Skip to main content

राजनीति, मेरो बुबा र म

एउटा समय थियो, जतिखेर बुबा आफ्नो पार्टीको सांगठनिक काममा एकदमै ब्यस्त हुनुहुन्थ्यो र म प्राथमिक तहमा अध्ययनरत थिएँ । घरमा बुबाको उपस्थिती अति नै पातालो हुने गर्दथ्यो । जिल्लाका विभिन्न गाउँहरुमा उहाँ पुगिरहँदा घरमा चाँहि म, भाई र आमा बुबाकै विषयमा कुरा गरेर बस्थ्यौं । आमा निकै नै चिन्ता लिनुहुन्थ्यो विशेषगरी बुबाको स्वास्थ्यप्रति । किनकी, बुबा हुनुहुन्थ्यो नै त्यस्तो । आफ्नो स्वास्थ्यको पटक्कै ख्याल नगर्ने – जस्तो खानेकुरा तात्तातै खाने, मदिरापान गर्ने आदि ईत्यादि । समाज र देश निर्माणको महानअभियानमा टेवा दिन पार्टीको काम लिएर गाउँगाउँ पुग्ने पिताजीलाई आफ्नै घर व्यवहारमा उति गम्भिर चासो रहेन । यो एउटै कारण थियो, म सानो छँदा पनि बुबासँग यहि विषयलाई लिएर झगडा गर्थे ।

सात कक्षाको विद्यार्थी हुँदा वर्षायामको एकरात एकहप्तापछि घर फिर्नुभएको पिताजीलाई मैले भनेको थिएँ – “तिमी बुढालाई हाम्रो केही मतलब छैन, खाली पार्टी पार्टी भनेर हिड्ने, अझ घर आउँदा रक्सी पिएर आउने ? तिमी जिउँदो लाश हौ !” मलाई थाहा छ खास त्यती धेरै मात्ने गरी रक्सी पिउनुभएको थिएन पिताजीले, परन्तु म हदभन्दा तल गिरेर बुबालाई गाली गरेको थिएँ । मैले देखेँ बुबाको आँखामा आँशु टिल्पिलाएको थियो । र, मलाई आमाले नराम्रोसँग झपार्नु भएको थियो । र, बुबासँगै आमाका पनि आँखा रसाएका थिए । त्यो नै पहिलो र अन्तिम पटक थियो जतिखेर मेरा कारणले मेरा पिताजीले रुनु पर्‍यो ! आमा त सानो कुरामा पनि रोईहाल्नु हुन्थ्यो, जस्तो म र भाईबीच झगडा भो भने पनि रोईहाल्ने । सामान्य कुरामा पनि रोइहाल्ने हुँदा आमाको रुवाईसँग मलाई बानी परेको थियो, तर बुबाको आँखामा आँशु देख्दा मेरो भक्कानो फुट्यो अनि मैले माफी पनि मागेँ । अहिले पनि त्यो क्षण सम्झदा ग्लानी हुन्छ मलाई । 

मैले प्रवेशिका परीक्षा उत्तीर्ण नगरुन्जेलको उमेरसम्म बुबा खास धेरै बोल्नुहुन्थेन मसँग । स्वभावै त्यस्तै, कम बोल्ने । मैले गीत गुनगुनाएको वा धेरै बोलेको पटक्कै मन नपार्ने । यस्तो हुँदा बुबासँग मलाई सारै रिस उठ्ने गर्दथ्यो । तर जब किशोरावस्थाको म एउटी किशोरीसँग प्रेम सम्बन्धमा रहन पुगेँ, बुबाले बल्ल मलाई साथीको रुपमा ब्यवहार गर्न थाल्नुभयो । सम्झाउनुहुन्थ्यो – “प्रेम एउटा पक्ष हो, आफ्नो अध्ययनकार्य र भविष्यको विषयमा गम्भिर हुनु अर्को महत्वपूर्ण पक्ष हो । त्यसकारण तँ आफै जान्ने छस्, विचार गरेर अगाडि बढ्नु ।” उतिखेर खास गम्भिरतापूर्वक लिइएन यस कुरालाई अहिले आएर बुबाको त्यस सुझावको सघन अर्थलाई मनन गरिरहेछु । यो त्यस्तै प्रविणता प्रमाणपत्र तह अध्ययन गर्दा ताकाको कुरा हो । अनि त्यतिखेरदेखि मात्र बुबाले मसँग विशेष खालका दोहोरो संवाद शुरु गर्नु भएको थियो । 

