Skip to main content

देवकोटा अर्थात पागल

स्वर्गबाट,
तिम्रो प्रमिथसले
आगोको फिलिङ्गो चोरेर
तिम्रो वतन उजिल्याए झैं
मुग्लानबाट,
मेरा प्रमिथसहरू
श्रमको मूल्य बेचेर,
आफ्नो वतन उजिल्याउने
फगतका सपनाहरूमा रमेर
प्रत्येक अँध्यारा दिनहरूमा
आँगन छोडिरहेछन्-घर छोडिरहेछन्
मन छाडेर
खाँदा खाँदैको गाँस छाडेर, यहिँ
मात्र आफूलार्इ बोकेर
जहाजका भर्याङ्गहरू
उक्लिरहेछन्/ओर्लिरहेछन् ।

 
न तिमीले लेखे झैं
शेक्सपियरले यहाँ हलो जोत्दैछन्
न नै सोक्रेटस गुफाभित्र घोत्लिरहेछन्
बरू, खेतहरू बाँझै छाडेर
बारीमा हनुमान झार फूलाएर
शेक्सपियर साउदीमा भेडा चराउँदैछ
सोक्रेटस मलायामा
ढोके भएको छ ।
यो काल्पनिक हैन, देवकोटा
म तिमीले जस्तो फूलाउन सक्दिन
काल्पनिक फूलहरू !

 
उफ तिमीले के लेखेको त्यस्तो ?
कालिदाशले असारका पन्ध्रमा
धाराप्रवाह रोपाइँका गीतहरू गाउँछ !
मलार्इ लाग्यो, देवकोटा -
बडो अचम्म रहेछ, तिम्रो जमाना !
कालिदाशले बलिउड र हलिउड नदेखेको !
तिम्रो पाखे कालिदाश !
कस्तो अज्ञात रहेछ, तिम्रो जमाना
'हाउ बोरिङ टाइम तिम्रो?'
तिमीले कसरी कल्पना गर्न सक्यौं, आखिर?
ज्याज र शाल्साविनाको जीवन!
तिमीलार्इ छ, मेरो प्रश्न-
'हाउ डिड यू डेयर टू राइट दोज नन्सेन्स ?'
 

तिमीले उपचार नपाएर,
साइनाइड माग्नुपर्यो,
तर, तिमीले लेखेनौ, किन ती यथार्थहरू
किन भन्यौ ?
जीवनबुटी छन्‑ हाम्रा देशमा !
फगत तिमीले झुटो लेख्यौ !
कल्पनाको फूल फूलायौ-
एकदम झुट्टा !
तिमीले साइनाइड माग्यौ,
यहाँ हामीले साइनाइड भोजन गरिरहेछौं-
फोहोरी राजनीतिको !
 

तर जेहोस्,
म खुशी छु-
कम्तिमा तिमीले आफू
पागल भएको घोषणा गर्यौ !
त्यो तिम्रो घोषणाले मलार्इ निश्चित बनार्इदिएको छ, अहिले
कि तिम्रा सबै सृजनाहरू
मनगढन्ते थिए,
काल्पनिक थिए,
र, थिए
ती सबै‑सबै
पागल ।

Comments

  1. sabdhaharu titaa bhaera pani dherai gahakila xan...devkota pratiko yo kabita padhna paauda khusi lagyo...lekhak ko barema kaha padhna painxa?

    ReplyDelete
  2. प्रतिक्रियाका लागि धन्यवाद दिपसरोजी । लेखकलार्इ फेसबुकमा www.facebook.com/thapanirajan वा वेभसाइट www.thapanirajan.com मा भेट्न सक्नुहुनेछ ।

    ReplyDelete

Post a Comment

प्रतिक्रिया ब्यक्त गर्दा सभ्य र सुसंस्कृत शैली प्रयोग गर्नका लागि सम्पूर्णमा सविनय अनुरोध गर्दछु ।

