Skip to main content

बिर्सनै नसकिने उसको प्रिय मुस्कान

एकटकले मैले यतिखेर नितान्त सुदिपसँग वितेका केही पलहरू अनुभूत गर्न खोजिरहेको छु । पृष्ठभूमीमा शितु खरेलले गाएको गीत “टाढा रहेको हरेक पल, आफैलाई हजारौं जुनी जस्तो, गुन्जिएको आवाज झन कहि कतै आएको तिम्रो जस्तो..............” बजिरहँदा, एफ एम रेडियोमा लामो एन्टेना जोडेर सुदिप मसँगै असरल्ल परेर पल्टिएको हाम्रो चौरमा रेडियोमा एफ.एम खोजीरहेको क्षण झल्झल्ती याद भैराखेको छ । हुन पनि, भर्खर मात्र त थियो, श्रीनगर एफ.एम हाम्रो रेडियोले टिप्न थालेको । ऊ कति एकाग्र थियो, आफ्नो काममा ? जबसम्म रेडियोले श्री नगरको परीक्षण प्रसारणलाई टपक्क टिप्ने थिएन उतिखेर सम्म ऊ अति जिज्ञासु भएर रेडियोको मिटर घुमाइ रहेको हुन्थ्यो । अँ साँच्ची ऊ हामीसँग फुटबल पनि खेल्थ्यो कहिलेकाही । हामी गोल गर्नकै लागि फुटबल खेल्थ्यौं ऊ चाँही आफ्नो टिम विरुद्ध गोल नहोस् भन्ने मनशायले मैदानमा बलको पछि पछि दौडिरहेको हुन्थ्यो । ऊ र हामीमा धेरै भिन्नताका रेखाहरू प्रष्टै थिए । ऊ भावुक मुन्छे, हामी हरदम चञ्चल मन बोकेर हिड्ने मनुवा । उसको गाम्भिर्यताले मलाई अ‍ैले लागिरहेको छ, ईश्वर पनि असल र राम्रा मान्छेहरूलाई हर तरह आफूकहाँ लिन चाहन्छ । एक प्रिय तर भावुक कवि जस्तो थियो– सुदिप, कहिलेकाहीँ मलाई यस्तो पनि लाग्थ्यो– कास ऊ कवि भैदिएको भए कस्तो सृजना गथ्र्यो होला ! जे–जस्तो भए पनि ऊ एक प्रिय मनुवा थियो । उसले मिल्न नजानेका मानिसहरू मैले अझै भेटेको छैन् । लाग्छ, यो असम्भवप्रायः कुरा हो । जो–जस्तोसँग पनि मिल्न सक्ने उसँग एक अनुकरणीय असाधारण मानवीय प्रवृती हावी थियो । र, यत्तिनै खेर म निर्धक्कसाथ भन्न सक्छु, उसको अभाव उसको परिवार वा इष्ट्रमित्र वा भनुँ शुभचिन्तकलाई मात्र छैन्, उसले कम्तिमा पनि एक पटक भेटेर मुस्कान साथ “हेल्लो” भन्न भ्याएका कतिपय अज्ञात कोरियाली व्यक्तिहरुलाई पनि हुन सक्छ । उसको मुस्कानभित्रको माधुर्यताको राज नै यहि थियो । अहिले मैले लेख्न छुटाउनै नहुने प्रसङ्ग भावनात्मक हिसाबले बढो गम्भिर र असहनीय नै छ । उसलाई मैले ३ वर्षपछि नेपाल आएको बखत भेट्न नपाउँदै उसले पठाएको इ–मेल पढ्दै थिएँ । उसको हाइ फाइभ प्रोफाइलमा कालो ठूलो चश्मा लगाएको तस्बिर कम्प्यूटरको एक कुनामा छँदै थियो, त्यसमा पनि उसको तस्बिर हेर्दै उसको भावना पढ्न पाउनु कम्ता खुशिको खबर त थिएन मेरो लागि । तर के गर्नु त्यो दिन मेरो खुशिलाई निमिट्यान्न पार्दै उसको दुर्घटनाको खबर मेरो कानसम्म आइपुग्यो । उसको इ–मेल पूरा नपढी सन्तोष दाई (सुदिपको सहोदर दाजु) लाई लिएर दुर्घटनास्थलतर्फ हिडँ । उसै त कम बोल्ने सन्तोष दाजुसँग बिरलै वार्तालाप गर्दै बागलुङ्सम्म पुगेँ । मनभरी उसको स्वास्थ्यलाभका कामनाका साथ २२ मिनेटको मोटरसाइकल यात्रा मलाई निरर्थक जस्तो पनि लाग्यो – जब बागलुङ् भेटेका धेरै जनहरूले उसको रिकोभरीको शुन्य प्रतिशत मौका रहेको बताए । हरे ! दैव पनि कस्तो निठूर ? २०–२१ वर्षे ईश्र्यालू वैंशालु उमेरमा टपक्क टिपेर लाने ? सायद दैव भन्ने चिज दृश्योग्य हुन्थ्यो भने पनि त्यल्लाई भकुर्नु सम्म भकुरेर उसको पञ्जाबाट त्यो भावुक प्रिय सुदिपलाई लिनुहुन्थ्यो मलाई त्यतिखेर सबभन्दा खट्केको कुरा नै यहि थियो –तर त्यो सम्भवयोग्य पनि त कहाँ छ र ? अब आजभोली मलाई लागिरहेको चैं – उसको नश्वर शरीर हामीसँग नभएपनि भिन्दा भिन्दै बखतमा उसले छुट्टाछुट्टै रुपमा हामीहरूलाई छाडेर गएका अविष्मरणीय पलहरू नै उसलाई पाउनु जत्तिकै आनन्ददायक र प्रिय छन । र, मैले विश्वस्त हुनै पर्छ कि उससँग बितेका मेरा विगतहरू अतुलनीय छन् जति उसको अपुरणीय अभाव मसँग व्याप्त भैराखेको छ ।

