Skip to main content

हामी, दिलशोभा र हाम्रा अखबारहरू

तस्वीर श्रोतः द मेटा पिक्चर
यिनै अखबारहरु हुन् जसले मलाई दिलशोभाका बारेमा बताए । यिनै अखबारहरु हुन् जसले मलाई दिलशोभा चिनाए । उनको त्याग, समर्पण, अनि समाजसेवाप्रतिको लगावका बारेमा जानकारी गराए । म उसैउसै प्रफुल्ल हुँदै आएँ – सोचेर कि अत्यन्तै व्यक्तिवादी भएको मेरो नेपाली समाजमा उनीजस्ता महान नारीहरु पनि छन् जसले सडकमा फ्याँकिएका वृद्धा आमाहरुलाई आफ्नो नीजि घरमा आफ्नै सिमित आयश्रोतका भरमा बसोबासको ब्यवस्था मिलाईन । र, उनै दिलशोभा हुन जसले सडकमा पुगेका बालबालिकाहरुलाई न्यानो काख दिईन । विभिन्न आर्थिक सीमाहरुका बाबजुद पनि बालबालिका र वृद्धाहरुलाई दुई छाक खान, एकसरो लगाउन र ओत लाग्ने घर दिईन । अनि अमूल्य आफ्नो माया दिएर राखिन । राखेकीछिन् ! 

यी सबैसबै खबरहरु, जानकारीहरु मैले अखबारहरुमा पढेर नै थाहा पाएको हो । तर उनी एक महान ब्यक्तित्व हुन भन्ने धारणा चाँहि फगत अखबारहरु पढेर बनाएको हैन मैले । मैले उनका अन्तरवार्ताहरु पढ्दा र हेर्दा उनको मनोविज्ञानलाई पनि सँगसँगै बुझ्ने यत्न गर्दै आएको छु । र मेरा बुझाईहरु भन्दछन् – दिलशोभा सपाट छिन् । सफा छिन् । महान हृदयकी खानी हुन् उनी !

मान्छेहरु वृद्ध आमाबाबुलाई सडकमा फ्याँकिरहेका छन् । त्यसरी आमाबाबुलाई सडकमा पुर्‍याउनेहरु गरिव छोराछोरीहरु मात्र छैनन् धनको रासमा विराजमान छोराछोरीहरु पनि छन् । किन यसरी सडकमा पुर्‍याइएका छन् हाम्रा असहाय आमाबाबुहरु ? मान्छेहरु किन यसरी कठोर बन्दै छन् ? किन पत्थर बन्दै छौं हामीहरु ? किनकी सेवा गर्नका लागि धनको खासै ठूलो महत्व नहुँदो रहिछ । किनकी सेवाका लागि सबभन्दा प्रधान कुरो सफा र सहयोगी मन चाहिँदो रहिछ ! 

हुन त मान्छेहरु यसमा राज्यको भूमिका जिम्मेवार देख्दछन् । तर यथार्थ के हो भने हाम्रो राज्य कहिल्यै पनि कुनै पनि विषयमा उति जिम्मेवार भएर लागेन । यो तीतो यथार्थ हो । राज्य जिम्मेवार हुन्थ्यो भने किन पुष्पा बस्नेतले आफ्नो युवा उमेर जेलमा परेका अभिभावकहरुका नानीबाबुहरुलाई उद्धार गर्दैमा बलि दिनुपथ्र्यो ? किन अनुराधा कोइरालाले आफ्नो सम्पूर्ण जोवन सीमामा बेचिन लागेका नादान नेपाली चेलीहरूको उद्धारका लागि व्यतित गर्नु पथ्र्यो ? किन सडक बालबालिका उद्धारका बहानामा सयौं होडिङ बोर्डहरू हाम्रा शहरहरुमा झुन्डिन्थे होला ? किन हजारौ प्रतिवेदन तयार पारिन्थे होला ? किन डलरको खेती यस्तरी मौलाउथ्यो होला र ? अनि फेरि सरकारकै भूमिका जिम्मेवार देख्नेहरुको रुवाई चर्को छ – दिलशोभाको बदनाम गर्नलाई ! के अब कुनै पनि ब्यक्तिको देवत्वकरण र राक्षसीकरण मिडियामा उसका बारेमा आउने खबरहरुले नै निर्धारण गर्ने हुन ? के ब्यक्ति कति जायज वा नाजायज छ भन्ने तथ्यको निक्र्याैल उसको कर्मले निर्धारण नगर्ने नै हो त ? 

