Skip to main content

मेरो नानीलाई नेपाली बोल्नै आएन

म बस्ने घरबाट रेल बिसौनीतिर जाने बाटोको मध्य भागतिर बालबालिकाहरुको स्याहार गर्ने पाइभा कोटी (बालबालिका दिवा स्याहार गृह) छ । किनमेलका लागि पसलहरुमा जाँदा म त्यहीबाटो भएर हिड्ने गर्छु ।
ग्रिश्मकालीन सन्ध्याहरू यति रोमाञ्चक हुन्छन कि राती एघारबजेसम्म घामको उज्यालो हुन्छ । र, एक साँझको ७ बजेतिर म किनमेलका लागि पसल जादैँ थिएँ । मैले एक फिनिश स्वास्नीमान्छेलाई आफ्ना दुईजना बच्चाहरुसँग त्यही स्याहार गृहको खेलमैदानमा खेलिरहेको देखेँ ।
“आइती...” लामो लेघ्रो तान्दै उनको सानो बच्चा आफ्नी आमालाई केही सोध्दै थियो । उसले “आइती” भनेर आमालाई बोलाएको मात्र मैले बुझेँ । किनकी फिनिशमा “आइती” भनेको आमालाई भनिन्छ भन्ने मैले यहाँ आउँदाको पहिलो महिनातिरै थाहा पाइसकेको थियो । बाँकी उसले के सोध्यो मैले बुझिनँ । उसकी आमाले केहि बताइन । ऊ “कितोस” भन्दै खुरुरु दौडियो । उसले आमालाई धन्यवाद भनेको थियो । तत्क्षण मैले मेरी ७ बर्षीया छोरीलाई याद गरेँ । उनले आफ्नी हजुरआमा (मेरी आमा) लाई आमा, र आफ्नी आमालाई ममी भनेर सम्बोधन गर्ने गरेको सम्झेँ । अनि मैले यो पनि सम्झेँ कि मैले मिठाईहरु लगिदिदा वा वार्षिक तथा त्रैमासिक परीक्षाहरुमा उनी सफल हुँदा “बधाई छ छोरी” भन्दा उनले कस्तरी लेघ्रो तान्दै “थ्याङ्क यू” भन्ने गर्थिन । गर्छिन । आफ्नो भाषालाई प्रेम गर्नुपर्छ भन्ने मान्यता राख्ने म जस्तोले समेत आफ्नो सन्तानलाई मातृभाषा प्रयोगको “मोह” जगाउन असमर्थ छु भने, घरमै अंग्रेजी वार्तालाप गर्ने नेपाली परिवारहरुको हविगती झन के होला ?
यता आएदेखि नै मलाई यी आफ्नो भाषाप्रति सानैदेखि सदभावपूर्ण व्यवहार राख्दछन् भन्ने बुझ्न गार्‍हो भएन । यिनीहरुमा आफ्नो भाषाप्रति विछट्टैको प्रेम छ । यहाँ मात्र हैन यूरोपका जति पनि देश घुमेको छु मैले यस्तै अनुभूति गरेको छु । “विश्व भूमण्डलीकरण” को हवाला दिदै यी भाषाको बलात्कार गर्दैनन् – हामीहरुले जस्तो । र, आफूले बोल्ने प्रत्येक वाक्यमा कम्तिमा एक वा दुई अंग्रेजी शब्दहरु मिसाएर आफ्नो “बौद्दिकता” को भद्दा प्रदर्शनमा यी सायदै विश्वास गर्छन ।
एकपटक नेपाली साथीभाईहरुसँग नेपालीहरुले आफ्नो भाषा प्रयोगमा गर्ने कन्जुस्याइँका बारेमा चर्कै बहस पनि भो ।
अधिकांशको प्रतिनिधी तर्क पेश गर्दै एक मित्रले भने “अंग्रेजी वर्डहरुको यूज हुनु नेचुरल कुरा हो यार ।” इंग्लीशलाई नेपालीमा अंग्रेजी भनिन्छ भन्ने पुनः सम्झिन सकेनन सायद उनले थपे – “इंग्लीश मिडियमबाट पढाई हुने बोर्डिङ स्कुलमा पढियो, त्यहाँ एउटा नेपाली बोल्न पाइन्थेन । ह्याभिट भैसक्यो यस्तरी बोल्नुलाई ।”
अनि मैले सोधेथेँ –“तपाइँका हजुरबा हजुरआमा हुनुहुन्छ ?”
उनले भनेका थिए –“सुड्डो (बाबा) का तिरको हुनुहुन्न । तर ममको ड्याड ममहरु चाँहि हुनुहुन्छ ।”
फेरि मैले सोधेको थिएँ – “मामाघर जाँदा आफ्ना हजुरबा हजुरआमासँग पनि अंग्रेजी मिसाएर बात गर्नुहुन्छ उसो भए ?”
“ह्या त्यो त डिफरेन्ट कुरो भैहाल्यो नि!” अत्यन्तै बेपर्वाह तरिकाले उनले तर्क गरे । त्यसपछि मैले केहि तर्क गर्न चाहिनँ ।
तर त्यसो भन्ने उनीमात्र पनि त थिएनन । कतिपय साथीहरु यस्ता थिए जो आफूलाई अत्यावश्यक परेको बखत शुद्ध नेपालीमा वार्तालाप गर्छन । जस्तो, रेलमा यात्रा गर्दै छन् र उनीहरुसँग टिकट छैन । यस्तो बेलामा कसरी ८० यूरो जरिवानाबाट बच्न सकिन्छ भन्नेमा ती पुरै नेपालीमा वार्ता गर्छन । त्यस्तै बाटोमा हिड्दै छन कुनै राम्री फिनिश केटी आफू नजिकैबाट हिडी र अब उसको नितम्ब, जिउँडाल, रुपरंगको बारेमा कुरा गर्नुपर्यो नी ती अचम्मै लाग्दो ढंगले शुद्द नेपालीमा बोल्छन् ।
यो विदेशी भूमीमा मेरा केही साथीहरुले वर्जित काम गर्दा, वा ब्यक्ति विशेषका बारेमा कुरा गर्दा मात्र गर्ने नेपालीभाषाको शुद्ध प्रयोग बुझिनसक्नुको छ ! अझ दुःखद त यो छ कि – अधिकांश हामीहरु नेपाली भाषाको प्रयोगमा रुची नै राख्दैनौं ।
म केही टेलिभिजनका बहसमूलक कार्यक्रमहरु नछुटाई हेर्ने गर्छु । र, प्रायशः बहसमा सहभागी नेपाल सरकारका जिम्मेवार अधिकारीहरु हुन, दलका नेताहरु वा अरु विभिन्न क्षेत्रका बौद्दिक भनिएका ब्यक्तिहरू उनीहरुले प्रश्नोत्तरको क्रममा दिने जवाफमा अंग्रेजी शब्दहरुको प्रयोगलाई विशेष महत्व दिएको पाउँछु ।
मलाई राम्ररी याद छ, २०७० को आषाढ महिनाको “साझा सबाल” को महिला हिंसामा देखिएको दण्डहिनता सम्बन्धी बहस कार्यक्रममा अतिरिक्त प्रहरी महानिरीक्षक नवराज सिलबालले ७० भन्दा बढी अंग्रेजी शब्दहरुको प्रयोग गरेका छन । यो एउटा प्रतिनिधी उदाहरण मात्र हो ।
अनि म बिलखबन्दमा पर्छु, नेपाली भाषाको प्रयोग र यसको प्रवद्र्धनमा कसले जिम्मेवार हुनुपर्ने हो ?
म सुन्न चाहन्छु हाम्रा नानीबाबुहरु आमालाई “ममी” हैन आमा भन्न सिकुन, “थ्यांक यू” हैन धन्यवाद भन्न जानुन । र, प्रत्येक भोर मेरी छोरी मलाई “शुभप्रभात बाबा !” भनून । र मैले भनुँ – “शुभप्रभात छोरी !”
फेरि लाग्छ यो शिशा पुछ्न छाडेर बरु देश जान्छु । र, टल्काउँछु मेरो भाषाको प्रयोगलाई आफैले टिलिक्क पारेर टल्काएको शिशालाई झैं ।

