प्रित बुझेको मेरो साथी


हिजो म मित्र लक्ष्मीसँगै निवासतिर फर्किदै थिएँ, एकाएक प्रणय दिवसको बारेमा कुरो उठ्यो । प्रितलाई नै केन्द्रविन्दु बनाएर प्रित संवाद जारी रह्यो – करिब आधा घण्टासम्म । उनी प्रेमका राम्रा ब्याख्यता हुन भन्ने मेरो आफ्नै बुझाई छ, र मलाई विश्वास छ – उनी एक असल प्रेमी पनि हुन । आदर्शवादी प्रेममा विश्वास गर्ने मान्छे हुन उनी । तर यसको मतलब यो पनि हैन कि प्रेमलाई अनुभूत गर्न/गराउन परस्परमा उपहार आदानप्रदान हुनुहुँदैन वा त्यो एकदम भौतिक कुरो हो भन्नेमा उनी विश्वास गर्दछन् । हाम्रो आधा घण्टे प्रितसंवादमा प्रेमको खास मतलब उनले के लगाए भने “प्रेम” को अर्थ मात्र “प्रेम” हो, यसभन्दा पल्तिर विभिन्न उपविषय वा उपप्रसङ्गहरु जोडेर प्रेमलाई ब्याख्या गर्न मिल्दैन । वा हुँदैन । 

ऋणात्मक ४ डिग्री सेन्टिग्रेडको ठन्डीमा हामी हिडिरहेथ्यौं । फुसफुस हिउँ झरिरहेथ्यो । प्रणयदिवसका बारेमा हामी संवाद गरिरहेथ्यौं – झल्याँस्स मैले ६२ फाल्गुणको प्रणय दिवसको याद गरेँ । जतिखेर तल बेशीमा समेत हिउँ परेको थियो । र, एक हुल रित्ता ठिटाहरु हामी जामुनाखर्कको उकालो चढेथ्यौं हिउँमा रमाएर तस्बिर खिच्न । कल्पिदैँ – सायद म पनि कसैसँग प्रेममा परेको भएँ, छिल्लीदै मसँग हिउँमा तस्बिर खिच्ने मान्छे भैदिएको भएँ । तर मेरा मित्रले यहि पृष्ठभूमिमा उनले आफूले प्रेम गर्ने प्रेमिकालाई सम्झेँ । र, भनेँ – “भलै, ऊ मेरो प्रेमिका हैने, तर म सर्वाधिक प्रेम उसैलाई गर्छु । ऊ अर्थात हेप्पा !” 

मेरो प्रश्न थियो उनलाई – “मित्रवर, यो अलि बोधगम्य कुरो भएन ! प्रेम गर्छु पनि भन्नुहुन्छ, प्रेमीका होईने पनि भन्नुहुन्छ, के हो यस्तो कुरो ?” मुहारमा स्पष्ट प्रकाश प्रदिप्त भो उनको मैले देखेँ ।

उहि प्रदिप्त अनुहारमै अलिक थोरै मुस्कान लिएर उनले जवाफ दिएँ – “प्रेम, मित्रवर प्रेम हो यो ! प्रेममा फिर्ताको अपेक्षा हुँदैन । प्रेम दोहोरै हुनुपर्छ भन्ने मान्यताको खिलाफ छु म । एकोहोरो पनि प्रेम हुन्छ । प्रेम गरिएर गर्ने वा गर्नका लागि गर्ने कुरो हैन, मित्रवर ! यो भावनात्मक स्पन्दन हो, जतिखेर यसको अनुभूति गर्छ मान्छे, अनि ऊ प्रेम गर्न थाल्दछ !” प्रेमको मसिहा लाग्थ्यो आफैलाई, उनको सामु फिका महशुस गरेँ ।

