Skip to main content

मन किन रून्छ यो मन ?

An lady enjoying her solitude at beach

भन्न त मानिसहरूले भन्छन् नी - मान्छे जन्मदा एक्लै जन्मेको हो, मर्दा पनि सँगै को जान्छ र ? तर एक्लै जन्मिएर, मर्दा पनि एक्लै हुने हामीहरू कतिपय एक्लोपनको आभाष हुँदा किन किन आत्तिन्छौं होला ? तिमीले त्यस्तै गरी आत्तिएको मैले तिम्रो आवाजमा महशुस गरेथेँ । यस्तै महशुस धेरैले गरेका हुन्छन्, जस्तै तिमीले गरेकीछ्यौ । त्यो दिन तिम्रो आवाज मसामु आइ पुगेपछि, सायद केहि क्षणभरका लागि भएपनि तिमीले एक्लो महशुस गर्नुपरेन । 

प्रिय साथी सुमी, तिमीले म्यासेन्जरमा पठाएको तिम्रो एक टिकटक भिडियो मैले हेर्न पाइँन । मैले हेर्न असमर्थ रहेको त्यो भिडियोको थम्बनेलमा तिमीले रातो वाइनले भरिएको एक पारदर्शी काँचको गिलास समातेको देखिन्थ्यो । सायद तिमीले कुनै विरहलाग्दो या हुनसक्छ उत्साहले भरिपूर्ण कुनै नेपाली गीत वा मदिरापानको खुब चर्चा गरेको गज्जपको हिन्दी गजल या गानाको धुनलाई पार्श्व संगीतमा राखेर मदिरा पिइरहेकी थियौ होला । एक्लोपनका बारेमा हामीले लामै कुराकानी गरेपछि हाम्रो संवादको उत्तरार्द्वतिर तिमीले पठाएको उक्त भिडियोले मलाई मेरो एक मित्रको सम्झना दिलाएथ्यो । त्यो मित्र जसले प्रत्येक पल्ट रक्सीले मातेका बेला मलाई फोनमा सम्झिन्छ र भन्छ, यार मलाई अचेल एक्लो एक्लो महशुस हुन्छ । मेरो त्यो मित्र र तिमीमा केहि समानता छन् । तिमीहरू दुबै विवाहित छौं । तिमी दुवैका समान संख्यामा सन्तानसन्तती छन् । तिमी दुवै परिवारबाट टाढा छौै । तर तिमीहरूमा छाएको एक्लोपनको कारण भने एकदमै भिन्न छन् । 


जम्माजम्मी एउटा भिन्नता तिमी दुईमा मैले यो पाउँछु कि उसले रक्सीले मातेका बेला एक्लोपनले गाँजेको कुरा स्वीकार्छ । तर तिमीले रक्सी नपिएको बखत कुराकानी भैरहेको समय मदिरा पिएको टिकटक भिडियो पठाएर आफूले महशुस गरेको एक्लोपनकोबारे बताएथ्यौ । के मानिसले मनको कुरा खोल्नलाई कुनै न कुनै रूपमा रक्सीको सहायता लिनुपर्ने हुन्छ र ? सायद, हुनसक्छ । धेरैजसो मानिसहरू वेहोशीमा सत्य स्वीकार्छन् । होशमा त हर कोही भ्रम छर्न व्यस्त छ ।


तिमीले जस्तै मैले पनि जीवनमा एक्लोपनको महशुस धेरै पटक गरेको छु । विशेषतः यस्तो किसिमको अत्यासलाग्दो भाव मैले राख्ने अपेक्षाहरूका कारण उत्पन्न हुन्छन् । त्यसकारण पनि तिमीलाई सोध्न चाहेको मैले, कतै तिमीले पनि मेरा जस्तै अपेक्षाहरूका कारण यस्तो महशुस गरेकी त हैनौ? थाहा छैन, जीवनमा मानिसहरूले के कस्ता अपेक्षाहरू राख्ने गर्छन् । या राख्नु पर्ने हुन्छ ? हाम्रा अपेक्षाका सीमाहरू के हुन् ? मलाई यो पनि थाहा छैन कि हामीले आफ्ना अपेक्षाका सीमाहरूबारे थाहा पाउनुपर्छ या पर्दैन् । तर जुनदिन हामीले आफ्ना अपेक्षाका कारण सिर्जित समस्याहरूबारे पत्तो पाउँछौं, त्यसैदिन हाम्रा जीवनका अधिकांश समस्याहरूको जड पत्तो लाग्दछ । एक मित्रका नाताले तिमीलाई गर्ने सक्ने आग्रह यहि हो कि, आफूबाहेक अरूबाट आफ्नालागि हुनुपर्ने अपेक्षा गर्न छाडिदेऊ । 


