Skip to main content

नेताको छोरो ५, युवा परिचालन - अनिको बाध्यता !


Villagers gathering at an election campaign
चुनाव प्रचारका क्रममा Photo: Nirajan Thapa
बेनी त्यसै त कोप्चो ठाउँ झन मंसिर लागिसकेको समय,  जाडोले लास्टै ल्याङ हानिरहेथ्यो । अनि चुनावको चटारोले देशलाई छपक्कै छोपेको समय, म चाँहि दुईथान सिरकले छोपिएर बिस्तारामा लडिरहेथेँ, त्यो बिहानको आरम्भ एउटा फोनबाट भयो । मलाई यस्ता फोनले मंसिर लागेपछि अति नै ल्याङ गरिरहेथे । बेनीबाट चारपाँच घण्टाको पैदल यात्रामा पुगिने गाउँबाट एकजना अति नै नजिकका चिनजानको भाईको फोन थियो त्यो, उनको उर्दि थियो, "दाई, एकजना बैनी आज बिनी (बेनी) झर्दैछिन, तिनैका हाता १५, १६ हजार पठाईदिनु होला हैं !" 
यी तिनै भाई थिए, जो म चुनावका लागि नेपाल जाने तयारीमा रहेका बेला मलाई बारम्बार फेसबुक म्यासेन्जरमा चारा हालिरहेका हुन्थे  “ढुक्क हुनुस् दाई, बुढाले जित्छन! तर अलि मेहनत चाँहि गर्न पर्छ हैं ।” उनले भनेको मेहनत सानोतिनो कुरो थिएन । त्यो मेहनत अर्थोउपार्जन गर्ने मेहनत नभै अर्थवितरणसम्बन्धि मेहनत थियो । जुन मैले फोन आउँदाको दिनको साँझमा गरेको थिएँ । 

साँझको समय, मेरा तीनजना हितैषी चुनावकै लागि आफ्नै खर्चमा काठमान्डुबाट बेनीमा झरेका थिए । एकजना साथी भोली भेट्ने वाचासहित हतार हतार गाउँतिर उक्लिए पनि म अरू दुईजना साथीहरूसँग खाजा खादैँ थिएँ । त्यही समयमा ती भाईले पठाएकी बैनी हामीले खाजा खादैँ गरेको चमेनाघरमा आईपुगिन । गलामा मजेत्रो बेरेकी उनलाई राम्रोसँग चिनिनँ मैले, नमस्कारको औपचारिकतासँगै उनले भनिन् "दाई मलाई फलाना दाईले भेट्न भन्नुभएको ।" मैले खाजा मगाउँदै थिएँ, भनीन् - "हैन, भयो दाई । मैले भर्खर खाएकी, गाडी छुट्ने बेला भैसक्यो । बिहान आएको गाडी फर्किन लागेको छ, मैले ड्राइभरलाई एकैछिन रोक्न भनेर आ'की हुम ।" यसो खाजा खुवाउँदै त्यही मेसोमा भोट पनि माग्नुपर्ला सोचेको थिएँ । तर उनले हतार गरिन, उनलाई ड्राइभरले ५ मिनेटको समय दिदैं फोन गर्यो । मैले हतार हतार खल्तीबाट एउटा बिटो झिकेर उनलाई दिएँ । रेष्टुराँको सिढीं झर्दै गर्दा उनले भनीन् - "दाई, त्यो दाईलाई अब पैसा नदिनुस् है, तिनीहरूले त उनार्को बाट पनि लिएका छन जस्तो लाग्छ मलाई ।"

उनको कुराले एकछिन मेरो वरिपरीको वातावरण नै सन्नँ बनाईदियो । उनी तहाँबाट फटाफट निक्लिन् तर म  एकदम "ब्ल्याङ्क आउट" को थितीमा रहेँ । भित्रबाट साथीहरूले बोलाए, "ओए, तिम्रो खाजा सेलाउन लागिसक्यो ।

काठमान्डुबाट आफ्नै खर्चमा चुनावमा भोट खसाल्नैका लागि बेनी झरेका उनीहरू प्रति मेरो गहिरो सम्मान थियो । अतः मैले औपचारिकता निभाउनलाई भएपनि खर्चका बारेमा सोधेँ । निस्किने बेलामा खाजाको बिलसमेत उनीहरूले नै तिरे । चुनावको समयमा यस्ता मान्छेहरू सम्मान मात्र हैन पूजाका योग्य हुन्छन भन्ने मलाई चुनावले नै सिकाउँदै थियो । उनीहरूले पनि त्यहि साँझ घरजाने गाडि पाए, म उनीहरूलाई पुर्याउन म्याग्दी पुलको बसबिसौनीसम्म पुगेँ । 

