Skip to main content

यौन हिंसा र हामी लिलिपुटहरू

तस्बीर स्रोत
मलाई हामी नेपालीहरुमा फोस्रो आडम्बर छ भन्ने लाग्दछ । अकिंचन हामी हाम्रा सगरमाथा र लुम्बिनीमा मात्र गर्व गर्दछौं । बीर गोर्खाली हौं भन्ने दम्भ पनि गर्छौ । यी बाहेक हामीसँग गर्व गर्न लायक अरु विषय वा क्षेत्रहरु पनि छैनन् सायद । तर गर्व गर्न मात्र लालयित हामीहरु आफूहरुमा आईरहेको नैतिक स्खलनका बारेमा ‘चूँ’ पनि बोल्दैनौ । त्यसैले त हामी हाम्रो समाजमा हुर्कदै गएको यौन कुण्ठा र त्यसले ल्याएको विकृती र अपराधका बारेमा चुप छौं । 

कतिपय हामीहरुलाई लाग्दो पनि हो – हाम्रा नकारात्मक कुराले हामीहरुको बेईज्जती गराउँदछ । हाम्रो इज्जतदार “गोर्खे शीर” नत गराउँदछ । र त हामीहरुलाई सदियौंदेखि आफू र आफ्ना समाजमा घटित थुप्रै घटनाहरूलाई आफ्नै परिधीभित्र सीमित गर्न किञ्चित हिच्किचाहट लागिरहेको छैन । धन्य हुन, भारतीय मिडिया र जनताहरु जसले दिल्लीमा भएको सामूहिक बलात्कारको घटनालाई बाहिर ल्याए र २१औं सदियौंमा पनि विद्यमान “नारी हिंसा” को घिनलाग्दो प्रवृत्तिका विरुद्धको जेहाद छेडे । र, अपराधीलाई कडाभन्दा कडा सजायको माग गर्दै आवाज बुलन्द     पारिरहेछन् । 

मेरो अहोभाग्यका कारण म त्यो सभ्य समाजमा छु अहिले कि जहाँ एक बालिग महिला उमेर पुगेको पुरुषसँग शारीरिक सम्पर्कका लागि तयार भएर बिछ्यौनामा पुगेर पाकक्रिडा गरिरहेका समय कारणवशः हठात् यौन सम्बन्धका लागि अनिच्छुक भईन भने चाहेर पनि पुरुष उनीसँग यौन सम्बन्ध राख्न सक्तैन । र, यदि उनको ईच्छाविपरित प्रलोभनमा पारेर यौन सम्बन्ध राखी हाल्यो र पुरुषको जस्तोसुकै भद्र हर्कत होस् यदि महिलाले आफ्नो यौनेच्छा विरुद्ध पुरुषले आफूसँग शारीरिक सम्बन्ध राखेको “रिपोर्ट” गरिन भने आरोपित पुरुष प्रहरीको अनुसन्धानको दायरामा पर्दछ । र, आरोप पुष्टि भएमा सजायको भागिदार पनि बन्छ । 

तर मेरो देशमा त एउटा प्रहरी वैदेशिक रोजगारीबाट फर्केकी महिलालाई सहयोग गर्ने बहानामा यौन शोषण गर्दछ । अझ घिनलाग्दो कुरो त एउटा बाबु आफ्नै तीन वर्षीया छोरीलाई यौन दुर्व्यवहार गर्दछ । एउटा मामा भान्जीलाई बलात्कार गर्दछ । हजुरबाको उमेरको मानिस नातिनी उमेरकी नावालिग बालिकालाई बलात्कार गर्दछ । गाउँमा भएका बलात्कारको घटनालाई बाहिर ल्याउँदा “गाउँको बेइज्जत” हुने डरले गुपचुप गाउँमै मिलान गर्न खोजिन्छ । यौन पिपाशु बलात्कारीबाट दुईचार हजार क्षतिपूर्ति भराईन्छ र पिडितलाई भनिन्छ – गुमेको तिम्रो अस्मिता फर्किदैन, यसलाई यत्तिकै हुन देऊ । बाहिर ल्याए तिम्रै त हो बेइज्जत हुने ! कठै, मेरो समाज ! कठै मेरो लिलिपुटहरुको देश ! र, यो लेखिरहँदा एक नेपाली हुनुको नाताले यो मेरा लागि कति दुर्भाग्यको कुरो हो, कि म आफै निश्कर्षमा पुग्न सकिरहेको छैन !

