Skip to main content

फिनल्याण्ड आउँदै हुनुहुन्छ ?

somewhere around Uusima. Photo Nirajan Thapa
अध्ययनका लागि विदेशमा आउनुपूर्व धेरै कुराहरुमा ध्यान दिनुपर्छ । ध्यान पनि थाहा पाउनका लागि मात्र हैन, थाहा पाएर त्यसै वातावरण अनुरुप आफूलाई समायोजन गर्न सक्नु महत्वपूर्ण कुरो हो । हुन त मैले लेखिरहेको कुरा त्यो मेरो नितान्त ब्यक्तिगत अनुभूति मात्र पनि हुन सक्ला तथापी यहाँ मैले प्रस्तुत गर्ने सन्दर्भहरु फिनल्याण्डलाई आफ्नो उच्च अध्ययनको गन्तब्य बनाउनु भएकाहरुलाई चाँहि फलदायी नै हुनेछ भन्ने मेरो अपेक्षा हो । 
फिनल्याण्ड होस या अन्य कुनै पनि वैदेशिक गन्तब्यमा ठूलो सपना विशेषगरी अर्थ आर्जनका दृष्टिले बोकेर आउनु कुनै पनि ब्यक्तिका लागि हितकर हुँदैन । अतएवः फिनल्याण्ड आउनुपूर्व विद्यार्थीका हैसियतमा यहाँ आउने कसैले पनि यस्तो सपना नसाँचेकै राम्रो हो भन्ने मेरो अनुभवले सिकाउँछ । तथापि केहि ब्यक्तिहरुले विधार्थी कै हैसियतमा रहेरपनि राम्रो आर्जन गरिरहेको तथ्यलाई चाँहि नकार्न सकिदैन । भैगो यो प्रसंगलाई अहिले यहिनेर स्थगन गरौं, बरु, यहाँ आईसकेपछि थाहा पाउनै पर्ने महत्वपूर्ण विषयका बारेमा संक्षेपमा छलफल गरौं ।

बसाइँ

बिद्यार्थीहरुका लागि आवासका दृष्टिकोणले त्यतिधेरै महंगो छैन । सामान्यतयाः हेलसिन्की बाहिर दुई जनाले ‘शेयर’ गरी बस्दा प्रतिब्यक्ती १३० यूरो प्रतिमहिना भाडा वापत बुझाउनुपर्ने हुन्छ । भाडामा पानी र विजुलीको शुल्क समावेश हुन्छ । हेलसिन्कीमा रहेको हुवासको विधार्थी अपार्टमेन्टहरुमा इन्टरनेटको शुल्क समेत समावेश गरिएको हुन्छ । सामान्यतयाः भाडामा बस्नुपूर्व १ महिनादेखि ३ महिना बराबरको भाडा शुल्क जमानत (डिपोजिट) का रुपमा अग्रिम बुझाउनुपर्छ । जस्तोः म हेलसिन्कीबाट करिब ४० कि.मी पर रहेको यारभेनपामा बस्दा जमानत बापत ३७३ यूरो अग्रिम बुझाएको थिएँ । र, हालैमात्र कलेज हेलसिन्की सर्न लागेकाले मैले मेरो अर्को एकजना साथीसँग मिलेर हेलसिन्कीमा ‘फ्रेन्ड्स अपार्टमेन्ट’ का लागि निवेदन दिएको थिएँ । हाम्रो निवेदन स्वीकार गरिएको छ, अब हामी त्यहाँ प्रतिमहिना ४५० यूरो भाडा बुझाउँदै छौं । र, जमानत वापत ५०० यूरो बुझाइसकिएको छ । हेलसिन्कीमा बसोबासका लागि हुवास हाउजिङ कम्पनीमा निवेदन दिनुपर्छ । त्यसका लागि यहाँ थिच्नुस ।

