Skip to main content

साला नेताहरुले देश खत्तम पारे !

एउटा बाबा आफ्नो अभिभावकत्व राम्ररी निर्वाह गर्न सक्दैन । बिहान उठ्दा बित्तिकै भट्टीतिर लाग्छ । टिल्ल परेर राती अबेरमात्र घर फर्कन्छ । आफ्ना सन्तानसन्तती र श्रीमतीको भरणपोषणमा कुनै ध्यान दिदैन । तैपनि आफ्ना जड्याँहा साथीहरुसँग हरेक साँझ आफ्ना असफल जिन्दगीको तिक्तता पोख्दछ – साला नेताहरुले देश खत्तम पारे !
भर्खरमात्र आफ्नो शिशुको पास्नी उम्काएकी एउटी आमा आफ्ना स्तनका स्वरुप बिग्रने भयले शिशु पाँच/छ महिना पुग्दासाथ स्तनपान गराउन छाड्छे । शिशुको स्याहारसुसारमा भन्दा बढ्ता आफ्नो सुन्दरता कायम राख्नमा ब्यस्त हुन्छे । बुढीभएकी सासुआमासँग गुनासो गर्नमै कति समय गुजार्छे । फेरि पनि आफ्ना दामली नवविवाहिताहरुसँग देशको राजनीति बिग्रेकोमा गुनासो गरेकै हुन्छे – फटाहा नेताहरुले सबै खत्तम पारे । देश लथालिङ्ग पारे !
एउटा रोजगार युवक आफ्नो काम कहिल्यै समयमा गर्दैन । आफ्नो कामप्रति ऊ कहिल्यै जिम्मेवार बन्दैन । सहकर्मीहरुसँग आफ्नो हाकिमका बारे गुनासो गरिरहन्छ । सार्वजनिक यातायातमा भाडा बचाउन कलेज नपढेपनि बिद्यार्थीको नक्कली परिचयपत्र बनाएर बिद्यार्थी सहुलियतको फाइदा लुट्छ । पैसा बचत गर्न नसकेकोमा विदेशिने योजना बनाउँछ । र, आफ्ना सबै दुर्दशाहरुको भागीदारी सिङ्गो राज्यव्यवस्थालाई लगाउँछ । अनि कुनै एउटा सार्वजनिक स्थानमा आफ्ना केहि साथीहरुसँग जागिरेको पोज झार्दै सूर्य फिल्टरको एक सर्कोसँगै दुखेसो बिसाउँछ – साला नेताहरुले देश खत्तम पारे !
एउटा सरकारी कर्मचारी जागिर पकाउनका लागि मात्र कार्यालय जान्छ । सरुवा बढुवाको चाकरीको लागि नेताको झोले हुन्छ । शिशिर याममा कार्यालय बन्द नभैन्जेल प्रायःजसो घाम लागिराख्ने कार्यालय बाहिरको चौरमा गजधम्म परेर बस्छ । दश मिनेटमा हुने कामका लागि सेवाग्राहीलाई दुई घण्टाभन्दा बढि झुलाउँछ । काम गरेवापत राज्यबाट नियमित तलबसुविधा लिएकै हुन्छ तरपनि सेवाग्राहीबाट अलिकति दाम उपहारको ख्वाहिश राख्न बिर्सदैनन । तीसचालिस थान हजारका नोटमा विदेशीलाई स्वदेशी बनाएर नागरिकताको प्रमाणपत्र बेच्छ । कानुनतः अवाञ्छनीय सबै कामहरु विशेष आर्थिक चलखेलमा वाञ्छनीय र वैध बनाइदिन्छ । जस्तो मालअड्डाको कर्मचारी एउटाको जग्गा अर्काको नाममा पास गराउने