तिमीलाई थाहा होस्, एक्लो भएर पनि एक्लोपनको महशुस गर्न नसक्नु, त्यो एउटा विमार हो । तर एक्लो भएको महशुस गर्न सक्नु खासमा एक हिसाबको बुद्वत्व प्राप्त गर्नु हो । यसप्रकारको आत्मबोधलाई बुद्वत्व प्राप्त गर्नु जस्तै हो म किन पनि भन्छु भने एक्लोपनको महशुस गर्न थालेपछि मान्छेले असलमा आफूतिर फर्कन थाल्छ । उसो त न मैले तिमीसँग न त ऊसँगै तिमीहरूले आफूतिर फर्केर हेरेका छौ कि छैनौ भनेर प्रश्न गर्न सकेको छैन् । किनभने, यो दोस्रो व्यक्तिले सोध्दा निकै नै अपमानजनक जस्तो लाग्ने प्रश्न हुन जान्छ । तर स्वंयले आफैलाई प्रश्न गर्ने हो भने यसले त खासमा सम्मानजनक अवस्थितीमा पुर्याउँदो रहिछ । यो प्रश्न मैले स्वंयलाई धेरै पटक सोध्ने गरेको छु, जस्तो कतिपय सन्दर्भहरूमा मसँगको संवादमा मलाई मेरो आमाले समेत बुझ्न असमर्थ रहनु हुन्छ। त्यस्तै कतिपय संवादका दौडान मलाई मेरी पत्नीले मसँगको संवादमा मैले बुझाउन खोजेभन्दा बढि बुझ्छिन् । अनि यसैकारण मलाई लाग्ने गरेको छ, कुनै पनि मानिसलाई ऊ स्वयंले बाहेक अरू कसैले कहिल्यै पनि बुझ्न सक्दैनन् । 


आमा र पत्नीसँगको संवादहिनताबाट उत्पन्न हुने एक्लोपनले बाहेक अरू कुनै पनि खालको परिस्थितीबाट निर्माण हुने एक्लोपनले ठोस प्रभावित पारेका छैनन् मलाई । तर ती सबै परिस्थितिहरूमा समेत महशुस हुने गरेको एक्लोपनको मैले खुब आनन्द उठाउने गरेको छु । जन्मिदा एक्लै जन्मे पनि जन्मिदासाथ एक शिशुले पाउने पहिलो स्पर्श भनेको उसको आमाको हो, त्यसैले पनि हुनसक्छ आमाको ममताको अभावमा सिर्जित एक्लोपनले बादशाहलाई समेत हिक्का छुटाएरै छाड्छ । त्यसैकारण, तिमीले जस्तै यस्तो परिस्थितिमा मैले पनि आफैलाई आफैप्रति करूणा जाग्नेगरी रोएको छु भन्नुमा मलाई कुनै लज्जाबोध छैन् । मलाई उहिले देखि लाग्दै आएको पनि छ, एक्लोपनको ओखती रूवाई जस्तो अरू केहि नहुँदो रहिछ ।


तर पत्नीसँगको संवादहिनताका कारण मैले अनुभूत गर्ने एक्लोपनमा म कहिल्यै रोएको छैन् । रूनुभन्दा ठिक अगाडिको अवस्थासम्म पुग्ने गरेको छु । आँशु चुहेको त हुँदैन् तर आँखा रसाएको जस्तो हुन्छ । त्यस्तोबेला तिम्रो जस्तै मेरो पनि मदिरा मित्र हुन्थ्यो । तर, मैले बुझेपछि मान्छेको एक्लोपनको मित्र मदिरा हुन सक्दैन् । मैले मदिरापान त्यागिदिएँ । बरू पत्नीसँग दुःखी हुँदा उनको दृश्यबाट केहि समयका लागि म ओझेल पर्ने गर्छु । अनि पीडाका भावले ओतप्रोत संगीत खुबसँग सुन्छु जस्तै Dean Lewis को half a man वा भनूँ  सिने गुरूङको मन किन रून्छ यो मन ? मलाई जान्न मन लागेर आयो, के तिमीले पनि कहिल्यै मैले जस्तै यस्ता पीडाले भरिएका गीतहरू सुनेकीछ्यौ? छैनौ भने अबदेखि शुरू गर । मदिरा र आँशुको भन्दा बढ्ता आनन्द दिने शक्ति गीतमा हुँदो रहेछ, संगितले बोक्दो रहिछ ! 


