Skip to main content

नेपाली रेष्टुरेन्टमा हुन नसकेको एउटा मम पार्टी

तिनताका म हेलसिन्कीबाट करिब ४० किमीको दूरीमा रहेकाे यारभेनपा शहरमा बस्थेँ । हेलसिन्की खासै आइदैन्थ्यो । पहिलो त बेकामे जो थिईयो, अतः खर्च हुने हर यूरो बराबरको नेपाली रकमको हिसाबले दिमाग रन्थनाउने बेला थियो त्यो । दोश्रो कामै नभएपछि कुकुरको जस्तो घुमाईमा उति रूची कहिल्यै भएन जीवनमा । २०१२ निख्रिनै लागेको समय थियाे त्यो । अहिले २०१९ को एक चाैथाई सकिन लाग्याे । पूरापूर ६ बर्ष पुगिसकेछ, त्यो सामान्य जस्ताे लाग्ने घटना घटेकाे । तर कुनै कुनै चलचित्रको अति नै मनछुने कुनै दृश्यको प्रत्येक वस्तुस्थिति झल्झल्ती याद भएजस्तै गरी मलाई, त्यो घटनाकाे प्रत्येक घटनाक्रम याद छ । घटना सामान्य नै मान्न सकिएला, तर अहिले त्यसको याद गर्नूको छुट्टै मज्जा छ । 

एकजना साथीले भर्खर काम पाएको थियो । कामको खडेरी परेको समय, सबभन्दा पहिला काम पाएको उसले मलाई विशेष भोज दिन्छु भनेर उसकै खर्चमा रेलगाडी चढाइवरी हेलसिन्की झारेको थियो । एउटा नेपाली रेष्टुरेन्टमा मम पाइन्छ, मम खुवाउँछु भन्दै लगेको थियो । मुखमा मम नपरेको पूरै साढे ४ महिना भैसकेको थियो । किनकी अन्तिमपल्ट फिनल्याण्ड उड्नुभन्दा अघिल्लो रात केहि साथीहरूसँग बसेर मैले फ्राइड मम खाएको थिएँ। त्यसपछि यता त्यस्तो औसर जुरेको थिएन । त्यो दिन साथीले जुराउँदै थियो । हामी दुई रेष्टुरेन्टभित्र छिर्यौ । रेष्टुरेन्टमा भएका कोहीले हाम्राे खासै वास्ता गरेनन । मैले, हजुर मम पाउँछ यहाँ? भनेर प्रश्न गरेपछि एकछिन है भन्दै काउन्टरमा भएको मान्छे भित्र भान्सामा छिरे, तर २, ३ मिनेट जति आएनन् । मैले साथीसँग असन्तुष्टि पोखेँ, अगाडि रेष्टुरेन्टभित्र छिर्नेबेलामा पनि यो मान्छेले खास ध्यान दिएको थिएन सर । सायद हामीलाई काम खोज्न आएको भन्ठानेर होला । भो, मम सम नखाऔं, बरू बाहिर केहि कफिसफि पिएर फर्किऔ । हामी फर्किने सुरसार गर्दै गर्दा ती मान्छे काउन्टर नजिकै आइपुगेका थिए, हामीलाई फर्किदै गर्दा पनि उनले केहि भनेनन् । हामी चुपचाप त्यहाँबाट बाहिर आयौं । बाहिर अँध्याराे व्याप्त थियो, हुनपनि कृत्रिम बत्तिहरू जति नै शक्तिशाली भए पनि प्राकृतिक उज्यालोसँग तुलनायोग्य हुँदैनन । सायद विरानो मुलुकमा ती नेपाली मन बोकेका नेपाली मान्छेले हामीले अपेक्षा गरे बमोजिमको स्वागत नगरेकाले त्याे बाहिरको स्वभाविक अन्धकार पनि मलाई निष्पट्ट अँध्यारो लागेको पो थियो कि ?

