Skip to main content

विद्वान एनआरएन र भुँइमान्छे


एउटा सामान्य आग्रह थियो त्यो, जसको मैले अति नै असामान्य जवाफ पाएको थिएँ । इतिहास नभैसकेको अस्ति भर्खरको सन्दर्भ हो त्यो । गैरआवासीय नेपालीहरूको संस्था जस्ता संगठनहरूमा लोकतान्त्रिक मात्र नभै सृजनशील अभ्यासहरूलाई आत्मसाथ गरिनुपर्छ भन्ने मेरो ठनाई हो । त्यसैकारण, मैले मेरो सामान्य बुझाई सामाजिक सञ्जालमा राखेको थिएँ - को नयाँ ? को पुराना ? जोसँग ‘नेतृत्व गर्न सक्ने क्षमता मसँग छ’ भन्ने आत्मविश्वास छ भने त्यो जोसुकै होस् लोकतान्त्रिक प्रक्रियाबाट चुनिएर नेतृत्वमा आउने अवसर उसले पनि पाउनुपर्छ । के आफ्नो आत्मविश्वासको परख गर्न नपाउने उसले?   म आफू भुँइमान्छे भन्ठान्छु, त्यसैले मेरा बुझाईहरूमा सिमितता छन् भन्न मलाई कुनै अप्ठ्यारो लाग्दैन । तर म भुँइमान्छेको भुँइप्रश्नको जवाफ एक जिम्मेवार ब्यक्तिले गैरजिम्मेवार तरिकाले दिएको भान भएपछि, मैले यो ब्लग लेख्दैछु । मेरो नेपाली भाषाको सम्प्रेषणमा मित्रको अंग्रेजी भाषामा जवाफ पाएपछि, अंग्रेजी साहित्यमा आफू अध्ययनरत क्याम्पसको सर्वोत्कृष्ट नतिजासहित स्नातक गरेको मेरो अहम रन्थियो नै, मैले अंग्रेजी जवाफको लागि मित्रलाई अंग्रेजीमा नै जवाफ फर्काइसकेको छु । तर त्यसले मात्र धित मरेन । माफ गर्नुहोला । 

गैआनेसं फिनल्याण्डको जिम्मेवार पद सम्हालिसक्नु भएका मित्रलाई Intelligent हुनू भनेको अंग्रेजी भाषामा हल्काफुल्का ज्ञान राख्नु भन्ने वैरागलाग्दो भान परेजस्तो लागेपछि, मलाई यत्ति चाँहि भन्नु मन लाग्यो कि यो अंग्रेजी शब्दको मुल ल्याटिन शब्दको खास अर्थ Understanding हो, जसको नेपालीमा अर्थ हुन आउँछ - बुझ्नु । अब कति चाँहि विदेशिएका नेपालीहरू होलान जसले गैर आवासीय नेपाली संघको बारे नबुझेका होउन ? अझ, फिनल्याण्डको सन्दर्भमा यस्तो संख्या कति होला ? खैर यस बिषयमा धेरै टाउको नदुखाउ होला । तर महत्वपूर्ण प्रश्न यो छ कि अहिलेसम्म कति फिनल्याण्डबासी नेपालीहरू मेरा मित्रको सक्षम वा योग्य ब्यक्तिको परिभाषाभित्र अटाउन सकिएन होला । वा तपाइँ हामी कति जना त्यस्ता अयोग्यहरू छौं होला, जुन मेरो मित्रलाई लागिरहेछ ?

म यसो गम खान्छु, मेरा मित्रजस्ता क्षमतावान व्यक्तित्वहरूले अटसमटस भएको गौरवशाली संस्थाको किन यस्तो कन्तविजोग भएको होला ? जुन संस्थाको नाम लिदाँ अधिकांश नेपालीहरू नाक थुन्छन ? मानौं कि मैले एनआरएनए भन्दा एकैपटक मेरो मुखबाट मरेको मुसाको दुर्गन्ध मिसिएको श्वास अनि चाकबाट १०० प्रतिशत नै हाइड्रोजन सल्फाइड भएको अपानवायू निस्किएको छ । त्यस्तो अवस्था ल्याउने संस्थाभित्र बस्नुभएका खास खास इन्टेलिजेन्टहरूको कारण हो या बाहिर बसेका हामीजस्ता अयोग्यहरूको कारण ? म त्यसै त्यसै गम खान्छु । अझ हास्यास्पद कुरा त विद्वान नै विद्वानले भरिएको संस्थाका ब्यक्तिहरूले संस्थाकै विधान अध्ययन गर्नु हुँदो रहेनछ । चंगाचेटमा चंगा उडाउन गएका युवा विधार्थीहरूलाई जिम्मेवार पदाधिकारीले नै विधार्थीहरूले पनि भोट (मत) खसाल्न पाउँछ भनेको खबर मेरा कानमा परेका दिनदेखि म त्यसै त्यसै वैरागिएको छु । अनि भन्न मन लाग्छ, कठै तिम्रा विद्वता ! तिम्रा योग्यता !

