Skip to main content

मन किन रून्छ यो मन ?

An lady enjoying her solitude at beach

भन्न त मानिसहरूले भन्छन् नी - मान्छे जन्मदा एक्लै जन्मेको हो, मर्दा पनि सँगै को जान्छ र ? तर एक्लै जन्मिएर, मर्दा पनि एक्लै हुने हामीहरू कतिपय एक्लोपनको आभाष हुँदा किन किन आत्तिन्छौं होला ? तिमीले त्यस्तै गरी आत्तिएको मैले तिम्रो आवाजमा महशुस गरेथेँ । यस्तै महशुस धेरैले गरेका हुन्छन्, जस्तै तिमीले गरेकीछ्यौ । त्यो दिन तिम्रो आवाज मसामु आइ पुगेपछि, सायद केहि क्षणभरका लागि भएपनि तिमीले एक्लो महशुस गर्नुपरेन । 

प्रिय साथी सुमी, तिमीले म्यासेन्जरमा पठाएको तिम्रो एक टिकटक भिडियो मैले हेर्न पाइँन । मैले हेर्न असमर्थ रहेको त्यो भिडियोको थम्बनेलमा तिमीले रातो वाइनले भरिएको एक पारदर्शी काँचको गिलास समातेको देखिन्थ्यो । सायद तिमीले कुनै विरहलाग्दो या हुनसक्छ उत्साहले भरिपूर्ण कुनै नेपाली गीत वा मदिरापानको खुब चर्चा गरेको गज्जपको हिन्दी गजल या गानाको धुनलाई पार्श्व संगीतमा राखेर मदिरा पिइरहेकी थियौ होला । एक्लोपनका बारेमा हामीले लामै कुराकानी गरेपछि हाम्रो संवादको उत्तरार्द्वतिर तिमीले पठाएको उक्त भिडियोले मलाई मेरो एक मित्रको सम्झना दिलाएथ्यो । त्यो मित्र जसले प्रत्येक पल्ट रक्सीले मातेका बेला मलाई फोनमा सम्झिन्छ र भन्छ, यार मलाई अचेल एक्लो एक्लो महशुस हुन्छ । मेरो त्यो मित्र र तिमीमा केहि समानता छन् । तिमीहरू दुबै विवाहित छौं । तिमी दुवैका समान संख्यामा सन्तानसन्तती छन् । तिमी दुवै परिवारबाट टाढा छौै । तर तिमीहरूमा छाएको एक्लोपनको कारण भने एकदमै भिन्न छन् । 


जम्माजम्मी एउटा भिन्नता तिमी दुईमा मैले यो पाउँछु कि उसले रक्सीले मातेका बेला एक्लोपनले गाँजेको कुरा स्वीकार्छ । तर तिमीले रक्सी नपिएको बखत कुराकानी भैरहेको समय मदिरा पिएको टिकटक भिडियो पठाएर आफूले महशुस गरेको एक्लोपनकोबारे बताएथ्यौ । के मानिसले मनको कुरा खोल्नलाई कुनै न कुनै रूपमा रक्सीको सहायता लिनुपर्ने हुन्छ र ? सायद, हुनसक्छ । धेरैजसो मानिसहरू वेहोशीमा सत्य स्वीकार्छन् । होशमा त हर कोही भ्रम छर्न व्यस्त छ ।


तिमीले जस्तै मैले पनि जीवनमा एक्लोपनको महशुस धेरै पटक गरेको छु । विशेषतः यस्तो किसिमको अत्यासलाग्दो भाव मैले राख्ने अपेक्षाहरूका कारण उत्पन्न हुन्छन् । त्यसकारण पनि तिमीलाई सोध्न चाहेको मैले, कतै तिमीले पनि मेरा जस्तै अपेक्षाहरूका कारण यस्तो महशुस गरेकी त हैनौ? थाहा छैन, जीवनमा मानिसहरूले के कस्ता अपेक्षाहरू राख्ने गर्छन् । या राख्नु पर्ने हुन्छ ? हाम्रा अपेक्षाका सीमाहरू के हुन् ? मलाई यो पनि थाहा छैन कि हामीले आफ्ना अपेक्षाका सीमाहरूबारे थाहा पाउनुपर्छ या पर्दैन् । तर जुनदिन हामीले आफ्ना अपेक्षाका कारण सिर्जित समस्याहरूबारे पत्तो पाउँछौं, त्यसैदिन हाम्रा जीवनका अधिकांश समस्याहरूको जड पत्तो लाग्दछ । एक मित्रका नाताले तिमीलाई गर्ने सक्ने आग्रह यहि हो कि, आफूबाहेक अरूबाट आफ्नालागि हुनुपर्ने अपेक्षा गर्न छाडिदेऊ । 


