Skip to main content

त्यो क्रान्तिकारी जो किन मुस्कुराइरहन्थ्यो ?!

मलाई क्रान्तिकारीहरू मन पर्छ । मलाई जल्लादहरू मन पर्दैन । क्रान्तिकारीहरू ती हुन जोसँग सर्वहारावर्गको उत्थानको सपना हुन्छ । परिवर्तनको विश्वास हुन्छ ! महान कम्युननिष्ट क्रान्तिकारी माओत्सेतुङले भने झैं “जनताबाट सित्तैमा सियो र धागो पनि नलिने” ती क्रान्तिकारीहरूलाई म साँच्चिकै प्रेम गर्दछु । सम्मान गर्दछु । तर, म जल्लादहरूलाई मन पार्दिन । ती जल्लादहरू जो उनीहरुका कुकृत्यहरूका विरोधमा आवाज उठानेहरूको घाँटी रेट्छन, टाङ च्यात्छन वा शुलमा टाङगछन् । तर क्रान्तिकारीहरू त्यसो गर्दैनन बरु परिवर्तनको विश्वासमा आफ्नो नीजि स्वार्थलाई परित्याग गरेर क्रान्तिमा होम्मिन्छन् ।

देश युद्धमा होमिएको बेलाको कथा हो यो जतिखेर म भर्खर क्याम्पस शुरु गर्दैथे ! युद्ध उत्कर्षमा पुगेको थियो । राज्यले धेरै निर्दोषहरुलाई विद्युतिय धरापमा प्रयोग हुने बारुद, सयमिटर तार र ग्रिनेडसहित भेट्टाउथ्यो र दोहोरो भिडन्तमा आतंकवादीहरु हताहत हुन्थे ! हो, यो त्यतिखेरको त्रासदीपूर्ण समयको कथा हो जतिखेर विद्रोहीहरु सुराकीको बिल्ला भिराएर आफूभन्दा फरक विचार राख्नेहरुको सफाया गर्दथे । र, त्यहिबेला नै मैले भेटेको थिएँ एउटा यस्तो क्रान्तिकारी योद्धा जसमा मैले कहिल्यै आक्रोश भेटिनँ । मेरो त्यो आदर्श ब्यक्तित्व जोसँग बसेर खुल्ला बहस गर्दापनि मैले आफू असुरक्षित भएको महशुस गरिनँ । अहँ, उनीसँग तर्क गर्दै गर्दा मैले कहिल्यै डराउनु परेन ! उनी अर्थात गमबहादुर श्रीष !

