Skip to main content

बोगटी सर - अँध्यारो बस्तीमा एउटा जून !

उनीहरुले उहाँलाई पागल भने । म भन्छु, उनीहरुले उहाँलाई पागल बनाए ! एउटा ओजिलो व्यक्तित्व ! एउटा ओजपूर्ण ब्यक्तित्व ! जो बाँचुञ्जेल गलत प्रवृती, कुरिती र गवाँरहरुका बिरुद्ध लडिरह्यो । त्यो ब्यक्तित्व – जसले एउटा शानको जीवन बाँच्यो, जसले चरम पीडा पनि भोग्यो ! जसलाई मान्छेहरुले हाईहाई गरे, जोसँग मान्छेहरु तर्कीतर्की पनि हिडे । त्यो शिक्षाको उज्यालो जसले पोखराका धेरै अँध्यारा बस्तीहरुमा ज्ञानको प्रकाश दिलायो, त्यो चम्किलो तारा जसले म्याग्दीमा उच्च शिक्षाको प्रवेश गरायो । हो, त्यहि प्रदिप्त नक्षत्र जसलाई मेरो जन्मभूमिले आफ्नो काखमा खेलाउने सौभाग्य प्राप्त गर्‍यो, त्यहि ब्यक्तित्व नाताले मेरो मावलतिरका हजुरबा ! र, सानिन्ध्यताले मेरो गुरू ! मेरो पथप्रदर्शक !

विराट ललाट भएका मान्छेहरुको भाग्य दरो हुँदैन । हो, मैले सुनेको मान्छेहरुले यसै भन्थे ! त्यस्तै विराट ललाट उहाँको पनि थियो मेरो आदरणिय गुरूको, मेरो बोगटी सरको ! म जान्दिनँ विराट ललाट भएकै कारण उहाँको भाग्य दरो थियो/थिएन । म यति जान्दछु, बोगटी सर भाग्यमा विश्वास गर्नु हुन्थेन । किनकी उहाँ भाग्यवादी हुनुहुन्थेन । उहाँका पुर्खाहरुले मन्दिर बनाए, उहाँले मूर्तिपूजा गर्नुभएन ! उहाँले भगवान मान्नुभएन । मलाई लाग्दछ, उहाँले जिन्दगीमा कहिल्यै भगवान भएको कुरोमा विश्वास गर्नुभएन ! 

“बोगटी सर ।” म्याग्दी क्याम्पसका सबै उरेन्ठेउला विद्यार्थीहरुलाई यो नाम काफि थियो । कसैको आँट थिएन क्याम्पसको पोशाक विना क्याम्पस आउने ! कसले गरोस् साहस ? – केटी जिस्काउने ! कसैको वसको कुरो थिएन – कक्षा चल्दै गर्दा हल्लीखल्ली गर्ने । किनकी, कडा मिजासको बोगटी सर विद्यार्थीहरु अनुशासित भएको हेर्न चाहनुहुन्थ्यो ! उहाँको विश्वास थियो – अनुशासनहिन विद्यार्थी अराजक हुन्छ, अराजक मान्छेले समाजको भलो गर्दैन ! 

धौलागिरि अञ्चलमै पहिलोपटक स्नातकोत्तर गर्नेहरु मध्येका एक त्यस्तो ब्यक्तित्व जसले पढाउँदा खेरी पाठ्यक्रम हेर्नु पर्थेन । र, जसले पढाउन नसक्ने विषय थिएन । बोगटी सर अङ्ग्रेजीमा दख्खल राख्नुहुन्थ्यो । अर्थशास्त्र उहाँको रोजाईको विषय ! राजनीतिक शास्त्रमा राम्रो दक्षता राख्नुहुने बोगटी सरलाई समाजशास्त्र र मानवशास्त्र अध्यापनमा असहज हुने कुरै भएन ! मलाई राम्ररी याद छ, आजभन्दा १२ बर्ष पहिले ब्यवस्थापन पढ्दै गरेको म, मेरो कक्षामा उहाँले नेपाल परिचय पढाउनुहुन्थ्यो । एउटा ‘आर्म चियर’ थियो हाम्रो कक्षाको कालोपाटी मन्तिर, त्यहि मेचमा आफ्नो देब्रे खुट्टामाथि दाहिने खुट्टा खप्टाएर उहाँ धाराप्रवाह “लेक्चर” दिनुहुन्थ्यो, म र मेरा साथीहरुलाई हतार हुन्थ्यो – उहाँको “लेक्चर” लाई कापिमा उतार्न । धेरै जनाले सरर लेख्नै सक्दैनथे, अनि उनीहरु एउटै तर कामेको स्वरमा बोल्थे – “सर अलि बिस्तारै भन्नु न !” त्यसो भन्नेहरुको जमाततिर आफ्ना ठूला प्राज्ञिक चक्षु केन्द्रित गर्दै केहिबेर अगाडि भनेको वाक्य जस्ताको तस्तै भनिदिनुहुन्थ्यो ! अनि फेरि लेख्न नभ्याएकाहरु लेख्न शुरु गर्थे । बोगटी सर धाराप्रवाह बोल्दै जानुहुन्थ्यो त्यतिन्जेलसम्म जतिन्जेल थापा दाईका हातले छुट्टी भएको घन्टी बजाउँदैनथे !