पछि, त्यतै कतै एउटा क्याफेमा छिरेर क्याप्युचिनो र पुल्ला खाएर साथीले काम पाएको खुशी मनाएर यारभेनपा फर्कियौं । फर्किदा, मनमा अनेक तरंगहरू खेले । हामी नेपालीहरू दुई चारपैसा कमाएपछि अर्कोलाई तुच्छ पो देख्छौं कि ? या, काम खोज्न जाने नेपालीहरूले वाक्क खेलाएकाले उनले हामीलाई पनि खास वास्ता पो नगरेका हुन कि ? केहिसमयपछि यहि घटनाका बारे पुनः चर्चा हुँदा केहि बर्षपहिले आएका साथीहरूबाट थाहा लाग्यो, नेपाली रेष्टुरेन्टका साहूजीहरू नेपालीहरूलाई ग्राहक नै ठान्दैनन् । त्यतिबेला यो तर्कमा उति विश्वास लागेको थिएन, तर पछि बिस्तारै थाहा पाउँदै गए, खासमा नेपालकै नाममा बेचिने खानाहरूको ग्राहकमा नेपालीहरू नपर्दा रहिछन ।

अहिले परिस्थिती अलिकति फेरिएको हो कि जस्तो पनि लाग्दैछ । नेपालीहरूले पनि विभिन्न अवसर पारेर भोज भतेर लगाउने काम शुरू गरेका छन जसले गर्दा हामीहरू पनि नेपाली रेष्टुरेन्टका ग्राहक बन्ने अवसर पाइएको छ । यसले गर्दा अन्य पृष्ठभूमिका नेपाली र रेष्टुरेन्ट व्यवसायीहरूबिच एउटा राम्रो सम्बन्ध स्थापित हुँदै गएको सत्य हो । तर सत्य के पनि हो भने नेपालीहरूबीचको एकता जुन तहमा हुनुपर्ने हो त्यस्तो प्रकृतिको एकता यहाँ देखिदैन । हुन त, दुईचारवटा अरू देशहरू घुम्दा त्यहाँको स्थिति यहाँको भन्दा झन विकराल देखिन्छ । आन्टरपेनको गल्लीहरूमा होस् या लिस्बनको पार्कतिर त्यहाँ नेपालीहरूबीचको वैमनश्यता वान्ता हुने गरी पोखिएको पाएँ । अरू देशहरू र यता फिनल्याण्डमा रहेका हामी नेपालीहरूबीचको समानता के पाएँ भने, एउटा वर्ग व्यवसायमा लागेको छ, अर्को एउटा वर्ग छ जुन सामान्य पेशा या रोजगारमा छ । व्यवसायमा लागेको वर्गले खास व्यवसायिक धर्म निभाउन असमर्थ रहेकाले केहि प्रशासनिक झमेलामा ती परिरहेछन्, र अर्को आम वर्गको प्रतिनिधित्व गर्ने अधिकांश मानिसहरूले चाहिँ, खुच्चिङ पर्योको भावमा खास आत्मसन्तुष्टि लिदैछ ।