सानो गाँठीका, उसै त सेतो अनुहार झन त्यसमा पनि चमक भएका यी हेर्दै रहरलाग्दा भूमिगत मनुवा बेलाबखत हाम्रो घरमा पनि बास बस्न आईपुग्थे । कहिले एक्लै, कहिले साथी लिएर ! शुरुशुरुमा यिनी आउथे अनि मेरा कम्युनिष्ट आदर्श शिरोपर गरेका पिताजीसँग भलाकुशारी गर्दथे । उहाँहरुको कुरो प्रायः त्यहि नै हुन्थ्यो कि युद्धको ब्यवस्थापन भैसकेपछि वा भैनसक्दा पनि मिल्ने मुद्धाहरुमा कार्यगत एकता हुन सक्दछ । हुनुपर्दछ । तर पार्टीगत एकता असम्भवप्रायः नै छ । यसरी पिताजीसँग कुराकानी गरेर खानपिन गरीसकेपछि सुत्न चाँहि उनले मेरो कोठामा आउनुपर्ने हुन्थ्यो । कारण, हाम्रो घरमा पाहुनाको लागि सुत्नेकोठाको अभाव थियो । अनि उनीसँग मेरो भलाकुशारी चल्थ्यो । मैले उनलाई “अंकल” भनेर सम्बोधन गर्ने गर्दथेँ । मेरो प्रश्न हुन्थ्यो – अङ्कल यसरी कहिलेसम्म लुकीलुकी हिड्ने ? मुस्कानसहितको उनको जवाफ हुन्थ्यो – “ख्वै बाबु ! सायद जहिले हाम्रो आवाज राज्यले सुन्छ त्यहिलेसम्म होला नी !” मैले फेरि सोध्थेँ – “युद्धमा बाँचिन्छ नै भन्ने त हुँदैन, बेकारमा यस्तो मर्ने काममा किन लाग्नुभएको ? डर लाग्दैन ?” फेरि पनि उनले मुस्कुराउन नबिर्सिकनै जवाफ फर्काउथे – “मृत्यु ध्रुवसत्य छ । ढिलो चाडो सबैले मर्नुपर्छ ! फरक यत्ति हो – कसले कस्तो मृत्यु मर्यो ? क्रान्तिमा लड्दालड्दैको बलिदानीको अर्थ अतुलनीय हुन्छ बाबु !” मलाई क्रान्तिकारी त लुसुनका कथाहरु पढ्दाखेरी हुन मन लागेको थियो, तर कुरा बुझ्ने भएपछि अझ घरमा अस्थाई सेल्टरका लागि आउने विद्रोहीहरुसँगको संगतपछि त झन क्रान्तिकारी बन्ने ठूलै हुटहुटी लागेको थियो । तर मैले उनीहरुले भनेको जस्तो आफूले अध्ययन गरिरहेको औपचारीक शिक्षालाई बहिष्कार गरेर हिड्ने हिम्मत गर्न सकिनँ । जेहोस धेरै समयसम्म विद्रोहीहरुको आउजाउ चल्यो हाम्रो घरमा । 

एक जिल्ला स्तरीय एमाले नेताको हत्या भयो म्याग्दीमा । एउटा क्रुरर हत्या ! घाँटी सेरेर हत्या गरे कथित क्रान्तिकारीहरूले ! त्यहि हत्याको केहि समयपछि मेरा आदर्श कम्युनिष्ट नेता श्रीष र गिरी थरका अर्का एकजना विद्रोहीका कार्यकर्ता हाम्रो घरमा बास बस्न आए । बा, आमा, भाई र म पिढीमा बसिरहेका थियौं । अभिवादनको आदानप्रदान भएपछि उनीहरुले खाना खान आएको र बास चाँहि उपल्लाचौर बस्ने भन्ने कुरो सुनाए । हाम्रो बा झन्किनु भो – “सुराकी पनि नगर्ने, खुराकी पनि नदिने निर्णय भएको छ पार्टीको !” बाले यसरी सिधैं बोलेको मलाई मन परिरहेको थिएनँ । त्यो बखत मैले मेरो आमाको मुहारमा पनि हेरको थिएँ, आमाले पनि बाबाको कुरा सुनेपछि मुख बिगार्नु भएको थियो । खासमा बाबाले यसो भन्दा उहाँलाई अप्ठयारो पर्ला कि भन्ने चिन्ता थियो हामीलाई ! तर श्रीषको मुहारमा चाँहि कुनै पनि खालको आक्रोश भेटिएन । त्यो साँझ एकछिन गफ गरेर मुस्कानसहित मेरा एक आदर्श कम्युनिष्ट नेता गमबहादुर श्रीष उनका सहकर्मीसहित उपल्लाचौर हान्निए । उनको यो विनयशीलताले त्यसबखत मलाई साँच्चीकै नतमस्तक पारेको थियो । भूमिगत मान्छे, उनले भिर्ने गरेको झोलामा पेस्तोल पनि त हुन सक्थ्यो ! मेरो बाबाको सिधा र चेतावनीयुक्त भाषा मन नपारेर उनले जे पनि गर्न सक्थे नि !

