Skip to main content

साउना र नाङ्गा मान्छेहरू

साउना लिने कोठा । तस्बीर स्रोत
त्यतिखेर म फिनल्याण्ड झरेको पुगनपुग एक हप्ता भएको थियो । विद्यार्थी युनियनले एउटा भेटघाट कार्यक्रम राखेको थियो र त्यहाँ साउना पनि हुँदै थियो । “हो त मान्छेहरु सबै नाङ्गै भएर भित्र छिर्ने हो ।” नेपालबाट आएका एक सिनियर विद्यार्थीले साउनाका बारेमा यो वाक्य बोलेका थिए । र, मलाई भित्रैदेखि शरम लागेर आएको थियो । म पानीपानी भएको थियो, मलाई लाग्यो – छिः साउनामा बस्ने सबै मान्छेहरुको अगाडि आफ्नो नीजि अंगको प्रदर्शन म कसरी गर्न सक्छु ? यस्तैमा सिनियर मध्येका एक जनाले आफ्नो अनुभव सुनाएका थिए, “हैन त्यस्तो लाजै लाग्ने भए त भित्री वस्त्र (अन्डरवेयर) लगाएर जाँदा पनि हुन्छ । मैले त्यसै गरेको थिएँ ।” उनको कुरामा असहमत हुँदै अर्का एकजनाले सुझाए –“साउना पनि कोही कट्टु लगाएर जान्छ ? साउना भनेकै नाङ्गै बसेर आनन्दले वाफ लिने हो, पसिना झार्ने हो । कट्टु लगाएर साउना जानु स्वास्थ्यका लागि उति फाइदाजनक कुरो हैन ।” म त्यसदिन बिलखबन्दमा परेँ । पहिलो पटकको अनुभव भएकाले साउना जान मलाई भित्रैदेखि ईच्छा जागेर आएको थियो, र फेरि नाङ्गै मानिसहरुबीच बस्ने कुराले कताकता चिमोटी रहेथ्यो ।

कलेजको शुरुका दिन कक्षामा रहेका सबैजनालाई चिन्न मुश्किल भैरहेकाले पनि म त्यस भेटघाटलाई छुटाउने विचारमा थिइँन । मैले त्यसलाई साथीहरु चिन्ने अवसरका रुपमा बुझेँ । र, मसँगै आएका केहि नेपाली साथीहरुसहित त्यो पार्टिमा उपस्थित पनि भएँ । विद्यार्थी युनियनका साथीहरुले खेलका माध्यमबाट विद्यार्थी जीवनमा आउन सक्ने केहि अप्ठ्यारा परिस्थितीहरु र ती परिस्थितीहरुको सामना गर्न लिनुपर्ने सृजनात्मक पहलकदमीका बारेमा जानकारी गराईसकेपछि हामी पार्टीमा रम्न पुग्यौं । सबैजनाले आफूले पिउने चिजहरु आफैले व्यवस्था गरेकाले विद्यार्थी युनियनले अनावश्यक खर्च पनि गर्नुपरेन । आफूसँग जे छ त्यो पिउँदै सबैजना पार्टिमा खुब झुमिरहे । पार्टीकै बिचमा केटीसाथीहरु साउनाका लागि गए । र, उनीहरुको पालो पछि हाम्रो पालो आयो । 

एकएक गर्दै फिनिस, अफ्रिकन र हामी नेपाली केटाहरु नाङ्गियौं । फिनिसहरुलाई यो नौलो विषय थिएन, सानैदेखिको अनुभव । तसर्थः उनीहरु चिसो पानीले जिउ पखालेपछि सामान्य रुपमै साउनालिने कोठाभित्र छिरे । अफ्रिकन चाँहि एकजना मात्र थिए । उनको पनि हाम्रो जस्तै लज्जालु चरित्रको संस्कार हुनेभएकाले होला आफू मानिसहरुका विचमा नाङ्गै हुँदा असहज महशुस गरिरहेथे । म र मेरा अर्का नेपाली साथीलाई चाँहि यो शरमकै विषय थियो । किन्तु, सानो छँदा आफ्ना स्कुले साथीहरुसहित गाउँ नजिकै खोलामा गएर नाङ्गै भएर पौडिएको चाँहि मैले त्यस बखत पनि विर्सिन सकिनँ । 

