Skip to main content

शितल मात्र शितल !

बिधालयका प्र.अ टेकबहादुर थापा टिका लगाएर स्वागत गर्दै ।
शितल शर्मा, एक २५ वर्षिय युवती । मेरी सहपाठी । एउटै बिधालयमा कक्षा १ देखि ८ सम्मसँगै पढेका थियौं हामीले । पाँच कक्षासम्म यिनको नाम गुमनाम थियो विधालयमा । किनकी यिनको परिचय थिएन त्यतिखेर सम्म । मेरो परिचय बनिसक्या थियो, कक्षाको सेकेण्ड ब्वाए । पाँच कक्षाको जिल्लास्तरिय परिक्षा पछाडि उनी यसरी चम्किन कि प्रवेशिका परिक्षा उर्तिण गरिन्जेल उनलार्इ जित्ने कोही भएन । कक्षामा प्रथम । मानिसहरूले हामी दुर्इजनालार्इ कडा प्रतिस्पर्धीका रूपमा हेर्ने गर्थे । हामी थियौं पनि त्यस्तै । पाँच कक्षा पछाडि उनी फस्टको फस्ट म सेकेण्डको सेकेण्ड । प्रथम हुने उत्कट चाहनाका बाबजुद म  आठ कक्षा उर्तिण गरेपछि लागे बेनीतिर, मेरा सहपाठीहरूलार्इ छाडेर । शितल बनिन् प्रवेशिका परिक्षासम्म नम्बर एक ! प्रवेशिका उर्तिण भए लगत्तै उनी काठमान्डु गइन अरे अध्ययनका लागि भन्ने सुनेँ मैले । म बेनीमै थान्किएर बसेँ ।

त्यसपछि हाम्रो भेट खासै भएन । गाउँमा आएको बेला सुन्थेँ – ट्राभल एजेन्सीमा जागिर छ रे !
उनी व्यवसायतिर अगाडि बढ्दै गइन भने म यता बेनीमा आफ्नो परिचय स्थापनाका लागि लागिपरे । कहिले बोर्डिङस्कुलको मास्टर त कहिले कम्प्यूटर इन्सिच्युटमा प्रशिक्षक । कहिले साहित्य कर्म, कहिले पत्रिकातिर । मानौ म अलमलमा छु । फुर्सदमा गाउँमा गएको बेला सुन्थेँ, मेरो सहपाठी शितल कहिले अन्नपूर्णको ट्रेकिङमा त कहिले बेइजिङको टुरमा । उनको ब्यस्त जीवनका बारेमा सुन्दा कताकता र्इश्या लाग्ने गर्थ्यो मलार्इ, नढाँटेर भन्नुपर्दा । आखिर शैशबकालका अनन्य साथीहरू थियौं, र प्रतिस्पर्धी पनि ! भेट्ने उत्कट चाहना थियो उनलार्इ । तर समय र सन्दर्भ मिलिरहेको थिएन ।

गत सालको फाल्गुणमा युवा स्वयंसेवकका रूपमा छनोट भइसके पछि शितललार्इ भेट्ने अवसर मिल्यो । मसँग उनको मोबाइल नम्बर थियो । त्यसैले हाम्रो भेट सम्भव भएको थियो । नाङ्ग्लो रेष्टुरेन्टमा कफि पिएपछि यिनले मलार्इ सानोमा बिताएका थुप्रै क्षणहरू सम्झाइदिइन् । सँगै बसेर पढेको, प्रतिस्पर्धीको ब्यवहार गरेको, पिकनिक गएको धेरै स्मरणहरू हामीले ताजा पार्ने काम गर्यौ । मेरो पछिल्लो सफलताका बारेमा सुनेपछि खुशि अभिब्यक्त गर्दै मलार्इ आवश्यक पर्ने अमेरिकन डलर साटफेर गरे नगरेको बारे जिज्ञासा समेत राखिन । आफूसँग भएको १०० डलर मेरो हातमा थमाउँदै मलार्इ सामाखुशिसम्म आफ्नै स्कुटरमा राखेर छाडिन पनि । भोलिपल्ट म नर्वेका लागि उडेँ । १ हप्ता पछाडि तालिम सिध्याएर काठमान्डु फर्कने बेलामा थाहा लाग्यो – मलार्इ छाडेर आफ्नो निवासमा जाँदै गर्दा विपरित दिशाबाट आएको मोटरसाइकलले उनको स्कुटरलार्इ ठक्कर दिदाँ उनी सख्त घाइते भएकि छिन । भेट्ने चाहना हुँदाहुँदै पनि म निष्ठूरी बन्नुपर्ने अवस्था आर्इलाग्यो । भेट्न सम्म जान पाइँन । अहिले सम्झदा ग्लानी हुन्छ – आखिर कति स्वार्थी मान्छे म ? तर भगवानको कृपाले मेरो साथी खतरामुक्त हुन सकिन । करिब ६ महिना पछाडिको बेडरेस्ट पछि उनी ठीक भएको खबर पाएँ मैले । र, काममा फर्केको जानकारी पनि मिल्यो – उनीसँगको र्इ-वार्तालापमा ।