सम्म ल्याकत राख्दछ । विद्युत चुहावट रोक्न गएको विद्युतको कर्मचारी दुईचारसय दाममा सर्वसाधारणलाई उल्टै विद्युत कसरी चोर्ने प्रशिक्षण दिएर आउँछ । जिल्ला विकास समितिको इन्जिनियर उपभोक्ता समितिसँग मिलेर नक्कली बीलभरपाई पास गराउँछ । राजमार्गमा ट्राफिक ब्यवस्थापनका लागि खटिएको ट्राफिक प्रहरी पचास रुपैयाँ दाममा हुटभरी सामान राखेको बस, माइक्रोलाई कारबाही नगरी यात्रा सुचारु गर्ने अनुमति दिन्छ । भन्सारमा चुहावट रोक्न बसेकाहरु भन्छारछली गर्ने तस्करहरुसँग घनिष्ट सम्बन्ध राख्दछन् । सबैले नीजिलाभका लागि बेथितीको कारक आफू भैरहेको इन्कार गर्छन । अनि फेरि चिया वा भट्टी गफमा उनीहरुकै गुनासो हुन्छ – साला स्वर्गजस्तो देशलाई नेताहरुले खत्तम पारे !
आफ्ना नीजि स्वार्थको परिपूर्तिका लागि “जे पनि गर्न पछि नपर्ने” मान्छेहरुको कमी छैन हाम्रो देशमा । जस्तो सुनमा मिसावट भो भनेर सरकारले अनुगमन गर्दा सुनपसल बन्द हुन्छ । पानीमा अखाद्य पदार्थ मिसावट छ सरकारले अनुगमन र कार्वाही शुरु गर्छ पानी बेच्नेहरु पानी बेच्नै बन्द गर्छन । ग्याँसको आपूर्तिमा सहजताकायमका लागि सरकार दुई रंगको सिलिन्डर ब्यवस्था गर्न खोज्छ, ग्याँसबेच्नेहरु किचलो झिक्छन् अनावश्यक ! सरकारले जे गर्न खोजे पनि असफल हुन्छ मेरो देशमा । त्रिशुली थ्रि ए को क्षमता वृद्धि गर्ने निर्णय गर्छ सरकार पूर्वमन्त्रीहरु बखेडा झिक्छन् – कमिसनको चलखेल भो । सरकार लाचारीपूर्वक निर्णय फिर्ता लिन्छ । अनि फेरि परियोजना स्थलका आम सर्वसाधारणहरु आन्दोलन गर्छन – खबरदार सरकार निर्णय फिर्ता लिन मिल्दैन । क्षमता बृद्धिको निर्णय पूर्ववतः कायम गर ! यी रमिताहरुका बारेमा खबर पढ्दा र हेर्दै गर्दा म बबुरो बडो सोचमग्नमा पर्छु – हैन सरकारले गर्नुपर्ने चाँहि के हो ?
भएकै के हो भने अधिकांश हामी नेपालीहरुमा एउटा नराम्रो मानशिकता छ – म मात्र राम्रो, अरु सबै खराब ! आफूलाई मात्र राम्रो देख्ने हाम्रो नजरले अरु जोकोहीको पनि राम्रो भन्दा नराम्रो कुरो बढि देख्दो रहिछ । हाम्रो दृष्ट्रिमा दोश छ । मेरो एकदमै सीमित ज्ञानले बन्छ – हामी सबैमा आत्मजागरण हुनु आवश्यक छ । पहिला हामी सुध्रौ अनि अरु नसुध्रेकोमा गुनासो गर्ने बानी बसालौं । आलोचनाका लागि आलोचना हैन परिवर्तनका लागि आलोचना गर्ने बानी बसालौं ।

