Skip to main content

साला नेताहरुले देश खत्तम पारे !

एउटा बाबा आफ्नो अभिभावकत्व राम्ररी निर्वाह गर्न सक्दैन । बिहान उठ्दा बित्तिकै भट्टीतिर लाग्छ । टिल्ल परेर राती अबेरमात्र घर फर्कन्छ । आफ्ना सन्तानसन्तती र श्रीमतीको भरणपोषणमा कुनै ध्यान दिदैन । तैपनि आफ्ना जड्याँहा साथीहरुसँग हरेक साँझ आफ्ना असफल जिन्दगीको तिक्तता पोख्दछ – साला नेताहरुले देश खत्तम पारे !
भर्खरमात्र आफ्नो शिशुको पास्नी उम्काएकी एउटी आमा आफ्ना स्तनका स्वरुप बिग्रने भयले शिशु पाँच/छ महिना पुग्दासाथ स्तनपान गराउन छाड्छे । शिशुको स्याहारसुसारमा भन्दा बढ्ता आफ्नो सुन्दरता कायम राख्नमा ब्यस्त हुन्छे । बुढीभएकी सासुआमासँग गुनासो गर्नमै कति समय गुजार्छे । फेरि पनि आफ्ना दामली नवविवाहिताहरुसँग देशको राजनीति बिग्रेकोमा गुनासो गरेकै हुन्छे – फटाहा नेताहरुले सबै खत्तम पारे । देश लथालिङ्ग पारे !
एउटा रोजगार युवक आफ्नो काम कहिल्यै समयमा गर्दैन । आफ्नो कामप्रति ऊ कहिल्यै जिम्मेवार बन्दैन । सहकर्मीहरुसँग आफ्नो हाकिमका बारे गुनासो गरिरहन्छ । सार्वजनिक यातायातमा भाडा बचाउन कलेज नपढेपनि बिद्यार्थीको नक्कली परिचयपत्र बनाएर बिद्यार्थी सहुलियतको फाइदा लुट्छ । पैसा बचत गर्न नसकेकोमा विदेशिने योजना बनाउँछ । र, आफ्ना सबै दुर्दशाहरुको भागीदारी सिङ्गो राज्यव्यवस्थालाई लगाउँछ । अनि कुनै एउटा सार्वजनिक स्थानमा आफ्ना केहि साथीहरुसँग जागिरेको पोज झार्दै सूर्य फिल्टरको एक सर्कोसँगै दुखेसो बिसाउँछ – साला नेताहरुले देश खत्तम पारे !
एउटा सरकारी कर्मचारी जागिर पकाउनका लागि मात्र कार्यालय जान्छ । सरुवा बढुवाको चाकरीको लागि नेताको झोले हुन्छ । शिशिर याममा कार्यालय बन्द नभैन्जेल प्रायःजसो घाम लागिराख्ने कार्यालय बाहिरको चौरमा गजधम्म परेर बस्छ । दश मिनेटमा हुने कामका लागि सेवाग्राहीलाई दुई घण्टाभन्दा बढि झुलाउँछ । काम गरेवापत राज्यबाट नियमित तलबसुविधा लिएकै हुन्छ तरपनि सेवाग्राहीबाट अलिकति दाम उपहारको ख्वाहिश राख्न बिर्सदैनन । तीसचालिस थान हजारका नोटमा विदेशीलाई स्वदेशी बनाएर नागरिकताको प्रमाणपत्र बेच्छ । कानुनतः अवाञ्छनीय सबै कामहरु विशेष आर्थिक चलखेलमा वाञ्छनीय र वैध बनाइदिन्छ । जस्तो मालअड्डाको कर्मचारी एउटाको जग्गा अर्काको नाममा पास गराउने सम्म ल्याकत राख्दछ । विद्युत चुहावट रोक्न गएको विद्युतको कर्मचारी दुईचारसय दाममा सर्वसाधारणलाई उल्टै विद्युत कसरी चोर्ने प्रशिक्षण दिएर आउँछ । जिल्ला विकास समितिको इन्जिनियर उपभोक्ता समितिसँग मिलेर नक्कली बीलभरपाई पास गराउँछ । राजमार्गमा ट्राफिक ब्यवस्थापनका लागि खटिएको ट्राफिक प्रहरी पचास रुपैयाँ दाममा हुटभरी सामान राखेको बस, माइक्रोलाई कारबाही नगरी यात्रा सुचारु गर्ने अनुमति दिन्छ । भन्सारमा चुहावट रोक्न बसेकाहरु भन्छारछली गर्ने तस्करहरुसँग घनिष्ट सम्बन्ध राख्दछन् । सबैले नीजिलाभका लागि बेथितीको कारक आफू भैरहेको इन्कार गर्छन । अनि फेरि चिया वा भट्टी गफमा उनीहरुकै गुनासो हुन्छ – साला स्वर्गजस्तो देशलाई नेताहरुले खत्तम पारे !
आफ्ना नीजि स्वार्थको परिपूर्तिका लागि “जे पनि गर्न पछि नपर्ने” मान्छेहरुको कमी छैन हाम्रो देशमा । जस्तो सुनमा मिसावट भो भनेर सरकारले अनुगमन गर्दा सुनपसल बन्द हुन्छ । पानीमा अखाद्य पदार्थ मिसावट छ सरकारले अनुगमन र कार्वाही शुरु गर्छ पानी बेच्नेहरु पानी बेच्नै बन्द गर्छन । ग्याँसको आपूर्तिमा सहजताकायमका लागि सरकार दुई रंगको सिलिन्डर ब्यवस्था गर्न खोज्छ, ग्याँसबेच्नेहरु किचलो झिक्छन् अनावश्यक ! सरकारले जे गर्न खोजे पनि असफल हुन्छ मेरो देशमा । त्रिशुली थ्रि ए को क्षमता वृद्धि गर्ने निर्णय गर्छ सरकार पूर्वमन्त्रीहरु बखेडा झिक्छन् – कमिसनको चलखेल भो । सरकार लाचारीपूर्वक निर्णय फिर्ता लिन्छ । अनि फेरि परियोजना स्थलका आम सर्वसाधारणहरु आन्दोलन गर्छन – खबरदार सरकार निर्णय फिर्ता लिन मिल्दैन । क्षमता बृद्धिको निर्णय पूर्ववतः कायम गर ! यी रमिताहरुका बारेमा खबर पढ्दा र हेर्दै गर्दा म बबुरो बडो सोचमग्नमा पर्छु – हैन सरकारले गर्नुपर्ने चाँहि के हो ?
भएकै के हो भने अधिकांश हामी नेपालीहरुमा एउटा नराम्रो मानशिकता छ – म मात्र राम्रो, अरु सबै खराब ! आफूलाई मात्र राम्रो देख्ने हाम्रो नजरले अरु जोकोहीको पनि राम्रो भन्दा नराम्रो कुरो बढि देख्दो रहिछ । हाम्रो दृष्ट्रिमा दोश छ । मेरो एकदमै सीमित ज्ञानले बन्छ – हामी सबैमा आत्मजागरण हुनु आवश्यक छ । पहिला हामी सुध्रौ अनि अरु नसुध्रेकोमा गुनासो गर्ने बानी बसालौं । आलोचनाका लागि आलोचना हैन परिवर्तनका लागि आलोचना गर्ने बानी बसालौं ।

