Skip to main content

खाल्डोमा गाडी, जेलमा साथीः एक आत्मसंवाद



सधैं पुगिरहेको गन्तव्य थियो । गन्तव्यमा गुगल म्याप्सले सिफारीश गरेको बाटो भएर जाँदा मैले हठात गाडी मोड्नुपर्ने अवस्था बन्यो । हतपत गाडीलाई पार्किङमा छिर्ने बाटोतिर छिराउँदा, मैले हाँकेको गाडीको भाग त्यस बाटोको छेउमा कम, बाटोको छेउतिरको खाल्डोमा बढी पर्न जाँदा पछाडिको एउटा पाङ्ग्रोले भुँइ छाडेको विचित्रको स्थितिमा पुग्यो । यो आजैको घटना हो, केहि घण्टा अगाडिको । मलाई कुनै चोटपटक लागेन । गाडीमा विशेष क्षति पनि भएन । तर गाडीलाई त्यस विचित्रको स्थितीबाट बाहिर ननिकाल्दासम्मको मेरो जीवनको त्यो पूरा १ घण्टा १५ मिनेटले मलाई केहि विशेष ज्ञान भने अवश्य दिलायो । 



म जुन विचित्रको स्थितीबाट गुज्रिएर अहिले यो ब्लगपोष्ट लेख्तैछु, सम्झनामा मेरा केहि चिनजानका र केहि घनिष्ट मित्रहरूको तस्बीर एकतमास मेरो दिमागमा घुमिरहेको छ जो केहि समय अगाडिदेखि सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् । के ति मेरा साथीहरूले पनि यस वयमा जुन स्थितिको सामना गरिरहेका छन् त्यसका बारे दैनिकी लेख्दै होलान् ?


थाहा छैन्, कसले कहिलेदेखि सहकारीमा जम्मा हुन आएको बचतकर्ताको रकमलाई मनोमानी तवरले आफ्नो नीजि लाभको लागि प्रयोग गर्न शुरू गर्यो । तर मलाई यत्ति थाहा छ, यदि कुनै बुज्रुकले यस्तो गर्नु गलत हो, यसले भोली कानुनी रूपमा अफ्ठ्यारोमा पार्छ भनेर सम्झाइदिएको भएपनि अधिकांशले त्यसो गर्न छाड्ने थिएनन् । कहिलेकाही दिमागले चेतावनीहरू झट्टै ग्रहण गर्दैन् पनि । जस्तो आजैको घटनामा जब सूर्यको प्रकाश मेरो सनग्लासबाट भित्र छिरेर मैले मोड्न खोजेको बाटोतिर बाटो कम र खाल्डोको भाग बढी परेको छ भन्ने देख्न नदिएपनि करिब ३० मिटरको दुरीबाट आफ्ना दुबैहात छात्ति अगाडि क्रस गरेर हुँदैन् हुँदैन् भनिरहेको बुज्रुकलाई मैले देख्तादेख्तै पनि उसले प्रवाह गर्न खोजेको सन्देश, गाडी खाल्डोमा पारिसकेपछि मात्र मेरो दिमागले प्रोसेस गर्न सकेथ्यो । तर त्यतिबेलासम्म मैले त्यो बुझेर खास फरक पर्नेवाला केहि थिएन् । जसरी सहकारी ठगीको मुद्दामा थुनामा परेका मेरा मित्रहरूलाई अहिले परिरहेको होला ।


फेसबुकबाटै हो मैले सहकारीमा बचत भएको रकम सञ्चालक भएकै आधारमा नीजि लाभका लागि प्रयोग गर्नु कुनैपनि हालतमा उचित हुन सक्दैन भनेर होस् या कुनै उद्वेश्यका लागि उठाइएको दानको रकमलाई अपारदर्शी ढंगबाट अपारदर्शी रूपमा आफै हर्ताकर्ता भएको सहकारीमा जम्मा गर्नु अनैतिक हुन जान्छ भनेर सचेत गराएको । तर हिजोको दिनमा मैले मित्रहरूलाई त्यसो भनेर सचेत गराउँदा कतिले मलाई शत्रुसरी नै ठाने होलान् । मैले ती सज्जनलाई शत्रु कसरी मान्न सक्छु ? जसले समयमैं प्रवाह गरेको चेतावनी मैले समयमै ग्रहण गर्न सकेको हुँदो हुुँ त मैले हाँकेको गाडी त्यो विचित्रको अवस्थमा पुग्नु पर्ने नै थिएन् । फिनल्याण्डको बार्ह वर्षे बसाइमा पहिलो पटक प्रहरीको केरकारको लज्जास्पद अनुभव हासिल गर्नुपर्थेन् । र, बाटोमा केहिबेरका लागि गाडीसँगै म बटुवाहरूको जासुसी आँखाको शिकार हुनु पर्ने थिएन् । 