संस्था यान्त्रिक नहोला, म पूर्ण यान्त्रिक हुनुपर्छ भन्ने पनि ठान्दिनँ । उसो त संस्था पूर्ण भावनात्मक पनि हुँदैन होला नी ? संस्थाको सुधार तथा विकासका बारे कुरा उठाउँदा मित्रहरू सधैं भन्ने गर्नुहुन्छ, 'हामी कामकाजी मान्छेहरू पनि हो, हामीले फुर्सदमा संस्थालाई समय दिएका छौं । जे जति गर्न सकेका छौं, त्यसका लागि हामीप्रति आभारी हुने गर्नुस ।' अत्यन्तै भावनात्मक कुरा झिकेर, संस्थाको कार्यकारी पदमा रहेर आफूले निर्वाह गर्न नसकेको कर्तव्यप्रति लज्जाबोध गर्ने कि अनुग्रहित हुन अरूलाई आग्रह गर्ने ? यसो भन्दै गर्दा, संस्थामा रहेर जे जति गर्न सक्नुभएको छ, त्यसका लागि यहाँहरूप्रति म कृतज्ञता नरही रहन सक्दिनँ । तरपनि के यहाँहरूका प्रयासहरू पर्याप्त थिए त ? छन ? प्रश्न गर्न पाइने कि नपाइने ? भुँइमान्छेहरूका प्रश्नहरू आउँदा नहडबडाउनुस् मित्रहरू, तर भुँइका प्रश्नहरूको जवाफ आकाशमा खोजेर पाइँदैन, यति त बुझिदिनुस् । यति त मानिदिनुस् कि तपाइँहरू कसैलाई पनि आज प्रश्न गर्ने कसैले पनि जोरजबस्ती गरेर संस्थामा पठाएका त थिएनन । जो जो जानुभो, आफ्नै मर्जिले पुग्नु भो । र, यो पनि मानिदिनुस्, कि संस्थामा फुर्सदको समय उपयोग गर्न हैन, संस्थाको आवश्यकता अनुसार फुर्सद निकालेर पुग्नुपर्छ । 

अन्त्यमा, विधानमा भएका अप्ठ्यारा गाँठाहरूलाई फुकाउन सामूहिक प्रयास गर्ने वातावरण मिलाउनुस । कम्तिमा पनि एकपटक आफ्ना अपार विद्वताका बाबजुद भएका तमाम प्राविधिक एवं व्यवहारिक गल्तिहरूका लागि संस्थागत क्षमायाचना गर्नुस् । संस्थालाई दुईचार मान्छेहरूको गफ्फा लगाउने अड्डाभन्दा माथि उठाएर फिनल्याण्डमा रहेका नेपालीहरू चाहे ति कुक या क्लिनर हुन, ड्राइभर या डाक्टर हुन, लेक्चरर वा लेखक हुन, विधार्थी वा विशेषज्ञ हुन यी सम्पूर्णका लागि भरलाग्दो मञ्चका रूपमा विकास गरौं । प्रश्नसँग डराएर हैन, उत्तर दिन जिम्मेवार भएर अगाडि आउने साहससहित अधिकांशसँग हातेमालो गरेर अगाडि बढ्ने साहस भएको जिम्मेवार नेतृत्वको खोजीमा म मात्र हैन धेरैजसो नेपालीहरू अझै पनि उहि आकाशमुनि श्वास फेरिरहेका छौं । हामीलाई मरेका लाशहरू नठानिदिनुस् हजुर । 

