Skip to main content

म र मेराे झाेले अभियान :)

पौने चार बर्ष पहिले मध्य साउन मासको एक दिन म चौराखेतको ओरालो झर्दै थिएँ, चौरको फाँटमा अन्तिम हल रोपाइँको काम चल्दै थियो । मेरा आँखा शिबालय मन्दिर नेर ओरालोबाट माथितिर आउँदै गरेको एक जना भाईमा गएर ठोक्किए । त्यो भाई जसलाई म सानैदेखि कलमकापी दिने गर्थेँ । उसले प्रवेशिका उत्तीर्ण गरेको एक महिना हुँदै थियो । ऊ नेर पुगेपछि मैले मेरो मोटरसाइकलको ब्रेक लगाएँ । डोको छड्के पारेर बोकेको थियो उसले । झण्डै विशिष्ट श्रेणीको अंक ल्याएर प्रवेशिका पास गरेको उसलाई मैले बधाई दिएँ । उसले मुस्कुराएर धन्यवाद भन्यो । उसका केही साथीहरु उच्च शिक्षा अध्ययनका लागि बजारतिर भर्ना फाराम लिन गएको देखेको मैले उसलाई भने त्यहाँ देखेपछि आश्चर्यतापूर्वक सोधेको थिएँ – भाई अब एघार चाँहि कहाँ पढ्ने बिचार गरेका छौं ? ऊ निशब्दः रह्यो ! मैले धेरै बल गरेपछि उसले भन्यो – “दाई, अब पढाई अगाडि बढ्दैन जस्तो छ । आमाले अब यहाँसम्म पढाईदिए त्यहाँभन्दा उता त गार्हो हुन्छ मलाई भन्नुहुन्छ ।” निशब्दः हुने पालो अब मेरो थियो । म चुपो लागेँ । र, मोटरसाइकल अगाडि बढाउँदै गर्दा मैले अलिपर पुगेको उसलाई हेरेर बोलेँ – “बिदुर, पाठ्यपुस्तक किन्ने, भर्ना हुने र पोशाक किन्ने पैसा मैले दिएँ भने पढ्छौ नी ?” थोरै उज्यालो अनुहार पारेर उसले प्रतिप्रश्न ग¥यो – “अनि मन्थली फि ?” मैले केही नबोली मोटरसाईकल अगाडि बढाएँ !
त्यही साँझ मैले भर्खरभर्खर शुरु गरेको गाउँको ब्लगमा विदुरको बारेमा लेखेर पोष्ट गरेको थिएँ । जसको २ दिन पछाडी स्पेनबाट मेरा मामा राजु थापाले रु. ३ हजार सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । अनि त कोरियाबाट गोपालदाईले भोलिपल्टै १० हजार पठाईदिनु भो, पर्सिपल्ट डेनमार्कबाट शिबले १० हजार पठाईदिए । सहयोगीहरु बढ्दै गए । ४७ हजार रकम जम्मा भयो । विदुरको उच्च शिक्षाका लागि केही रकम संकलन भएको अवगत गराएपछि विद्यालयका विज्ञान शिक्षक दलजीले अर्को एक कमजोर आर्थिक स्थिती भएका भाईको बारेमा जानकारी गराउनु भो । दुवैजनाको सबै खर्च बेहोरेर पढाउनु त मेरा लागि असम्भवप्रायः नै थियो, त्यसकारण भर्खर उच्च मा.वि. सञ्चालन भएको माउण्ट एभरेष्टका प्राचार्य एवं मेरा मित्र राजु के.सी. लाई दुई मेधावी छात्रहरुका बारेमा जानकारी गराएपछि माशिक शुल्क मिनाहा गर्दिने प्रतिबद्धता गरिदिए । पछि रकम हस्तान्तरण कार्यक्रममा उनैलाई प्रमुख अतिथि बनाएर जनही दश हजार हस्तान्तरण गर्ने काम सम्पन्न पनि भयो । मैले संयोजन गरेको झोले अभियानकै कारण उच्च शिक्षा हासिल गर्ने अवसर प्राप्त गरेका दुवैजना भाइहरु अहिले स्नातक अध्ययनरत छन् । र, त्यही झोले अभियानमा संकलित रकम मध्ये बाँकी २७ हजार अहिले पनि बैङ्कमा छ । म त्यो रकम उनीहरु जस्तै मेधावी भाईबैनीहरुको उच्च शिक्षा अध्ययनको उत्कट चाहना पूरा गर्नमा खर्च होस् भन्ने चाहन्छु । यसरी केही ब्यक्तिहरुबाट अलिअलि गरी संकलित गरिएको रकमले दुई होनहार किशोरहरुको सपना मर्न पाएन । हो, उनीहरुको सपनाले अंकुराउने अवसर पाएको छ अहिले ।
