Skip to main content

प्रवेशिका परीक्षा र जिन्दगीको परीक्षा

२०५८ को आषाढको दोश्रो हप्ता बिहानै रेडियोमा समाचार आयो – परिक्षा नियन्त्रण कार्यालयले २०५८ बैशाखमा लिएको प्रवेशिका परीक्षाको नतिजा प्रकाशित गरेको छ । रेडियोले स्वच्छन्द स्वङ्मेनले नेपाल टप गरेको पनि भन्यो । त्यसपछि के के भन्यो त्यो मैले चासो दिईन । मसँगै रेडियो सुनिरहनुभएको मेरो बुबाले मलाई मेरो सिम्बोल नम्बर सोध्नु भयो र बेनीतिर हानिनु भयो । प्रथम श्रेणीमा उत्तिर्ण हुनेमा म ढुक्क थिएँ । एउटै मात्र घिडघिडो थियो कि विजयले (कक्षाका प्रथम छात्र) जित्लान वा मैले जितुँला ? त्यो सबै लब्धाङ्कपत्र आएपछि जानकारी हुने कुरो रह्यो । बेलुका बुबालाई पर्खेर बसिरहेको म उहाँको मुहारमा धपक्क बलेको चमकले निकै नै खुशि भएँ, अनि बुबाले भन्नुभयो – फर्स्ट डिभिजन ! बुबाले सधैं बोक्ने गरेको झोलाबाट कालो प्लाष्टिक निकालेर दिनुभयो र भन्नुभो – जा, गएर आमालाई दे । यसो चिहाएको त्यो खसिको मासु थियो । आमाले गुनासो गर्दै भन्नुभयो – “मासु किन ल्याउनुभएको ? बाबुलाई खीर मन पर्छ, मैले बाटाघर काईली दिदीलाई भनिसकेकी छु पाँच माना दूध !” त्यो दिन हाम्रो परिवारको लागि विशेष दिन थियो । यसैमेसोमा मैले बुबालाई सोधेँ – बुबा, हजुरको कुन डिभीजन नी ? बुबाले भन्नुभो – “किन ? सेकेन्ड डिभिजन हो !” पछि थाहा भो’ ३९/४० सालतिरको सेकेन्ड डिभिजनको महत्व ! त्यसकारण, मैले चाहेर पनि भनिनँ – “बुबा, हजुरको सेकेन्ड मेरो त फर्स्ट डिभिजन !”
पछिल्ला बर्षहरुमा प्रवेशिका परीक्षामा फर्स्ट डिभिजनमा उत्तीर्ण हुनु विशेष महत्वको विषय नै होईन । प्रायः नीजि विद्यालयहरुको शतप्रतिशत परिणाम र अझ लोभलाग्दो विद्यार्थी संख्या बिशिष्ट श्रेणीमा उत्तीर्ण भैदिनाले प्रवेशिकाको नतिजालाई प्रतिष्ठा र प्रतिस्पर्धाको विषय बनाइएको छ । सरकारी विद्यालयको नतिजा निराशाजनक भएपनि उत्तीर्ण हुने विद्यार्थीहरुको क्षमताको मूल्याङ्कन गर्ने हो भने नीजि विद्यालयबाट प्रवेशिका उत्तीर्ण गर्ने धेरै कम मात्र प्रतिभाशाली देखिएका छन । सरकारी विद्यालयमा अध्ययन गर्ने विधार्थी अत्यन्तै सीमित श्रोत र साधनको उपभोग गर्न विवश छ । विज्ञान प्रयोगशाला र पुस्तकालय कुन चरीको नाम हो ? सरकारी बिद्यालयमा अध्ययन गर्नेलाई सायदै थाहा हुन्छ । परीक्षाको पूर्वतयारीमा विद्यालयले माखो पनि मार्दैन । बरु, विद्यालयमा नियमित विषय पढाइरहेका शिक्षकहरुले घरमै ट्युशनको ब्यवस्था चाँहि गरेका हुन्छन् । फलस्वरुपः सरकारी विद्यालयको विद्यार्थीलाई मासिक निश्चित शुल्क दिएपछि अप्ठ्यारा भनिएका अङ्ग्रेजी, विज्ञान र गणितको ट्युशन पढ्न पाउने सुविधा प्राप्त हुन्छ । तर उता नीजि विद्यालयमा चाँहि प्रायः भौतिक सुविधाहरु उपलब्ध नै हुन्छन् । अझै धेरैजसो नीजि बिद्यालयले त दश कक्षामा पुग्नासाथ विद्यार्थीलाई होस्टेल बस्नै पर्ने अनिवार्य नियम लागू गरेका हुन्छन् । अभिभावकहरुसँग चर्को शुल्क लिएर शुल्क अनुरुपको सुविधा नदिएपनि विद्यार्थीहरुलाई घोक्न लगाएर र प्रवेशिका परीक्षाको समय केन्द्राध्यक्षसँग “विशेष सेटिङ” मिलाएर कथित उत्कृष्ट नतिजा ल्याउन तल्लिन हुन्छन् ।
यसरी एउटै पाठ्यसामाग्री, एउटै प्रश्न र एकै समयमा देशैभरी प्रवेशिका परीक्षा सञ्चालन गरिन्छ । त्यस्तो परिक्षा जहाँ विद्यार्थीहरु प्रतिस्पर्धाका लागि फरक फरक वातावरणबाट सामेल गराइन्छ । यो पैसा तिरेर पढेकाहरु र पैसा नतिरी पढेकाहरुबीचको प्रतिस्पर्धा बनेको छ । यो शिक्षक शिक्षीका नामका राजनैतिक दलका झोलेहरु र जागिरका लागि अत्यन्तै मेहनत गर्ने सरमिसहरुले अध्यापन गराएका विद्यार्थीहरुबीचको प्रतिस्पर्धा बनेको छ । खैर यो सत्यता एकातिर छँदै छ तर चूरो कुरो एउटा विद्यार्थीका लागि प्रवेशिका परीक्षा उत्तीर्ण गर्नु कति महत्वको विषय हो ? किन हामीले प्रवेशिका परीक्षालाई जीवनकै एकमात्र महत्वको परीक्षा बनाइरहेका छौं ? के प्रवेशिका परीक्षा उत्तीर्ण गर्नु भनेको अब जीवनमा कुनै पनि परीक्षा उत्तीर्ण गर्न नपर्ने हो ? प्रवेशिका परीक्षामा असफल भएर आत्महत्या गर्नेहरुको संख्या बढ्नुमा जिम्मेवार को हो ? शिक्षकशिक्षिका ? विद्यालय प्रशासन ? परीक्षा सञ्चालन गर्ने बोर्ड ? हाम्रो समाज ? वा असफल विधार्थी स्वयं ?
अन्त्यमा, बिर्सनै नहुने कुरो के छ भने – प्रवेशिका परीक्षामा उत्तीर्ण हुनेहरुलाई विभिन्न मोडमा जीवनमा आईलाग्ने अन्य परीक्षाहरु खास महत्वपूर्ण छन् अझै तयार होऊ भनी सावधान गराउने समय भएको छ ।  र, प्रवेशिकामा असफल हुनेहरुलाई यो बुझाउनु जरुरी छ कि जीवन सफलतैसफलताको श्रेस्ता हैन !