मैले स्थानीय पत्रिकाहरुमा लेख्न शुरु गरेँ, ती लेखहरु छाप्नुभन्दा अगावै कहिल्यै पनि बुबालाई देखाइनँ । तर पत्रिकामा छापिएर आईसकेपछि बुबाले मलाई लेखका विषयमा पृष्ठपोषणहरु दिन थाल्नुभयो । कतिपय यस्ता अवस्थाहरु पनि आए लेखकै कारणले हामी बाबुछोराबीच मतभिन्नता रहे । विशेषगरी ती लेखहरु जुन राजनैतिक विषयमा केन्द्रित हुन्थे, र म त्यस विषयमा पर्याप्त जानकारीका बेगर पनि कलम चलाउने गर्दथे । किन्तु, राजनीतिका विषयमा बुबासँग मेरो सामान्य छलफल वा विचार विमर्श पनि भएन । मैले प्रश्नहरु राखेँ पनि बुबाले खास मतलब दिनु हुन्थेन । भन्नुहुन्थ्यो – “तेरालागि पढाई महत्वपूर्ण कुरो हो, राजनीति हैन । राजनीतिका विषयमा जानकारी हासिल गर्ने उमेर हैन यो ।” तर बुबाले यति भनिरहँदा मैले उहाँले संग्रह गरेर राखेका लुसुनका कथाहरु र विशेषगरी चिनियाँ क्रान्तीसँग सम्बन्धित कथाहरु अध्ययन गरिसकेको थिएँ ।

तथापी त्यतिन्जेलसम्म राजनीतिको हुटहुटी दिमागमा चढिसकेको थियो, मेरो । खासगरी २०५८ को हिउँदमा जब मैले एकजना पूर्व काङ्ग्रेसी कार्यकर्तासँगको भेटमा एउटा गोप्य कुरो थाहा पाएँ । लगत्तै मेरो दिमागमा राजनीतिको खास रङ चढ्न गयो । त्यो गोप्य कुरो थियो कि – ४५/४६ सालतिर जतिखेर म ३/४ वर्षको बच्चो थिएँ, त्यतिखेर स्थानीय केहि कांग्रेसी नेताहरुले मेरो बुबालाई भौतिक आक्रमण गर्ने छलफल गर्थे रे – आफ्ना बैठकहरुमा । हुनपनि दुईदुई पटक मेरा पिताजीलाई काङ्ग्रेसी गुण्डाहरुले भौतिक आक्रमण गरेकै हुन । तर उनीहरुको आक्रमणले मेरो बुबाको राजनैतिक चेतना र आस्थाको हत्या गर्न सकेन । र, ती अहिले पनि पराजित मानशिकता लिएर लर्खराइ रहेका छन् । खैर, जेसुकै होस् बल, धरपकड र त्रास देखाएर राजनीति गर्नेहरु को नै टिकेको छ राजनीतिमा ? तर मेरा पिताजीबाट मैले सिकेको कुरो के हो भने लोभ, क्षोभ र धनदौलत विना पनि निरन्तरको लगावले मानिसलाई आफ्नो क्षेत्रमा एक हदसम्म सफल हुन मद्दत पुर्‍याउँछ ।

पिताजीको राजनैतिक यात्राका बारेमा लेख्दै गर्दा कहिलेकाही मलाई यस्तो लाग्दछ – बुढाले खास राजनीति गर्न जान्दैनन् ! मलाई यसो लाग्नुको खास कारण के हो भने पिताजी सधैं सिधा रेखामा हिड्नुहुन्छ । उहाँलाई दायाँ बायाको खास ख्याल हुँदैन । एकदम ईमान्दार यात्रा । मेरो ब्रम्ह भन्दछ – राजनीति गर्नेले देश, काल र परिस्थिती अनुसार राजनीतिमा आफ्नो “चाल” निर्धारण गर्न जान्नुपर्दछ । बुझ्ने गरेर भन्दा कहिले काही बांगो बाटो पनि हिड्नुपर्छ । जस्तो कि एउटा भनाई नै छ – राजनीति सधैं सरल रेखामा हिड्दैन ।

