"नीराजन, मेरो बेस्ट फ्रेन्ड हो ।" जन्मेर २६ वर्ष बिताएको देश नेपालमा मलाई यस्तो भन्ने कोही थिएन् ।
तर यतै फिनल्याण्ड आइपुगेपछि, मलाई यस्तो भन्ने एक जना भेट्टिएकी थिइन् । जोसँग बसेर एकै कप चिया वा कफि पिएकै थिइँन्, मैले । मनभरीका बह न मैले उनीसँग केहि पोखेकै थिएँ, न त उनले विशेष केही त्यस्त्तो साझा गरेकी थिइन् मसँग । तर मलाई चिन्ने र मसँग सम्पर्कमा रहेका धेरै साथीभाइसँग उनले सुनाउन बिर्सेकी रहिन्छिन् कि निराजन उनको बेस्ट फ्रेन्ड हो ।
यो पढ्दै गर्दा यहाँलाई लाग्ला, कि आफूलाई बेस्ट फ्रेन्ड बताउने साथीका सम्बन्धमा लेख्ता पनि यसले किन भूतकालको प्रयोग गर्यो ? प्रश्न स्वभाविकै हो तर मेरो जवाफ अलिकति अस्वभाविक लाग्न सक्ला यहाँलाई । कि मलाई बेस्ट फ्रेन्ड भन्ने उनको, खासमा म फ्रेन्ड पनि थिइँन् । न उनी थिइन्, मेरो कुनै त्यस्तो विशेष मित्र । बस्, हाम्रो सामान्य चिनजान मात्र थियो । केहि मानिसहरू हुँदारहेछन्, जो सामान्य चिनजानलाई मित्रताको नाम दिदाँरहिछन्, उनले जस्तै । अनि कोही यस्ता पनि हुँदा रहिछन् कि जोसँग हामी विशेष सामिप्यतामा भएको ठानेका हुन्छौं, तर उनीहरूका लागि त्यो केहि पनि सम्बन्ध नभएको बराबर हुँदोरहेछ, जस्तो म ठान्ने गर्थेँ उनीसँगको मेरो सम्बन्ध ।विक्रम सम्बतको ६० को उत्तराद्वतिर म म्याग्दीकै एउटा गैर्हसरकारी संस्थाको कार्यक्रम संयोजक भएको थिएँ । ठिक त्यसै समय मैजस्तो खिरिलो ज्यान भएको एकजना नवयुवकसँग म्याग्दीको पश्मित्तोर गाउँ ताकममा चिनापर्ची भएथ्यो । वहाँ हुनु हुँदोरहेछ, तनहुँबाट भर्खर सरकारी सेवामा प्रवेश गरेर जागिरको पहिलो मुकाम म्याग्दी पठाइनुभएका मित्र मुक्ति । उपाध्याय ब्राम्हण । तर अचाक्ली क्रान्तिकारी ! परिचयका हात पसार्दै वहाँले नामथर उपनाम बताउनुभो - मुक्ति पौडेल नेपाली ! आफू परेँ कम्युनिष्ट पुत्र, म कसरी कम हुन् सक्थेँ ? मैले नामसँग उपनाम मात्रै बताएँ, थर चपाइदिएँ - नीराजन शिरीष ! अरू नवपरिचित ब्राम्हण मित्र हुन्थे भने सायद सोध्दा हुन्, "कस्तो राम्रो उपनाम, मित्र कुन थरी पर्नुभो कुन्नी ?" म भन्दो हूँ - काजी हजुर, थापाकाजी ! तर मेरा मित्र पर्नुभो खाँट्टी क्रान्तिकारी, अनि त वहाँले मेरो नाम र उपनाममैं चित्त बुझाउनुभो ।
प्रिय मित्र, हाम्रो उमेर पनि त कति भएथ्यो र ? भर्खर गधापच्चिसीको संघारमा पुगेका जो थियौं । कस्तो जोश थियो हामीमा हगि? परिचय गर्दाकै दिनमा हामीले एकअर्कासँग भएको देशभक्तिको एक पित्को स्वाद एक अर्कालाई चखाएकै हो नी, हैन् र ? भर्खरै जस्तो त थियो मैले पनि जागिर गरेर परिवार पाल्न थालेको, अनि मित्रले पनि त्यसै गर्न थालेको । भलै, एनजिओको हाकिम हुनुपूर्व म नीजि विद्यालयको शिक्षक थिएँ, तर सरकारी जागिरको दाँजो लाउन मिल्ने जागिर गैर्हसरकारीको जागिर हुन सक्थ्यो, त्यो नाथे नीजिको कहाँ हुनू ? हजुरले पनि सुनाउनु भएथ्यो हुन त सरकारी जागिरे हुनुभन्दा पहिले काठमाडौंको कुनै केनल क्लबमा प्राविधिकको जागिरे रहेको तर पक्का सरकारी जागिरे हुनुमा जस्तो स्वाद त्यो नीजि तनाखा पाक्ने जागिरमा नपाएरै त होला, हजुर पनि सरकारी जागिरको सुरक्षित छहारीमा ओत लाग्न थाल्नुभएको ?