मलाई साउनाको फाइदा वा बेफाइदा केहि पनि थाहा थिएन । सायद साउनाले ब्यक्तिको स्वास्थ्यमा पार्ने सकारात्मक प्रभावका बारेमा पूर्व जानकारी हासिल गरी साउना लिन गएको भए मलाई यति सारो शरम लाग्ने थिएन होला, तर पहिलो पटक भएकाले साउना लिनलाई त्यो ८० डिग्री सेन्टिग्रेडको तापक्रम भएको कोठामा २०–२५ मिनेट बस्दाको पूरै समयभरी मेरो देब्रे खुट्टा दाहिने खुट्टामाथि खप्टिरह्यो । मलाई डर थियो – कतै मेरो गोप्य अंग प्रदर्शन होला कि ! साउना लिदैँ गर्दा हाम्रा फिनिस साथीहरु आफ्नो साउना परम्पराका बारेमा बोलिरहेका थिए । उनीहरुले बताए कि प्रत्येक फिनिस ब्यक्ति आफ्नो घरमा साउना होस् भन्ने चाहन्छ । साथै उनीहरुले आफ्ना साउना अनुभवहरु पनि सुनाए । उनीहरु मध्ये कसैले टिप्पणी गरे – साउनाकोठा यस्तो ठाउँ हो जहाँ कसैले कसैको नाङ्गोपनको हाँसो गर्न मिल्दैन !

एउटा बन्दकोठाको एक कुनामा राखिएको विध्युतिय हिटर, त्यसमाथि तताइएका ढुंगाहरु र तातिएका ढुंगामा पानी खनाउँदा निस्कने बाफ र त्यही बाफ लिदै, खलखली पसिना चुहाइरहेका केहि थान नाङ्गा मान्छेहरु । अनि ती नाङ्गा मान्छेहरुका भलादमी भलाकुशारी । सामान्यतयाः यस्तै हुन्छ साउनाकोठाको वातावरण ! एउटा अचम्मको कुरो के छ भने मानिसहरु नाङ्गै हुँदा गफहरु भलादमी हुँदा रहेछन्, मैले मेरो जीवनकै पहिलो साउनामा यस्तै अनुभव गरेँ । 

त्यस बन्दकोठामा हामी नाङ्गा मानिसहरुले साउना लिदाँ मुटुको धड्कनमा आउने अचानक तिब्रता, त्यस तिब्रताले रक्त सञ्चालनमा ल्याउने गति, मानव शरीरबाट निस्कने पसिना र यी सबैले मानिसको स्वास्थ्यमा पार्ने प्रभावका बारेमा जानकारी पायौं । हाम्रा फिनीस साथीहरुले जानकारी गराए कि साउना केटाकेटी दुवैले सँगैपनि लिन मिल्छ यदि साउना लिनेहरुले एकअर्कालाई राम्रोसँग जान्दछन् भने । यो अस्वभाविक रहेन किनकी साउनामा नाङ्गै बसिन्छ, तर नाङ्गा हर्कतहरु गरिदैन ।

साउना फिनिस जनताहरुको राष्ट्रिय परम्परा हो । सम्भव भएसम्म एउटा फिनिस मान्छे आफ्नो घरमा एउटा साउना लिने कोठा होस् भन्ने चाहँदा रहिछन् । र, पचास लाख मानिसहरुको बसोबास भएको फिनल्याण्डमा दश लाख भन्दा बढि साउना छन भनिन्छ । करिबकरिब एक साउना प्रतिघर ! 

Comments

  1. यशका राम्रा र नराम्रा शबै हुन्छन म पनी तातोपानी कुन्डमा नुहायर अायको हो अा अाफ्नो बेबश्था अनुशार प्रयोग गर्नुनै राम्रो हो ।।
    bamdev

    ReplyDelete

Post a Comment

प्रतिक्रिया ब्यक्त गर्दा सभ्य र सुसंस्कृत शैली प्रयोग गर्नका लागि सम्पूर्णमा सविनय अनुरोध गर्दछु ।