पिताजीको सरलताको बारेमा लेख्दै गर्दा मलाई ५४ सालको स्थानीय निकायको निर्वाचनको एउटा घटना याद आउँछ । त्यतिखेर म भर्खर सात कक्षामा अध्ययन गर्दथेँ । हुन त किशोर नै थिएँ म । तर राजनीतिमा खुबै चासो थियो मेरो । अझ पिताजी जिल्लामा चुनाव लड्ने रे भन्ने कुरो सुनेपछि त झन राजनीति प्रतिको चासो ह्वात्तै बढेको थियो । लाग्थ्यो, पिताजी निर्वाचनमा उम्मेदवार भएपछि जित्नु होला या पराजित हुनुहोला ? जिते त राम्रो होला तर हारे के होला ? बुबाको राजनैतिक भविष्य के होला ? म सोचमग्न हुन्थे । 

जेहोस्, गाउँतिर केहि मान्छेहरु कुरा गर्दथे – भूपेन्द्र जिल्लामा चुनाव लड्ने रे, तर जिल्लामा जान गाउँमा चुनाव जित्नु पर्छ पहिले । यस्तै यस्तै । उनीहरुले भने झै, बुबा वार्डको सदस्य पदमा उम्मेदवार हुनुभयो । हाम्रो गाउँमा सबैको बराबर जस्तो मत खस्ने सम्भावना रहेकाले त्यतिखेर कांग्रेस र एमालेहरु मिलेर चुनाव लडेका थिए । एमालेको अलि बढि जनमत भएकाले अध्यक्ष उसको पोल्टामा थियो भने काङ्ग्रेसका तर्फबाट चाँहि उपाध्यक्ष । यसरी मिलिजुली निर्वाचन लडेका थिए एमाले र काङ्ग्रेस । परिणाम पनि सार्वजनिक भो । एमाले – काङ्ग्रेसको गठबन्धनले निर्वाचन जित्यो । 

तर हाम्रो वार्डको मत परिणाम गन्दा एउटा अचम्मको नतिजा भेटिएछ । भएछ के भने सदस्य पदमा उम्मेदवार हुनुभएका मेरा पिताजीलाई मतै नदिइकन एकलौटी काङ्ग्रेसका उम्मेदवारलाई मात्र मत दिइएको रहिछ । अर्थात मिलेर चुनाव लडेको काङ्ग्रेसी पक्षले १० मत मेरा पिताजीलाई दिएनछन् । यसको सिधा अर्थ मेरा पिताजीलाई जिल्लामा चुनाव लड्न बञ्चित गराउने कुत्सित भावनाले उनीहरु लागेका रहेछन् । तर केहि जोर चलेन उनीहरुको, सदस्य पदमा हराउन खोजेका उनी चाँहि सदस्यमा मात्र सिमित रहे अर्थात पछि इलाका सदस्यमा पराजित भए, पिताजी चाँहि भारी मतले जिल्ला विकास समिति म्याग्दीको उपसभापति पदमा निर्वाचित हुनुभयो । बुबाले यस कुरामा खास केही टिप्पणी गर्नुभएन । मलाई चाँहि यो काङ्ग्रेसी पारा कत्ति निको लागेन । यहाँसम्मकी आठ कक्षा पास गरेपछि मैले मास्टरहरु पनि काङ्ग्रेसी बढि भएको भनेर गाउँको विद्यालयमा पढ्न अस्वीकार गरेँ ।

बुबाले चुनाव जितेको थाहा पाएपछि म, भाई र ठूलोआमाकी छोरी बैनी रेनुलाई हजुरबुबा सोमबहादुर थापाले बेनी लग्नुभएको थियो । बुबाहरुको विजयी र्‍याली हिजैपल्ट सक्केको रहिछ । सुनेर थकथक लाग्यो – हिजै आउन पाएको भए कति रमाईलो हुन्थ्यो होला ? एकछिन बुबासँग छोटो भलाकुसारी भयो । तीन जनाकै हातमा २०/२० रुप्पे थमाईदिनुभयो बुबाले । त्यहि समातेर हामी घरतिर लाग्यौं । चुनाव जितेको ३ दिनपछि बुबा घरमा आउनु भयो । बुबाको हातमा सानो प्लाष्टिकको झोला पनि झुण्डेको थियो । त्यो त्यस्तै प्लाष्टिकको झोला थियो जुन बुबा ५–७ दिनमा घरमा आउँदा लिएर आउनुहुन्थ्यो – खसिको मासु भएको प्लाष्टिकको झोला ! तर त्यो दिन मासुको छुट्टै महत्व थियो । त्यो पिताजीको विजयी भोज थियो – परिवारलाई ! त्यसदिन बुबा र हामीहरु धेरै अवेरसम्म कुरा गरेर बस्यौं । बुबाको विजयले हामीलाई संसार जिते झैं लागिरहेथ्यो । ममा सायद प्रतिशोधको भावना बढि भएर हुनसक्दछ, सबैभन्दा खुशी म थिएँ । मैले नौ दशमा पढ्ने केहि दाजुहरुसँग पनि कुरा चल्दा भनेको थिएँ – “केही चैते काङ्ग्रेसीहरुले हराउन चाहेर पनि हराउन सकेनन् मेरो बुबालाई !”

