फिनल्याण्ड आउँदै हुनुहुन्छ ?

somewhere around Uusima. Photo Nirajan Thapa

अध्ययनका लागि विदेशमा आउनुपूर्व धेरै कुराहरुमा ध्यान दिनुपर्छ । ध्यान पनि थाहा पाउनका लागि मात्र हैन, थाहा पाएर त्यसै वातावरण अनुरुप आफूलाई समायोजन गर्न सक्नु महत्वपूर्ण कुरो हो । हुन त मैले लेखिरहेको कुरा त्यो मेरो नितान्त ब्यक्तिगत अनुभूति मात्र पनि हुन सक्ला तथापी यहाँ मैले प्रस्तुत गर्ने सन्दर्भहरु फिनल्याण्डलाई आफ्नो उच्च अध्ययनको गन्तब्य बनाउनु भएकाहरुलाई चाँहि फलदायी नै हुनेछ भन्ने मेरो अपेक्षा हो । 
फिनल्याण्ड होस या अन्य कुनै पनि वैदेशिक गन्तब्यमा ठूलो सपना विशेषगरी अर्थ आर्जनका दृष्टिले बोकेर आउनु कुनै पनि ब्यक्तिका लागि हितकर हुँदैन । अतएवः फिनल्याण्ड आउनुपूर्व विद्यार्थीका हैसियतमा यहाँ आउने कसैले पनि यस्तो सपना नसाँचेकै राम्रो हो भन्ने मेरो अनुभवले सिकाउँछ । तथापि केहि ब्यक्तिहरुले विधार्थी कै हैसियतमा रहेरपनि राम्रो आर्जन गरिरहेको तथ्यलाई चाँहि नकार्न सकिदैन । भैगो यो प्रसंगलाई अहिले यहिनेर स्थगन गरौं, बरु, यहाँ आईसकेपछि थाहा पाउनै पर्ने महत्वपूर्ण विषयका बारेमा संक्षेपमा छलफल गरौं ।

बसाइँ
बिद्यार्थीहरुका लागि आवासका दृष्टिकोणले त्यतिधेरै महंगो छैन । सामान्यतयाः हेलसिन्की बाहिर दुई जनाले ‘शेयर’ गरी बस्दा प्रतिब्यक्ती १३० यूरो प्रतिमहिना भाडा वापत बुझाउनुपर्ने हुन्छ । भाडामा पानी र विजुलीको शुल्क समावेश हुन्छ । हेलसिन्कीमा रहेको हुवासको विधार्थी अपार्टमेन्टहरुमा इन्टरनेटको शुल्क समेत समावेश गरिएको हुन्छ । सामान्यतयाः भाडामा बस्नुपूर्व १ महिनादेखि ३ महिना बराबरको भाडा शुल्क जमानत (डिपोजिट) का रुपमा अग्रिम बुझाउनुपर्छ । जस्तोः म हेलसिन्कीबाट करिब ४० कि.मी पर रहेको यारभेनपामा बस्दा जमानत बापत ३७३ यूरो अग्रिम बुझाएको थिएँ । र, हालैमात्र कलेज हेलसिन्की सर्न लागेकाले मैले मेरो अर्को एकजना साथीसँग मिलेर हेलसिन्कीमा ‘फ्रेन्ड्स अपार्टमेन्ट’ का लागि निवेदन दिएको थिएँ । हाम्रो निवेदन स्वीकार गरिएको छ, अब हामी त्यहाँ प्रतिमहिना ४५० यूरो भाडा बुझाउँदै छौं । र, जमानत वापत ५०० यूरो बुझाइसकिएको छ । हेलसिन्कीमा बसोबासका लागि हुवास हाउजिङ कम्पनीमा निवेदन दिनुपर्छ । त्यसका लागि यहाँ थिच्नुस ।
सामान्यतयाः विद्यार्थीहरुका लागि बनाइएका अपार्टमेन्टहरुमा ३ वटा जति कोठाहरु हुन्छन् । तीन वटै कोठाहरुमा बस्नेहरुका लागि साझा प्रयोगका लागि भान्छाकोठा, स्नानकोठा र शौचालय हुन्छन् । साझा रुपमा प्रयोग गरिने भएकाले यसको सरसफाइ तथा स्याहारसम्भारमा यहाँको पनि बरावर दायित्व रहन्छन् । नेपाली पारा यहाँ औचित्यहिन छ । अपार्टमेन्टमा हल्ला गर्ने, भोज भतेर गर्ने जस्ता कृयाकलापले अपार्टमेन्ट शेयर गरेर बसेका अन्यलाई कुनै पनि प्रकारको अवरोध सृजना भएमा उसलाई प्रहरीकोमा खबर गर्ने पूरा अधिकार छ । जसले गर्दा यहाँलाई अप्ठ्यारो पर्न सक्दछ । खैर, सँगैबस्नेहरुसँग बन्धुत्वको भाव जगाएर मिलेर बस्न सक्नु भो भने भोजभतेर गर्न, हल्लाखल्ला गर्न कुनै सकस मान्नुपर्ने छैन । 
यहाँका अपार्टमेन्टहरुमा कुनै पनि फर्निचरहरु उपलब्ध हुँदैनन् । यदि कलेज हाउजिङ कम्पनीबीच विशेष सम्झौता भएको खण्डमा चाँहि कोठाभित्र दुईजनाका लागि खाट, फोम, कुर्सी र दराज हुन्छन् । तथापि नेपालबाट आउँदा तन्ना र सिरानीको खोल ल्याउँदा उत्तम हुन्छ । 