सामान्यतयाः विद्यार्थीहरुका लागि बनाइएका अपार्टमेन्टहरुमा ३ वटा जति कोठाहरु हुन्छन् । तीन वटै कोठाहरुमा बस्नेहरुका लागि साझा प्रयोगका लागि भान्छाकोठा, स्नानकोठा र शौचालय हुन्छन् । साझा रुपमा प्रयोग गरिने भएकाले यसको सरसफाइ तथा स्याहारसम्भारमा यहाँको पनि बरावर दायित्व रहन्छन् । नेपाली पारा यहाँ औचित्यहिन छ । अपार्टमेन्टमा हल्ला गर्ने, भोज भतेर गर्ने जस्ता कृयाकलापले अपार्टमेन्ट शेयर गरेर बसेका अन्यलाई कुनै पनि प्रकारको अवरोध सृजना भएमा उसलाई प्रहरीकोमा खबर गर्ने पूरा अधिकार छ । जसले गर्दा यहाँलाई अप्ठ्यारो पर्न सक्दछ । खैर, सँगैबस्नेहरुसँग बन्धुत्वको भाव जगाएर मिलेर बस्न सक्नु भो भने भोजभतेर गर्न, हल्लाखल्ला गर्न कुनै सकस मान्नुपर्ने छैन । 
यहाँका अपार्टमेन्टहरुमा कुनै पनि फर्निचरहरु उपलब्ध हुँदैनन् । यदि कलेज हाउजिङ कम्पनीबीच विशेष सम्झौता भएको खण्डमा चाँहि कोठाभित्र दुईजनाका लागि खाट, फोम, कुर्सी र दराज हुन्छन् । तथापि नेपालबाट आउँदा तन्ना र सिरानीको खोल ल्याउँदा उत्तम हुन्छ । 

खाना

चामल महंगो नै छ । प्रति के.जी १ यूरो १९ सेन्ट पर्ने एक के.जीको पोका पाइन्छ ।  पछिल्ला वर्षहरूमा फिनल्याण्डका विभिन्न शहरहरूमा एशियन, अफ्रिकन पसलहरू पनि विस्तार भएकाले ५ केजी देखि २० केजीसम्मका चामलका बोरा नै सुपथ मूल्यमा पाइन्छ । 
शाकाहारीका लागि फिनल्यान्ड राम्रो गन्तब्य हो म भन्दिनँ । मेरा शाकाहारी साथीहरु सधैं गुनासो गर्ने गर्छन – “मांशाहारी नहुनाले पैसा त झ्वाम नै भयो नी !” कुखुराको मासु निकै नै सस्तो छ । एक किलोग्राम कुखुराको मासुको मूल्य २ यूरो २० सेन्ट जति पर्छ अर्थात ने.रु २५० (१ यूरो बराबर ने.रु. ११२ को विनिमय दरमा) को हाराहारी । मितव्ययी ब्यक्तिले करिव ८० देखि १०० यूरोमा मासिक खानपिनको राम्रै बन्दोबस्त गर्न सक्छ । साथै विद्यार्थीहरुले आफ्ना कलेजमा हुने क्याफेटेरियामा विद्यार्थी छुटसहित २ यूरो ७० सेन्टमा खाना खान पाईन्छ । त्यस्तै हेलसिन्की रेल्वे स्टेशनबाट ५ मिनेटको पैदल दुरीमा रहेको यूनि क्याफेमा पनि विद्यार्थी छुटसहित खाना उपलब्ध हुन्छ । तर त्यहाँ विद्यार्थी छुट कार्ड सहित आधिकारीक परिचयपत्र पनि आवश्यक हुन्छ । 

यातायात

यातायातमा विद्यार्थी छुटसहित यात्रा गर्न सकिन्छ । बस, मेट्रो, ट्राम र रेल यात्राका साधनका रुपमा उपलब्ध छन् । हेलसिन्की बाहेक फिनल्याण्डका अन्य शहरहरुमा बस र रेलबाहेक बाहेक यात्राका अन्य साधनहरु उपलब्ध छैनन् । रेल पनि एक शहरबाट अर्को शहरमा जाँदा मात्र प्रयोग हुने हो । त्यसकारण, हेलसिन्की, भान्ता, एस्पो, टिकुरिला र केरभा बाहेकका अन्य सहरहरुमा सहरभित्र यात्रा गर्नका लागि बस मात्र उपलब्ध छ । तर विद्यार्थीहरुले अत्यन्तै छुटसहित ट्रान्सपोटेशन कार्ड बनाउन पाईन्छ । जस्तो हेलसिन्कीमा रहेका विद्यार्थीहरुले हेलसिन्कीभित्र यात्राका लागि मासिक रु २५ यूरा पर्ने कार्ड किन्न सक्छन् । त्यस्तै हेलसिन्कीबाट २ घण्टे रेलयात्रको दुरीमा रहेको तुर्कु शहरमा विद्यार्थीहरुका लागि मासिक ३२ यूरो पर्न जाने सहुलियतको यातायात कार्ड उपलब्ध हुन्छ । जुन कार्ड भएपछि उनीहरुलाई महिनाभरी अरु टिकट काट्नु पर्दैन । त्यो कार्डले बस, ट्राम, मेट्रो र रेलभित्र सबैतिर यात्रा गर्न सकिन्छ । केहि विद्यार्थीहरु यात्राका क्रममा टिकट नकाटी यात्रा गर्ने पनि गर्छन । यो अत्यन्तै जोखिमपूर्ण रहन्छ । टिकट नकाटेर यात्रा गर्दा चेकजाँच भयो भने जरिवाना वापत ८० यूरो तिर्नुपर्ने हुन्छ । जुन १० घण्टा बराबरको आम्दानी हो । विद्यार्थीले सहुलियतमा प्राप्त गर्ने यातायात कार्डका सम्बन्धी अन्य जानकारी थाहा पाउन यसमा थिच्नुस् । 

