Skip to main content

कतै ती मेरा रमेश भाइ त हैनन् !

बेनीको बजार पुगेपछि बेनीलाई नै काखमा बेरेको पहाडलाई नै माथिपट्टी यसो चियाउने हो भने केहि गोरेटा बाटाहरू देखिन्छन् । सायद अहिले धर्सा मात्र बाँकी हुनन् किनकी अलि बर्षै पहिले नै त्यहाँ दुई चारवटा जेसिभी डोजरहरू दार्हा फिजाउँदै हिडिसकेका हुन् । अतःधर्सा जस्ता देखिने उहिलेका गोरेटाहरूको ढाड र टाउका चिथोर्दै अर्थाय (अर्थुङ्गे)को गाउँ हुँदै पाखापानीसम्म पुग्ने अलिकति कालोपत्रे समेत भएको सडक हुँदै अलिधेरै उकालो र अलि कति तेर्पाय बाटो सिटी सफारी चढेर जाने बेला हातमा लौरी समातेर कुनै बोकालाई 'धेर रिस नउठा है लम्काने, भोली फेरि नपर्साइकन तेरा गर्धनाँ मार हान्न नपरोस् !' भनेर यदि कोही अधबैंसे युवक सन्किदैँ छ भने तिनी सम्भवतः रमेश भाइ हुन सक्छन् ।

हैन भने, त्यतै कता बाटातिर जोरजाम पारेर केहि थान भटभटेहरू भ्यार भ्यार पार्दै गरेका ओठ निचोर्दा दूध झर्लान जस्ता अनुहार बोकेका ठिटाहरूलाई, 'कता हिड्न लाग्यौ ए, झोलेहरू हो ? मोज छ है तिमेरूलाई ? फ्रिमा मासु चिउरा रौसी बजाउन पाएकै छौ ।' भन्दै जिस्काए जस्तै गरेर नराम्ररी हपार्दै गरेको ती ठिटाहरू भन्दा अलि वयस्क युवा देख्यौ भने त्यो रमेश भाइ नै हुने सम्भावना छ ।

'रत्न, म बाख्रा फुकाउन हिडेँ, तँ नाम्लो ल्या'र आउँदै गरेस् है । त्यहाँ पाखाँ गएर दुई भारी घाँस ल्याउन पर्छ । नत्र दिउँसो कागतीका बेर्नाँ पानी हाल्न भलाइन्न ।' मोटरबाटोको मुनिपट्टीको एउटा कुनै घरमा कोही अधबैंसे उमेरको जवान आफ्नी श्रीमतीसँग यस्तो केहि भन्दैछ भने ती त पक्कै रमेश भाइ नै हुन् । किनकी उनले बाख्रा पालेका छन् । डाले होस् या भुँइ घास काट्न त उनी बुढीसँगै जान्छन् । उनले पाँच दर्जन कागतीका बेर्ना पनि लगाएका छन् । ती युवक रमेश भाइ नै हुने सबभन्दा भरपर्दो आधार भनेको हाम्री भाइ बुहारीको नाम रत्न हो ।

१६ महिना पहिले यिनी नेपालमैं थिए, भाइसँग अलि मज्जाकै भेटघाट होला भन्ने सल्लाहमा मैले पनि उनी त्यतै हुने बेलामा छुट्टि मिलाइवरी पुग्ने निधो गरेँ । म जाने निधो भएको केहि समयमा नै उनी फेरि दोहा हानिने भएछन् । खासमा उनी त्यता पुगेको एक वर्ष पुग्दा साथ आफ्नै खर्चमा नेपाल फर्केका थिए, फर्केर फेरि जाने सुर यिनको थिएन । तर फेरि उता गएर छ सात महिना बसेपछि कम्पनीकै टिकटमा जान आउन पाइने अनिफेरि छ आठ लाख पनि कमाइ हुने भनेपछि रमेश भाइले त्यस्तो मौका छाड्ने कुरै भएन् । उनी म नेपाल पुग्नुभन्दा केहि महिना पहिले नै दोहा पुगे । फुर्मास् यिनको छँदै छैन् । दोहा पुगेर जति बचाउने यिनको मनको हिसाब थियो, लगभग कमाए जत्ति सबै बचाएर यिनी नेपाल फर्के । म नेपाल पुगेर एक महिना बसेर यता फर्किएको बिस दिन पनि नपुग्दै, उनी दोहा त्यस्तै सात महिना जति बसेर नेपाल फर्किए । मलाई कम्ता त रिस उठेको थिएन ।