अन्त्यमा, कसैले केहि गलत गरेपछि त्यो गलतसँग अरूको खास लेनादेना नहुनू पर्ने हो । तर नेपाली समुदायमा त्यस्तो नहुँदो रहिछ । हामीलाई के लाग्दो रहिछ भने, हामी नेपालीको शान प्रतिष्ठा हामीले कायम राखेका थियौ, त्यसले खत्तम पार्दियो, ध्वस्त बनाईदियो । तर, फिनल्याण्डमा रहेको नेपाली समुदायको हकमा मेरो व्यक्तिगत विचार के हो भने नेपालीको पहिचान निर्माणमा यहाँको रेष्टुरेन्ट व्यवसायीहरूको अत्यन्तै महत्वपूर्ण भूमिका पक्कै छ । र, सबभन्दा महत्वपूर्ण कुरो राजनैतिक आस्था एवं जातिय या सम्प्रदायिक रूपमा यहाँको नेपाली समाजलाई विभक्त हुने काम तिनीहरू कहिल्यै गरेनन । जुन सामान्यतयाः फैलदो नेपाली समुदाय रहेको अन्य देशहरूमा त्यस्तो छैन, त्यहाँ दर्जनौ संस्था, गुट या समाजहरू छन । जेहोस्, नेपालीहरूको बेइज्जत हुने गरी (मेरो बिचारमा नेपाली रेष्टुरेन्ट व्यवसायीहरूको इज्जत नरहने गरी मात्र) समाचारका शिर्षकहरू यहाँका मुख्य पत्रिकाहरूमा भँगेरे टाउके अक्षरमा छापिनू पक्कै पनि दुःखद कुरो हो । यसबाट सम्बन्धितहरूले सुध्रिने र नयाँ व्यवसायिहरूले गम्भीर पाठ लिनूपर्ने नै छ, तर त्यहि (कतिले त ती समाचारमा के छ ? भन्ने पनि नबुझि) विषयलाई लिएर उछालेर, बल्ल स्वाद पाइँस ! भन्ने हदमा मलाई ओर्लनू छैन । मैले साथीसँग उसले काम पाएको खुशिमा नेपाली रेष्टुरेन्टमा गएर मम खान नपाएकोमा केहि पछुतो छैन । मलाई ती साहूप्रति कुनै गुनाशो पनि छैन । तर मलाई यति चाँहि भन्नु मन छ - अति गर, अतिसार नगर!

Comments

  1. What a great writing 👏
    I am not sure whether I can relate it with my experience . But I definitely can feel your words. Keep it up Nirajan ji!

    ReplyDelete
    Replies
    1. Thank you for your kind words. I hearty appreciate your time for getting through this old post.

      Delete

Post a Comment

प्रतिक्रिया ब्यक्त गर्दा सभ्य र सुसंस्कृत शैली प्रयोग गर्नका लागि सम्पूर्णमा सविनय अनुरोध गर्दछु ।

Popular posts from this blog

मेरो एउटा साथी छ (हुनुहुन्छ)

 " नीराजन, मेरो बेस्ट फ्रेन्ड हो ।" जन्मेर २६ वर्ष बिताएको देश नेपालमा मलाई यस्तो भन्ने कोही थिएन् । तर यतै फिनल्याण्ड आइपुगेपछि,  मलाई यस्तो भन्ने एक जना भेट्टिएकी थिइन् ।  जोसँग बसेर एकै कप चिया वा कफि पिएकै थिइँन्, मैले । मनभरीका बह न मैले उनीसँग केहि पोखेकै थिएँ, न त उनले विशेष केही त्यस्त्तो साझा गरेकी थिइन् मसँग । तर मलाई चिन्ने र मसँग सम्पर्कमा रहेका धेरै साथीभाइसँग उनले सुनाउन बिर्सेकी रहिन्छिन् कि निराजन उनको बेस्ट फ्रेन्ड हो ।  यो पढ्दै गर्दा यहाँलाई लाग्ला, कि आफूलाई बेस्ट फ्रेन्ड बताउने साथीका सम्बन्धमा लेख्ता पनि यसले किन भूतकालको प्रयोग गर्यो ? प्रश्न स्वभाविकै हो तर मेरो जवाफ अलिकति अस्वभाविक लाग्न सक्ला यहाँलाई । कि मलाई बेस्ट फ्रेन्ड भन्ने उनको, खासमा म  फ्रेन्ड पनि थिइँन् । न उनी थिइन्, मेरो कुनै त्यस्तो विशेष मित्र । बस्, हाम्रो सामान्य चिनजान मात्र थियो । केहि मानिसहरू हुँदारहेछन्, जो सामान्य चिनजानलाई मित्रताको नाम दिदाँरहिछन्, उनले जस्तै । अनि कोही यस्ता पनि हुँदा रहिछन् कि जोसँग हामी विशेष सामिप्यतामा भएको ठानेका हुन्छौं, तर उनीहरूका ...