Comments

  1. जीवन सफलतैसफलताको श्रेस्ता हैन !

    ReplyDelete

Post a Comment

प्रतिक्रिया ब्यक्त गर्दा सभ्य र सुसंस्कृत शैली प्रयोग गर्नका लागि सम्पूर्णमा सविनय अनुरोध गर्दछु ।

लोकप्रिय पोष्टहरू

अनि रोशन भाइले टिपेछन् ६ बाल्टिन बेरी

गएको साल, हेर्दै कलिला देखिने दुई जना ठिटाहरू तिक्कुरिला रेल बिसौनीको कुनामा मस्त चुरोटको पफ लिदैं गरेका बेला, "भाइहरू नेपाली हो ?" भनेर मैले सोधेको थिएँ । मेरो प्रश्न भुँइमा झर्न नपाउँदै, आफूले तान्दै गरेको चुरोट आफ्नो साथीलाई दिदैँ, झन कलिलो देखिने ठिटोले भनेथ्यो, "हो दाई । कसरी पो ठम्याउनु भो ?"  दुई फरक मुहारको बनोट लिएका मानिसहरू सँगै बसेर एउटै चुरोट तान्दैछन् भने ती पक्कै नेपालीहरू हुनुपर्छ, त्यसमाथि तिमीहरू नेपाली मैं बातचित गर्दै थियौ नी त । मेरो जवाफ सुनेपछि त्यो ठिटोले कपाल कन्याउँदै भनेथ्यो, "हाउ दाजु पनि, सारै मजाको पो हुनुहुदोँ रहिछ !" मैले बात मार्न खोज्दा, निसंकोच बात मार्न खोज्ने ठिटो त पूर्वतिरको लिम्बु भाइ रहेछन् । अनि खासै बात मार्न नचाहने चाँहि रहिछन् - काठतिरका बाहुन भाइ ।  त्यो दिन ती भाइहरू हेलसिन्कीबाट सवा घण्टाको रेल यात्रामा पुगिने ठाउँबाट काम पाइने आशामा साथीलाई भेट्न आएका रहेछन् । आफूलाई भेट्न निम्ता दिएको साथीसँग भेट  नभएपछि  कामको खोजीमा हेलसिन्की झरेका उनीहरूलाई  आफू बस्ने ठाउँतिर फर्कने क्रममा मैले भेट्न पुगेको थिएँ । छोटो भ...

