Skip to main content

कतै ती मेरा रमेश भाइ त हैनन् !

बेनीको बजार पुगेपछि बेनीलाई नै काखमा बेरेको पहाडलाई नै माथिपट्टी यसो चियाउने हो भने केहि गोरेटा बाटाहरू देखिन्छन् । सायद अहिले धर्सा मात्र बाँकी हुनन् किनकी अलि बर्षै पहिले नै त्यहाँ दुई चारवटा जेसिभी डोजरहरू दार्हा फिजाउँदै हिडिसकेका हुन् । अतःधर्सा जस्ता देखिने उहिलेका गोरेटाहरूको ढाड र टाउका चिथोर्दै अर्थाय (अर्थुङ्गे)को गाउँ हुँदै पाखापानीसम्म पुग्ने अलिकति कालोपत्रे समेत भएको सडक हुँदै अलिधेरै उकालो र अलि कति तेर्पाय बाटो सिटी सफारी चढेर जाने बेला हातमा लौरी समातेर कुनै बोकालाई 'धेर रिस नउठा है लम्काने, भोली फेरि नपर्साइकन तेरा गर्धनाँ मार हान्न नपरोस् !' भनेर यदि कोही अधबैंसे युवक सन्किदैँ छ भने तिनी सम्भवतः रमेश भाइ हुन सक्छन् ।

हैन भने, त्यतै कता बाटातिर जोरजाम पारेर केहि थान भटभटेहरू भ्यार भ्यार पार्दै गरेका ओठ निचोर्दा दूध झर्लान जस्ता अनुहार बोकेका ठिटाहरूलाई, 'कता हिड्न लाग्यौ ए, झोलेहरू हो ? मोज छ है तिमेरूलाई ? फ्रिमा मासु चिउरा रौसी बजाउन पाएकै छौ ।' भन्दै जिस्काए जस्तै गरेर नराम्ररी हपार्दै गरेको ती ठिटाहरू भन्दा अलि वयस्क युवा देख्यौ भने त्यो रमेश भाइ नै हुने सम्भावना  छ ।

'रत्न, म बाख्रा फुकाउन हिडेँ, तँ नाम्लो ल्या'र आउँदै गरेस् है । त्यहाँ पाखाँ गएर दुई भारी घाँस ल्याउन पर्छ । नत्र दिउँसो कागतीका बेर्नाँ पानी हाल्न भलाइन्न ।'  मोटरबाटोको मुनिपट्टीको एउटा कुनै घरमा कोही अधबैंसे उमेरको जवान आफ्नी श्रीमतीसँग यस्तो केहि भन्दैछ भने ती त पक्कै रमेश भाइ नै हुन् । किनकी उनले बाख्रा पालेका छन् । डाले होस् या भुँइ घास काट्न त उनी बुढीसँगै जान्छन् । उनले पाँच दर्जन कागतीका बेर्ना पनि लगाएका छन् । ती युवक रमेश भाइ नै हुने सबभन्दा भरपर्दो आधार भनेको हाम्री भाइ बुहारीको नाम रत्न हो । 

१६ महिना पहिले यिनी नेपालमैं थिए, भाइसँग अलि मज्जाकै भेटघाट होला भन्ने सल्लाहमा मैले पनि उनी त्यतै हुने बेलामा छुट्टि मिलाइवरी पुग्ने निधो गरेँ । म जाने निधो भएको केहि समयमा नै उनी फेरि दोहा हानिने भएछन् । खासमा उनी त्यता पुगेको एक वर्ष पुग्दा साथ आफ्नै खर्चमा नेपाल फर्केका थिए, फर्केर फेरि जाने सुर यिनको थिएन । तर फेरि उता गएर छ सात महिना बसेपछि कम्पनीकै टिकटमा जान आउन पाइने अनिफेरि छ आठ लाख पनि कमाइ हुने भनेपछि रमेश भाइले त्यस्तो मौका छाड्ने कुरै भएन् । उनी म नेपाल पुग्नुभन्दा केहि महिना पहिले नै दोहा पुगे । फुर्मास् यिनको छँदै छैन् । दोहा पुगेर जति बचाउने यिनको मनको हिसाब थियो, लगभग कमाए जत्ति सबै बचाएर यिनी नेपाल फर्के । म नेपाल पुगेर एक महिना बसेर यता फर्किएको बिस दिन पनि नपुग्दै, उनी दोहा त्यस्तै सात महिना जति बसेर नेपाल फर्किए । मलाई कम्ता त रिस उठेको थिएन ।
 