Comments

  1. ah thik xa guru...gajjab lago..lekh matra haina yesko gudi pani thik lago...kuro 100 percent sahi ho !

    ReplyDelete

Post a Comment

प्रतिक्रिया ब्यक्त गर्दा सभ्य र सुसंस्कृत शैली प्रयोग गर्नका लागि सम्पूर्णमा सविनय अनुरोध गर्दछु ।

Popular posts from this blog

अनि मलाई खुबै राजनीति लाग्छ ...

कहिले काही मैले फोकस गुमाएको जस्तो मेरा नजिकका प्रिय मान्छेहरूले महशुस गर्नुहुन्छ ।  राजन दाईले अस्ति फोन गरेपछि पो झल्याँस्स भएँ । वहाँको गुनासो मिश्रित प्रश्नले सिधै मेरो दिमागमा झड्का दिन पुग्यो, दाईसँग खास घुलमिल नभएकाहरूलाई चाँहि वहाँको प्रश्नले दिमागमा हैन् सिधैं मुटुमा हान्न सक्छ । वहाँका प्रायः प्रश्नहरू तारा खेलमा निशाना लगाउन प्रयोग हुने वाण जस्तो सिधा र तिखो हुन्छन् । जस्तो मेरो दिमाग मैं झङ्कार लेराउने प्रश्न थियो वहाँको,  "हैन पाक्षिक रूपमा ब्लग अद्यावद्यिक (अपडेट) गर्छु भन्या हैन् ? एक महिना पुग्न लाग्यो त सर !"    मलाई व्यंग्य गर्नुपर्दा दाइले सर भन्नुहुन्छ, अनि वहाँलाई चाहिँ म भन्छु, साहुजी । यत्तिमा मात्र दाजुको प्रश्न सिमित हुन्थ्यो भने, सायदै म आजको यो ब्लग लेख्न बस्थेँ । तर वहाँको प्रश्नसँग व्यंग्यमिश्रित सानो जिज्ञासा पनि थियो, "खुबै चुनाव लाग्या छ हैन् तिमीलाई !?" यो जिज्ञासामिश्रित व्यंग्य हो या व्यंग्य मिसिएको जिज्ञासा । या यो जिज्ञासा हुँदै नभएर केवल व्यंग्य मात्र थियो । तर जेहोस् यो केहि न केहि चाँहि पक्कै थियो ।  खुबै चुनाव लाग्ने आफत ...

