Skip to main content

साउना र नाङ्गा मान्छेहरू

साउना लिने कोठा । तस्बीर स्रोत
त्यतिखेर म फिनल्याण्ड झरेको पुगनपुग एक हप्ता भएको थियो । विद्यार्थी युनियनले एउटा भेटघाट कार्यक्रम राखेको थियो र त्यहाँ साउना पनि हुँदै थियो । “हो त मान्छेहरु सबै नाङ्गै भएर भित्र छिर्ने हो ।” नेपालबाट आएका एक सिनियर विद्यार्थीले साउनाका बारेमा यो वाक्य बोलेका थिए । र, मलाई भित्रैदेखि शरम लागेर आएको थियो । म पानीपानी भएको थियो, मलाई लाग्यो – छिः साउनामा बस्ने सबै मान्छेहरुको अगाडि आफ्नो नीजि अंगको प्रदर्शन म कसरी गर्न सक्छु ? यस्तैमा सिनियर मध्येका एक जनाले आफ्नो अनुभव सुनाएका थिए, “हैन त्यस्तो लाजै लाग्ने भए त भित्री वस्त्र (अन्डरवेयर) लगाएर जाँदा पनि हुन्छ । मैले त्यसै गरेको थिएँ ।” उनको कुरामा असहमत हुँदै अर्का एकजनाले सुझाए –“साउना पनि कोही कट्टु लगाएर जान्छ ? साउना भनेकै नाङ्गै बसेर आनन्दले वाफ लिने हो, पसिना झार्ने हो । कट्टु लगाएर साउना जानु स्वास्थ्यका लागि उति फाइदाजनक कुरो हैन ।” म त्यसदिन बिलखबन्दमा परेँ । पहिलो पटकको अनुभव भएकाले साउना जान मलाई भित्रैदेखि ईच्छा जागेर आएको थियो, र फेरि नाङ्गै मानिसहरुबीच बस्ने कुराले कताकता चिमोटी रहेथ्यो ।

कलेजको शुरुका दिन कक्षामा रहेका सबैजनालाई चिन्न मुश्किल भैरहेकाले पनि म त्यस भेटघाटलाई छुटाउने विचारमा थिइँन । मैले त्यसलाई साथीहरु चिन्ने अवसरका रुपमा बुझेँ । र, मसँगै आएका केहि नेपाली साथीहरुसहित त्यो पार्टिमा उपस्थित पनि भएँ । विद्यार्थी युनियनका साथीहरुले खेलका माध्यमबाट विद्यार्थी जीवनमा आउन सक्ने केहि अप्ठ्यारा परिस्थितीहरु र ती परिस्थितीहरुको सामना गर्न लिनुपर्ने सृजनात्मक पहलकदमीका बारेमा जानकारी गराईसकेपछि हामी पार्टीमा रम्न पुग्यौं । सबैजनाले आफूले पिउने चिजहरु आफैले व्यवस्था गरेकाले विद्यार्थी युनियनले अनावश्यक खर्च पनि गर्नुपरेन । आफूसँग जे छ त्यो पिउँदै सबैजना पार्टिमा खुब झुमिरहे । पार्टीकै बिचमा केटीसाथीहरु साउनाका लागि गए । र, उनीहरुको पालो पछि हाम्रो पालो आयो । 

एकएक गर्दै फिनिस, अफ्रिकन र हामी नेपाली केटाहरु नाङ्गियौं । फिनिसहरुलाई यो नौलो विषय थिएन, सानैदेखिको अनुभव । तसर्थः उनीहरु चिसो पानीले जिउ पखालेपछि सामान्य रुपमै साउनालिने कोठाभित्र छिरे । अफ्रिकन चाँहि एकजना मात्र थिए । उनको पनि हाम्रो जस्तै लज्जालु चरित्रको संस्कार हुनेभएकाले होला आफू मानिसहरुका विचमा नाङ्गै हुँदा असहज महशुस गरिरहेथे । म र मेरा अर्का नेपाली साथीलाई चाँहि यो शरमकै विषय थियो । किन्तु, सानो छँदा आफ्ना स्कुले साथीहरुसहित गाउँ नजिकै खोलामा गएर नाङ्गै भएर पौडिएको चाँहि मैले त्यस बखत पनि विर्सिन सकिनँ । 

