म २०५८ देखि काठमाडौंमा जाने आउने गरेको छु । अर्थात् यो समयसम्म म कम्तिमा पनि पचासौं पटक काठमाडौं ओहोरदोहोर गरिसकेको छु । मेरो जस्तै यहाँहरुको पनि काठमाडौं जाँदा\आउँदाका आ–आफ्नै अनुभव होलान् अझ विशेष गरी देशको राजधानी छिर्ने एउटा मात्र राजमार्ग पृथ्वी राजमार्गको हविगती देखेपछि ! मैले विगत ८ वर्षदेखि धेरै नजिकैबाट यो क्षतविक्षत राजमार्गलाई नियालीरहेको छु । नौबिसेबाट उकालो लागेपछि नागढुंगा नपुग्दासम्मको कहालीलाग्दो साँघुरो बाटो अझ त्यो पनि घाईते ! राजमार्गमा भएका भयानक खाल्डा, खुल्डी र यसमा हुने सवारीको चाप । मलाई सोध्न मन लागेको छ – सिंहदरबार यो सब किन देख्दैन् ? र, म निश्कर्षमा पुगेको छु – नेपालीको बढ्दो जनसंख्यालाई नियन्त्रण गर्नका लागि राजमार्गहरु यस्तै हुनु पर्छ भन्ने हाम्रो सरकारको मान्यता हुनु पर्दछ ! मैले लाज मानेर के गर्नु ? तपाईले आँखा छोपेर के गर्नु ? जब हाम्रा नेताहरुमा दुरदर्शिता छैन् भने !
हिजो भर्खर जस्तो लाग्छ, २७ औं वसन्तमा हिड्दै गरेको म विना कुनै योजना देश छाडेर परदेश हिडेको । आज १२ वर्ष नाघिसकेछ, परदेश भनिएको ठाम देशजस्तै अनि देश ठानिएको ठाम परदेशजस्तै भएको । मेरी बोइ भन्नुहुन्थ्यो, "बार्ह बर्षमा खोलो फर्किन्छ ।" बार्है बर्ष वितिसकेछन्, म मान्छे भएर होला सायद आफूले आएको बाटैबाटो घर फर्किन नसकेको ! बोइ नफर्किने गरी गएको पनि ५ वर्ष त नाघिसकेछ, सायद अझै हुनुहुन्थ्यो भने फोन गरेर म सोध्दो हुँ, - बोइ बार्ह वर्षमा खोलो कसरी फर्किन्छ ? सिकाइमाग्दो हुँ फर्किने सुत्र, शिरोपर गर्दो हुँ ती सुत्रहरू र लाग्दो हुँ ढोडेनीको पक्की पुल तरेर किनारै किनार तेर्सिएर घैयारासम्म अनि अलिकति माथि उक्लिएर हाम्रा जिजुको पालादेखिको हाम्रो स्थायी ठेगाना उही ढुंगेपाली टोलमा । छिर्दो हुँ आफ्नै मेहनतले बनाएको साढे दुई तले पक्की घरको दैलोभित्र । दिनहरू यस्ता पनि थिए, जहिले म कविताहरू लेख्ने गर्थेँ । मेरा कविताहरूमा देश छाड्नेहरूलाई स्वदेशमैं बस्नु भनेर आव्हान हुने गर्थे । अहिले म तीनै कविताहरूका पात्र बनेर आफैले बाँच्नु परेको परिस्थितीलाई पचाउने प्रयत्न गर्दै...
Comments
Post a Comment
प्रतिक्रिया ब्यक्त गर्दा सभ्य र सुसंस्कृत शैली प्रयोग गर्नका लागि सम्पूर्णमा सविनय अनुरोध गर्दछु ।