"ए भाइ, के पारा हो यार तिम्रो ? दुई बर्ष जति बस्छु भनेर गएका थियौ, फर्किनु फर्किनु म हुँदै फर्केको भए के जान्थ्यो तिम्रो ?" मैले सोधेपछि रमेश भाइलाई, ख्वै किन हो खित्का छाडेर उनले जवाफ फर्काएथे, "जान त के जान्थ्यो र दाई? त्यहि पैसा जान्थ्यो टिकटको । बिस दिन बढी बस्दा कम्पनीकै टिकटमा आउन पाइन्थ्यो, त्यो भएर डेढ लाख रूपैँयाको माया मार्न सकिनँ, दाई ।"

बिस दिन अगाडि नै आउँदा त्यो बिस दिनको तनाखा पनि घाटा मैं गणना गरेर उनले डेढ लाखको हिसाब सुनाएका रहिछन्, मलाई । "गणित तिम्रो अैरे गैरेले बुझेर पार नपाउने खालको छ यार भाइ ।" मैले ठट्टा गरेर भन्दा यिनले पनि मजाकमै आफ्नो वास्तविकता सुनाउँछन्, "अप्सनल म्याथ लिएर एसएलसी दिया मान्छे हो नी दाई, म । जसले पनि बुझ्ने हिसाब त मेरो हुनै भएन् नी । तर के गर्नु उबेला आफैले अप्सनल म्याथको हिसाबलाई पुरै नबुझ्दा एसएलसी पुरकमा परियो ।"

"अनि पुरकमा चाँहि पास गर्यौ त ?" मैले सोध्न नपाउँदै मेरो प्रश्न, राइफलको गोली जस्तो उनको जवाफ फ्याट्ट मेरा कानाँ परिहाल्छ । "अप्सनल म्याथ लिएर पढेको मान्छेले पुरक दिन्छ ? त्यसपछि त हो दाई म विदेश हिडेको!" दुबई, मलेशिया अनि पछिल्लो चोटी कतार गरेर सात चोटी विदेश-स्वदेश त उनले गरिसकेका छन् । कहिलेकाही घरकै मान्छे विलखबन्दमा पर्दा हुन्, 'हैन्, हाम्रो घरको केटो बिदेश गएको कि लुकामारी खेलेको ?'

"क्यार्नू त नी दाई, एकै ठाममा मन त्यति थीर (स्थिर) हुँदैन् हो, मेरो । सबभन्दा लामो समय बिताएको भनेको त्यहि शुरूको चोटी पुगेको दुबईको कम्पनीमा हो ।" आफूले त्यहाँ बिताएको हिसाब सुनाउँछन्, "चालीस् मैना ।"

भाइ मान्छे नै परे अलि कडा । थापा भएकोले अलि अलि काजी पारा आएको हो कि घरको एउटा छोरा त्यसमाथि जेठाबा (भाइका बा) बितेपछि सबै जिम्मेवारी यिनकै काँधमा सरेपछि अलि सुरोपन विकास पो भयो कि ? म कहिलेकाही यसो गम खान्छु । प्रायः कुनै कुरा यिनको चित्तमा पर्यो भने सक्कियो । जस्तो, पछिल्लो पटक दोहामा जब यिनले काममा लगातार रातीको मात्र सिफ्ट पाउन थाले, भाइलाई उधुम रिस उठेछ । म नेपाल पुगेर फर्केको हप्तादिन नहुँदै ह्वाट्सएप कलमा सुनाएथेँ, "दाई, मैले त रिजाइन हानेको दुई हप्ता भैसक्यो नी । जहिले नाइट काम मात्र हाल्दिन्छ यार । अबको पन्घ्र दिनपछि त म जाउनाखर्क (जामुनाखर्क)को ढाँडा (डाँडा हैन्) हुन्छु ।"