पछिल्लो समय यौनहिंसाका बारे दैनिकजसो मिडियामा आईरहेका समाचारहरुले कम्तिमा पनि के सन्देश दिन्छन् भने हाम्रा समाजमा यौनकुण्ठाले ग्रसित मान्छेहरुको संख्या उल्लेख्य मात्रामा छ । र, अविलम्ब कुण्ठित मनुवाहरुको यौन चाहनालाई ब्यवस्थित गर्नपट्टि हाम्रो ध्यान पुगेन भने हामीहरुले अझ विकराल र घिनलाग्दा यौनजन्य हिंसाका घटनाहरुको साक्षी बन्नुपर्ने हुनसक्छ । गेष्ट हाउस र एकान्त जंगलमा आपसी समझदारीमा यौन आनन्द लिईरहेका जोडीहरुको खोजी गर्ने, पक्राउ गर्ने र एकाध पटक त भिडियो पनि खिचेर इन्टरनेटसम्ममा चुहाउन जिम्मेवार प्रहरी प्रशासन यस विषयमा गम्भिर हुनु जरुरी छ ।

उसो त कतिपय घटनाहरुमा यौनअपराधीहरुलाई सजायबाट मुक्त बनाउन सक्रिय प्रहरी प्रशासनमा समुचित सुधार ल्याउनु पनि अपरिहार्य छ । अझ महत्वपूर्ण कुरो त यौनजन्य अपराधलाई नियन्त्रण वा न्यूनिकरण गर्नका लागि देशैभरी ब्याप्त “यौन ब्यवसाय” लाई यथासम्भव ब्यवस्थित र कानुनी मान्यता दिनु जरुरी छ । कम्तिमा पनि यौन किनबेच गर्न सक्ने व्यवस्था होस् । जबरजस्ती हैन त्यो ऐच्छिक र ब्यवसायिक होस् ।

Comments

Popular posts from this blog

अनि मलाई खुबै राजनीति लाग्छ ...

कहिले काही मैले फोकस गुमाएको जस्तो मेरा नजिकका प्रिय मान्छेहरूले महशुस गर्नुहुन्छ ।  राजन दाईले अस्ति फोन गरेपछि पो झल्याँस्स भएँ । वहाँको गुनासो मिश्रित प्रश्नले सिधै मेरो दिमागमा झड्का दिन पुग्यो, दाईसँग खास घुलमिल नभएकाहरूलाई चाँहि वहाँको प्रश्नले दिमागमा हैन् सिधैं मुटुमा हान्न सक्छ । वहाँका प्रायः प्रश्नहरू तारा खेलमा निशाना लगाउन प्रयोग हुने वाण जस्तो सिधा र तिखो हुन्छन् । जस्तो मेरो दिमाग मैं झङ्कार लेराउने प्रश्न थियो वहाँको,  "हैन पाक्षिक रूपमा ब्लग अद्यावद्यिक (अपडेट) गर्छु भन्या हैन् ? एक महिना पुग्न लाग्यो त सर !"    मलाई व्यंग्य गर्नुपर्दा दाइले सर भन्नुहुन्छ, अनि वहाँलाई चाहिँ म भन्छु, साहुजी । यत्तिमा मात्र दाजुको प्रश्न सिमित हुन्थ्यो भने, सायदै म आजको यो ब्लग लेख्न बस्थेँ । तर वहाँको प्रश्नसँग व्यंग्यमिश्रित सानो जिज्ञासा पनि थियो, "खुबै चुनाव लाग्या छ हैन् तिमीलाई !?" यो जिज्ञासामिश्रित व्यंग्य हो या व्यंग्य मिसिएको जिज्ञासा । या यो जिज्ञासा हुँदै नभएर केवल व्यंग्य मात्र थियो । तर जेहोस् यो केहि न केहि चाँहि पक्कै थियो ।  खुबै चुनाव लाग्ने आफत ...

