Skip to main content

विद्वान एनआरएन र भुँइमान्छे


एउटा सामान्य आग्रह थियो त्यो, जसको मैले अति नै असामान्य जवाफ पाएको थिएँ । इतिहास नभैसकेको अस्ति भर्खरको सन्दर्भ हो त्यो । गैरआवासीय नेपालीहरूको संस्था जस्ता संगठनहरूमा लोकतान्त्रिक मात्र नभै सृजनशील अभ्यासहरूलाई आत्मसाथ गरिनुपर्छ भन्ने मेरो ठनाई हो । त्यसैकारण, मैले मेरो सामान्य बुझाई सामाजिक सञ्जालमा राखेको थिएँ - को नयाँ ? को पुराना ? जोसँग ‘नेतृत्व गर्न सक्ने क्षमता मसँग छ’ भन्ने आत्मविश्वास छ भने त्यो जोसुकै होस् लोकतान्त्रिक प्रक्रियाबाट चुनिएर नेतृत्वमा आउने अवसर उसले पनि पाउनुपर्छ । के आफ्नो आत्मविश्वासको परख गर्न नपाउने उसले?   म आफू भुँइमान्छे भन्ठान्छु, त्यसैले मेरा बुझाईहरूमा सिमितता छन् भन्न मलाई कुनै अप्ठ्यारो लाग्दैन । तर म भुँइमान्छेको भुँइप्रश्नको जवाफ एक जिम्मेवार ब्यक्तिले गैरजिम्मेवार तरिकाले दिएको भान भएपछि, मैले यो ब्लग लेख्दैछु । मेरो नेपाली भाषाको सम्प्रेषणमा मित्रको अंग्रेजी भाषामा जवाफ पाएपछि, अंग्रेजी साहित्यमा आफू अध्ययनरत क्याम्पसको सर्वोत्कृष्ट नतिजासहित स्नातक गरेको मेरो अहम रन्थियो नै, मैले अंग्रेजी जवाफको लागि मित्रलाई अंग्रेजीमा नै जवाफ फर्काइसकेको छु । तर त्यसले मात्र धित मरेन । माफ गर्नुहोला । 

गैआनेसं फिनल्याण्डको जिम्मेवार पद सम्हालिसक्नु भएका मित्रलाई Intelligent हुनू भनेको अंग्रेजी भाषामा हल्काफुल्का ज्ञान राख्नु भन्ने वैरागलाग्दो भान परेजस्तो लागेपछि, मलाई यत्ति चाँहि भन्नु मन लाग्यो कि यो अंग्रेजी शब्दको मुल ल्याटिन शब्दको खास अर्थ Understanding हो, जसको नेपालीमा अर्थ हुन आउँछ - बुझ्नु । अब कति चाँहि विदेशिएका नेपालीहरू होलान जसले गैर आवासीय नेपाली संघको बारे नबुझेका होउन ? अझ, फिनल्याण्डको सन्दर्भमा यस्तो संख्या कति होला ? खैर यस बिषयमा धेरै टाउको नदुखाउ होला । तर महत्वपूर्ण प्रश्न यो छ कि अहिलेसम्म कति फिनल्याण्डबासी नेपालीहरू मेरा मित्रको सक्षम वा योग्य ब्यक्तिको परिभाषाभित्र अटाउन सकिएन होला । वा तपाइँ हामी कति जना त्यस्ता अयोग्यहरू छौं होला, जुन मेरो मित्रलाई लागिरहेछ ?

म यसो गम खान्छु, मेरा मित्रजस्ता क्षमतावान व्यक्तित्वहरूले अटसमटस भएको गौरवशाली संस्थाको किन यस्तो कन्तविजोग भएको होला ? जुन संस्थाको नाम लिदाँ अधिकांश नेपालीहरू नाक थुन्छन ? मानौं कि मैले एनआरएनए भन्दा एकैपटक मेरो मुखबाट मरेको मुसाको दुर्गन्ध मिसिएको श्वास अनि चाकबाट १०० प्रतिशत नै हाइड्रोजन सल्फाइड भएको अपानवायू निस्किएको छ । त्यस्तो अवस्था ल्याउने संस्थाभित्र बस्नुभएका खास खास इन्टेलिजेन्टहरूको कारण हो या बाहिर बसेका हामीजस्ता अयोग्यहरूको कारण ? म त्यसै त्यसै गम खान्छु । अझ हास्यास्पद कुरा त विद्वान नै विद्वानले भरिएको संस्थाका ब्यक्तिहरूले संस्थाकै विधान अध्ययन गर्नु हुँदो रहेनछ । चंगाचेटमा चंगा उडाउन गएका युवा विधार्थीहरूलाई जिम्मेवार पदाधिकारीले नै विधार्थीहरूले पनि भोट (मत) खसाल्न पाउँछ भनेको खबर मेरा कानमा परेका दिनदेखि म त्यसै त्यसै वैरागिएको छु । अनि भन्न मन लाग्छ, कठै तिम्रा विद्वता ! तिम्रा योग्यता !