त्यो हाम्रो परिचयात्मक भेटघाट फगत एउटा सामान्य चिनापर्चिमैं सिमित नहुनुको कारण पक्कैपनि फरक फरक भूगोलमा जन्मे, हुर्केर पनि उस्तै उस्तै लाग्ने परिस्थितीबाट गुज्रिएकाले हुनुपर्छ । परिचय भएको भोलिपल्ट हामीले सँगसँगै नापेको त्यो मुनादेखि लमसुङसम्मको उकालोको दुरी अझै पनि स्मरणीय रहनुको कारण सायद हामीले आफ्ना उमेर, विवेक र ज्ञानका दायराभन्दा माथि उठेर चर्चा गरेका विविध विषयहरू हुन सक्लान् । त्यो यात्राको कुनै विन्दुमा पर्ने नर्जाको सुन्दर झरना, के कारण खिच्न मन लाग्यो होला हामीलाई त्यहि झरनालाई नै पृष्ठभागमा राखेर भर्खर शुरूभएको हाम्रो मित्रताको चिनोस्वरूप त्यो पहिलो तस्बीर ?
भर्खर आइकम पढ्दै गर्दा म र एक मेरा सहपाठी दिपेन्द्रको कस्तो लोभलाग्दो मित्रता थियो । हामी कहिले मेरो गाउँ कहिले उनको गाउँ पुग्थ्यौं । ताल तलैया, खोला नाला र बगैंचाहरू डुलिकन पहिरन फेरीफेरी तरह तरहका तस्बीरहरू खिचाउँथ्यौं । फोटा खिच्नमा दिपेन्द्र माहिर थिए । उनले खिचेका ती फोटाहरू यति रहरलाग्दा हुन्थे कि तिनलाई हेर्दा म आफैंले आफैंलाई लभलेटर लेखूँ लेखूँ लाग्ने गर्थ्यो । त्यस्तै खास तस्बीरहरू हामीले खिचेका पनि होइनौं, दिपेन्द्रको गाउँ पुगेजस्तै म तपाइँको गाउँ पुगेको पनि हैन्, न तपाइँ मेरो घरसम्म पुग्नु नै भएको हो । अँ एकदिन दरबाङबाट बेनी आउँदासँगै मैले डेरामा निम्ताएको थिएँ हजुरलाई खाना खान ।
बिहे गरेको भर्खर दुई बर्ष जति हुँदै गरेको समय थियो । मेरी बुढी भर्खर खाना पकाउन सिपालू हुँदै गर्दाको त्यो बेला तपाइँले भोजन यति मिठो मानेर ग्रहण गर्नुभो कि जसरी वेदाश्रममा बटुकहरू प्रसादी ग्रहण गर्छन् । मेरो डेरामा मैले खाजा, खाना, चियाका निम्ति तपाइँलाई निम्त्याउनु अगाडि र पछाडी पनि मेरा थुप्रै मित्रहरूलाई निम्ताएकै हो, तर विश्वास गर्नुस् तपाइँले झैं खानाको स्वाद लिएर भोजन ग्रहण गर्ने मित्रहरू कमै थिए, मेरा । त्यो बिहान तपाइँलाई खानापछि सायद मैले केहि कविताहरू सुनाएँ कि ? वा, 'हैन् गुरू अफिस त पुग्नैपर्छ १० बजे' भनेर तपाइँ छुट्टिनुभो, मलाई राम्ररी याद हुन सकेन् अहिले । त्यसको केहि वर्षपछि यहाँको काठमाडौंको डेरामा यहाँले नै तयार पारेको चियानास्ता खाइयो । अनि अन्तिम पटक चाँहि म नेपाल आएका बखत दुलेगौँडाको एक शानदार होटलमा खाना खाएथ्यौं ! यसरी हाम्रो मित्रताका दौरान हामीले सँगै जम्माजम्मी तीन पटकमात्रै खाना खाएका छौं ।
खानाबाना तीन पटक, चिया चमेना पाँच सात पटकसँगै भयो होला हाम्रो । तर म सारा भर्चुअल दुनियाँबाट गायप भएको एक वर्ष बितेपछि अचानक सन् २०२३ को मे ६ तारिखका दिन मेरो इनबक्समा यहाँको इमेल आयो । ठ्याक्कै यहि बेला हो मैले महशुस गरेको साथी भनेको त्यो हुँदोरहेछ जसले आफ्ना वरिपरी सारा संसार हुँदा पनि दृश्यमैं नभएको मित्रको खोजी गर्दोरहिछ, ताकी ऊसँग मन खोलेर रून सकियोस् । आनन्द लिएर हाँस्न सकियोस् । उसो त यहाँले प्रेषित गर्नुभएको पहिलो बिजुली पत्रमा नै मैले जवाफ पठाइसकेको हुँ कि यहाँको पत्र पाउँदा खुशि लागेको कुरा । तर फेरि पनि मैले बताउनु नै पर्ने छ कि —