अनि रोशन भाइले टिपेछन् ६ बाल्टिन बेरी

गएको साल, हेर्दै कलिला देखिने दुई जना ठिटाहरू तिक्कुरिला रेल बिसौनीको कुनामा मस्त चुरोटको पफ लिदैं गरेका बेला, "भाइहरू नेपाली हो ?" भनेर मैले सोधेको थिएँ । मेरो प्रश्न भुँइमा झर्न नपाउँदै, आफूले तान्दै गरेको चुरोट आफ्नो साथीलाई दिदैँ, झन कलिलो देखिने ठिटोले भनेथ्यो, "हो दाई । कसरी पो ठम्याउनु भो ?"  दुई फरक मुहारको बनोट लिएका मानिसहरू सँगै बसेर एउटै चुरोट तान्दैछन् भने ती पक्कै नेपालीहरू हुनुपर्छ, त्यसमाथि तिमीहरू नेपाली मैं बातचित गर्दै थियौ नी त । मेरो जवाफ सुनेपछि त्यो ठिटोले कपाल कन्याउँदै भनेथ्यो, "हाउ दाजु पनि, सारै मजाको पो हुनुहुदोँ रहिछ !" मैले बात मार्न खोज्दा, निसंकोच बात मार्न खोज्ने ठिटो त पूर्वतिरको लिम्बु भाइ रहेछन् । अनि खासै बात मार्न नचाहने चाँहि रहिछन् - काठतिरका बाहुन भाइ ।  त्यो दिन ती भाइहरू हेलसिन्कीबाट सवा घण्टाको रेल यात्रामा पुगिने ठाउँबाट काम पाइने आशामा साथीलाई भेट्न आएका रहेछन् । आफूलाई भेट्न निम्ता दिएको साथीसँग भेट  नभएपछि  कामको खोजीमा हेलसिन्की झरेका उनीहरूलाई  आफू बस्ने ठाउँतिर फर्कने क्रममा मैले भेट्न पुगेको थिएँ । छोटो भ...

खाल्डोमा गाडी, जेलमा साथीः एक आत्मसंवाद

सधैं पुगिरहेको गन्तव्य थियो । गन्तव्यमा गुगल म्याप्सले सिफारीश गरेको बाटो भएर जाँदा मैले हठात गाडी मोड्नुपर्ने अवस्था बन्यो । हतपत गाडीलाई पार्किङमा छिर्ने बाटोतिर छिराउँदा, मैले हाँकेको गाडीको भाग त्यस बाटोको छेउमा कम, बाटोको छेउतिरको खाल्डोमा बढी पर्न जाँदा पछाडिको एउटा पाङ्ग्रोले भुँइ छाडेको विचित्रको स्थितिमा पुग्यो । यो आजैको घटना हो, केहि घण्टा अगाडिको । मलाई कुनै चोटपटक लागेन । गाडीमा विशेष क्षति पनि भएन । तर गाडीलाई त्यस विचित्रको स्थितीबाट बाहिर ननिकाल्दासम्मको मेरो जीवनको त्यो पूरा १ घण्टा १५ मिनेटले मलाई केहि विशेष ज्ञान भने अवश्य दिलायो ।  म जुन विचित्रको स्थितीबाट गुज्रिएर अहिले यो ब्लगपोष्ट लेख्तैछु, सम्झनामा मेरा केहि चिनजानका र केहि घनिष्ट मित्रहरूको तस्बीर एकतमास मेरो दिमागमा घुमिरहेको छ जो केहि समय अगाडिदेखि सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् । के ति मेरा साथीहरूले पनि यस वयमा जुन स्थितिको सामना गरिरहेका छन् त्यसका बारे दैनिकी लेख्दै होलान् ? थाहा छैन्, कसले कहिलेदेखि सहकारीमा जम्मा हुन आएको बचतकर्ताको रकमलाई मनोमानी तवरले आफ्नो नीजि लाभको लागि प्रयोग...