मेरो उत्कट सदिच्छा हो कि मेरो देशमा कोही पनि नागरिकले आर्थिक दरिद्रता वा जातिय पृष्ठभूमीकै कारण पछाडी पर्न नपरोस् । हरेक नागरिकले उसले इच्छाए अनुरुप आफूलाई विकास गर्न पाओस् । र, त्यसको सम्पूर्ण ब्यवस्थापन राज्यले गर्न सकोस् । तर, हाम्रो जस्तो नियतवश पछाडी पारिएको र परिवर्तनका लागि इच्छाशक्ति क्षीण भएका नेताहरुका कारण तत्काल यस्तो हुन सम्भव छैन । त्यसैले त जाजरकोट अनि डडेल्धुराका हाम्रा मान्छेहरु झाडापखालाकै कारण जीवन गुमाउन विवश छन् । तराईका हाम्रा होनहार छोराछोरीहरुको शितलहरका कारण कठ्याङ्ग्रिएर प्राणपखेरु उडेको छ ।  अनि त रविन्द्र मिश्रहरु अगाडि आउनुपरेको छ – पहाडी गाउँमा आधारभूत स्वास्थ्य सेवा पुर्याउनलाई ! विद्यालयको छानो हाल्नलाई ! अनि हरेक ठन्डी महिनाहरुमा शहरका मान्छेहरुलाई आव्हान गर्नलाई – नयाँ या पुराना प्रयोग गर्न मिल्ने लत्ता कपडाहरु हामीलाई दिनुस् भन्नलाई ! के एउटा रविन्द्र मिश्र र उनका दुईचारसाथीहरुले अभियान चलाउँदैमा नेपालमा आधारभूत स्वास्थ्य सेवा उपलब्ध भैहाल्ने हो त ? उत्तम सञ्जेलले दुईचार स्कुलहरु खोल्दैमा बिद्यालयको पहुँचमा नपुगेका नानीबाबुहरु नाममात्रको शुल्क तिरेर गुणस्तरीय शिक्षा प्राप्त गर्न सक्दछन् त ? पुष्पा बस्नेतले जेलमा परेका अभिभावकहरुका नानीबाबुहरुलाई आफूसँग राखेपनि अझै पनि सयौं नानीबाबुहरु जेलमै आफ्ना अभिभावकसँग बस्न बाध्य छन्  ! हो, विषयहरु गम्भीर छन् ! जटिल पनि छन् ! अब त्यसो भन्दैमा कसैले पनि केही नगर्ने ? 
झोले अभियानले केही पनि हुँदैन, परिवर्तनको छलाङ मार्न राज्यले जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्नुपर्छ भन्ने कुरोमा म सहमती राख्दछु । किन्तु, त्यसो भन्दैमा दुःखी, असहाय र गरिबहरुको उत्थानका लागि स–साना सहयोगले केही पनि भूमिका खेल्दैनन भन्नेमा म पूर्ण असहमत छु । किनकी म रविन्द्र मिश्रले परोपकारी अभियान स्थगित गरेको सुन्न चाहँदिन् । पुष्पा मामुले जेलमा बस्न विवश नानीबाबुहरुको उत्थानमा खेलेको भूमिकालाई निष्क्रिय गरेको सुन्न सक्दिन म । उत्तम सञ्जेलहरुको समता स्कुल चलिराख्नुपर्छ । र, मेरा हितैषीहरुको जस्तै कोकोहोलोमा पनि म साना झोले अभियानलाई स्थगित गर्न सक्दिनँ । म समाज परिवर्तनका लागि आफ्नो सक्रिय भूमिका सदा क्रियाशिल रहोस् भन्ने चाहना राख्ने मान्छे हुँ । म आफूसँग अरुले पनि निर्विघ्न हाँस्न/बाँच्न पाऊन भन्ने सदिच्छा राख्ने युवा हुँ !
झोले अभियान सञ्चालक 

