ बाले आफूलाई गरिएको यो प्रश्नको जवाफ मबाट खोज्नुहुन्थ्यो । मेरो जवाफ उही हुन्थ्यो, जस्तो मैले त्यो भाईलाई बताउँदा बताउँदै हैरान भैरहेथे । 


एकदिन त आफ्नै भाइँसँग झोक्किनु पर्ने अवस्था आइलाग्यो, उसले पछि बताउँदै थियो, मोबाइल झण्डै भुँइमा बजारिएन दाई । मैले कसोकसो समातिहाले । प्रश्न सामान्य नै थियो, “हैन दाई कहिले हो र आउने ? प्रचार शुरु भैसक्यो ।” तर मेरो जवाफका प्रत्येक पछिल्ला वाक्यहरु कर्कश लाग्दा सुनिएछन् । जस्तो, ६० सालमा बिद्रोहीहरुले बेनी आक्रमण गर्दा फायर खोलेपछि प्रत्येक पछिल्ला फायरका आवाजहरु थिए ।


“मिलाउँदैछु यार, कति झ्याउ लाग्ने हो, जहिल्यै कहिले आउने हो ? म नआए के हुन्छ ? किन आउनपर्छ ? तँ त्यहि छस त ।”


आखिरमा मैले सबै मिलाएर नेपालबाट फर्केको तीन हप्ता पनि नपुग्दै स्वदेश यात्रा शुरु गर्नु नै पर्ने भो । मिलाउने भन्दा साथ, पहिलो मिलाउनु पर्ने काम, आफूले गर्ने कामको नै थियो । आफूले चाहेको दिनको छुट्टी मिलाएर नेपाल गएर आएको एक हप्ता नहुँदै फेरि “नेपाल जानुपर्ने भो छुट्टी चाहिने भो” भन्नु निकै धक लागिरहेथ्यो । तर मलाई मिलाउनै पर्ने बाध्यता थियो । मेरो आग्रह बोसले सुनेन, काम छाड्नुपर्ने भो । फेरि आज काम छाडेर भोलीबाट काममा नजान पाइने होइन । कम्तिमा एक हप्ता त गर्नै पर्ने । यसरी काम छाडेर एक हप्ता अनिवार्य काम गर्न पर्ने विवशतामा परिरहेको मलाई, जसले पनि हैन कहिले हो र आउने ? कि नआउने हो र ? भन्दा कस्तो महशुस हुन्थ्यो होला, यदि तपाइँ आफूलाई बुझ्ने मान्छे ठान्नुहुन्छ भने महशुस गर्न सक्नुहुन्छ । खैर अर्को महत्वपूर्ण मिलाउनु पर्ने पक्ष अर्थव्यवस्था थियो । 


चुनावमा चाहेर या नचाहेर पनि ठूलो आर्थिक चलखेल हुने बारे विभिन्न विश्वसनीय माध्यम, ब्यक्तिहरुबाट सुनिरहेको भएपनि म उति आश्वस्त भैरहेको थिइँन । अतः मेरै मर्जीले मैले यति रकम जोहो गर्नुपर्छ भन्ने लागेको थियो । जुन रकमको मैले जोहोे गरिसकेको थियो । 


तर, महत्वपूर्ण मिलाउने पक्ष चाँहि पढाई थियो । डिसेम्बरसम्म सक्काउने लक्ष्य लिएर पढाईमा जोडबल गरिहेको म, पहिला छुटेको एउटा परीक्षाको तयारीमा पनि थिएँ तर त्यो परीक्षा उता चुनाव तोकिएको दिनको ३ दिन अगाडिको मितिमा थियो । जुन मैले मिलाउनै नसक्ने अवस्थामा थिएँ । मिलाउनै पर्ने काम मिलाउन नसकेपछि, उनै जुझारु भाइले भनेको अलि अलि मेहनत नभै बेस्सरी नै मेहनत गरेर बालाई चुनाव जिताउन म हवाइजहाज चढेर, १५ घण्टाको कतारको विमानस्थलको पट्यारलाग्दो बसाइपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएकाे थिएँ । 


मलाई त्रिभुवन विमानस्थल कहिले पनि मनमाेहक लागेन । यहाँ पाइला राख्दासाथ उजाड उजाड जस्ताे लाग्छ । एक किसिमकाे नजानिदाें ऐंठन हुन्छ । यसपाली पनि अध्यागमनकाे डेस्कमा राहदानी र हवाइ टिकट बुझाउन खोज्दा, कुनै हलचल, या केहि भाव नदेखाई एक अधवैंशे कर्मचारीले मेराे राहदानी र टिकट बुझे, उनले “स्वागत छ” भन्नु त परै जावस, मुस्कुराउने चेस्टासम्म गरेनन । मसँग हाते झाेला मात्र थियो, अतः म फटाफट बाहिरिएँ । ट्याक्सीवालाले झण्डै अपहरण नै गर्न आएजस्तो गरी सोध्यो - “दाई कहाँ पुग्नु पर्ने ?” मैले सिधा जवाफ दिएँ, “त्यहाँ मामा हुनुहुन्छ, मामाकाे कार छ ।” मनमनै कामना गरेँ कि उसकाे घर म्याग्दी नहोस् ! 

Comments

Popular posts from this blog

को नायक? खलनायक को ?

