Skip to main content

नेताको छोरो ४, गोजीमा कति छ ?

यो श्रृङ्खला चुनावका लागि उता नेपाल गएर यता फिनल्याण्ड आइसकेपछि पनि चुनावको ह्याङले धेरै दिनसम्म रन्थनाएका कारण लेख्न आरम्भ गरेको थिएँ, किन्तु, तीन वटा श्रृङ्खला लेखिसकेपछि यसलाई बिचमा छाड्न पुगेछु । अपितू, लेख्नै छाडिसकेको चैं छैन । अतः आज ७ महिनापछि उक्त श्रृङ्खलाको अर्को अध्याय पस्कने कोशिस गरेको छु । 
काठमान्डू ओर्लिसकेपछि चुनावी गर्मीको नमीठो हपहपले स्याप्पै पार्यो । कस्तो अत्यास लागेको जस्तो अनुभूति गर्न पुगेँ मैले । वाक्क लागेर आयो । खासमा त्यस्तो ठूलो उत्साह पनि ममा थिएन । सिवाय, बिसौं बर्षको बुबाले पार्टी राजनीतिमा पुर्याउनुभएको योगदानस्वरूप निकै धपेडीपश्चातः संघिय सांसदको उम्मेदवारीको टिकट पाउनुभएकोमा चाँहि नजानिदो तरिकाले खुशी थिएँ । बस त्यत्ति । त्यहाँभन्दा परको स्वार्थ ममा केहि थिएन ।अहिले यस्तो लेख्दै गर्दा यो पढ्ने जति धेरैलाई बाले जितेको भएर जेपनि लेखेको जस्तो लाग्न सक्छ, त्यो स्वभाविक पनि हो । तर घर पुगेपछि बुबासँगको भेटमा एउटा संवादको जति महत्व थियो मेरा निम्ति त्यो भन्दा पर अरू खासै महत्व राख्ने केहि थिएन ।  
image: image source

चुनावी खर्च जुट्ने क्रममा थियो । विशेषतः देश विदेशमा रहेका गाउँलेहरू त्यसमा पनि बुबासँग शिक्षा ग्रहण गरेका या संगत गरेका गाउँलेहरूको निस्वार्थ र अनपेक्षित सरसहयोगले बुबासँगै म पनि निकै नै खुशी थिएँ । नाताले नजिकैका मानिने केहि इष्टमित्रहरूलाई छाडेर धेरैजसो नातागोताको उल्लेख्य आर्थिक एवं नैतिक र केहिको त भौतिक उपस्थिति पनि रह्यो । तथापि, चुनावी खर्चको हिसाब किताब सुन्दा चैं म प्रायः झस्किनै रहेँ । बेलाबेलामा नलनाडी फतक्कै भएर आउँथे पनि । बेलाबेलामा झनक्कै रिसपनि उठीरहेको हुन्थ्यो, तर त्यो एक महिना मैले बुद्द हुनुपर्ने थियो । एकादुई सन्दर्भहरूलाई बिर्सिदिने हो भने तनाव र क्रोधलाई मनभित्रै दबाएर बुद्द जस्तो शान्त त्यो एकमहिनामा जस्तो न म कहिल्यै भएको थिएँ, न सायदै हुनेछु ।