खासमा उनीहरू जस्तै विभिन्न शिलशिलामा जिल्लाबाहिर रहेका साथीभाईलाई चुनावमा मत खसाल्नका लागि जसरी पनि आउन आग्रह गर्नुपर्छ भन्नेमा म सचेत थिइँन । मलाई यो खुंखार आइडिया दिएकी थिइँन मेरा यिनै साथीकी सहपाठी जोसँग एकपटक काठमान्डुमा मेरो जम्काभेट भएको थियो । कुराकानी कै क्रममा मेरा बाको र उनको पार्टी एउटै भएको रहस्योद्घाटन भो। त्यसपछि हामी फेसबुकमा पनि जोडिएका थियौं । सर्वहारा पार्टीकी सचेत कार्यकर्ता उनले मलाई म्यासेन्जरमा लेखेकी थिइँन - "फलाना फलानालाई पोखरासम्म प्लेनको टिकट ब्यवस्था गर्दिनुस्, भोट हाल्न आउँछन ।" उसले भनेका फलानाहरू ती दुईजना यिनै थिए, जो मेरो विशेष अनुरोधमा स्वंयको खर्चमा काठमाडौंबाट माइक्रो चढेर बेनी आएर त्यो साँझ मिनिबस चढेर घरतिरको यात्रा गर्दै थिए ।  उसको महंगो फर्मान सुनेर मेरा कन्सिरीका रौं ठाडा परेका थिए, तर म त्यो एकमहिना बुद्द बन्नुपरेकाले उसलाई फेसबुकमा ब्लक गर्न सकिनँ । हुन पनि मान्छेलाई निषेध गर्नु र उसको कुविचारको समूल नष्ट गर्नु फरक कुरा रहिछ । त्यसपछि, उसँग मेरो कुरा खासै भएन । तर उसका फेसबुक पोस्टहरूमा चुनावहरू महंगा हुँदै गएकोबारे गहिरो असन्तुष्टि पोखिएको हुन्थ्यो । तर मलाई यत्ति थाहा छ, ती युवती एकदिन नेपालको राजनीतिमा छाउनेछिन । जुन अर्को बिडम्बनापूर्ण अवस्था हुनेछ !

Comments

  1. भाग-५ सम्म आउँदा यो एकै व्यक्तिमा हुने अनेकन मनोभाव पढ्न र अनुभव गर्न पाईन्छ । यस संगै समाजमा कसैले नकोट्याएको यथार्थलाई आँटका साथ निराजन जीले लेख्दै गर्दा एउटा सत्य बुझ्ने मौका मिल्यो; तिम्रो नेता कति ईमान्दार छ भनेर थाहा पाउनु छ भने उसको छोरोको कर्म र विचारको अध्ययन गर ।

    ReplyDelete
  2. पात्रको माध्यमबाट प्रवित्तिमाथी खतरनाक प्रहार !!!

    ReplyDelete

Post a Comment

प्रतिक्रिया ब्यक्त गर्दा सभ्य र सुसंस्कृत शैली प्रयोग गर्नका लागि सम्पूर्णमा सविनय अनुरोध गर्दछु ।

लोकप्रिय पोष्टहरू

अनि रोशन भाइले टिपेछन् ६ बाल्टिन बेरी

गएको साल, हेर्दै कलिला देखिने दुई जना ठिटाहरू तिक्कुरिला रेल बिसौनीको कुनामा मस्त चुरोटको पफ लिदैं गरेका बेला, "भाइहरू नेपाली हो ?" भनेर मैले सोधेको थिएँ । मेरो प्रश्न भुँइमा झर्न नपाउँदै, आफूले तान्दै गरेको चुरोट आफ्नो साथीलाई दिदैँ, झन कलिलो देखिने ठिटोले भनेथ्यो, "हो दाई । कसरी पो ठम्याउनु भो ?"  दुई फरक मुहारको बनोट लिएका मानिसहरू सँगै बसेर एउटै चुरोट तान्दैछन् भने ती पक्कै नेपालीहरू हुनुपर्छ, त्यसमाथि तिमीहरू नेपाली मैं बातचित गर्दै थियौ नी त । मेरो जवाफ सुनेपछि त्यो ठिटोले कपाल कन्याउँदै भनेथ्यो, "हाउ दाजु पनि, सारै मजाको पो हुनुहुदोँ रहिछ !" मैले बात मार्न खोज्दा, निसंकोच बात मार्न खोज्ने ठिटो त पूर्वतिरको लिम्बु भाइ रहेछन् । अनि खासै बात मार्न नचाहने चाँहि रहिछन् - काठतिरका बाहुन भाइ ।  त्यो दिन ती भाइहरू हेलसिन्कीबाट सवा घण्टाको रेल यात्रामा पुगिने ठाउँबाट काम पाइने आशामा साथीलाई भेट्न आएका रहेछन् । आफूलाई भेट्न निम्ता दिएको साथीसँग भेट  नभएपछि  कामको खोजीमा हेलसिन्की झरेका उनीहरूलाई  आफू बस्ने ठाउँतिर फर्कने क्रममा मैले भेट्न पुगेको थिएँ । छोटो ...