आज मैले खास यी सबै सन्दर्भहरूलार्इ यहाँ जोड्न खोज्नुको मुख्य उद्देश्य भनेको हामीबिचको परिवर्तनलार्इ उल्लेख गर्नका लागि नै हो । अहिले उनी आफ्नै ट्राभल एजेन्सी सञ्चालन गर्छिन् । ठमेलमा ड्रिम नेपाल नामको यिनको आफ्नै ट्राभल एजेन्सी छ । यिनी ब्यवसायिक मात्र भएकि छैनिन् अहिले, सामाजिक सेवामा पनि उत्तिकै प्रतिबद्द भएर लागेकी छिन् । मैले ढिलो गरेर जानकारी पाएँ । करिब दुर्इ महिना पहिले आफ्नो सामाजिक उत्तरदायित्वलार्इ केहि बढि घनिभूत पार्ने प्रयास थालेकी छिन् उनले ! आफूले शिशुदेखि कक्षा दश सम्म अध्ययन गरेको गाउँको विधालयका भार्इबैनीहरूले अझैसम्म पनि कम्प्यूटरको अनुहार नदेखेको तीतो यथार्थले यिनलार्इ चिमोटेछ । भानु माध्यमिक बिधालयमा अध्ययनरत आफ्ना गाउँले भार्इबैनीहरूको सपनालार्इ कसरी मूर्त पार्न सकिन्छ भन्ने गहन चिन्तन पछाडि यिनी एउटा दानीमान्छेको खोजीमा लागिछिन् । यि सबै कुरा यिनले मलार्इ बेलाबखत अनलाइन च्याट मार्फत बताउँदै आएकी थिइन ।

अन्ततः उनले खोजे झै दानी मानिस उनले भेटिन् । नेपालको क्षेत्रबाट सगरमाथा आरोहण गरेका पहिला चाइनिज आरोही ह्वाङ नुवो । बेइजिङ्मा एक ब्यवसायी संस्था zhongkun investment group का कार्यकारी अध्यक्ष रहेका नुवोले ले यिनको सपना साकार पार्ने काममा सघाउ पुर्याए । अन्ततः २०६७ को मंसिर १९ गते भानु मा. वि. रत्नेचौरले १० वटा कम्प्यूटर प्राप्त गरिछाड्यो । समाचार पढ्न यहाँ क्लिक गर्नुस ।

हाम्रो गाउँमा संसारमा फूल्ने सबै खुशिहरू ल्याउने हाम्रो सपना हुने गर्थ्यो, जतिखेर हामी प्राथमिक तहमा पढ्ने गर्थ्यौ । सायद, शितलले नितान्त एक्लो तर बारम्बारको प्रयासमा गाउँमा भित्र्याएको यो आजसम्मकै सबभन्दा ठूलो र एकमुस्टको सहयोगले मलार्इ एउटा पाठ भने सिकाएको छ – मान्छेको भगिरथ प्रयासमा संसारमा असम्भव भन्ने केहि छैन् । धेरै धेरै बधार्इ तथा शुभकामना प्रिय सहपाठी शितल तिमीलार्इ !

Comments

Popular posts from this blog

अनि मलाई खुबै राजनीति लाग्छ ...

कहिले काही मैले फोकस गुमाएको जस्तो मेरा नजिकका प्रिय मान्छेहरूले महशुस गर्नुहुन्छ ।  राजन दाईले अस्ति फोन गरेपछि पो झल्याँस्स भएँ । वहाँको गुनासो मिश्रित प्रश्नले सिधै मेरो दिमागमा झड्का दिन पुग्यो, दाईसँग खास घुलमिल नभएकाहरूलाई चाँहि वहाँको प्रश्नले दिमागमा हैन् सिधैं मुटुमा हान्न सक्छ । वहाँका प्रायः प्रश्नहरू तारा खेलमा निशाना लगाउन प्रयोग हुने वाण जस्तो सिधा र तिखो हुन्छन् । जस्तो मेरो दिमाग मैं झङ्कार लेराउने प्रश्न थियो वहाँको,  "हैन पाक्षिक रूपमा ब्लग अद्यावद्यिक (अपडेट) गर्छु भन्या हैन् ? एक महिना पुग्न लाग्यो त सर !"    मलाई व्यंग्य गर्नुपर्दा दाइले सर भन्नुहुन्छ, अनि वहाँलाई चाहिँ म भन्छु, साहुजी । यत्तिमा मात्र दाजुको प्रश्न सिमित हुन्थ्यो भने, सायदै म आजको यो ब्लग लेख्न बस्थेँ । तर वहाँको प्रश्नसँग व्यंग्यमिश्रित सानो जिज्ञासा पनि थियो, "खुबै चुनाव लाग्या छ हैन् तिमीलाई !?" यो जिज्ञासामिश्रित व्यंग्य हो या व्यंग्य मिसिएको जिज्ञासा । या यो जिज्ञासा हुँदै नभएर केवल व्यंग्य मात्र थियो । तर जेहोस् यो केहि न केहि चाँहि पक्कै थियो ।  खुबै चुनाव लाग्ने आफत ...

