"वहाँलाई बाहिर निकाल्नुस् त । को हो हँ वहाँ? कस्तो मान्छे रहिछ यार!"
'छोरीलाई टिका लगाएर उपाध्यक्ष बनाउन पाइँदैन्' भन्दै महाधिवेशन हलमा हल्ला गरिरहेका एक युवकलाई इंगित गर्दै फाल्गुण १, २०८१ (February 13, 2025) मा आफ्नो पार्टीको पहिलो महाधिवेशनको नतिजा सुनाउँदै गर्दा डा. बाबुराम भट्टराईले मञ्चबाट बोल्नुभएको भिडियो देखेँ । तानाशाहकै झल्को दिने गरी डा. भट्टराईले जसरी आफूलाई प्रस्तुत गर्नुभयो, वहाँको प्रस्तुतीले सम्बोधनको लागि उच्चआदरार्थी सम्बोधनको माग गर्दछ । यसकारण, उप्रान्त यस ब्लगपोष्टमा वहाँलाई सोही बमोजिम सम्बोधन गरेको छु ।
ठ्याक्कै २९ वर्ष पहिले अर्थात् फाल्गुण १, २०५२ (February 13, 1996) कै दिन त हो उनी र मौसुफ बाबुरामका कथित क्रान्तिकारीहरूले तानाशाह ढालेर देशमा गणतन्त्र अर्थात् नागरिकको शासन लेराउने भन्दै राज्यबिरूद्व बन्दुक उठाएको । दश वर्षसम्म दशहजार भन्दा बढी मान्छेहरू मारिएको । बन्दुक बिसाइएको । शान्ति सम्झौता भएको । संविधानसभाको गठन भएको । राजतन्त्र फ्याँकिएको अनि संघीय गणतन्त्र नेपालको घोषणा भएको । तर बिडम्बना, 'बन्दुकको नालबाट सत्ता खोस्न नसकेपनि' चुनावको बलबाटै देशको प्रधानमन्त्री होईबक्सेर तानाशाहका विरूद्व लडेर आएको दावा गरिबक्सने विद्वान बाबुरामको यो हविगत होला भन्ने मेरो मनले कहिल्यै चिताएको थिएन् । धन्य होइबक्सन्छ - डा. बाबुराम जसले मलाई आज कति सजिलै बुझाई बक्सेको छ कि पत्रकार अमित ढकालहरू कति धेरै गलत छन् जो विनासित्ती कारणहरू खोतल्छन् कि नेपालीहरूले किन देश छाड्नु आवश्यक छैन् ।
श्रीमान् पत्रकार, तिमी किन बहिरो भएको ? किन तिमीले आँखा चिम्लेको ? किन अनदेखा गरिदिएको तिमीले डा. भट्टराईंहरूको हुकुम प्रामाङ्गी ? किन प्रश्न नगरेको तिमीले यिनीहरूलाई, जो आफ्ना सन्तानलाई आफ्नो दलको केन्द्रिय पदाधिकारीमा सगौरव टिका लगाइदिन्छन्, र हलबाट धपाइदिन्छन् उसलाई जो प्रश्न गर्न खोज्छ यिनको अलोकतान्त्रिक परिपाटीलाई? साम्यवादको सपनाको मीठो ललिपप दिएर योद्वाहरूलाई मुक्तिको शुलीमा चढ्न उक्साउने बाबुरामहरूले उन्नतिस् वर्षपछि आएर आज के यस्तो हुँकार गर्न नैतिक हुन्छ ? यिनीहरूलाई प्रश्न गर्नुको साटो देश छाडेर परदेश हिड्न विवश तमाम युवाहरूलाई तिमी कसरी प्रश्न गर्न सक्छौ ?
श्रीमान् पत्रकार के देश साँच्चिकै बस्न लायक छ ? उसोभए, भर्खर सोर्हसत्रमा हिड्दै गरेका ठिटाहरू उन्नाइस बिस पुगेको उमेर देखाउने राहदानी बोकेर खाडी किन पस्दैछन् ? करोड करोड ऋणपान गरेर ठिटाहरू किन ग्वाटेमालाको जंगलतिर टेक्सास ताकेर हिडेका ? किन होला चालिस पचास लाख तिरेर नक्कली बिहे गरी अष्ट्रेलियातिर जान खोजेका ? किन ?