द्धन्दकालको एउटा तिहारतिरको कुरो हो, उनको दलको भातृसंगठनका युवा र हाम्रो गाउँको एक युवाको जुवाको खालमा झगडा परेछ । दुईजना लड्दाखेरी हाम्रा गाउँका युवालाई चोट पनि लागेको थियो । प्रत्यक्षदर्शीका अनुसार जुवा खेल्दै गरेकाहरुसँग जबरजस्ती जुवा बन्द गर्न पर्ने दवाव दिएपछि शुरु भएको पिटपाटमा दुवै जना घाईते भएका थिए । उनीहरुको घोषित नीति नै थियो उबेला कि जुवातास खेल्न वा खेलाउन नपाईने । तर यिनै क्रान्तिकारी नेता हुन जसले आफूहरुबाट केहि त्रुटी भएको बिनम्रतापूर्वक स्वीकार गरी हाम्रा गाउँका घाइते युवाको उपचारका लागि खर्च बापत २५ सय रुपैयाँ दिएका थिए । त्यो घटनापछि झन ममा यिनीप्रतिको सम्मान अझ अरु बढेर आयो ।

मलाई थाहा छैन, उनी खासमा एक ब्यक्तिका रुपमा कस्ता छन् ? एक नेताका रुपमा उनको ब्यवहार कस्तो छ ? तर यिनी म्याग्दीमा मैले भेटेका एउटै मात्र क्रान्तिकारी त्यस्ता नेता हुन जसको मुस्कानले मलाई धेरै पटक प्रेरित गरेको छ – शान्त बन्नका लागि ! उनी एउटा यस्तो क्रान्तिकारी योद्धा हुन भन्ने लाग्छ जो क्रान्तिको मैदानमा “गुलाफको फूल” बनेर मुस्कुराईरहेको छ !

Comments

लोकप्रिय पोष्टहरू

अनि रोशन भाइले टिपेछन् ६ बाल्टिन बेरी

गएको साल, हेर्दै कलिला देखिने दुई जना ठिटाहरू तिक्कुरिला रेल बिसौनीको कुनामा मस्त चुरोटको पफ लिदैं गरेका बेला, "भाइहरू नेपाली हो ?" भनेर मैले सोधेको थिएँ । मेरो प्रश्न भुँइमा झर्न नपाउँदै, आफूले तान्दै गरेको चुरोट आफ्नो साथीलाई दिदैँ, झन कलिलो देखिने ठिटोले भनेथ्यो, "हो दाई । कसरी पो ठम्याउनु भो ?"  दुई फरक मुहारको बनोट लिएका मानिसहरू सँगै बसेर एउटै चुरोट तान्दैछन् भने ती पक्कै नेपालीहरू हुनुपर्छ, त्यसमाथि तिमीहरू नेपाली मैं बातचित गर्दै थियौ नी त । मेरो जवाफ सुनेपछि त्यो ठिटोले कपाल कन्याउँदै भनेथ्यो, "हाउ दाजु पनि, सारै मजाको पो हुनुहुदोँ रहिछ !" मैले बात मार्न खोज्दा, निसंकोच बात मार्न खोज्ने ठिटो त पूर्वतिरको लिम्बु भाइ रहेछन् । अनि खासै बात मार्न नचाहने चाँहि रहिछन् - काठतिरका बाहुन भाइ ।  त्यो दिन ती भाइहरू हेलसिन्कीबाट सवा घण्टाको रेल यात्रामा पुगिने ठाउँबाट काम पाइने आशामा साथीलाई भेट्न आएका रहेछन् । आफूलाई भेट्न निम्ता दिएको साथीसँग भेट  नभएपछि  कामको खोजीमा हेलसिन्की झरेका उनीहरूलाई  आफू बस्ने ठाउँतिर फर्कने क्रममा मैले भेट्न पुगेको थिएँ । छोटो भ...

घर कहाँ हो दाजुको ?