अँ, अनि जिन्दगीमा सायदै बिर्सिने गरी केहि परिघटनाहरू पनि घटित भए । ती अनपेक्षित थिए । ती अहिले सम्झना गर्दा ग्लानीयोग्य परिघटनाहरू नै थिए । जस्तै, म प्रायः सदरमुकामममा नै बसेँ । फुपूको घर सदरमुकाममै भएकाले पनि मलाई धेरै हदसम्म सहज भएको थियो । सदरमुकाम नजिकैका गाउँतिर यसो प्रचार प्रसार गर्न गयो, अनि साँझ फुपूकोमा आयो । यस्तैमा एकदिन बिहान उठिसकेपछि गाउँबाट झरेका एकजना मित्रले चिया पिउनलाई यसो चियापसलतिर आउनुस न भनेपछि बाहिर निस्किदै थिएँ, धेरै पुरानो चिनजान भएका एकजना ब्यक्ति मर्निङवाकमा निस्किएका रहिछन्,धेरै वर्षपछिको पहिलो भेट थियो त्यो हाम्रो । मलाई देख्नासाथ उनको दोश्रो प्रश्न थियो, "गोजी कत्तिको गह्रौ छ बाबु?" 
मैले आदार गरेर काका भन्थेँ । बाबासँगै एउटै पार्टीमा काँध जोडेर हिडेका मान्छे, पछिल्लो क्रममा अलि सक्रिय थिएनन् सायद, तर उनीबाट मैले त्यस्तो प्रश्नको अपेक्षा गरेको थिइँन । जिन्दगीमा बिर्सिन नसक्ने एउटा गुण लगाएको थिएँ मैले तीनलाई, जुन अहिले केहि शब्दहरूको सहयोगमा लेखेर आफूलाई हलुका बनाउन चाहँदिन । तर कस्सम, जसलाई जिन्दगीमा पैसाले किन्न नसक्ने एउटा यस्तो गुण लगाएको थिएँ, जुन उनको पैसाकै प्रश्नले बिझायो मलाई । म बुद्द हुनुपरेको थियो, त्यसैले मुस्कानसहित मैले जवाफ दिएँ, "यस्तो काकाहरू जस्तो पैसावालहरू साथमा हुनुहुन्छ, हलुका नै भएपनि मेरो गोजी गह्रौं छ काका !" 
उनले बुद्दबाणीको सार बुझे कि सायद, २, ३ मिनेट अरू केहि गफगाफ भएपछि मसँग छुट्टिएर आफ्नो प्रभातफेरिलाई निरन्तरता दिन लागे, तर छुट्नुभन्दा अगाडि एउटा अर्ति दिन चाहिँ छुटाएनन्, त्यो थियो मेरो एउटा फेसबुक सम्प्रेषण ।

चुनावकै रन्को चलिरहेको थियो, एक विद्वान वामपन्थी लेखकले "अनावश्यक पैसाको चलखेल ठिक स्वभाविक हो, पैसा खर्च गर्न सक्नेले गर्छन, पैसा नहुनेको रूवाईको औचित्य छैन", यस्तै भावको एउटा सम्प्रेषण गर्नुभएपछि, मैले आफूलाई रोक्न सकिनँ । मैले यसको जवाफ लेखेँ । जवाफ यस्तरी लेखेछु, लेख्ने मान्छेलाई त यसले छोयो नै वहाँका अति परम प्रशंसक नाताभित्रकै एक अर्का विद्वानलाई लागेछ, "मुला बबुरो निकै बडा कुरा गर्छ ।" अनि त के चाहियो, चियाको लत लागेको हाकिमलाई चिया पिउन मन लागेर पटकपटक टेबलको घण्टी बजाउँदा पनि घण्टीको आवाजले कोठासम्म ल्याइ नपुर्याएको परिचरलाई आफ्नो कक्षमा अकस्मात भेटेपछि हाकिमको कन्सिरीका रौं कस्तरी ठाँडा पर्छन ? हो, त्यस्तै गरि ती पेन्सन पकाएका हाकिमलाई पनि रिस उठ्यो, उनी जागिरमै हुन्थे, र म उनको परिचर हुँदो हु त सायद, जागिर खाईदिन्थे होला । तर न उनी हाकिम थिए, न म नै परिचर । उम्मेदवारको छोरो भएर पनि चुनावको चटारोमा सवालजवाफ गर्ने म झण्डूसँग रिस फेर्न मेराबाका भोट खाइदिने धम्की दिएका थिए । धम्की फेरि आफ्ना वरिपरीका या मैले चिन्नेसँग खासखुस गर्ने गरि हैन, सामाजिक सञ्जालमा पूरै विश्वले देख्ने गरी । त्यो पनि १ भोट २ भोट खाने हैन पूरै १०० भोट हजम पार्दिने धम्की ! उनको यहि धम्कीबाट अलि अलि डराएका जस्ता ती मर्निङवाकमा निस्केका काकाले मलाई दिएको अर्ति थियो , "तीनलाई भेटेर माफी माग्नू है बाबु ।"   म बुद्दजस्तै बनेको थिएँ, मेरो त्यो बाध्यता थियो । फलतः चिया पिउन निस्केको म, ती काकाको यो दिव्य उपदेश प्राप्त गरेपछि तीनै पेन्सनवाला हाकिमलाई खोज्न थाले ।