मेरा मित्रहरूले मैले सोचिबसेको यी कुनैपनि कुरा सोच्ने छैनन् । यसरी सोचिबस्ने मानिसले ठूला ठूला हत्कण्डा गर्ने दुस्साहस पनि कसरी राख्न सक्छ ? मलाई थाहा छ, उनीहरूले लेखिहाले भने पनि आफ्नो जेल जर्नल त्यो केवल एक बहिखाता मात्र बन्नेछ, जहाँ हुनेछन् नाम ती मानिसहरूको जसले उनीहरूलाई यो अवस्थामा प्रत्यक्ष भेटेर, वा भेट्न पुगेकाहरू मार्फत सम्झनाको सन्देश पठाएर आड भरोसा दिएका छन् वा सामाजिक सञ्जालतिर ठिक्क पर्यो, ठगहरूलाई जेलमैं सडाउनुपर्छ भनेर उनीहरूलाई तथानाम गरेका छन् । म मेरा मित्रहरूलाई यो ब्लगपोष्ट मार्फत सादा सम्झना मात्र प्रेषण गर्न सक्छु, तर उनीहरूको गैर्हकानुनी हत्कण्डाबारे जान्दाजान्दै कुनै प्रकारको सदाशयता प्रकट गर्न असमर्थ छु । 


तर यत्ति चाँहि म भन्न सक्छु कि सहकारी ठगी प्रकरणमा ठग्नेहरूको छिट्टै धनी बन्ने महत्वकांक्षालाई इन्धन भर्ने काम चाँहि ठगिनेहरूको उच्च ब्याजको लालचले गरेको हो । ठगिनेहरूको लालचले एक ताका सहकारी ठगहरूलाई यस्तो आत्मविश्वास दिलाउने काम गरेको थियो कि ‘बचतकर्ताहरूलाई लोभ त ब्याजको छ, साँवा त हामीले जे जसरी पनि मनलाग्दी गर्न पाउँछौं’ । अतः ठगहरूको ठगीको शिलशिला यहाँबाट शुरू भयो, बचतकर्तालाई नियमित ब्याज भुक्तानी दिने, साँवा चाँहि आफूले शुन्य व्याजदरमा लगानी लगाउने । केहि पैसा घरजग्गामा लगाए, केहि शेयर बजारमा, हुनसक्छ, कति रकम मिटर ब्याजमा पनि लगाए हुनन् । जब ठगहरूको मथिंगल हल्लिने गरी बजारमा सुस्तता छाउन थाल्यो, त्यसले उनीहरूलाई कर्याप्पै पार्यो । 


उसो त सहकारीमैं लेखापाल रहेका मेरा एक मित्रले पन्ध्र वर्ष पहिले नै चिया गफमा हामीलाई सुनाउँथे कि बेनीका एकाध सहकारी बाहेक अरू कुनै पनि सहकारीहरू सहकारी ऐन अनुसार सञ्चालित छैनन्, जस्तो कारोबारको लागि अनुमित लिएको कार्यक्षेत्र भन्दा बाहिर गएर शेयर सदस्य विस्तार गर्ने काम, ऋण लगानी गर्दा अपनाउनुपर्ने विधीहरूको वर्खिलाप हुने गरी गरिने कृत्यहरू । उनले यो पनि भन्ने गर्थे कि सहकारी नियमन निकायले नियामानुसार कारबाही नचलाउने हो भने एकदिन सहकारीहरूमा व्याप्त वेथिती नियन्त्रणबाहिर पुग्नेछ । उनले भन्ने गरेको त्यो एकदिन मलाई हिजोआज आएजस्तो लागेको छ । 