स्वदेशमा भएको भाइ (ठूलीआमाको छोरा) सँग अस्ति कुरा भएथ्यो । भाइ के छ खबर तिम्रो ? भर्खर तेइस चौबिसमा हिड्दै गरेको भाइलाई मैले सोध्दा, कस्तो बुढो स्वरमा भाइले सुनाएथे, "ख्वै दाई, के छ भन्नु के छैन् भन्नु ?" मेरो पच्चिस् पनि नकटेको भाइ समेत यो जबरजस्तको युवा उमेरमा यति विघ्न विलखबन्दमा रहेका बखत श्रीमान् पत्रकार तिमीले कसरी सब ठिकै चलेको छ भन्ने साहस देखायौ तिम्रा अनलाइनमा ? के साँच्चिकै देशमा सबै ठिकै चलेको छ ?
सबै ठीक चल्दो हो त मेरो युवा भाइले बृद्व सुस्केरा हाल्नु पर्थेन् । सबै ठीकै चल्दो हो त अस्ति ठमेलमा कुट्ने लड्नेलाई ठीक पार्न हिडेका ती दुई जना प्रहरीहरू कुटिनु पर्थेन् । पुलिस कुट्नेलाई दुईचारा भाटा लाउन नपाउँदै पुलिसको हाकिमलाई माथिको आदेश आउन्थेन् । माथि बसेर सुशासनका गुड्डी हाँक्ने केपी बा र लेखक दाईलाई तल बसेका हामीले प्रश्न गर्नुपर्थेन् । बाटा बाटामा मुत्दै हिड्नेलाई उठबस खेलाउने खसिनी दिदीले एघार एघार दिनसम्म हिरासत बस्नुपर्ने र शान्ति सुरक्षा कायम गर्न हिडेको पुलिसलाई मुत्ने गरेर पिट्ने गुण्डा चाँहि विद्यार्थी नेता बनेर खुलमखुला हिड्न पाउने? पुलिसले नै न्याय नपाउने त्यस्तो देश कसरी जनताले बस्न लायकको हुन्छ, श्रीमान् पत्रकार ?
एकै प्रकृतिका मुद्दाका प्रतिवादी कोही बिचरा कहिले चितवन, कहिले पोखरा, कहिले काठमाडौं, कहिले रूपन्देही कहिले कुन अदालतमा चक्कर लगाउन विवश छ, अर्को वेसरम संसदमा ठगी र भष्ट्रचारविरूद्व धाराप्रवाह प्रवचन दिइरहेछ ! आज अदालतको चक्कर लाउने ठिटो हिजो सत्तामा हुँदा सलामी लिदैं थियो, हिजो प्रतिपक्षमा रहेको कैफियतवाला मान्छे आज सत्तामा छ, सलामी लिदैँछ । सत्ता र शक्तिमा भएकाहरूको भजन गाउने प्रहरी प्रशासन भएको विचित्रको देशमा विचरा सत्ताविहिन मान्छेहरू कसरी देशबासी भएको महशुस गर्न सक्छन् ?
देश बन्नलाई राज्य संयन्त्रको मशिनले राम्ररी काम गर्नुपर्ने हुन्छ, तिमी किन यस्तो लेख्दैनौ, श्रीमान् पत्रकार ? राज्य संयन्त्रको पार्टपूर्जा बिगार्ने तिमीले नै आदर्श मान्ने गरेका कांग्रेस, कम्युनिष्टका होचा अग्ला नेताहरू हुन्, देख्दैनौ तिमी किन यस्तो ? हाय! रे हाय! श्रीमान् पत्रकार, सरकारी कृषि औजार कम्पनी चलाउन एउटा वैज्ञानिक आफ्नो कथा आफ्नै टाउकोमा राखेर बेच्नलाई देहातहरूमा म्याराथुन दौडन किन वाध्य छ? किन तिमी प्रश्न गर्दैनौ तिम्रा महान् आदर्शहरूलाई ? "यो टोलमा बाँकी युवक मान्छे म एउटै छु दाई", भन्ने मेरो भाइहरू जस्तै एकाध युवाहरू मात्र बाँकी रहेका गाउँ टोलका यथार्थहरूप्रति कसरी नजरअन्दाज गर्न सकेको तिमीले?