Comments

  1. ah thik xa guru...gajjab lago..lekh matra haina yesko gudi pani thik lago...kuro 100 percent sahi ho !

    ReplyDelete

Post a Comment

प्रतिक्रिया ब्यक्त गर्दा सभ्य र सुसंस्कृत शैली प्रयोग गर्नका लागि सम्पूर्णमा सविनय अनुरोध गर्दछु ।

लोकप्रिय पोष्टहरू

अनि रोशन भाइले टिपेछन् ६ बाल्टिन बेरी

गएको साल, हेर्दै कलिला देखिने दुई जना ठिटाहरू तिक्कुरिला रेल बिसौनीको कुनामा मस्त चुरोटको पफ लिदैं गरेका बेला, "भाइहरू नेपाली हो ?" भनेर मैले सोधेको थिएँ । मेरो प्रश्न भुँइमा झर्न नपाउँदै, आफूले तान्दै गरेको चुरोट आफ्नो साथीलाई दिदैँ, झन कलिलो देखिने ठिटोले भनेथ्यो, "हो दाई । कसरी पो ठम्याउनु भो ?"  दुई फरक मुहारको बनोट लिएका मानिसहरू सँगै बसेर एउटै चुरोट तान्दैछन् भने ती पक्कै नेपालीहरू हुनुपर्छ, त्यसमाथि तिमीहरू नेपाली मैं बातचित गर्दै थियौ नी त । मेरो जवाफ सुनेपछि त्यो ठिटोले कपाल कन्याउँदै भनेथ्यो, "हाउ दाजु पनि, सारै मजाको पो हुनुहुदोँ रहिछ !" मैले बात मार्न खोज्दा, निसंकोच बात मार्न खोज्ने ठिटो त पूर्वतिरको लिम्बु भाइ रहेछन् । अनि खासै बात मार्न नचाहने चाँहि रहिछन् - काठतिरका बाहुन भाइ ।  त्यो दिन ती भाइहरू हेलसिन्कीबाट सवा घण्टाको रेल यात्रामा पुगिने ठाउँबाट काम पाइने आशामा साथीलाई भेट्न आएका रहेछन् । आफूलाई भेट्न निम्ता दिएको साथीसँग भेट  नभएपछि  कामको खोजीमा हेलसिन्की झरेका उनीहरूलाई  आफू बस्ने ठाउँतिर फर्कने क्रममा मैले भेट्न पुगेको थिएँ । छोटो भ...

घर कहाँ हो दाजुको ?

अन्तिम पटक ह्वाट्स एपकलमा तेर्ह मिनेट कुराकानी भएको ठ्याक्कै तीन महिनापछि ह्वाट्स एपमा तिमीलाई मेरो पछिल्लो ब्लग पोष्टको लिंक साझा गरेथेँ, करिब तीन हप्तापछि आजै बुनेले मीठो टिप्पणीसहितको सन्देश प्रवाह गर्ने क्रममा अम्रिकाबाट सोधी पठायौ, "Dai, I have a question, where is home? Nepal or Finland?" सायदै बुने तिम्रो प्रश्न यत्तिमै मात्र सक्किन्थ्यो भनेपनि मैले सजिलै भनिदिन सक्थेँ होला जसरी हाम्रै म्याग्दीका लोकगायक खड्ग गर्बुजाले आफ्नो ' पिरती ' एल्बमको एक गीतमा सोध्दा प्रश्न, "घर कहाँ हो मायालु?" कति सजिलै जवाफ दिएथीन् गायिकाले, "हिमालको काखैमा ।" तर तिम्रो प्रश्नमा जवाफ मात्र दिएर पुग्थेन्, त्यसले अन्तःस्करणको भाव पनि जान्न चाहन्थ्यो किनकी त्यसमा तिमीले थपेर पठाएथ्यौ - "What is your feeling since you've lived so many years in Finland?" म फिनल्याण्ड टेकेको वर्षदिन पनि त पुगेको थिएन् जतिबेला सन् २०१३ को हिउँदमा फिनल्याण्डमा मलाई पहिलो कामका लागि भनसुन गर्दिनुभएका दाजु राजन सुवेदीले, तिम्रो जत्तिकै गम्भीर त होईन् तर सिधा प्रश्न गर्नु भएथ्...

मेरो एउटा साथी छ (हुनुहुन्छ)

 " नीराजन, मेरो बेस्ट फ्रेन्ड हो ।" जन्मेर २६ वर्ष बिताएको देश नेपालमा मलाई यस्तो भन्ने कोही थिएन् । तर यतै फिनल्याण्ड आइपुगेपछि,  मलाई यस्तो भन्ने एक जना भेट्टिएकी थिइन् ।  जोसँग बसेर एकै कप चिया वा कफि पिएकै थिइँन्, मैले । मनभरीका बह न मैले उनीसँग केहि पोखेकै थिएँ, न त उनले विशेष केही त्यस्त्तो साझा गरेकी थिइन् मसँग । तर मलाई चिन्ने र मसँग सम्पर्कमा रहेका धेरै साथीभाइसँग उनले सुनाउन बिर्सेकी रहिन्छिन् कि निराजन उनको बेस्ट फ्रेन्ड हो ।  यो पढ्दै गर्दा यहाँलाई लाग्ला, कि आफूलाई बेस्ट फ्रेन्ड बताउने साथीका सम्बन्धमा लेख्ता पनि यसले किन भूतकालको प्रयोग गर्यो ? प्रश्न स्वभाविकै हो तर मेरो जवाफ अलिकति अस्वभाविक लाग्न सक्ला यहाँलाई । कि मलाई बेस्ट फ्रेन्ड भन्ने उनको, खासमा म  फ्रेन्ड पनि थिइँन् । न उनी थिइन्, मेरो कुनै त्यस्तो विशेष मित्र । बस्, हाम्रो सामान्य चिनजान मात्र थियो । केहि मानिसहरू हुँदारहेछन्, जो सामान्य चिनजानलाई मित्रताको नाम दिदाँरहिछन्, उनले जस्तै । अनि कोही यस्ता पनि हुँदा रहिछन् कि जोसँग हामी विशेष सामिप्यतामा भएको ठानेका हुन्छौं, तर उनीहरूका ...