"ए, हो र ?" हैन् होला त म भन्नै सक्दिन् । अब सक्नु पनि कसरी ?
२०७९ को स्थानीय चुनाव आउनु अगाडिदेखि नै 'युग सुहाउँदो राजनीति गर्ने' नारा दिएर म पूरा तयारीका साथ नेपाल पुगेको बेला, भाइ नेपाल मैं थिए ।

"अहिलेसम्म कुनै माइकालालको झोला बोकिएको छैन्, बोके आफ्नै काजी दाइको झोला बोक्ने हो । दाई, चुनाव जसरी नी जित्ने हो ।" कम्ता त ढाडस दिएका थिएनन् रमेश भाइले मलाई । म बिचरा चुनाव उठ्ने जोडतोडका साथ नेपाल पुगेकै दिन घरका मान्छेको अनुहार देख्दा, आफैलाई 'हैन्, कुन बिरानो ठाउँमा ल्याइपुर्याएर छाड्यो जहाजले ?' भन्ने स्थितिमा पुगिसेकको थिएँ । रमेश भाइ भन्छन्, चुनाव त जित्ने हो । घरका मान्छे भन्छन्, "लड्लास् त चुनाव । खुब बाभन्दा ठूलो नेता बन्छु भन्ने सोच्या होलास् । पाउँलास् तैलेँ हाम्रो भोट !"

अलि अलि चुनावी खर्च साथीभाइले हालेका थिए । अधिकतम् दुई हजार उनासी भन्दा दिन नपाइने मैले नियम बनाएको थिएँ । पैसा, चिनजानकै परिवर्तन त गर्न पर्छ है भन्ने एकजना बजारिया भाइको खातामा जम्मा गरिएको थियो । उठ्यो होला, त्यस्तै बिस पच्चिस् हजार । तर बजारिया भाइ आफैं परिवर्तन भयो । फोन उठ्न छाड्यो उसको । भेट हुन छाड्यो उसँग, मेरो । चुनावमा घरका मान्छेको लोप्पाले भन्दा यो बजारिया भाइको हर्कतले उठ्नै मन नलाग्ने स्थितिमा म पुगेथेँ । तर रमेश भाइ भन्थे, "दाइ, चुनाव त जसरी पनि जित्न पर्छ ।"

धेरै धेरै कारणले मैले चाँहि चुनावमा उठिनँ । पछि कुनैदिन मनछुने ब्लग लेखुँला । तर रमेश भाइले मान्दै मानेनन्, "दाइ, तपाइँले काजीको इज्जत माटो मैं मिलाउनु भो । तोलाको बोली खोलाँ फाल्नु भो । थापाको इज्जतको लागि भएपनि म चुनाव उठ्छु । तपाइँ मेयर नउठेर के भो? म वडाध्यक्ष लड्छु ।" पूरै जोशका साथ भाइ चुनाव उठे । वार्ड नं
को वडा अध्यक्ष । म पनि एक बिहान उनीसँगै उनको वडाको फन्को मार्न पुगेथेँ । एक पृष्ठको चुनावी घोषणापत्र बनाएका थिए । हामीले ती उनका वडाबासीहरूलाई दियौ, मत पनि माग्यौ । "धेरै त हैन पचास छाठी भोट त ल्याउँछु, दाइ ।" कत्रो विश्वासका साथ भाइले मलाई सुनाएथे । मैले सोध्दा आधार, उनले भनेथे "अलिकति इष्टमित्र छन्, केहि साथीभाइहरू छन्, यो गाउँका तीस चालिस् जनाले त मबाट सापाटी नै लग्या छन् नी दाई, साठी भोट त फरक पर्दैन् ।" कुरा त मनासिबै लाग्या हो मलाई पनि । अब नेपालाँ मत पनि यसैगरी आउने हो । साथीभाइ, चिनेजानेको, मर्दापर्दा सहयोग गर्या मान्छेलाई मत नदिने भन्ने त नहुने पर्ने हो ।

