Skip to main content

खोंच, अभिशप्त सोंच र एउटा मञ्च

मलार्इ समितिहरूमा संलग्न हुन उति चाख लाग्दैन । मलार्इ खादा पहिरिनु या पहिराउनुमा श्रेयस्कर पनि लाग्दैन । मलार्इ कथित विजयको अबीर लगाउनुमा अभिरूची छैन । आजसम्म मनोनित गरिएका पदहरू न मैले लिएकै छु न त्यसमा मैले त्यस्तो गहिरो रूची नै राखेको छु । तर केहि हप्ता पहिले सामाजिक संजालमा बाँडिएको एउटा सूचनाले मेरो ध्यान खिच्यो । ख्वै किन किन एक भेलाले गठन गर्ने भनिएको एक समितिमा सदस्य बनेर काम गर्न भित्रैदेखि मन उद्वेलित भएर आयो । एकदम मनदेखि । 

मैले जीवनका महत्वपूर्ण पाँच वर्षहरू बिताएको बेनीको फूलबारीमा अवस्थित जिल्लाकै एक मात्र आंगिक क्याम्पसमा एकदम अनुशासित र लगनशील बिधार्थी भएर बिताएका स्वर्णीम पलहरू मलार्इ अझै पनि उत्तिकै प्रिय लाग्दछन । त्यो क्याम्पसमा प्रवेशसँगै मैले आफूमा हुर्कदो युवाका तनावहरू र तीनलार्इ सामना गर्न सक्ने उर्जा विकासमा आफ्नो प्रतिभालार्इ तिखार्न सिकेको छु । म्याग्दी-कालीको खोंचमा सकुंचित मानवीय चेतनाहरूभन्दा अलिकति विस्फारीत सोंच र विचार लिएर युवाहरूलार्इ जीवन दर्शन सिकाइरहनुहुने आदरणीय अध्यापक/अध्यापिकाहरूसँगको सामिप्यतासँगै मैले आफ्नो बौद्दिकताको स्तरोन्नती भएको महशुस गरेको छु । मेरा लागि देशमै नाम चलेका उत्कृष्ट विश्वविधालयहरूभन्दा कम नलाग्ने उक्त सार्वजनिक क्याम्पसको शैक्षिक तथा अन्य स्तरोन्नतीका लागि, सदा सक्दो काम गर्ने  मेरो मनोकाङ्क्षा रहदै आएको छ । यसर्थ पनि आफूले एक लगनशील विधार्थीका रूपमा बिताएको स्वर्णीम पाँच वर्षको भारा तिर्ने उपयुक्त बखत यहि गठन हुने समितिमा संलग्न भएर गर्न सकिन्छ भन्ने बुझार्इका कारण पनि म पूर्व विधार्थीहरूको मञ्च भनिएको उक्त समितिमा समाविष्ट हुन चाहेको थिएँ । तर बिडम्बना अत्यन्तै उत्कट चाहना ब्यक्त गर्दा गर्दै पनि, सृजनशील कार्यक्रमहरूका सूची तयार पारेर दशौं मिनेटसम्म सम्बन्धित वरिष्ठतम ब्यक्तित्वहरूसँग भलाकुशारी गर्दा पनि कुराको सुनुवार्इ भएन । मलार्इ यसमा दुख भन्दा पनि खेद लागेको छ । 

मलार्इ लाग्दैन, यो पूर्व विधार्थीहरूको मञ्च भनिएको समितिले लाखौं, करोडौंको आर्थिक कारोबार गर्नका लागि नै गठन भएको हो, मलार्इ यो पनि लाग्दैन यो मञ्चले यसमा संलग्न पूर्व विधार्थीहरूलार्इ विभिन्न परियोजनाहरू मार्फत देश विदेश शयर गराउँनेछ । उसो भए, किन मजस्तै विदेशिएका (त्यो पनि उच्च शिक्षाका लागि) मात्र सदस्यका लागि मनोनित हुन चाहँदा चाहँदै पनि त्यस क्याम्पसका पूर्व विधार्थीहरूको मञ्चमा किन अटाउन सकेनौ‌ ? मेरो व्यक्तिगत प्रश्न हो - म समितिमा बसेर केहि लुट्दै थिएँ हो ? 