Comments

लोकप्रिय पोष्टहरू

अनि रोशन भाइले टिपेछन् ६ बाल्टिन बेरी

गएको साल, हेर्दै कलिला देखिने दुई जना ठिटाहरू तिक्कुरिला रेल बिसौनीको कुनामा मस्त चुरोटको पफ लिदैं गरेका बेला, "भाइहरू नेपाली हो ?" भनेर मैले सोधेको थिएँ । मेरो प्रश्न भुँइमा झर्न नपाउँदै, आफूले तान्दै गरेको चुरोट आफ्नो साथीलाई दिदैँ, झन कलिलो देखिने ठिटोले भनेथ्यो, "हो दाई । कसरी पो ठम्याउनु भो ?"  दुई फरक मुहारको बनोट लिएका मानिसहरू सँगै बसेर एउटै चुरोट तान्दैछन् भने ती पक्कै नेपालीहरू हुनुपर्छ, त्यसमाथि तिमीहरू नेपाली मैं बातचित गर्दै थियौ नी त । मेरो जवाफ सुनेपछि त्यो ठिटोले कपाल कन्याउँदै भनेथ्यो, "हाउ दाजु पनि, सारै मजाको पो हुनुहुदोँ रहिछ !" मैले बात मार्न खोज्दा, निसंकोच बात मार्न खोज्ने ठिटो त पूर्वतिरको लिम्बु भाइ रहेछन् । अनि खासै बात मार्न नचाहने चाँहि रहिछन् - काठतिरका बाहुन भाइ ।  त्यो दिन ती भाइहरू हेलसिन्कीबाट सवा घण्टाको रेल यात्रामा पुगिने ठाउँबाट काम पाइने आशामा साथीलाई भेट्न आएका रहेछन् । आफूलाई भेट्न निम्ता दिएको साथीसँग भेट  नभएपछि  कामको खोजीमा हेलसिन्की झरेका उनीहरूलाई  आफू बस्ने ठाउँतिर फर्कने क्रममा मैले भेट्न पुगेको थिएँ । छोटो भ...

घर कहाँ हो दाजुको ?

अन्तिम पटक ह्वाट्स एपकलमा तेर्ह मिनेट कुराकानी भएको ठ्याक्कै तीन महिनापछि ह्वाट्स एपमा तिमीलाई मेरो पछिल्लो ब्लग पोष्टको लिंक साझा गरेथेँ, करिब तीन हप्तापछि आजै बुनेले मीठो टिप्पणीसहितको सन्देश प्रवाह गर्ने क्रममा अम्रिकाबाट सोधी पठायौ, "Dai, I have a question, where is home? Nepal or Finland?" सायदै बुने तिम्रो प्रश्न यत्तिमै मात्र सक्किन्थ्यो भनेपनि मैले सजिलै भनिदिन सक्थेँ होला जसरी हाम्रै म्याग्दीका लोकगायक खड्ग गर्बुजाले आफ्नो ' पिरती ' एल्बमको एक गीतमा सोध्दा प्रश्न, "घर कहाँ हो मायालु?" कति सजिलै जवाफ दिएथीन् गायिकाले, "हिमालको काखैमा ।" तर तिम्रो प्रश्नमा जवाफ मात्र दिएर पुग्थेन्, त्यसले अन्तःस्करणको भाव पनि जान्न चाहन्थ्यो किनकी त्यसमा तिमीले थपेर पठाएथ्यौ - "What is your feeling since you've lived so many years in Finland?" म फिनल्याण्ड टेकेको वर्षदिन पनि त पुगेको थिएन् जतिबेला सन् २०१३ को हिउँदमा फिनल्याण्डमा मलाई पहिलो कामका लागि भनसुन गर्दिनुभएका दाजु राजन सुवेदीले, तिम्रो जत्तिकै गम्भीर त होईन् तर सिधा प्रश्न गर्नु भएथ्...

खाल्डोमा गाडी, जेलमा साथीः एक आत्मसंवाद

सधैं पुगिरहेको गन्तव्य थियो । गन्तव्यमा गुगल म्याप्सले सिफारीश गरेको बाटो भएर जाँदा मैले हठात गाडी मोड्नुपर्ने अवस्था बन्यो । हतपत गाडीलाई पार्किङमा छिर्ने बाटोतिर छिराउँदा, मैले हाँकेको गाडीको भाग त्यस बाटोको छेउमा कम, बाटोको छेउतिरको खाल्डोमा बढी पर्न जाँदा पछाडिको एउटा पाङ्ग्रोले भुँइ छाडेको विचित्रको स्थितिमा पुग्यो । यो आजैको घटना हो, केहि घण्टा अगाडिको । मलाई कुनै चोटपटक लागेन । गाडीमा विशेष क्षति पनि भएन । तर गाडीलाई त्यस विचित्रको स्थितीबाट बाहिर ननिकाल्दासम्मको मेरो जीवनको त्यो पूरा १ घण्टा १५ मिनेटले मलाई केहि विशेष ज्ञान भने अवश्य दिलायो ।  म जुन विचित्रको स्थितीबाट गुज्रिएर अहिले यो ब्लगपोष्ट लेख्तैछु, सम्झनामा मेरा केहि चिनजानका र केहि घनिष्ट मित्रहरूको तस्बीर एकतमास मेरो दिमागमा घुमिरहेको छ जो केहि समय अगाडिदेखि सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् । के ति मेरा साथीहरूले पनि यस वयमा जुन स्थितिको सामना गरिरहेका छन् त्यसका बारे दैनिकी लेख्दै होलान् ? थाहा छैन्, कसले कहिलेदेखि सहकारीमा जम्मा हुन आएको बचतकर्ताको रकमलाई मनोमानी तवरले आफ्नो नीजि लाभको लागि प्रयोग...