एक साथीका नाताले मैले तिमीलाई भन्नु करै लाग्छ, 

एक्लोपनको महशुस गर्नु नराम्रो हैन् ।

रूनु भनेको कमजोर हुनु पनि हैन्।

मदिरा पिउनु खराब हैन् ।

न गीत सुन्नु नै गलत हो ।

तर मैले माथि उल्लेख गरेका कुनै पनि चिज मध्य एक वा सब मात्रै जिन्दगी हो भन्ने ठान्नु चाँहि राम्रो नहुन सक्दछ। यी सबै जीवनका केबल एक पक्ष हुन् । यीनलाई त्यहि रूपमा मात्र स्वीकार गर्नुपर्छ । 


अँ साँच्चि, तर मैले मदिरा त्यागेकै भएपनि, यदि कुनै त्यस्तो दिन उदाशीले सताएर एक्लोपनले घेरेछ भने मलाई, हातमा मदिराको गिलास लिएर, मनलाई भित्रैदेखि छुने पीडाले भरिएका गीत गुन्जिएको हेडसेट कानमा राखेर मदिरा पिउँदै एक्लोपनले आजसम्म जुन जुन क्षणले मलाई सताएथे ती सबै बिर्साउने गरी आँखाबाट आँशुका थोपा नभै बलिन्द्र धारा खसालेर रूनु मन छ । ताकी जीवनमा त्यसरी फेरि कहिल्यै रूनु नपरोस् । 


प्रिय साथी, जीवनमा सबैलाई बेला बेला एक्लोपनले अङ्गालो हालोस् । र, सिकाओस् कि जीवनमा कोही पनि एक्लो छैन्, जो स्वंयको साथी बन्न सक्छ, ऊ कहिल्यै एक्लो हुँदैन् ।

Comments

  1. Wow, गजबको अर्को लेख, मानिस एक्लो हुने मुख दुई कारणहरु मध्ये एउटा अर्को पक्षले आफन्नो कुरा गलत बुझेको वा बुझ्दै नबुझेको परिस्थिति को अनुभूति हुनु हो जस्तो लाग्छ मलाई । अनि एक्लो हुनुको अर्थ सबै सकिनु हो भन्ने नी होइन होला तर हरेको कुराको सीमा हुन्छन्, धेरैं जसो एक्लै हुने मानिसहरुमा डिप्रेसन रोग देखिनु सामान्य अवस्था पनि हो।यसैले जसरी हुन्छ रोग बिहिन जीवनको पक्षमा रहु होला अनि जसरी मनाय पनि एकलोपनलाई भगाउन पिएर वा पिलाएर वा संगीत सुनेर मनाऊ। अनि फेरि उही पुरानै मन्त्र चीनी पनि धेरै खाए पछि तीतो हुन्छ। धन्यवाद लेखको लागी।

    ReplyDelete
    Replies
    1. फेरि पनि एउटा अर्को गज्जप टिप्पणीका लागि यहाँलाई हार्दिक आभार प्रकट गर्दछु । साँच्चि डिप्रेसन खासमा रोग नभै एक अवस्था हो । यस्तो अवस्थामा भएकाहरूलाई अरू सामान्य अवस्थामा रहेका नजिकका मानिसहरूले मद्दतले मात्र त्यस्तो अवस्थाबाट बाहिर लेराउन सकिन्छ ।
      यहाँको निरन्तरको माया र यस्तै हौसला मिलिरहोस् । जदौ !

      Delete
  2. दाजुको यो लेख साँच्चिकै मन छुने र भावनात्मक लाग्यो। एक्लोपनको महशुस गर्नु असाध्यै मानवीय र सामन्य अनुभव हो जुन हरेक ब्यक्तिले जीवनको बिभिन्न मोडहरुमा महसुस गरीरहेको हुन्छ र फरक मानिसहरुको फरक फरक खालको कोपिन्ग मेकानिस्म हुन्छ। सकारात्मक दृष्टिकोणमा हेर्दा एक्लोपन भनेको आफूसँग समय बिताउनु, आन्तरिक शान्ति र आत्मसाक्षात्कारको लागि समय निकाल्नु, जीवनलाई नयाँ दृष्टिकोणबाट हेर्नु हो जस्तो पनि लाग्छ। तर यसको पनि आफ्नै परिधि र समय सीमा हु्न्छ होल। एक्लोपनको अनुभव निरन्तर र लामो समयसम्म रहन थाल्यो भने चै हामीमा मनसिक रोगहरु देखापर्न सक्छ।
    एक सशक्त विषयको उठान गर्नुभएकोमा दाजुलाई धेरै धेरै धन्यबाद।