क्लोरिनको झोल, वैज्ञानिकहरू र मेरी बोइको मुड्की

मेरो बाल्यकाल लगभग बोईसँगै बित्यो । त्यो चकचक गर्ने समय भएकाले मेरो चकचकसँग बोईलाई बेलाबेलामा झिझो लाग्नु स्वभाविक नै थियो । त्यसैले मैले अति नै अटेर गरेपछि बोईले मलाई भन्नुहुन्थ्यो -  "अहिले गाडूँला मुड्की (मुड्कीले हान्छु) ।" तर अहँ कहिल्यै पनि एक झापड खानुपरेन । मुड्की नै खानु नपरेपछि मेरो चकचक थामिने कुरै थिएन, त्यसैले बोईले पनि मुड्की गाडूँला भन्न छाड्नुभएन अनि मैले चकचक गर्न । मेरी बोईले यस धरा छोडेको पनि यहि हिउँदमा बर्षदिन पुग्दैछ, तर बोईले भन्ने गरेको "अहिले गाडूँला मुड्की" मेरो मनमा गडिरहेको छ, अनि यसो सोच्छु, दुईचार पटक बोईले साँच्चिकै मुड्की गाड्नुभएको भए, मेरा चकचक उहिले पहिले नै खत्तम हुन्थे कि ?  तर खासमा चकचक भन्ने जिनिस त्यत्तिकै खत्तम भएर गैहाल्ने कुरो हैन रहेछ । न त यो उमेर बढ्दै गएपछि आफै घट्दै र पछि निस्तेज नै हुने रहेछ । यसले खासमा उमेर बढ्दै गएर केश पाक्दै गएपनि आफ्नो स्वरूपमा अलिकति फेरिदै तरह तरहका रूपमा प्रकट हुँदै पो जाँदो रहेछ कि ? भन्ने निचोडमा पुगेको छु । यस्तै केहि केश पाक्नै थालेका मान्छेहरूको चकचक कोरोनको त्रास बढ्दै गएपछि अलिकति भि...

बोई, बार्ह वर्षमा खोलो किन फर्किएन् ?

हिजो भर्खर जस्तो लाग्छ, २७ औं वसन्तमा हिड्दै गरेको म विना कुनै योजना देश छाडेर परदेश हिडेको । आज १२ वर्ष नाघिसकेछ, परदेश भनिएको ठाम देशजस्तै अनि देश ठानिएको ठाम परदेशजस्तै भएको । मेरी बोइ भन्नुहुन्थ्यो, "बार्ह बर्षमा खोलो फर्किन्छ ।" बार्है बर्ष वितिसकेछन्, म मान्छे भएर होला सायद आफूले आएको बाटैबाटो घर फर्किन नसकेको ! बोइ नफर्किने गरी गएको पनि ५ वर्ष त नाघिसकेछ, सायद अझै हुनुहुन्थ्यो भने फोन गरेर म सोध्दो हुँ, - बोइ बार्ह वर्षमा खोलो कसरी फर्किन्छ ? सिकाइमाग्दो हुँ फर्किने सुत्र, शिरोपर गर्दो हुँ ती सुत्रहरू र लाग्दो हुँ ढोडेनीको पक्की पुल तरेर किनारै किनार तेर्सिएर घैयारासम्म अनि अलिकति माथि उक्लिएर हाम्रा जिजुको पालादेखिको हाम्रो स्थायी ठेगाना उही ढुंगेपाली टोलमा । छिर्दो हुँ आफ्नै मेहनतले बनाएको साढे दुई तले पक्की घरको दैलोभित्र ।           दिनहरू यस्ता पनि थिए, जहिले म कविताहरू लेख्ने गर्थेँ । मेरा कविताहरूमा देश छाड्नेहरूलाई स्वदेशमैं बस्नु भनेर आव्हान हुने गर्थे । अहिले म तीनै कविताहरूका पात्र बनेर आफैले बाँच्नु परेको परिस्थितीलाई पचाउने प्रयत्न गर्दै...

