Skip to main content

हराएको सामान नहराउने देश

“अस्ती काम परेर तिमीलाई कल गरेको थिएँ, कल ‘रिसिभ’ पनि भएन, पछि कल ‘ब्याक’ पनि गरिनौं !” मे महिनाको अन्तिम दोश्रो हप्तातिर सहपाठी शिल्पासँग गुनासो गरेको थिएँ मैले ।

जवाफमा उनले आफ्नो मोबाइल हराएको जानकारी गराएकी थिईन । गुनासो गरिरहेको मलाई सहानुभूति प्रकट गर्न कर लाग्यो । र, ढाढस दिदै भनेँ –“भेटिन्छ, चिन्ता नलेऊ । धेरैले भनेको सुनेको छु यहाँ हराएको सामान नपाउने भन्ने हुँदैन ।” उनले पनि मैले जस्तै सुनेकी रहिछिन । खैर मलाई मनमनमा लागेको थियो – पाँचसात सय यूरोको मोबाइल ख्वै के भेटिएला र ?!


यसो सोच्दछु, हाम्रो देशाँ एउटा केही सामान भेटियो भने सबभन्दा पहिले त्यो भेट्ने मान्छेले भगवानले जुराइदिएको ठान्छ । र, स्वतः आफ्नो स्वामित्वमा आएको ठान्दछ । मलाई राम्ररी याद छ, तिनताका म मावल बस्थेँ र आठ नौ बर्षको थिएँ । एकदिन मभन्दा २/३ वर्ष कम उमेरको एकजना छिमेकी भाइसँग बाटोमा हिड्दै थिएँ । मैले र त्यो भाइले एकसाथ आइसी सयको नोट बाटोमा देख्यौं । ऊ पनि – "उ पैसा" भन्ने मैले पनि "ओहो पैसा" भन्ने एकैसाथ भो' । म खुर्र दगुरेर पैसा टिपेँ र मामाघरतिर बुर्कुसी मारेँ । त्यो मेरो फुच्चे भाइ भुत्भुतिदै थियो । मैले केहि पर्वाह नगरी हठात् मामाघर कुदेको थिएँ ।

साँझ उसकी आमा मेरी बोइसँग त्यही विषयमा कुरा गर्न आइन् । उनको जिकिर थियो – “पैसो त शुरुमा हाम्रो रामकिस्नेले देखेको हो रे, तिम्रो नातीले टिपेर दगुरेछ !”


मेरी बोईले चाँहि मतिर देखाउँदै भन्नु भो – “त्यो मलाई थाहा छैन, त्यसैलाई सोध् ।” मैले प्रष्ट भन्देँ – "पैसो एकैचोटी देखेको हो, रामकिस्ने पनि दगुरेथ्यो उसलाई मैले जित्देँ, मैले टिपेँ । यो पैसा मेरो हो अब ।”


“के कुरा गर्छ यो ? सँगसँगै देखेको भए त पैसा बराबरी हुनुपर्यो नी !” उनले बिच्किदै भनिन । मेरो पालो म पिउँदापिउँदैको चियाको गिलास त्यत्तिकै छाडेर मामाको घरबाट खेतैखेत आफ्नो घरतिर कुदेको थिएँ ।


तर मोबाइल हराएको ९/१० दिनपछि उनको हातमा उस्तै मोबाइल देखेँ । सोधे पछि थाहा भयो – हराएको मोबाइलका बारेमा भिआर अफिस (रेल सेवाको कार्यालय) को 'लस्ट एण्ड फाउन्ड' शाखामा ८/९ दिनपछि सम्पर्क गर्दा, उनको मोबाइल एक सज्जनले भेट्टाएर बुझाइदिएका रहिछन् । २५ यूरो तिरेपछि उनले हराएको मोबाइल फिर्ता पाईछिन ।


केहि महिना पहिले अर्को एकजना सहपाठीले अलिकति दामसहित विभिन्न महत्वपूर्ण कागजात भएको हाते झोला पार्कमा हराएकी रहिछिन्, पछि पुलिसकोमा जाँदा ब्याग कसैले बुझाइदिएको रहिछ । त्यहाँ पुगेपछि, उनले आफ्नो हराएको सामान प्राप्त गरिछिन् । यस्तो सुन्दा मलाई अचम्मै लाग्यो । यो कस्तो देश हो जहाँ हराएको सामान हराउँदैन ? जहाँ हरायो भने नभेटिने एउटै चिज छ – साइकल ! 