संस्था यान्त्रिक नहोला, म पूर्ण यान्त्रिक हुनुपर्छ भन्ने पनि ठान्दिनँ । उसो त संस्था पूर्ण भावनात्मक पनि हुँदैन होला नी ? संस्थाको सुधार तथा विकासका बारे कुरा उठाउँदा मित्रहरू सधैं भन्ने गर्नुहुन्छ, 'हामी कामकाजी मान्छेहरू पनि हो, हामीले फुर्सदमा संस्थालाई समय दिएका छौं । जे जति गर्न सकेका छौं, त्यसका लागि हामीप्रति आभारी हुने गर्नुस ।' अत्यन्तै भावनात्मक कुरा झिकेर, संस्थाको कार्यकारी पदमा रहेर आफूले निर्वाह गर्न नसकेको कर्तव्यप्रति लज्जाबोध गर्ने कि अनुग्रहित हुन अरूलाई आग्रह गर्ने ? यसो भन्दै गर्दा, संस्थामा रहेर जे जति गर्न सक्नुभएको छ, त्यसका लागि यहाँहरूप्रति म कृतज्ञता नरही रहन सक्दिनँ । तरपनि के यहाँहरूका प्रयासहरू पर्याप्त थिए त ? छन ? प्रश्न गर्न पाइने कि नपाइने ? भुँइमान्छेहरूका प्रश्नहरू आउँदा नहडबडाउनुस् मित्रहरू, तर भुँइका प्रश्नहरूको जवाफ आकाशमा खोजेर पाइँदैन, यति त बुझिदिनुस् । यति त मानिदिनुस् कि तपाइँहरू कसैलाई पनि आज प्रश्न गर्ने कसैले पनि जोरजबस्ती गरेर संस्थामा पठाएका त थिएनन । जो जो जानुभो, आफ्नै मर्जिले पुग्नु भो । र, यो पनि मानिदिनुस्, कि संस्थामा फुर्सदको समय उपयोग गर्न हैन, संस्थाको आवश्यकता अनुसार फुर्सद निकालेर पुग्नुपर्छ । 

अन्त्यमा, विधानमा भएका अप्ठ्यारा गाँठाहरूलाई फुकाउन सामूहिक प्रयास गर्ने वातावरण मिलाउनुस । कम्तिमा पनि एकपटक आफ्ना अपार विद्वताका बाबजुद भएका तमाम प्राविधिक एवं व्यवहारिक गल्तिहरूका लागि संस्थागत क्षमायाचना गर्नुस् । संस्थालाई दुईचार मान्छेहरूको गफ्फा लगाउने अड्डाभन्दा माथि उठाएर फिनल्याण्डमा रहेका नेपालीहरू चाहे ति कुक या क्लिनर हुन, ड्राइभर या डाक्टर हुन, लेक्चरर वा लेखक हुन, विधार्थी वा विशेषज्ञ हुन यी सम्पूर्णका लागि भरलाग्दो मञ्चका रूपमा विकास गरौं । प्रश्नसँग डराएर हैन, उत्तर दिन जिम्मेवार भएर अगाडि आउने साहससहित अधिकांशसँग हातेमालो गरेर अगाडि बढ्ने साहस भएको जिम्मेवार नेतृत्वको खोजीमा म मात्र हैन धेरैजसो नेपालीहरू अझै पनि उहि आकाशमुनि श्वास फेरिरहेका छौं । हामीलाई मरेका लाशहरू नठानिदिनुस् हजुर । 

Comments

Popular posts from this blog

अनि मलाई खुबै राजनीति लाग्छ ...

कहिले काही मैले फोकस गुमाएको जस्तो मेरा नजिकका प्रिय मान्छेहरूले महशुस गर्नुहुन्छ ।  राजन दाईले अस्ति फोन गरेपछि पो झल्याँस्स भएँ । वहाँको गुनासो मिश्रित प्रश्नले सिधै मेरो दिमागमा झड्का दिन पुग्यो, दाईसँग खास घुलमिल नभएकाहरूलाई चाँहि वहाँको प्रश्नले दिमागमा हैन् सिधैं मुटुमा हान्न सक्छ । वहाँका प्रायः प्रश्नहरू तारा खेलमा निशाना लगाउन प्रयोग हुने वाण जस्तो सिधा र तिखो हुन्छन् । जस्तो मेरो दिमाग मैं झङ्कार लेराउने प्रश्न थियो वहाँको,  "हैन पाक्षिक रूपमा ब्लग अद्यावद्यिक (अपडेट) गर्छु भन्या हैन् ? एक महिना पुग्न लाग्यो त सर !"    मलाई व्यंग्य गर्नुपर्दा दाइले सर भन्नुहुन्छ, अनि वहाँलाई चाहिँ म भन्छु, साहुजी । यत्तिमा मात्र दाजुको प्रश्न सिमित हुन्थ्यो भने, सायदै म आजको यो ब्लग लेख्न बस्थेँ । तर वहाँको प्रश्नसँग व्यंग्यमिश्रित सानो जिज्ञासा पनि थियो, "खुबै चुनाव लाग्या छ हैन् तिमीलाई !?" यो जिज्ञासामिश्रित व्यंग्य हो या व्यंग्य मिसिएको जिज्ञासा । या यो जिज्ञासा हुँदै नभएर केवल व्यंग्य मात्र थियो । तर जेहोस् यो केहि न केहि चाँहि पक्कै थियो ।  खुबै चुनाव लाग्ने आफत ...

