“यहाँ बस्नुको अब कुनै औचित्य छैन, यदि तिमीहरूलाई पनि मलाई जस्तो आफ्नो ज्यानको माया लाग्दछ भने आउ मसँग, मेरो धैर्यताको
बाँध टुटिसक्यो अब ।” म यत्रो २७ वर्ष भैइन्जेलसम्म मेरा बाबा उफकले कहिल्यै यस्तो
भनेका थिएनन् तर आज एक्कासी उनको मुखबाट यस्तो सुन्दा मलाई कत्ति पनि स्वभाविक
लागेन । मेरो २७ वर्षिय जोश फेरि एकपटक तङ्ग्रीन खोजिरहेको थियो । हाम्रो सुन्दर
यइडिड परिवार राजधानी शहर भन्दा केहि घण्टाको दुरीमा रहेको यो सानो गाउँमा
शान्तपूर्वक जीवन बिताइरहेका थियौं । तर सोमालियन राष्ट्रिय आन्दोलन नामक एक
शसस्त्र समूहमा आबद्द इज्याक वंशका मान्छेहरूले हतियारको दम्भमा हाम्रा सबै
चौपायाहरू लुटेर लगे पछि हाम्रो आम्दानीको मुख्य आयश्रोत हामीले गुमाउनु परेको
थियो । हामी त शसस्त्र युद्दमा समावेश थिएनौ र छैनौ पनि तर वंशीय
युद्दका भुक्तभोगीहरूले हाम्रा सबैथोक लुटेर लगे । कत्रो अन्याय ?
देशव्यापी रूपमा चर्कदै गएको वंशीय तथा अन्य
सशस्त्र युद्दमा हामी जस्तै थुप्रै निर्दोषहरू पिल्सनुपरेको छ । अझ त्यसमा पनि
मेरी आमापट्टीकी सानी बहिनी बजारमा तरकारी लिन जाँदा बम विस्फोटमा परेर मारिएपछि
मेरो बाबासँग यहि ठाउँमा बसेर बाँच्न सकिन्छ भन्ने आशा करिब करिब निमिट्यान्न
भैसकेको थियो । बाबाकी प्रिय सन्तान भएर पनि हुनसक्छ, बहिनी मारिएपछि बाबा अलि निराश देखिदै आएका थिए । र, आज एक्कासी उनले यो निर्णय गर्नु अस्वभाविक पनि थिएन । तर मेरो २७ वर्षे
युवा जोश त्यसै हार मान्ने पक्षमा थिएन् । म आफू जन्मे, हुर्केको ठाउँ कसरी छोड्न सक्छु, यसरी अचानक ? मनमा निकै कुराहरू खेलिरहेका थिए । सबैजना आफ्ना लत्ता कपडा मिलाउन व्यस्त
देखिन्थे । आमाको अनुहार मलिन देखिन्थ्यो, सायद मेरो एक्लै बस्छु भन्ने कुरो सुनेर पनि होला । हाम्रो मान्यतामा
आईमाइ मान्छे र अविवाहित मान्छेलाई पाका मान्छेको निर्णयमा प्रभाव पार्ने
अधिकार नभएकाले पनि होला, आमा, बहिनी, सौतेनी आमा र बहिनी, काका सबै मेरो बाबाको निर्णयमा एक ढिक्का हुन विवश थिए । तर म सानै देखी
फरक स्वभावको मान्छे बाबा मदेखि वाक्कै भैसकेका थिए । म कहिल्यै पनि अर्काको
निर्णयमा हिड्न नरूचाउने भएकाले बाबा मलाई उति विधी रूचाउँदैन्थे ।
सबैजना हिड्नलाई तम्तमाएर परेको देखेपछि र
मनमा म मात्र एक्लै बस्नु पर्ने साथै पछि परिवारसँग एकाकार हुने सम्भावना पनि
न्यून रहने महशुस गरेपछि मलाई आफ्नो निर्णय बदल्न मन लागेको थियो तर सकिरहेको