    ReplyDelete
    Replies
    1. यस ब्लगपोष्टले भाइको मन जितेको सुन्दा मलाई खुशी लागेको छ । भाइले भने झैं एक्लोपनको महशुस हुनु एकदमै मानवीय र स्वभाविक अनुभव हो । र, भाइले ने भने झैं निरन्तरको यस्तो अनुभवले मानिसलाई निराशाको कालो छिद्रले तान्न सक्छ । बेलैमा सचेत हुनु जरूरी छ ।

      Delete
  3. गुरुको यो लेख गोठमा बसेरै पढिसकेँ । सोच्छु, गोठमा बाँधेको भैसीले एक्लोपन महशुस गर्छ कि गर्दैन होला ? आफुँले जन्माएका प्रत्येक पाठापाठीबाट छुट्टयाइएकी बाख्रीले एकलोपनको महशुस गर्छेकि गर्दिन होला ? के एक्लोपनको महशुस गर्ने संसारकै प्राणी मान्छे मात्रै हो ? तर हैन पशुपन्छीले पनि एक्लोपनको महशुस गर्छन् तर उनीहरूले छिट्टै विर्सिन्छन् । केहि समय अगाडि नेपालका जल्दाबल्दा लेखक बुद्धिसारको उपन्यास पढेको थिएँ । "एक्लो" । उक्त उपन्यास पढिसकेपछि केहि दिन त कोही पनि आफ्नो देखेको थिइनँ । कहिलेकाहीँ कुनै दर्शन या ट्रक साहित्य या कतै केहि त्यस्तै हरफहरू भेटिन्छन । "मान्छेको आफ्नो भन्नु छायाँ मात्रै हो त्यो पनि उज्यालोमा मात्रै देखिन्छ" । धेरैपटक मैले पनि एक्लोपन महशुस गरेको छु ,तर सबै आफ्नाहरूको माझमा र पनि मदिरा पिउने र संगीत सुन्ने दुवै मेरो बानी छैन । त्यसैले मैले पनि एक्लोपनलाई छिटै विर्सन प्रयासरत छु । गुरुको लेखन माझिएको खारिएको र प्रस्तुति लोभलाग्दो हुँदै गएको छ ।

    ReplyDelete
    Replies
    1. गुरूलाई यो ब्लगपोष्ट मन परेको सुन्दा मलाई खुशी लागेको छ। अझ यहाँले गोठमैं बसेर यो ब्लगपोष्ट पढ्नुभएको र त्यसमाथि जनावरहरूले पनि एक्लोपन महशुस गर्छन् भन्ने कुरा एक पशुसम्बन्धि प्राविधिक ज्ञान भएको हजुरजस्तो विज्ञबाट जनावरको मनोदशाबारे संक्षेपमा जानकारी पाउनु मेरो लागि अहोभाग्य कुरो हो । यहाँको निरन्तरको सदभाव रहिरोस । हार्दिक आभार ।

      Delete

Post a Comment

प्रतिक्रिया ब्यक्त गर्दा सभ्य र सुसंस्कृत शैली प्रयोग गर्नका लागि सम्पूर्णमा सविनय अनुरोध गर्दछु ।