"ए भाइ, के पारा हो यार तिम्रो ? दुई बर्ष जति बस्छु भनेर गएका थियौ, फर्किनु फर्किनु म हुँदै फर्केको भए के जान्थ्यो तिम्रो ?" मैले सोधेपछि रमेश भाइलाई, ख्वै किन हो खित्का छाडेर उनले जवाफ फर्काएथे, "जान त के जान्थ्यो र दाई? त्यहि पैसा जान्थ्यो टिकटको । बिस दिन बढी बस्दा कम्पनीकै टिकटमा आउन पाइन्थ्यो, त्यो भएर डेढ लाख रूपैँयाको माया मार्न सकिनँ, दाई ।" 

बिस दिन अगाडि नै आउँदा त्यो बिस दिनको तनाखा पनि घाटा मैं गणना गरेर उनले डेढ लाखको हिसाब सुनाएका रहिछन्, मलाई । "गणित तिम्रो अैरे गैरेले बुझेर पार नपाउने खालको छ यार भाइ ।" मैले ठट्टा गरेर भन्दा यिनले पनि मजाकमै आफ्नो वास्तविकता सुनाउँछन्, "अप्सनल म्याथ लिएर एसएलसी दिया मान्छे हो नी दाई, म । जसले पनि बुझ्ने हिसाब त मेरो हुनै भएन् नी । तर के गर्नु उबेला आफैले अप्सनल म्याथको हिसाबलाई पुरै नबुझ्दा एसएलसी पुरकमा परियो ।"
 
"अनि पुरकमा चाँहि पास गर्यौ त ?" मैले सोध्न नपाउँदै मेरो प्रश्न, राइफलको गोली जस्तो उनको जवाफ फ्याट्ट मेरा कानाँ परिहाल्छ । "अप्सनल म्याथ लिएर पढेको मान्छेले पुरक दिन्छ ? त्यसपछि त हो दाई म विदेश हिडेको!" दुबई, मलेशिया अनि पछिल्लो चोटी कतार गरेर सात चोटी विदेश-स्वदेश त उनले गरिसकेका छन् । कहिलेकाही घरकै मान्छे विलखबन्दमा पर्दा हुन्, 'हैन्, हाम्रो घरको केटो बिदेश गएको कि लुकामारी खेलेको ?' 

"क्यार्नू त नी दाई, एकै ठाममा मन त्यति थीर (स्थिर) हुँदैन् हो, मेरो । सबभन्दा लामो समय बिताएको भनेको त्यहि शुरूको चोटी पुगेको दुबईको कम्पनीमा हो ।" आफूले त्यहाँ बिताएको हिसाब सुनाउँछन्, "चालीस् मैना ।"

भाइ मान्छे नै परे अलि कडा । थापा भएकोले अलि अलि काजी पारा आएको हो कि घरको एउटा छोरा त्यसमाथि जेठाबा (भाइका बा) बितेपछि सबै जिम्मेवारी यिनकै काँधमा सरेपछि अलि सुरोपन विकास पो भयो कि ? म कहिलेकाही यसो गम खान्छु । प्रायः कुनै कुरा यिनको चित्तमा पर्यो भने सक्कियो । जस्तो, पछिल्लो पटक दोहामा जब यिनले काममा लगातार रातीको मात्र सिफ्ट पाउन थाले, भाइलाई उधुम रिस उठेछ । म नेपाल पुगेर फर्केको हप्तादिन नहुँदै ह्वाट्सएप कलमा सुनाएथेँ, "दाई, मैले त रिजाइन हानेको दुई हप्ता भैसक्यो नी । जहिले नाइट काम मात्र हाल्दिन्छ यार । अबको पन्घ्र दिनपछि त म जाउनाखर्क (जामुनाखर्क)को ढाँडा (डाँडा हैन्) हुन्छु ।" 

