Skip to main content

नेताको छोरो ५, युवा परिचालन - अनिको बाध्यता !


Villagers gathering at an election campaign
चुनाव प्रचारका क्रममा Photo: Nirajan Thapa
बेनी त्यसै त कोप्चो ठाउँ झन मंसिर लागिसकेको समय,  जाडोले लास्टै ल्याङ हानिरहेथ्यो । अनि चुनावको चटारोले देशलाई छपक्कै छोपेको समय, म चाँहि दुईथान सिरकले छोपिएर बिस्तारामा लडिरहेथेँ, त्यो बिहानको आरम्भ एउटा फोनबाट भयो । मलाई यस्ता फोनले मंसिर लागेपछि अति नै ल्याङ गरिरहेथे । बेनीबाट चारपाँच घण्टाको पैदल यात्रामा पुगिने गाउँबाट एकजना अति नै नजिकका चिनजानको भाईको फोन थियो त्यो, उनको उर्दि थियो, "दाई, एकजना बैनी आज बिनी (बेनी) झर्दैछिन, तिनैका हाता १५, १६ हजार पठाईदिनु होला हैं !" 
यी तिनै भाई थिए, जो म चुनावका लागि नेपाल जाने तयारीमा रहेका बेला मलाई बारम्बार फेसबुक म्यासेन्जरमा चारा हालिरहेका हुन्थे  “ढुक्क हुनुस् दाई, बुढाले जित्छन! तर अलि मेहनत चाँहि गर्न पर्छ हैं ।” उनले भनेको मेहनत सानोतिनो कुरो थिएन । त्यो मेहनत अर्थोउपार्जन गर्ने मेहनत नभै अर्थवितरणसम्बन्धि मेहनत थियो । जुन मैले फोन आउँदाको दिनको साँझमा गरेको थिएँ । 

साँझको समय, मेरा तीनजना हितैषी चुनावकै लागि आफ्नै खर्चमा काठमान्डुबाट बेनीमा झरेका थिए । एकजना साथी भोली भेट्ने वाचासहित हतार हतार गाउँतिर उक्लिए पनि म अरू दुईजना साथीहरूसँग खाजा खादैँ थिएँ । त्यही समयमा ती भाईले पठाएकी बैनी हामीले खाजा खादैँ गरेको चमेनाघरमा आईपुगिन । गलामा मजेत्रो बेरेकी उनलाई राम्रोसँग चिनिनँ मैले, नमस्कारको औपचारिकतासँगै उनले भनिन् "दाई मलाई फलाना दाईले भेट्न भन्नुभएको ।" मैले खाजा मगाउँदै थिएँ, भनीन् - "हैन, भयो दाई । मैले भर्खर खाएकी, गाडी छुट्ने बेला भैसक्यो । बिहान आएको गाडी फर्किन लागेको छ, मैले ड्राइभरलाई एकैछिन रोक्न भनेर आ'की हुम ।" यसो खाजा खुवाउँदै त्यही मेसोमा भोट पनि माग्नुपर्ला सोचेको थिएँ । तर उनले हतार गरिन, उनलाई ड्राइभरले ५ मिनेटको समय दिदैं फोन गर्यो । मैले हतार हतार खल्तीबाट एउटा बिटो झिकेर उनलाई दिएँ । रेष्टुराँको सिढीं झर्दै गर्दा उनले भनीन् - "दाई, त्यो दाईलाई अब पैसा नदिनुस् है, तिनीहरूले त उनार्को बाट पनि लिएका छन जस्तो लाग्छ मलाई ।"

उनको कुराले एकछिन मेरो वरिपरीको वातावरण नै सन्नँ बनाईदियो । उनी तहाँबाट फटाफट निक्लिन् तर म  एकदम "ब्ल्याङ्क आउट" को थितीमा रहेँ । भित्रबाट साथीहरूले बोलाए, "ओए, तिम्रो खाजा सेलाउन लागिसक्यो ।" 

काठमान्डुबाट आफ्नै खर्चमा चुनावमा भोट खसाल्नैका लागि बेनी झरेका उनीहरू प्रति मेरो गहिरो सम्मान थियो । अतः मैले औपचारिकता निभाउनलाई भएपनि खर्चका बारेमा सोधेँ । निस्किने बेलामा खाजाको बिलसमेत उनीहरूले नै तिरे । चुनावको समयमा यस्ता मान्छेहरू सम्मान मात्र हैन पूजाका योग्य हुन्छन भन्ने मलाई चुनावले नै सिकाउँदै थियो । उनीहरूले पनि त्यहि साँझ घरजाने गाडि पाए, म उनीहरूलाई पुर्याउन म्याग्दी पुलको बसबिसौनीसम्म पुगेँ । 