खाल्डोमा गाडी, जेलमा साथीः एक आत्मसंवाद

सधैं पुगिरहेको गन्तव्य थियो । गन्तव्यमा गुगल म्याप्सले सिफारीश गरेको बाटो भएर जाँदा मैले हठात गाडी मोड्नुपर्ने अवस्था बन्यो । हतपत गाडीलाई पार्किङमा छिर्ने बाटोतिर छिराउँदा, मैले हाँकेको गाडीको भाग त्यस बाटोको छेउमा कम, बाटोको छेउतिरको खाल्डोमा बढी पर्न जाँदा पछाडिको एउटा पाङ्ग्रोले भुँइ छाडेको विचित्रको स्थितिमा पुग्यो । यो आजैको घटना हो, केहि घण्टा अगाडिको । मलाई कुनै चोटपटक लागेन । गाडीमा विशेष क्षति पनि भएन । तर गाडीलाई त्यस विचित्रको स्थितीबाट बाहिर ननिकाल्दासम्मको मेरो जीवनको त्यो पूरा १ घण्टा १५ मिनेटले मलाई केहि विशेष ज्ञान भने अवश्य दिलायो ।  म जुन विचित्रको स्थितीबाट गुज्रिएर अहिले यो ब्लगपोष्ट लेख्तैछु, सम्झनामा मेरा केहि चिनजानका र केहि घनिष्ट मित्रहरूको तस्बीर एकतमास मेरो दिमागमा घुमिरहेको छ जो केहि समय अगाडिदेखि सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् । के ति मेरा साथीहरूले पनि यस वयमा जुन स्थितिको सामना गरिरहेका छन् त्यसका बारे दैनिकी लेख्दै होलान् ? थाहा छैन्, कसले कहिलेदेखि सहकारीमा जम्मा हुन आएको बचतकर्ताको रकमलाई मनोमानी तवरले आफ्नो नीजि लाभको लागि प्रयोग...

अनि मलाई खुबै राजनीति लाग्छ ...

कहिले काही मैले फोकस गुमाएको जस्तो मेरा नजिकका प्रिय मान्छेहरूले महशुस गर्नुहुन्छ ।  राजन दाईले अस्ति फोन गरेपछि पो झल्याँस्स भएँ । वहाँको गुनासो मिश्रित प्रश्नले सिधै मेरो दिमागमा झड्का दिन पुग्यो, दाईसँग खास घुलमिल नभएकाहरूलाई चाँहि वहाँको प्रश्नले दिमागमा हैन् सिधैं मुटुमा हान्न सक्छ । वहाँका प्रायः प्रश्नहरू तारा खेलमा निशाना लगाउन प्रयोग हुने वाण जस्तो सिधा र तिखो हुन्छन् । जस्तो मेरो दिमाग मैं झङ्कार लेराउने प्रश्न थियो वहाँको,  "हैन पाक्षिक रूपमा ब्लग अद्यावद्यिक (अपडेट) गर्छु भन्या हैन् ? एक महिना पुग्न लाग्यो त सर !"    मलाई व्यंग्य गर्नुपर्दा दाइले सर भन्नुहुन्छ, अनि वहाँलाई चाहिँ म भन्छु, साहुजी । यत्तिमा मात्र दाजुको प्रश्न सिमित हुन्थ्यो भने, सायदै म आजको यो ब्लग लेख्न बस्थेँ । तर वहाँको प्रश्नसँग व्यंग्यमिश्रित सानो जिज्ञासा पनि थियो, "खुबै चुनाव लाग्या छ हैन् तिमीलाई !?" यो जिज्ञासामिश्रित व्यंग्य हो या व्यंग्य मिसिएको जिज्ञासा । या यो जिज्ञासा हुँदै नभएर केवल व्यंग्य मात्र थियो । तर जेहोस् यो केहि न केहि चाँहि पक्कै थियो ।  खुबै चुनाव लाग्ने आफत ...