यदि भौतिक रुपमा उपस्थित जनाउन नसक्नेहरूलार्इ मञ्चमा समाविष्ट गर्ने अभिप्राय थिएन भने किन विश्वभर छरिएर रहेका पूर्व विधार्थीहरूको पहुँचमा पुग्न सक्ने माध्यम प्रयोग गरियो ? किन त्यहि क्याम्पस प्रांगणको १ किलोमिटरको परिधी (रेडियस) भित्र उपलब्ध हुने एउटा सिंगो मान्छे मात्र चाहिएको थियो भने भेला गठनको सूचना गाउँतिरबाट एउटा कटुवाललार्इ बोलाएर घोक हाल्न लगाइएन ? यस्तो गरिदिएको भए सायद बरू म जस्ताहरूको चित्त दुखार्इ हुने थिएन कि? सूचना प्रविधीको आजको युगमा, अझ सूचना प्रविधीको क्षेत्रमा उदाहरणीय जिल्ला मानिने हाम्रो म्याग्दीको त्यो पनि एउटा उच्च शिक्षा अध्ययन/अध्यापन हुने शैक्षिक संस्थाको पूर्व विधार्थीको मञ्च गठनमा विदेशमै बसेर पनि क्याम्पसको गुणस्तर वृद्दीका लागि टेवा पुर्याउन उत्कट चाहना राख्ने युवाहरूको चाहनाको कदर गर्नु यहाँहरूको वशको विषय बन्न सक्दैन भने यहाँहरूले कस्तो खालको नवीन शैलीको विकास गर्दै हुनुहुन्छ ? के म यसलार्इ बञ्चितीकरण या सिर्जनशील सोंचहरू माथि थोपरिएको निरंकुशता नभनूँ ?  मित्रहरू, मलार्इ समितिको पद चाहिएर यो रोइलो गरेको होर्इन मैले त एउटा आधिकारीकता मात्र खोजेको थिएँ, जसले गर्दा मलार्इ उपलब्ध हुने मञ्चहरू प्रयोग गरी आफूले अध्ययन गरेको शैक्षिक संस्थाको गुणस्तर वृद्दीमा नवीन र युगसुहाउँदो योगदानका लागि सहज बनाउने विचारहरू, स्रोतहरूको पहिचान र वितरणमा सहज हुन सकोस् । 
मलार्इ पत्रिकाहरूमा सदस्य मनोनित भएकोमा बधार्इ छपाउन यस्तो मनोकाङ्क्षा पलाएकै थिएन । मैले फेरि पनि आग्रह गर्न चाहे - मैले अनावश्यक अर्को एउटा विशेषण थपेर गमक्क फुली हिड्न त्यो मञ्चमा बस्न खोजेको थिइँन । र, मेरो विश्वास अझै अडिग छ - कि साँच्चिकै काम गर्ने नै हो भने मैले मञ्च खोजीरहनुमा पनि सायदै कुनै औचित्य छ । संकिर्णता र जडताबाट माथि उठ्न नसक्नुभएकोमा यहाँहरूलार्इ हार्दिक बधार्इका साथ अझ अरू धसिंदै म्याग्दी-कालीको खोंचभन्दा माथि उठ्न नसकेको अभिशप्त विचार भगवति मन्दिर मन्तिरको वगरमै रूमल्लिरहोस् भन्ने हार्दिक शुभकामना । 

Comments

Popular posts from this blog

को नायक? खलनायक को ?

बुडापेष्टको एउटा बगैंचामा राता र सेता गुलाफहरूबीच रहेको एक मूर्ति मुनि बसेर गिटार बजाउँदै गीत गाउँदै गरेका एक बुढा बाजेलाई खल्ति रित्ताएर पैसा दिन मन भएथ्यो । मसँग खल्ती भरी रूपैयाँ थिएन्, बुढीमाउलाई २ यूरो मागेर उनलाई दिएँ ।  बुढा बाजेले जर्मनमा केहि बोले, मैले नबुझेको अड्कल गरेर होला, उनले सोधे अङ्ग्रेजीमा "ह्वेय आर यू फ्रम ?" "नेपाल" मैले भनेँ । "वाउ क्याट्मान्डु ? यू केम फ्रम क्याटमान्डु टु बुडापेष्ट?" उनले बडो उत्साहित हुँदै प्रश्न गरे ।  मलाई झुटो बोल्न प्रायः सकस पर्छ, यसैकारण, मैले सत्य बोलिदिएँ - "नो सर। इट इज नट लाइक द्याट, आइ लिभ इन हेलसिन्की डिस्पाइट विइङ्ग ए नेपाली ।" (होइन् नी महोदय त्यसो । मान्छे नेपालको भएपनि क्याटमान्डु नभै हेलसिन्की बस्छु, म ।) छोटो तर यादगार कुराकानीमा ती बुढा बाजे आफूले नेपालका अग्ला हिमालहरू सम्झिएर, मलाई चाँहि मेरो घर सम्झाए । मैले नबुझ्ने भाषामा मन छुने संगित भरेर ती बाजेले  पूर्ववतः   गीतको भाका हाल्न थाले । उनको गायकी र उनले झंकार निकालेको गिटारको धुन पर पर सम्म पुगिरहेथ्यो, मानिसहरू प्रायः फर्केर एकपटक उ...

