Skip to main content

राजनीति, मेरो बुबा र म

एउटा समय थियो, जतिखेर बुबा आफ्नो पार्टीको सांगठनिक काममा एकदमै ब्यस्त हुनुहुन्थ्यो र म प्राथमिक तहमा अध्ययनरत थिएँ । घरमा बुबाको उपस्थिती अति नै पातालो हुने गर्दथ्यो । जिल्लाका विभिन्न गाउँहरुमा उहाँ पुगिरहँदा घरमा चाँहि म, भाई र आमा बुबाकै विषयमा कुरा गरेर बस्थ्यौं । आमा निकै नै चिन्ता लिनुहुन्थ्यो विशेषगरी बुबाको स्वास्थ्यप्रति । किनकी, बुबा हुनुहुन्थ्यो नै त्यस्तो । आफ्नो स्वास्थ्यको पटक्कै ख्याल नगर्ने – जस्तो खानेकुरा तात्तातै खाने, मदिरापान गर्ने आदि ईत्यादि । समाज र देश निर्माणको महानअभियानमा टेवा दिन पार्टीको काम लिएर गाउँगाउँ पुग्ने पिताजीलाई आफ्नै घर व्यवहारमा उति गम्भिर चासो रहेन । यो एउटै कारण थियो, म सानो छँदा पनि बुबासँग यहि विषयलाई लिएर झगडा गर्थे ।

सात कक्षाको विद्यार्थी हुँदा वर्षायामको एकरात एकहप्तापछि घर फिर्नुभएको पिताजीलाई मैले भनेको थिएँ – “तिमी बुढालाई हाम्रो केही मतलब छैन, खाली पार्टी पार्टी भनेर हिड्ने, अझ घर आउँदा रक्सी पिएर आउने ? तिमी जिउँदो लाश हौ !” मलाई थाहा छ खास त्यती धेरै मात्ने गरी रक्सी पिउनुभएको थिएन पिताजीले, परन्तु म हदभन्दा तल गिरेर बुबालाई गाली गरेको थिएँ । मैले देखेँ बुबाको आँखामा आँशु टिल्पिलाएको थियो । र, मलाई आमाले नराम्रोसँग झपार्नु भएको थियो । र, बुबासँगै आमाका पनि आँखा रसाएका थिए । त्यो नै पहिलो र अन्तिम पटक थियो जतिखेर मेरा कारणले मेरा पिताजीले रुनु पर्‍यो ! आमा त सानो कुरामा पनि रोईहाल्नु हुन्थ्यो, जस्तो म र भाईबीच झगडा भो भने पनि रोईहाल्ने । सामान्य कुरामा पनि रोइहाल्ने हुँदा आमाको रुवाईसँग मलाई बानी परेको थियो, तर बुबाको आँखामा आँशु देख्दा मेरो भक्कानो फुट्यो अनि मैले माफी पनि मागेँ । अहिले पनि त्यो क्षण सम्झदा ग्लानी हुन्छ मलाई । 

मैले प्रवेशिका परीक्षा उत्तीर्ण नगरुन्जेलको उमेरसम्म बुबा खास धेरै बोल्नुहुन्थेन मसँग । स्वभावै त्यस्तै, कम बोल्ने । मैले गीत गुनगुनाएको वा धेरै बोलेको पटक्कै मन नपार्ने । यस्तो हुँदा बुबासँग मलाई सारै रिस उठ्ने गर्दथ्यो । तर जब किशोरावस्थाको म एउटी किशोरीसँग प्रेम सम्बन्धमा रहन पुगेँ, बुबाले बल्ल मलाई साथीको रुपमा ब्यवहार गर्न थाल्नुभयो । सम्झाउनुहुन्थ्यो – “प्रेम एउटा पक्ष हो, आफ्नो अध्ययनकार्य र भविष्यको विषयमा गम्भिर हुनु अर्को महत्वपूर्ण पक्ष हो । त्यसकारण तँ आफै जान्ने छस्, विचार गरेर अगाडि बढ्नु ।” उतिखेर खास गम्भिरतापूर्वक लिइएन यस कुरालाई अहिले आएर बुबाको त्यस सुझावको सघन अर्थलाई मनन गरिरहेछु । यो त्यस्तै प्रविणता प्रमाणपत्र तह अध्ययन गर्दा ताकाको कुरा हो । अनि त्यतिखेरदेखि मात्र बुबाले मसँग विशेष खालका दोहोरो संवाद शुरु गर्नु भएको थियो । 