तिमीलाई थाहा होस्, एक्लो भएर पनि एक्लोपनको महशुस गर्न नसक्नु, त्यो एउटा विमार हो । तर एक्लो भएको महशुस गर्न सक्नु खासमा एक हिसाबको बुद्वत्व प्राप्त गर्नु हो । यसप्रकारको आत्मबोधलाई बुद्वत्व प्राप्त गर्नु जस्तै हो म किन पनि भन्छु भने एक्लोपनको महशुस गर्न थालेपछि मान्छेले असलमा आफूतिर फर्कन थाल्छ । उसो त न मैले तिमीसँग न त ऊसँगै तिमीहरूले आफूतिर फर्केर हेरेका छौ कि छैनौ भनेर प्रश्न गर्न सकेको छैन् । किनभने, यो दोस्रो व्यक्तिले सोध्दा निकै नै अपमानजनक जस्तो लाग्ने प्रश्न हुन जान्छ । तर स्वंयले आफैलाई प्रश्न गर्ने हो भने यसले त खासमा सम्मानजनक अवस्थितीमा पुर्याउँदो रहिछ । यो प्रश्न मैले स्वंयलाई धेरै पटक सोध्ने गरेको छु, जस्तो कतिपय सन्दर्भहरूमा मसँगको संवादमा मलाई मेरो आमाले समेत बुझ्न असमर्थ रहनु हुन्छ। त्यस्तै कतिपय संवादका दौडान मलाई मेरी पत्नीले मसँगको संवादमा मैले बुझाउन खोजेभन्दा बढि बुझ्छिन् । अनि यसैकारण मलाई लाग्ने गरेको छ, कुनै पनि मानिसलाई ऊ स्वयंले बाहेक अरू कसैले कहिल्यै पनि बुझ्न सक्दैनन् । 


आमा र पत्नीसँगको संवादहिनताबाट उत्पन्न हुने एक्लोपनले बाहेक अरू कुनै पनि खालको परिस्थितीबाट निर्माण हुने एक्लोपनले ठोस प्रभावित पारेका छैनन् मलाई । तर ती सबै परिस्थितिहरूमा समेत महशुस हुने गरेको एक्लोपनको मैले खुब आनन्द उठाउने गरेको छु । जन्मिदा एक्लै जन्मे पनि जन्मिदासाथ एक शिशुले पाउने पहिलो स्पर्श भनेको उसको आमाको हो, त्यसैले पनि हुनसक्छ आमाको ममताको अभावमा सिर्जित एक्लोपनले बादशाहलाई समेत हिक्का छुटाएरै छाड्छ । त्यसैकारण, तिमीले जस्तै यस्तो परिस्थितिमा मैले पनि आफैलाई आफैप्रति करूणा जाग्नेगरी रोएको छु भन्नुमा मलाई कुनै लज्जाबोध छैन् । मलाई उहिले देखि लाग्दै आएको पनि छ, एक्लोपनको ओखती रूवाई जस्तो अरू केहि नहुँदो रहिछ ।


तर पत्नीसँगको संवादहिनताका कारण मैले अनुभूत गर्ने एक्लोपनमा म कहिल्यै रोएको छैन् । रूनुभन्दा ठिक अगाडिको अवस्थासम्म पुग्ने गरेको छु । आँशु चुहेको त हुँदैन् तर आँखा रसाएको जस्तो हुन्छ । त्यस्तोबेला तिम्रो जस्तै मेरो पनि मदिरा मित्र हुन्थ्यो । तर, मैले बुझेपछि मान्छेको एक्लोपनको मित्र मदिरा हुन सक्दैन् । मैले मदिरापान त्यागिदिएँ । बरू पत्नीसँग दुःखी हुँदा उनको दृश्यबाट केहि समयका लागि म ओझेल पर्ने गर्छु । अनि पीडाका भावले ओतप्रोत संगीत खुबसँग सुन्छु जस्तै Dean Lewis को half a man वा भनूँ  सिने गुरूङको मन किन रून्छ यो मन ? मलाई जान्न मन लागेर आयो, के तिमीले पनि कहिल्यै मैले जस्तै यस्ता पीडाले भरिएका गीतहरू सुनेकीछ्यौ? छैनौ भने अबदेखि शुरू गर । मदिरा र आँशुको भन्दा बढ्ता आनन्द दिने शक्ति गीतमा हुँदो रहेछ, संगितले बोक्दो रहिछ ! 