Comments

Popular posts from this blog

अनि मलाई खुबै राजनीति लाग्छ ...

कहिले काही मैले फोकस गुमाएको जस्तो मेरा नजिकका प्रिय मान्छेहरूले महशुस गर्नुहुन्छ ।  राजन दाईले अस्ति फोन गरेपछि पो झल्याँस्स भएँ । वहाँको गुनासो मिश्रित प्रश्नले सिधै मेरो दिमागमा झड्का दिन पुग्यो, दाईसँग खास घुलमिल नभएकाहरूलाई चाँहि वहाँको प्रश्नले दिमागमा हैन् सिधैं मुटुमा हान्न सक्छ । वहाँका प्रायः प्रश्नहरू तारा खेलमा निशाना लगाउन प्रयोग हुने वाण जस्तो सिधा र तिखो हुन्छन् । जस्तो मेरो दिमाग मैं झङ्कार लेराउने प्रश्न थियो वहाँको,  "हैन पाक्षिक रूपमा ब्लग अद्यावद्यिक (अपडेट) गर्छु भन्या हैन् ? एक महिना पुग्न लाग्यो त सर !"    मलाई व्यंग्य गर्नुपर्दा दाइले सर भन्नुहुन्छ, अनि वहाँलाई चाहिँ म भन्छु, साहुजी । यत्तिमा मात्र दाजुको प्रश्न सिमित हुन्थ्यो भने, सायदै म आजको यो ब्लग लेख्न बस्थेँ । तर वहाँको प्रश्नसँग व्यंग्यमिश्रित सानो जिज्ञासा पनि थियो, "खुबै चुनाव लाग्या छ हैन् तिमीलाई !?" यो जिज्ञासामिश्रित व्यंग्य हो या व्यंग्य मिसिएको जिज्ञासा । या यो जिज्ञासा हुँदै नभएर केवल व्यंग्य मात्र थियो । तर जेहोस् यो केहि न केहि चाँहि पक्कै थियो ।  खुबै चुनाव लाग्ने आफत ...