राजनीतिमा बुबाले आफ्नो खास उर्जाशिल समय लगानी गर्नु भएको छ । राजनीति गर्दैगर्दा उहाँले पारिवारीक समृद्धिलाई कहिल्यै महत्व दिनुभएन । खाली पार्टी भनेर हिड्नुभयो, अझैपनि दौडीरहनु भएको छ । तर आफन्त र नातेदारको खास सहयोग पाउनुभएन बुबाले । यसले चाँहि मलाई प्रायः छुनेगर्छ । मुखै फोरेर भन्दा – जिल्लामा पर्ने गार्‍हा अफ्ठ्यारामा सधैं मेरो पिताजीको हार गुहार गर्न आउने आफन्तहरुले मेरो पिताजीको राजनैतिक दौडमा कहिल्यै समर्थन जनाएनन् । 

अझै पनि बुबा करिबकरिव एक्लो बृहस्पति हुनुहुन्छ । पहिलो कारण त यो किन पनि भयो भने आफन्तहरु प्रायः सबै पैसाकै होडबाजीमा लागे, जुन कहिल्यै पनि मेरो पिताजीको प्राथमिकताको विषय नै बनेन । र, दोश्रो कारण हाम्रो संस्कारगत त्रुटी नै के छ भने अगाडी बढेको मान्छेलाई हामी जसरी पनि पछार्नु पर्छ भन्ने मानसिकताले गुज्रेका छौ । सामान्य मान्छे नै हुन हाम्रा आफन्तहरु पनि उनीहरुमा यो चरित्र नहुने कुरै भएन । फलतः पिताजीलाई बुझ्न करै लाग्यो – रगतको नाता सम्बन्धले राजनीति अगाडि बढ्दैन, विचारले निर्देशित हुने नीति जो छ !

Comments

  1. Salute to your Dad - hope we learn something from his honesty :) (Huna ta ma already honest nai hoina ra?? ;))

    ReplyDelete

Post a Comment

प्रतिक्रिया ब्यक्त गर्दा सभ्य र सुसंस्कृत शैली प्रयोग गर्नका लागि सम्पूर्णमा सविनय अनुरोध गर्दछु ।

लोकप्रिय पोष्टहरू

अनि रोशन भाइले टिपेछन् ६ बाल्टिन बेरी

गएको साल, हेर्दै कलिला देखिने दुई जना ठिटाहरू तिक्कुरिला रेल बिसौनीको कुनामा मस्त चुरोटको पफ लिदैं गरेका बेला, "भाइहरू नेपाली हो ?" भनेर मैले सोधेको थिएँ । मेरो प्रश्न भुँइमा झर्न नपाउँदै, आफूले तान्दै गरेको चुरोट आफ्नो साथीलाई दिदैँ, झन कलिलो देखिने ठिटोले भनेथ्यो, "हो दाई । कसरी पो ठम्याउनु भो ?"  दुई फरक मुहारको बनोट लिएका मानिसहरू सँगै बसेर एउटै चुरोट तान्दैछन् भने ती पक्कै नेपालीहरू हुनुपर्छ, त्यसमाथि तिमीहरू नेपाली मैं बातचित गर्दै थियौ नी त । मेरो जवाफ सुनेपछि त्यो ठिटोले कपाल कन्याउँदै भनेथ्यो, "हाउ दाजु पनि, सारै मजाको पो हुनुहुदोँ रहिछ !" मैले बात मार्न खोज्दा, निसंकोच बात मार्न खोज्ने ठिटो त पूर्वतिरको लिम्बु भाइ रहेछन् । अनि खासै बात मार्न नचाहने चाँहि रहिछन् - काठतिरका बाहुन भाइ ।  त्यो दिन ती भाइहरू हेलसिन्कीबाट सवा घण्टाको रेल यात्रामा पुगिने ठाउँबाट काम पाइने आशामा साथीलाई भेट्न आएका रहेछन् । आफूलाई भेट्न निम्ता दिएको साथीसँग भेट  नभएपछि  कामको खोजीमा हेलसिन्की झरेका उनीहरूलाई  आफू बस्ने ठाउँतिर फर्कने क्रममा मैले भेट्न पुगेको थिएँ । छोटो भ...