उनले आफू प्रेम गर्ने युवती र पृष्ठभूमिका बारेमा बताउँदै गए – “थाहा छ सखा ? मैले उनलाई फेसबुकमा भेटेको हुँ । २०१२ को जनवरी २२ का दिन पहिलोपटक मैले उनलाई मेरो एउटा नेपाली साथीको फेसबुके साथीसूचीमा भेटेको थिएँ । त्यहि दिन, भर्चुअल नै सहि कोट्याए (पोक गर्नु) उनलाई । र, त्यहि पोकबाट शुरु हुन्छ मेरो प्रेम कहानी !” उनि एकछिन चुप लागे, कारण हामी जेब्रा क्रसिङ नेर आइपुगेका थियौ । मैले देखेँ – हाम्रो विपरित दिशाबाट एउटी सुन्दरी युवती साईकलमा हुँइकिएर गन्तब्यतिर लागिन । मेरो मुखबाट फुत्कियो – “वाह, कस्ती राम्री !” उनी केहि बोलेनन्, मलाई मनमन लाग्यो – मेरो मुखबाट जे फुत्कियो सायद त्यो पनि प्रेमकै भाषा त थियो होला ?

जेब्रा क्रसिङ काटेपछि उनले पूर्वप्रसङ्ग जोड्दै भने – “यसरी पोकबाट शुरु भएको हाम्रो सम्बन्ध, विस्तारै प्रगाढ भो । हामीले भेट्यौ पनि । जीवनजगत, संस्कार र प्रेमकै विषयमा कुराहरु भए हाम्रा ।” अलिकति चञ्चले भएर मैले सोधेँ – “भेट्दा किससिस केहि भएन ?” 

पहिलोपटक मसँग सन्किदै उनले जवाफ फर्काए – “छिः के कुरा गरेको तपाइँले ? पवित्र प्रेममा भौतिक कुरो प्रधान हुँदैन । कुनै शारीरिक भोग वा तिर्सना मेटाउनलाई प्रेमको नौटंकी रचेको थिइँन मैले, साँचो अर्थको प्रेम गरेको थिएँ उनलाई । र, अझैपनि गरिरहेछु । अनवरत गरिरहनेछु ।” जिस्किएकोमा ग्लानी भयो मलाई, माफी मागेपनि मैले ।

उनले आफ्नो प्रेमील सत्यलाई अन्त्यमा यसो भनेर सक्काए – “मेरो प्रेम प्रस्ताव उनले अस्विकार गरिनँ । त्यसमा उनका आफ्नै बाध्यताहरु थिए होलान्, तर हामी अहिले पनि असल साथी छौं । उनी अहिले यहिकै केटासँग सम्बन्धमा पनि छिन । तर भविष्यमा कथंकदाचित उनलाई मेरो साथको आवश्यकता रह्यो भने र यदि म अविवाहित नै रहेको स्थिती हुने हो भने म सहर्ष उनलाई स्वीकार्ने छु ! किनकी, म उनलाई प्रेम नगरिरहन सक्दिनँ !”

गतसालको जनवरी २२ देखि एउटी फिनीस युवतीलाई अगाध माया गर्न शुरु गरेका मित्र अहिले पनि एक्लो नै छन् । सम्बन्धमा छैनन् उनी । थाहा छैन प्रणय दिवस उनका लागि के हो ? के होईन ? तर मलाई चाँहि मनमा विझिरहेछ – के साँचो अर्थमा उनले जसरी प्रेम गर्न समर्थ छौं होला हामी ? के हामी प्रेमलाई शारीरिक तृष्णाबाट मुक्त गरेर हेर्न सक्छौं ? साँचो अर्थको प्रेम गर्ने साहस छ हामीसँग ? त्यसकारण प्रणय दिवसको सबैलाई मेरो शुभकामना छ – रात हैन जीवन रंगिन बनाउने प्रेम गरौं । साँचो प्रेम गर्ने प्रेरणा प्राप्त होस् हामीलाई । र, निर्भय प्रेम गर्ने हैसियत बनाउन सकौं हामी जस्तो बेटी डेविसले भनेका पनि छन् – “प्रेम गर्न डराउनु, बाँच्न डराउनु जस्तै हो र, ती जो बाँच्न डराउँछन् उनीहरु पहिले नै तीन चौथाई मरिसकेका हुन्छन् !”
जय प्रेम!
(हाल मित्र खुशी उमंगले भरिपूर्ण प्रेमपछिको वैवाहिक स्थितीमा छन् ।) अध्यावद्यिक १६ अगस्ट २०२१

Comments

Popular posts from this blog

क्लोरिनको झोल, वैज्ञानिकहरू र मेरी बोइकी मुड्की

नांगो नाच, यौनधन्दा र राजधानी

एउटा सग्लो रात(कथा)