अभाव, परदेश अनि अवसर



धेरै सफल र चर्चित ब्यक्तित्वहरुका बारेमा अध्ययन गर्दा मैले बुझेको सार तत्व हो – मानिसहरु चरम पीडामा हुँदा खारिने अवसर पाउँछन् । तर जो पीडाका बखत अतालिन्छन् अनि हतास मानशिकता लिएर गलत निर्णय लिन्छन् तिनीहरू फेरि कहिल्यै नउठ्ने गरि निस्तेज हुन्छन् । र, आज म यो यसकारण लेख्दैछु कि, मेरो उत्कट ईच्छा हो – यसले विदेशी भूमिमा संघर्ष र अभावका जीवन बाँचिरहेका मजस्तै हजारौं नेपालीहरुलाई एकपटक आफ्नो सामर्थ्यका बारेमा आँकलन गर्न प्रेरित गरोस् । एकजना जनवादी कवीले आफ्ना वीर योद्दाहरुलाई प्रेरित गर्नलाई  आफ्ना कवितामा उल्लेख गरेको अंशलाई सापटी लिएर म मेरा प्रिय मान्छेहरूलाई आग्रह गर्न चाहन्छु – एउटा क्रान्तिकारी बन्नका खातिर योद्धाले जस्तै आँधीबेहरी र हुरी आउँदा पनि सतिसाल झैं भएर डटेर चूनौतिहरूको सामना गर्न सक्नु पर्दछ । हामीले ख्याल गर्नुपर्ने शास्वत सत्य हो – संसारमा कसैको पनि जीवन सरल रेखामा यात्रा गरिरहेको छैन ! र, त्यसकारण पनि अहिले हामीले सामना गर्नु परेको दुःख, पीडा, अभाव र नैराश्यतालाई चिर्नु जरुरी छ । हामीले हाम्रै वरिपरीका मान्छेहरुबाट धेरै सिक्नु जरुरी छ । यो परदेशमा अभावको आक्रमणले हामीलाई क्षतविक्षत पारेको यो संगीन घडिलाई हामीले जीवन बुझ्ने अवसरका रुपमा प्रयोग गर्नु बुद्धिमानी हुन्छ ।

लगातार १८९ दिन बेरोजगारी दिन र रातहरु बिताएपछि एक अपरिचीत किन्तु दयावान दाजुका माध्यमबाट मैले काम गर्ने सुनौलो अवसर प्राप्त गरेको थिएँ – यहि मार्चको पहिलो सप्ताहबाट ! एकदिन उनै दाजुसँग प्रत्यक्ष भेटघाटका क्रममा दुखसुखका कुराहरू साटफेर हुँदै गर्दा उहाँले मलाई आफ्ना शुरुवाती दिनका संघर्षका अविरल भोगाईहरु छरपरस्टै पार्नुहुँदा म अवाँक रहेको थियो । ती साँच्चीकै कति कष्टप्रद भोगाईहरु थिए होलान ? जतिखेर यो फिनल्याण्ड नामको राज्यमा औंलामा गन्न सकिने नेपालीहरु मात्र थिए र केहि नेपाली विद्यार्थीहरु जो डेढ वर्षसम्म यहाँ पूर्ण बेरोजगार भएर बस्नुपरेको थियो ! उहाँले संघर्षका कथाहरु सुनाईरहँदा मैले सन् २००८ तिर अध्ययनका लागि बेलायत र अष्ट्रेलिया पुगेका नेपाली बिद्यार्थीहरुका दुखजिला दैनिकीका बारेमा सुनेका कथाहरु याद गरेँ - त्यो समय कलेजको शुल्क बुझाउन नसकेर कतिपय नेपालीहरू आफ्ना सपनाहरुलाई त्यसै थाँती राखेर नेपालमै फर्कन विवश थिए । अझ हृदयविदारक घटनाहरु यस्ता पनि सुनिए कि केहि नेपालीहरूले आफू त्यहाँ पुग्दा गरेको लगानी उठाउन नसक्ने स्थिती देखेर आत्महत्या सम्म गरे । ती पराजित हुन विवश नेपालीहरुले संघर्षका शुरुवाती चूनौतिहरुलाई डटेर सामना गर्न नसक्नुलाई म उनीहरुको नालायकीपन ठानुँ वा विवशता, तर यथार्थ के हो भने संघर्षको मैदानबाट भाग्न खोज्नेहरू कायर हुन र उनीहरुले विजयी हुने दक्षता राख्दैनन् । 

फिनल्याण्ड जस्तो निशुल्क अध्ययन गर्न सकिने देशमा उच्चशिक्षाका लागि आउने अवसर प्राप्त गरेका हामीहरु खासमा सौभाग्यशालीहरु हौं । कम्तिमा पनि कलेजमा तिर्नु पर्ने शुल्कको तनावबाट हामीहरु मुक्त छौं । त्यसकारण पनि आफ्नो अनावश्यक ब्यक्तिगत खर्चका शिर्षकहरु कटौती गरी मितव्ययीता अपनाउने हो भने अलिकति लामो समय बेरोजगारी हुनुको खास पीडा हुँदैन हामीलाई ! कम भन्दा कम खर्च गर्ने र बढि भन्दा बढि मानिसहरुसँग सम्पर्क विस्तार गर्न बानिको विकास गर्न सक्यौं भने त्यो हाम्रै हितका लागि हुनेछ । नबिर्सौ – बेरोजगार त हामी हिजो सक्षम हुँदा पनि थियौं त्यो पनि स्वदेशमा । यो त विदेश हो । न हामीसँग यहाँको श्रमबजारमा आवश्यक सीप र कौशलता छ, न नै दोहोरो सञ्चारका लागि फिनिस भाषामा हाम्रो दक्षता छ, फलस्वरुपः हामीले अपेक्षा गरेभन्दा केहि लामो समय बेरोजगारी हुनु परेको छ । तर यसको मतलब हामी सधैं बेरोजगारी नै रहिरहन्छौं भन्ने हैन । 

अंग्रेजीमा भनाई नै छ – एभ्री डग ह्याज इट्स डे ! हामी त झन मान्छे, कसो नउदाउँला सूर्य हाम्रो जीवनमा ?

Comments

abhisek acharya said…
maile ta yeslai purai bektigat rupma liye xu padda kheri.......suru ka anuxedh inspirational lage......tespaxi chai nirajan ji le malai nai arti diye jhai lagyo !!

Dhanyabaad guru pratikriyaka lagi. Yadma arti vanda pani dhadas dine prayatna gareko hu. Dhadas swyam aafailai ra sabailai jo ma jastai pidama bachirahexan :(
Kapil Alkinoos said…
euta vanai chha ni....timi haareko chhainau...kewal timro jeet para sareko ho.....tesaile...hamro ujyaalo diin ni aauchha hajur....kewal mehanat ta dharyata ko awasyak chha...ki kaso?
Nirajan Thapa said…
मलार्इ पनि त्यस्तै लागिरहेको छ कपिलजी । तर त्यो उज्यालो दिनको प्रतिक्षा अलि बढि लम्बिनाले गार्हो भयो । :)