घर कहाँ हो दाजुको ?

अन्तिम पटक ह्वाट्स एपकलमा तेर्ह मिनेट कुराकानी भएको ठ्याक्कै तीन महिनापछि ह्वाट्स एपमा तिमीलाई मेरो पछिल्लो ब्लग पोष्टको लिंक साझा गरेथेँ, करिब तीन हप्तापछि आजै बुनेले मीठो टिप्पणीसहितको सन्देश प्रवाह गर्ने क्रममा अम्रिकाबाट सोधी पठायौ, "Dai, I have a question, where is home? Nepal or Finland?" सायदै बुने तिम्रो प्रश्न यत्तिमै मात्र सक्किन्थ्यो भनेपनि मैले सजिलै भनिदिन सक्थेँ होला जसरी हाम्रै म्याग्दीका लोकगायक खड्ग गर्बुजाले आफ्नो ' पिरती ' एल्बमको एक गीतमा सोध्दा प्रश्न, "घर कहाँ हो मायालु?" कति सजिलै जवाफ दिएथीन् गायिकाले, "हिमालको काखैमा ।" तर तिम्रो प्रश्नमा जवाफ मात्र दिएर पुग्थेन्, त्यसले अन्तःस्करणको भाव पनि जान्न चाहन्थ्यो किनकी त्यसमा तिमीले थपेर पठाएथ्यौ - "What is your feeling since you've lived so many years in Finland?" म फिनल्याण्ड टेकेको वर्षदिन पनि त पुगेको थिएन् जतिबेला सन् २०१३ को हिउँदमा फिनल्याण्डमा मलाई पहिलो कामका लागि भनसुन गर्दिनुभएका दाजु राजन सुवेदीले, तिम्रो जत्तिकै गम्भीर त होईन् तर सिधा प्रश्न गर्नु भएथ्...

मेरो एउटा साथी छ (हुनुहुन्छ)

 " नीराजन, मेरो बेस्ट फ्रेन्ड हो ।" जन्मेर २६ वर्ष बिताएको देश नेपालमा मलाई यस्तो भन्ने कोही थिएन् । तर यतै फिनल्याण्ड आइपुगेपछि,  मलाई यस्तो भन्ने एक जना भेट्टिएकी थिइन् ।  जोसँग बसेर एकै कप चिया वा कफि पिएकै थिइँन्, मैले । मनभरीका बह न मैले उनीसँग केहि पोखेकै थिएँ, न त उनले विशेष केही त्यस्त्तो साझा गरेकी थिइन् मसँग । तर मलाई चिन्ने र मसँग सम्पर्कमा रहेका धेरै साथीभाइसँग उनले सुनाउन बिर्सेकी रहिन्छिन् कि निराजन उनको बेस्ट फ्रेन्ड हो ।  यो पढ्दै गर्दा यहाँलाई लाग्ला, कि आफूलाई बेस्ट फ्रेन्ड बताउने साथीका सम्बन्धमा लेख्ता पनि यसले किन भूतकालको प्रयोग गर्यो ? प्रश्न स्वभाविकै हो तर मेरो जवाफ अलिकति अस्वभाविक लाग्न सक्ला यहाँलाई । कि मलाई बेस्ट फ्रेन्ड भन्ने उनको, खासमा म  फ्रेन्ड पनि थिइँन् । न उनी थिइन्, मेरो कुनै त्यस्तो विशेष मित्र । बस्, हाम्रो सामान्य चिनजान मात्र थियो । केहि मानिसहरू हुँदारहेछन्, जो सामान्य चिनजानलाई मित्रताको नाम दिदाँरहिछन्, उनले जस्तै । अनि कोही यस्ता पनि हुँदा रहिछन् कि जोसँग हामी विशेष सामिप्यतामा भएको ठानेका हुन्छौं, तर उनीहरूका ...