लोकप्रिय पोष्टहरू

अनि रोशन भाइले टिपेछन् ६ बाल्टिन बेरी

गएको साल, हेर्दै कलिला देखिने दुई जना ठिटाहरू तिक्कुरिला रेल बिसौनीको कुनामा मस्त चुरोटको पफ लिदैं गरेका बेला, "भाइहरू नेपाली हो ?" भनेर मैले सोधेको थिएँ । मेरो प्रश्न भुँइमा झर्न नपाउँदै, आफूले तान्दै गरेको चुरोट आफ्नो साथीलाई दिदैँ, झन कलिलो देखिने ठिटोले भनेथ्यो, "हो दाई । कसरी पो ठम्याउनु भो ?"  दुई फरक मुहारको बनोट लिएका मानिसहरू सँगै बसेर एउटै चुरोट तान्दैछन् भने ती पक्कै नेपालीहरू हुनुपर्छ, त्यसमाथि तिमीहरू नेपाली मैं बातचित गर्दै थियौ नी त । मेरो जवाफ सुनेपछि त्यो ठिटोले कपाल कन्याउँदै भनेथ्यो, "हाउ दाजु पनि, सारै मजाको पो हुनुहुदोँ रहिछ !" मैले बात मार्न खोज्दा, निसंकोच बात मार्न खोज्ने ठिटो त पूर्वतिरको लिम्बु भाइ रहेछन् । अनि खासै बात मार्न नचाहने चाँहि रहिछन् - काठतिरका बाहुन भाइ ।  त्यो दिन ती भाइहरू हेलसिन्कीबाट सवा घण्टाको रेल यात्रामा पुगिने ठाउँबाट काम पाइने आशामा साथीलाई भेट्न आएका रहेछन् । आफूलाई भेट्न निम्ता दिएको साथीसँग भेट  नभएपछि  कामको खोजीमा हेलसिन्की झरेका उनीहरूलाई  आफू बस्ने ठाउँतिर फर्कने क्रममा मैले भेट्न पुगेको थिएँ । छोटो भ...

घर कहाँ हो दाजुको ?

अन्तिम पटक ह्वाट्स एपकलमा तेर्ह मिनेट कुराकानी भएको ठ्याक्कै तीन महिनापछि ह्वाट्स एपमा तिमीलाई मेरो पछिल्लो ब्लग पोष्टको लिंक साझा गरेथेँ, करिब तीन हप्तापछि आजै बुनेले मीठो टिप्पणीसहितको सन्देश प्रवाह गर्ने क्रममा अम्रिकाबाट सोधी पठायौ, "Dai, I have a question, where is home? Nepal or Finland?" सायदै बुने तिम्रो प्रश्न यत्तिमै मात्र सक्किन्थ्यो भनेपनि मैले सजिलै भनिदिन सक्थेँ होला जसरी हाम्रै म्याग्दीका लोकगायक खड्ग गर्बुजाले आफ्नो ' पिरती ' एल्बमको एक गीतमा सोध्दा प्रश्न, "घर कहाँ हो मायालु?" कति सजिलै जवाफ दिएथीन् गायिकाले, "हिमालको काखैमा ।" तर तिम्रो प्रश्नमा जवाफ मात्र दिएर पुग्थेन्, त्यसले अन्तःस्करणको भाव पनि जान्न चाहन्थ्यो किनकी त्यसमा तिमीले थपेर पठाएथ्यौ - "What is your feeling since you've lived so many years in Finland?" म फिनल्याण्ड टेकेको वर्षदिन पनि त पुगेको थिएन् जतिबेला सन् २०१३ को हिउँदमा फिनल्याण्डमा मलाई पहिलो कामका लागि भनसुन गर्दिनुभएका दाजु राजन सुवेदीले, तिम्रो जत्तिकै गम्भीर त होईन् तर सिधा प्रश्न गर्नु भएथ्...

मेरो एउटा साथी छ (हुनुहुन्छ)

 " नीराजन, मेरो बेस्ट फ्रेन्ड हो ।" जन्मेर २६ वर्ष बिताएको देश नेपालमा मलाई यस्तो भन्ने कोही थिएन् । तर यतै फिनल्याण्ड आइपुगेपछि,  मलाई यस्तो भन्ने एक जना भेट्टिएकी थिइन् ।  जोसँग बसेर एकै कप चिया वा कफि पिएकै थिइँन्, मैले । मनभरीका बह न मैले उनीसँग केहि पोखेकै थिएँ, न त उनले विशेष केही त्यस्त्तो साझा गरेकी थिइन् मसँग । तर मलाई चिन्ने र मसँग सम्पर्कमा रहेका धेरै साथीभाइसँग उनले सुनाउन बिर्सेकी रहिन्छिन् कि निराजन उनको बेस्ट फ्रेन्ड हो ।  यो पढ्दै गर्दा यहाँलाई लाग्ला, कि आफूलाई बेस्ट फ्रेन्ड बताउने साथीका सम्बन्धमा लेख्ता पनि यसले किन भूतकालको प्रयोग गर्यो ? प्रश्न स्वभाविकै हो तर मेरो जवाफ अलिकति अस्वभाविक लाग्न सक्ला यहाँलाई । कि मलाई बेस्ट फ्रेन्ड भन्ने उनको, खासमा म  फ्रेन्ड पनि थिइँन् । न उनी थिइन्, मेरो कुनै त्यस्तो विशेष मित्र । बस्, हाम्रो सामान्य चिनजान मात्र थियो । केहि मानिसहरू हुँदारहेछन्, जो सामान्य चिनजानलाई मित्रताको नाम दिदाँरहिछन्, उनले जस्तै । अनि कोही यस्ता पनि हुँदा रहिछन् कि जोसँग हामी विशेष सामिप्यतामा भएको ठानेका हुन्छौं, तर उनीहरूका ...

