Skip to main content

हराएको सामान नहराउने देश

“अस्ती काम परेर तिमीलाई कल गरेको थिएँ, कल ‘रिसिभ’ पनि भएन, पछि कल ‘ब्याक’ पनि गरिनौं !” मे महिनाको अन्तिम दोश्रो हप्तातिर सहपाठी शिल्पासँग गुनासो गरेको थिएँ मैले ।

जवाफमा उनले आफ्नो मोबाइल हराएको जानकारी गराएकी थिईन । गुनासो गरिरहेको मलाई सहानुभूति प्रकट गर्न कर लाग्यो । र, ढाढस दिदै भनेँ –“भेटिन्छ, चिन्ता नलेऊ । धेरैले भनेको सुनेको छु यहाँ हराएको सामान नपाउने भन्ने हुँदैन ।” उनले पनि मैले जस्तै सुनेकी रहिछिन । खैर मलाई मनमनमा लागेको थियो – पाँचसात सय यूरोको मोबाइल ख्वै के भेटिएला र ?!


यसो सोच्दछु, हाम्रो देशाँ एउटा केही सामान भेटियो भने सबभन्दा पहिले त्यो भेट्ने मान्छेले भगवानले जुराइदिएको ठान्छ । र, स्वतः आफ्नो स्वामित्वमा आएको ठान्दछ । मलाई राम्ररी याद छ, तिनताका म मावल बस्थेँ र आठ नौ बर्षको थिएँ । एकदिन मभन्दा २/३ वर्ष कम उमेरको एकजना छिमेकी भाइसँग बाटोमा हिड्दै थिएँ । मैले र त्यो भाइले एकसाथ आइसी सयको नोट बाटोमा देख्यौं । ऊ पनि – "उ पैसा" भन्ने मैले पनि "ओहो पैसा" भन्ने एकैसाथ भो' । म खुर्र दगुरेर पैसा टिपेँ र मामाघरतिर बुर्कुसी मारेँ । त्यो मेरो फुच्चे भाइ भुत्भुतिदै थियो । मैले केहि पर्वाह नगरी हठात् मामाघर कुदेको थिएँ ।

साँझ उसकी आमा मेरी बोइसँग त्यही विषयमा कुरा गर्न आइन् । उनको जिकिर थियो – “पैसो त शुरुमा हाम्रो रामकिस्नेले देखेको हो रे, तिम्रो नातीले टिपेर दगुरेछ !”


मेरी बोईले चाँहि मतिर देखाउँदै भन्नु भो – “त्यो मलाई थाहा छैन, त्यसैलाई सोध् ।” मैले प्रष्ट भन्देँ – "पैसो एकैचोटी देखेको हो, रामकिस्ने पनि दगुरेथ्यो उसलाई मैले जित्देँ, मैले टिपेँ । यो पैसा मेरो हो अब ।”


“के कुरा गर्छ यो ? सँगसँगै देखेको भए त पैसा बराबरी हुनुपर्यो नी !” उनले बिच्किदै भनिन । मेरो पालो म पिउँदापिउँदैको चियाको गिलास त्यत्तिकै छाडेर मामाको घरबाट खेतैखेत आफ्नो घरतिर कुदेको थिएँ ।


तर मोबाइल हराएको ९/१० दिनपछि उनको हातमा उस्तै मोबाइल देखेँ । सोधे पछि थाहा भयो – हराएको मोबाइलका बारेमा भिआर अफिस (रेल सेवाको कार्यालय) को 'लस्ट एण्ड फाउन्ड' शाखामा ८/९ दिनपछि सम्पर्क गर्दा, उनको मोबाइल एक सज्जनले भेट्टाएर बुझाइदिएका रहिछन् । २५ यूरो तिरेपछि उनले हराएको मोबाइल फिर्ता पाईछिन ।


केहि महिना पहिले अर्को एकजना सहपाठीले अलिकति दामसहित विभिन्न महत्वपूर्ण कागजात भएको हाते झोला पार्कमा हराएकी रहिछिन्, पछि पुलिसकोमा जाँदा ब्याग कसैले बुझाइदिएको रहिछ । त्यहाँ पुगेपछि, उनले आफ्नो हराएको सामान प्राप्त गरिछिन् । यस्तो सुन्दा मलाई अचम्मै लाग्यो । यो कस्तो देश हो जहाँ हराएको सामान हराउँदैन ? जहाँ हरायो भने नभेटिने एउटै चिज छ – साइकल ! 