Comments

  1. this article led me to the day of 1st of Falgun, 2066.

    ReplyDelete

Post a Comment

प्रतिक्रिया ब्यक्त गर्दा सभ्य र सुसंस्कृत शैली प्रयोग गर्नका लागि सम्पूर्णमा सविनय अनुरोध गर्दछु ।

Popular posts from this blog

को नायक? खलनायक को ?

बुडापेष्टको एउटा बगैंचामा राता र सेता गुलाफहरूबीच रहेको एक मूर्ति मुनि बसेर गिटार बजाउँदै गीत गाउँदै गरेका एक बुढा बाजेलाई खल्ति रित्ताएर पैसा दिन मन भएथ्यो । मसँग खल्ती भरी रूपैयाँ थिएन्, बुढीमाउलाई २ यूरो मागेर उनलाई दिएँ ।  बुढा बाजेले जर्मनमा केहि बोले, मैले नबुझेको अड्कल गरेर होला, उनले सोधे अङ्ग्रेजीमा "ह्वेय आर यू फ्रम ?" "नेपाल" मैले भनेँ । "वाउ क्याट्मान्डु ? यू केम फ्रम क्याटमान्डु टु बुडापेष्ट?" उनले बडो उत्साहित हुँदै प्रश्न गरे ।  मलाई झुटो बोल्न प्रायः सकस पर्छ, यसैकारण, मैले सत्य बोलिदिएँ - "नो सर। इट इज नट लाइक द्याट, आइ लिभ इन हेलसिन्की डिस्पाइट विइङ्ग ए नेपाली ।" (होइन् नी महोदय त्यसो । मान्छे नेपालको भएपनि क्याटमान्डु नभै हेलसिन्की बस्छु, म ।) छोटो तर यादगार कुराकानीमा ती बुढा बाजे आफूले नेपालका अग्ला हिमालहरू सम्झिएर, मलाई चाँहि मेरो घर सम्झाए । मैले नबुझ्ने भाषामा मन छुने संगित भरेर ती बाजेले  पूर्ववतः   गीतको भाका हाल्न थाले । उनको गायकी र उनले झंकार निकालेको गिटारको धुन पर पर सम्म पुगिरहेथ्यो, मानिसहरू प्रायः फर्केर एकपटक उ...