म हराए पनि मेरो याद गर्ने कोही त छ भन्ने महशुस गराउने मित्र पाउनु चानचुने कुरो हैन, त्यसका लागि म फेरि पनि यहाँलाई दीलभित्रको सबभन्दा भित्री कुनाबाट सप्रेम आभार प्रकट गर्न चाहन्छु ।
त्यो पत्र तपाइँले हामीले सबभन्दा पछिल्लो पटक भेटेको दुलेगौंडा पुग्दाको साँझ घर फर्केपछि लेखेको बताउनुभएथ्यो । आफ्ना खुशी, पीडा बाड्नलाई तपाइँको लागि म नै सबभन्दा उपयुक्त मित्र हुँ भन्ने थाहा पाउँदा म हर्षविभोर भएथेँ । उसो त यहाँले पत्रमा मित्रताको सीमा कति र कहाँसम्म भन्ने बारेको अनभिज्ञता लेख्नुभएथ्यो र सबभन्दा सुन्दर लाइन त त्यहि नै थियो, जहाँ सुखदुख बाड्न सकिने एकदमै कम मित्रहरूको सूचीमा मेरो नाम पनि थियो ।
त्यसपछि, नियमित जसो हामीले बिजुली पत्र आदान प्रदान गरिरहेकै छौं । त्यसैकारण त मेरा जीवनमा प्राप्त खुशीका खबरहरू पनि मसँग रगतका नाता जोडिएकाहरूसँग भन्दा धेरै धेरै समय पहिले तपाइँसामु पुग्नेगर्छन् । अनि मनभरी अटेसमटेस रहेका कतिपय व्यथाहरू म तपाइँ सामु यसरी पस्किन्छु, कि ती अरूलाई मैले बाड्नु नै आवश्यक ठान्दिनँ ।
मलाई थाहा छैन्, नियमित जसो बिजुली पत्रमा खुशी र पीडाका क्षणहरू साझा गर्ने, अनि बेलाबखत ह्वाटस्अप कलमा लामा छोटा संवाद गर्ने हामीहरू बेस्ट फ्रेन्ड हौं या होईनौं । मलाई यो पनि थाहा छैन् कि बेस्ट फ्रेन्डहरूले आफ्ना लामाछोटा फोन संवाद र इमेलहरूमा आफ्ना कम देशका बढी कुरा गर्छन् या गर्दैनन् । तर मलाई यत्ति चैं थाहा छ साथीहरू नियमित संवादमा हुन्छन् । ती कहिलेकाही हँसीमजाकका विषयमा हुन सक्छन् त कहिले अत्यन्तै गम्भीर विषयहरू पनि । तर मित्र, हामीले सधैंजसो किन गम्भीर विषयमा मात्र कुराकानी गर्दै आयौं हँ ?
एउटै मात्र सन्तान हो बनाउने भन्ने मसँग आखिर तीन सन्तान किन भए ? त्यसकाबारे किन यहाँले कहिल्यै प्रश्न राख्नुभएन् ? मैले यहाँलाई चालीसको संघारमा नपुग्दै हजुरको तालु किन खुइलिएको ? भनेर प्रश्न गर्न किन बिर्सेको ? पाक्न थालेको आफ्ना केशकाबारे दुईचार हरफ कुराहरू लेख्न मैले के कारण छुटाएछु ? अब हामीले हाम्रै कुरा पनि गर्नुपर्ने हुन्छ, जस्तो कि छोरीको पढाई कस्तो चल्दैछ ? सानी छोरीलाई हुर्काउँदै गर्दाको अनुभव ठूलो छोरीलाई हुर्काउनुभन्दाको सहज या विषम कस्तो छ ? छोरा र छोरीको हुर्काइबढाइमा बाबाले महशुस गर्ने पृथकताबारे अब मैले पक्कै लेख्नेछु । र, कामकाजी बाआमाका सन्तानहरूले अभिभावकसँग कस्ता गुनासाहरू पोख्दा रहिछन् ती अनुभवहरू हामीले साटासाट गर्नुपर्नेछ ।
प्रिय मित्र, भौतिक दुरीले हामी पाँच हजार माइल पर भएपनि भावनात्मक दुरी त हामीबिच शुन्य बराबर नै होला । तर के यो शुन्य बराबरको दुरी यस्तै रहिरहला वा समयले हाम्रो मित्रतामा पनि दुरी लेराउँला ? के कृष्ण र सुदामा पनि सधें साथी बनिरहन सके ? के हामी एउटा कृष्ण र अर्को सुदामा बन्न सकौंला ? कि कलियुगमा हर कोही सुदामा बन्ने सामर्थ्य राख्न सक्छ? के कोही आफ्ना मित्रका दाँजोमा शक्तिहिन र कान्तिविहीन भएर बाँच्न सक्छ ? के खासमा कोही कसैको मित्र बन्न सक्छ ?