मैले स्थानीय पत्रिकाहरुमा लेख्न शुरु गरेँ, ती लेखहरु छाप्नुभन्दा अगावै कहिल्यै पनि बुबालाई देखाइनँ । तर पत्रिकामा छापिएर आईसकेपछि बुबाले मलाई लेखका विषयमा पृष्ठपोषणहरु दिन थाल्नुभयो । कतिपय यस्ता अवस्थाहरु पनि आए लेखकै कारणले हामी बाबुछोराबीच मतभिन्नता रहे । विशेषगरी ती लेखहरु जुन राजनैतिक विषयमा केन्द्रित हुन्थे, र म त्यस विषयमा पर्याप्त जानकारीका बेगर पनि कलम चलाउने गर्दथे । किन्तु, राजनीतिका विषयमा बुबासँग मेरो सामान्य छलफल वा विचार विमर्श पनि भएन । मैले प्रश्नहरु राखेँ पनि बुबाले खास मतलब दिनु हुन्थेन । भन्नुहुन्थ्यो – “तेरालागि पढाई महत्वपूर्ण कुरो हो, राजनीति हैन । राजनीतिका विषयमा जानकारी हासिल गर्ने उमेर हैन यो ।” तर बुबाले यति भनिरहँदा मैले उहाँले संग्रह गरेर राखेका लुसुनका कथाहरु र विशेषगरी चिनियाँ क्रान्तीसँग सम्बन्धित कथाहरु अध्ययन गरिसकेको थिएँ ।

तथापी त्यतिन्जेलसम्म राजनीतिको हुटहुटी दिमागमा चढिसकेको थियो, मेरो । खासगरी २०५८ को हिउँदमा जब मैले एकजना पूर्व काङ्ग्रेसी कार्यकर्तासँगको भेटमा एउटा गोप्य कुरो थाहा पाएँ । लगत्तै मेरो दिमागमा राजनीतिको खास रङ चढ्न गयो । त्यो गोप्य कुरो थियो कि – ४५/४६ सालतिर जतिखेर म ३/४ वर्षको बच्चो थिएँ, त्यतिखेर स्थानीय केहि कांग्रेसी नेताहरुले मेरो बुबालाई भौतिक आक्रमण गर्ने छलफल गर्थे रे – आफ्ना बैठकहरुमा । हुनपनि दुईदुई पटक मेरा पिताजीलाई काङ्ग्रेसी गुण्डाहरुले भौतिक आक्रमण गरेकै हुन । तर उनीहरुको आक्रमणले मेरो बुबाको राजनैतिक चेतना र आस्थाको हत्या गर्न सकेन । र, ती अहिले पनि पराजित मानशिकता लिएर लर्खराइ रहेका छन् । खैर, जेसुकै होस् बल, धरपकड र त्रास देखाएर राजनीति गर्नेहरु को नै टिकेको छ राजनीतिमा ? तर मेरा पिताजीबाट मैले सिकेको कुरो के हो भने लोभ, क्षोभ र धनदौलत विना पनि निरन्तरको लगावले मानिसलाई आफ्नो क्षेत्रमा एक हदसम्म सफल हुन मद्दत पुर्‍याउँछ ।

पिताजीको राजनैतिक यात्राका बारेमा लेख्दै गर्दा कहिलेकाही मलाई यस्तो लाग्दछ – बुढाले खास राजनीति गर्न जान्दैनन् ! मलाई यसो लाग्नुको खास कारण के हो भने पिताजी सधैं सिधा रेखामा हिड्नुहुन्छ । उहाँलाई दायाँ बायाको खास ख्याल हुँदैन । एकदम ईमान्दार यात्रा । मेरो ब्रम्ह भन्दछ – राजनीति गर्नेले देश, काल र परिस्थिती अनुसार राजनीतिमा आफ्नो “चाल” निर्धारण गर्न जान्नुपर्दछ । बुझ्ने गरेर भन्दा कहिले काही बांगो बाटो पनि हिड्नुपर्छ । जस्तो कि एउटा भनाई नै छ – राजनीति सधैं सरल रेखामा हिड्दैन ।