मलाई साउनाको फाइदा वा बेफाइदा केहि पनि थाहा थिएन । सायद साउनाले ब्यक्तिको स्वास्थ्यमा पार्ने सकारात्मक प्रभावका बारेमा पूर्व जानकारी हासिल गरी साउना लिन गएको भए मलाई यति सारो शरम लाग्ने थिएन होला, तर पहिलो पटक भएकाले साउना लिनलाई त्यो ८० डिग्री सेन्टिग्रेडको तापक्रम भएको कोठामा २०–२५ मिनेट बस्दाको पूरै समयभरी मेरो देब्रे खुट्टा दाहिने खुट्टामाथि खप्टिरह्यो । मलाई डर थियो – कतै मेरो गोप्य अंग प्रदर्शन होला कि ! साउना लिदैँ गर्दा हाम्रा फिनिस साथीहरु आफ्नो साउना परम्पराका बारेमा बोलिरहेका थिए । उनीहरुले बताए कि प्रत्येक फिनिस ब्यक्ति आफ्नो घरमा साउना होस् भन्ने चाहन्छ । साथै उनीहरुले आफ्ना साउना अनुभवहरु पनि सुनाए । उनीहरु मध्ये कसैले टिप्पणी गरे – साउनाकोठा यस्तो ठाउँ हो जहाँ कसैले कसैको नाङ्गोपनको हाँसो गर्न मिल्दैन !

एउटा बन्दकोठाको एक कुनामा राखिएको विध्युतिय हिटर, त्यसमाथि तताइएका ढुंगाहरु र तातिएका ढुंगामा पानी खनाउँदा निस्कने बाफ र त्यही बाफ लिदै, खलखली पसिना चुहाइरहेका केहि थान नाङ्गा मान्छेहरु । अनि ती नाङ्गा मान्छेहरुका भलादमी भलाकुशारी । सामान्यतयाः यस्तै हुन्छ साउनाकोठाको वातावरण ! एउटा अचम्मको कुरो के छ भने मानिसहरु नाङ्गै हुँदा गफहरु भलादमी हुँदा रहेछन्, मैले मेरो जीवनकै पहिलो साउनामा यस्तै अनुभव गरेँ । 

त्यस बन्दकोठामा हामी नाङ्गा मानिसहरुले साउना लिदाँ मुटुको धड्कनमा आउने अचानक तिब्रता, त्यस तिब्रताले रक्त सञ्चालनमा ल्याउने गति, मानव शरीरबाट निस्कने पसिना र यी सबैले मानिसको स्वास्थ्यमा पार्ने प्रभावका बारेमा जानकारी पायौं । हाम्रा फिनीस साथीहरुले जानकारी गराए कि साउना केटाकेटी दुवैले सँगैपनि लिन मिल्छ यदि साउना लिनेहरुले एकअर्कालाई राम्रोसँग जान्दछन् भने । यो अस्वभाविक रहेन किनकी साउनामा नाङ्गै बसिन्छ, तर नाङ्गा हर्कतहरु गरिदैन ।

साउना फिनिस जनताहरुको राष्ट्रिय परम्परा हो । सम्भव भएसम्म एउटा फिनिस मान्छे आफ्नो घरमा एउटा साउना लिने कोठा होस् भन्ने चाहँदा रहिछन् । र, पचास लाख मानिसहरुको बसोबास भएको फिनल्याण्डमा दश लाख भन्दा बढि साउना छन भनिन्छ । करिबकरिब एक साउना प्रतिघर ! 

Comments

  1. यशका राम्रा र नराम्रा शबै हुन्छन म पनी तातोपानी कुन्डमा नुहायर अायको हो अा अाफ्नो बेबश्था अनुशार प्रयोग गर्नुनै राम्रो हो ।।
    bamdev

    ReplyDelete

Post a Comment

प्रतिक्रिया ब्यक्त गर्दा सभ्य र सुसंस्कृत शैली प्रयोग गर्नका लागि सम्पूर्णमा सविनय अनुरोध गर्दछु ।

Popular posts from this blog

अनि मलाई खुबै राजनीति लाग्छ ...

कहिले काही मैले फोकस गुमाएको जस्तो मेरा नजिकका प्रिय मान्छेहरूले महशुस गर्नुहुन्छ ।  राजन दाईले अस्ति फोन गरेपछि पो झल्याँस्स भएँ । वहाँको गुनासो मिश्रित प्रश्नले सिधै मेरो दिमागमा झड्का दिन पुग्यो, दाईसँग खास घुलमिल नभएकाहरूलाई चाँहि वहाँको प्रश्नले दिमागमा हैन् सिधैं मुटुमा हान्न सक्छ । वहाँका प्रायः प्रश्नहरू तारा खेलमा निशाना लगाउन प्रयोग हुने वाण जस्तो सिधा र तिखो हुन्छन् । जस्तो मेरो दिमाग मैं झङ्कार लेराउने प्रश्न थियो वहाँको,  "हैन पाक्षिक रूपमा ब्लग अद्यावद्यिक (अपडेट) गर्छु भन्या हैन् ? एक महिना पुग्न लाग्यो त सर !"    मलाई व्यंग्य गर्नुपर्दा दाइले सर भन्नुहुन्छ, अनि वहाँलाई चाहिँ म भन्छु, साहुजी । यत्तिमा मात्र दाजुको प्रश्न सिमित हुन्थ्यो भने, सायदै म आजको यो ब्लग लेख्न बस्थेँ । तर वहाँको प्रश्नसँग व्यंग्यमिश्रित सानो जिज्ञासा पनि थियो, "खुबै चुनाव लाग्या छ हैन् तिमीलाई !?" यो जिज्ञासामिश्रित व्यंग्य हो या व्यंग्य मिसिएको जिज्ञासा । या यो जिज्ञासा हुँदै नभएर केवल व्यंग्य मात्र थियो । तर जेहोस् यो केहि न केहि चाँहि पक्कै थियो ।  खुबै चुनाव लाग्ने आफत ...