स्वतन्त्रहरूलाई दिने चुनाव चिन्ह पनि उदेकै लाग्दा हुने । एक मन त मैले चुनाव नउठेर ठिकै गरे जस्तो पनि लाग्यो । तर रमेश भाइलाई, अझै पनि दाइले बेठिकै गर्यो भन्ने लाग्छ । चुनावका दिन मान्छेहरूले खोज्ने त उहि सूर्य, रूख, हसियाँ हथौडा, गिलास, मादल, हलो पहिल्यैदेखि स्थापित यिनै चुनाव चिन्हहरू त रहेछन् । यिनका माझमा रमेश भाइको भागमा परेको दुई चारवटा अण्डा पेटभित्रै लुकाएर राखेको हिड्नै नसक्ने जस्तो स्वरूपै नपरेको हाँसको चिन्ह कसले खोजोस्? पछि चुनावको नतिजा आयो, भाइको चिन्हमा दुई जनाले चाँहि छाप हानेछन् । एउटा त भाइ आफैं नै भए । अर्को त्यो को हो हँ ? न रमेश भाइले यसै भन्न सक्या छन् न मैले । त्यो कि रत्न होलीन्, कि जेठीआमा, कि लिलादिदी ।

रमेश भाइले चाँहि कम्तिमा घरबाटै भएपनि एउटा मत त बढी पाए, मेरो त त्यहि मत पनि घरबाट आउने कुनै गुञ्जायस थिएन् । बाले हाल्ने कुरो भएन् - उनी परे ठूला नेता । "मेरा बुढा जिउँदा छउन्जेल मेरा हातले छाप, सूर्य मै हान्छ ।" आमाको कुरा किल्लोर थियो । भाइको कुरा के गर्नु, ऊ पनि गाउँ टोलको सानो सूर्य छाप नेतै पर्यो । हुने बिजोग त मेरै थियो । यसरी रमेश भाइसँगको मेरो चुनावी किस्सा यहि सकिन्छ ।

अँ चुनावपछि म यता फर्के, त्यसको केहि महिनापछि रमेश भाइ "यी झोलेहरूसँग मुख जुधाएर के बस्नु? दोहामा राम्रो अवसर पा'छु ।" भन्दै दोहातिर हान्निए । दुई वर्षपछि म नेपाल पुग्दा, रमेश भाइ दोहा मैं थिए । म एकमहिना बसेर यता फर्केको एक महिना नपुग्दै रमेश भाइ नेपाल फर्केको कुरो मैले माथि नै बताइसकेँ । अँ त्यसपछि, उनी त्यतै छन् ।

त्यहि भएर त म भन्दैछु, कि बेनीको बजारलाई काखमा लिएको मसिना गोरेटाको धर्सा बोकेर बसेको पहाडको पक्की बाटो हुँदै उकालो लाग्दा बाटोमा कतै कागती गोडमेल गर्दै गरेको वा कुनै फोर्साको बोटमा उक्लेर फोर्साको हाँगा काट्दै गरेको वा कोही मान्छेलाई, 'अँ सापाटी चाहिँदा मसँग लिने भोट चाँहि मासुभात दिनेलाई हाल्ने ?' भनेर बाँझ्दै गरेको अधवैशे युवक भेट्यौ भने त्यो मेरो रमेश भाइ नहुन पनि सक्छन् । किनकी अस्ती मात्र उनले मलाई भन्याथे, "दाई दुबइको फाइभ स्टार होटलको एचआरबाट इन्टरभ्यूको लागि फोन आएथ्यो, छ महिना वर्षदिन हल्लेर आउन पाइएला जस्तो छ ।" हुनसक्छ, यतिबेला उनी त्यता जाने तर्खरमा होलान् ।

मेरो ह्रवाट्स एपमा कल आएको छ ।

ए, यो त रमेश भाइकै कल हो यार ।

हेल्लो ....!