रोजगारी

भनिन्छ, हेलसिन्की क्षेत्र, ताम्पारे र तुर्कुबाहेक अन्य शहरहरुमा काम पाउन अत्यन्तै गार्‍हो छ । र, यसको मतलब के पनि हैन भने हेलसिन्कीमा अध्ययन गर्न आएका सबैले एकदमै सजिलै काम पाउँछन् र अन्य क्षेत्रमा बस्नेले कामै पाउँदैनन् । काम पाउनका लागि यहाँ दुईवटा माध्यमहरु छन् पहिलो श्रम मन्त्रालयको वेभपेज मोलडटफी मा प्रत्येक दिनजसो अपडेट हुने अवसर सम्बन्धी बिज्ञापन हेर्ने र त्यहाँ रहेका विभिन्न कम्पनीका आवश्यकता सम्बन्धी फर्महरु भर्ने । अझ प्रभावकारी चाँहि त्यहाँ उपलब्ध सम्पर्क ब्यक्तिको नम्बरमा बरोबर फोन गर्नाले हुन्छ । दोश्रो माध्यम भनेको आफूले चिनेजानेका मान्छेहरु मार्फत उनीहरुले काम गर्ने कम्पनीमा जागिर लगाउन भनसुन गर्न अनुनय गर्ने । यी दुई माध्यम मध्ये सबभन्दा सजिलो र उत्तम उपाय भनेको दोश्रो माध्यम नै हो । साथै पछिल्ला केहि वर्षहरूदेखि खाना ओसार्ने सजिला तर पैसा राम्रो प्राप्त हुने कामहरू सजिलै पाइन्छन् । त्यसका लागि Wolt, Foodora, Fiuge जस्ता एप्लिकेशनहरू प्लेस्टोर या एपस्टोरबाट डाउनलोड गरी आफ्नो मोबाइलमा इन्सटल गर्ने र तिनै एपहरूबाट सिधैं कुरियरका लागि कामको आवेदन भर्न सक्ने सजिलो सुविस्ता उपलब्ध छ । 

नबिर्सौ आप्रवासी विद्यार्थीहरुले गर्ने काम भनेको सरसफाई, माइनुक्सिया र पोस्ती हो । यी मध्ये सबभन्दा सजिलो काम सरसफाई गर्नेलाई मानिन्छ । तर अर्थ उपार्जन लागि सबभन्दा उपयुक्त काम भनेको पोस्ती हो । पोस्ती भनेको राती घरघरमा पत्रिका पुर्‍याउने काम हो । यो काम प्रायः हप्ताको ५ दिन गर्नुपर्ने हुन्छ । हप्ताको पाँच दिन पोस्तीको काम गर्ने ब्यक्तिले मासिक १ हजार यूरो भन्दा माथि आर्जन गर्दछ । 

फिनल्याण्ड आउनुपूर्व केही व्यवहारिक ज्ञान हासिल गरेर आउनु अत्यन्तै फलदायी हुन्छ । जस्तो कुक, वेटर र बारटेन्डर सम्बन्धी तालिम लिने । साथसाथै नेपालमै ड्राइभिङ सिकेर सवारीचालक अनुमति पत्र (लाइसेन्स) बनाउन सक्नु पनि उपयोगी नै हुन्छ । जसकारण, पछि यहाँको लाइसेन्स लिदाँ सजिलो पर्न जान्छ । नत्रभने यहाँ आएर सवारी चलाउन सिक्दा र लाइसेन्स प्राप्त गर्न करिव ३००० यूरो खर्च हुन्छ ।