खासमा उनीहरू जस्तै विभिन्न शिलशिलामा जिल्लाबाहिर रहेका साथीभाईलाई चुनावमा मत खसाल्नका लागि जसरी पनि आउन आग्रह गर्नुपर्छ भन्नेमा म सचेत थिइँन । मलाई यो खुंखार आइडिया दिएकी थिइँन मेरा यिनै साथीकी सहपाठी जोसँग एकपटक काठमान्डुमा मेरो जम्काभेट भएको थियो । कुराकानी कै क्रममा मेरा बाको र उनको पार्टी एउटै भएको रहस्योद्घाटन भो। त्यसपछि हामी फेसबुकमा पनि जोडिएका थियौं । सर्वहारा पार्टीकी सचेत कार्यकर्ता उनले मलाई म्यासेन्जरमा लेखेकी थिइँन - "फलाना फलानालाई पोखरासम्म प्लेनको टिकट ब्यवस्था गर्दिनुस्, भोट हाल्न आउँछन ।" उसले भनेका फलानाहरू ती दुईजना यिनै थिए, जो मेरो विशेष अनुरोधमा स्वंयको खर्चमा काठमाडौंबाट माइक्रो चढेर बेनी आएर त्यो साँझ मिनिबस चढेर घरतिरको यात्रा गर्दै थिए ।  उसको महंगो फर्मान सुनेर मेरा कन्सिरीका रौं ठाडा परेका थिए, तर म त्यो एकमहिना बुद्द बन्नुपरेकाले उसलाई फेसबुकमा ब्लक गर्न सकिनँ । हुन पनि मान्छेलाई निषेध गर्नु र उसको कुविचारको समूल नष्ट गर्नु फरक कुरा रहिछ । त्यसपछि, उसँग मेरो कुरा खासै भएन । तर उसका फेसबुक पोस्टहरूमा चुनावहरू महंगा हुँदै गएकोबारे गहिरो असन्तुष्टि पोखिएको हुन्थ्यो । तर मलाई यत्ति थाहा छ, ती युवती एकदिन नेपालको राजनीतिमा छाउनेछिन । जुन अर्को बिडम्बनापूर्ण अवस्था हुनेछ !

Comments

  1. भाग-५ सम्म आउँदा यो एकै व्यक्तिमा हुने अनेकन मनोभाव पढ्न र अनुभव गर्न पाईन्छ । यस संगै समाजमा कसैले नकोट्याएको यथार्थलाई आँटका साथ निराजन जीले लेख्दै गर्दा एउटा सत्य बुझ्ने मौका मिल्यो; तिम्रो नेता कति ईमान्दार छ भनेर थाहा पाउनु छ भने उसको छोरोको कर्म र विचारको अध्ययन गर ।

    ReplyDelete
  2. पात्रको माध्यमबाट प्रवित्तिमाथी खतरनाक प्रहार !!!

    ReplyDelete

Post a Comment

प्रतिक्रिया ब्यक्त गर्दा सभ्य र सुसंस्कृत शैली प्रयोग गर्नका लागि सम्पूर्णमा सविनय अनुरोध गर्दछु ।

Popular posts from this blog

अनि रोशन भाइले टिपेछन् ६ बाल्टिन बेरी

गएको साल, हेर्दै कलिला देखिने दुई जना ठिटाहरू तिक्कुरिला रेल बिसौनीको कुनामा मस्त चुरोटको पफ लिदैं गरेका बेला, "भाइहरू नेपाली हो ?" भनेर मैले सोधेको थिएँ । मेरो प्रश्न भुँइमा झर्न नपाउँदै, आफूले तान्दै गरेको चुरोट आफ्नो साथीलाई दिदैँ, झन कलिलो देखिने ठिटोले भनेथ्यो, "हो दाई । कसरी पो ठम्याउनु भो ?"  दुई फरक मुहारको बनोट लिएका मानिसहरू सँगै बसेर एउटै चुरोट तान्दैछन् भने ती पक्कै नेपालीहरू हुनुपर्छ, त्यसमाथि तिमीहरू नेपाली मैं बातचित गर्दै थियौ नी त । मेरो जवाफ सुनेपछि त्यो ठिटोले कपाल कन्याउँदै भनेथ्यो, "हाउ दाजु पनि, सारै मजाको पो हुनुहुदोँ रहिछ !" मैले बात मार्न खोज्दा, निसंकोच बात मार्न खोज्ने ठिटो त पूर्वतिरको लिम्बु भाइ रहेछन् । अनि खासै बात मार्न नचाहने चाँहि रहिछन् - काठतिरका बाहुन भाइ ।  त्यो दिन ती भाइहरू हेलसिन्कीबाट सवा घण्टाको रेल यात्रामा पुगिने ठाउँबाट काम पाइने आशामा साथीलाई भेट्न आएका रहेछन् । आफूलाई भेट्न निम्ता दिएको साथीसँग भेट  नभएपछि  कामको खोजीमा हेलसिन्की झरेका उनीहरूलाई  आफू बस्ने ठाउँतिर फर्कने क्रममा मैले भेट्न पुगेको थिएँ । छोटो भ...

