ब्लगिङको नियमितताबाट केहि दिन विश्राम लिने विचार त थिएन, तर अवस्था त्यस्तै सृजना भैदियो । उसो त आफ्ना नीजि जीवन उति लेख्दिनँ म ब्लगमा म लेख्नलाई केहि न केहि "ईश्यु" को खोजीमा हुन्छु । र, ती पाइरहेकै हुन्छु । फेरि ब्लगको नाम छनौट गर्ने बेलामा पनि अलिकति होस पुर्याउन सकेनछु कि भन्ने लागेको छ । जसले गर्दा, म मेरो नीजि ब्यथाहरू "सापेक्ष बुझाई" को नाम मन्तिर उसैगरी लिपीबद्द गर्न सकिरहेको छैन जसोगरी म केहि अन्य राजनैतिक र सामाजिक मुद्दाहरूमा केन्द्रित भएर आफ्ना सापेक्ष बुझाईहरू पस्कन्छु । हुन त केहि पहिला देखि आफ्ना लेखाईहरूलाई "लेवल" पनि दिएकै हुँ, नदिएको हैन् जस्तो कि "नीजि कुनो" तर त्यसको प्रयोगमा म उति गम्भीरतापूर्वक लाग्न सकिनँ सायद, फलतः मेरा नीजि भोगाई, जीवन र अनुभूतिहरू उति पस्कन सकेको छैन । अब छिट्टै म सामाजिक वा राजनैतिक विषयवस्तुको टिकाटिप्पणीहरू कम, नीजि समस्या, त्रुटी र अनूभूतिहरूमा समालोचना गर्न अझ अरू केन्द्रित हुने प्रयत्न गर्नेछु । तर आज भने एउटा सामाजिक मुद्दाका बारेमा सानो टिप्पणी पस्कन्छु -
देशको हाल बेहाल मैले भनिरहनु पर्दैन, अखबारहरूले मलाई त्यसै बताइरहेछन् । विशेषगरी अखबारहरूका अनलाइन संस्करणहरू मेरा लागि समाचारका निर्विवाद एकमात्र स्रोत हुन । र, कहिले काही खबरहरू फेसबुक लगायतका सामाजिक सञ्जालबाट पनि प्राप्त भएका छन् । समाचारका यी स्रोतहरू प्रायशः मलाई नकारात्मक घटनाहरूमात्र जानकारी गराउँछन् - जस्तो बैङ्कका कर्मचारीको मिलेमतोमा बैङ्क लुटिएको, अरू सामान्य चोरीका खबरहरू देखि महिलामाथि भएका हिंसाका कहालीलाग्दा समाचारहरू । लोडसेडिङ् बृद्दिको समाचार, पिउने पानीको समस्या, राजनैतिक असहमति, दण्डहिनता, चक्काजाम र बन्दहडताका खबरहरू त हुने नै भए, यी केहि वर्षदेखि सयौं पटक दोहोरिएका खबरहरू - सुन्दासुन्दा कान पनि पाकिसक्यो । तर हिजो मैले एउटा सुन्नलायकको खास समाचार पढ्न पाएँ एउटा खबरपत्रिकाको अनलाइन संस्करणमा, समाचार थियो - गुलाफ र बन्दुकका सम्बन्धमा ।
मलाई लाग्थ्यो हामीहरू आन्दोलनका स्वरूपहरू भनेका चक्काजाम, तोडफोड र बन्द हडतालहरू मात्र हुन । ती बाहेक अरू विकल्पै छैनन् ! तर पछिल्लो समय बढ्दै गएको महिला हिंसा र त्यस सम्बन्धी घट्नामा हुने गरेका राजनैतिक संरक्षण एवं दण्डहिनताको विरोधमा स्वत स्फूर्त सडकमा उत्रेका युवाहरूले अकुपाइ बालुवाटार नामदिएर जुन आन्दोलन गरिरहेछन् त्यस क्रममा विरोधको सृजनात्मक शैलीले मलाई चाँहि छोएको छ (छुनुपर्ने सरकारलाई थियो) । एकदिन सुने