खोजेपछि भेट्टिन्छ । भेट्टिए । मैले पहिला पनि नमस्कार गर्थे । अहिले पनि गरेँ । भनेँ, "ल अंकल यस्तै हो, मलाई लाग्या कुरो मैले लेखेँ, हजुरलाई चित्त दुखेछ, माफ गर्नुहोला हैं । यसो मिलेसम्म दुईचार भोट भएपनि बढाइदिनु होला ।" "अहिले अलि फरक फरक विचारमा भएपनि भूपेन्द्रजी (मेरो बा) र हामी साथी हौं । लामो संगत छ हाम्रो । बाबुले नलेख्नुपर्ने कुरो लेख्नुभो, (खासमा नलेख्नुपर्ने लेखेको थिइँन, उनलाई त्यस्तो लाग्यो) । मेरो त बसाइसराइ बनाइसकेकाले भोट यता हुन्नँ उता पश्चिमतराई तिर (ठाउँको नाम याद भएपनि उल्लेख गरिनँ) छ। भूपेन्द्रजीलाई जितको शुभकामना छ ।" उनी हतारमा छु भन्दैथिए, मैले चिया पिएर जानुहोला पनि भनिनँ । त्यहाँबाट उनी छुट्टिएर गएपछि मलाई बोध भो, म बुद्द बन्ने प्रयासमा बुद्दू हुँदै गैरहेको रहिछु । 

Comments

  1. लेख पढ्दै गर्दा देशको वर्तमान स्थिति र चुनावको अवस्थाको बारेमा अवगत हुुन्छ । नेता र नेताका परिवार प्रतिको आम बुझाईलाई सटिक ढंगले प्रस्तुत गर्नुभएको छ । आफ्नो कथाबाट समाजको कथा भन्ने लेखकको शैलीबाट म प्रभावित मान्छे हुँ । अन्तिमको वाक्य बुद्ध बन्ने प्रयास गर्दागर्दै बुद्धु हुदै गएको आफूले जुन अनुभव गरेको व्यक्त गर्नुभएको छ त्यो प्रेरणादायी र भविष्यमा लेखकले नै पनि उक्त गल्ति नदोहोर्‍याउने प्रण गरेको भन्ने भाव बोकेको छ । फेसबुकमा लेखकले गर्ने सवालजवाफसंग प्राय साक्षात्कार भईरहन्छ । र सललल बगेको पानी जस्तो कथन र साना साना वाक्यहरु आकर्षक छन् । पाठक भन्दा साथीको नाताले जितेछ कि कुन्नि !!तत्काल सुधार गर्नुपर्ने फेला पारिन ।

    ReplyDelete
  2. विशेष समय दिएर, पढ्नुभएकोमा हार्दिक धन्यबाद गुरू । यहाँले सुझाव पनि दिनुभएको भए अझ परिष्कृत गर्न प्रेरणा मिल्ने थियो । खैर, एक मित्रको प्रेमलाई मैले निसंकोच स्वीकार गरेको छु । धन्यबाद गुरू ।

    ReplyDelete

Post a Comment

प्रतिक्रिया ब्यक्त गर्दा सभ्य र सुसंस्कृत शैली प्रयोग गर्नका लागि सम्पूर्णमा सविनय अनुरोध गर्दछु ।

लोकप्रिय पोष्टहरू

क्लोरिनको झोल, वैज्ञानिकहरू र मेरी बोइको मुड्की

मेरो बाल्यकाल लगभग बोईसँगै बित्यो । त्यो चकचक गर्ने समय भएकाले मेरो चकचकसँग बोईलाई बेलाबेलामा झिझो लाग्नु स्वभाविक नै थियो । त्यसैले मैले अति नै अटेर गरेपछि बोईले मलाई भन्नुहुन्थ्यो -  "अहिले गाडूँला मुड्की (मुड्कीले हान्छु) ।" तर अहँ कहिल्यै पनि एक झापड खानुपरेन । मुड्की नै खानु नपरेपछि मेरो चकचक थामिने कुरै थिएन, त्यसैले बोईले पनि मुड्की गाडूँला भन्न छाड्नुभएन अनि मैले चकचक गर्न । मेरी बोईले यस धरा छोडेको पनि यहि हिउँदमा बर्षदिन पुग्दैछ, तर बोईले भन्ने गरेको "अहिले गाडूँला मुड्की" मेरो मनमा गडिरहेको छ, अनि यसो सोच्छु, दुईचार पटक बोईले साँच्चिकै मुड्की गाड्नुभएको भए, मेरा चकचक उहिले पहिले नै खत्तम हुन्थे कि ?  तर खासमा चकचक भन्ने जिनिस त्यत्तिकै खत्तम भएर गैहाल्ने कुरो हैन रहेछ । न त यो उमेर बढ्दै गएपछि आफै घट्दै र पछि निस्तेज नै हुने रहेछ । यसले खासमा उमेर बढ्दै गएर केश पाक्दै गएपनि आफ्नो स्वरूपमा अलिकति फेरिदै तरह तरहका रूपमा प्रकट हुँदै पो जाँदो रहेछ कि ? भन्ने निचोडमा पुगेको छु । यस्तै केहि केश पाक्नै थालेका मान्छेहरूको चकचक कोरोनको त्रास बढ्दै गएपछि अलिकति भि...

