Skip to main content

संग्रहालयमा (कविता)

'उ त्यो डोरीमा
लहरै झुण्डाएको देखिस्?
हो, तीनै हुन् –
मादल, मुर्चुङ्गा र डम्फू
सारंगी, मुरली र दमाहा
सहनार्इ, ट्याम्को र ढोलक
तैलें कहाँ सुन्न पाइँस र, बाबै?
कति मीठा निस्कन्थे यीबाट,
फुक्दा, ठोक्दा र बजाउँदा
धूनहरू!'

पल्तिर कुनामा
धमीराले चिथोरेको दराजका
टक्टाउँदै मैलालुगाहरू
नातीलार्इ अर्थ्याउँदै छु म –
'धाननाच, रोपाइनाच
सेलो र मारूनीनाच
हिमाली आँगनीमा नाचिने
हाम्रा भोटेनीका शेर्पानाच
देउडा र माघीमा नाच्दा
उहिले-उहिलेका नतर्कीहरूले
पहिरिने भेष हुन – अमूल्य यी!
बुझिस् केटा?'

'हेर्दा पनि शीतल हुने,
साक्षात देख्दाको आनन्द के थाहा?
ह्योल्मो, रूप्से र पाताले छाँगो
रारा, बेगनाश र बुलबुल
फोक्शुन्डो, फेवा र तिलिचो
यिनकै नीला लहरहरूमा
पौडेर नथाक्ने यी –
अन्नपूर्ण, चोयू, कन्चनजंगा
धवलागिरि, माछापुच्छ्रे र सगरमाथा
'नाति केटालार्इ म किन नभनूँ?
अनुपम तालका नीला गहिरार्इमा
डुबुल्की मार्दा आँखाले,
सुन्दर हिमालका उचार्इ
जब नाप्न खोज्थे पैतालाहरूले
कि, फुल्थे गर्वले कति, हाम्रा नेपाली छाति?'

आज धर्म, संस्कृती र पहिचान
सबै हराएका बखत
हेरिरहेछ मेरो नाति केटा
भित्तामा सजाइएका फ्रेमहरू –
जामे, स्वयम्भू र स्वर्गद्भारी
मुक्तिनाथ, मनकामना र पशुपतिनाथ
र, जान्न खोजिरहेछ-
हैन कसले लुटेछ हाम्रो धर्म?
कहिले हराएछ हाम्रो सभ्यता?
किन बिलाएछ हाम्रो पहिचान?
त्यसैले त खोज्दैछु यो बुढ्यौलीमा,
सँगसँगै नातिसँग-
भाका, बाजा
नचरी, भेष
बिबिधता र एकता!

खोजिरहेछु, यो संग्रहालयमा –
म 'मेरो युग र मलार्इ' खोजिरहेछु !

Comments

Popular posts from this blog

अनि मलाई खुबै राजनीति लाग्छ ...

कहिले काही मैले फोकस गुमाएको जस्तो मेरा नजिकका प्रिय मान्छेहरूले महशुस गर्नुहुन्छ ।  राजन दाईले अस्ति फोन गरेपछि पो झल्याँस्स भएँ । वहाँको गुनासो मिश्रित प्रश्नले सिधै मेरो दिमागमा झड्का दिन पुग्यो, दाईसँग खास घुलमिल नभएकाहरूलाई चाँहि वहाँको प्रश्नले दिमागमा हैन् सिधैं मुटुमा हान्न सक्छ । वहाँका प्रायः प्रश्नहरू तारा खेलमा निशाना लगाउन प्रयोग हुने वाण जस्तो सिधा र तिखो हुन्छन् । जस्तो मेरो दिमाग मैं झङ्कार लेराउने प्रश्न थियो वहाँको,  "हैन पाक्षिक रूपमा ब्लग अद्यावद्यिक (अपडेट) गर्छु भन्या हैन् ? एक महिना पुग्न लाग्यो त सर !"    मलाई व्यंग्य गर्नुपर्दा दाइले सर भन्नुहुन्छ, अनि वहाँलाई चाहिँ म भन्छु, साहुजी । यत्तिमा मात्र दाजुको प्रश्न सिमित हुन्थ्यो भने, सायदै म आजको यो ब्लग लेख्न बस्थेँ । तर वहाँको प्रश्नसँग व्यंग्यमिश्रित सानो जिज्ञासा पनि थियो, "खुबै चुनाव लाग्या छ हैन् तिमीलाई !?" यो जिज्ञासामिश्रित व्यंग्य हो या व्यंग्य मिसिएको जिज्ञासा । या यो जिज्ञासा हुँदै नभएर केवल व्यंग्य मात्र थियो । तर जेहोस् यो केहि न केहि चाँहि पक्कै थियो ।  खुबै चुनाव लाग्ने आफत ...