लोकप्रिय पोष्टहरू

अनि रोशन भाइले टिपेछन् ६ बाल्टिन बेरी

गएको साल, हेर्दै कलिला देखिने दुई जना ठिटाहरू तिक्कुरिला रेल बिसौनीको कुनामा मस्त चुरोटको पफ लिदैं गरेका बेला, "भाइहरू नेपाली हो ?" भनेर मैले सोधेको थिएँ । मेरो प्रश्न भुँइमा झर्न नपाउँदै, आफूले तान्दै गरेको चुरोट आफ्नो साथीलाई दिदैँ, झन कलिलो देखिने ठिटोले भनेथ्यो, "हो दाई । कसरी पो ठम्याउनु भो ?"  दुई फरक मुहारको बनोट लिएका मानिसहरू सँगै बसेर एउटै चुरोट तान्दैछन् भने ती पक्कै नेपालीहरू हुनुपर्छ, त्यसमाथि तिमीहरू नेपाली मैं बातचित गर्दै थियौ नी त । मेरो जवाफ सुनेपछि त्यो ठिटोले कपाल कन्याउँदै भनेथ्यो, "हाउ दाजु पनि, सारै मजाको पो हुनुहुदोँ रहिछ !" मैले बात मार्न खोज्दा, निसंकोच बात मार्न खोज्ने ठिटो त पूर्वतिरको लिम्बु भाइ रहेछन् । अनि खासै बात मार्न नचाहने चाँहि रहिछन् - काठतिरका बाहुन भाइ ।  त्यो दिन ती भाइहरू हेलसिन्कीबाट सवा घण्टाको रेल यात्रामा पुगिने ठाउँबाट काम पाइने आशामा साथीलाई भेट्न आएका रहेछन् । आफूलाई भेट्न निम्ता दिएको साथीसँग भेट  नभएपछि  कामको खोजीमा हेलसिन्की झरेका उनीहरूलाई  आफू बस्ने ठाउँतिर फर्कने क्रममा मैले भेट्न पुगेको थिएँ । छोटो भ...

घर कहाँ हो दाजुको ?

अन्तिम पटक ह्वाट्स एपकलमा तेर्ह मिनेट कुराकानी भएको ठ्याक्कै तीन महिनापछि ह्वाट्स एपमा तिमीलाई मेरो पछिल्लो ब्लग पोष्टको लिंक साझा गरेथेँ, करिब तीन हप्तापछि आजै बुनेले मीठो टिप्पणीसहितको सन्देश प्रवाह गर्ने क्रममा अम्रिकाबाट सोधी पठायौ, "Dai, I have a question, where is home? Nepal or Finland?" सायदै बुने तिम्रो प्रश्न यत्तिमै मात्र सक्किन्थ्यो भनेपनि मैले सजिलै भनिदिन सक्थेँ होला जसरी हाम्रै म्याग्दीका लोकगायक खड्ग गर्बुजाले आफ्नो ' पिरती ' एल्बमको एक गीतमा सोध्दा प्रश्न, "घर कहाँ हो मायालु?" कति सजिलै जवाफ दिएथीन् गायिकाले, "हिमालको काखैमा ।" तर तिम्रो प्रश्नमा जवाफ मात्र दिएर पुग्थेन्, त्यसले अन्तःस्करणको भाव पनि जान्न चाहन्थ्यो किनकी त्यसमा तिमीले थपेर पठाएथ्यौ - "What is your feeling since you've lived so many years in Finland?" म फिनल्याण्ड टेकेको वर्षदिन पनि त पुगेको थिएन् जतिबेला सन् २०१३ को हिउँदमा फिनल्याण्डमा मलाई पहिलो कामका लागि भनसुन गर्दिनुभएका दाजु राजन सुवेदीले, तिम्रो जत्तिकै गम्भीर त होईन् तर सिधा प्रश्न गर्नु भएथ्...

मेरो एउटा साथी छ (हुनुहुन्छ)

 " नीराजन, मेरो बेस्ट फ्रेन्ड हो ।" जन्मेर २६ वर्ष बिताएको देश नेपालमा मलाई यस्तो भन्ने कोही थिएन् । तर यतै फिनल्याण्ड आइपुगेपछि,  मलाई यस्तो भन्ने एक जना भेट्टिएकी थिइन् ।  जोसँग बसेर एकै कप चिया वा कफि पिएकै थिइँन्, मैले । मनभरीका बह न मैले उनीसँग केहि पोखेकै थिएँ, न त उनले विशेष केही त्यस्त्तो साझा गरेकी थिइन् मसँग । तर मलाई चिन्ने र मसँग सम्पर्कमा रहेका धेरै साथीभाइसँग उनले सुनाउन बिर्सेकी रहिन्छिन् कि निराजन उनको बेस्ट फ्रेन्ड हो ।  यो पढ्दै गर्दा यहाँलाई लाग्ला, कि आफूलाई बेस्ट फ्रेन्ड बताउने साथीका सम्बन्धमा लेख्ता पनि यसले किन भूतकालको प्रयोग गर्यो ? प्रश्न स्वभाविकै हो तर मेरो जवाफ अलिकति अस्वभाविक लाग्न सक्ला यहाँलाई । कि मलाई बेस्ट फ्रेन्ड भन्ने उनको, खासमा म  फ्रेन्ड पनि थिइँन् । न उनी थिइन्, मेरो कुनै त्यस्तो विशेष मित्र । बस्, हाम्रो सामान्य चिनजान मात्र थियो । केहि मानिसहरू हुँदारहेछन्, जो सामान्य चिनजानलाई मित्रताको नाम दिदाँरहिछन्, उनले जस्तै । अनि कोही यस्ता पनि हुँदा रहिछन् कि जोसँग हामी विशेष सामिप्यतामा भएको ठानेका हुन्छौं, तर उनीहरूका ...

