Skip to main content

नेताकाे छाेरो ३, हैन कहिले आउने हो ?


चुनाव सम्पन्न भैसकेपछि छलफलको एक तस्बीर, तस्वीरः दिपेन्द्र श्रेष्ठ

बाको उम्मेदवारी निश्चित भैसकेपछि, मैले केही वर्षपहिलेदेखि चिनेको एकजना भाई मसँग निरन्तर सम्पर्कमा थिए । “बुढाको सादागीपन देखेर जनताहुरले (जनताहरुले) भोट दिन्छन् दाई । तपाइँ ढुक्क हुनुस्, बुढाले जित्छन् ।” प्रत्येक पटक गफगाफ गर्दा उनले यो वाक्य तारन्तार दोहोर्याइ रहन्थे । 


जुझारु स्वभावका उनी बा संलग्न दलमा थिएनन । अहिले पनि मलाई अचम्म लाग्दछ कि मैले कहिल्यै पनि कुराकानीको आरम्भ नगरेता पनि फेसबुकमा मेरो उपस्थिती हुँदा साथ उनले संवादको थालनी गरिहाल्थे, “दाई, नमस्कार । सन्चै हुनुुहुन्छ ?” 


यो सामान्य औपचारिकता पूरा गरेपछि उनले एक संशयका साथ संवादलाई अगाडि बढाउथे, “हैन तपाइँ नआउने हो र? ढिला भैसकेन र ?” 


मेरो उही जवाफ हुन्थ्यो, “म मिलाउँदैछु ।” अनि मात्र उनी मसँग कुराकानीलाई लगभग बिट मार्न खोज्थे, “ढुक्क हुनुस् दाई, बुढाले जित्छन! तर अलि मेहनत चाँहि गर्न पर्छ हैं ।”


चारपाँच महिना पहिले उनी जस्तै विभिन्न वर्ग, उमेर, लिङ्गका अनेक थरी ब्यक्तिहरुसँगको कुराकानीमा धेरै पटक दोहोरिने शब्दहरु मध्य एक थियो— मेहनत ! अर्काे शब्द हुन्थ्यो, युवा परिचालन ! झट्ट सुन्दा सामान्य जस्तै लाग्ने यो शब्द, चुनावी माहोल तात्तिदै जान थालेपछि ज्यादातार प्रयोग हुने शब्द रहिछ, खैर यसका बारे विस्तृतमा पछि सबिस्तार बताउने नै छु । अहिले मलाई उनै भाईले प्रयोग गर्ने “अलि अलि मेहनत”का बारे केही बताउने अनुमति दिनुस । त्योभन्दा पहिले उनै भाईसँगको कुराकानीमा मैले प्रयोग गर्ने वाक्यांश “म मिलाउँदैछु ।” बारे थोरै प्रष्ट पार्न चाहेँ ।


बाको टिकट निश्चित भैसकेर पनि उम्मेदवारीको मनोनयन दर्ता भैसकेको थियो । अझ मनोनयन दर्ता गरीवरी बासँगै एउटा सानो टोली प्रारम्भिक चुनावी प्रचारप्रसारमा जुटिसकेको थियो । म यतै थिएँ । अनि बारम्बार तीनै जुझारु युवा भाई जस्तै थुप्रै अरुहरुसँगको मेरो अनलाइन गफगाफमा उक्त वाक्यांश अधिकतम प्रयोग भै रहेथ्यो । उता चुनावमा खटिएका, नखटिएका, मलाई चिन्ने या नचिन्ने तर सांसदमा उठेको उम्मेदवारको जेठो छोरो बाहिरै छ रे भन्ने थाहा पाएकाहरु मध्य धेरैको प्रश्न, “हैन बाबु नआउने भए र ?” हुने रहेछ । प्रचारको क्रममा बासँग प्रत्येक साँझ फोनमा कुराकानी भैरहन्थ्यो । यस्तैमा कुनै कुनै साँझ बाले आफूलाई गरिएको यो प्रश्नको जवाफ मबाट खोज्नुहुन्थ्यो । मेरो जवाफ उही हुन्थ्यो, जस्तो मैले त्यो भाईलाई बताउँदा बताउँदै हैरान भैरहेथे । 


एकदिन त आफ्नै भाइँसँग झोक्किनु पर्ने अवस्था आइलाग्यो, उसले पछि बताउँदै थियो, मोबाइल झण्डै भुँइमा बजारिएन दाई । मैले कसोकसो समातिहाले । प्रश्न सामान्य नै थियो, “हैन दाई कहिले हो र आउने ? प्रचार शुरु भैसक्यो ।” तर मेरो जवाफका प्रत्येक पछिल्ला वाक्यहरु कर्कश लाग्दा सुनिएछन् । जस्तो, ६० सालमा बिद्रोहीहरुले बेनी आक्रमण गर्दा फायर खोलेपछि प्रत्येक पछिल्ला फायरका आवाजहरु थिए ।