ब्यक्ति, घटना, वा विषयवस्तुका बारेमा गहिरो खोज नगरी किन हावादारी पत्रकारीता गरिरहेछन् हाम्रा पत्रकारबन्धुहरु ? किन ९० लाख नभेट्टाइकनै अनुजाहरू राष्ट्राध्यक्षको बधाई पाउँछन् ? किन सबभन्दा पहिले न्यूज ब्रेक गर्ने प्रतिस्पर्धामा हाम्रा पत्रकार साथीहरु मिनेट–मिनेटमा एउटा जहाज हराएको, दुर्घटना भएको, विमानस्थलको टावरसँग सम्पर्क विच्छेद भएको खबरहरू सम्प्रेषण गर्छन् ? अनि किन पत्रकारहरु कुनै पनि विषयमा यति धेरै आग्रह वा पूर्वाग्रह राख्दछन् ? प्रसंग दिलशोभाको मात्र हैन, यस्ता थुप्रै दिलशोभाहरु जन्माइएका छन्, अनि अवसान गराइएका छन् । एउटै व्यक्तिलाई यी कलम समात्नेहरु कहिले सम्मानको सगरमाथा चढाउँछन् त कहिले रछ्यानमा पुर्‍याउँछन् । कि पत्रकारीताका आफ्नै विशिष्ट मूल्य मान्यताहरु हुँदैनन् ? कि पत्रकारहरुलाई जे पनि लेख्न पाउने छुट छ ? के अनुसन्धान नै नभएका विषयहरुमा पत्रकारले यो वा त्यो भनेर प्रतिवेदन शैलीको समाचार लेख्न पाउने हो ? के हाम्रा मिडियाहरुलाई जिम्मेवार हुनु पर्दैन ? 

पत्रकारको खोल ओढेर राजनैतिक दलका नेताहरुको चाकडी गर्ने, विभिन्न कुटनैतिक नियोगका ककटेल पार्टीमा गै देशको स्वाधिनता र सार्वभौमिकतालाई डलरसँग किनवेच गर्ने, तस्करी गर्ने, अपराधीहरुसँग साँठगाँठ गर्ने, मान्छेहरुका नितान्त ब्यक्तिगत कुराहरुमा अनावश्यक पहुँच पुर्‍याई उनीहरुको गल्तीबाट आर्थिक लाभ लिने पत्रकारहरुको ठूलो जत्था सक्रिय रहेको हाम्रो जस्तो देशका पत्रकारहरूबाट समाज परिवर्तन र राष्ट्रिय हितमा लागि परेकाहरूको विषयलाई पेचिलो तरिकाले उजागर गरी सारा नेपाली जनसमुदायमा सकारात्मक आशाको संचार गराउने खबरहरु अपेक्षा गर्नु बेकार हो ! यी हाम्रा मनोविज्ञानसँग खेलावाड गर्दै छन् । यी सधैं हामीभन्दा माथि पर्दै आएका छन् । यीनले हामीलाई बेच्न मिल्ने/नमिल्ने सबै खालका खबरहरु जबरजस्ती भिडाईरहेका छन् । हो, पत्रकारीताको धर्म, मूल्य र मान्यतालाई धोती लगाएर यीनले हामीलाई उल्लू बनाईराखेका छन् !

Comments

Popular posts from this blog

अनि रोशन भाइले टिपेछन् ६ बाल्टिन बेरी

गएको साल, हेर्दै कलिला देखिने दुई जना ठिटाहरू तिक्कुरिला रेल बिसौनीको कुनामा मस्त चुरोटको पफ लिदैं गरेका बेला, "भाइहरू नेपाली हो ?" भनेर मैले सोधेको थिएँ । मेरो प्रश्न भुँइमा झर्न नपाउँदै, आफूले तान्दै गरेको चुरोट आफ्नो साथीलाई दिदैँ, झन कलिलो देखिने ठिटोले भनेथ्यो, "हो दाई । कसरी पो ठम्याउनु भो ?"  दुई फरक मुहारको बनोट लिएका मानिसहरू सँगै बसेर एउटै चुरोट तान्दैछन् भने ती पक्कै नेपालीहरू हुनुपर्छ, त्यसमाथि तिमीहरू नेपाली मैं बातचित गर्दै थियौ नी त । मेरो जवाफ सुनेपछि त्यो ठिटोले कपाल कन्याउँदै भनेथ्यो, "हाउ दाजु पनि, सारै मजाको पो हुनुहुदोँ रहिछ !" मैले बात मार्न खोज्दा, निसंकोच बात मार्न खोज्ने ठिटो त पूर्वतिरको लिम्बु भाइ रहेछन् । अनि खासै बात मार्न नचाहने चाँहि रहिछन् - काठतिरका बाहुन भाइ ।  त्यो दिन ती भाइहरू हेलसिन्कीबाट सवा घण्टाको रेल यात्रामा पुगिने ठाउँबाट काम पाइने आशामा साथीलाई भेट्न आएका रहेछन् । आफूलाई भेट्न निम्ता दिएको साथीसँग भेट  नभएपछि  कामको खोजीमा हेलसिन्की झरेका उनीहरूलाई  आफू बस्ने ठाउँतिर फर्कने क्रममा मैले भेट्न पुगेको थिएँ । छोटो भ...