को नायक? खलनायक को ?

बुडापेष्टको एउटा बगैंचामा राता र सेता गुलाफहरूबीच रहेको एक मूर्ति मुनि बसेर गिटार बजाउँदै गीत गाउँदै गरेका एक बुढा बाजेलाई खल्ति रित्ताएर पैसा दिन मन भएथ्यो । मसँग खल्ती भरी रूपैयाँ थिएन्, बुढीमाउलाई २ यूरो मागेर उनलाई दिएँ ।  बुढा बाजेले जर्मनमा केहि बोले, मैले नबुझेको अड्कल गरेर होला, उनले सोधे अङ्ग्रेजीमा "ह्वेय आर यू फ्रम ?" "नेपाल" मैले भनेँ । "वाउ क्याट्मान्डु ? यू केम फ्रम क्याटमान्डु टु बुडापेष्ट?" उनले बडो उत्साहित हुँदै प्रश्न गरे ।  मलाई झुटो बोल्न प्रायः सकस पर्छ, यसैकारण, मैले सत्य बोलिदिएँ - "नो सर। इट इज नट लाइक द्याट, आइ लिभ इन हेलसिन्की डिस्पाइट विइङ्ग ए नेपाली ।" (होइन् नी महोदय त्यसो । मान्छे नेपालको भएपनि क्याटमान्डु नभै हेलसिन्की बस्छु, म ।) छोटो तर यादगार कुराकानीमा ती बुढा बाजे आफूले नेपालका अग्ला हिमालहरू सम्झिएर, मलाई चाँहि मेरो घर सम्झाए । मैले नबुझ्ने भाषामा मन छुने संगित भरेर ती बाजेले  पूर्ववतः   गीतको भाका हाल्न थाले । उनको गायकी र उनले झंकार निकालेको गिटारको धुन पर पर सम्म पुगिरहेथ्यो, मानिसहरू प्रायः फर्केर एकपटक उ...

यो के गर्यौ तिमीले मेरा प्यारा हन्तकालीहरू हो?

"सर, चाउमिन बाँकी रह्यो । एक प्लेट थपिदिऊँ ?" स्कुलको क्यान्टिनका मुख्य कुक पाण्डे दाईले मलाई कान मैं आएर भनेपछि मैले नाइँ भन्नुपर्ने कारण देखिनँ ।  वाइवाइ चाउचाउको चाउमिन यस्तो मीठो थियो कि एक प्लेट खाँदा पनि मेरो जिब्रोको भोक मेटिएकै थिएन् । मैले अर्को प्लेट हसुरेँ ।  पाण्डे दाईले थपिदिएको त्यो उभ्रेको एक प्लेटबाट दोस्रो चोटी काँटामा बेरेर मैले मुखमा पुर्याउनै आँटेको के थिएँ, टेबलटेनिसको पुरानो हरियो टेबलमाथि बसेर भर्खर सकिएको दोस्रो त्रैमासिक परीक्षाको कापि जाँच्दै गरेका जनसंख्या शिक्षक एवं म अध्यापनरत विद्यालयका संस्थापक नराम्ररी बिच्किए । भन्दै थिए, "यहाँ आफूले एक प्लेट पाइया छैन्, सरले दुइ प्लेट नै उठाइदिने ?"  भोकले रन्थनिएका केसी सरले अहिले मैले मिलाएर लेखेको भन्दा तिखा शब्दहरू उनेर केहि भनेका थिए । सायद उनको ठाउँमा म र मेरो ठाउँमा उनी भएका भए त्यसबखत उनले मलाई मारेभन्दा बड्ता पेचिलो डायलग म मार्ने थिएँ होला । डायलग मार्न म बच्चैदेखि खप्पिस हुँ ।  तर त्यो वखत डायलग बेहोर्नेमा म थिएँ, मार्ने अर्को कोही । एकैछिन अघिसम्म मीठो भएको त्यो वाइवाइ चाउचाउको चाउमिन के...