धनी हुने उत्कट इच्छा राख्ने मेरा कतिपय साथीहरूले विनोद चौधरीको आत्मकथा पढेका छैनन् । अहिले पुर्पक्षका लागि जेलमा पुगेका साथीभाइहरूले पनि सायदै चौधरीको आत्मकथा पढेका छन् । बिल गेट्स र वारेन वफेटको तरक्कीमा कम्ता त रूमानी सपना देख्दैनथे उनीहरू । खुवाई, हिडाईँ, चलाई, बोलाई बाफ रे बाफ यस्तो लाग्थ्यो मलाई कि म मेरो चिनजानको मान्छेसँग हैन्, नाइजेरियाकै धनी मान्छे अलिको डाङ्गोटेसँग कुरा गर्दैछु । म जान्दिनँ डाङ्गोटेका आदर्श को हुन् ? तर मेरा साथीहरूका आदर्श कार्ल मार्क्स र एंगेल्स थिए । यस्तो बेला मलाई मेरो एक बालसखाको याद आउँछ, जो अहिले चालिसमा चल्दैछ र भन्छ - जो मान्छेले दिमाग र पैतालाको चालबिच तालमेल मिलाउँदैन् ऊ खाल्डोमा जाक्किन्छ । ठ्याक्कै त्यस्तै स्थितीमा त म परेथेँ आज । मेरो दिमागले हुँदैन् हुँदैन् भनेको मान्छेलाई तीस हात वरै देख्दा देख्दै पनि पैतालाले एक्सिलेटर छाडेर ब्रेक थिच्न ढिला गर्दा गाडी खाल्डामा परेको हो । गाडी खाल्डामा पर्नु भनेको म पनि खाल्डैमा जाकिनु हो । 


भाग्यवश मलाई केहि भएन्, गाडीलाई पनि केहि भएन् । तर पश्चातापको विषय यो थियो कि दुृृर्घटनाका कारण विशेष अवस्थामा मैले फिनिश प्रहरीसँग साक्षात्कार गर्नुपर्यो । प्रहरीको भ्यान आइपुग्नु अगाडि गाडी तान्ने गाडी आएको थियो, गाडी भित्रको मलाई, प्रहरीले लाइसेन्स माग्यो । मैले भने गाडीलाई बाटोको छेऊ लगाउन देऊ, अनि कुरा गरौंला । उसले हुन्छ भन्यो ।


गाडी छेउ लगाएपछि लाइसेन्स लिदैँ गर्दा उसले थप सोध्यो, "गाडीमा अरू कोही थिए ?" मैले म एक्लै भएको कुरा बताएँ । अनि सोध्यो, "गाडी तिम्रै हो ?" मैले हो भने । "कसरी त्यहाँ खसायौ?" उसले सोध्यो । मैले भने सूर्यको प्रकाशले आँखा तिरमिरायो । उसले केहि लेख्यो मोबाइलमा । आफ्नो साथीलाई ब्रेथलाइजर ल्याउन भनेको रहिछ, उसको साथीले फू गर्न भन्यो । मैले फुकेँ । ब्रेथलाइजर बोकेर आएको प्रहरीले - "यू आर गुड टु गो" भन्यो । जम्मा डेढ मिनेटमा यो सब भयो । प्रहरीको दुईटा भ्यान गए, एउटा दमकल आएको थियो त्यो पनि गयो । गाडी तान्ने मान्छे गयो । बाटामा उभ्भेका छ सातजना बटुवाहरू पनि आफ्ना बाटा लागे । अनि लाजले रातोपिरो भएर म गाडी हाँकेर घरतिर लागेँ ।


तर जेलबाटै निस्केपछि पनि मेरा साथीहरूलाई मलाई जस्तो छुट मानिसहरूले दिनेछैनन्। मैले मेरो पसिनाले आर्जित एउटा गाडी माटोमा धसाएको थिएँ, त्यसको लागि म कसैप्रति जवाफदेही हुनुपरेन् सिवाय प्रहरीसँग। तर मेरा मित्रहरुले त अरूको पसिनाले आर्जित गाडी मात्र धसाएका थिएनन्, उनीहरूले त धेरैको जहाज डुबाएका छन्। थाहा छैन् ती डुबेका कति जहाज अब सहिसलामत उत्रिने हुन्! तर आर्थिक हिसाब जे जसरी मिलाए पनि उनीहरूले अनुहार रातो पिरो मात्र पारेर आफ्नो गल्तीको प्रायश्चित गर्न मिल्ने अवस्थामा छैनन्, किनकि उनीहरुले हजारौं बचतकर्ताप्रति जवाफदेही हुनुपर्नेछ।