नांगो नाच, यौनधन्दा र राजधानी

मैले मेरो देशका बारेमा गर्व गर्दा अब गौतम बुद्ध, सगरमाथा, एकसिंगे गैंडा, जैविक विविधताले भरिपूर्ण देश वा जिउँदी देवी कुमारीको नाम लिनुपर्छ जस्तो मलाई लाग्दैन् । हामी अराजकता र उच्छृङ्खलताको सगरमाथा चढिसकेका छौं अब किन फोकटमा अरु अरु बहानामा नेपाली भएकोमा गर्व गर्नु ?! मैले यहाँ उल्लेख गर्न चाहेको सन्दर्भ मेरो पछिल्लो पटकको काठमाडौं भ्रमणको हो । यहाँले बुझिसक्नु भयो होला, काडमाडौं फगत हाम्रो देशको प्रशासनिक वा राजनैतिक राजधानी मात्र रहेन् । त्यो गुण्डाहरुको राजधानी हो, त्यो आन्दोलनकारीको राजधानी हो, हत्या, हिंसा र लुटपाटमा निमग्न अपराधीहरुको राजधानी हो । अनि राजधानी हो त्यो डान्स बारका नाममा नांगै नाच्ने तरुनी र उनीहरुका स्तन, नितम्ब वा हातको एक पटकको स्पर्शका लागि कामातुर बृद्ध सेठ र साहुहरुको पनि । मैले यसपटक यस्ता चार पाँच डान्सबारको भ्रमण गर्न पाएँ कि न जसको कुनै पत्रिका, रेडियो वा टेलिभिजनमा विज्ञापन नै देखिन्छन् न त त्यहाँ हुने कर्तुतका बारेमा तिनै पत्रिका, रेडियो वा टेलिभिजनका हेडलाइनहरु लेखिन्छन वा वाचिन्छन् ! न त ती ठाउँहरुमा समाजमा शान्ति, अमनचयन र सुव्यवस्थाको ठेक्का पाएका ...

एउटा सग्लो रात(कथा)

आषाढको एक शुक्रबारको साँझ बिश्वविद्यालयबाट घरतिर फर्कने क्रममा अलि ढिला भो । घरसम्म पुग्नलाई माइक्रो, अनि नगर बस सबैको आवातजावत बन्द भैसेकेको थियो । हिडेर एक घण्टाको पैदल यात्रा गर्ने दुस्साहस मैले गरिनँ । त्यसकारण, ट्याक्सीको पखाईमा त्यसै उभिरहेको थिएँ । आडैमा एउटी युवती आई । मतिर पुलुक्क हेर्दै मुसुक्क मुस्कुराई । मैले पनि मुस्कुराएरै उसको आगमनको स्वागत गरेँ । सोधी – “दाई ट्याक्सी कुर्नुभएको ?” “हजुर ।” मैले जवाफ दिएँ । “म पनि ट्याक्सी वेट गरिराखेको हेर्नु न अहिलेसम्म एउटा भेटेको छैन ।” युवतीले दुखेसो पोखी । मैले प्रश्न गरेँ – “कहाँ जानुपर्ने ?” “धेरै टाढा त हैन, मुस्ताङचोकसम्म पुग्नुपर्ने थियो ।” जवाफमा उसले भनी ।  उसको मुखबाट मुस्ताङचोक फुत्कदाँसाथ ममा नजानिदो उत्साह बढेर आयो । भनेँ – “ए, हो र ? म पनि त मुस्ताङचोक नै जान लागेको नी !” “ला हो र ? उसो भए त मज्जा भो नी, हजुर अनि मेरो दुवैको फिप्टी प्रसेन्टेज पैसा सेभ हुने भो नी त । एक्लै जाँदा त ४०० लिन्छ । अब दुई सयमै पुगिने भईयो ।” उसले खुशी ब्यक्त गरी । मैले पनि समर्थन जनाएँ – “हो त ।” अनि यो पनि जान्न चाहेँ कि ऊ के गर्...

