Skip to main content

हामी, दिलशोभा र हाम्रा अखबारहरू

तस्वीर श्रोतः द मेटा पिक्चर
यिनै अखबारहरु हुन् जसले मलाई दिलशोभाका बारेमा बताए । यिनै अखबारहरु हुन् जसले मलाई दिलशोभा चिनाए । उनको त्याग, समर्पण, अनि समाजसेवाप्रतिको लगावका बारेमा जानकारी गराए । म उसैउसै प्रफुल्ल हुँदै आएँ – सोचेर कि अत्यन्तै व्यक्तिवादी भएको मेरो नेपाली समाजमा उनीजस्ता महान नारीहरु पनि छन् जसले सडकमा फ्याँकिएका वृद्धा आमाहरुलाई आफ्नो नीजि घरमा आफ्नै सिमित आयश्रोतका भरमा बसोबासको ब्यवस्था मिलाईन । र, उनै दिलशोभा हुन जसले सडकमा पुगेका बालबालिकाहरुलाई न्यानो काख दिईन । विभिन्न आर्थिक सीमाहरुका बाबजुद पनि बालबालिका र वृद्धाहरुलाई दुई छाक खान, एकसरो लगाउन र ओत लाग्ने घर दिईन । अनि अमूल्य आफ्नो माया दिएर राखिन । राखेकीछिन् ! 

यी सबैसबै खबरहरु, जानकारीहरु मैले अखबारहरुमा पढेर नै थाहा पाएको हो । तर उनी एक महान ब्यक्तित्व हुन भन्ने धारणा चाँहि फगत अखबारहरु पढेर बनाएको हैन मैले । मैले उनका अन्तरवार्ताहरु पढ्दा र हेर्दा उनको मनोविज्ञानलाई पनि सँगसँगै बुझ्ने यत्न गर्दै आएको छु । र मेरा बुझाईहरु भन्दछन् – दिलशोभा सपाट छिन् । सफा छिन् । महान हृदयकी खानी हुन् उनी !

मान्छेहरु वृद्ध आमाबाबुलाई सडकमा फ्याँकिरहेका छन् । त्यसरी आमाबाबुलाई सडकमा पुर्‍याउनेहरु गरिव छोराछोरीहरु मात्र छैनन् धनको रासमा विराजमान छोराछोरीहरु पनि छन् । किन यसरी सडकमा पुर्‍याइएका छन् हाम्रा असहाय आमाबाबुहरु ? मान्छेहरु किन यसरी कठोर बन्दै छन् ? किन पत्थर बन्दै छौं हामीहरु ? किनकी सेवा गर्नका लागि धनको खासै ठूलो महत्व नहुँदो रहिछ । किनकी सेवाका लागि सबभन्दा प्रधान कुरो सफा र सहयोगी मन चाहिँदो रहिछ ! 

हुन त मान्छेहरु यसमा राज्यको भूमिका जिम्मेवार देख्दछन् । तर यथार्थ के हो भने हाम्रो राज्य कहिल्यै पनि कुनै पनि विषयमा उति जिम्मेवार भएर लागेन । यो तीतो यथार्थ हो । राज्य जिम्मेवार हुन्थ्यो भने किन पुष्पा बस्नेतले आफ्नो युवा उमेर जेलमा परेका अभिभावकहरुका नानीबाबुहरुलाई उद्धार गर्दैमा बलि दिनुपथ्र्यो ? किन अनुराधा कोइरालाले आफ्नो सम्पूर्ण जोवन सीमामा बेचिन लागेका नादान नेपाली चेलीहरूको उद्धारका लागि व्यतित गर्नु पथ्र्यो ? किन सडक बालबालिका उद्धारका बहानामा सयौं होडिङ बोर्डहरू हाम्रा शहरहरुमा झुन्डिन्थे होला ? किन हजारौ प्रतिवेदन तयार पारिन्थे होला ? किन डलरको खेती यस्तरी मौलाउथ्यो होला र ? अनि फेरि सरकारकै भूमिका जिम्मेवार देख्नेहरुको रुवाई चर्को छ – दिलशोभाको बदनाम गर्नलाई ! के अब कुनै पनि ब्यक्तिको देवत्वकरण र राक्षसीकरण मिडियामा उसका बारेमा आउने खबरहरुले नै निर्धारण गर्ने हुन ? के ब्यक्ति कति जायज वा नाजायज छ भन्ने तथ्यको निक्र्याैल उसको कर्मले निर्धारण नगर्ने नै हो त ? 