पिताजीको सरलताको बारेमा लेख्दै गर्दा मलाई ५४ सालको स्थानीय निकायको निर्वाचनको एउटा घटना याद आउँछ । त्यतिखेर म भर्खर सात कक्षामा अध्ययन गर्दथेँ । हुन त किशोर नै थिएँ म । तर राजनीतिमा खुबै चासो थियो मेरो । अझ पिताजी जिल्लामा चुनाव लड्ने रे भन्ने कुरो सुनेपछि त झन राजनीति प्रतिको चासो ह्वात्तै बढेको थियो । लाग्थ्यो, पिताजी निर्वाचनमा उम्मेदवार भएपछि जित्नु होला या पराजित हुनुहोला ? जिते त राम्रो होला तर हारे के होला ? बुबाको राजनैतिक भविष्य के होला ? म सोचमग्न हुन्थे । 

जेहोस्, गाउँतिर केहि मान्छेहरु कुरा गर्दथे – भूपेन्द्र जिल्लामा चुनाव लड्ने रे, तर जिल्लामा जान गाउँमा चुनाव जित्नु पर्छ पहिले । यस्तै यस्तै । उनीहरुले भने झै, बुबा वार्डको सदस्य पदमा उम्मेदवार हुनुभयो । हाम्रो गाउँमा सबैको बराबर जस्तो मत खस्ने सम्भावना रहेकाले त्यतिखेर कांग्रेस र एमालेहरु मिलेर चुनाव लडेका थिए । एमालेको अलि बढि जनमत भएकाले अध्यक्ष उसको पोल्टामा थियो भने काङ्ग्रेसका तर्फबाट चाँहि उपाध्यक्ष । यसरी मिलिजुली निर्वाचन लडेका थिए एमाले र काङ्ग्रेस । परिणाम पनि सार्वजनिक भो । एमाले – काङ्ग्रेसको गठबन्धनले निर्वाचन जित्यो । 

तर हाम्रो वार्डको मत परिणाम गन्दा एउटा अचम्मको नतिजा भेटिएछ । भएछ के भने सदस्य पदमा उम्मेदवार हुनुभएका मेरा पिताजीलाई मतै नदिइकन एकलौटी काङ्ग्रेसका उम्मेदवारलाई मात्र मत दिइएको रहिछ । अर्थात मिलेर चुनाव लडेको काङ्ग्रेसी पक्षले १० मत मेरा पिताजीलाई दिएनछन् । यसको सिधा अर्थ मेरा पिताजीलाई जिल्लामा चुनाव लड्न बञ्चित गराउने कुत्सित भावनाले उनीहरु लागेका रहेछन् । तर केहि जोर चलेन उनीहरुको, सदस्य पदमा हराउन खोजेका उनी चाँहि सदस्यमा मात्र सिमित रहे अर्थात पछि इलाका सदस्यमा पराजित भए, पिताजी चाँहि भारी मतले जिल्ला विकास समिति म्याग्दीको उपसभापति पदमा निर्वाचित हुनुभयो । बुबाले यस कुरामा खास केही टिप्पणी गर्नुभएन । मलाई चाँहि यो काङ्ग्रेसी पारा कत्ति निको लागेन । यहाँसम्मकी आठ कक्षा पास गरेपछि मैले मास्टरहरु पनि काङ्ग्रेसी बढि भएको भनेर गाउँको विद्यालयमा पढ्न अस्वीकार गरेँ ।

बुबाले चुनाव जितेको थाहा पाएपछि म, भाई र ठूलोआमाकी छोरी बैनी रेनुलाई हजुरबुबा सोमबहादुर थापाले बेनी लग्नुभएको थियो । बुबाहरुको विजयी र्‍याली हिजैपल्ट सक्केको रहिछ । सुनेर थकथक लाग्यो – हिजै आउन पाएको भए कति रमाईलो हुन्थ्यो होला ? एकछिन बुबासँग छोटो भलाकुसारी भयो । तीन जनाकै हातमा २०/२० रुप्पे थमाईदिनुभयो बुबाले । त्यहि समातेर हामी घरतिर लाग्यौं । चुनाव जितेको ३ दिनपछि बुबा घरमा आउनु भयो । बुबाको हातमा सानो प्लाष्टिकको झोला पनि झुण्डेको थियो । त्यो त्यस्तै प्लाष्टिकको झोला थियो जुन बुबा ५–७ दिनमा घरमा आउँदा लिएर आउनुहुन्थ्यो – खसिको मासु भएको प्लाष्टिकको झोला ! तर त्यो दिन मासुको छुट्टै महत्व थियो । त्यो पिताजीको विजयी भोज थियो – परिवारलाई ! त्यसदिन बुबा र हामीहरु धेरै अवेरसम्म कुरा गरेर बस्यौं । बुबाको विजयले हामीलाई संसार जिते झैं लागिरहेथ्यो । ममा सायद प्रतिशोधको भावना बढि भएर हुनसक्दछ, सबैभन्दा खुशी म थिएँ । मैले नौ दशमा पढ्ने केहि दाजुहरुसँग पनि कुरा चल्दा भनेको थिएँ – “केही चैते काङ्ग्रेसीहरुले हराउन चाहेर पनि हराउन सकेनन् मेरो बुबालाई !”