“मिलाउँदैछु यार, कति झ्याउ लाग्ने हो, जहिल्यै कहिले आउने हो ? म नआए के हुन्छ ? किन आउनपर्छ ? तँ त्यहि छस त ।”


आखिरमा मैले सबै मिलाएर नेपालबाट फर्केको तीन हप्ता पनि नपुग्दै स्वदेश यात्रा शुरु गर्नु नै पर्ने भो । मिलाउने भन्दा साथ, पहिलो मिलाउनु पर्ने काम, आफूले गर्ने कामको नै थियो । आफूले चाहेको दिनको छुट्टी मिलाएर नेपाल गएर आएको एक हप्ता नहुँदै फेरि “नेपाल जानुपर्ने भो छुट्टी चाहिने भो” भन्नु निकै धक लागिरहेथ्यो । तर मलाई मिलाउनै पर्ने बाध्यता थियो । मेरो आग्रह बोसले सुनेन, काम छाड्नुपर्ने भो । फेरि आज काम छाडेर भोलीबाट काममा नजान पाइने होइन । कम्तिमा एक हप्ता त गर्नै पर्ने । यसरी काम छाडेर एक हप्ता अनिवार्य काम गर्न पर्ने विवशतामा परिरहेको मलाई, जसले पनि हैन कहिले हो र आउने ? कि नआउने हो र ? भन्दा कस्तो महशुस हुन्थ्यो होला, यदि तपाइँ आफूलाई बुझ्ने मान्छे ठान्नुहुन्छ भने महशुस गर्न सक्नुहुन्छ । खैर अर्को महत्वपूर्ण मिलाउनु पर्ने पक्ष अर्थव्यवस्था थियो । 


चुनावमा चाहेर या नचाहेर पनि ठूलो आर्थिक चलखेल हुने बारे विभिन्न विश्वसनीय माध्यम, ब्यक्तिहरुबाट सुनिरहेको भएपनि म उति आश्वस्त भैरहेको थिइँन । अतः मेरै मर्जीले मैले यति रकम जोहो गर्नुपर्छ भन्ने लागेको थियो । जुन रकमको मैले जोहोे गरिसकेको थियो । 


तर, महत्वपूर्ण मिलाउने पक्ष चाँहि पढाई थियो । डिसेम्बरसम्म सक्काउने लक्ष्य लिएर पढाईमा जोडबल गरिहेको म, पहिला छुटेको एउटा परीक्षाको तयारीमा पनि थिएँ तर त्यो परीक्षा उता चुनाव तोकिएको दिनको ३ दिन अगाडिको मितिमा थियो । जुन मैले मिलाउनै नसक्ने अवस्थामा थिएँ । मिलाउनै पर्ने काम मिलाउन नसकेपछि, उनै जुझारु भाइले भनेको अलि अलि मेहनत नभै बेस्सरी नै मेहनत गरेर बालाई चुनाव जिताउन म हवाइजहाज चढेर, १५ घण्टाको कतारको विमानस्थलको पट्यारलाग्दो बसाइपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएकाे थिएँ । 


मलाई त्रिभुवन विमानस्थल कहिले पनि मनमाेहक लागेन । यहाँ पाइला राख्दासाथ उजाड उजाड जस्ताे लाग्छ । एक किसिमकाे नजानिदाें ऐंठन हुन्छ । यसपाली पनि अध्यागमनकाे डेस्कमा राहदानी र हवाइ टिकट बुझाउन खोज्दा, कुनै हलचल, या केहि भाव नदेखाई एक अधवैंशे कर्मचारीले मेराे राहदानी र टिकट बुझे, उनले “स्वागत छ” भन्नु त परै जावस, मुस्कुराउने चेस्टासम्म गरेनन । मसँग हाते झाेला मात्र थियो, अतः म फटाफट बाहिरिएँ । ट्याक्सीवालाले झण्डै अपहरण नै गर्न आएजस्तो गरी सोध्यो - “दाई कहाँ पुग्नु पर्ने ?” मैले सिधा जवाफ दिएँ, “त्यहाँ मामा हुनुहुन्छ, मामाकाे कार छ ।” मनमनै कामना गरेँ कि उसकाे घर म्याग्दी नहोस् ! 

Comments

Popular posts from this blog

अनि मलाई खुबै राजनीति लाग्छ ...