खाना 
चामल महंगो नै छ । प्रति के.जी १ यूरो १९ सेन्ट पर्ने एक के.जीको पोका पाइन्छ । पछिल्ला वर्षहरूमा फिनल्याण्डका विभिन्न शहरहरूमा एशियन, अफ्रिकन पसलहरू पनि विस्तार भएकाले ५ केजी देखि २० केजीसम्मका चामलका बोरा नै सुपथ मूल्यमा पाइन्छ । शाकाहारीका लागि फिनल्यान्ड राम्रो गन्तब्य हो म भन्दिनँ । मेरा शाकाहारी साथीहरु सधैं गुनासो गर्ने गर्छन – “मांशाहारी नहुनाले पैसा त झ्वाम नै भयो नी !” कुखुराको मासु निकै नै सस्तो छ । एक किलोग्राम कुखुराको मासुको मूल्य २ यूरो २० सेन्ट जति पर्छ अर्थात ने.रु २५० (१ यूरो बराबर ने.रु. ११२ को विनिमय दरमा) को हाराहारी । मितव्ययी ब्यक्तिले करिव ८० देखि १०० यूरोमा मासिक खानपिनको राम्रै बन्दोबस्त गर्न सक्छ । साथै विद्यार्थीहरुले आफ्ना कलेजमा हुने क्याफेटेरियामा विद्यार्थी छुटसहित २ यूरो ७० सेन्टमा खाना खान पाईन्छ । त्यस्तै हेलसिन्की रेल्वे स्टेशनबाट ५ मिनेटको पैदल दुरीमा रहेको यूनि क्याफेमा पनि विद्यार्थी छुटसहित खाना उपलब्ध हुन्छ । तर त्यहाँ विद्यार्थी छुट कार्ड सहित आधिकारीक परिचयपत्र पनि आवश्यक हुन्छ । 

