Skip to main content

आउने यो नयाँ वर्षमा

कैयन कठिन दिन र रातहरू पट्यारलाग्दो ढंगले बिताइसके पश्चात ः आजदेखि हामी विवश नेपालीहरूले २००९ लाई विदाई गरी उहि विवश मनस्थिती लिएर व्यग्रतापूर्वक ईश्वी सन्को अर्को एउटा नौलो वर्ष २०१० को स्वागत गर्न लागि रहेका छौं । लाग्दछ, यो वर्षले आफ्नो पहिलो प्रहर बिताइरहँदा हामी नेपालीहरू हाम्रो देश र हामीहरूको नौलो र बैज्ञानिक ढंगले पुनर्संरचना गर्ने गरी तयार पारिएको एउटा दस्तावेजका रूपमा ‘नयाँ नेपालको नयाँ संविधान’ पाएका हुनेछौं । खैर, यो हाम्रो स्वस्थ र आशावादी मस्तिष्कले कल्पना गरेको (तर सायदै पूरा नहुने) एउटा मृगतृष्णा मनमा लिई राखेको जस्तो पनि हुन सक्ला । तथापी हामीले तत्कालै यो नयाँ वर्षमा केही हुन्छ कि भनेर सोच्नु पनि हाम्रो मुर्खता मात्र पो हुने हो कि ! नेताहरू (भन्न पनि लाज लागेर आउँछ) ले सायद ईश्वी सन्को यो नयाँ वर्षमा कसरी हुन्छ सत्तामा आफू र आफ्नो पार्टीको गतिलो उपस्थितीका लागि सपना साँचिरहेका होलान् । कोही आफ्ना परिवार, इष्टमित्र र कार्यकर्ताहरूको वथान बोकेर नेपाल राज्यको राज्यकोषको चरम दुरुपयोग गरी विदेश सयरको योजनाको तानाबाना बुन्दै होलान् । कतै, कोही अरुहरू बन्द, हडताल, चक्काजाम र आन्दोलन गरी देशमा अराजक स्थितीको सृजना कसरी गर्ने भन्ने बारेको गम्भिर छलफलमा निमग्न होलान् । तर आम नेपाली बालबालिकाहरू प्रत्येक दिन बिहान आफ्ना बावा आमालाई सोधिरहेका हुने होलान – “बाबा, आज स्कुल बन्द छ कि छैन् ?!” “आमा, आज साँच्चिकै हाम्रो स्कुलमा पढाई हुने हो र ?” यो वर्ष पनि सायद आफ्नो +२ पास गरेका हजारौं युवा युवतीहरू शैक्षिक परामर्श केन्द्रहरूमा “कुन देशका लागि विद्यार्थी भिषा प्राप्त गर्न सहज छ ?” भनेर सोधी त्यसका लागि आवश्यक तयारीमा लाग्दै गरेका हुनेछन् होला । वा कुनै राजदुतावासको गेटबाहिर आफ्नो भिसाका आवेदन फर्म भर्नका लागि रात–रातभर लामो लाइनमा लामबद्ध भई बसिरहेका पो हुनेछन् कि । अरू त म के लेखुँ मित्रहरू ? साँच्चिकै ईश्वी सन्को यो नयाँ वर्षमा हामी नेपालीहरूले के पाउँछौ अनि के गुमाउँछौं होला ?

Comments

Popular posts from this blog

अनि रोशन भाइले टिपेछन् ६ बाल्टिन बेरी

गएको साल, हेर्दै कलिला देखिने दुई जना ठिटाहरू तिक्कुरिला रेल बिसौनीको कुनामा मस्त चुरोटको पफ लिदैं गरेका बेला, "भाइहरू नेपाली हो ?" भनेर मैले सोधेको थिएँ । मेरो प्रश्न भुँइमा झर्न नपाउँदै, आफूले तान्दै गरेको चुरोट आफ्नो साथीलाई दिदैँ, झन कलिलो देखिने ठिटोले भनेथ्यो, "हो दाई । कसरी पो ठम्याउनु भो ?"  दुई फरक मुहारको बनोट लिएका मानिसहरू सँगै बसेर एउटै चुरोट तान्दैछन् भने ती पक्कै नेपालीहरू हुनुपर्छ, त्यसमाथि तिमीहरू नेपाली मैं बातचित गर्दै थियौ नी त । मेरो जवाफ सुनेपछि त्यो ठिटोले कपाल कन्याउँदै भनेथ्यो, "हाउ दाजु पनि, सारै मजाको पो हुनुहुदोँ रहिछ !" मैले बात मार्न खोज्दा, निसंकोच बात मार्न खोज्ने ठिटो त पूर्वतिरको लिम्बु भाइ रहेछन् । अनि खासै बात मार्न नचाहने चाँहि रहिछन् - काठतिरका बाहुन भाइ ।  त्यो दिन ती भाइहरू हेलसिन्कीबाट सवा घण्टाको रेल यात्रामा पुगिने ठाउँबाट काम पाइने आशामा साथीलाई भेट्न आएका रहेछन् । आफूलाई भेट्न निम्ता दिएको साथीसँग भेट  नभएपछि  कामको खोजीमा हेलसिन्की झरेका उनीहरूलाई  आफू बस्ने ठाउँतिर फर्कने क्रममा मैले भेट्न पुगेको थिएँ । छोटो भ...