कहिले काही मैले फोकस गुमाएको जस्तो मेरा नजिकका प्रिय मान्छेहरूले महशुस गर्नुहुन्छ ।  राजन दाईले अस्ति फोन गरेपछि पो झल्याँस्स भएँ । वहाँको गुनासो मिश्रित प्रश्नले सिधै मेरो दिमागमा झड्का दिन पुग्यो, दाईसँग खास घुलमिल नभएकाहरूलाई चाँहि वहाँको प्रश्नले दिमागमा हैन् सिधैं मुटुमा हान्न सक्छ । वहाँका प्रायः प्रश्नहरू तारा खेलमा निशाना लगाउन प्रयोग हुने वाण जस्तो सिधा र तिखो हुन्छन् । जस्तो मेरो दिमाग मैं झङ्कार लेराउने प्रश्न थियो वहाँको,  "हैन पाक्षिक रूपमा ब्लग अद्यावद्यिक (अपडेट) गर्छु भन्या हैन् ? एक महिना पुग्न लाग्यो त सर !"    मलाई व्यंग्य गर्नुपर्दा दाइले सर भन्नुहुन्छ, अनि वहाँलाई चाहिँ म भन्छु, साहुजी । यत्तिमा मात्र दाजुको प्रश्न सिमित हुन्थ्यो भने, सायदै म आजको यो ब्लग लेख्न बस्थेँ । तर वहाँको प्रश्नसँग व्यंग्यमिश्रित सानो जिज्ञासा पनि थियो, "खुबै चुनाव लाग्या छ हैन् तिमीलाई !?" यो जिज्ञासामिश्रित व्यंग्य हो या व्यंग्य मिसिएको जिज्ञासा । या यो जिज्ञासा हुँदै नभएर केवल व्यंग्य मात्र थियो । तर जेहोस् यो केहि न केहि चाँहि पक्कै थियो ।  खुबै चुनाव लाग्ने आफत ...

को नायक? खलनायक को ?

बुडापेष्टको एउटा बगैंचामा राता र सेता गुलाफहरूबीच रहेको एक मूर्ति मुनि बसेर गिटार बजाउँदै गीत गाउँदै गरेका एक बुढा बाजेलाई खल्ति रित्ताएर पैसा दिन मन भएथ्यो । मसँग खल्ती भरी रूपैयाँ थिएन्, बुढीमाउलाई २ यूरो मागेर उनलाई दिएँ ।  बुढा बाजेले जर्मनमा केहि बोले, मैले नबुझेको अड्कल गरेर होला, उनले सोधे अङ्ग्रेजीमा "ह्वेय आर यू फ्रम ?" "नेपाल" मैले भनेँ । "वाउ क्याट्मान्डु ? यू केम फ्रम क्याटमान्डु टु बुडापेष्ट?" उनले बडो उत्साहित हुँदै प्रश्न गरे ।  मलाई झुटो बोल्न प्रायः सकस पर्छ, यसैकारण, मैले सत्य बोलिदिएँ - "नो सर। इट इज नट लाइक द्याट, आइ लिभ इन हेलसिन्की डिस्पाइट विइङ्ग ए नेपाली ।" (होइन् नी महोदय त्यसो । मान्छे नेपालको भएपनि क्याटमान्डु नभै हेलसिन्की बस्छु, म ।) छोटो तर यादगार कुराकानीमा ती बुढा बाजे आफूले नेपालका अग्ला हिमालहरू सम्झिएर, मलाई चाँहि मेरो घर सम्झाए । मैले नबुझ्ने भाषामा मन छुने संगित भरेर ती बाजेले  पूर्ववतः   गीतको भाका हाल्न थाले । उनको गायकी र उनले झंकार निकालेको गिटारको धुन पर पर सम्म पुगिरहेथ्यो, मानिसहरू प्रायः फर्केर एकपटक उ...

यो के गर्यौ तिमीले मेरा प्यारा हन्तकालीहरू हो?

"सर, चाउमिन बाँकी रह्यो । एक प्लेट थपिदिऊँ ?" स्कुलको क्यान्टिनका मुख्य कुक पाण्डे दाईले मलाई कान मैं आएर भनेपछि मैले नाइँ भन्नुपर्ने कारण देखिनँ ।  वाइवाइ चाउचाउको चाउमिन यस्तो मीठो थियो कि एक प्लेट खाँदा पनि मेरो जिब्रोको भोक मेटिएकै थिएन् । मैले अर्को प्लेट हसुरेँ ।  पाण्डे दाईले थपिदिएको त्यो उभ्रेको एक प्लेटबाट दोस्रो चोटी काँटामा बेरेर मैले मुखमा पुर्याउनै आँटेको के थिएँ, टेबलटेनिसको पुरानो हरियो टेबलमाथि बसेर भर्खर सकिएको दोस्रो त्रैमासिक परीक्षाको कापि जाँच्दै गरेका जनसंख्या शिक्षक एवं म अध्यापनरत विद्यालयका संस्थापक नराम्ररी बिच्किए । भन्दै थिए, "यहाँ आफूले एक प्लेट पाइया छैन्, सरले दुइ प्लेट नै उठाइदिने ?"  भोकले रन्थनिएका केसी सरले अहिले मैले मिलाएर लेखेको भन्दा तिखा शब्दहरू उनेर केहि भनेका थिए । सायद उनको ठाउँमा म र मेरो ठाउँमा उनी भएका भए त्यसबखत उनले मलाई मारेभन्दा बड्ता पेचिलो डायलग म मार्ने थिएँ होला । डायलग मार्न म बच्चैदेखि खप्पिस हुँ ।  तर त्यो वखत डायलग बेहोर्नेमा म थिएँ, मार्ने अर्को कोही । एकैछिन अघिसम्म मीठो भएको त्यो वाइवाइ चाउचाउको चाउमिन के...