यातायात
यातायातमा विद्यार्थी छुटसहित यात्रा गर्न सकिन्छ । बस, मेट्रो, ट्राम र रेल यात्राका साधनका रुपमा उपलब्ध छन् । हेलसिन्की बाहेक फिनल्याण्डका अन्य शहरहरुमा बस र रेलबाहेक बाहेक यात्राका अन्य साधनहरु उपलब्ध छैनन् । रेल पनि एक शहरबाट अर्को शहरमा जाँदा मात्र प्रयोग हुने हो । त्यसकारण, हेलसिन्की, भान्ता, एस्पो, टिकुरिला र केरभा बाहेकका अन्य सहरहरुमा सहरभित्र यात्रा गर्नका लागि बस मात्र उपलब्ध छ । तर विद्यार्थीहरुले अत्यन्तै छुटसहित ट्रान्सपोटेशन कार्ड बनाउन पाईन्छ । जस्तो हेलसिन्कीमा रहेका विद्यार्थीहरुले हेलसिन्कीभित्र यात्राका लागि मासिक रु २५ यूरा पर्ने कार्ड किन्न सक्छन् । त्यस्तै हेलसिन्कीबाट २ घण्टे रेलयात्रको दुरीमा रहेको तुर्कु शहरमा विद्यार्थीहरुका लागि मासिक ३२ यूरो पर्न जाने सहुलियतको यातायात कार्ड उपलब्ध हुन्छ । जुन कार्ड भएपछि उनीहरुलाई महिनाभरी अरु टिकट काट्नु पर्दैन । त्यो कार्डले बस, ट्राम, मेट्रो र रेलभित्र सबैतिर यात्रा गर्न सकिन्छ । केहि विद्यार्थीहरु यात्राका क्रममा टिकट नकाटी यात्रा गर्ने पनि गर्छन । यो अत्यन्तै जोखिमपूर्ण रहन्छ । टिकट नकाटेर यात्रा गर्दा चेकजाँच भयो भने जरिवाना वापत ८० यूरो तिर्नुपर्ने हुन्छ । जुन १० घण्टा बराबरको आम्दानी हो । विद्यार्थीले सहुलियतमा प्राप्त गर्ने यातायात कार्डका सम्बन्धी अन्य जानकारी थाहा पाउन यसमा थिच्नुस् । 

रोजगारी
भनिन्छ, हेलसिन्की क्षेत्र, ताम्पारे र तुर्कुबाहेक अन्य शहरहरुमा काम पाउन अत्यन्तै गार्‍हो छ । र, यसको मतलब के पनि हैन भने हेलसिन्कीमा अध्ययन गर्न आएका सबैले एकदमै सजिलै काम पाउँछन् र अन्य क्षेत्रमा बस्नेले कामै पाउँदैनन् । काम पाउनका लागि यहाँ दुईवटा माध्यमहरु छन् पहिलो श्रम मन्त्रालयको वेभपेज मोलडटफी मा प्रत्येक दिनजसो अपडेट हुने अवसर सम्बन्धी बिज्ञापन हेर्ने र त्यहाँ रहेका विभिन्न कम्पनीका आवश्यकता सम्बन्धी फर्महरु भर्ने । अझ प्रभावकारी चाँहि त्यहाँ उपलब्ध सम्पर्क ब्यक्तिको नम्बरमा बरोबर फोन गर्नाले हुन्छ । दोश्रो माध्यम भनेको आफूले चिनेजानेका मान्छेहरु मार्फत उनीहरुले काम गर्ने कम्पनीमा जागिर लगाउन भनसुन गर्न अनुनय गर्ने । यी दुई माध्यम मध्ये सबभन्दा सजिलो र उत्तम उपाय भनेको दोश्रो माध्यम नै हो । साथै पछिल्ला केहि वर्षहरूदेखि खाना ओसार्ने सजिला तर पैसा राम्रो प्राप्त हुने कामहरू सजिलै पाइन्छन् । त्यसका लागि Wolt, Foodora, Fiuge जस्ता एप्लिकेशनहरू प्लेस्टोर या एपस्टोरबाट डाउनलोड गरी आफ्नो मोबाइलमा इन्सटल गर्ने र तिनै एपहरूबाट सिधैं कुरियरका लागि कामको आवेदन भर्न सक्ने सजिलो सुविस्ता उपलब्ध छ । 