को नायक? खलनायक को ?

बुडापेष्टको एउटा बगैंचामा राता र सेता गुलाफहरूबीच रहेको एक मूर्ति मुनि बसेर गिटार बजाउँदै गीत गाउँदै गरेका एक बुढा बाजेलाई खल्ति रित्ताएर पैसा दिन मन भएथ्यो । मसँग खल्ती भरी रूपैयाँ थिएन्, बुढीमाउलाई २ यूरो मागेर उनलाई दिएँ ।  बुढा बाजेले जर्मनमा केहि बोले, मैले नबुझेको अड्कल गरेर होला, उनले सोधे अङ्ग्रेजीमा "ह्वेय आर यू फ्रम ?" "नेपाल" मैले भनेँ । "वाउ क्याट्मान्डु ? यू केम फ्रम क्याटमान्डु टु बुडापेष्ट?" उनले बडो उत्साहित हुँदै प्रश्न गरे ।  मलाई झुटो बोल्न प्रायः सकस पर्छ, यसैकारण, मैले सत्य बोलिदिएँ - "नो सर। इट इज नट लाइक द्याट, आइ लिभ इन हेलसिन्की डिस्पाइट विइङ्ग ए नेपाली ।" (होइन् नी महोदय त्यसो । मान्छे नेपालको भएपनि क्याटमान्डु नभै हेलसिन्की बस्छु, म ।) छोटो तर यादगार कुराकानीमा ती बुढा बाजे आफूले नेपालका अग्ला हिमालहरू सम्झिएर, मलाई चाँहि मेरो घर सम्झाए । मैले नबुझ्ने भाषामा मन छुने संगित भरेर ती बाजेले  पूर्ववतः   गीतको भाका हाल्न थाले । उनको गायकी र उनले झंकार निकालेको गिटारको धुन पर पर सम्म पुगिरहेथ्यो, मानिसहरू प्रायः फर्केर एकपटक उ...

यो के गर्यौ तिमीले मेरा प्यारा हन्तकालीहरू हो?

"सर, चाउमिन बाँकी रह्यो । एक प्लेट थपिदिऊँ ?" स्कुलको क्यान्टिनका मुख्य कुक पाण्डे दाईले मलाई कान मैं आएर भनेपछि मैले नाइँ भन्नुपर्ने कारण देखिनँ ।  वाइवाइ चाउचाउको चाउमिन यस्तो मीठो थियो कि एक प्लेट खाँदा पनि मेरो जिब्रोको भोक मेटिएकै थिएन् । मैले अर्को प्लेट हसुरेँ ।  पाण्डे दाईले थपिदिएको त्यो उभ्रेको एक प्लेटबाट दोस्रो चोटी काँटामा बेरेर मैले मुखमा पुर्याउनै आँटेको के थिएँ, टेबलटेनिसको पुरानो हरियो टेबलमाथि बसेर भर्खर सकिएको दोस्रो त्रैमासिक परीक्षाको कापि जाँच्दै गरेका जनसंख्या शिक्षक एवं म अध्यापनरत विद्यालयका संस्थापक नराम्ररी बिच्किए । भन्दै थिए, "यहाँ आफूले एक प्लेट पाइया छैन्, सरले दुइ प्लेट नै उठाइदिने ?"  भोकले रन्थनिएका केसी सरले अहिले मैले मिलाएर लेखेको भन्दा तिखा शब्दहरू उनेर केहि भनेका थिए । सायद उनको ठाउँमा म र मेरो ठाउँमा उनी भएका भए त्यसबखत उनले मलाई मारेभन्दा बड्ता पेचिलो डायलग म मार्ने थिएँ होला । डायलग मार्न म बच्चैदेखि खप्पिस हुँ ।  तर त्यो वखत डायलग बेहोर्नेमा म थिएँ, मार्ने अर्को कोही । एकैछिन अघिसम्म मीठो भएको त्यो वाइवाइ चाउचाउको चाउमिन के...