अनि रोशन भाइले टिपेछन् ६ बाल्टिन बेरी

गएको साल, हेर्दै कलिला देखिने दुई जना ठिटाहरू तिक्कुरिला रेल बिसौनीको कुनामा मस्त चुरोटको पफ लिदैं गरेका बेला, "भाइहरू नेपाली हो ?" भनेर मैले सोधेको थिएँ । मेरो प्रश्न भुँइमा झर्न नपाउँदै, आफूले तान्दै गरेको चुरोट आफ्नो साथीलाई दिदैँ, झन कलिलो देखिने ठिटोले भनेथ्यो, "हो दाई । कसरी पो ठम्याउनु भो ?"  दुई फरक मुहारको बनोट लिएका मानिसहरू सँगै बसेर एउटै चुरोट तान्दैछन् भने ती पक्कै नेपालीहरू हुनुपर्छ, त्यसमाथि तिमीहरू नेपाली मैं बातचित गर्दै थियौ नी त । मेरो जवाफ सुनेपछि त्यो ठिटोले कपाल कन्याउँदै भनेथ्यो, "हाउ दाजु पनि, सारै मजाको पो हुनुहुदोँ रहिछ !" मैले बात मार्न खोज्दा, निसंकोच बात मार्न खोज्ने ठिटो त पूर्वतिरको लिम्बु भाइ रहेछन् । अनि खासै बात मार्न नचाहने चाँहि रहिछन् - काठतिरका बाहुन भाइ ।  त्यो दिन ती भाइहरू हेलसिन्कीबाट सवा घण्टाको रेल यात्रामा पुगिने ठाउँबाट काम पाइने आशामा साथीलाई भेट्न आएका रहेछन् । आफूलाई भेट्न निम्ता दिएको साथीसँग भेट  नभएपछि  कामको खोजीमा हेलसिन्की झरेका उनीहरूलाई  आफू बस्ने ठाउँतिर फर्कने क्रममा मैले भेट्न पुगेको थिएँ । छोटो भ...

यो के गर्यौ तिमीले मेरा प्यारा हन्तकालीहरू हो?

"सर, चाउमिन बाँकी रह्यो । एक प्लेट थपिदिऊँ ?" स्कुलको क्यान्टिनका मुख्य कुक पाण्डे दाईले मलाई कान मैं आएर भनेपछि मैले नाइँ भन्नुपर्ने कारण देखिनँ ।  वाइवाइ चाउचाउको चाउमिन यस्तो मीठो थियो कि एक प्लेट खाँदा पनि मेरो जिब्रोको भोक मेटिएकै थिएन् । मैले अर्को प्लेट हसुरेँ ।  पाण्डे दाईले थपिदिएको त्यो उभ्रेको एक प्लेटबाट दोस्रो चोटी काँटामा बेरेर मैले मुखमा पुर्याउनै आँटेको के थिएँ, टेबलटेनिसको पुरानो हरियो टेबलमाथि बसेर भर्खर सकिएको दोस्रो त्रैमासिक परीक्षाको कापि जाँच्दै गरेका जनसंख्या शिक्षक एवं म अध्यापनरत विद्यालयका संस्थापक नराम्ररी बिच्किए । भन्दै थिए, "यहाँ आफूले एक प्लेट पाइया छैन्, सरले दुइ प्लेट नै उठाइदिने ?"  भोकले रन्थनिएका केसी सरले अहिले मैले मिलाएर लेखेको भन्दा तिखा शब्दहरू उनेर केहि भनेका थिए । सायद उनको ठाउँमा म र मेरो ठाउँमा उनी भएका भए त्यसबखत उनले मलाई मारेभन्दा बड्ता पेचिलो डायलग म मार्ने थिएँ होला । डायलग मार्न म बच्चैदेखि खप्पिस हुँ ।  तर त्यो वखत डायलग बेहोर्नेमा म थिएँ, मार्ने अर्को कोही । एकैछिन अघिसम्म मीठो भएको त्यो वाइवाइ चाउचाउको चाउमिन के...