नबिर्सौ आप्रवासी विद्यार्थीहरुले गर्ने काम भनेको सरसफाई, माइनुक्सिया र पोस्ती हो । यी मध्ये सबभन्दा सजिलो काम सरसफाई गर्नेलाई मानिन्छ । तर अर्थ उपार्जन लागि सबभन्दा उपयुक्त काम भनेको पोस्ती हो । पोस्ती भनेको राती घरघरमा पत्रिका पुर्‍याउने काम हो । यो काम प्रायः हप्ताको ५ दिन गर्नुपर्ने हुन्छ । हप्ताको पाँच दिन पोस्तीको काम गर्ने ब्यक्तिले मासिक १ हजार यूरो भन्दा माथि आर्जन गर्दछ । 
फिनल्याण्ड आउनुपूर्व केही व्यवहारिक ज्ञान हासिल गरेर आउनु अत्यन्तै फलदायी हुन्छ । जस्तो कुक, वेटर र बारटेन्डर सम्बन्धी तालिम लिने । साथसाथै नेपालमै ड्राइभिङ सिकेर सवारीचालक अनुमति पत्र (लाइसेन्स) बनाउन सक्नु पनि उपयोगी नै हुन्छ । जसकारण, पछि यहाँको लाइसेन्स लिदाँ सजिलो पर्न जान्छ । नत्रभने यहाँ आएर सवारी चलाउन सिक्दा र लाइसेन्स प्राप्त गर्न करिव ३००० यूरो खर्च हुन्छ ।

किनमेल
खानेकुराहरु किनमेलका लागि Lidl धेरैका लागि किनमेल गर्ने आकर्षक सपिङ सेन्टर हो । अन्य ठाउँहरुमा भन्दा यो ठाउँ धेरै नै सस्तोमा सामान पाउने ठाउँ हो । त्यसका अलावा Prisma, K maket, S market, Alepa मापनि मानिसहरु किनमेल गर्न पुग्छन् । नेपाली स्वादका मसला तथा अन्य खानेकुराका लागि केहि नेपालीहरुले हेलसिन्कीको हाकानेमीमा सञ्चालन गरेको पसलमा जाँदा पनि हुन्छ । तर हेलसिन्की वा यसको वरपर बस्नेहरुका लागि बाहेक त्यो उति उपयुक्त गन्तब्य सायदै हो । त्यस्तै कपडा जुत्ता लगायतका लागि सामाग्री किन्न H&M, New Yorkers,  लगायतका सपिङ सेन्टरहरुमा मानिसहरु पुग्ने गर्दछन् । तर कम्तिमा पनि फिनल्याण्ड बसाईका  शुरूका वर्षहरूका लागि पर्याप्त हुने गरी लत्ता कपडाहरु नेपालबाटै ल्याउनु आर्थिक हिसाबले एउटा सुन्दर उपाय हो । 
त्यस्तै, Frida, Uff जस्ता सेकेन्ड ह्यान्ड पसलमा पनि प्रयोग भैसकेका तर लगाउन योग्य कपडाहरू सुपथ मूल्यमा पाइन्छन। जहाँ प्रयोग भैसकेका तर प्रयोगयोग्य सामाग्रीहरु बिक्रीका लागि राखिएका हुन्छन । यो पसलमा खानापकाउने भाँडा कुडा, रिकापी, गिलाश, कप, चम्चा, लत्ता कपडा, जुत्ता, सिरक, डसना आदि चिजविजहरु उपलब्ध हुन्छन् । 
साथै, आफ्नो शुरुको उपभोगका लागि नेपालबाटै जिरामसला, बेसार, खुर्सानीको धूलो आदि ल्याएर आउनु उत्तम हुन्छ । त्यसका अलावा नुहाउने साबुन, शेम्पु र प्रेसर कुकर ल्याउनु धेरै नै राम्रो हुन्छ ।

यहाँसँग अन्य केहि जिज्ञासाहरू छन् भने टिप्पणीका रूपमा लेख्नुहोला । 

पहेंलो रंगको पृष्ठभूमी राखेर लेखिएका जानकारीहरू ११ अगस्ट २०२१ मा अपडेट गरिएको हो । 

Comments

Unknown said…
गुरु विदेश गाको हो कि वसाई सरेको हो । नुन तेल वेसारनै वोक्नुपरेपछि त अती नै भएन र भन्या :P

Popular posts from this blog

क्लोरिनको झोल, वैज्ञानिकहरू र मेरी बोइकी मुड्की

नांगो नाच, यौनधन्दा र राजधानी

एउटा सग्लो रात(कथा)