अन्तिम पटक ह्वाट्स एपकलमा तेर्ह मिनेट कुराकानी भएको ठ्याक्कै तीन महिनापछि ह्वाट्स एपमा तिमीलाई मेरो पछिल्लो ब्लग पोष्टको लिंक साझा गरेथेँ, करिब तीन हप्तापछि आजै बुनेले मीठो टिप्पणीसहितको सन्देश प्रवाह गर्ने क्रममा अम्रिकाबाट सोधी पठायौ, "Dai, I have a question, where is home? Nepal or Finland?" सायदै बुने तिम्रो प्रश्न यत्तिमै मात्र सक्किन्थ्यो भनेपनि मैले सजिलै भनिदिन सक्थेँ होला जसरी हाम्रै म्याग्दीका लोकगायक खड्ग गर्बुजाले आफ्नो ' पिरती ' एल्बमको एक गीतमा सोध्दा प्रश्न, "घर कहाँ हो मायालु?" कति सजिलै जवाफ दिएथीन् गायिकाले, "हिमालको काखैमा ।" तर तिम्रो प्रश्नमा जवाफ मात्र दिएर पुग्थेन्, त्यसले अन्तःस्करणको भाव पनि जान्न चाहन्थ्यो किनकी त्यसमा तिमीले थपेर पठाएथ्यौ - "What is your feeling since you've lived so many years in Finland?" म फिनल्याण्ड टेकेको वर्षदिन पनि त पुगेको थिएन् जतिबेला सन् २०१३ को हिउँदमा फिनल्याण्डमा मलाई पहिलो कामका लागि भनसुन गर्दिनुभएका दाजु राजन सुवेदीले, तिम्रो जत्तिकै गम्भीर त होईन् तर सिधा प्रश्न गर्नु भएथ्...

मेरो एउटा साथी छ (हुनुहुन्छ)

 " नीराजन, मेरो बेस्ट फ्रेन्ड हो ।" जन्मेर २६ वर्ष बिताएको देश नेपालमा मलाई यस्तो भन्ने कोही थिएन् । तर यतै फिनल्याण्ड आइपुगेपछि,  मलाई यस्तो भन्ने एक जना भेट्टिएकी थिइन् ।  जोसँग बसेर एकै कप चिया वा कफि पिएकै थिइँन्, मैले । मनभरीका बह न मैले उनीसँग केहि पोखेकै थिएँ, न त उनले विशेष केही त्यस्त्तो साझा गरेकी थिइन् मसँग । तर मलाई चिन्ने र मसँग सम्पर्कमा रहेका धेरै साथीभाइसँग उनले सुनाउन बिर्सेकी रहिन्छिन् कि निराजन उनको बेस्ट फ्रेन्ड हो ।  यो पढ्दै गर्दा यहाँलाई लाग्ला, कि आफूलाई बेस्ट फ्रेन्ड बताउने साथीका सम्बन्धमा लेख्ता पनि यसले किन भूतकालको प्रयोग गर्यो ? प्रश्न स्वभाविकै हो तर मेरो जवाफ अलिकति अस्वभाविक लाग्न सक्ला यहाँलाई । कि मलाई बेस्ट फ्रेन्ड भन्ने उनको, खासमा म  फ्रेन्ड पनि थिइँन् । न उनी थिइन्, मेरो कुनै त्यस्तो विशेष मित्र । बस्, हाम्रो सामान्य चिनजान मात्र थियो । केहि मानिसहरू हुँदारहेछन्, जो सामान्य चिनजानलाई मित्रताको नाम दिदाँरहिछन्, उनले जस्तै । अनि कोही यस्ता पनि हुँदा रहिछन् कि जोसँग हामी विशेष सामिप्यतामा भएको ठानेका हुन्छौं, तर उनीहरूका ...