"ए, हो र ?" हैन् होला त म भन्नै सक्दिन् । अब सक्नु पनि कसरी ? २०७९ को स्थानीय चुनाव आउनु अगाडिदेखि नै 'युग सुहाउँदो राजनीति गर्ने' नारा दिएर म पूरा तयारीका साथ नेपाल पुगेको बेला, भाइ नेपाल मैं थिए ।

"अहिलेसम्म कुनै माइकालालको झोला बोकिएको छैन्, बोके आफ्नै काजी दाइको झोला बोक्ने हो । दाई, चुनाव जसरी नी जित्ने हो ।" कम्ता त ढाडस दिएका थिएनन् रमेश भाइले मलाई । म बिचरा चुनाव उठ्ने जोडतोडका साथ नेपाल पुगेकै दिन घरका मान्छेको अनुहार देख्दा, आफैलाई 'हैन्, कुन बिरानो ठाउँमा ल्याइपुर्याएर छाड्यो जहाजले ?' भन्ने स्थितिमा पुगिसेकको थिएँ । रमेश भाइ भन्छन्, चुनाव त जित्ने हो । घरका मान्छे भन्छन्, "लड्लास् त चुनाव । खुब बाभन्दा ठूलो नेता बन्छु भन्ने सोच्या होलास् । पाउँलास् तैलेँ हाम्रो भोट !" 

अलि अलि चुनावी खर्च साथीभाइले हालेका थिए । अधिकतम् दुई हजार उनासी भन्दा दिन नपाइने मैले नियम बनाएको थिएँ । पैसा, चिनजानकै परिवर्तन त गर्न पर्छ है भन्ने एकजना बजारिया भाइको खातामा जम्मा गरिएको थियो । उठ्यो होला, त्यस्तै बिस पच्चिस् हजार । तर बजारिया भाइ आफैं परिवर्तन भयो । फोन उठ्न छाड्यो उसको । भेट हुन छाड्यो उसँग, मेरो । चुनावमा घरका मान्छेको लोप्पाले भन्दा यो बजारिया भाइको हर्कतले उठ्नै मन नलाग्ने स्थितिमा म पुगेथेँ । तर रमेश भाइ भन्थे, "दाइ, चुनाव त जसरी पनि जित्न पर्छ ।"

धेरै धेरै कारणले मैले चाँहि चुनावमा उठिनँ । पछि कुनैदिन मनछुने ब्लग लेखुँला । तर रमेश भाइले मान्दै मानेनन्, "दाइ, तपाइँले काजीको इज्जत माटो मैं मिलाउनु भो । तोलाको बोली खोलाँ फाल्नु भो । थापाको इज्जतको लागि भएपनि म चुनाव उठ्छु । तपाइँ मेयर नउठेर के भो? म वडाध्यक्ष लड्छु ।" पूरै जोशका साथ भाइ चुनाव उठे । वार्ड नं को वडा अध्यक्ष । म पनि एक बिहान उनीसँगै उनको वडाको फन्को मार्न पुगेथेँ । एक पृष्ठको चुनावी घोषणापत्र बनाएका थिए । हामीले ती उनका वडाबासीहरूलाई दियौ, मत पनि माग्यौ । "धेरै त हैन पचास छाठी भोट त ल्याउँछु, दाइ ।" कत्रो विश्वासका साथ भाइले मलाई सुनाएथे । मैले सोध्दा आधार, उनले भनेथे "अलिकति इष्टमित्र छन्, केहि साथीभाइहरू छन्, यो गाउँका तीस चालिस् जनाले त मबाट सापाटी नै लग्या छन् नी दाई, साठी भोट त फरक पर्दैन् ।" कुरा त मनासिबै लाग्या हो मलाई पनि । अब नेपालाँ मत पनि यसैगरी आउने हो । साथीभाइ, चिनेजानेको, मर्दापर्दा सहयोग गर्या मान्छेलाई मत नदिने भन्ने त नहुने पर्ने हो । 