म्याग्देली शैक्षिक क्षेत्रमा उहाँले धेरै नै सुधार गर्नसक्ने प्रबल सम्भावनाहरु थिए, अपितु उहाँले सुधारात्मक काम गर्ने वातावरण पाउनुभएन । भिजन हुँदाहुँदै पनि उहाँलाई सफल हुन नदिने षडयन्त्रहरु भैरहे । ती षडयन्त्र कहिले पर्दाभित्र गरिए त कहिले पर्दाबाहिरै छताछुल्ल पोखिए । एकदिन क्याम्पस प्रशासन र तत्कालिन स्ववियू पदाधिकारीहरु मिलेर बोगटी सरको विरोधका नाममा कलेज बन्द गराउँदै थिए । क्याम्पसको गेटभित्र विद्यार्थीहरुलाई छिर्न दिइएको थिएन । क्याम्पस प्रशासनका काङ्ग्रेसी र स्ववियूका एमालेहरुले शिक्षाको प्रदिप्त ज्योतिलाई फगत “पागल” को बिल्ला भिराईदिए ! अनि बिद्यार्थीहरुलाई गेटबाहिरै राख्ने कुचेष्टा गरे । तर मलाई गर्व लाग्छ त्यो दिन बोगटी सरका लागि मैले मेरै गाउँले साथी बसन्त महतसँग मिलेर क्याम्पसको बन्द गेटभित्र जबरजस्ती छिर्ने प्रयास गर्‍यौं । हामी सफल भयौं । विद्यार्थीको पढ्न पाउने अधिकार उनीहरुले कुण्ठित गर्न पाएनन !

अन्तिम दिनहरुमा उहाँ ठिक पनि हुँदै जानुभएको थियो । म्याग्दी क्याम्पसबाट उहाँले विदा लिईसक्नुभएको थियो । र, उहाँको ज्यादातर बसाई गाउँमै हुन थालेको थियो । म्याग्दीमै खराव मानसिकता भएका मान्छेहरुको बसोबास हुने मेरो गाउँमा (त्यस मध्य एक म पनि हुन सकुँला !) रहेको पुरानो पाठशाला श्री भानु मा.वि. मा उहाँले शिक्षक अभिभावक संघको अध्यक्ष बनेर स्वयंसेवी काम थाल्नुभयो । विद्यालयमा फूलहरु रोप्न लगाउनुभयो । ती रोपिए । आफै कक्षा लिनुभयो, एक महान शिक्षकको कक्षामा हाजिर हुने अवसर प्राप्त गरे नादान गाउँलेका छोराछोरीहरुले ! केही परिवर्तन हुन्छ कि भन्ने आश देखियो । तर, अनुशासनहिन मान्छेहरुको जमातमा एक्लो बोगटी सरको के लाग्थ्यो ? केहि भएन । उहाँले त्यहाँ पनि केही सुधार गर्ने मौका पाउनुभएन । फूलहरु फेरि मरेर गए । ती फुल्न पाएनन !

मेरा आदर्श ब्यक्ति बोगटीसर जब मृत्यु शैयामा पुग्नुभो, अनि मान्छेहरुले भने – म्याग्दीले शिक्षाको उज्यालो नक्षत्र गुमायो ! अपुरणीय क्षति भयो । मान्छेहरु भित्रभित्र त के भए तर उनीहरुको मुहारमा मलिनता देखेँ मैले । रोए जस्तो पनि गरे उनीहरू । धेरैका लागि बोगटी सर मरेर गएहोलान तर मेरा लागि उनी अझै जिवित छन् । उनले मलाई अझै प्रेरित गरिरहेछन् – “बाबु, यो समाजमा ब्याप्त कुरितीको प्रतिकार तिमी सद्दे भएर गर्न सक्दैनौ भने तिमीले पागल भएपनि केहि फरक हुँदैन । परिवर्तन अपरिहार्य छ, त्यसका लागि शिक्षाको ज्योती आवश्यक छ !”

Comments

Popular posts from this blog

अनि मलाई खुबै राजनीति लाग्छ ...