अनि रोशन भाइले टिपेछन् ६ बाल्टिन बेरी

गएको साल, हेर्दै कलिला देखिने दुई जना ठिटाहरू तिक्कुरिला रेल बिसौनीको कुनामा मस्त चुरोटको पफ लिदैं गरेका बेला, "भाइहरू नेपाली हो ?" भनेर मैले सोधेको थिएँ । मेरो प्रश्न भुँइमा झर्न नपाउँदै, आफूले तान्दै गरेको चुरोट आफ्नो साथीलाई दिदैँ, झन कलिलो देखिने ठिटोले भनेथ्यो, "हो दाई । कसरी पो ठम्याउनु भो ?"  दुई फरक मुहारको बनोट लिएका मानिसहरू सँगै बसेर एउटै चुरोट तान्दैछन् भने ती पक्कै नेपालीहरू हुनुपर्छ, त्यसमाथि तिमीहरू नेपाली मैं बातचित गर्दै थियौ नी त । मेरो जवाफ सुनेपछि त्यो ठिटोले कपाल कन्याउँदै भनेथ्यो, "हाउ दाजु पनि, सारै मजाको पो हुनुहुदोँ रहिछ !" मैले बात मार्न खोज्दा, निसंकोच बात मार्न खोज्ने ठिटो त पूर्वतिरको लिम्बु भाइ रहेछन् । अनि खासै बात मार्न नचाहने चाँहि रहिछन् - काठतिरका बाहुन भाइ ।  त्यो दिन ती भाइहरू हेलसिन्कीबाट सवा घण्टाको रेल यात्रामा पुगिने ठाउँबाट काम पाइने आशामा साथीलाई भेट्न आएका रहेछन् । आफूलाई भेट्न निम्ता दिएको साथीसँग भेट  नभएपछि  कामको खोजीमा हेलसिन्की झरेका उनीहरूलाई  आफू बस्ने ठाउँतिर फर्कने क्रममा मैले भेट्न पुगेको थिएँ । छोटो भ...

मेरो एउटा साथी छ (हुनुहुन्छ)

 " नीराजन, मेरो बेस्ट फ्रेन्ड हो ।" जन्मेर २६ वर्ष बिताएको देश नेपालमा मलाई यस्तो भन्ने कोही थिएन् । तर यतै फिनल्याण्ड आइपुगेपछि,  मलाई यस्तो भन्ने एक जना भेट्टिएकी थिइन् ।  जोसँग बसेर एकै कप चिया वा कफि पिएकै थिइँन्, मैले । मनभरीका बह न मैले उनीसँग केहि पोखेकै थिएँ, न त उनले विशेष केही त्यस्त्तो साझा गरेकी थिइन् मसँग । तर मलाई चिन्ने र मसँग सम्पर्कमा रहेका धेरै साथीभाइसँग उनले सुनाउन बिर्सेकी रहिन्छिन् कि निराजन उनको बेस्ट फ्रेन्ड हो ।  यो पढ्दै गर्दा यहाँलाई लाग्ला, कि आफूलाई बेस्ट फ्रेन्ड बताउने साथीका सम्बन्धमा लेख्ता पनि यसले किन भूतकालको प्रयोग गर्यो ? प्रश्न स्वभाविकै हो तर मेरो जवाफ अलिकति अस्वभाविक लाग्न सक्ला यहाँलाई । कि मलाई बेस्ट फ्रेन्ड भन्ने उनको, खासमा म  फ्रेन्ड पनि थिइँन् । न उनी थिइन्, मेरो कुनै त्यस्तो विशेष मित्र । बस्, हाम्रो सामान्य चिनजान मात्र थियो । केहि मानिसहरू हुँदारहेछन्, जो सामान्य चिनजानलाई मित्रताको नाम दिदाँरहिछन्, उनले जस्तै । अनि कोही यस्ता पनि हुँदा रहिछन् कि जोसँग हामी विशेष सामिप्यतामा भएको ठानेका हुन्छौं, तर उनीहरूका ...