राजनीतिमा बुबाले आफ्नो खास उर्जाशिल समय लगानी गर्नु भएको छ । राजनीति गर्दैगर्दा उहाँले पारिवारीक समृद्धिलाई कहिल्यै महत्व दिनुभएन । खाली पार्टी भनेर हिड्नुभयो, अझैपनि दौडीरहनु भएको छ । तर आफन्त र नातेदारको खास सहयोग पाउनुभएन बुबाले । यसले चाँहि मलाई प्रायः छुनेगर्छ । मुखै फोरेर भन्दा – जिल्लामा पर्ने गार्‍हा अफ्ठ्यारामा सधैं मेरो पिताजीको हार गुहार गर्न आउने आफन्तहरुले मेरो पिताजीको राजनैतिक दौडमा कहिल्यै समर्थन जनाएनन् । 

अझै पनि बुबा करिबकरिव एक्लो बृहस्पति हुनुहुन्छ । पहिलो कारण त यो किन पनि भयो भने आफन्तहरु प्रायः सबै पैसाकै होडबाजीमा लागे, जुन कहिल्यै पनि मेरो पिताजीको प्राथमिकताको विषय नै बनेन । र, दोश्रो कारण हाम्रो संस्कारगत त्रुटी नै के छ भने अगाडी बढेको मान्छेलाई हामी जसरी पनि पछार्नु पर्छ भन्ने मानसिकताले गुज्रेका छौ । सामान्य मान्छे नै हुन हाम्रा आफन्तहरु पनि उनीहरुमा यो चरित्र नहुने कुरै भएन । फलतः पिताजीलाई बुझ्न करै लाग्यो – रगतको नाता सम्बन्धले राजनीति अगाडि बढ्दैन, विचारले निर्देशित हुने नीति जो छ !

Comments

  1. Salute to your Dad - hope we learn something from his honesty :) (Huna ta ma already honest nai hoina ra?? ;))

    ReplyDelete

Post a Comment

प्रतिक्रिया ब्यक्त गर्दा सभ्य र सुसंस्कृत शैली प्रयोग गर्नका लागि सम्पूर्णमा सविनय अनुरोध गर्दछु ।

Popular posts from this blog

अनि मलाई खुबै राजनीति लाग्छ ...

कहिले काही मैले फोकस गुमाएको जस्तो मेरा नजिकका प्रिय मान्छेहरूले महशुस गर्नुहुन्छ ।  राजन दाईले अस्ति फोन गरेपछि पो झल्याँस्स भएँ । वहाँको गुनासो मिश्रित प्रश्नले सिधै मेरो दिमागमा झड्का दिन पुग्यो, दाईसँग खास घुलमिल नभएकाहरूलाई चाँहि वहाँको प्रश्नले दिमागमा हैन् सिधैं मुटुमा हान्न सक्छ । वहाँका प्रायः प्रश्नहरू तारा खेलमा निशाना लगाउन प्रयोग हुने वाण जस्तो सिधा र तिखो हुन्छन् । जस्तो मेरो दिमाग मैं झङ्कार लेराउने प्रश्न थियो वहाँको,  "हैन पाक्षिक रूपमा ब्लग अद्यावद्यिक (अपडेट) गर्छु भन्या हैन् ? एक महिना पुग्न लाग्यो त सर !"    मलाई व्यंग्य गर्नुपर्दा दाइले सर भन्नुहुन्छ, अनि वहाँलाई चाहिँ म भन्छु, साहुजी । यत्तिमा मात्र दाजुको प्रश्न सिमित हुन्थ्यो भने, सायदै म आजको यो ब्लग लेख्न बस्थेँ । तर वहाँको प्रश्नसँग व्यंग्यमिश्रित सानो जिज्ञासा पनि थियो, "खुबै चुनाव लाग्या छ हैन् तिमीलाई !?" यो जिज्ञासामिश्रित व्यंग्य हो या व्यंग्य मिसिएको जिज्ञासा । या यो जिज्ञासा हुँदै नभएर केवल व्यंग्य मात्र थियो । तर जेहोस् यो केहि न केहि चाँहि पक्कै थियो ।  खुबै चुनाव लाग्ने आफत ...