स्वतन्त्रहरूलाई दिने चुनाव चिन्ह पनि उदेकै लाग्दा हुने । एक मन त मैले चुनाव नउठेर ठिकै गरे जस्तो पनि लाग्यो । तर रमेश भाइलाई, अझै पनि दाइले बेठिकै गर्यो भन्ने लाग्छ । चुनावका दिन मान्छेहरूले खोज्ने त उहि सूर्य, रूख, हसियाँ हथौडा, गिलास, मादल, हलो पहिल्यैदेखि स्थापित यिनै चुनाव चिन्हहरू त रहेछन् । यिनका माझमा रमेश भाइको भागमा परेको दुई चारवटा अण्डा पेटभित्रै लुकाएर राखेको हिड्नै नसक्ने जस्तो स्वरूपै नपरेको हाँसको चिन्ह कसले खोजोस्? पछि चुनावको नतिजा आयो, भाइको चिन्हमा दुई जनाले चाँहि छाप हानेछन् । एउटा त भाइ आफैं नै भए । अर्को त्यो को हो हँ ? न रमेश भाइले यसै भन्न सक्या छन् न मैले । त्यो कि रत्न होलीन्, कि जेठीआमा, कि लिलादिदी । 

रमेश भाइले चाँहि कम्तिमा घरबाटै भएपनि एउटा मत त बढी पाए, मेरो त त्यहि मत पनि घरबाट आउने कुनै गुञ्जायस थिएन् । बाले हाल्ने कुरो भएन् - उनी परे ठूला नेता । "मेरा बुढा जिउँदा छउन्जेल मेरा हातले छाप, सूर्य मै हान्छ ।" आमाको कुरा किल्लोर थियो । भाइको कुरा के गर्नु, ऊ पनि गाउँ टोलको सानो सूर्य छाप नेतै पर्यो । हुने बिजोग त मेरै थियो । यसरी रमेश भाइसँगको मेरो चुनावी किस्सा यहि सकिन्छ ।

अँ चुनावपछि म यता फर्के, त्यसको केहि महिनापछि रमेश भाइ "यी झोलेहरूसँग मुख जुधाएर के बस्नु? दोहामा राम्रो अवसर पा'छु ।" भन्दै दोहातिर हान्निए । दुई वर्षपछि म नेपाल पुग्दा, रमेश भाइ दोहा मैं थिए । म एकमहिना बसेर यता फर्केको एक महिना नपुग्दै रमेश भाइ नेपाल फर्केको कुरो मैले माथि नै बताइसकेँ । अँ त्यसपछि, उनी त्यतै छन् । 

त्यहि भएर त म भन्दैछु, कि बेनीको बजारलाई काखमा लिएको मसिना गोरेटाको धर्सा बोकेर बसेको पहाडको पक्की बाटो हुँदै उकालो लाग्दा बाटोमा कतै कागती गोडमेल गर्दै गरेको वा कुनै फोर्साको बोटमा उक्लेर फोर्साको हाँगा काट्दै गरेको वा कोही मान्छेलाई, 'अँ सापाटी चाहिँदा मसँग लिने भोट चाँहि मासुभात दिनेलाई हाल्ने ?' भनेर बाँझ्दै गरेको अधवैशे युवक भेट्यौ भने त्यो मेरो रमेश भाइ नहुन पनि सक्छन् । किनकी अस्ती मात्र उनले मलाई भन्याथे, "दाई दुबइको फाइभ स्टार होटलको एचआरबाट इन्टरभ्यूको लागि फोन आएथ्यो, छ महिना वर्षदिन हल्लेर आउन पाइएला जस्तो छ ।" हुनसक्छ, यतिबेला उनी त्यता जाने तर्खरमा होलान् ।

