Skip to main content

पाइला – पाइलामा समस्या

पहाडी क्षेत्रका अझ त्यो पनि कच्ची बाटोमा यात्रा गर्दाका अनुभव प्रत्येक पल्ट ती यादगार क्षणहरू बन्न पुग्दछन् । कतिपय अवस्थामा ती ज्यानै जानसक्ने जोखिमयुक्त पनि हुन सक्दछन् भने कहिलेकाही ती यात्रुहरूका लागि रमाईलो र फ्रेश बन्ने अबसरका रूपमा पनि प्रयोग गर्न सकिने स्तरका हुन्छन् । तस्बिरमा देखिएको दृश्य चाहिँ केहि हप्ता अगाडि म ताकम क्षेत्रमा फिल्ड गएर बेनी फर्कदा हो । दरबाङ सबेरै सबभन्दा शुरूको क्युमा रहेको यो बसमा म ५ दिन पछाडी मेरी प्रिय सानुको हातबाट बनेको खाना खान लालयित भएर अति उत्साहित भएर चढेको थिएँ । जति जति यो दरबाङबाट टाढिदै थियो उति उति म मेरी सानु र प्यारी छोरी एन्जिलसँगको भेटलाई नजिकाउँदै थिएँ । तर दुर्भाग्य यो गाडी कम्तिमा डेढ घण्टासम्म डम्मरा (बेनी मंगलाघाटदेखि पैदल २० मिनेटको बाटो) मा आएर फसिरह्यो । म चढेको गाडिको ड्राइभर आफू नै उक्त सवारीको धनी भएको नाताले पनि हुनुपर्छ अति नै सम्बेदनशिल भएर त्यहाँबाट बाहिर निकाल्दै थियो । तर ऊ सफल हुन सकिरहेको थिएन । म लगायत बसमा सवार प्रायः यात्रुहरूले उसलाई विभिन्न संज्ञा दिन थालिसकेका थियौं । छेराउटे, कायर, डरछेरुवा, मख्खीचुस आदि इत्यादि ! ऊ कुनै शब्द ननिकाली चुपचाप बसलाई त्यहाँबाट निकाल्न खोजिरहेको थियो । ट्याक्ट्ररले २ पटकसम्म प्रयास ग¥यो तर दुबै पटक गाडी तान्ने रसी चुडिए पछि ट्याक्ट्ररको ड्राइभर निराश भयो र केहि पनि नबोली त्यहाँबाट हिड्यो । तर हामी सवार बसको साहु–ड्राइभर भने आफ्नो निरर्थक प्रयासमा लागिरहेकै थियो । झण्डै डेढ घण्टा बित्नै लाग्दा बेनीबाट दरबाङ्का लागि हिडेको बसको एक किशोर ड्राइभरले उसलाई कुन्नी के कानेखुशी गरेथ्यो । गाडि त्यस दलदलबाट मुक्त भयो । र, म श्रीमतीको हप्की पाइने डरले फोन गर्दै उनलाई फसेको ठाउँबाट गाडि निक्लेको कुरा अवगत गराएँ । “जेसुकै गर्नोस्, आफै खाना पस्केर खानुहोला म र छोरी बाहिर बजारमा जाने काम छ ।” जबाफ उनले यति भनिन र मोवाईल राखिन् ।

Comments

  1. त्यो पिडा मा त म पनिसाक्षी थिए नि !

    ReplyDelete

Post a Comment

प्रतिक्रिया ब्यक्त गर्दा सभ्य र सुसंस्कृत शैली प्रयोग गर्नका लागि सम्पूर्णमा सविनय अनुरोध गर्दछु ।

Popular posts from this blog

को नायक? खलनायक को ?

बुडापेष्टको एउटा बगैंचामा राता र सेता गुलाफहरूबीच रहेको एक मूर्ति मुनि बसेर गिटार बजाउँदै गीत गाउँदै गरेका एक बुढा बाजेलाई खल्ति रित्ताएर पैसा दिन मन भएथ्यो । मसँग खल्ती भरी रूपैयाँ थिएन्, बुढीमाउलाई २ यूरो मागेर उनलाई दिएँ ।  बुढा बाजेले जर्मनमा केहि बोले, मैले नबुझेको अड्कल गरेर होला, उनले सोधे अङ्ग्रेजीमा "ह्वेय आर यू फ्रम ?" "नेपाल" मैले भनेँ । "वाउ क्याट्मान्डु ? यू केम फ्रम क्याटमान्डु टु बुडापेष्ट?" उनले बडो उत्साहित हुँदै प्रश्न गरे ।  मलाई झुटो बोल्न प्रायः सकस पर्छ, यसैकारण, मैले सत्य बोलिदिएँ - "नो सर। इट इज नट लाइक द्याट, आइ लिभ इन हेलसिन्की डिस्पाइट विइङ्ग ए नेपाली ।" (होइन् नी महोदय त्यसो । मान्छे नेपालको भएपनि क्याटमान्डु नभै हेलसिन्की बस्छु, म ।) छोटो तर यादगार कुराकानीमा ती बुढा बाजे आफूले नेपालका अग्ला हिमालहरू सम्झिएर, मलाई चाँहि मेरो घर सम्झाए । मैले नबुझ्ने भाषामा मन छुने संगित भरेर ती बाजेले  पूर्ववतः   गीतको भाका हाल्न थाले । उनको गायकी र उनले झंकार निकालेको गिटारको धुन पर पर सम्म पुगिरहेथ्यो, मानिसहरू प्रायः फर्केर एकपटक उ...