एक साथीका नाताले मैले तिमीलाई भन्नु करै लाग्छ, 

एक्लोपनको महशुस गर्नु नराम्रो हैन् ।

रूनु भनेको कमजोर हुनु पनि हैन्।

मदिरा पिउनु खराब हैन् ।

न गीत सुन्नु नै गलत हो ।

तर मैले माथि उल्लेख गरेका कुनै पनि चिज मध्य एक वा सब मात्रै जिन्दगी हो भन्ने ठान्नु चाँहि राम्रो नहुन सक्दछ। यी सबै जीवनका केबल एक पक्ष हुन् । यीनलाई त्यहि रूपमा मात्र स्वीकार गर्नुपर्छ । 


अँ साँच्चि, तर मैले मदिरा त्यागेकै भएपनि, यदि कुनै त्यस्तो दिन उदाशीले सताएर एक्लोपनले घेरेछ भने मलाई, हातमा मदिराको गिलास लिएर, मनलाई भित्रैदेखि छुने पीडाले भरिएका गीत गुन्जिएको हेडसेट कानमा राखेर मदिरा पिउँदै एक्लोपनले आजसम्म जुन जुन क्षणले मलाई सताएथे ती सबै बिर्साउने गरी आँखाबाट आँशुका थोपा नभै बलिन्द्र धारा खसालेर रूनु मन छ । ताकी जीवनमा त्यसरी फेरि कहिल्यै रूनु नपरोस् । 


प्रिय साथी, जीवनमा सबैलाई बेला बेला एक्लोपनले अङ्गालो हालोस् । र, सिकाओस् कि जीवनमा कोही पनि एक्लो छैन्, जो स्वंयको साथी बन्न सक्छ, ऊ कहिल्यै एक्लो हुँदैन् ।

Comments

  1. Wow, गजबको अर्को लेख, मानिस एक्लो हुने मुख दुई कारणहरु मध्ये एउटा अर्को पक्षले आफन्नो कुरा गलत बुझेको वा बुझ्दै नबुझेको परिस्थिति को अनुभूति हुनु हो जस्तो लाग्छ मलाई । अनि एक्लो हुनुको अर्थ सबै सकिनु हो भन्ने नी होइन होला तर हरेको कुराको सीमा हुन्छन्, धेरैं जसो एक्लै हुने मानिसहरुमा डिप्रेसन रोग देखिनु सामान्य अवस्था पनि हो।यसैले जसरी हुन्छ रोग बिहिन जीवनको पक्षमा रहु होला अनि जसरी मनाय पनि एकलोपनलाई भगाउन पिएर वा पिलाएर वा संगीत सुनेर मनाऊ। अनि फेरि उही पुरानै मन्त्र चीनी पनि धेरै खाए पछि तीतो हुन्छ। धन्यवाद लेखको लागी।

    ReplyDelete
    Replies
    1. फेरि पनि एउटा अर्को गज्जप टिप्पणीका लागि यहाँलाई हार्दिक आभार प्रकट गर्दछु । साँच्चि डिप्रेसन खासमा रोग नभै एक अवस्था हो । यस्तो अवस्थामा भएकाहरूलाई अरू सामान्य अवस्थामा रहेका नजिकका मानिसहरूले मद्दतले मात्र त्यस्तो अवस्थाबाट बाहिर लेराउन सकिन्छ ।
      यहाँको निरन्तरको माया र यस्तै हौसला मिलिरहोस् । जदौ !