घर कहाँ हो दाजुको ?

अन्तिम पटक ह्वाट्स एपकलमा तेर्ह मिनेट कुराकानी भएको ठ्याक्कै तीन महिनापछि ह्वाट्स एपमा तिमीलाई मेरो पछिल्लो ब्लग पोष्टको लिंक साझा गरेथेँ, करिब तीन हप्तापछि आजै बुनेले मीठो टिप्पणीसहितको सन्देश प्रवाह गर्ने क्रममा अम्रिकाबाट सोधी पठायौ, "Dai, I have a question, where is home? Nepal or Finland?" सायदै बुने तिम्रो प्रश्न यत्तिमै मात्र सक्किन्थ्यो भनेपनि मैले सजिलै भनिदिन सक्थेँ होला जसरी हाम्रै म्याग्दीका लोकगायक खड्ग गर्बुजाले आफ्नो ' पिरती ' एल्बमको एक गीतमा सोध्दा प्रश्न, "घर कहाँ हो मायालु?" कति सजिलै जवाफ दिएथीन् गायिकाले, "हिमालको काखैमा ।" तर तिम्रो प्रश्नमा जवाफ मात्र दिएर पुग्थेन्, त्यसले अन्तःस्करणको भाव पनि जान्न चाहन्थ्यो किनकी त्यसमा तिमीले थपेर पठाएथ्यौ - "What is your feeling since you've lived so many years in Finland?" म फिनल्याण्ड टेकेको वर्षदिन पनि त पुगेको थिएन् जतिबेला सन् २०१३ को हिउँदमा फिनल्याण्डमा मलाई पहिलो कामका लागि भनसुन गर्दिनुभएका दाजु राजन सुवेदीले, तिम्रो जत्तिकै गम्भीर त होईन् तर सिधा प्रश्न गर्नु भएथ्...

मेरो एउटा साथी छ (हुनुहुन्छ)

 " नीराजन, मेरो बेस्ट फ्रेन्ड हो ।" जन्मेर २६ वर्ष बिताएको देश नेपालमा मलाई यस्तो भन्ने कोही थिएन् । तर यतै फिनल्याण्ड आइपुगेपछि,  मलाई यस्तो भन्ने एक जना भेट्टिएकी थिइन् ।  जोसँग बसेर एकै कप चिया वा कफि पिएकै थिइँन्, मैले । मनभरीका बह न मैले उनीसँग केहि पोखेकै थिएँ, न त उनले विशेष केही त्यस्त्तो साझा गरेकी थिइन् मसँग । तर मलाई चिन्ने र मसँग सम्पर्कमा रहेका धेरै साथीभाइसँग उनले सुनाउन बिर्सेकी रहिन्छिन् कि निराजन उनको बेस्ट फ्रेन्ड हो ।  यो पढ्दै गर्दा यहाँलाई लाग्ला, कि आफूलाई बेस्ट फ्रेन्ड बताउने साथीका सम्बन्धमा लेख्ता पनि यसले किन भूतकालको प्रयोग गर्यो ? प्रश्न स्वभाविकै हो तर मेरो जवाफ अलिकति अस्वभाविक लाग्न सक्ला यहाँलाई । कि मलाई बेस्ट फ्रेन्ड भन्ने उनको, खासमा म  फ्रेन्ड पनि थिइँन् । न उनी थिइन्, मेरो कुनै त्यस्तो विशेष मित्र । बस्, हाम्रो सामान्य चिनजान मात्र थियो । केहि मानिसहरू हुँदारहेछन्, जो सामान्य चिनजानलाई मित्रताको नाम दिदाँरहिछन्, उनले जस्तै । अनि कोही यस्ता पनि हुँदा रहिछन् कि जोसँग हामी विशेष सामिप्यतामा भएको ठानेका हुन्छौं, तर उनीहरूका ...