Comments

  1. गज्जब !!आजको शैली, भाषा अनि रमेश भाइको विन्दास तर कर्मशील स्वभाव, गुरुको कलमले बल्ल मेलो समातेको भान भएको छ ।।

    ReplyDelete
  2. दाजुको लेखमा दाजुको आफ्नोपन झल्किदैछ है। ब्लग पढ्दा मज्जा आयो। दाजुको कलम यसरी नै चलिरहोस् निरन्तर। 🙏

    ReplyDelete
  3. लेख अझै उत्कृष्ट र परिस्कृत रुपमा आयको लाग्यो। शुभकामना अब आउने लेखहरुलाई !!

    ReplyDelete
  4. Ekdan gajjab lekhan dai agami din harumapani estai estai blogs haru padhna Pam

    ReplyDelete
  5. जिन्दगिभर नेपाली बोलि हुर्किएको मलाइ पनि तिरमिराउने केहि शब्दहरुले एक छिन् घोत्लिन बाध्य बनायो।
    एउटा सानो प्रशंग तर कति गहिरो अर्थ राख्ने कुरा हो ? चुनाबको बिषयमा भएकोले गर्दा एक छिन् त म पनि घोत्लिए। धन्न यता सुर्य र रुख छान्नु छैन र कसैले मासु भात पनि खान दिदैनन।

    तपाइँको साहित्य रुचि र कलाको त पहिलादेखिकै प्रसंसक हो म। लामा बाक्यहरु पढ्दा लाग्छ केहि नभनी तपाइले जीवनका गाम्भीर्यताहरुलाई एक हरफमै लेखिदिनुभाको छ। स्थानिय बोलीचाली लाइ लेखनमा यसरि घुलमिल गर्न जो कोहिले सक्दैन।
    यो लेखकीय परिपक्कता अब एउटा किताबी रुपमा आउनु पर्छ। बेनी देखि फिनल्याण्डसम्मका हरेक मोड र खाल्डाका कथाहरु लेखिनु पर्छ सर। शुभकामना !

    ReplyDelete
    Replies
    1. आफ्नो व्यस्त समयका बावजुद पनि अलिकति फुर्सद निकालेर यति लामो ब्लग पोस्ट पढेर अत्यन्तै सारगर्भित टिप्पणी राख्नुभएकोमा हार्दिक आभार प्रकट गर्दछु।

      Delete

Post a Comment

प्रतिक्रिया ब्यक्त गर्दा सभ्य र सुसंस्कृत शैली प्रयोग गर्नका लागि सम्पूर्णमा सविनय अनुरोध गर्दछु ।

लोकप्रिय पोष्टहरू

अनि रोशन भाइले टिपेछन् ६ बाल्टिन बेरी

गएको साल, हेर्दै कलिला देखिने दुई जना ठिटाहरू तिक्कुरिला रेल बिसौनीको कुनामा मस्त चुरोटको पफ लिदैं गरेका बेला, "भाइहरू नेपाली हो ?" भनेर मैले सोधेको थिएँ । मेरो प्रश्न भुँइमा झर्न नपाउँदै, आफूले तान्दै गरेको चुरोट आफ्नो साथीलाई दिदैँ, झन कलिलो देखिने ठिटोले भनेथ्यो, "हो दाई । कसरी पो ठम्याउनु भो ?"  दुई फरक मुहारको बनोट लिएका मानिसहरू सँगै बसेर एउटै चुरोट तान्दैछन् भने ती पक्कै नेपालीहरू हुनुपर्छ, त्यसमाथि तिमीहरू नेपाली मैं बातचित गर्दै थियौ नी त । मेरो जवाफ सुनेपछि त्यो ठिटोले कपाल कन्याउँदै भनेथ्यो, "हाउ दाजु पनि, सारै मजाको पो हुनुहुदोँ रहिछ !" मैले बात मार्न खोज्दा, निसंकोच बात मार्न खोज्ने ठिटो त पूर्वतिरको लिम्बु भाइ रहेछन् । अनि खासै बात मार्न नचाहने चाँहि रहिछन् - काठतिरका बाहुन भाइ ।  त्यो दिन ती भाइहरू हेलसिन्कीबाट सवा घण्टाको रेल यात्रामा पुगिने ठाउँबाट काम पाइने आशामा साथीलाई भेट्न आएका रहेछन् । आफूलाई भेट्न निम्ता दिएको साथीसँग भेट  नभएपछि  कामको खोजीमा हेलसिन्की झरेका उनीहरूलाई  आफू बस्ने ठाउँतिर फर्कने क्रममा मैले भेट्न पुगेको थिएँ । छोटो भ...