किनमेल

खानेकुराहरु किनमेलका लागि Lidl धेरैका लागि किनमेल गर्ने आकर्षक सपिङ सेन्टर हो । अन्य ठाउँहरुमा भन्दा यो ठाउँ धेरै नै सस्तोमा सामान पाउने ठाउँ हो । त्यसका अलावा Prisma, K maket, S market, Alepa मापनि मानिसहरु किनमेल गर्न पुग्छन् । नेपाली स्वादका मसला तथा अन्य खानेकुराका लागि केहि नेपालीहरुले हेलसिन्कीको हाकानेमीमा सञ्चालन गरेको पसलमा जाँदा पनि हुन्छ । तर हेलसिन्की वा यसको वरपर बस्नेहरुका लागि बाहेक त्यो उति उपयुक्त गन्तब्य सायदै हो । त्यस्तै कपडा जुत्ता लगायतका लागि सामाग्री किन्न H&M, New Yorkers,  लगायतका सपिङ सेन्टरहरुमा मानिसहरु पुग्ने गर्दछन् । तर कम्तिमा पनि फिनल्याण्ड बसाईका  शुरूका वर्षहरूका लागि पर्याप्त हुने गरी लत्ता कपडाहरु नेपालबाटै ल्याउनु आर्थिक हिसाबले एउटा सुन्दर उपाय हो । 

त्यस्तै UFF, Fida Kierrätyskeskus (Recycle centre) जस्ता पसलहरूमा पुनः प्रयोग गर्न मिल्ने सामाग्रीहरू सुपथ मुल्यमा पाइन्छन। जहाँ प्रयोग भैसकेका तर प्रयोगयोग्य सामाग्रीहरु बिक्रीका लागि राखिएका हुन्छन । यो पसलमा खानापकाउने भाँडा कुडा, रिकापी, गिलाश, कप, चम्चा, लत्ता कपडा, जुत्ता, सिरक, डसना आदि चिजविजहरु उपलब्ध हुन्छन् ।साथै, आफ्नो शुरुको उपभोगका लागि नेपालबाटै जिरामसला, बेसार, खुर्सानीको धूलो आदि ल्याएर आउनु उत्तम हुन्छ । त्यसका अलावा नुहाउने साबुन, शेम्पु र प्रेसर कुकर ल्याउनु धेरै नै राम्रो हुन्छ ।

यहाँसँग अन्य केहि जिज्ञासाहरू छन् भने टिप्पणीका रूपमा लेख्नुहोला । 
Underlined  गरी लेखिएका जानकारीहरू ११ अगस्ट २०२१ मा अपडेट गरिएको हो । 

Comments

  1. गुरु विदेश गाको हो कि वसाई सरेको हो । नुन तेल वेसारनै वोक्नुपरेपछि त अती नै भएन र भन्या :P

    ReplyDelete

Post a Comment

प्रतिक्रिया ब्यक्त गर्दा सभ्य र सुसंस्कृत शैली प्रयोग गर्नका लागि सम्पूर्णमा सविनय अनुरोध गर्दछु ।