बोई, बार्ह वर्षमा खोलो किन फर्किएन् ?

हिजो भर्खर जस्तो लाग्छ, २७ औं वसन्तमा हिड्दै गरेको म विना कुनै योजना देश छाडेर परदेश हिडेको । आज १२ वर्ष नाघिसकेछ, परदेश भनिएको ठाम देशजस्तै अनि देश ठानिएको ठाम परदेशजस्तै भएको । मेरी बोइ भन्नुहुन्थ्यो, "बार्ह बर्षमा खोलो फर्किन्छ ।" बार्है बर्ष वितिसकेछन्, म मान्छे भएर होला सायद आफूले आएको बाटैबाटो घर फर्किन नसकेको ! बोइ नफर्किने गरी गएको पनि ५ वर्ष त नाघिसकेछ, सायद अझै हुनुहुन्थ्यो भने फोन गरेर म सोध्दो हुँ, - बोइ बार्ह वर्षमा खोलो कसरी फर्किन्छ ? सिकाइमाग्दो हुँ फर्किने सुत्र, शिरोपर गर्दो हुँ ती सुत्रहरू र लाग्दो हुँ ढोडेनीको पक्की पुल तरेर किनारै किनार तेर्सिएर घैयारासम्म अनि अलिकति माथि उक्लिएर हाम्रा जिजुको पालादेखिको हाम्रो स्थायी ठेगाना उही ढुंगेपाली टोलमा । छिर्दो हुँ आफ्नै मेहनतले बनाएको साढे दुई तले पक्की घरको दैलोभित्र ।           दिनहरू यस्ता पनि थिए, जहिले म कविताहरू लेख्ने गर्थेँ । मेरा कविताहरूमा देश छाड्नेहरूलाई स्वदेशमैं बस्नु भनेर आव्हान हुने गर्थे । अहिले म तीनै कविताहरूका पात्र बनेर आफैले बाँच्नु परेको परिस्थितीलाई पचाउने प्रयत्न गर्दै...

क्लोरिनको झोल, वैज्ञानिकहरू र मेरी बोइको मुड्की

मेरो बाल्यकाल लगभग बोईसँगै बित्यो । त्यो चकचक गर्ने समय भएकाले मेरो चकचकसँग बोईलाई बेलाबेलामा झिझो लाग्नु स्वभाविक नै थियो । त्यसैले मैले अति नै अटेर गरेपछि बोईले मलाई भन्नुहुन्थ्यो -  "अहिले गाडूँला मुड्की (मुड्कीले हान्छु) ।" तर अहँ कहिल्यै पनि एक झापड खानुपरेन । मुड्की नै खानु नपरेपछि मेरो चकचक थामिने कुरै थिएन, त्यसैले बोईले पनि मुड्की गाडूँला भन्न छाड्नुभएन अनि मैले चकचक गर्न । मेरी बोईले यस धरा छोडेको पनि यहि हिउँदमा बर्षदिन पुग्दैछ, तर बोईले भन्ने गरेको "अहिले गाडूँला मुड्की" मेरो मनमा गडिरहेको छ, अनि यसो सोच्छु, दुईचार पटक बोईले साँच्चिकै मुड्की गाड्नुभएको भए, मेरा चकचक उहिले पहिले नै खत्तम हुन्थे कि ?  तर खासमा चकचक भन्ने जिनिस त्यत्तिकै खत्तम भएर गैहाल्ने कुरो हैन रहेछ । न त यो उमेर बढ्दै गएपछि आफै घट्दै र पछि निस्तेज नै हुने रहेछ । यसले खासमा उमेर बढ्दै गएर केश पाक्दै गएपनि आफ्नो स्वरूपमा अलिकति फेरिदै तरह तरहका रूपमा प्रकट हुँदै पो जाँदो रहेछ कि ? भन्ने निचोडमा पुगेको छु । यस्तै केहि केश पाक्नै थालेका मान्छेहरूको चकचक कोरोनको त्रास बढ्दै गएपछि अलिकति भि...