मेरा मित्रहरूलाई पनि प्रहरीले लगेको हो । प्रहरीले पक्कै सोध्यो होला । मेरो जस्तो डेढ मिनेटमै सक्किने खालको काम भएको भएपनि नेपालको प्रहरीले डेढ महिना नै लगाउन सक्छ, भन्दा पनि नपत्याउने को होला र ? तर मित्रहरूले गरेको कृत्य फिनल्याण्डकै प्रहरीले पनि डेढ दुई महिना खर्चिन पर्ने लेभलको जो छ । अब नेपाल प्रहरीले के कति समय लगाउने हो त्यो त यसै आँकलन गर्न सक्ने विषय रहेन् । तर के तपाइँहरूले जुन स्तरको गल्ती गर्नुभएको छ त्यसप्रति कुनै प्रायश्चित छ ? त्यो कुनै प्रायश्चित गरेर बिर्सन सकिने किसिमको गल्ति हो ? 


साहित्यमा रूची हुने मित्रहरू हुनुहुन्छ, कृपया जेल जीवनको एक एक थान जर्नल तयार पार्नुस् । विनोद चौधरीको जीवनी नपढेपनि एलन मस्क बन्ने रूमानी सपनामा बाँच्न अभिसप्त नेपाली युवाहरूले तपाइँहरूका जर्नल पढेर थाहा पाउन् कि पैसा कमाउने तपाइँहरूको तरिका गलत छ । तपाइँहरूले सिकेको धनी बन्ने सुत्र फर्जि हो । त्यस्तो फर्जि सुत्रले एक न एक दिन कानुनी झमेलामा पारेरै छाड्छ । धोकाधडी र बेइमानीपूर्वक धनी बन्न खोज्नेहरू एक न एक दिन रसातलमा पुग्छन् ।


कोलम्बियामा कुनै बेला देशकै ऋण तिरिदिन्छु, मलाई राष्ट्रपति निर्वाचित गर भनिकन डाँको हाल्ने लागुपदार्थ उत्पादन एवं बिक्री गर्ने माफिया पाब्लो एस्कोबारसँग भनिन्छ कुनैबेला आजको विनिमय दर अनुसार नेपालको दश वर्षको बार्षिक बजेट धान्नेभन्दा बढी रकम थियो । तर गैर्हकानुनी धन्दाबाट आर्जित उसको सम्पत्तीको कानुनी भोगचलन उसकै सन्तानले गर्न पाएनन् । मित्रहरू, तपाइँहरूको जेल जर्नलमा स्पष्ट सन्देश समावेश होओस्, धनी बन्न कुनै सजिलो तरिका छैन् । र, दुनियाँलाई ठगेर धनी मानिस हैन, त्यसरी त ठग मान्छे पो बनिदो रहिछ । 

Comments

  1. सुन्दर लेख ! यसमा सवारी दुर्घटना र सहकारी ठगीको तुलना अनुपम छ । नैतिकताले आत्मग्लानि हुन्छ, चाहे गल्ती सानै किन नहोस्। थेचरोपनाको पराकाष्ठाले घागडान अपराध पनि मानिसबाट गराउने रहेछ , किनकी मानिस ढुङ्गासरी संवेदनाहीन भइसकेको हुन्छ, यो कुरा लेखमा कलात्मक र सुन्दर कटाक्षद्वारा प्रस्तुत गरिएको छ । "तर मेरा साथीहरूका आदर्श कार्ल मार्क्स र एंगेल्स थिए" यसले थोरै शब्दले धेरै कुरा भनेको छ । मलाई उहाँहरुले आत्म्समीक्षा गरेर जर्नल लेख्नुहुन्छ भन्नेमा आशा छैन ।