लोकप्रिय पोष्टहरू

अनि रोशन भाइले टिपेछन् ६ बाल्टिन बेरी

गएको साल, हेर्दै कलिला देखिने दुई जना ठिटाहरू तिक्कुरिला रेल बिसौनीको कुनामा मस्त चुरोटको पफ लिदैं गरेका बेला, "भाइहरू नेपाली हो ?" भनेर मैले सोधेको थिएँ । मेरो प्रश्न भुँइमा झर्न नपाउँदै, आफूले तान्दै गरेको चुरोट आफ्नो साथीलाई दिदैँ, झन कलिलो देखिने ठिटोले भनेथ्यो, "हो दाई । कसरी पो ठम्याउनु भो ?"  दुई फरक मुहारको बनोट लिएका मानिसहरू सँगै बसेर एउटै चुरोट तान्दैछन् भने ती पक्कै नेपालीहरू हुनुपर्छ, त्यसमाथि तिमीहरू नेपाली मैं बातचित गर्दै थियौ नी त । मेरो जवाफ सुनेपछि त्यो ठिटोले कपाल कन्याउँदै भनेथ्यो, "हाउ दाजु पनि, सारै मजाको पो हुनुहुदोँ रहिछ !" मैले बात मार्न खोज्दा, निसंकोच बात मार्न खोज्ने ठिटो त पूर्वतिरको लिम्बु भाइ रहेछन् । अनि खासै बात मार्न नचाहने चाँहि रहिछन् - काठतिरका बाहुन भाइ ।  त्यो दिन ती भाइहरू हेलसिन्कीबाट सवा घण्टाको रेल यात्रामा पुगिने ठाउँबाट काम पाइने आशामा साथीलाई भेट्न आएका रहेछन् । आफूलाई भेट्न निम्ता दिएको साथीसँग भेट  नभएपछि  कामको खोजीमा हेलसिन्की झरेका उनीहरूलाई  आफू बस्ने ठाउँतिर फर्कने क्रममा मैले भेट्न पुगेको थिएँ । छोटो भ...

घर कहाँ हो दाजुको ?

अन्तिम पटक ह्वाट्स एपकलमा तेर्ह मिनेट कुराकानी भएको ठ्याक्कै तीन महिनापछि ह्वाट्स एपमा तिमीलाई मेरो पछिल्लो ब्लग पोष्टको लिंक साझा गरेथेँ, करिब तीन हप्तापछि आजै बुनेले मीठो टिप्पणीसहितको सन्देश प्रवाह गर्ने क्रममा अम्रिकाबाट सोधी पठायौ, "Dai, I have a question, where is home? Nepal or Finland?" सायदै बुने तिम्रो प्रश्न यत्तिमै मात्र सक्किन्थ्यो भनेपनि मैले सजिलै भनिदिन सक्थेँ होला जसरी हाम्रै म्याग्दीका लोकगायक खड्ग गर्बुजाले आफ्नो ' पिरती ' एल्बमको एक गीतमा सोध्दा प्रश्न, "घर कहाँ हो मायालु?" कति सजिलै जवाफ दिएथीन् गायिकाले, "हिमालको काखैमा ।" तर तिम्रो प्रश्नमा जवाफ मात्र दिएर पुग्थेन्, त्यसले अन्तःस्करणको भाव पनि जान्न चाहन्थ्यो किनकी त्यसमा तिमीले थपेर पठाएथ्यौ - "What is your feeling since you've lived so many years in Finland?" म फिनल्याण्ड टेकेको वर्षदिन पनि त पुगेको थिएन् जतिबेला सन् २०१३ को हिउँदमा फिनल्याण्डमा मलाई पहिलो कामका लागि भनसुन गर्दिनुभएका दाजु राजन सुवेदीले, तिम्रो जत्तिकै गम्भीर त होईन् तर सिधा प्रश्न गर्नु भएथ्...

खाल्डोमा गाडी, जेलमा साथीः एक आत्मसंवाद

सधैं पुगिरहेको गन्तव्य थियो । गन्तव्यमा गुगल म्याप्सले सिफारीश गरेको बाटो भएर जाँदा मैले हठात गाडी मोड्नुपर्ने अवस्था बन्यो । हतपत गाडीलाई पार्किङमा छिर्ने बाटोतिर छिराउँदा, मैले हाँकेको गाडीको भाग त्यस बाटोको छेउमा कम, बाटोको छेउतिरको खाल्डोमा बढी पर्न जाँदा पछाडिको एउटा पाङ्ग्रोले भुँइ छाडेको विचित्रको स्थितिमा पुग्यो । यो आजैको घटना हो, केहि घण्टा अगाडिको । मलाई कुनै चोटपटक लागेन । गाडीमा विशेष क्षति पनि भएन । तर गाडीलाई त्यस विचित्रको स्थितीबाट बाहिर ननिकाल्दासम्मको मेरो जीवनको त्यो पूरा १ घण्टा १५ मिनेटले मलाई केहि विशेष ज्ञान भने अवश्य दिलायो ।  म जुन विचित्रको स्थितीबाट गुज्रिएर अहिले यो ब्लगपोष्ट लेख्तैछु, सम्झनामा मेरा केहि चिनजानका र केहि घनिष्ट मित्रहरूको तस्बीर एकतमास मेरो दिमागमा घुमिरहेको छ जो केहि समय अगाडिदेखि सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् । के ति मेरा साथीहरूले पनि यस वयमा जुन स्थितिको सामना गरिरहेका छन् त्यसका बारे दैनिकी लेख्दै होलान् ? थाहा छैन्, कसले कहिलेदेखि सहकारीमा जम्मा हुन आएको बचतकर्ताको रकमलाई मनोमानी तवरले आफ्नो नीजि लाभको लागि प्रयोग...