अनि रोशन भाइले टिपेछन् ६ बाल्टिन बेरी

गएको साल, हेर्दै कलिला देखिने दुई जना ठिटाहरू तिक्कुरिला रेल बिसौनीको कुनामा मस्त चुरोटको पफ लिदैं गरेका बेला, "भाइहरू नेपाली हो ?" भनेर मैले सोधेको थिएँ । मेरो प्रश्न भुँइमा झर्न नपाउँदै, आफूले तान्दै गरेको चुरोट आफ्नो साथीलाई दिदैँ, झन कलिलो देखिने ठिटोले भनेथ्यो, "हो दाई । कसरी पो ठम्याउनु भो ?"  दुई फरक मुहारको बनोट लिएका मानिसहरू सँगै बसेर एउटै चुरोट तान्दैछन् भने ती पक्कै नेपालीहरू हुनुपर्छ, त्यसमाथि तिमीहरू नेपाली मैं बातचित गर्दै थियौ नी त । मेरो जवाफ सुनेपछि त्यो ठिटोले कपाल कन्याउँदै भनेथ्यो, "हाउ दाजु पनि, सारै मजाको पो हुनुहुदोँ रहिछ !" मैले बात मार्न खोज्दा, निसंकोच बात मार्न खोज्ने ठिटो त पूर्वतिरको लिम्बु भाइ रहेछन् । अनि खासै बात मार्न नचाहने चाँहि रहिछन् - काठतिरका बाहुन भाइ ।  त्यो दिन ती भाइहरू हेलसिन्कीबाट सवा घण्टाको रेल यात्रामा पुगिने ठाउँबाट काम पाइने आशामा साथीलाई भेट्न आएका रहेछन् । आफूलाई भेट्न निम्ता दिएको साथीसँग भेट  नभएपछि  कामको खोजीमा हेलसिन्की झरेका उनीहरूलाई  आफू बस्ने ठाउँतिर फर्कने क्रममा मैले भेट्न पुगेको थिएँ । छोटो भ...

खाल्डोमा गाडी, जेलमा साथीः एक आत्मसंवाद

सधैं पुगिरहेको गन्तव्य थियो । गन्तव्यमा गुगल म्याप्सले सिफारीश गरेको बाटो भएर जाँदा मैले हठात गाडी मोड्नुपर्ने अवस्था बन्यो । हतपत गाडीलाई पार्किङमा छिर्ने बाटोतिर छिराउँदा, मैले हाँकेको गाडीको भाग त्यस बाटोको छेउमा कम, बाटोको छेउतिरको खाल्डोमा बढी पर्न जाँदा पछाडिको एउटा पाङ्ग्रोले भुँइ छाडेको विचित्रको स्थितिमा पुग्यो । यो आजैको घटना हो, केहि घण्टा अगाडिको । मलाई कुनै चोटपटक लागेन । गाडीमा विशेष क्षति पनि भएन । तर गाडीलाई त्यस विचित्रको स्थितीबाट बाहिर ननिकाल्दासम्मको मेरो जीवनको त्यो पूरा १ घण्टा १५ मिनेटले मलाई केहि विशेष ज्ञान भने अवश्य दिलायो ।  म जुन विचित्रको स्थितीबाट गुज्रिएर अहिले यो ब्लगपोष्ट लेख्तैछु, सम्झनामा मेरा केहि चिनजानका र केहि घनिष्ट मित्रहरूको तस्बीर एकतमास मेरो दिमागमा घुमिरहेको छ जो केहि समय अगाडिदेखि सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् । के ति मेरा साथीहरूले पनि यस वयमा जुन स्थितिको सामना गरिरहेका छन् त्यसका बारे दैनिकी लेख्दै होलान् ? थाहा छैन्, कसले कहिलेदेखि सहकारीमा जम्मा हुन आएको बचतकर्ताको रकमलाई मनोमानी तवरले आफ्नो नीजि लाभको लागि प्रयोग...