Popular posts from this blog

अनि रोशन भाइले टिपेछन् ६ बाल्टिन बेरी

गएको साल, हेर्दै कलिला देखिने दुई जना ठिटाहरू तिक्कुरिला रेल बिसौनीको कुनामा मस्त चुरोटको पफ लिदैं गरेका बेला, "भाइहरू नेपाली हो ?" भनेर मैले सोधेको थिएँ । मेरो प्रश्न भुँइमा झर्न नपाउँदै, आफूले तान्दै गरेको चुरोट आफ्नो साथीलाई दिदैँ, झन कलिलो देखिने ठिटोले भनेथ्यो, "हो दाई । कसरी पो ठम्याउनु भो ?"  दुई फरक मुहारको बनोट लिएका मानिसहरू सँगै बसेर एउटै चुरोट तान्दैछन् भने ती पक्कै नेपालीहरू हुनुपर्छ, त्यसमाथि तिमीहरू नेपाली मैं बातचित गर्दै थियौ नी त । मेरो जवाफ सुनेपछि त्यो ठिटोले कपाल कन्याउँदै भनेथ्यो, "हाउ दाजु पनि, सारै मजाको पो हुनुहुदोँ रहिछ !" मैले बात मार्न खोज्दा, निसंकोच बात मार्न खोज्ने ठिटो त पूर्वतिरको लिम्बु भाइ रहेछन् । अनि खासै बात मार्न नचाहने चाँहि रहिछन् - काठतिरका बाहुन भाइ ।  त्यो दिन ती भाइहरू हेलसिन्कीबाट सवा घण्टाको रेल यात्रामा पुगिने ठाउँबाट काम पाइने आशामा साथीलाई भेट्न आएका रहेछन् । आफूलाई भेट्न निम्ता दिएको साथीसँग भेट  नभएपछि  कामको खोजीमा हेलसिन्की झरेका उनीहरूलाई  आफू बस्ने ठाउँतिर फर्कने क्रममा मैले भेट्न पुगेको थिएँ । छोटो भ...

बोई, बार्ह वर्षमा खोलो किन फर्किएन् ?

हिजो भर्खर जस्तो लाग्छ, २७ औं वसन्तमा हिड्दै गरेको म विना कुनै योजना देश छाडेर परदेश हिडेको । आज १२ वर्ष नाघिसकेछ, परदेश भनिएको ठाम देशजस्तै अनि देश ठानिएको ठाम परदेशजस्तै भएको । मेरी बोइ भन्नुहुन्थ्यो, "बार्ह बर्षमा खोलो फर्किन्छ ।" बार्है बर्ष वितिसकेछन्, म मान्छे भएर होला सायद आफूले आएको बाटैबाटो घर फर्किन नसकेको ! बोइ नफर्किने गरी गएको पनि ५ वर्ष त नाघिसकेछ, सायद अझै हुनुहुन्थ्यो भने फोन गरेर म सोध्दो हुँ, - बोइ बार्ह वर्षमा खोलो कसरी फर्किन्छ ? सिकाइमाग्दो हुँ फर्किने सुत्र, शिरोपर गर्दो हुँ ती सुत्रहरू र लाग्दो हुँ ढोडेनीको पक्की पुल तरेर किनारै किनार तेर्सिएर घैयारासम्म अनि अलिकति माथि उक्लिएर हाम्रा जिजुको पालादेखिको हाम्रो स्थायी ठेगाना उही ढुंगेपाली टोलमा । छिर्दो हुँ आफ्नै मेहनतले बनाएको साढे दुई तले पक्की घरको दैलोभित्र ।           दिनहरू यस्ता पनि थिए, जहिले म कविताहरू लेख्ने गर्थेँ । मेरा कविताहरूमा देश छाड्नेहरूलाई स्वदेशमैं बस्नु भनेर आव्हान हुने गर्थे । अहिले म तीनै कविताहरूका पात्र बनेर आफैले बाँच्नु परेको परिस्थितीलाई पचाउने प्रयत्न गर्दै...

घामको आरती पनि घण्टी बजाएरै हुन्छ

पछिल्लो पल्ट ब्लगपोष्ट सार्वजनिक गरेपछि ब्लगै नलेखी बसेको पनि तीन महिना बितिसकेछ । एउटै काममा स्थिरतापूर्वक लागिरहने बानी कहिल्यै परेन मेरो ! यस्तो बेला म मेरा एक मित्रलाई बेस्सरी याद गर्छु । कतिपय ब्लगपोष्टमा उनको नाम मैले उल्लेख गर्दै आएको छु, उनी प्रत्येक पल्ट त्यसमा असहमत हुँदै भन्छ्न् - "ह्या बुढो मान्छे! मेरो नाम आफ्ना पोष्टहरूमा उल्लेख नगर्नुस् न यार ।" उनले जति भनेपनि मैले बेला बेला उनको नाम उल्लेख गर्न छाडेको छैन्, ती मेरा मित्र लक्ष्मी भन्ने गर्छन्, "Consistency is key."  बडो विस्मयको कुरा यो छ कि मेरो मित्रले कुनै बेला (सायद अहिले पनि) बडो आदर्श मान्ने नेता प्रचण्ड सम्भवतः अहिले सम्मको नेपाली राजनैतिक इतिहासमा सबभन्दा बढी अस्थिरताको आरोप लागेका नेपाली नेता हुनुपर्छ । 'यस्ता अस्थिरताका नायक नै आदर्श नेता मान्ने मेरा मित्रका मुखारबिन्दबाट सुनेको भएकै कारण मैले ब्लग लेखनमा स्थिरता कायम गर्ने प्रयत्न नगरेको हुँ' भन्ने मेरो स्वीकारोक्ति हैन् । बरू, मित्रले भन्दाभन्दै पनि उनको नाम उल्लेख गरिराख्ने स्थिरता मैले कायम गरेको छु, जस्तो प्रचण्डले अस्थिर हुने ...