प्रश्नहरू धेरै छन् जवाफ एउटा छैन। किनकि जुन देशमा नेताले दिन सक्ने भनेको एउटा भाषण मात्र हुन्छ त्यो देशमा कसरी विकासको मूल फुटेको हुन्छ? बडे बडे नेताका लागि विकास भनेको अग्लाअग्ला भ्यु टावरहरू हुँदा किन तिमीले प्रश्न गर्न सकेनौँ कि सगरमाथाको देशमा चाहिएको भ्यु टावर थिएन, चाहिएको त युवाहरुलाई वर्किङ आवर थियो! काम देऊ, काम गर्छु भन्दा कामै नपाइने देशमा काम खोजिरहेको युवा अडिन कसरी सक्छ? पढ्छु पढ्ने वातावरण बनाइदेऊ भन्ने युवाका लागि पढ्ने वातावरण बनाउन नसक्ने विश्वविद्यालयहरू कसरी आकर्षणको केन्द्रबिन्दु बन्न सक्छन्? जहाँ कलेज विश्वविद्यालयहरू जीवन जिउने कला सिकाउन असमर्थ छन् त्यहाँ विद्यार्थीहरू के कारण पढाई गर्न जान्छन् जबकी उनीहरूका बुढी औंलामा सारा विश्वका एकसेएक विश्वविद्यालयहरू कैद छन् ।
उखु किसानले उखु बेचे बापत पाउनुपर्ने पैसा चिनी कारखानाका मालिकको बैङ्क खातामा कैद छ । दुध किसानबाट दुध लिएको सरकारी संस्थान ग्राहकलाई नगदमा दुध, दही र मख्खन बनाएर बेच्छ, तर किसानसँगको कारोबार उधारोमा गर्छ । सडकमा पोलेको मकै बेचेर कमाएको पैसा सहकारीमा जम्मा पारेका माया तामाङहरूको बचत फरार जिबि राईहरूको कब्जामा छ । छोरो साउदी पठाउन बिस बर्ष पहिला साहुबाट काडेको बिसै हजार दामको बिसै लाख बुझाउँदा समेत घरखेत मिटर ब्याजी साहुकोमा बन्धक राख्न विवश मधेसका निमुखाहरूको ब्यथाको आयतनको के कुरा गराई भो र ? यस्तो देख्ता देख्तै तिमीलाई श्रीमान् पत्रकार, आखिर देशमैं बसे सुन फल्छ भन्ने भ्रम के कति कारण फैलाउन उचीत लाग्यो?
देश मौसुफहरूकै पितापुर्खाको विर्ता हो, आखिर सत्ता सरकारहरूले विरासतमा प्राप्त गरिबक्सेकै हो । नव नरेश डा. बाबुरामजी त्यो महाधिवेशनमा हल्ला गर्ने वाहियात मान्छे को हो हँ ? त्यो हलबाट निकालिएपछि कता मुन्टियो हँ ? त्यसलाई पनि देश नफर्कने गरी निर्वासनमा पठाइदिबक्सियोस् । अनि श्रीमान् पत्रकार, यहाँको कलमले फेरि एकपटक आशाको धिपधिपे ज्योती हैन् बडेमानको राँको बालोस्, देश छाडेर जाने मुलाङहरू सब कायर, छेरूवाहरू हुन् । देश मैं गर्न खोज्नेहरूले गरिरहेकै छन्, ऊ केपी बाका जुँगा फेरि काला हुँदै आएका छन् । देउवा दाई छैठौं पटक प्रधानमन्त्री हुँदैछन् । डा. भट्टराई आफूले नेतृत्व गरेको पार्टीको पुनः अध्यक्ष निर्वाचित होइबक्सेको छ, छोरी मानुषीलाई पनि त उपाध्यक्ष चयन गरिबक्सेको छ। देश बन्दैछ । देश छाड्ने मुलाङहरू सब कायर हुन् ।
"ए, भगौडा ब्लगर बन्द गर तेरो बकबक ।" हैन् को करायो हँ मेरो कानमा ? 😑
प्रिय गुरु, यहाँ लेखिएका र हजुरहामीले देखिएका तमाम प्रश्न गर्न मिल्ने सन्दर्भमा जब प्रश्नकर्ताको प्रश्न मात्रै हैन स्वयम् प्रश्नकर्ता नै कसैको आँखी बन्छ, भने यो देशमा किन बस्नु ?सबैलाई तात्तातै विकास चाहिएको छ । २ वर्षको बच्चा स्कुल पुगेको दोस्रो दिन एबीसीडी पढ्न लेख्न जान्नुपर्ने सोचाइ बाट शुरुआत हुने हामी जनताको चेतनास्तर त संरक्षणको कुरा गर्ने दिलिपकुमार महतो क्रसर व्यवसायीबाट मारिनु र अन्य संरक्षणको कुरा गर्नेको लागि त्यहीँ नजिर देखाउँदा निरीह बन्ने राज्यप्रणालीले गिज्याईरहँदा कुन चाहिँ स्वभिमानीलाई यो देशमा बस्न मन लाग्ला र ??