अनि मलाई खुबै राजनीति लाग्छ ...

कहिले काही मैले फोकस गुमाएको जस्तो मेरा नजिकका प्रिय मान्छेहरूले महशुस गर्नुहुन्छ ।  राजन दाईले अस्ति फोन गरेपछि पो झल्याँस्स भएँ । वहाँको गुनासो मिश्रित प्रश्नले सिधै मेरो दिमागमा झड्का दिन पुग्यो, दाईसँग खास घुलमिल नभएकाहरूलाई चाँहि वहाँको प्रश्नले दिमागमा हैन् सिधैं मुटुमा हान्न सक्छ । वहाँका प्रायः प्रश्नहरू तारा खेलमा निशाना लगाउन प्रयोग हुने वाण जस्तो सिधा र तिखो हुन्छन् । जस्तो मेरो दिमाग मैं झङ्कार लेराउने प्रश्न थियो वहाँको,  "हैन पाक्षिक रूपमा ब्लग अद्यावद्यिक (अपडेट) गर्छु भन्या हैन् ? एक महिना पुग्न लाग्यो त सर !"    मलाई व्यंग्य गर्नुपर्दा दाइले सर भन्नुहुन्छ, अनि वहाँलाई चाहिँ म भन्छु, साहुजी । यत्तिमा मात्र दाजुको प्रश्न सिमित हुन्थ्यो भने, सायदै म आजको यो ब्लग लेख्न बस्थेँ । तर वहाँको प्रश्नसँग व्यंग्यमिश्रित सानो जिज्ञासा पनि थियो, "खुबै चुनाव लाग्या छ हैन् तिमीलाई !?" यो जिज्ञासामिश्रित व्यंग्य हो या व्यंग्य मिसिएको जिज्ञासा । या यो जिज्ञासा हुँदै नभएर केवल व्यंग्य मात्र थियो । तर जेहोस् यो केहि न केहि चाँहि पक्कै थियो ।  खुबै चुनाव लाग्ने आफत ...

बोई, बार्ह वर्षमा खोलो किन फर्किएन् ?

हिजो भर्खर जस्तो लाग्छ, २७ औं वसन्तमा हिड्दै गरेको म विना कुनै योजना देश छाडेर परदेश हिडेको । आज १२ वर्ष नाघिसकेछ, परदेश भनिएको ठाम देशजस्तै अनि देश ठानिएको ठाम परदेशजस्तै भएको । मेरी बोइ भन्नुहुन्थ्यो, "बार्ह बर्षमा खोलो फर्किन्छ ।" बार्है बर्ष वितिसकेछन्, म मान्छे भएर होला सायद आफूले आएको बाटैबाटो घर फर्किन नसकेको ! बोइ नफर्किने गरी गएको पनि ५ वर्ष त नाघिसकेछ, सायद अझै हुनुहुन्थ्यो भने फोन गरेर म सोध्दो हुँ, - बोइ बार्ह वर्षमा खोलो कसरी फर्किन्छ ? सिकाइमाग्दो हुँ फर्किने सुत्र, शिरोपर गर्दो हुँ ती सुत्रहरू र लाग्दो हुँ ढोडेनीको पक्की पुल तरेर किनारै किनार तेर्सिएर घैयारासम्म अनि अलिकति माथि उक्लिएर हाम्रा जिजुको पालादेखिको हाम्रो स्थायी ठेगाना उही ढुंगेपाली टोलमा । छिर्दो हुँ आफ्नै मेहनतले बनाएको साढे दुई तले पक्की घरको दैलोभित्र ।           दिनहरू यस्ता पनि थिए, जहिले म कविताहरू लेख्ने गर्थेँ । मेरा कविताहरूमा देश छाड्नेहरूलाई स्वदेशमैं बस्नु भनेर आव्हान हुने गर्थे । अहिले म तीनै कविताहरूका पात्र बनेर आफैले बाँच्नु परेको परिस्थितीलाई पचाउने प्रयत्न गर्दै...