साइकल बाहेक तपाइँ जे सुकै हराउनुस त्यो तपाइको स्वामित्वमा पुनः प्राप्त हुन्छ । छैन त अचम्म ?


कहिले हो सर्वाधिक बिक्रि हुने खबरपत्रिकामा अनुजा नामकी एउटी युवतीले ९० लाख भेट्टाएर फिर्ता गरिन रे भन्ने पढेको थिएँ । पछि फेरि अर्को पत्रिकाले खन्डन गर्यो त्यो नब्बे लाखको समाचारको कि अनुजा नामकी युवती दिमागी सन्तुलन ठिक नभएकी केटी रहिछन, संवाददातासँगको नजिकको सम्बन्धको फाइदा उठाउँदै हुँदै नभएको कुरा छपाउन लगाएकी रहिछन ! पछि साबित पनि भो समाचारै झुटो रहिछ । हुँदै नभएको कुरोले तहल्कै पिट्यो । तर जेभएपनि अर्काले भुलवशः छाडेको सामान वा नगद फिर्ता गर्ने संस्कार बसाल्नु पर्छ भन्ने मेरो मान्यता हो । र, फिनल्याण्डमा आएपछि नजिकैबाट यहाँका मानिसहरुको इमान्दारितालाई अध्ययन गरेपछि मनमा निकै कुरा खेल्न थालेको छ मेरो । हुन त हामी नेपालीहरुले आफैलाई सारै सोझा, इमान्दार छौ भनेर स्वघोषित पगरी गुथाएका पनि छौं तर दावी गरिए जस्तो हामीमा इमान्दारीता छ भन्ने विषयमा चाँहि मलाई निकै नै संशय छ !

Comments

Popular posts from this blog

अनि रोशन भाइले टिपेछन् ६ बाल्टिन बेरी

गएको साल, हेर्दै कलिला देखिने दुई जना ठिटाहरू तिक्कुरिला रेल बिसौनीको कुनामा मस्त चुरोटको पफ लिदैं गरेका बेला, "भाइहरू नेपाली हो ?" भनेर मैले सोधेको थिएँ । मेरो प्रश्न भुँइमा झर्न नपाउँदै, आफूले तान्दै गरेको चुरोट आफ्नो साथीलाई दिदैँ, झन कलिलो देखिने ठिटोले भनेथ्यो, "हो दाई । कसरी पो ठम्याउनु भो ?"  दुई फरक मुहारको बनोट लिएका मानिसहरू सँगै बसेर एउटै चुरोट तान्दैछन् भने ती पक्कै नेपालीहरू हुनुपर्छ, त्यसमाथि तिमीहरू नेपाली मैं बातचित गर्दै थियौ नी त । मेरो जवाफ सुनेपछि त्यो ठिटोले कपाल कन्याउँदै भनेथ्यो, "हाउ दाजु पनि, सारै मजाको पो हुनुहुदोँ रहिछ !" मैले बात मार्न खोज्दा, निसंकोच बात मार्न खोज्ने ठिटो त पूर्वतिरको लिम्बु भाइ रहेछन् । अनि खासै बात मार्न नचाहने चाँहि रहिछन् - काठतिरका बाहुन भाइ ।  त्यो दिन ती भाइहरू हेलसिन्कीबाट सवा घण्टाको रेल यात्रामा पुगिने ठाउँबाट काम पाइने आशामा साथीलाई भेट्न आएका रहेछन् । आफूलाई भेट्न निम्ता दिएको साथीसँग भेट  नभएपछि  कामको खोजीमा हेलसिन्की झरेका उनीहरूलाई  आफू बस्ने ठाउँतिर फर्कने क्रममा मैले भेट्न पुगेको थिएँ । छोटो भ...