को नायक? खलनायक को ?

बुडापेष्टको एउटा बगैंचामा राता र सेता गुलाफहरूबीच रहेको एक मूर्ति मुनि बसेर गिटार बजाउँदै गीत गाउँदै गरेका एक बुढा बाजेलाई खल्ति रित्ताएर पैसा दिन मन भएथ्यो । मसँग खल्ती भरी रूपैयाँ थिएन्, बुढीमाउलाई २ यूरो मागेर उनलाई दिएँ ।  बुढा बाजेले जर्मनमा केहि बोले, मैले नबुझेको अड्कल गरेर होला, उनले सोधे अङ्ग्रेजीमा "ह्वेय आर यू फ्रम ?" "नेपाल" मैले भनेँ । "वाउ क्याट्मान्डु ? यू केम फ्रम क्याटमान्डु टु बुडापेष्ट?" उनले बडो उत्साहित हुँदै प्रश्न गरे ।  मलाई झुटो बोल्न प्रायः सकस पर्छ, यसैकारण, मैले सत्य बोलिदिएँ - "नो सर। इट इज नट लाइक द्याट, आइ लिभ इन हेलसिन्की डिस्पाइट विइङ्ग ए नेपाली ।" (होइन् नी महोदय त्यसो । मान्छे नेपालको भएपनि क्याटमान्डु नभै हेलसिन्की बस्छु, म ।) छोटो तर यादगार कुराकानीमा ती बुढा बाजे आफूले नेपालका अग्ला हिमालहरू सम्झिएर, मलाई चाँहि मेरो घर सम्झाए । मैले नबुझ्ने भाषामा मन छुने संगित भरेर ती बाजेले  पूर्ववतः   गीतको भाका हाल्न थाले । उनको गायकी र उनले झंकार निकालेको गिटारको धुन पर पर सम्म पुगिरहेथ्यो, मानिसहरू प्रायः फर्केर एकपटक उ...

यो के गर्यौ तिमीले मेरा प्यारा हन्तकालीहरू हो?

"सर, चाउमिन बाँकी रह्यो । एक प्लेट थपिदिऊँ ?" स्कुलको क्यान्टिनका मुख्य कुक पाण्डे दाईले मलाई कान मैं आएर भनेपछि मैले नाइँ भन्नुपर्ने कारण देखिनँ ।  वाइवाइ चाउचाउको चाउमिन यस्तो मीठो थियो कि एक प्लेट खाँदा पनि मेरो जिब्रोको भोक मेटिएकै थिएन् । मैले अर्को प्लेट हसुरेँ ।  पाण्डे दाईले थपिदिएको त्यो उभ्रेको एक प्लेटबाट दोस्रो चोटी काँटामा बेरेर मैले मुखमा पुर्याउनै आँटेको के थिएँ, टेबलटेनिसको पुरानो हरियो टेबलमाथि बसेर भर्खर सकिएको दोस्रो त्रैमासिक परीक्षाको कापि जाँच्दै गरेका जनसंख्या शिक्षक एवं म अध्यापनरत विद्यालयका संस्थापक नराम्ररी बिच्किए । भन्दै थिए, "यहाँ आफूले एक प्लेट पाइया छैन्, सरले दुइ प्लेट नै उठाइदिने ?"  भोकले रन्थनिएका केसी सरले अहिले मैले मिलाएर लेखेको भन्दा तिखा शब्दहरू उनेर केहि भनेका थिए । सायद उनको ठाउँमा म र मेरो ठाउँमा उनी भएका भए त्यसबखत उनले मलाई मारेभन्दा बड्ता पेचिलो डायलग म मार्ने थिएँ होला । डायलग मार्न म बच्चैदेखि खप्पिस हुँ ।  तर त्यो वखत डायलग बेहोर्नेमा म थिएँ, मार्ने अर्को कोही । एकैछिन अघिसम्म मीठो भएको त्यो वाइवाइ चाउचाउको चाउमिन के...