मेरो एउटा साथी छ (हुनुहुन्छ)

 " नीराजन, मेरो बेस्ट फ्रेन्ड हो ।" जन्मेर २६ वर्ष बिताएको देश नेपालमा मलाई यस्तो भन्ने कोही थिएन् । तर यतै फिनल्याण्ड आइपुगेपछि,  मलाई यस्तो भन्ने एक जना भेट्टिएकी थिइन् ।  जोसँग बसेर एकै कप चिया वा कफि पिएकै थिइँन्, मैले । मनभरीका बह न मैले उनीसँग केहि पोखेकै थिएँ, न त उनले विशेष केही त्यस्त्तो साझा गरेकी थिइन् मसँग । तर मलाई चिन्ने र मसँग सम्पर्कमा रहेका धेरै साथीभाइसँग उनले सुनाउन बिर्सेकी रहिन्छिन् कि निराजन उनको बेस्ट फ्रेन्ड हो ।  यो पढ्दै गर्दा यहाँलाई लाग्ला, कि आफूलाई बेस्ट फ्रेन्ड बताउने साथीका सम्बन्धमा लेख्ता पनि यसले किन भूतकालको प्रयोग गर्यो ? प्रश्न स्वभाविकै हो तर मेरो जवाफ अलिकति अस्वभाविक लाग्न सक्ला यहाँलाई । कि मलाई बेस्ट फ्रेन्ड भन्ने उनको, खासमा म  फ्रेन्ड पनि थिइँन् । न उनी थिइन्, मेरो कुनै त्यस्तो विशेष मित्र । बस्, हाम्रो सामान्य चिनजान मात्र थियो । केहि मानिसहरू हुँदारहेछन्, जो सामान्य चिनजानलाई मित्रताको नाम दिदाँरहिछन्, उनले जस्तै । अनि कोही यस्ता पनि हुँदा रहिछन् कि जोसँग हामी विशेष सामिप्यतामा भएको ठानेका हुन्छौं, तर उनीहरूका ...

अनि मलाई खुबै राजनीति लाग्छ ...

कहिले काही मैले फोकस गुमाएको जस्तो मेरा नजिकका प्रिय मान्छेहरूले महशुस गर्नुहुन्छ ।  राजन दाईले अस्ति फोन गरेपछि पो झल्याँस्स भएँ । वहाँको गुनासो मिश्रित प्रश्नले सिधै मेरो दिमागमा झड्का दिन पुग्यो, दाईसँग खास घुलमिल नभएकाहरूलाई चाँहि वहाँको प्रश्नले दिमागमा हैन् सिधैं मुटुमा हान्न सक्छ । वहाँका प्रायः प्रश्नहरू तारा खेलमा निशाना लगाउन प्रयोग हुने वाण जस्तो सिधा र तिखो हुन्छन् । जस्तो मेरो दिमाग मैं झङ्कार लेराउने प्रश्न थियो वहाँको,  "हैन पाक्षिक रूपमा ब्लग अद्यावद्यिक (अपडेट) गर्छु भन्या हैन् ? एक महिना पुग्न लाग्यो त सर !"    मलाई व्यंग्य गर्नुपर्दा दाइले सर भन्नुहुन्छ, अनि वहाँलाई चाहिँ म भन्छु, साहुजी । यत्तिमा मात्र दाजुको प्रश्न सिमित हुन्थ्यो भने, सायदै म आजको यो ब्लग लेख्न बस्थेँ । तर वहाँको प्रश्नसँग व्यंग्यमिश्रित सानो जिज्ञासा पनि थियो, "खुबै चुनाव लाग्या छ हैन् तिमीलाई !?" यो जिज्ञासामिश्रित व्यंग्य हो या व्यंग्य मिसिएको जिज्ञासा । या यो जिज्ञासा हुँदै नभएर केवल व्यंग्य मात्र थियो । तर जेहोस् यो केहि न केहि चाँहि पक्कै थियो ।  खुबै चुनाव लाग्ने आफत ...