बोई, बार्ह वर्षमा खोलो किन फर्किएन् ?

हिजो भर्खर जस्तो लाग्छ, २७ औं वसन्तमा हिड्दै गरेको म विना कुनै योजना देश छाडेर परदेश हिडेको । आज १२ वर्ष नाघिसकेछ, परदेश भनिएको ठाम देशजस्तै अनि देश ठानिएको ठाम परदेशजस्तै भएको । मेरी बोइ भन्नुहुन्थ्यो, "बार्ह बर्षमा खोलो फर्किन्छ ।" बार्है बर्ष वितिसकेछन्, म मान्छे भएर होला सायद आफूले आएको बाटैबाटो घर फर्किन नसकेको ! बोइ नफर्किने गरी गएको पनि ५ वर्ष त नाघिसकेछ, सायद अझै हुनुहुन्थ्यो भने फोन गरेर म सोध्दो हुँ, - बोइ बार्ह वर्षमा खोलो कसरी फर्किन्छ ? सिकाइमाग्दो हुँ फर्किने सुत्र, शिरोपर गर्दो हुँ ती सुत्रहरू र लाग्दो हुँ ढोडेनीको पक्की पुल तरेर किनारै किनार तेर्सिएर घैयारासम्म अनि अलिकति माथि उक्लिएर हाम्रा जिजुको पालादेखिको हाम्रो स्थायी ठेगाना उही ढुंगेपाली टोलमा । छिर्दो हुँ आफ्नै मेहनतले बनाएको साढे दुई तले पक्की घरको दैलोभित्र ।           दिनहरू यस्ता पनि थिए, जहिले म कविताहरू लेख्ने गर्थेँ । मेरा कविताहरूमा देश छाड्नेहरूलाई स्वदेशमैं बस्नु भनेर आव्हान हुने गर्थे । अहिले म तीनै कविताहरूका पात्र बनेर आफैले बाँच्नु परेको परिस्थितीलाई पचाउने प्रयत्न गर्दै...

क्लोरिनको झोल, वैज्ञानिकहरू र मेरी बोइको मुड्की

मेरो बाल्यकाल लगभग बोईसँगै बित्यो । त्यो चकचक गर्ने समय भएकाले मेरो चकचकसँग बोईलाई बेलाबेलामा झिझो लाग्नु स्वभाविक नै थियो । त्यसैले मैले अति नै अटेर गरेपछि बोईले मलाई भन्नुहुन्थ्यो -  "अहिले गाडूँला मुड्की (मुड्कीले हान्छु) ।" तर अहँ कहिल्यै पनि एक झापड खानुपरेन । मुड्की नै खानु नपरेपछि मेरो चकचक थामिने कुरै थिएन, त्यसैले बोईले पनि मुड्की गाडूँला भन्न छाड्नुभएन अनि मैले चकचक गर्न । मेरी बोईले यस धरा छोडेको पनि यहि हिउँदमा बर्षदिन पुग्दैछ, तर बोईले भन्ने गरेको "अहिले गाडूँला मुड्की" मेरो मनमा गडिरहेको छ, अनि यसो सोच्छु, दुईचार पटक बोईले साँच्चिकै मुड्की गाड्नुभएको भए, मेरा चकचक उहिले पहिले नै खत्तम हुन्थे कि ?  तर खासमा चकचक भन्ने जिनिस त्यत्तिकै खत्तम भएर गैहाल्ने कुरो हैन रहेछ । न त यो उमेर बढ्दै गएपछि आफै घट्दै र पछि निस्तेज नै हुने रहेछ । यसले खासमा उमेर बढ्दै गएर केश पाक्दै गएपनि आफ्नो स्वरूपमा अलिकति फेरिदै तरह तरहका रूपमा प्रकट हुँदै पो जाँदो रहेछ कि ? भन्ने निचोडमा पुगेको छु । यस्तै केहि केश पाक्नै थालेका मान्छेहरूको चकचक कोरोनको त्रास बढ्दै गएपछि अलिकति भि...