बोई, बार्ह वर्षमा खोलो किन फर्किएन् ?

हिजो भर्खर जस्तो लाग्छ, २७ औं वसन्तमा हिड्दै गरेको म विना कुनै योजना देश छाडेर परदेश हिडेको । आज १२ वर्ष नाघिसकेछ, परदेश भनिएको ठाम देशजस्तै अनि देश ठानिएको ठाम परदेशजस्तै भएको । मेरी बोइ भन्नुहुन्थ्यो, "बार्ह बर्षमा खोलो फर्किन्छ ।" बार्है बर्ष वितिसकेछन्, म मान्छे भएर होला सायद आफूले आएको बाटैबाटो घर फर्किन नसकेको ! बोइ नफर्किने गरी गएको पनि ५ वर्ष त नाघिसकेछ, सायद अझै हुनुहुन्थ्यो भने फोन गरेर म सोध्दो हुँ, - बोइ बार्ह वर्षमा खोलो कसरी फर्किन्छ ? सिकाइमाग्दो हुँ फर्किने सुत्र, शिरोपर गर्दो हुँ ती सुत्रहरू र लाग्दो हुँ ढोडेनीको पक्की पुल तरेर किनारै किनार तेर्सिएर घैयारासम्म अनि अलिकति माथि उक्लिएर हाम्रा जिजुको पालादेखिको हाम्रो स्थायी ठेगाना उही ढुंगेपाली टोलमा । छिर्दो हुँ आफ्नै मेहनतले बनाएको साढे दुई तले पक्की घरको दैलोभित्र ।           दिनहरू यस्ता पनि थिए, जहिले म कविताहरू लेख्ने गर्थेँ । मेरा कविताहरूमा देश छाड्नेहरूलाई स्वदेशमैं बस्नु भनेर आव्हान हुने गर्थे । अहिले म तीनै कविताहरूका पात्र बनेर आफैले बाँच्नु परेको परिस्थितीलाई पचाउने प्रयत्न गर्दै...

क्लोरिनको झोल, वैज्ञानिकहरू र मेरी बोइको मुड्की

मेरो बाल्यकाल लगभग बोईसँगै बित्यो । त्यो चकचक गर्ने समय भएकाले मेरो चकचकसँग बोईलाई बेलाबेलामा झिझो लाग्नु स्वभाविक नै थियो । त्यसैले मैले अति नै अटेर गरेपछि बोईले मलाई भन्नुहुन्थ्यो -  "अहिले गाडूँला मुड्की (मुड्कीले हान्छु) ।" तर अहँ कहिल्यै पनि एक झापड खानुपरेन । मुड्की नै खानु नपरेपछि मेरो चकचक थामिने कुरै थिएन, त्यसैले बोईले पनि मुड्की गाडूँला भन्न छाड्नुभएन अनि मैले चकचक गर्न । मेरी बोईले यस धरा छोडेको पनि यहि हिउँदमा बर्षदिन पुग्दैछ, तर बोईले भन्ने गरेको "अहिले गाडूँला मुड्की" मेरो मनमा गडिरहेको छ, अनि यसो सोच्छु, दुईचार पटक बोईले साँच्चिकै मुड्की गाड्नुभएको भए, मेरा चकचक उहिले पहिले नै खत्तम हुन्थे कि ?  तर खासमा चकचक भन्ने जिनिस त्यत्तिकै खत्तम भएर गैहाल्ने कुरो हैन रहेछ । न त यो उमेर बढ्दै गएपछि आफै घट्दै र पछि निस्तेज नै हुने रहेछ । यसले खासमा उमेर बढ्दै गएर केश पाक्दै गएपनि आफ्नो स्वरूपमा अलिकति फेरिदै तरह तरहका रूपमा प्रकट हुँदै पो जाँदो रहेछ कि ? भन्ने निचोडमा पुगेको छु । यस्तै केहि केश पाक्नै थालेका मान्छेहरूको चकचक कोरोनको त्रास बढ्दै गएपछि अलिकति भि...