      Delete
  2. दाजुको यो लेख साँच्चिकै मन छुने र भावनात्मक लाग्यो। एक्लोपनको महशुस गर्नु असाध्यै मानवीय र सामन्य अनुभव हो जुन हरेक ब्यक्तिले जीवनको बिभिन्न मोडहरुमा महसुस गरीरहेको हुन्छ र फरक मानिसहरुको फरक फरक खालको कोपिन्ग मेकानिस्म हुन्छ। सकारात्मक दृष्टिकोणमा हेर्दा एक्लोपन भनेको आफूसँग समय बिताउनु, आन्तरिक शान्ति र आत्मसाक्षात्कारको लागि समय निकाल्नु, जीवनलाई नयाँ दृष्टिकोणबाट हेर्नु हो जस्तो पनि लाग्छ। तर यसको पनि आफ्नै परिधि र समय सीमा हु्न्छ होल। एक्लोपनको अनुभव निरन्तर र लामो समयसम्म रहन थाल्यो भने चै हामीमा मनसिक रोगहरु देखापर्न सक्छ।
    एक सशक्त विषयको उठान गर्नुभएकोमा दाजुलाई धेरै धेरै धन्यबाद।

    ReplyDelete
    Replies
    1. यस ब्लगपोष्टले भाइको मन जितेको सुन्दा मलाई खुशी लागेको छ । भाइले भने झैं एक्लोपनको महशुस हुनु एकदमै मानवीय र स्वभाविक अनुभव हो । र, भाइले ने भने झैं निरन्तरको यस्तो अनुभवले मानिसलाई निराशाको कालो छिद्रले तान्न सक्छ । बेलैमा सचेत हुनु जरूरी छ ।

      Delete
  3. गुरुको यो लेख गोठमा बसेरै पढिसकेँ । सोच्छु, गोठमा बाँधेको भैसीले एक्लोपन महशुस गर्छ कि गर्दैन होला ? आफुँले जन्माएका प्रत्येक पाठापाठीबाट छुट्टयाइएकी बाख्रीले एकलोपनको महशुस गर्छेकि गर्दिन होला ? के एक्लोपनको महशुस गर्ने संसारकै प्राणी मान्छे मात्रै हो ? तर हैन पशुपन्छीले पनि एक्लोपनको महशुस गर्छन् तर उनीहरूले छिट्टै विर्सिन्छन् । केहि समय अगाडि नेपालका जल्दाबल्दा लेखक बुद्धिसारको उपन्यास पढेको थिएँ । "एक्लो" । उक्त उपन्यास पढिसकेपछि केहि दिन त कोही पनि आफ्नो देखेको थिइनँ । कहिलेकाहीँ कुनै दर्शन या ट्रक साहित्य या कतै केहि त्यस्तै हरफहरू भेटिन्छन । "मान्छेको आफ्नो भन्नु छायाँ मात्रै हो त्यो पनि उज्यालोमा मात्रै देखिन्छ" । धेरैपटक मैले पनि एक्लोपन महशुस गरेको छु ,तर सबै आफ्नाहरूको माझमा र पनि मदिरा पिउने र संगीत सुन्ने दुवै मेरो बानी छैन । त्यसैले मैले पनि एक्लोपनलाई छिटै विर्सन प्रयासरत छु । गुरुको लेखन माझिएको खारिएको र प्रस्तुति लोभलाग्दो हुँदै गएको छ ।

    ReplyDelete
    Replies
    1. गुरूलाई यो ब्लगपोष्ट मन परेको सुन्दा मलाई खुशी लागेको छ। अझ यहाँले गोठमैं बसेर यो ब्लगपोष्ट पढ्नुभएको र त्यसमाथि जनावरहरूले पनि एक्लोपन महशुस गर्छन् भन्ने कुरा एक पशुसम्बन्धि प्राविधिक ज्ञान भएको हजुरजस्तो विज्ञबाट जनावरको मनोदशाबारे संक्षेपमा जानकारी पाउनु मेरो लागि अहोभाग्य कुरो हो । यहाँको निरन्तरको सदभाव रहिरोस । हार्दिक आभार ।

      Delete

Post a Comment

प्रतिक्रिया ब्यक्त गर्दा सभ्य र सुसंस्कृत शैली प्रयोग गर्नका लागि सम्पूर्णमा सविनय अनुरोध गर्दछु ।