अनि रोशन भाइले टिपेछन् ६ बाल्टिन बेरी

गएको साल, हेर्दै कलिला देखिने दुई जना ठिटाहरू तिक्कुरिला रेल बिसौनीको कुनामा मस्त चुरोटको पफ लिदैं गरेका बेला, "भाइहरू नेपाली हो ?" भनेर मैले सोधेको थिएँ । मेरो प्रश्न भुँइमा झर्न नपाउँदै, आफूले तान्दै गरेको चुरोट आफ्नो साथीलाई दिदैँ, झन कलिलो देखिने ठिटोले भनेथ्यो, "हो दाई । कसरी पो ठम्याउनु भो ?"  दुई फरक मुहारको बनोट लिएका मानिसहरू सँगै बसेर एउटै चुरोट तान्दैछन् भने ती पक्कै नेपालीहरू हुनुपर्छ, त्यसमाथि तिमीहरू नेपाली मैं बातचित गर्दै थियौ नी त । मेरो जवाफ सुनेपछि त्यो ठिटोले कपाल कन्याउँदै भनेथ्यो, "हाउ दाजु पनि, सारै मजाको पो हुनुहुदोँ रहिछ !" मैले बात मार्न खोज्दा, निसंकोच बात मार्न खोज्ने ठिटो त पूर्वतिरको लिम्बु भाइ रहेछन् । अनि खासै बात मार्न नचाहने चाँहि रहिछन् - काठतिरका बाहुन भाइ ।  त्यो दिन ती भाइहरू हेलसिन्कीबाट सवा घण्टाको रेल यात्रामा पुगिने ठाउँबाट काम पाइने आशामा साथीलाई भेट्न आएका रहेछन् । आफूलाई भेट्न निम्ता दिएको साथीसँग भेट  नभएपछि  कामको खोजीमा हेलसिन्की झरेका उनीहरूलाई  आफू बस्ने ठाउँतिर फर्कने क्रममा मैले भेट्न पुगेको थिएँ । छोटो भ...

खाल्डोमा गाडी, जेलमा साथीः एक आत्मसंवाद

सधैं पुगिरहेको गन्तव्य थियो । गन्तव्यमा गुगल म्याप्सले सिफारीश गरेको बाटो भएर जाँदा मैले हठात गाडी मोड्नुपर्ने अवस्था बन्यो । हतपत गाडीलाई पार्किङमा छिर्ने बाटोतिर छिराउँदा, मैले हाँकेको गाडीको भाग त्यस बाटोको छेउमा कम, बाटोको छेउतिरको खाल्डोमा बढी पर्न जाँदा पछाडिको एउटा पाङ्ग्रोले भुँइ छाडेको विचित्रको स्थितिमा पुग्यो । यो आजैको घटना हो, केहि घण्टा अगाडिको । मलाई कुनै चोटपटक लागेन । गाडीमा विशेष क्षति पनि भएन । तर गाडीलाई त्यस विचित्रको स्थितीबाट बाहिर ननिकाल्दासम्मको मेरो जीवनको त्यो पूरा १ घण्टा १५ मिनेटले मलाई केहि विशेष ज्ञान भने अवश्य दिलायो ।  म जुन विचित्रको स्थितीबाट गुज्रिएर अहिले यो ब्लगपोष्ट लेख्तैछु, सम्झनामा मेरा केहि चिनजानका र केहि घनिष्ट मित्रहरूको तस्बीर एकतमास मेरो दिमागमा घुमिरहेको छ जो केहि समय अगाडिदेखि सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् । के ति मेरा साथीहरूले पनि यस वयमा जुन स्थितिको सामना गरिरहेका छन् त्यसका बारे दैनिकी लेख्दै होलान् ? थाहा छैन्, कसले कहिलेदेखि सहकारीमा जम्मा हुन आएको बचतकर्ताको रकमलाई मनोमानी तवरले आफ्नो नीजि लाभको लागि प्रयोग...