मेरो ह्रवाट्स एपमा कल आएको छ । 

ए, यो त रमेश भाइकै कल हो यार । 

हेल्लो ....!

#Myagdi #RameshBhai #Beyondyourunderstanding

Comments

  1. गज्जब !!आजको शैली, भाषा अनि रमेश भाइको विन्दास तर कर्मशील स्वभाव, गुरुको कलमले बल्ल मेलो समातेको भान भएको छ ।।

    ReplyDelete
  2. दाजुको लेखमा दाजुको आफ्नोपन झल्किदैछ है। ब्लग पढ्दा मज्जा आयो। दाजुको कलम यसरी नै चलिरहोस् निरन्तर। 🙏

    ReplyDelete
  3. लेख अझै उत्कृष्ट र परिस्कृत रुपमा आयको लाग्यो। शुभकामना अब आउने लेखहरुलाई !!

    ReplyDelete
  4. Ekdan gajjab lekhan dai agami din harumapani estai estai blogs haru padhna Pam

    ReplyDelete

Post a Comment

प्रतिक्रिया ब्यक्त गर्दा सभ्य र सुसंस्कृत शैली प्रयोग गर्नका लागि सम्पूर्णमा सविनय अनुरोध गर्दछु ।

लोकप्रिय पोष्टहरू

क्लोरिनको झोल, वैज्ञानिकहरू र मेरी बोइको मुड्की

मेरो बाल्यकाल लगभग बोईसँगै बित्यो । त्यो चकचक गर्ने समय भएकाले मेरो चकचकसँग बोईलाई बेलाबेलामा झिझो लाग्नु स्वभाविक नै थियो । त्यसैले मैले अति नै अटेर गरेपछि बोईले मलाई भन्नुहुन्थ्यो -  "अहिले गाडूँला मुड्की (मुड्कीले हान्छु) ।" तर अहँ कहिल्यै पनि एक झापड खानुपरेन । मुड्की नै खानु नपरेपछि मेरो चकचक थामिने कुरै थिएन, त्यसैले बोईले पनि मुड्की गाडूँला भन्न छाड्नुभएन अनि मैले चकचक गर्न । मेरी बोईले यस धरा छोडेको पनि यहि हिउँदमा बर्षदिन पुग्दैछ, तर बोईले भन्ने गरेको "अहिले गाडूँला मुड्की" मेरो मनमा गडिरहेको छ, अनि यसो सोच्छु, दुईचार पटक बोईले साँच्चिकै मुड्की गाड्नुभएको भए, मेरा चकचक उहिले पहिले नै खत्तम हुन्थे कि ?  तर खासमा चकचक भन्ने जिनिस त्यत्तिकै खत्तम भएर गैहाल्ने कुरो हैन रहेछ । न त यो उमेर बढ्दै गएपछि आफै घट्दै र पछि निस्तेज नै हुने रहेछ । यसले खासमा उमेर बढ्दै गएर केश पाक्दै गएपनि आफ्नो स्वरूपमा अलिकति फेरिदै तरह तरहका रूपमा प्रकट हुँदै पो जाँदो रहेछ कि ? भन्ने निचोडमा पुगेको छु । यस्तै केहि केश पाक्नै थालेका मान्छेहरूको चकचक कोरोनको त्रास बढ्दै गएपछि अलिकति भि...