बोई, बार्ह वर्षमा खोलो किन फर्किएन् ?

हिजो भर्खर जस्तो लाग्छ, २७ औं वसन्तमा हिड्दै गरेको म विना कुनै योजना देश छाडेर परदेश हिडेको । आज १२ वर्ष नाघिसकेछ, परदेश भनिएको ठाम देशजस्तै अनि देश ठानिएको ठाम परदेशजस्तै भएको । मेरी बोइ भन्नुहुन्थ्यो, "बार्ह बर्षमा खोलो फर्किन्छ ।" बार्है बर्ष वितिसकेछन्, म मान्छे भएर होला सायद आफूले आएको बाटैबाटो घर फर्किन नसकेको ! बोइ नफर्किने गरी गएको पनि ५ वर्ष त नाघिसकेछ, सायद अझै हुनुहुन्थ्यो भने फोन गरेर म सोध्दो हुँ, - बोइ बार्ह वर्षमा खोलो कसरी फर्किन्छ ? सिकाइमाग्दो हुँ फर्किने सुत्र, शिरोपर गर्दो हुँ ती सुत्रहरू र लाग्दो हुँ ढोडेनीको पक्की पुल तरेर किनारै किनार तेर्सिएर घैयारासम्म अनि अलिकति माथि उक्लिएर हाम्रा जिजुको पालादेखिको हाम्रो स्थायी ठेगाना उही ढुंगेपाली टोलमा । छिर्दो हुँ आफ्नै मेहनतले बनाएको साढे दुई तले पक्की घरको दैलोभित्र ।           दिनहरू यस्ता पनि थिए, जहिले म कविताहरू लेख्ने गर्थेँ । मेरा कविताहरूमा देश छाड्नेहरूलाई स्वदेशमैं बस्नु भनेर आव्हान हुने गर्थे । अहिले म तीनै कविताहरूका पात्र बनेर आफैले बाँच्नु परेको परिस्थितीलाई पचाउने प्रयत्न गर्दै...

घामको आरती पनि घण्टी बजाएरै हुन्छ

पछिल्लो पल्ट ब्लगपोष्ट सार्वजनिक गरेपछि ब्लगै नलेखी बसेको पनि तीन महिना बितिसकेछ । एउटै काममा स्थिरतापूर्वक लागिरहने बानी कहिल्यै परेन मेरो ! यस्तो बेला म मेरा एक मित्रलाई बेस्सरी याद गर्छु । कतिपय ब्लगपोष्टमा उनको नाम मैले उल्लेख गर्दै आएको छु, उनी प्रत्येक पल्ट त्यसमा असहमत हुँदै भन्छ्न् - "ह्या बुढो मान्छे! मेरो नाम आफ्ना पोष्टहरूमा उल्लेख नगर्नुस् न यार ।" उनले जति भनेपनि मैले बेला बेला उनको नाम उल्लेख गर्न छाडेको छैन्, ती मेरा मित्र लक्ष्मी भन्ने गर्छन्, "Consistency is key."  बडो विस्मयको कुरा यो छ कि मेरो मित्रले कुनै बेला (सायद अहिले पनि) बडो आदर्श मान्ने नेता प्रचण्ड सम्भवतः अहिले सम्मको नेपाली राजनैतिक इतिहासमा सबभन्दा बढी अस्थिरताको आरोप लागेका नेपाली नेता हुनुपर्छ । 'यस्ता अस्थिरताका नायक नै आदर्श नेता मान्ने मेरा मित्रका मुखारबिन्दबाट सुनेको भएकै कारण मैले ब्लग लेखनमा स्थिरता कायम गर्ने प्रयत्न नगरेको हुँ' भन्ने मेरो स्वीकारोक्ति हैन् । बरू, मित्रले भन्दाभन्दै पनि उनको नाम उल्लेख गरिराख्ने स्थिरता मैले कायम गरेको छु, जस्तो प्रचण्डले अस्थिर हुने ...