को नायक? खलनायक को ?

बुडापेष्टको एउटा बगैंचामा राता र सेता गुलाफहरूबीच रहेको एक मूर्ति मुनि बसेर गिटार बजाउँदै गीत गाउँदै गरेका एक बुढा बाजेलाई खल्ति रित्ताएर पैसा दिन मन भएथ्यो । मसँग खल्ती भरी रूपैयाँ थिएन्, बुढीमाउलाई २ यूरो मागेर उनलाई दिएँ ।  बुढा बाजेले जर्मनमा केहि बोले, मैले नबुझेको अड्कल गरेर होला, उनले सोधे अङ्ग्रेजीमा "ह्वेय आर यू फ्रम ?" "नेपाल" मैले भनेँ । "वाउ क्याट्मान्डु ? यू केम फ्रम क्याटमान्डु टु बुडापेष्ट?" उनले बडो उत्साहित हुँदै प्रश्न गरे ।  मलाई झुटो बोल्न प्रायः सकस पर्छ, यसैकारण, मैले सत्य बोलिदिएँ - "नो सर। इट इज नट लाइक द्याट, आइ लिभ इन हेलसिन्की डिस्पाइट विइङ्ग ए नेपाली ।" (होइन् नी महोदय त्यसो । मान्छे नेपालको भएपनि क्याटमान्डु नभै हेलसिन्की बस्छु, म ।) छोटो तर यादगार कुराकानीमा ती बुढा बाजे आफूले नेपालका अग्ला हिमालहरू सम्झिएर, मलाई चाँहि मेरो घर सम्झाए । मैले नबुझ्ने भाषामा मन छुने संगित भरेर ती बाजेले  पूर्ववतः   गीतको भाका हाल्न थाले । उनको गायकी र उनले झंकार निकालेको गिटारको धुन पर पर सम्म पुगिरहेथ्यो, मानिसहरू प्रायः फर्केर एकपटक उ...

अनि रोशन भाइले टिपेछन् ६ बाल्टिन बेरी

गएको साल, हेर्दै कलिला देखिने दुई जना ठिटाहरू तिक्कुरिला रेल बिसौनीको कुनामा मस्त चुरोटको पफ लिदैं गरेका बेला, "भाइहरू नेपाली हो ?" भनेर मैले सोधेको थिएँ । मेरो प्रश्न भुँइमा झर्न नपाउँदै, आफूले तान्दै गरेको चुरोट आफ्नो साथीलाई दिदैँ, झन कलिलो देखिने ठिटोले भनेथ्यो, "हो दाई । कसरी पो ठम्याउनु भो ?"  दुई फरक मुहारको बनोट लिएका मानिसहरू सँगै बसेर एउटै चुरोट तान्दैछन् भने ती पक्कै नेपालीहरू हुनुपर्छ, त्यसमाथि तिमीहरू नेपाली मैं बातचित गर्दै थियौ नी त । मेरो जवाफ सुनेपछि त्यो ठिटोले कपाल कन्याउँदै भनेथ्यो, "हाउ दाजु पनि, सारै मजाको पो हुनुहुदोँ रहिछ !" मैले बात मार्न खोज्दा, निसंकोच बात मार्न खोज्ने ठिटो त पूर्वतिरको लिम्बु भाइ रहेछन् । अनि खासै बात मार्न नचाहने चाँहि रहिछन् - काठतिरका बाहुन भाइ ।  त्यो दिन ती भाइहरू हेलसिन्कीबाट सवा घण्टाको रेल यात्रामा पुगिने ठाउँबाट काम पाइने आशामा साथीलाई भेट्न आएका रहेछन् । आफूलाई भेट्न निम्ता दिएको साथीसँग भेट  नभएपछि  कामको खोजीमा हेलसिन्की झरेका उनीहरूलाई  आफू बस्ने ठाउँतिर फर्कने क्रममा मैले भेट्न पुगेको थिएँ । छोटो भ...