    ReplyDelete
    Replies
    1. प्रतिक्रियाका लागि धन्यबाद मित्र ।

      Delete
  2. हामी धैर्यता भन्ने शब्दसँग परिचित त छौ । तर हामीलाई मेहनेत नगरी एकदम ठूलो मान्छे बन्नुपर्नेछ । अधिकाँश ठगिने ती मान्छेहरू हुन जो नियमित तरिकाले आउने कमाई र आफ्नो पसिनाको कमाईमा भरोसा गर्दैनन् । हुन त मान्छे आफ्नो असफलता भन्दा पराईको सफलताम खुशी हुने प्राणी हो, किन अधिकाँश सफल(?) भनिएका मान्छेको सफलताको राज ठगी धन्दा नै हुन्छ हामीले कहिल्यै सोँचेनौ । धेरै ब्याज खाने लोभमा सावाँ चिलिम पार्ने प्रवित्ति नै भ्रष्ट मानसिकताको उपज हो । विदेश गएपछि पैसाको बोट फल्छ भन्ने उखान पुरानो भैसक्यो तर त्यो खालको व्यवहार हामी किन दोहोर्याइरहेका छौ ? करोड खर्च गरेर किन डङ्की रुटबाट अमेरिका हानिन्छौ ? किन आफ्नै अन्जान अपरिचित देखि दिदीबहिनी काकी भाउज्यू सँग कागजी विवाह गरेर डिपेन्डेन्ट भिसामा युरोप अस्ट्रेलिया घुस्न खोज्छौ ? दिनानुदिन हामी कसरी विदेशी रासलिलाको भासमा फस्दै गइरहेका छौँ ? यी सबैको एउटै कारण लोभ लोभ र लोभ अनि देखासिकी मात्रै हो भन्ने लाग्छ । मान्छेलाई बोध नभएको पक्कै हैन । तपाईको आँखा तिल्मिलाएको सुर्यको प्रकाशले हो भने नेपाली सहकारी ठगहरूको दिमाग तिल्मिलाएको लोभले हो कसैलाई व्याज पाउने लोभ कसैको साँवा परिचालन गरेर रातारात धनी हुने लोभ । त्यसैले त नेपालीहरू गोल्डक्वेस्ट, युनिटी आदि नाममा पनि ठगिन्छन् । यो ठगीको श्रृङखला अअझै अनन्त चलिरहनेछ जबसम्म हामी आफ्नो पसिनाको कमाईमा गर्व गर्न सक्दैनौ । जबसम्म हामी अरुको खुशीमा पनि खुशी हुन जान्दैनौ ।

    ReplyDelete
    Replies
    1. राम्रै समय मिलेर मीठो टिप्पणी लेख्नुभएकोमा गुरूलाई हार्दिक धन्यबाद।

      Delete
  3. Hami chhau ra ta sansar chha - tyo sadhai samjhaune lekh ko rupamaaa aaeko chha. Rajniti ghatana parighatana haru bare lekhnu hos alik badhi ta bhane, malai ta khoi aajkal ta rajniti baare pani khasi kura garna man lagna chhodechha. Aakhiri tyahi ho bhanne lagisakyo (budho bhaiechha kyare)

    ReplyDelete
    Replies
    1. Ani euta kura thapna man lage: tyo thapanirajan.com ra www.thapanirajan.com lai ekai tira redirect garnu hos (domain name setting tira hernu hos - yata uta milaunu hos bhanchhu). alchhi manchhe, thapanirajan.com gardaa ke hune hune.

      Delete
    2. फेरि पनि यहाँको दुर्लभ प्रतिक्रियाका लागि हार्दिक आभार मित्र ।

      Delete
  4. यो पोस्ट पढ्दा धेरै कुरा सोच्न बाध्य भएँ। जीवनका अप्रत्याशित मोडहरूले हामीलाई साँच्चै के सिकाउँछन् भने, गन्तव्यमा पुग्नका लागि सही बाटो मात्र महत्त्वपूर्ण छैन, सचेत र जिम्मेवार निर्णय पनि त्यत्तिकै महत्त्वपूर्ण छन्। यो लेखले सहकारी ठगीजस्तो गम्भीर विषयलाई पनि नयाँ दृष्टिकोणले बुझ्न मद्दत गर्‍यो। धनी बन्ने इच्छा साँचो मेहनत र ईमान्दारीबाट मात्र पूरा हुन्छ, अरू कुनैshortcut बाट होइन।

    ReplyDelete
    Replies
    1. ब्लगको केन्द्रिय भावलाई मनन गर्दै सरल भाषामा उल्लेख गर्नुभएकोमा भानिजलाई धन्यबाद।