साइकल बाहेक तपाइँ जे सुकै हराउनुस त्यो तपाइको स्वामित्वमा पुनः प्राप्त हुन्छ । छैन त अचम्म ?


कहिले हो सर्वाधिक बिक्रि हुने खबरपत्रिकामा अनुजा नामकी एउटी युवतीले ९० लाख भेट्टाएर फिर्ता गरिन रे भन्ने पढेको थिएँ । पछि फेरि अर्को पत्रिकाले खन्डन गर्यो त्यो नब्बे लाखको समाचारको कि अनुजा नामकी युवती दिमागी सन्तुलन ठिक नभएकी केटी रहिछन, संवाददातासँगको नजिकको सम्बन्धको फाइदा उठाउँदै हुँदै नभएको कुरा छपाउन लगाएकी रहिछन ! पछि साबित पनि भो समाचारै झुटो रहिछ । हुँदै नभएको कुरोले तहल्कै पिट्यो । तर जेभएपनि अर्काले भुलवशः छाडेको सामान वा नगद फिर्ता गर्ने संस्कार बसाल्नु पर्छ भन्ने मेरो मान्यता हो । र, फिनल्याण्डमा आएपछि नजिकैबाट यहाँका मानिसहरुको इमान्दारितालाई अध्ययन गरेपछि मनमा निकै कुरा खेल्न थालेको छ मेरो । हुन त हामी नेपालीहरुले आफैलाई सारै सोझा, इमान्दार छौ भनेर स्वघोषित पगरी गुथाएका पनि छौं तर दावी गरिए जस्तो हामीमा इमान्दारीता छ भन्ने विषयमा चाँहि मलाई निकै नै संशय छ !

Comments

Popular posts from this blog

को नायक? खलनायक को ?

बुडापेष्टको एउटा बगैंचामा राता र सेता गुलाफहरूबीच रहेको एक मूर्ति मुनि बसेर गिटार बजाउँदै गीत गाउँदै गरेका एक बुढा बाजेलाई खल्ति रित्ताएर पैसा दिन मन भएथ्यो । मसँग खल्ती भरी रूपैयाँ थिएन्, बुढीमाउलाई २ यूरो मागेर उनलाई दिएँ ।  बुढा बाजेले जर्मनमा केहि बोले, मैले नबुझेको अड्कल गरेर होला, उनले सोधे अङ्ग्रेजीमा "ह्वेय आर यू फ्रम ?" "नेपाल" मैले भनेँ । "वाउ क्याट्मान्डु ? यू केम फ्रम क्याटमान्डु टु बुडापेष्ट?" उनले बडो उत्साहित हुँदै प्रश्न गरे ।  मलाई झुटो बोल्न प्रायः सकस पर्छ, यसैकारण, मैले सत्य बोलिदिएँ - "नो सर। इट इज नट लाइक द्याट, आइ लिभ इन हेलसिन्की डिस्पाइट विइङ्ग ए नेपाली ।" (होइन् नी महोदय त्यसो । मान्छे नेपालको भएपनि क्याटमान्डु नभै हेलसिन्की बस्छु, म ।) छोटो तर यादगार कुराकानीमा ती बुढा बाजे आफूले नेपालका अग्ला हिमालहरू सम्झिएर, मलाई चाँहि मेरो घर सम्झाए । मैले नबुझ्ने भाषामा मन छुने संगित भरेर ती बाजेले  पूर्ववतः   गीतको भाका हाल्न थाले । उनको गायकी र उनले झंकार निकालेको गिटारको धुन पर पर सम्म पुगिरहेथ्यो, मानिसहरू प्रायः फर्केर एकपटक उ...