Comments

Popular posts from this blog

अनि रोशन भाइले टिपेछन् ६ बाल्टिन बेरी

गएको साल, हेर्दै कलिला देखिने दुई जना ठिटाहरू तिक्कुरिला रेल बिसौनीको कुनामा मस्त चुरोटको पफ लिदैं गरेका बेला, "भाइहरू नेपाली हो ?" भनेर मैले सोधेको थिएँ । मेरो प्रश्न भुँइमा झर्न नपाउँदै, आफूले तान्दै गरेको चुरोट आफ्नो साथीलाई दिदैँ, झन कलिलो देखिने ठिटोले भनेथ्यो, "हो दाई । कसरी पो ठम्याउनु भो ?"  दुई फरक मुहारको बनोट लिएका मानिसहरू सँगै बसेर एउटै चुरोट तान्दैछन् भने ती पक्कै नेपालीहरू हुनुपर्छ, त्यसमाथि तिमीहरू नेपाली मैं बातचित गर्दै थियौ नी त । मेरो जवाफ सुनेपछि त्यो ठिटोले कपाल कन्याउँदै भनेथ्यो, "हाउ दाजु पनि, सारै मजाको पो हुनुहुदोँ रहिछ !" मैले बात मार्न खोज्दा, निसंकोच बात मार्न खोज्ने ठिटो त पूर्वतिरको लिम्बु भाइ रहेछन् । अनि खासै बात मार्न नचाहने चाँहि रहिछन् - काठतिरका बाहुन भाइ ।  त्यो दिन ती भाइहरू हेलसिन्कीबाट सवा घण्टाको रेल यात्रामा पुगिने ठाउँबाट काम पाइने आशामा साथीलाई भेट्न आएका रहेछन् । आफूलाई भेट्न निम्ता दिएको साथीसँग भेट  नभएपछि  कामको खोजीमा हेलसिन्की झरेका उनीहरूलाई  आफू बस्ने ठाउँतिर फर्कने क्रममा मैले भेट्न पुगेको थिएँ । छोटो भ...

बोई, बार्ह वर्षमा खोलो किन फर्किएन् ?

हिजो भर्खर जस्तो लाग्छ, २७ औं वसन्तमा हिड्दै गरेको म विना कुनै योजना देश छाडेर परदेश हिडेको । आज १२ वर्ष नाघिसकेछ, परदेश भनिएको ठाम देशजस्तै अनि देश ठानिएको ठाम परदेशजस्तै भएको । मेरी बोइ भन्नुहुन्थ्यो, "बार्ह बर्षमा खोलो फर्किन्छ ।" बार्है बर्ष वितिसकेछन्, म मान्छे भएर होला सायद आफूले आएको बाटैबाटो घर फर्किन नसकेको ! बोइ नफर्किने गरी गएको पनि ५ वर्ष त नाघिसकेछ, सायद अझै हुनुहुन्थ्यो भने फोन गरेर म सोध्दो हुँ, - बोइ बार्ह वर्षमा खोलो कसरी फर्किन्छ ? सिकाइमाग्दो हुँ फर्किने सुत्र, शिरोपर गर्दो हुँ ती सुत्रहरू र लाग्दो हुँ ढोडेनीको पक्की पुल तरेर किनारै किनार तेर्सिएर घैयारासम्म अनि अलिकति माथि उक्लिएर हाम्रा जिजुको पालादेखिको हाम्रो स्थायी ठेगाना उही ढुंगेपाली टोलमा । छिर्दो हुँ आफ्नै मेहनतले बनाएको साढे दुई तले पक्की घरको दैलोभित्र ।           दिनहरू यस्ता पनि थिए, जहिले म कविताहरू लेख्ने गर्थेँ । मेरा कविताहरूमा देश छाड्नेहरूलाई स्वदेशमैं बस्नु भनेर आव्हान हुने गर्थे । अहिले म तीनै कविताहरूका पात्र बनेर आफैले बाँच्नु परेको परिस्थितीलाई पचाउने प्रयत्न गर्दै...

को नायक? खलनायक को ?

बुडापेष्टको एउटा बगैंचामा राता र सेता गुलाफहरूबीच रहेको एक मूर्ति मुनि बसेर गिटार बजाउँदै गीत गाउँदै गरेका एक बुढा बाजेलाई खल्ति रित्ताएर पैसा दिन मन भएथ्यो । मसँग खल्ती भरी रूपैयाँ थिएन्, बुढीमाउलाई २ यूरो मागेर उनलाई दिएँ ।  बुढा बाजेले जर्मनमा केहि बोले, मैले नबुझेको अड्कल गरेर होला, उनले सोधे अङ्ग्रेजीमा "ह्वेय आर यू फ्रम ?" "नेपाल" मैले भनेँ । "वाउ क्याट्मान्डु ? यू केम फ्रम क्याटमान्डु टु बुडापेष्ट?" उनले बडो उत्साहित हुँदै प्रश्न गरे ।  मलाई झुटो बोल्न प्रायः सकस पर्छ, यसैकारण, मैले सत्य बोलिदिएँ - "नो सर। इट इज नट लाइक द्याट, आइ लिभ इन हेलसिन्की डिस्पाइट विइङ्ग ए नेपाली ।" (होइन् नी महोदय त्यसो । मान्छे नेपालको भएपनि क्याटमान्डु नभै हेलसिन्की बस्छु, म ।) छोटो तर यादगार कुराकानीमा ती बुढा बाजे आफूले नेपालका अग्ला हिमालहरू सम्झिएर, मलाई चाँहि मेरो घर सम्झाए । मैले नबुझ्ने भाषामा मन छुने संगित भरेर ती बाजेले  पूर्ववतः   गीतको भाका हाल्न थाले । उनको गायकी र उनले झंकार निकालेको गिटारको धुन पर पर सम्म पुगिरहेथ्यो, मानिसहरू प्रायः फर्केर एकपटक उ...