कतै ती मेरा रमेश भाइ त हैनन् !

बेनीको बजार पुगेपछि बेनीलाई नै काखमा बेरेको पहाडलाई नै माथिपट्टी यसो चियाउने हो भने केहि गोरेटा बाटाहरू देखिन्छन् । सायद अहिले धर्सा मात्र बाँकी हुनन् किनकी अलि बर्षै पहिले नै त्यहाँ दुई चारवटा जेसिभी डोजरहरू दार्हा फिजाउँदै हिडिसकेका हुन् । अतःधर्सा जस्ता देखिने उहिलेका गोरेटाहरूको ढाड र टाउका चिथोर्दै अर्थाय (अर्थुङ्गे)को गाउँ हुँदै पाखापानीसम्म पुग्ने अलिकति कालोपत्रे समेत भएको सडक हुँदै अलिधेरै उकालो र अलि कति तेर्पाय बाटो सिटी सफारी चढेर जाने बेला हातमा लौरी समातेर कुनै बोकालाई 'धेर रिस नउठा है लम्काने, भोली फेरि नपर्साइकन तेरा गर्धनाँ मार हान्न नपरोस् !' भनेर यदि कोही अधबैंसे युवक सन्किदैँ छ भने तिनी सम्भवतः रमेश भाइ हुन सक्छन् । हैन भने, त्यतै कता बाटातिर जोरजाम पारेर केहि थान भटभटेहरू भ्यार भ्यार पार्दै गरेका  ओठ  निचोर्दा दूध झर्लान जस्ता अनुहार बोकेका ठिटाहरूलाई, 'कता हिड्न लाग्यौ ए, झोलेहरू हो ? मोज छ है तिमेरूलाई ? फ्रिमा मासु चिउरा रौसी बजाउन पाएकै छौ ।' भन्दै जिस्काए जस्तै गरेर नराम्ररी हपार्दै गरेको ती ठिटाहरू भन्दा अलि वयस्क युवा देख्यौ भने त्यो रमेश भाइ...

एउटा सग्लो रात(कथा)

आषाढको एक शुक्रबारको साँझ बिश्वविद्यालयबाट घरतिर फर्कने क्रममा अलि ढिला भो । घरसम्म पुग्नलाई माइक्रो, अनि नगर बस सबैको आवातजावत बन्द भैसेकेको थियो । हिडेर एक घण्टाको पैदल यात्रा गर्ने दुस्साहस मैले गरिनँ । त्यसकारण, ट्याक्सीको पखाईमा त्यसै उभिरहेको थिएँ । आडैमा एउटी युवती आई । मतिर पुलुक्क हेर्दै मुसुक्क मुस्कुराई । मैले पनि मुस्कुराएरै उसको आगमनको स्वागत गरेँ । सोधी – “दाई ट्याक्सी कुर्नुभएको ?” “हजुर ।” मैले जवाफ दिएँ । “म पनि ट्याक्सी वेट गरिराखेको हेर्नु न अहिलेसम्म एउटा भेटेको छैन ।” युवतीले दुखेसो पोखी । मैले प्रश्न गरेँ – “कहाँ जानुपर्ने ?” “धेरै टाढा त हैन, मुस्ताङचोकसम्म पुग्नुपर्ने थियो ।” जवाफमा उसले भनी ।  उसको मुखबाट मुस्ताङचोक फुत्कदाँसाथ ममा नजानिदो उत्साह बढेर आयो । भनेँ – “ए, हो र ? म पनि त मुस्ताङचोक नै जान लागेको नी !” “ला हो र ? उसो भए त मज्जा भो नी, हजुर अनि मेरो दुवैको फिप्टी प्रसेन्टेज पैसा सेभ हुने भो नी त । एक्लै जाँदा त ४०० लिन्छ । अब दुई सयमै पुगिने भईयो ।” उसले खुशी ब्यक्त गरी । मैले पनि समर्थन जनाएँ – “हो त ।” अनि यो पनि जान्न चाहेँ कि ऊ के गर्...