यस आन्दोलनमा ऐक्यबद्भता जनाउँदै एक कलाकारले तस्बीर प्रदर्शन गरिछन् त्यो पनि महिला हिंसालाई मुख्य केन्द्रबिन्दु बनाएर । कोमल र भावुक हृदयको हुँ भनि दावी गर्ने प्रधानमन्त्री त पक्कै पुग्नु भएन होला- विचरा भावुक मान्छे ती कारूणिक तस्बीर टाँगिएका ठाउँमा जानु पनि भएन, :( किन्तु, देशमा शान्ति, सुरक्षा, अमनचयन, समानता र न्यायको राज्य हुनुपर्छ भन्ने मान्यता बोक्ने कुन कुन नेताहरू त्यहाँ पुगे त्यो चाँहि न म अड्कल गर्न सक्छु, न सायद हजुर नै ? तर विरोधको यो शैलीबाट अराजक राजनैतिक दलका उदण्ड भातृ संगठनहरूले चाँहि धेरै सिक्नु जरूरी छ ।
हुन त हामी नेपालीहरूमा सृजनात्मक सोंच कमै छ । हामीहरू चड्कन नखाएसम्म खास सचेत हुन जानेका पनि छैनौ । सायद त्यसकारण नै हाम्रा विधालयहरूमा एउटा विधार्थीलाई अनुशासित बनाउनका लागि लठ्ठीको प्रयोग एकमात्र निर्विकल्प साधन भएको हो कि ! :( खैर, मैले छलफल गर्न खोजको प्रसङ्ग चाँहि यो थिएन । खासमा अकुपाइ बालुवाटारको आन्दोलनमा प्रयोग गरिएको विरोध अर्को शैली पनि मलाई छोयो - त्यो शैली जुन - धर्नामा बसेकाहरूलाई भगाउन आएका सुरक्षाकर्मीहरूलाई गुलाफ बाड्ने काम थियो त्यो । बन्दुक समातिरहेकाहरूको हातमा एकाएक आन्दोलित युवाहरूले गुलाफ थमाइदिएछन् । बन्दुक समात्नेहरूले यसलाई के ठाने कुन्नी ? प्रधानमन्त्रीले पनि पक्कै यस विषयमा जानकारी त लिए होलान् । तर उनलाई यो नौटङ्की सिवाय अर्थोक केहि पनि लागेन होला !
बन्दुके राजमा विश्वास गर्नेहरू गुलाफको भाषा पनि त बुझ्दैनन् । र, डा. बाबुरामले पनि बुझ्नु जरूरी भएन् । तर जेभए पनि, यो स्वतःस्फूर्त सडकमा उत्रिएका, र खासमा विधीको शासन चाहने विशुद्द नेपाली नागरिकहरूको सृजनात्मक शैलीलाई सरकारले मनन गर्नु आवश्यक छ । नत्र, आममान्छेलाई लाग्नु स्वभाविकै हो - सरकार, सडकमा आगोको ज्वाला नदेखेन्जुल सुन्दैन् । सरकार ध्वंस र आतङ्क नफैलुन्जेल अनुभूत गर्दैन ! यसका साथसाथै विरोधको यो सृजनात्मक शैलीको प्रेरणाबाट आगतका विरोधका शैलीहरू पनि सृजनात्मक र शान्तिपूर्ण हुनुपर्छ ।
र, अन्तमा मेरो पनि आग्रह - सरकार, गुलाफको भाषा बुझिदेऊ !
निराजन सर, देशको अवस्था वेहाल छ । लोडसेडिङ वढ्यको वढ्यै छ , खानेपानीको अभाव उस्तै छ , वाबुले नै आफ्नै छोरीलाई वलत्कार गर्न थालिसके । खै अरु के नै सुन्न लायक खवर छ र ? नेपालका नेता भनाउदा जुका भएर वसेका छन् देशलाई चुसि नै रहेका छन् । यस्तो अवस्था कहिल्यसम्म ? :(
ReplyDeleteम पनि निशब्दः छु । तर नेपालीहरू जाग्नु जरूरी छ ।
ReplyDelete