ReplyDeleteप्रिय गुरु, हजुरले इङ्गित गरेको विषय वास्तवमै संवेदनशील हो। तर मलाई लागेको छ कि तपाईँ हामी जस्ता बोली भएकाहरूले बोल्न छाड्नु हुँदैन। आवाज त उठाउनुपर्छ। सुन्नेहरू सुनुन् या नसुनुन्। 💙 💙 💙
Deleteअर्को गजबको लेख, पढदा सारै मज्जा आयो अनि चिन्ता देसको, चिप्लेकिराको हिडाईको देसको प्रगति अनि बिश्व बुजेको एउटा नेपाली युबाको रहर अनि बाध्यताले देस रितिदै गर्दा को बिकराल चित्र प्रस्तुत गरिएको लेख समय सान्दर्भिक लाग्यो। शुभकामना आउदा लेख लाई।
ReplyDeleteधन्यबाद प्यारो भेनाजु मनदेखि ब्लगपोष्ट पढेर सारगर्भित टिप्पणी राखिदिनुभएकोमा । हजुरले भने जस्तै जुन गतिमा विकासको कामहरू हुनुपर्थ्यो , त्यो गतिमा विकास नहुनुले पनि आम मानिसहरूमा अत्यधिक निराशा छाएको पक्कै छ। समयमै यसलाई सम्बोधन नगर्ने हो भने देश अझैं पछाडि धकेलिने निश्चित छ।
Deleteमेरो समकक्षी साथीहरु जो हामी प्रवासमा छौं, हामी बीच पनि बेला बेलामा बिचार बिमर्श हुदां, स्वदेश फर्किने कि नफर्किने भन्ने प्रश्नको उत्तर दाजुको ब्लगमा भएको जस्तो, यस्तै यस्तै उत्तरहरूमा गएर ठोक्किरहन्छन् र हामी अनिर्णयको बन्दी हुन पुग्छौं। विधिको शासनको स्थापन नभएसम्म देशमा यस्तै यस्तै, केहि आँखाको समुन्ने देखिने केहि लुकी छिपी रहेका घटनाहरू घटि रहन्छन्।
ReplyDeleteम खै किन किन बिगत २-३ वर्षदेखि राजनीतिक लेखहरू पढ्नमा त्यति रुचि राख्दिन। यसमा सायद बिगतका मेरा कुल्चिएका आकांक्षाहरूले मेरो मस्तिष्कमा मलजल गरेको हुन सक्छ।तर दाजु कै लेख राजनितिक भएपनि यसरी ब्लगमा आएपछि भने नपढिरहन सकिन र मलाई लाग्यो मैले यो लेख नपढेको भए एउटा राम्रो लेख पढ्नबाट आफुलाई बन्चित गर्ने रैछु। दाजुको यो लेख सटीक छ, जस्ले देशको तत्कालिन अवस्था र ब्यवस्था लाई विनम्र तरिकाले कसिलो झापड हिर्काएको छ। धन्यवाद दाजु।
प्रिय भाइ, मायाले भरिएका कोमल अनि यथार्थपरक टिप्पणीका लागि हार्दिक आभार प्रकट गर्दछु। पक्कै पनि भाइ अनि मलाई जस्तै अन्य धेरै युवाहरुलाई राजनीतिक टीका टिप्पणी र लेखहरू पढ्न अरुचि जागेको यथार्थतामा मैले पनि नचाहँदा नचाहँदै यो ब्लगपोस्ट लेख्न पुगेको छु। आगामी दिनहरूमा राजनीतिक बिषयमा कम र जीवन जगतका बिषयमा बिशेष छलफल हुने गरी ब्लगपोस्ट लेख्ने चेष्टा गर्नेछु।
DeleteYo ekdam babal lagyo, yasari ni samasamayik tippani haru pani kahile kahi padhna paiyos.
ReplyDelete💙💙💙
Delete