मेरो एउटा साथी छ (हुनुहुन्छ)

 " नीराजन, मेरो बेस्ट फ्रेन्ड हो ।" जन्मेर २६ वर्ष बिताएको देश नेपालमा मलाई यस्तो भन्ने कोही थिएन् । तर यतै फिनल्याण्ड आइपुगेपछि,  मलाई यस्तो भन्ने एक जना भेट्टिएकी थिइन् ।  जोसँग बसेर एकै कप चिया वा कफि पिएकै थिइँन्, मैले । मनभरीका बह न मैले उनीसँग केहि पोखेकै थिएँ, न त उनले विशेष केही त्यस्त्तो साझा गरेकी थिइन् मसँग । तर मलाई चिन्ने र मसँग सम्पर्कमा रहेका धेरै साथीभाइसँग उनले सुनाउन बिर्सेकी रहिन्छिन् कि निराजन उनको बेस्ट फ्रेन्ड हो ।  यो पढ्दै गर्दा यहाँलाई लाग्ला, कि आफूलाई बेस्ट फ्रेन्ड बताउने साथीका सम्बन्धमा लेख्ता पनि यसले किन भूतकालको प्रयोग गर्यो ? प्रश्न स्वभाविकै हो तर मेरो जवाफ अलिकति अस्वभाविक लाग्न सक्ला यहाँलाई । कि मलाई बेस्ट फ्रेन्ड भन्ने उनको, खासमा म  फ्रेन्ड पनि थिइँन् । न उनी थिइन्, मेरो कुनै त्यस्तो विशेष मित्र । बस्, हाम्रो सामान्य चिनजान मात्र थियो । केहि मानिसहरू हुँदारहेछन्, जो सामान्य चिनजानलाई मित्रताको नाम दिदाँरहिछन्, उनले जस्तै । अनि कोही यस्ता पनि हुँदा रहिछन् कि जोसँग हामी विशेष सामिप्यतामा भएको ठानेका हुन्छौं, तर उनीहरूका ...

बोई, बार्ह वर्षमा खोलो किन फर्किएन् ?

हिजो भर्खर जस्तो लाग्छ, २७ औं वसन्तमा हिड्दै गरेको म विना कुनै योजना देश छाडेर परदेश हिडेको । आज १२ वर्ष नाघिसकेछ, परदेश भनिएको ठाम देशजस्तै अनि देश ठानिएको ठाम परदेशजस्तै भएको । मेरी बोइ भन्नुहुन्थ्यो, "बार्ह बर्षमा खोलो फर्किन्छ ।" बार्है बर्ष वितिसकेछन्, म मान्छे भएर होला सायद आफूले आएको बाटैबाटो घर फर्किन नसकेको ! बोइ नफर्किने गरी गएको पनि ५ वर्ष त नाघिसकेछ, सायद अझै हुनुहुन्थ्यो भने फोन गरेर म सोध्दो हुँ, - बोइ बार्ह वर्षमा खोलो कसरी फर्किन्छ ? सिकाइमाग्दो हुँ फर्किने सुत्र, शिरोपर गर्दो हुँ ती सुत्रहरू र लाग्दो हुँ ढोडेनीको पक्की पुल तरेर किनारै किनार तेर्सिएर घैयारासम्म अनि अलिकति माथि उक्लिएर हाम्रा जिजुको पालादेखिको हाम्रो स्थायी ठेगाना उही ढुंगेपाली टोलमा । छिर्दो हुँ आफ्नै मेहनतले बनाएको साढे दुई तले पक्की घरको दैलोभित्र ।           दिनहरू यस्ता पनि थिए, जहिले म कविताहरू लेख्ने गर्थेँ । मेरा कविताहरूमा देश छाड्नेहरूलाई स्वदेशमैं बस्नु भनेर आव्हान हुने गर्थे । अहिले म तीनै कविताहरूका पात्र बनेर आफैले बाँच्नु परेको परिस्थितीलाई पचाउने प्रयत्न गर्दै...