      Delete
  5. लेखकले आफ्नो सवारी साधन दुर्घटना भएपश्चात लेखकमा बितेका विभिन्न खाले क्षणहरु लाई तुलना गर्दै नेपालका सहकारी ठगहरुलाई मलाई जस्तै गल्ती बोधले आत्मग्लानी भयो कि भएन होला भनेर तुलना गरेको देखियो म भन्छु सायद भएन होला किनकि नेपाल मा केवल सहकारी मा मात्रै ठगी भएको देखाएको छ। पुरै देशलाई ठगी गरेको कुरालाई ओझेलमा पारिएको छ। किनकि सहकारी ठगीमा एक अमुक पार्टीको नेतालाई ठगको उपमा दिनु थियो म त भन्छु लेखकले आउने लेखमा नेपाल भन्ने देशलाई कसरी ठगिरहेका छन् अहिलेका ठगहरुले भनेर लेखिदिएको भए कस्तो हुने थियो होला नेपाल ठग्नमा कसको बढी हात छ उनीहरूको मनमा के के कुरा खेलिरहेको होला ?उनीहरुलाई पश्चाताप लाग्छ कि लाग्दैन होला भलै मनोगत लेख् न किन नहोस् हुन त मैले नभने पनि कुनै दिन बुनुले मेसेजबाट सोध्नेछिन् अङ्कल नेपाल नै ठगिएको अवस्थामा एउटा सहकारी ठगेको कुराले कत्रो न ठूलो अर्थ राख्छ र अनि त्यतिबेला लेखकले उत्तर दिन कर लाग्छ कि बुनु हो यसबारेमा पनि क्रमश लेख्नेछु। यसको अर्थ सहकारी ठगीबाट सर्वसाधारणमा पर्न गएको मर्काप्रति सद्भाव नरहेको होइन। कोही पनि मानिस कुनै पनि प्रकारको ठगीबाट मुक्त हुनुपर्छ भन्ने मेरो मान्यता हो। तर अफसोस नेपाल भन्ने संस्था नै ठगिरहेका ठगहरुको देशमा एउटा सहकारी ठगिनु बैंक ठगिनु ले खासै अर्थ राख्छ जस्तो लाग्दैन।

    ReplyDelete
    Replies
    1. टिप्पणीका लागि हार्दिक धन्यबाद दाजु।

      Delete
  6. लेख अझ निखारीएर आएको लाग्यो। सवारी दुघर्टना लाई सहकारी ठग सँगको तुलनातमक गरी त्यसको विषयमा चल्याइएको कलम को कला एक विशिष्ठ श्रेणीका छ भन्ने मलाई लागेको छ। देशमा धेरै बेथिति छन् ती मध्ये आहिले hot topic बनेको विषयमा अझ कडा लेख आउँदै गरोस् शुभकामना।

    ReplyDelete
    Replies
    1. भिनाजुले यसै गरी सधैं माया गरिराख्नु हुनेछ भन्ने अपेक्षा गरेको छु ।

      Delete

Post a Comment

प्रतिक्रिया ब्यक्त गर्दा सभ्य र सुसंस्कृत शैली प्रयोग गर्नका लागि सम्पूर्णमा सविनय अनुरोध गर्दछु ।

लोकप्रिय पोष्टहरू

अनि रोशन भाइले टिपेछन् ६ बाल्टिन बेरी

गएको साल, हेर्दै कलिला देखिने दुई जना ठिटाहरू तिक्कुरिला रेल बिसौनीको कुनामा मस्त चुरोटको पफ लिदैं गरेका बेला, "भाइहरू नेपाली हो ?" भनेर मैले सोधेको थिएँ । मेरो प्रश्न भुँइमा झर्न नपाउँदै, आफूले तान्दै गरेको चुरोट आफ्नो साथीलाई दिदैँ, झन कलिलो देखिने ठिटोले भनेथ्यो, "हो दाई । कसरी पो ठम्याउनु भो ?"  दुई फरक मुहारको बनोट लिएका मानिसहरू सँगै बसेर एउटै चुरोट तान्दैछन् भने ती पक्कै नेपालीहरू हुनुपर्छ, त्यसमाथि तिमीहरू नेपाली मैं बातचित गर्दै थियौ नी त । मेरो जवाफ सुनेपछि त्यो ठिटोले कपाल कन्याउँदै भनेथ्यो, "हाउ दाजु पनि, सारै मजाको पो हुनुहुदोँ रहिछ !" मैले बात मार्न खोज्दा, निसंकोच बात मार्न खोज्ने ठिटो त पूर्वतिरको लिम्बु भाइ रहेछन् । अनि खासै बात मार्न नचाहने चाँहि रहिछन् - काठतिरका बाहुन भाइ ।  त्यो दिन ती भाइहरू हेलसिन्कीबाट सवा घण्टाको रेल यात्रामा पुगिने ठाउँबाट काम पाइने आशामा साथीलाई भेट्न आएका रहेछन् । आफूलाई भेट्न निम्ता दिएको साथीसँग भेट  नभएपछि  कामको खोजीमा हेलसिन्की झरेका उनीहरूलाई  आफू बस्ने ठाउँतिर फर्कने क्रममा मैले भेट्न पुगेको थिएँ । छोटो भ...