ब्यक्ति, घटना, वा विषयवस्तुका बारेमा गहिरो खोज नगरी किन हावादारी पत्रकारीता गरिरहेछन् हाम्रा पत्रकारबन्धुहरु ? किन ९० लाख नभेट्टाइकनै अनुजाहरू राष्ट्राध्यक्षको बधाई पाउँछन् ? किन सबभन्दा पहिले न्यूज ब्रेक गर्ने प्रतिस्पर्धामा हाम्रा पत्रकार साथीहरु मिनेट–मिनेटमा एउटा जहाज हराएको, दुर्घटना भएको, विमानस्थलको टावरसँग सम्पर्क विच्छेद भएको खबरहरू सम्प्रेषण गर्छन् ? अनि किन पत्रकारहरु कुनै पनि विषयमा यति धेरै आग्रह वा पूर्वाग्रह राख्दछन् ? प्रसंग दिलशोभाको मात्र हैन, यस्ता थुप्रै दिलशोभाहरु जन्माइएका छन्, अनि अवसान गराइएका छन् । एउटै व्यक्तिलाई यी कलम समात्नेहरु कहिले सम्मानको सगरमाथा चढाउँछन् त कहिले रछ्यानमा पुर्‍याउँछन् । कि पत्रकारीताका आफ्नै विशिष्ट मूल्य मान्यताहरु हुँदैनन् ? कि पत्रकारहरुलाई जे पनि लेख्न पाउने छुट छ ? के अनुसन्धान नै नभएका विषयहरुमा पत्रकारले यो वा त्यो भनेर प्रतिवेदन शैलीको समाचार लेख्न पाउने हो ? के हाम्रा मिडियाहरुलाई जिम्मेवार हुनु पर्दैन ? 

पत्रकारको खोल ओढेर राजनैतिक दलका नेताहरुको चाकडी गर्ने, विभिन्न कुटनैतिक नियोगका ककटेल पार्टीमा गै देशको स्वाधिनता र सार्वभौमिकतालाई डलरसँग किनवेच गर्ने, तस्करी गर्ने, अपराधीहरुसँग साँठगाँठ गर्ने, मान्छेहरुका नितान्त ब्यक्तिगत कुराहरुमा अनावश्यक पहुँच पुर्‍याई उनीहरुको गल्तीबाट आर्थिक लाभ लिने पत्रकारहरुको ठूलो जत्था सक्रिय रहेको हाम्रो जस्तो देशका पत्रकारहरूबाट समाज परिवर्तन र राष्ट्रिय हितमा लागि परेकाहरूको विषयलाई पेचिलो तरिकाले उजागर गरी सारा नेपाली जनसमुदायमा सकारात्मक आशाको संचार गराउने खबरहरु अपेक्षा गर्नु बेकार हो ! यी हाम्रा मनोविज्ञानसँग खेलावाड गर्दै छन् । यी सधैं हामीभन्दा माथि पर्दै आएका छन् । यीनले हामीलाई बेच्न मिल्ने/नमिल्ने सबै खालका खबरहरु जबरजस्ती भिडाईरहेका छन् । हो, पत्रकारीताको धर्म, मूल्य र मान्यतालाई धोती लगाएर यीनले हामीलाई उल्लू बनाईराखेका छन् !

Comments

Popular posts from this blog

अनि मलाई खुबै राजनीति लाग्छ ...

कहिले काही मैले फोकस गुमाएको जस्तो मेरा नजिकका प्रिय मान्छेहरूले महशुस गर्नुहुन्छ ।  राजन दाईले अस्ति फोन गरेपछि पो झल्याँस्स भएँ । वहाँको गुनासो मिश्रित प्रश्नले सिधै मेरो दिमागमा झड्का दिन पुग्यो, दाईसँग खास घुलमिल नभएकाहरूलाई चाँहि वहाँको प्रश्नले दिमागमा हैन् सिधैं मुटुमा हान्न सक्छ । वहाँका प्रायः प्रश्नहरू तारा खेलमा निशाना लगाउन प्रयोग हुने वाण जस्तो सिधा र तिखो हुन्छन् । जस्तो मेरो दिमाग मैं झङ्कार लेराउने प्रश्न थियो वहाँको,  "हैन पाक्षिक रूपमा ब्लग अद्यावद्यिक (अपडेट) गर्छु भन्या हैन् ? एक महिना पुग्न लाग्यो त सर !"    मलाई व्यंग्य गर्नुपर्दा दाइले सर भन्नुहुन्छ, अनि वहाँलाई चाहिँ म भन्छु, साहुजी । यत्तिमा मात्र दाजुको प्रश्न सिमित हुन्थ्यो भने, सायदै म आजको यो ब्लग लेख्न बस्थेँ । तर वहाँको प्रश्नसँग व्यंग्यमिश्रित सानो जिज्ञासा पनि थियो, "खुबै चुनाव लाग्या छ हैन् तिमीलाई !?" यो जिज्ञासामिश्रित व्यंग्य हो या व्यंग्य मिसिएको जिज्ञासा । या यो जिज्ञासा हुँदै नभएर केवल व्यंग्य मात्र थियो । तर जेहोस् यो केहि न केहि चाँहि पक्कै थियो ।  खुबै चुनाव लाग्ने आफत ...