नांगो नाच, यौनधन्दा र राजधानी

मैले मेरो देशका बारेमा गर्व गर्दा अब गौतम बुद्ध, सगरमाथा, एकसिंगे गैंडा, जैविक विविधताले भरिपूर्ण देश वा जिउँदी देवी कुमारीको नाम लिनुपर्छ जस्तो मलाई लाग्दैन् । हामी अराजकता र उच्छृङ्खलताको सगरमाथा चढिसकेका छौं अब किन फोकटमा अरु अरु बहानामा नेपाली भएकोमा गर्व गर्नु ?! मैले यहाँ उल्लेख गर्न चाहेको सन्दर्भ मेरो पछिल्लो पटकको काठमाडौं भ्रमणको हो । यहाँले बुझिसक्नु भयो होला, काडमाडौं फगत हाम्रो देशको प्रशासनिक वा राजनैतिक राजधानी मात्र रहेन् । त्यो गुण्डाहरुको राजधानी हो, त्यो आन्दोलनकारीको राजधानी हो, हत्या, हिंसा र लुटपाटमा निमग्न अपराधीहरुको राजधानी हो । अनि राजधानी हो त्यो डान्स बारका नाममा नांगै नाच्ने तरुनी र उनीहरुका स्तन, नितम्ब वा हातको एक पटकको स्पर्शका लागि कामातुर बृद्ध सेठ र साहुहरुको पनि । मैले यसपटक यस्ता चार पाँच डान्सबारको भ्रमण गर्न पाएँ कि न जसको कुनै पत्रिका, रेडियो वा टेलिभिजनमा विज्ञापन नै देखिन्छन् न त त्यहाँ हुने कर्तुतका बारेमा तिनै पत्रिका, रेडियो वा टेलिभिजनका हेडलाइनहरु लेखिन्छन वा वाचिन्छन् ! न त ती ठाउँहरुमा समाजमा शान्ति, अमनचयन र सुव्यवस्थाको ठेक्का पाएका ...

एउटा सग्लो रात(कथा)

आषाढको एक शुक्रबारको साँझ बिश्वविद्यालयबाट घरतिर फर्कने क्रममा अलि ढिला भो । घरसम्म पुग्नलाई माइक्रो, अनि नगर बस सबैको आवातजावत बन्द भैसेकेको थियो । हिडेर एक घण्टाको पैदल यात्रा गर्ने दुस्साहस मैले गरिनँ । त्यसकारण, ट्याक्सीको पखाईमा त्यसै उभिरहेको थिएँ । आडैमा एउटी युवती आई । मतिर पुलुक्क हेर्दै मुसुक्क मुस्कुराई । मैले पनि मुस्कुराएरै उसको आगमनको स्वागत गरेँ । सोधी – “दाई ट्याक्सी कुर्नुभएको ?” “हजुर ।” मैले जवाफ दिएँ । “म पनि ट्याक्सी वेट गरिराखेको हेर्नु न अहिलेसम्म एउटा भेटेको छैन ।” युवतीले दुखेसो पोखी । मैले प्रश्न गरेँ – “कहाँ जानुपर्ने ?” “धेरै टाढा त हैन, मुस्ताङचोकसम्म पुग्नुपर्ने थियो ।” जवाफमा उसले भनी ।  उसको मुखबाट मुस्ताङचोक फुत्कदाँसाथ ममा नजानिदो उत्साह बढेर आयो । भनेँ – “ए, हो र ? म पनि त मुस्ताङचोक नै जान लागेको नी !” “ला हो र ? उसो भए त मज्जा भो नी, हजुर अनि मेरो दुवैको फिप्टी प्रसेन्टेज पैसा सेभ हुने भो नी त । एक्लै जाँदा त ४०० लिन्छ । अब दुई सयमै पुगिने भईयो ।” उसले खुशी ब्यक्त गरी । मैले पनि समर्थन जनाएँ – “हो त ।” अनि यो पनि जान्न चाहेँ कि ऊ के गर्...