क्लोरिनको झोल, वैज्ञानिकहरू र मेरी बोइको मुड्की

मेरो बाल्यकाल लगभग बोईसँगै बित्यो । त्यो चकचक गर्ने समय भएकाले मेरो चकचकसँग बोईलाई बेलाबेलामा झिझो लाग्नु स्वभाविक नै थियो । त्यसैले मैले अति नै अटेर गरेपछि बोईले मलाई भन्नुहुन्थ्यो -  "अहिले गाडूँला मुड्की (मुड्कीले हान्छु) ।" तर अहँ कहिल्यै पनि एक झापड खानुपरेन । मुड्की नै खानु नपरेपछि मेरो चकचक थामिने कुरै थिएन, त्यसैले बोईले पनि मुड्की गाडूँला भन्न छाड्नुभएन अनि मैले चकचक गर्न । मेरी बोईले यस धरा छोडेको पनि यहि हिउँदमा बर्षदिन पुग्दैछ, तर बोईले भन्ने गरेको "अहिले गाडूँला मुड्की" मेरो मनमा गडिरहेको छ, अनि यसो सोच्छु, दुईचार पटक बोईले साँच्चिकै मुड्की गाड्नुभएको भए, मेरा चकचक उहिले पहिले नै खत्तम हुन्थे कि ?  तर खासमा चकचक भन्ने जिनिस त्यत्तिकै खत्तम भएर गैहाल्ने कुरो हैन रहेछ । न त यो उमेर बढ्दै गएपछि आफै घट्दै र पछि निस्तेज नै हुने रहेछ । यसले खासमा उमेर बढ्दै गएर केश पाक्दै गएपनि आफ्नो स्वरूपमा अलिकति फेरिदै तरह तरहका रूपमा प्रकट हुँदै पो जाँदो रहेछ कि ? भन्ने निचोडमा पुगेको छु । यस्तै केहि केश पाक्नै थालेका मान्छेहरूको चकचक कोरोनको त्रास बढ्दै गएपछि अलिकति भि...

बोई, बार्ह वर्षमा खोलो किन फर्किएन् ?

हिजो भर्खर जस्तो लाग्छ, २७ औं वसन्तमा हिड्दै गरेको म विना कुनै योजना देश छाडेर परदेश हिडेको । आज १२ वर्ष नाघिसकेछ, परदेश भनिएको ठाम देशजस्तै अनि देश ठानिएको ठाम परदेशजस्तै भएको । मेरी बोइ भन्नुहुन्थ्यो, "बार्ह बर्षमा खोलो फर्किन्छ ।" बार्है बर्ष वितिसकेछन्, म मान्छे भएर होला सायद आफूले आएको बाटैबाटो घर फर्किन नसकेको ! बोइ नफर्किने गरी गएको पनि ५ वर्ष त नाघिसकेछ, सायद अझै हुनुहुन्थ्यो भने फोन गरेर म सोध्दो हुँ, - बोइ बार्ह वर्षमा खोलो कसरी फर्किन्छ ? सिकाइमाग्दो हुँ फर्किने सुत्र, शिरोपर गर्दो हुँ ती सुत्रहरू र लाग्दो हुँ ढोडेनीको पक्की पुल तरेर किनारै किनार तेर्सिएर घैयारासम्म अनि अलिकति माथि उक्लिएर हाम्रा जिजुको पालादेखिको हाम्रो स्थायी ठेगाना उही ढुंगेपाली टोलमा । छिर्दो हुँ आफ्नै मेहनतले बनाएको साढे दुई तले पक्की घरको दैलोभित्र ।           दिनहरू यस्ता पनि थिए, जहिले म कविताहरू लेख्ने गर्थेँ । मेरा कविताहरूमा देश छाड्नेहरूलाई स्वदेशमैं बस्नु भनेर आव्हान हुने गर्थे । अहिले म तीनै कविताहरूका पात्र बनेर आफैले बाँच्नु परेको परिस्थितीलाई पचाउने प्रयत्न गर्दै...