घर कहाँ हो दाजुको ?

अन्तिम पटक ह्वाट्स एपकलमा तेर्ह मिनेट कुराकानी भएको ठ्याक्कै तीन महिनापछि ह्वाट्स एपमा तिमीलाई मेरो पछिल्लो ब्लग पोष्टको लिंक साझा गरेथेँ, करिब तीन हप्तापछि आजै बुनेले मीठो टिप्पणीसहितको सन्देश प्रवाह गर्ने क्रममा अम्रिकाबाट सोधी पठायौ, "Dai, I have a question, where is home? Nepal or Finland?" सायदै बुने तिम्रो प्रश्न यत्तिमै मात्र सक्किन्थ्यो भनेपनि मैले सजिलै भनिदिन सक्थेँ होला जसरी हाम्रै म्याग्दीका लोकगायक खड्ग गर्बुजाले आफ्नो ' पिरती ' एल्बमको एक गीतमा सोध्दा प्रश्न, "घर कहाँ हो मायालु?" कति सजिलै जवाफ दिएथीन् गायिकाले, "हिमालको काखैमा ।" तर तिम्रो प्रश्नमा जवाफ मात्र दिएर पुग्थेन्, त्यसले अन्तःस्करणको भाव पनि जान्न चाहन्थ्यो किनकी त्यसमा तिमीले थपेर पठाएथ्यौ - "What is your feeling since you've lived so many years in Finland?" म फिनल्याण्ड टेकेको वर्षदिन पनि त पुगेको थिएन् जतिबेला सन् २०१३ को हिउँदमा फिनल्याण्डमा मलाई पहिलो कामका लागि भनसुन गर्दिनुभएका दाजु राजन सुवेदीले, तिम्रो जत्तिकै गम्भीर त होईन् तर सिधा प्रश्न गर्नु भएथ्...

मेरो एउटा साथी छ (हुनुहुन्छ)

 " नीराजन, मेरो बेस्ट फ्रेन्ड हो ।" जन्मेर २६ वर्ष बिताएको देश नेपालमा मलाई यस्तो भन्ने कोही थिएन् । तर यतै फिनल्याण्ड आइपुगेपछि,  मलाई यस्तो भन्ने एक जना भेट्टिएकी थिइन् ।  जोसँग बसेर एकै कप चिया वा कफि पिएकै थिइँन्, मैले । मनभरीका बह न मैले उनीसँग केहि पोखेकै थिएँ, न त उनले विशेष केही त्यस्त्तो साझा गरेकी थिइन् मसँग । तर मलाई चिन्ने र मसँग सम्पर्कमा रहेका धेरै साथीभाइसँग उनले सुनाउन बिर्सेकी रहिन्छिन् कि निराजन उनको बेस्ट फ्रेन्ड हो ।  यो पढ्दै गर्दा यहाँलाई लाग्ला, कि आफूलाई बेस्ट फ्रेन्ड बताउने साथीका सम्बन्धमा लेख्ता पनि यसले किन भूतकालको प्रयोग गर्यो ? प्रश्न स्वभाविकै हो तर मेरो जवाफ अलिकति अस्वभाविक लाग्न सक्ला यहाँलाई । कि मलाई बेस्ट फ्रेन्ड भन्ने उनको, खासमा म  फ्रेन्ड पनि थिइँन् । न उनी थिइन्, मेरो कुनै त्यस्तो विशेष मित्र । बस्, हाम्रो सामान्य चिनजान मात्र थियो । केहि मानिसहरू हुँदारहेछन्, जो सामान्य चिनजानलाई मित्रताको नाम दिदाँरहिछन्, उनले जस्तै । अनि कोही यस्ता पनि हुँदा रहिछन् कि जोसँग हामी विशेष सामिप्यतामा भएको ठानेका हुन्छौं, तर उनीहरूका ...