गेष्टहाउस, यौन ब्यवसाय र कानुन

फोटो गुगल बाट सर्च गरि राखिएको हो । मेरो ख्यालमा हाम्रो नेपाली समाजमा सबभन्दा बढि गलत ढंगले ब्याख्या गरिने विषय केहि छ त, त्यो यौन सम्बन्धि सन्दर्भ नै हुनुपर्छ । मानिसहरू यौनका विषयमा यति गम्भिर देखिन्छन् कि कोही व्यक्तिको कोही युवतीसँग उठबस बढ्न थाल्यो भने मान्छेहरू उनीहरूका विषयमा टिकाटिप्पणी गर्न एकदमै लालयित हुन्छन् । राम्रा/नराम्रा, जायज/नाजायत हरेक किसिमका टिप्पणीहरू हुन पुग्दछन् । अझ कुनै पनि व्यक्ति यौनका मामलामा कमजोर देखियो भने त झन उसको दीनदशा बिग्रयो भन्ने जाने हुन्छ । मानौं उसले यति ठूलो अपराध गरेको छ कि जिन्दगीभर उ क्षमायोग्य मान्छे हुनै  सक्तैन । भन्न त मान्छेहरू भन्छन्, यौन प्राकृतिक कुरा हो । जैविक आवश्यकता हो । र, यसको आवश्यकतालाई कसैले पनि नकार्न सक्तैन । तर मान्छेहरू जब कोहीला ई  यौनका विषयमा खुल्न थालेको पाउँछन् अनि फेरि फरक बन्न पुग्छ, उनीहरूको दृष्टिकोण । अब यौन न त प्राकृतिक कुरा नै हुन्छ न त जैविक आवश्यकता नै । मान्छेहरू यसला ई  सामाजिक संस्कार अनि मूल्य र मान्यतासित जोडेर हेरिदिन्छन् । अरू त अरू एक बलात्कृत नारीको विवशताको समेत खिल्ली उडाउन ...

प्रचण्ड, निशानी, र हामीहरू

' राती दश बजेको आलर्म सेट गर्नु, ठ्याक्कै टाइममा हस्तमैथुन गर्नुपर्छ । '  ब्यक्तिको नाम ट्याग गरेर उनले फेसबुकमा भित्तेलेखन सम्प्रेषण गर्ने गर्थे । उनको भित्तेलेखनमा अंकित ब्यक्ति उनका हितैषी मित्र हुन होइनन् त्यो मेरो सरोकारको कुरो रहेन् । किन्तु, धवलागिरिका पत्रिकाहरूमा स्तम्भकारको परिचय स्थापित गरिसकेका उनको स्तरको ब्यक्तिले फेसबुकमा यस्ता भित्तेलेखनहरू सम्प्रेषण गर्नु कत्तिको उचीत थियो भन्ने मेरो प्रश्न हो ।   पछिल्ला दिनहरूमा एउटा राम्रै चर्चा बटुल्न सफल अनलाइन पत्रिकाहरूमा प्रचण्ड लक्षित लेखहरू मार्फत स्थापित लेखकको परिचय बनाएका उनलाई माथि उल्लेखित उट्पट्याङ यौनजन्य खुराक फेसबुकमा पस्केका कारण केहि फेसबुके साहित्यकारहरूले यौन कविको उपनाम पनि भिरा ई दिए । र, उनी जबरजस्त यौन कविको छवि निर्माणको दिशामा अग्रसर हुन थाले । धन्य अनलाइन पत्रिकाले उनला ई  यौन कवि हुनबाट बचाए, र एउटा परिचय बनाइ दिए- दिल निशानी मगर । निशानीको लेखन शैली विशिष्ट छ । त्यो एकदम जबरजस्त छ । सुन्दर बान्की परेका वाक्य गठन र उस्तै वाचनप्रिय शब्दको छनौटमा उनको शिल्पमाथि डा. गोविन्द भट्टरा ई ...