अनि रोशन भाइले टिपेछन् ६ बाल्टिन बेरी

गएको साल, हेर्दै कलिला देखिने दुई जना ठिटाहरू तिक्कुरिला रेल बिसौनीको कुनामा मस्त चुरोटको पफ लिदैं गरेका बेला, "भाइहरू नेपाली हो ?" भनेर मैले सोधेको थिएँ । मेरो प्रश्न भुँइमा झर्न नपाउँदै, आफूले तान्दै गरेको चुरोट आफ्नो साथीलाई दिदैँ, झन कलिलो देखिने ठिटोले भनेथ्यो, "हो दाई । कसरी पो ठम्याउनु भो ?"  दुई फरक मुहारको बनोट लिएका मानिसहरू सँगै बसेर एउटै चुरोट तान्दैछन् भने ती पक्कै नेपालीहरू हुनुपर्छ, त्यसमाथि तिमीहरू नेपाली मैं बातचित गर्दै थियौ नी त । मेरो जवाफ सुनेपछि त्यो ठिटोले कपाल कन्याउँदै भनेथ्यो, "हाउ दाजु पनि, सारै मजाको पो हुनुहुदोँ रहिछ !" मैले बात मार्न खोज्दा, निसंकोच बात मार्न खोज्ने ठिटो त पूर्वतिरको लिम्बु भाइ रहेछन् । अनि खासै बात मार्न नचाहने चाँहि रहिछन् - काठतिरका बाहुन भाइ ।  त्यो दिन ती भाइहरू हेलसिन्कीबाट सवा घण्टाको रेल यात्रामा पुगिने ठाउँबाट काम पाइने आशामा साथीलाई भेट्न आएका रहेछन् । आफूलाई भेट्न निम्ता दिएको साथीसँग भेट  नभएपछि  कामको खोजीमा हेलसिन्की झरेका उनीहरूलाई  आफू बस्ने ठाउँतिर फर्कने क्रममा मैले भेट्न पुगेको थिएँ । छोटो भ...

अनि मलाई खुबै राजनीति लाग्छ ...

कहिले काही मैले फोकस गुमाएको जस्तो मेरा नजिकका प्रिय मान्छेहरूले महशुस गर्नुहुन्छ ।  राजन दाईले अस्ति फोन गरेपछि पो झल्याँस्स भएँ । वहाँको गुनासो मिश्रित प्रश्नले सिधै मेरो दिमागमा झड्का दिन पुग्यो, दाईसँग खास घुलमिल नभएकाहरूलाई चाँहि वहाँको प्रश्नले दिमागमा हैन् सिधैं मुटुमा हान्न सक्छ । वहाँका प्रायः प्रश्नहरू तारा खेलमा निशाना लगाउन प्रयोग हुने वाण जस्तो सिधा र तिखो हुन्छन् । जस्तो मेरो दिमाग मैं झङ्कार लेराउने प्रश्न थियो वहाँको,  "हैन पाक्षिक रूपमा ब्लग अद्यावद्यिक (अपडेट) गर्छु भन्या हैन् ? एक महिना पुग्न लाग्यो त सर !"    मलाई व्यंग्य गर्नुपर्दा दाइले सर भन्नुहुन्छ, अनि वहाँलाई चाहिँ म भन्छु, साहुजी । यत्तिमा मात्र दाजुको प्रश्न सिमित हुन्थ्यो भने, सायदै म आजको यो ब्लग लेख्न बस्थेँ । तर वहाँको प्रश्नसँग व्यंग्यमिश्रित सानो जिज्ञासा पनि थियो, "खुबै चुनाव लाग्या छ हैन् तिमीलाई !?" यो जिज्ञासामिश्रित व्यंग्य हो या व्यंग्य मिसिएको जिज्ञासा । या यो जिज्ञासा हुँदै नभएर केवल व्यंग्य मात्र थियो । तर जेहोस् यो केहि न केहि चाँहि पक्कै थियो ।  खुबै चुनाव लाग्ने आफत ...