कहिले काही मैले फोकस गुमाएको जस्तो मेरा नजिकका प्रिय मान्छेहरूले महशुस गर्नुहुन्छ ।  राजन दाईले अस्ति फोन गरेपछि पो झल्याँस्स भएँ । वहाँको गुनासो मिश्रित प्रश्नले सिधै मेरो दिमागमा झड्का दिन पुग्यो, दाईसँग खास घुलमिल नभएकाहरूलाई चाँहि वहाँको प्रश्नले दिमागमा हैन् सिधैं मुटुमा हान्न सक्छ । वहाँका प्रायः प्रश्नहरू तारा खेलमा निशाना लगाउन प्रयोग हुने वाण जस्तो सिधा र तिखो हुन्छन् । जस्तो मेरो दिमाग मैं झङ्कार लेराउने प्रश्न थियो वहाँको,  "हैन पाक्षिक रूपमा ब्लग अद्यावद्यिक (अपडेट) गर्छु भन्या हैन् ? एक महिना पुग्न लाग्यो त सर !"    मलाई व्यंग्य गर्नुपर्दा दाइले सर भन्नुहुन्छ, अनि वहाँलाई चाहिँ म भन्छु, साहुजी । यत्तिमा मात्र दाजुको प्रश्न सिमित हुन्थ्यो भने, सायदै म आजको यो ब्लग लेख्न बस्थेँ । तर वहाँको प्रश्नसँग व्यंग्यमिश्रित सानो जिज्ञासा पनि थियो, "खुबै चुनाव लाग्या छ हैन् तिमीलाई !?" यो जिज्ञासामिश्रित व्यंग्य हो या व्यंग्य मिसिएको जिज्ञासा । या यो जिज्ञासा हुँदै नभएर केवल व्यंग्य मात्र थियो । तर जेहोस् यो केहि न केहि चाँहि पक्कै थियो ।  खुबै चुनाव लाग्ने आफत ...

को नायक? खलनायक को ?

बुडापेष्टको एउटा बगैंचामा राता र सेता गुलाफहरूबीच रहेको एक मूर्ति मुनि बसेर गिटार बजाउँदै गीत गाउँदै गरेका एक बुढा बाजेलाई खल्ति रित्ताएर पैसा दिन मन भएथ्यो । मसँग खल्ती भरी रूपैयाँ थिएन्, बुढीमाउलाई २ यूरो मागेर उनलाई दिएँ ।  बुढा बाजेले जर्मनमा केहि बोले, मैले नबुझेको अड्कल गरेर होला, उनले सोधे अङ्ग्रेजीमा "ह्वेय आर यू फ्रम ?" "नेपाल" मैले भनेँ । "वाउ क्याट्मान्डु ? यू केम फ्रम क्याटमान्डु टु बुडापेष्ट?" उनले बडो उत्साहित हुँदै प्रश्न गरे ।  मलाई झुटो बोल्न प्रायः सकस पर्छ, यसैकारण, मैले सत्य बोलिदिएँ - "नो सर। इट इज नट लाइक द्याट, आइ लिभ इन हेलसिन्की डिस्पाइट विइङ्ग ए नेपाली ।" (होइन् नी महोदय त्यसो । मान्छे नेपालको भएपनि क्याटमान्डु नभै हेलसिन्की बस्छु, म ।) छोटो तर यादगार कुराकानीमा ती बुढा बाजे आफूले नेपालका अग्ला हिमालहरू सम्झिएर, मलाई चाँहि मेरो घर सम्झाए । मैले नबुझ्ने भाषामा मन छुने संगित भरेर ती बाजेले  पूर्ववतः   गीतको भाका हाल्न थाले । उनको गायकी र उनले झंकार निकालेको गिटारको धुन पर पर सम्म पुगिरहेथ्यो, मानिसहरू प्रायः फर्केर एकपटक उ...

यो के गर्यौ तिमीले मेरा प्यारा हन्तकालीहरू हो?

"सर, चाउमिन बाँकी रह्यो । एक प्लेट थपिदिऊँ ?" स्कुलको क्यान्टिनका मुख्य कुक पाण्डे दाईले मलाई कान मैं आएर भनेपछि मैले नाइँ भन्नुपर्ने कारण देखिनँ ।  वाइवाइ चाउचाउको चाउमिन यस्तो मीठो थियो कि एक प्लेट खाँदा पनि मेरो जिब्रोको भोक मेटिएकै थिएन् । मैले अर्को प्लेट हसुरेँ ।  पाण्डे दाईले थपिदिएको त्यो उभ्रेको एक प्लेटबाट दोस्रो चोटी काँटामा बेरेर मैले मुखमा पुर्याउनै आँटेको के थिएँ, टेबलटेनिसको पुरानो हरियो टेबलमाथि बसेर भर्खर सकिएको दोस्रो त्रैमासिक परीक्षाको कापि जाँच्दै गरेका जनसंख्या शिक्षक एवं म अध्यापनरत विद्यालयका संस्थापक नराम्ररी बिच्किए । भन्दै थिए, "यहाँ आफूले एक प्लेट पाइया छैन्, सरले दुइ प्लेट नै उठाइदिने ?"  भोकले रन्थनिएका केसी सरले अहिले मैले मिलाएर लेखेको भन्दा तिखा शब्दहरू उनेर केहि भनेका थिए । सायद उनको ठाउँमा म र मेरो ठाउँमा उनी भएका भए त्यसबखत उनले मलाई मारेभन्दा बड्ता पेचिलो डायलग म मार्ने थिएँ होला । डायलग मार्न म बच्चैदेखि खप्पिस हुँ ।  तर त्यो वखत डायलग बेहोर्नेमा म थिएँ, मार्ने अर्को कोही । एकैछिन अघिसम्म मीठो भएको त्यो वाइवाइ चाउचाउको चाउमिन के...