थिइँन । जब आफ्नी प्रिय जननीका नयनमा टिल्पिराई रहेका आँशु देखेँ मैले आफूलाई रोक्न सकिन । सायद, मेरी आमालाई लागेको हुनुपर्छ, यस्का उमेरकाले
दुई दुई वटी भित्र्याइसके, बबुरोले अझै
एउटी पाएको होइन । अझ उनलाई यस्तो पनि लाग्यो होला कि हाम्रा वंशकाहरू सबैले
गाउँ छोडिसके, यो एक्लै मर्नलाई बसेको । अब त झन उनका
आँखाबाट बरर्र आँशुका थोपाहरू खस्न थाले, उनको गाला र
छाति सबै रूझ्न थाल्यो । अब म आफूलाई कहाँ रोक्न सक्नु र ? म पनि मेरा परिवारका अन्यहरूले झैं गाउँ छोड्न लाचार हुन करै लाग्यो ।
बाबा भन्दै थिए, अब हामी केहि घण्टाको हिडाँइ पश्चातः मोगादिशु पुग्छौं । त्यहाँ इमिग्रेशन
अफिसमा केहि कागजात बुझेर हामीहरू सुरक्षित स्थानितर जाने छौं । बाबाको कुरा
सुनेपछि, परिवारका सबै जनामा केहि खुशि सञ्चार भएको सहजै अनुमान लगाउन सकिन्थ्यो ।
परिवारका अन्य सदस्यहरूका मुहारमा देखिएको खुशि पढेपछि मलाई लाग्यो, यो यिनीहरूको क्षणिक खुशि आखिर कतिन्जेल टिक्ला र ? म अझै विश्वस्त भैसकेको थिइँन, आफ्नै
जन्मभूमिबाट लखेटिएका हामी जस्ताहरूका लागि पृथ्वीको अर्को कुनै कुनामा सुरक्षित
ठाउँ हुन सक्छ ?
केहि समयपछि हामीहरू मोगादिशु पनि पुग्यौं । इमिग्रेशन
अफिसमा लामो लाइन थियो । मानिसहरू अब केहि समयपछि अफिस बन्द हुने खासखुस गर्दै थिए
। हामीले बल्ल तल्ल केही फर्महरू पाउन त पायौ तर विवरणहरू भरेर प्रमाणित गर्नका
लागि हामीले आफूसँग भएको जम्मा रकम मध्यको धेरै हिस्सा खर्च गरिसकेको बाबाले सुनाए
। कार्यालयका कर्मचारीहरू यति घुस्याहा भेट्यौं कि पैसाबिना त उनीहरू बोल्न पनि मन
पार्दैनथे । कार्यालय समय पनि बन्द भएको जानकारी दिदैँ उनीहरूले हामीलाई त्यहाँबाट बाहिर निकाल्दिए ।
हामी निरीह थियौं, जसले जे गरेपनि सहनु बाहेकको अर्को उत्तम विकल्प हामीसँग केहि थिएन । हामी
त्यहाँबाट बाहिरियौं । केही समय हिडे पश्चातः बाबाले आज यतै बस्नुपर्ने बताए
। त्यसैले हामीहरू पनि अरू शरणार्थी परिवारहरू बसेको ठाउँमा सानो टहरा बनाउन तिर
लाग्यौं । टहरा बनाउने काम सक्दा नसक्दै मिलीटरीका केही जवानहरू आएर हामीहरूलाई लखेट्न शुरू गरे । उनीहरूमा मानवताको एक औंश पनि देखिएन । हाम्रा सबैजसो चिजबिजहरू उनीहरूले खोसेर लगिदिए
। फेरि हामी लाचार थियौं, अज्ञात
गन्तव्यको लागि अज्ञात बाटो भएर गर्नुपर्ने अज्ञात यात्रा ।
क्रमशः
Comments
Nirajan Sir well written. Really its moving and touchy....
Nirajan Sir well written. Really its moving and touchy....