बुडापेष्टको एउटा बगैंचामा राता र सेता गुलाफहरूबीच रहेको एक मूर्ति मुनि बसेर गिटार बजाउँदै गीत गाउँदै गरेका एक बुढा बाजेलाई खल्ति रित्ताएर पैसा दिन मन भएथ्यो । मसँग खल्ती भरी रूपैयाँ थिएन्, बुढीमाउलाई २ यूरो मागेर उनलाई दिएँ ।  बुढा बाजेले जर्मनमा केहि बोले, मैले नबुझेको अड्कल गरेर होला, उनले सोधे अङ्ग्रेजीमा "ह्वेय आर यू फ्रम ?" "नेपाल" मैले भनेँ । "वाउ क्याट्मान्डु ? यू केम फ्रम क्याटमान्डु टु बुडापेष्ट?" उनले बडो उत्साहित हुँदै प्रश्न गरे ।  मलाई झुटो बोल्न प्रायः सकस पर्छ, यसैकारण, मैले सत्य बोलिदिएँ - "नो सर। इट इज नट लाइक द्याट, आइ लिभ इन हेलसिन्की डिस्पाइट विइङ्ग ए नेपाली ।" (होइन् नी महोदय त्यसो । मान्छे नेपालको भएपनि क्याटमान्डु नभै हेलसिन्की बस्छु, म ।) छोटो तर यादगार कुराकानीमा ती बुढा बाजे आफूले नेपालका अग्ला हिमालहरू सम्झिएर, मलाई चाँहि मेरो घर सम्झाए । मैले नबुझ्ने भाषामा मन छुने संगित भरेर ती बाजेले  पूर्ववतः   गीतको भाका हाल्न थाले । उनको गायकी र उनले झंकार निकालेको गिटारको धुन पर पर सम्म पुगिरहेथ्यो, मानिसहरू प्रायः फर्केर एकपटक उ...

अनि रोशन भाइले टिपेछन् ६ बाल्टिन बेरी

गएको साल, हेर्दै कलिला देखिने दुई जना ठिटाहरू तिक्कुरिला रेल बिसौनीको कुनामा मस्त चुरोटको पफ लिदैं गरेका बेला, "भाइहरू नेपाली हो ?" भनेर मैले सोधेको थिएँ । मेरो प्रश्न भुँइमा झर्न नपाउँदै, आफूले तान्दै गरेको चुरोट आफ्नो साथीलाई दिदैँ, झन कलिलो देखिने ठिटोले भनेथ्यो, "हो दाई । कसरी पो ठम्याउनु भो ?"  दुई फरक मुहारको बनोट लिएका मानिसहरू सँगै बसेर एउटै चुरोट तान्दैछन् भने ती पक्कै नेपालीहरू हुनुपर्छ, त्यसमाथि तिमीहरू नेपाली मैं बातचित गर्दै थियौ नी त । मेरो जवाफ सुनेपछि त्यो ठिटोले कपाल कन्याउँदै भनेथ्यो, "हाउ दाजु पनि, सारै मजाको पो हुनुहुदोँ रहिछ !" मैले बात मार्न खोज्दा, निसंकोच बात मार्न खोज्ने ठिटो त पूर्वतिरको लिम्बु भाइ रहेछन् । अनि खासै बात मार्न नचाहने चाँहि रहिछन् - काठतिरका बाहुन भाइ ।  त्यो दिन ती भाइहरू हेलसिन्कीबाट सवा घण्टाको रेल यात्रामा पुगिने ठाउँबाट काम पाइने आशामा साथीलाई भेट्न आएका रहेछन् । आफूलाई भेट्न निम्ता दिएको साथीसँग भेट  नभएपछि  कामको खोजीमा हेलसिन्की झरेका उनीहरूलाई  आफू बस्ने ठाउँतिर फर्कने क्रममा मैले भेट्न पुगेको थिएँ । छोटो भ...

मेरो एउटा साथी छ (हुनुहुन्छ)

 " नीराजन, मेरो बेस्ट फ्रेन्ड हो ।" जन्मेर २६ वर्ष बिताएको देश नेपालमा मलाई यस्तो भन्ने कोही थिएन् । तर यतै फिनल्याण्ड आइपुगेपछि,  मलाई यस्तो भन्ने एक जना भेट्टिएकी थिइन् ।  जोसँग बसेर एकै कप चिया वा कफि पिएकै थिइँन्, मैले । मनभरीका बह न मैले उनीसँग केहि पोखेकै थिएँ, न त उनले विशेष केही त्यस्त्तो साझा गरेकी थिइन् मसँग । तर मलाई चिन्ने र मसँग सम्पर्कमा रहेका धेरै साथीभाइसँग उनले सुनाउन बिर्सेकी रहिन्छिन् कि निराजन उनको बेस्ट फ्रेन्ड हो ।  यो पढ्दै गर्दा यहाँलाई लाग्ला, कि आफूलाई बेस्ट फ्रेन्ड बताउने साथीका सम्बन्धमा लेख्ता पनि यसले किन भूतकालको प्रयोग गर्यो ? प्रश्न स्वभाविकै हो तर मेरो जवाफ अलिकति अस्वभाविक लाग्न सक्ला यहाँलाई । कि मलाई बेस्ट फ्रेन्ड भन्ने उनको, खासमा म  फ्रेन्ड पनि थिइँन् । न उनी थिइन्, मेरो कुनै त्यस्तो विशेष मित्र । बस्, हाम्रो सामान्य चिनजान मात्र थियो । केहि मानिसहरू हुँदारहेछन्, जो सामान्य चिनजानलाई मित्रताको नाम दिदाँरहिछन्, उनले जस्तै । अनि कोही यस्ता पनि हुँदा रहिछन् कि जोसँग हामी विशेष सामिप्यतामा भएको ठानेका हुन्छौं, तर उनीहरूका ...