घर कहाँ हो दाजुको ?

अन्तिम पटक ह्वाट्स एपकलमा तेर्ह मिनेट कुराकानी भएको ठ्याक्कै तीन महिनापछि ह्वाट्स एपमा तिमीलाई मेरो पछिल्लो ब्लग पोष्टको लिंक साझा गरेथेँ, करिब तीन हप्तापछि आजै बुनेले मीठो टिप्पणीसहितको सन्देश प्रवाह गर्ने क्रममा अम्रिकाबाट सोधी पठायौ, "Dai, I have a question, where is home? Nepal or Finland?" सायदै बुने तिम्रो प्रश्न यत्तिमै मात्र सक्किन्थ्यो भनेपनि मैले सजिलै भनिदिन सक्थेँ होला जसरी हाम्रै म्याग्दीका लोकगायक खड्ग गर्बुजाले आफ्नो ' पिरती ' एल्बमको एक गीतमा सोध्दा प्रश्न, "घर कहाँ हो मायालु?" कति सजिलै जवाफ दिएथीन् गायिकाले, "हिमालको काखैमा ।" तर तिम्रो प्रश्नमा जवाफ मात्र दिएर पुग्थेन्, त्यसले अन्तःस्करणको भाव पनि जान्न चाहन्थ्यो किनकी त्यसमा तिमीले थपेर पठाएथ्यौ - "What is your feeling since you've lived so many years in Finland?" म फिनल्याण्ड टेकेको वर्षदिन पनि त पुगेको थिएन् जतिबेला सन् २०१३ को हिउँदमा फिनल्याण्डमा मलाई पहिलो कामका लागि भनसुन गर्दिनुभएका दाजु राजन सुवेदीले, तिम्रो जत्तिकै गम्भीर त होईन् तर सिधा प्रश्न गर्नु भएथ्...

मेरो एउटा साथी छ (हुनुहुन्छ)

 " नीराजन, मेरो बेस्ट फ्रेन्ड हो ।" जन्मेर २६ वर्ष बिताएको देश नेपालमा मलाई यस्तो भन्ने कोही थिएन् । तर यतै फिनल्याण्ड आइपुगेपछि,  मलाई यस्तो भन्ने एक जना भेट्टिएकी थिइन् ।  जोसँग बसेर एकै कप चिया वा कफि पिएकै थिइँन्, मैले । मनभरीका बह न मैले उनीसँग केहि पोखेकै थिएँ, न त उनले विशेष केही त्यस्त्तो साझा गरेकी थिइन् मसँग । तर मलाई चिन्ने र मसँग सम्पर्कमा रहेका धेरै साथीभाइसँग उनले सुनाउन बिर्सेकी रहिन्छिन् कि निराजन उनको बेस्ट फ्रेन्ड हो ।  यो पढ्दै गर्दा यहाँलाई लाग्ला, कि आफूलाई बेस्ट फ्रेन्ड बताउने साथीका सम्बन्धमा लेख्ता पनि यसले किन भूतकालको प्रयोग गर्यो ? प्रश्न स्वभाविकै हो तर मेरो जवाफ अलिकति अस्वभाविक लाग्न सक्ला यहाँलाई । कि मलाई बेस्ट फ्रेन्ड भन्ने उनको, खासमा म  फ्रेन्ड पनि थिइँन् । न उनी थिइन्, मेरो कुनै त्यस्तो विशेष मित्र । बस्, हाम्रो सामान्य चिनजान मात्र थियो । केहि मानिसहरू हुँदारहेछन्, जो सामान्य चिनजानलाई मित्रताको नाम दिदाँरहिछन्, उनले जस्तै । अनि कोही यस्ता पनि हुँदा रहिछन् कि जोसँग हामी विशेष सामिप्यतामा भएको ठानेका हुन्छौं, तर उनीहरूका ...