को नायक? खलनायक को ?

बुडापेष्टको एउटा बगैंचामा राता र सेता गुलाफहरूबीच रहेको एक मूर्ति मुनि बसेर गिटार बजाउँदै गीत गाउँदै गरेका एक बुढा बाजेलाई खल्ति रित्ताएर पैसा दिन मन भएथ्यो । मसँग खल्ती भरी रूपैयाँ थिएन्, बुढीमाउलाई २ यूरो मागेर उनलाई दिएँ ।  बुढा बाजेले जर्मनमा केहि बोले, मैले नबुझेको अड्कल गरेर होला, उनले सोधे अङ्ग्रेजीमा "ह्वेय आर यू फ्रम ?" "नेपाल" मैले भनेँ । "वाउ क्याट्मान्डु ? यू केम फ्रम क्याटमान्डु टु बुडापेष्ट?" उनले बडो उत्साहित हुँदै प्रश्न गरे ।  मलाई झुटो बोल्न प्रायः सकस पर्छ, यसैकारण, मैले सत्य बोलिदिएँ - "नो सर। इट इज नट लाइक द्याट, आइ लिभ इन हेलसिन्की डिस्पाइट विइङ्ग ए नेपाली ।" (होइन् नी महोदय त्यसो । मान्छे नेपालको भएपनि क्याटमान्डु नभै हेलसिन्की बस्छु, म ।) छोटो तर यादगार कुराकानीमा ती बुढा बाजे आफूले नेपालका अग्ला हिमालहरू सम्झिएर, मलाई चाँहि मेरो घर सम्झाए । मैले नबुझ्ने भाषामा मन छुने संगित भरेर ती बाजेले  पूर्ववतः   गीतको भाका हाल्न थाले । उनको गायकी र उनले झंकार निकालेको गिटारको धुन पर पर सम्म पुगिरहेथ्यो, मानिसहरू प्रायः फर्केर एकपटक उ...

यो के गर्यौ तिमीले मेरा प्यारा हन्तकालीहरू हो?

"सर, चाउमिन बाँकी रह्यो । एक प्लेट थपिदिऊँ ?" स्कुलको क्यान्टिनका मुख्य कुक पाण्डे दाईले मलाई कान मैं आएर भनेपछि मैले नाइँ भन्नुपर्ने कारण देखिनँ ।  वाइवाइ चाउचाउको चाउमिन यस्तो मीठो थियो कि एक प्लेट खाँदा पनि मेरो जिब्रोको भोक मेटिएकै थिएन् । मैले अर्को प्लेट हसुरेँ ।  पाण्डे दाईले थपिदिएको त्यो उभ्रेको एक प्लेटबाट दोस्रो चोटी काँटामा बेरेर मैले मुखमा पुर्याउनै आँटेको के थिएँ, टेबलटेनिसको पुरानो हरियो टेबलमाथि बसेर भर्खर सकिएको दोस्रो त्रैमासिक परीक्षाको कापि जाँच्दै गरेका जनसंख्या शिक्षक एवं म अध्यापनरत विद्यालयका संस्थापक नराम्ररी बिच्किए । भन्दै थिए, "यहाँ आफूले एक प्लेट पाइया छैन्, सरले दुइ प्लेट नै उठाइदिने ?"  भोकले रन्थनिएका केसी सरले अहिले मैले मिलाएर लेखेको भन्दा तिखा शब्दहरू उनेर केहि भनेका थिए । सायद उनको ठाउँमा म र मेरो ठाउँमा उनी भएका भए त्यसबखत उनले मलाई मारेभन्दा बड्ता पेचिलो डायलग म मार्ने थिएँ होला । डायलग मार्न म बच्चैदेखि खप्पिस हुँ ।  तर त्यो वखत डायलग बेहोर्नेमा म थिएँ, मार्ने अर्को कोही । एकैछिन अघिसम्म मीठो भएको त्यो वाइवाइ चाउचाउको चाउमिन के...