अनि रोशन भाइले टिपेछन् ६ बाल्टिन बेरी

गएको साल, हेर्दै कलिला देखिने दुई जना ठिटाहरू तिक्कुरिला रेल बिसौनीको कुनामा मस्त चुरोटको पफ लिदैं गरेका बेला, "भाइहरू नेपाली हो ?" भनेर मैले सोधेको थिएँ । मेरो प्रश्न भुँइमा झर्न नपाउँदै, आफूले तान्दै गरेको चुरोट आफ्नो साथीलाई दिदैँ, झन कलिलो देखिने ठिटोले भनेथ्यो, "हो दाई । कसरी पो ठम्याउनु भो ?"  दुई फरक मुहारको बनोट लिएका मानिसहरू सँगै बसेर एउटै चुरोट तान्दैछन् भने ती पक्कै नेपालीहरू हुनुपर्छ, त्यसमाथि तिमीहरू नेपाली मैं बातचित गर्दै थियौ नी त । मेरो जवाफ सुनेपछि त्यो ठिटोले कपाल कन्याउँदै भनेथ्यो, "हाउ दाजु पनि, सारै मजाको पो हुनुहुदोँ रहिछ !" मैले बात मार्न खोज्दा, निसंकोच बात मार्न खोज्ने ठिटो त पूर्वतिरको लिम्बु भाइ रहेछन् । अनि खासै बात मार्न नचाहने चाँहि रहिछन् - काठतिरका बाहुन भाइ ।  त्यो दिन ती भाइहरू हेलसिन्कीबाट सवा घण्टाको रेल यात्रामा पुगिने ठाउँबाट काम पाइने आशामा साथीलाई भेट्न आएका रहेछन् । आफूलाई भेट्न निम्ता दिएको साथीसँग भेट  नभएपछि  कामको खोजीमा हेलसिन्की झरेका उनीहरूलाई  आफू बस्ने ठाउँतिर फर्कने क्रममा मैले भेट्न पुगेको थिएँ । छोटो भ...

मेरो एउटा साथी छ (हुनुहुन्छ)

 " नीराजन, मेरो बेस्ट फ्रेन्ड हो ।" जन्मेर २६ वर्ष बिताएको देश नेपालमा मलाई यस्तो भन्ने कोही थिएन् । तर यतै फिनल्याण्ड आइपुगेपछि,  मलाई यस्तो भन्ने एक जना भेट्टिएकी थिइन् ।  जोसँग बसेर एकै कप चिया वा कफि पिएकै थिइँन्, मैले । मनभरीका बह न मैले उनीसँग केहि पोखेकै थिएँ, न त उनले विशेष केही त्यस्त्तो साझा गरेकी थिइन् मसँग । तर मलाई चिन्ने र मसँग सम्पर्कमा रहेका धेरै साथीभाइसँग उनले सुनाउन बिर्सेकी रहिन्छिन् कि निराजन उनको बेस्ट फ्रेन्ड हो ।  यो पढ्दै गर्दा यहाँलाई लाग्ला, कि आफूलाई बेस्ट फ्रेन्ड बताउने साथीका सम्बन्धमा लेख्ता पनि यसले किन भूतकालको प्रयोग गर्यो ? प्रश्न स्वभाविकै हो तर मेरो जवाफ अलिकति अस्वभाविक लाग्न सक्ला यहाँलाई । कि मलाई बेस्ट फ्रेन्ड भन्ने उनको, खासमा म  फ्रेन्ड पनि थिइँन् । न उनी थिइन्, मेरो कुनै त्यस्तो विशेष मित्र । बस्, हाम्रो सामान्य चिनजान मात्र थियो । केहि मानिसहरू हुँदारहेछन्, जो सामान्य चिनजानलाई मित्रताको नाम दिदाँरहिछन्, उनले जस्तै । अनि कोही यस्ता पनि हुँदा रहिछन् कि जोसँग हामी विशेष सामिप्यतामा भएको ठानेका हुन्छौं, तर उनीहरूका ...