बोई, बार्ह वर्षमा खोलो किन फर्किएन् ?

हिजो भर्खर जस्तो लाग्छ, २७ औं वसन्तमा हिड्दै गरेको म विना कुनै योजना देश छाडेर परदेश हिडेको । आज १२ वर्ष नाघिसकेछ, परदेश भनिएको ठाम देशजस्तै अनि देश ठानिएको ठाम परदेशजस्तै भएको । मेरी बोइ भन्नुहुन्थ्यो, "बार्ह बर्षमा खोलो फर्किन्छ ।" बार्है बर्ष वितिसकेछन्, म मान्छे भएर होला सायद आफूले आएको बाटैबाटो घर फर्किन नसकेको ! बोइ नफर्किने गरी गएको पनि ५ वर्ष त नाघिसकेछ, सायद अझै हुनुहुन्थ्यो भने फोन गरेर म सोध्दो हुँ, - बोइ बार्ह वर्षमा खोलो कसरी फर्किन्छ ? सिकाइमाग्दो हुँ फर्किने सुत्र, शिरोपर गर्दो हुँ ती सुत्रहरू र लाग्दो हुँ ढोडेनीको पक्की पुल तरेर किनारै किनार तेर्सिएर घैयारासम्म अनि अलिकति माथि उक्लिएर हाम्रा जिजुको पालादेखिको हाम्रो स्थायी ठेगाना उही ढुंगेपाली टोलमा । छिर्दो हुँ आफ्नै मेहनतले बनाएको साढे दुई तले पक्की घरको दैलोभित्र ।           दिनहरू यस्ता पनि थिए, जहिले म कविताहरू लेख्ने गर्थेँ । मेरा कविताहरूमा देश छाड्नेहरूलाई स्वदेशमैं बस्नु भनेर आव्हान हुने गर्थे । अहिले म तीनै कविताहरूका पात्र बनेर आफैले बाँच्नु परेको परिस्थितीलाई पचाउने प्रयत्न गर्दै...

क्लोरिनको झोल, वैज्ञानिकहरू र मेरी बोइको मुड्की

मेरो बाल्यकाल लगभग बोईसँगै बित्यो । त्यो चकचक गर्ने समय भएकाले मेरो चकचकसँग बोईलाई बेलाबेलामा झिझो लाग्नु स्वभाविक नै थियो । त्यसैले मैले अति नै अटेर गरेपछि बोईले मलाई भन्नुहुन्थ्यो -  "अहिले गाडूँला मुड्की (मुड्कीले हान्छु) ।" तर अहँ कहिल्यै पनि एक झापड खानुपरेन । मुड्की नै खानु नपरेपछि मेरो चकचक थामिने कुरै थिएन, त्यसैले बोईले पनि मुड्की गाडूँला भन्न छाड्नुभएन अनि मैले चकचक गर्न । मेरी बोईले यस धरा छोडेको पनि यहि हिउँदमा बर्षदिन पुग्दैछ, तर बोईले भन्ने गरेको "अहिले गाडूँला मुड्की" मेरो मनमा गडिरहेको छ, अनि यसो सोच्छु, दुईचार पटक बोईले साँच्चिकै मुड्की गाड्नुभएको भए, मेरा चकचक उहिले पहिले नै खत्तम हुन्थे कि ?  तर खासमा चकचक भन्ने जिनिस त्यत्तिकै खत्तम भएर गैहाल्ने कुरो हैन रहेछ । न त यो उमेर बढ्दै गएपछि आफै घट्दै र पछि निस्तेज नै हुने रहेछ । यसले खासमा उमेर बढ्दै गएर केश पाक्दै गएपनि आफ्नो स्वरूपमा अलिकति फेरिदै तरह तरहका रूपमा प्रकट हुँदै पो जाँदो रहेछ कि ? भन्ने निचोडमा पुगेको छु । यस्तै केहि केश पाक्नै थालेका मान्छेहरूको चकचक कोरोनको त्रास बढ्दै गएपछि अलिकति भि...