फिनल्याण्ड आएको बार्ह बर्ष बितिसक्यो, यस बिच करिब एक वर्ष मैले नेपालमा बिताए हुँला । के अब जन्मेर सत्ताइस बर्ष बिताएको देशमा, चालिस बर्ष पुग्नै आँटेको नीराजनले बेस्ट फ्रेन्ड भेटेकै हो त ?
प्रिय मित्र मुक्ति, के खासमा कोही कसैको मित्र बन्न सक्छ ?
❤️❤️
ReplyDelete💙💙💙
DeleteGajjab. Gahan chha mitrata Ani lekhai. Mitho. Padda majja aayo.
ReplyDeleteतिमीलाई मिठो लागेछ, यो थाहा पाउँदा मलाई झनै खुशी लाग्यो। 💙
Deleteप्रिय मान्छे ! जीन्दगीमा आँफैलाई सम्बोधन गरेर कसैले पहिलोपटक ब्लग लेख्दा को खुशी नहोला र ! हामी साथी भन्दा पनि उस्तै समयमा उस्तै ठाउँमा उस्तै मन लिएर जन्मेका पात्र हौ जस्तो लाग्छ । त्यसैले पनि यो आलेखको जवाफ मैले या त ब्लगमा अझै व्याक्तिगत लागेमा पत्र मार्फत नै दिनेछु
ReplyDeleteपत्रको प्रतिक्षामा रहनेछु प्रिय गुरू। 💙
DeleteI’m big fan of your writing Sathi , you have such a unique prospective. The way you admire friends is amazing ! I hope you will keep writing . I just need more of this 😊👍
ReplyDeleteFinally finally you got some time for this blog. Much love Sathi. 💙
Deleteमैले भर्खर भर्खर मनु मन्जिल दाईको "हराएको साथी" को सम्बन्धमा एउटा कविता पढेथे जहाँ तपाईहरुको जस्तै मित्र र मित्रताको चर्चा भएथ्यो जुन पढदा आनन्द लागेको थियो, तेस्तै आनन्द दाजुको यो लेख पढदा पनि लाग्यो। दाजुको यो लेख पढ्दै गर्दा मैले पनि मेरा अभिन्न मित्रहरु सगंको सक्क्षात्कर सम्झिए। दाजु्लाई धेरै धेरै धन्यवाद।
ReplyDeleteयो लेख मार्फत भाइलाई मैले भाइका मित्रहरूको सम्झना दिलाउन सकेकोमा धन्य महसुस गरेको छु। भाइलाई मेरो मुटुभरिको माया। 💙
Delete❤️❤️❤️❤️
DeleteEakdam saral ani ramro lekh dai, jati tada bhayeni tapaharuko friendship yesari nai majbud banairakhnus 🙏
ReplyDeleteब्लग पढेर मिठो कमेन्ट गरेकोमा भाइलाई धेरै मिठो सम्झना!
Deleteदाइको लेखन शैली को फ्यान हो म त ! मित्र र मित्रतामा समर्पित लेखनी गज्जब छ दाई 💓
ReplyDeleteधन्यबाद मेरो भाइ। लेखन शैली सुधार्दै जाने कोशिश रहनेछ।
Deleteलेख आर्को एउटा कोसे ढुंगा जस्तै रुपमा आएको छ। मित्र र साथीभाई को परिभाषित भाष्यको अन्तर, अनि बिषेश हुनुको परिधिको मानक लाइ राम्रो सँग प्रस्तुत गरेकोमा लेखक लाइ अझ धेरै धन्यवाद। छिट्टै अर्को लेखको व्यग्र प्रतीक्षामा ।
ReplyDeleteएउटा गज्जपको प्रतिक्रियाका लागि भेनाश्रीलाई हार्दिक नमन टक्याउन चाहेँ ।
Delete"भौतिक दुरीले हामी पाँच हजार माइल पर भएपनि भावनात्मक दुरी त हामीबिच शुन्य बराबर नै होला " aahaa sarai man paryoo
ReplyDelete💙
Delete