मेरो एउटा साथी छ (हुनुहुन्छ)

 " नीराजन, मेरो बेस्ट फ्रेन्ड हो ।" जन्मेर २६ वर्ष बिताएको देश नेपालमा मलाई यस्तो भन्ने कोही थिएन् । तर यतै फिनल्याण्ड आइपुगेपछि,  मलाई यस्तो भन्ने एक जना भेट्टिएकी थिइन् ।  जोसँग बसेर एकै कप चिया वा कफि पिएकै थिइँन्, मैले । मनभरीका बह न मैले उनीसँग केहि पोखेकै थिएँ, न त उनले विशेष केही त्यस्त्तो साझा गरेकी थिइन् मसँग । तर मलाई चिन्ने र मसँग सम्पर्कमा रहेका धेरै साथीभाइसँग उनले सुनाउन बिर्सेकी रहिन्छिन् कि निराजन उनको बेस्ट फ्रेन्ड हो ।  यो पढ्दै गर्दा यहाँलाई लाग्ला, कि आफूलाई बेस्ट फ्रेन्ड बताउने साथीका सम्बन्धमा लेख्ता पनि यसले किन भूतकालको प्रयोग गर्यो ? प्रश्न स्वभाविकै हो तर मेरो जवाफ अलिकति अस्वभाविक लाग्न सक्ला यहाँलाई । कि मलाई बेस्ट फ्रेन्ड भन्ने उनको, खासमा म  फ्रेन्ड पनि थिइँन् । न उनी थिइन्, मेरो कुनै त्यस्तो विशेष मित्र । बस्, हाम्रो सामान्य चिनजान मात्र थियो । केहि मानिसहरू हुँदारहेछन्, जो सामान्य चिनजानलाई मित्रताको नाम दिदाँरहिछन्, उनले जस्तै । अनि कोही यस्ता पनि हुँदा रहिछन् कि जोसँग हामी विशेष सामिप्यतामा भएको ठानेका हुन्छौं, तर उनीहरूका ...

घर कहाँ हो दाजुको ?

अन्तिम पटक ह्वाट्स एपकलमा तेर्ह मिनेट कुराकानी भएको ठ्याक्कै तीन महिनापछि ह्वाट्स एपमा तिमीलाई मेरो पछिल्लो ब्लग पोष्टको लिंक साझा गरेथेँ, करिब तीन हप्तापछि आजै बुनेले मीठो टिप्पणीसहितको सन्देश प्रवाह गर्ने क्रममा अम्रिकाबाट सोधी पठायौ, "Dai, I have a question, where is home? Nepal or Finland?" सायदै बुने तिम्रो प्रश्न यत्तिमै मात्र सक्किन्थ्यो भनेपनि मैले सजिलै भनिदिन सक्थेँ होला जसरी हाम्रै म्याग्दीका लोकगायक खड्ग गर्बुजाले आफ्नो ' पिरती ' एल्बमको एक गीतमा सोध्दा प्रश्न, "घर कहाँ हो मायालु?" कति सजिलै जवाफ दिएथीन् गायिकाले, "हिमालको काखैमा ।" तर तिम्रो प्रश्नमा जवाफ मात्र दिएर पुग्थेन्, त्यसले अन्तःस्करणको भाव पनि जान्न चाहन्थ्यो किनकी त्यसमा तिमीले थपेर पठाएथ्यौ - "What is your feeling since you've lived so many years in Finland?" म फिनल्याण्ड टेकेको वर्षदिन पनि त पुगेको थिएन् जतिबेला सन् २०१३ को हिउँदमा फिनल्याण्डमा मलाई पहिलो कामका लागि भनसुन गर्दिनुभएका दाजु राजन सुवेदीले, तिम्रो जत्तिकै गम्भीर त होईन् तर सिधा प्रश्न गर्नु भएथ्...