गेष्टहाउस, यौन ब्यवसाय र कानुन

फोटो गुगल बाट सर्च गरि राखिएको हो । मेरो ख्यालमा हाम्रो नेपाली समाजमा सबभन्दा बढि गलत ढंगले ब्याख्या गरिने विषय केहि छ त, त्यो यौन सम्बन्धि सन्दर्भ नै हुनुपर्छ । मानिसहरू यौनका विषयमा यति गम्भिर देखिन्छन् कि कोही व्यक्तिको कोही युवतीसँग उठबस बढ्न थाल्यो भने मान्छेहरू उनीहरूका विषयमा टिकाटिप्पणी गर्न एकदमै लालयित हुन्छन् । राम्रा/नराम्रा, जायज/नाजायत हरेक किसिमका टिप्पणीहरू हुन पुग्दछन् । अझ कुनै पनि व्यक्ति यौनका मामलामा कमजोर देखियो भने त झन उसको दीनदशा बिग्रयो भन्ने जाने हुन्छ । मानौं उसले यति ठूलो अपराध गरेको छ कि जिन्दगीभर उ क्षमायोग्य मान्छे हुनै  सक्तैन । भन्न त मान्छेहरू भन्छन्, यौन प्राकृतिक कुरा हो । जैविक आवश्यकता हो । र, यसको आवश्यकतालाई कसैले पनि नकार्न सक्तैन । तर मान्छेहरू जब कोहीला ई  यौनका विषयमा खुल्न थालेको पाउँछन् अनि फेरि फरक बन्न पुग्छ, उनीहरूको दृष्टिकोण । अब यौन न त प्राकृतिक कुरा नै हुन्छ न त जैविक आवश्यकता नै । मान्छेहरू यसला ई  सामाजिक संस्कार अनि मूल्य र मान्यतासित जोडेर हेरिदिन्छन् । अरू त अरू एक बलात्कृत नारीको विवशताको समेत खिल्ली उडाउन ...

प्रचण्ड, निशानी, र हामीहरू

' राती दश बजेको आलर्म सेट गर्नु, ठ्याक्कै टाइममा हस्तमैथुन गर्नुपर्छ । '  ब्यक्तिको नाम ट्याग गरेर उनले फेसबुकमा भित्तेलेखन सम्प्रेषण गर्ने गर्थे । उनको भित्तेलेखनमा अंकित ब्यक्ति उनका हितैषी मित्र हुन होइनन् त्यो मेरो सरोकारको कुरो रहेन् । किन्तु, धवलागिरिका पत्रिकाहरूमा स्तम्भकारको परिचय स्थापित गरिसकेका उनको स्तरको ब्यक्तिले फेसबुकमा यस्ता भित्तेलेखनहरू सम्प्रेषण गर्नु कत्तिको उचीत थियो भन्ने मेरो प्रश्न हो ।   पछिल्ला दिनहरूमा एउटा राम्रै चर्चा बटुल्न सफल अनलाइन पत्रिकाहरूमा प्रचण्ड लक्षित लेखहरू मार्फत स्थापित लेखकको परिचय बनाएका उनलाई माथि उल्लेखित उट्पट्याङ यौनजन्य खुराक फेसबुकमा पस्केका कारण केहि फेसबुके साहित्यकारहरूले यौन कविको उपनाम पनि भिरा ई दिए । र, उनी जबरजस्त यौन कविको छवि निर्माणको दिशामा अग्रसर हुन थाले । धन्य अनलाइन पत्रिकाले उनला ई  यौन कवि हुनबाट बचाए, र एउटा परिचय बनाइ दिए- दिल निशानी मगर । निशानीको लेखन शैली विशिष्ट छ । त्यो एकदम जबरजस्त छ । सुन्दर बान्की परेका वाक्य गठन र उस्तै वाचनप्रिय शब्दको छनौटमा उनको शिल्पमाथि डा. गोविन्द भट्टरा ई ...