अनि रोशन भाइले टिपेछन् ६ बाल्टिन बेरी

गएको साल, हेर्दै कलिला देखिने दुई जना ठिटाहरू तिक्कुरिला रेल बिसौनीको कुनामा मस्त चुरोटको पफ लिदैं गरेका बेला, "भाइहरू नेपाली हो ?" भनेर मैले सोधेको थिएँ । मेरो प्रश्न भुँइमा झर्न नपाउँदै, आफूले तान्दै गरेको चुरोट आफ्नो साथीलाई दिदैँ, झन कलिलो देखिने ठिटोले भनेथ्यो, "हो दाई । कसरी पो ठम्याउनु भो ?"  दुई फरक मुहारको बनोट लिएका मानिसहरू सँगै बसेर एउटै चुरोट तान्दैछन् भने ती पक्कै नेपालीहरू हुनुपर्छ, त्यसमाथि तिमीहरू नेपाली मैं बातचित गर्दै थियौ नी त । मेरो जवाफ सुनेपछि त्यो ठिटोले कपाल कन्याउँदै भनेथ्यो, "हाउ दाजु पनि, सारै मजाको पो हुनुहुदोँ रहिछ !" मैले बात मार्न खोज्दा, निसंकोच बात मार्न खोज्ने ठिटो त पूर्वतिरको लिम्बु भाइ रहेछन् । अनि खासै बात मार्न नचाहने चाँहि रहिछन् - काठतिरका बाहुन भाइ ।  त्यो दिन ती भाइहरू हेलसिन्कीबाट सवा घण्टाको रेल यात्रामा पुगिने ठाउँबाट काम पाइने आशामा साथीलाई भेट्न आएका रहेछन् । आफूलाई भेट्न निम्ता दिएको साथीसँग भेट  नभएपछि  कामको खोजीमा हेलसिन्की झरेका उनीहरूलाई  आफू बस्ने ठाउँतिर फर्कने क्रममा मैले भेट्न पुगेको थिएँ । छोटो भ...

मेरो एउटा साथी छ (हुनुहुन्छ)

 " नीराजन, मेरो बेस्ट फ्रेन्ड हो ।" जन्मेर २६ वर्ष बिताएको देश नेपालमा मलाई यस्तो भन्ने कोही थिएन् । तर यतै फिनल्याण्ड आइपुगेपछि,  मलाई यस्तो भन्ने एक जना भेट्टिएकी थिइन् ।  जोसँग बसेर एकै कप चिया वा कफि पिएकै थिइँन्, मैले । मनभरीका बह न मैले उनीसँग केहि पोखेकै थिएँ, न त उनले विशेष केही त्यस्त्तो साझा गरेकी थिइन् मसँग । तर मलाई चिन्ने र मसँग सम्पर्कमा रहेका धेरै साथीभाइसँग उनले सुनाउन बिर्सेकी रहिन्छिन् कि निराजन उनको बेस्ट फ्रेन्ड हो ।  यो पढ्दै गर्दा यहाँलाई लाग्ला, कि आफूलाई बेस्ट फ्रेन्ड बताउने साथीका सम्बन्धमा लेख्ता पनि यसले किन भूतकालको प्रयोग गर्यो ? प्रश्न स्वभाविकै हो तर मेरो जवाफ अलिकति अस्वभाविक लाग्न सक्ला यहाँलाई । कि मलाई बेस्ट फ्रेन्ड भन्ने उनको, खासमा म  फ्रेन्ड पनि थिइँन् । न उनी थिइन्, मेरो कुनै त्यस्तो विशेष मित्र । बस्, हाम्रो सामान्य चिनजान मात्र थियो । केहि मानिसहरू हुँदारहेछन्, जो सामान्य चिनजानलाई मित्रताको नाम दिदाँरहिछन्, उनले जस्तै । अनि कोही यस्ता पनि हुँदा रहिछन् कि जोसँग हामी विशेष सामिप्यतामा भएको ठानेका हुन्छौं, तर उनीहरूका ...