बोई, बार्ह वर्षमा खोलो किन फर्किएन् ?

हिजो भर्खर जस्तो लाग्छ, २७ औं वसन्तमा हिड्दै गरेको म विना कुनै योजना देश छाडेर परदेश हिडेको । आज १२ वर्ष नाघिसकेछ, परदेश भनिएको ठाम देशजस्तै अनि देश ठानिएको ठाम परदेशजस्तै भएको । मेरी बोइ भन्नुहुन्थ्यो, "बार्ह बर्षमा खोलो फर्किन्छ ।" बार्है बर्ष वितिसकेछन्, म मान्छे भएर होला सायद आफूले आएको बाटैबाटो घर फर्किन नसकेको ! बोइ नफर्किने गरी गएको पनि ५ वर्ष त नाघिसकेछ, सायद अझै हुनुहुन्थ्यो भने फोन गरेर म सोध्दो हुँ, - बोइ बार्ह वर्षमा खोलो कसरी फर्किन्छ ? सिकाइमाग्दो हुँ फर्किने सुत्र, शिरोपर गर्दो हुँ ती सुत्रहरू र लाग्दो हुँ ढोडेनीको पक्की पुल तरेर किनारै किनार तेर्सिएर घैयारासम्म अनि अलिकति माथि उक्लिएर हाम्रा जिजुको पालादेखिको हाम्रो स्थायी ठेगाना उही ढुंगेपाली टोलमा । छिर्दो हुँ आफ्नै मेहनतले बनाएको साढे दुई तले पक्की घरको दैलोभित्र ।           दिनहरू यस्ता पनि थिए, जहिले म कविताहरू लेख्ने गर्थेँ । मेरा कविताहरूमा देश छाड्नेहरूलाई स्वदेशमैं बस्नु भनेर आव्हान हुने गर्थे । अहिले म तीनै कविताहरूका पात्र बनेर आफैले बाँच्नु परेको परिस्थितीलाई पचाउने प्रयत्न गर्दै...

क्लोरिनको झोल, वैज्ञानिकहरू र मेरी बोइको मुड्की

मेरो बाल्यकाल लगभग बोईसँगै बित्यो । त्यो चकचक गर्ने समय भएकाले मेरो चकचकसँग बोईलाई बेलाबेलामा झिझो लाग्नु स्वभाविक नै थियो । त्यसैले मैले अति नै अटेर गरेपछि बोईले मलाई भन्नुहुन्थ्यो -  "अहिले गाडूँला मुड्की (मुड्कीले हान्छु) ।" तर अहँ कहिल्यै पनि एक झापड खानुपरेन । मुड्की नै खानु नपरेपछि मेरो चकचक थामिने कुरै थिएन, त्यसैले बोईले पनि मुड्की गाडूँला भन्न छाड्नुभएन अनि मैले चकचक गर्न । मेरी बोईले यस धरा छोडेको पनि यहि हिउँदमा बर्षदिन पुग्दैछ, तर बोईले भन्ने गरेको "अहिले गाडूँला मुड्की" मेरो मनमा गडिरहेको छ, अनि यसो सोच्छु, दुईचार पटक बोईले साँच्चिकै मुड्की गाड्नुभएको भए, मेरा चकचक उहिले पहिले नै खत्तम हुन्थे कि ?  तर खासमा चकचक भन्ने जिनिस त्यत्तिकै खत्तम भएर गैहाल्ने कुरो हैन रहेछ । न त यो उमेर बढ्दै गएपछि आफै घट्दै र पछि निस्तेज नै हुने रहेछ । यसले खासमा उमेर बढ्दै गएर केश पाक्दै गएपनि आफ्नो स्वरूपमा अलिकति फेरिदै तरह तरहका रूपमा प्रकट हुँदै पो जाँदो रहेछ कि ? भन्ने निचोडमा पुगेको छु । यस्तै केहि केश पाक्नै थालेका मान्छेहरूको चकचक कोरोनको त्रास बढ्दै गएपछि अलिकति भि...