बोई, बार्ह वर्षमा खोलो किन फर्किएन् ?

हिजो भर्खर जस्तो लाग्छ, २७ औं वसन्तमा हिड्दै गरेको म विना कुनै योजना देश छाडेर परदेश हिडेको । आज १२ वर्ष नाघिसकेछ, परदेश भनिएको ठाम देशजस्तै अनि देश ठानिएको ठाम परदेशजस्तै भएको । मेरी बोइ भन्नुहुन्थ्यो, "बार्ह बर्षमा खोलो फर्किन्छ ।" बार्है बर्ष वितिसकेछन्, म मान्छे भएर होला सायद आफूले आएको बाटैबाटो घर फर्किन नसकेको ! बोइ नफर्किने गरी गएको पनि ५ वर्ष त नाघिसकेछ, सायद अझै हुनुहुन्थ्यो भने फोन गरेर म सोध्दो हुँ, - बोइ बार्ह वर्षमा खोलो कसरी फर्किन्छ ? सिकाइमाग्दो हुँ फर्किने सुत्र, शिरोपर गर्दो हुँ ती सुत्रहरू र लाग्दो हुँ ढोडेनीको पक्की पुल तरेर किनारै किनार तेर्सिएर घैयारासम्म अनि अलिकति माथि उक्लिएर हाम्रा जिजुको पालादेखिको हाम्रो स्थायी ठेगाना उही ढुंगेपाली टोलमा । छिर्दो हुँ आफ्नै मेहनतले बनाएको साढे दुई तले पक्की घरको दैलोभित्र ।           दिनहरू यस्ता पनि थिए, जहिले म कविताहरू लेख्ने गर्थेँ । मेरा कविताहरूमा देश छाड्नेहरूलाई स्वदेशमैं बस्नु भनेर आव्हान हुने गर्थे । अहिले म तीनै कविताहरूका पात्र बनेर आफैले बाँच्नु परेको परिस्थितीलाई पचाउने प्रयत्न गर्दै...

क्लोरिनको झोल, वैज्ञानिकहरू र मेरी बोइको मुड्की

मेरो बाल्यकाल लगभग बोईसँगै बित्यो । त्यो चकचक गर्ने समय भएकाले मेरो चकचकसँग बोईलाई बेलाबेलामा झिझो लाग्नु स्वभाविक नै थियो । त्यसैले मैले अति नै अटेर गरेपछि बोईले मलाई भन्नुहुन्थ्यो -  "अहिले गाडूँला मुड्की (मुड्कीले हान्छु) ।" तर अहँ कहिल्यै पनि एक झापड खानुपरेन । मुड्की नै खानु नपरेपछि मेरो चकचक थामिने कुरै थिएन, त्यसैले बोईले पनि मुड्की गाडूँला भन्न छाड्नुभएन अनि मैले चकचक गर्न । मेरी बोईले यस धरा छोडेको पनि यहि हिउँदमा बर्षदिन पुग्दैछ, तर बोईले भन्ने गरेको "अहिले गाडूँला मुड्की" मेरो मनमा गडिरहेको छ, अनि यसो सोच्छु, दुईचार पटक बोईले साँच्चिकै मुड्की गाड्नुभएको भए, मेरा चकचक उहिले पहिले नै खत्तम हुन्थे कि ?  तर खासमा चकचक भन्ने जिनिस त्यत्तिकै खत्तम भएर गैहाल्ने कुरो हैन रहेछ । न त यो उमेर बढ्दै गएपछि आफै घट्दै र पछि निस्तेज नै हुने रहेछ । यसले खासमा उमेर बढ्दै गएर केश पाक्दै गएपनि आफ्नो स्वरूपमा अलिकति फेरिदै तरह तरहका रूपमा प्रकट हुँदै पो जाँदो रहेछ कि ? भन्ने निचोडमा पुगेको छु । यस्तै केहि केश पाक्नै थालेका मान्छेहरूको चकचक कोरोनको त्रास बढ्दै गएपछि अलिकति भि...