बोई, बार्ह वर्षमा खोलो किन फर्किएन् ?

हिजो भर्खर जस्तो लाग्छ, २७ औं वसन्तमा हिड्दै गरेको म विना कुनै योजना देश छाडेर परदेश हिडेको । आज १२ वर्ष नाघिसकेछ, परदेश भनिएको ठाम देशजस्तै अनि देश ठानिएको ठाम परदेशजस्तै भएको । मेरी बोइ भन्नुहुन्थ्यो, "बार्ह बर्षमा खोलो फर्किन्छ ।" बार्है बर्ष वितिसकेछन्, म मान्छे भएर होला सायद आफूले आएको बाटैबाटो घर फर्किन नसकेको ! बोइ नफर्किने गरी गएको पनि ५ वर्ष त नाघिसकेछ, सायद अझै हुनुहुन्थ्यो भने फोन गरेर म सोध्दो हुँ, - बोइ बार्ह वर्षमा खोलो कसरी फर्किन्छ ? सिकाइमाग्दो हुँ फर्किने सुत्र, शिरोपर गर्दो हुँ ती सुत्रहरू र लाग्दो हुँ ढोडेनीको पक्की पुल तरेर किनारै किनार तेर्सिएर घैयारासम्म अनि अलिकति माथि उक्लिएर हाम्रा जिजुको पालादेखिको हाम्रो स्थायी ठेगाना उही ढुंगेपाली टोलमा । छिर्दो हुँ आफ्नै मेहनतले बनाएको साढे दुई तले पक्की घरको दैलोभित्र ।           दिनहरू यस्ता पनि थिए, जहिले म कविताहरू लेख्ने गर्थेँ । मेरा कविताहरूमा देश छाड्नेहरूलाई स्वदेशमैं बस्नु भनेर आव्हान हुने गर्थे । अहिले म तीनै कविताहरूका पात्र बनेर आफैले बाँच्नु परेको परिस्थितीलाई पचाउने प्रयत्न गर्दै...

घामको आरती पनि घण्टी बजाएरै हुन्छ

पछिल्लो पल्ट ब्लगपोष्ट सार्वजनिक गरेपछि ब्लगै नलेखी बसेको पनि तीन महिना बितिसकेछ । एउटै काममा स्थिरतापूर्वक लागिरहने बानी कहिल्यै परेन मेरो ! यस्तो बेला म मेरा एक मित्रलाई बेस्सरी याद गर्छु । कतिपय ब्लगपोष्टमा उनको नाम मैले उल्लेख गर्दै आएको छु, उनी प्रत्येक पल्ट त्यसमा असहमत हुँदै भन्छ्न् - "ह्या बुढो मान्छे! मेरो नाम आफ्ना पोष्टहरूमा उल्लेख नगर्नुस् न यार ।" उनले जति भनेपनि मैले बेला बेला उनको नाम उल्लेख गर्न छाडेको छैन्, ती मेरा मित्र लक्ष्मी भन्ने गर्छन्, "Consistency is key."  बडो विस्मयको कुरा यो छ कि मेरो मित्रले कुनै बेला (सायद अहिले पनि) बडो आदर्श मान्ने नेता प्रचण्ड सम्भवतः अहिले सम्मको नेपाली राजनैतिक इतिहासमा सबभन्दा बढी अस्थिरताको आरोप लागेका नेपाली नेता हुनुपर्छ । 'यस्ता अस्थिरताका नायक नै आदर्श नेता मान्ने मेरा मित्रका मुखारबिन्दबाट सुनेको भएकै कारण मैले ब्लग लेखनमा स्थिरता कायम गर्ने प्रयत्न नगरेको हुँ' भन्ने मेरो स्वीकारोक्ति हैन् । बरू, मित्रले भन्दाभन्दै पनि उनको नाम उल्लेख गरिराख्ने स्थिरता मैले कायम गरेको छु, जस्तो प्रचण्डले अस्थिर हुने ...