को नायक? खलनायक को ?

बुडापेष्टको एउटा बगैंचामा राता र सेता गुलाफहरूबीच रहेको एक मूर्ति मुनि बसेर गिटार बजाउँदै गीत गाउँदै गरेका एक बुढा बाजेलाई खल्ति रित्ताएर पैसा दिन मन भएथ्यो । मसँग खल्ती भरी रूपैयाँ थिएन्, बुढीमाउलाई २ यूरो मागेर उनलाई दिएँ ।  बुढा बाजेले जर्मनमा केहि बोले, मैले नबुझेको अड्कल गरेर होला, उनले सोधे अङ्ग्रेजीमा "ह्वेय आर यू फ्रम ?" "नेपाल" मैले भनेँ । "वाउ क्याट्मान्डु ? यू केम फ्रम क्याटमान्डु टु बुडापेष्ट?" उनले बडो उत्साहित हुँदै प्रश्न गरे ।  मलाई झुटो बोल्न प्रायः सकस पर्छ, यसैकारण, मैले सत्य बोलिदिएँ - "नो सर। इट इज नट लाइक द्याट, आइ लिभ इन हेलसिन्की डिस्पाइट विइङ्ग ए नेपाली ।" (होइन् नी महोदय त्यसो । मान्छे नेपालको भएपनि क्याटमान्डु नभै हेलसिन्की बस्छु, म ।) छोटो तर यादगार कुराकानीमा ती बुढा बाजे आफूले नेपालका अग्ला हिमालहरू सम्झिएर, मलाई चाँहि मेरो घर सम्झाए । मैले नबुझ्ने भाषामा मन छुने संगित भरेर ती बाजेले  पूर्ववतः   गीतको भाका हाल्न थाले । उनको गायकी र उनले झंकार निकालेको गिटारको धुन पर पर सम्म पुगिरहेथ्यो, मानिसहरू प्रायः फर्केर एकपटक उ...

अनि रोशन भाइले टिपेछन् ६ बाल्टिन बेरी

गएको साल, हेर्दै कलिला देखिने दुई जना ठिटाहरू तिक्कुरिला रेल बिसौनीको कुनामा मस्त चुरोटको पफ लिदैं गरेका बेला, "भाइहरू नेपाली हो ?" भनेर मैले सोधेको थिएँ । मेरो प्रश्न भुँइमा झर्न नपाउँदै, आफूले तान्दै गरेको चुरोट आफ्नो साथीलाई दिदैँ, झन कलिलो देखिने ठिटोले भनेथ्यो, "हो दाई । कसरी पो ठम्याउनु भो ?"  दुई फरक मुहारको बनोट लिएका मानिसहरू सँगै बसेर एउटै चुरोट तान्दैछन् भने ती पक्कै नेपालीहरू हुनुपर्छ, त्यसमाथि तिमीहरू नेपाली मैं बातचित गर्दै थियौ नी त । मेरो जवाफ सुनेपछि त्यो ठिटोले कपाल कन्याउँदै भनेथ्यो, "हाउ दाजु पनि, सारै मजाको पो हुनुहुदोँ रहिछ !" मैले बात मार्न खोज्दा, निसंकोच बात मार्न खोज्ने ठिटो त पूर्वतिरको लिम्बु भाइ रहेछन् । अनि खासै बात मार्न नचाहने चाँहि रहिछन् - काठतिरका बाहुन भाइ ।  त्यो दिन ती भाइहरू हेलसिन्कीबाट सवा घण्टाको रेल यात्रामा पुगिने ठाउँबाट काम पाइने आशामा साथीलाई भेट्न आएका रहेछन् । आफूलाई भेट्न निम्ता दिएको साथीसँग भेट  नभएपछि  कामको खोजीमा हेलसिन्की झरेका उनीहरूलाई  आफू बस्ने ठाउँतिर फर्कने क्रममा मैले भेट्न पुगेको थिएँ । छोटो भ...