Skip to main content

मेरो एउटा साथी छ (हुनुहुन्छ)

 "नीराजन, मेरो बेस्ट फ्रेन्ड हो ।" जन्मेर २६ वर्ष बिताएको देश नेपालमा मलाई यस्तो भन्ने कोही थिएन् ।

तर यतै फिनल्याण्ड आइपुगेपछि, मलाई यस्तो भन्ने एक जना भेट्टिएकी थिइन् । जोसँग बसेर एकै कप चिया वा कफि पिएकै थिइँन्, मैले । मनभरीका बह न मैले उनीसँग केहि पोखेकै थिएँ, न त उनले विशेष केही त्यस्त्तो साझा गरेकी थिइन् मसँग । तर मलाई चिन्ने र मसँग सम्पर्कमा रहेका धेरै साथीभाइसँग उनले सुनाउन बिर्सेकी रहिन्छिन् कि निराजन उनको बेस्ट फ्रेन्ड हो । 

Two young Nepali lads standing in front of Narja waterfall
यो पढ्दै गर्दा यहाँलाई लाग्ला, कि आफूलाई बेस्ट फ्रेन्ड बताउने साथीका सम्बन्धमा लेख्ता पनि यसले किन भूतकालको प्रयोग गर्यो ? प्रश्न स्वभाविकै हो तर मेरो जवाफ अलिकति अस्वभाविक लाग्न सक्ला यहाँलाई । कि मलाई बेस्ट फ्रेन्ड भन्ने उनको, खासमा म फ्रेन्ड पनि थिइँन् । न उनी थिइन्, मेरो कुनै त्यस्तो विशेष मित्र । बस्, हाम्रो सामान्य चिनजान मात्र थियो । केहि मानिसहरू हुँदारहेछन्, जो सामान्य चिनजानलाई मित्रताको नाम दिदाँरहिछन्, उनले जस्तै । अनि कोही यस्ता पनि हुँदा रहिछन् कि जोसँग हामी विशेष सामिप्यतामा भएको ठानेका हुन्छौं, तर उनीहरूका लागि त्यो केहि पनि सम्बन्ध नभएको बराबर हुँदोरहेछ, जस्तो म ठान्ने गर्थेँ उनीसँगको मेरो सम्बन्ध । 

विक्रम सम्बतको ६० को उत्तराद्वतिर म म्याग्दीकै एउटा गैर्हसरकारी संस्थाको कार्यक्रम संयोजक भएको थिएँ । ठिक त्यसै समय मैजस्तो खिरिलो ज्यान भएको एकजना नवयुवकसँग म्याग्दीको पश्मित्तोर गाउँ ताकममा चिनापर्ची भएथ्यो । वहाँ हुनु हुँदोरहेछ, तनहुँबाट भर्खर सरकारी सेवामा प्रवेश गरेर जागिरको पहिलो मुकाम म्याग्दी पठाइनुभएका मित्र मुक्ति । उपाध्याय ब्राम्हण । तर अचाक्ली क्रान्तिकारी ! परिचयका हात पसार्दै वहाँले नामथर उपनाम बताउनुभो -  मुक्ति पौडेल नेपाली ! आफू परेँ कम्युनिष्ट पुत्र, म कसरी कम हुन् सक्थेँ ? मैले नामसँग उपनाम मात्रै बताएँ, थर चपाइदिएँ - नीराजन शिरीष ! अरू नवपरिचित ब्राम्हण मित्र हुन्थे भने सायद सोध्दा हुन्, "कस्तो राम्रो उपनाम, मित्र कुन थरी पर्नुभो कुन्नी ?" म भन्दो हूँ - काजी हजुर, थापाकाजी ! तर मेरा मित्र पर्नुभो खाँट्टी क्रान्तिकारी, अनि त वहाँले मेरो नाम र उपनाममैं चित्त बुझाउनुभो । 

प्रिय मित्र,  हाम्रो उमेर पनि त कति भएथ्यो र ? भर्खर गधापच्चिसीको संघारमा पुगेका जो थियौं । कस्तो जोश थियो हामीमा हगि? परिचय गर्दाकै दिनमा हामीले एकअर्कासँग भएको देशभक्तिको एक पित्को स्वाद एक अर्कालाई चखाएकै हो नी, हैन् र ? भर्खरै जस्तो त थियो मैले पनि जागिर गरेर परिवार पाल्न थालेको, अनि मित्रले पनि त्यसै गर्न थालेको । भलै, एनजिओको हाकिम हुनुपूर्व म नीजि विद्यालयको शिक्षक थिएँ, तर सरकारी जागिरको दाँजो लाउन मिल्ने जागिर गैर्हसरकारीको जागिर हुन सक्थ्यो, त्यो नाथे नीजिको कहाँ हुनू ? हजुरले पनि सुनाउनु भएथ्यो हुन त सरकारी जागिरे हुनुभन्दा पहिले काठमाडौंको कुनै केनल क्लबमा प्राविधिकको जागिरे रहेको तर पक्का सरकारी जागिरे हुनुमा जस्तो स्वाद त्यो नीजि तनाखा पाक्ने जागिरमा नपाएरै त होला, हजुर पनि सरकारी जागिरको सुरक्षित छहारीमा ओत लाग्न थाल्नुभएको ? 

त्यो हाम्रो परिचयात्मक भेटघाट फगत एउटा सामान्य चिनापर्चिमैं सिमित नहुनुको कारण पक्कैपनि फरक फरक भूगोलमा जन्मे, हुर्केर पनि उस्तै उस्तै लाग्ने परिस्थितीबाट गुज्रिएकाले हुनुपर्छ । परिचय भएको भोलिपल्ट हामीले सँगसँगै नापेको त्यो मुनादेखि लमसुङसम्मको उकालोको दुरी अझै पनि स्मरणीय रहनुको कारण सायद हामीले आफ्ना उमेर, विवेक र ज्ञानका दायराभन्दा माथि उठेर चर्चा गरेका विविध विषयहरू हुन सक्लान् । त्यो यात्राको कुनै विन्दुमा पर्ने नर्जाको सुन्दर झरना, के कारण खिच्न मन लाग्यो होला हामीलाई त्यहि झरनालाई नै पृष्ठभागमा राखेर भर्खर शुरूभएको हाम्रो मित्रताको चिनोस्वरूप त्यो  पहिलो तस्बीर ?  


त्यहीँ झरना झै निश्चल भाव तपाइँका मुहार, बोलीवचन र व्यवहारमा प्रतिबिम्वित भएको महशुस गरेपछि मात्र मलाई लाग्न थालेको हो, ए
छोरा मान्छे पनि त यस्तो सौम्य हुन सकिदोरहेछ । बेफ्वाँकका फोस्रा आडम्बरविहीन जीवनशैली पनि कस्तो मज्जाको हुँदो रहिछ हगी भन्ने परेको मलाई - भेटेपछि त हो नी तपाइँलाई जो नीलो पाइन्ट र सेतो कमिजमा सजिएको एक सरकारी कर्मचारी कम स्कुले ठिटो बढि लाग्ने पहिरनमा देखेपछि । मैले जिस्काएर भनेको पनि थिएँ यदि बिर्सिनु भएको छैन् भने कि तपाइँ त कस्तो कलेज भर्ना भएको विद्यार्थी जस्तो देखिनु भो ! 

भर्खर आइकम पढ्दै गर्दा म र एक मेरा सहपाठी दिपेन्द्रको कस्तो लोभलाग्दो मित्रता थियो । हामी कहिले मेरो गाउँ कहिले उनको गाउँ पुग्थ्यौं । ताल तलैया, खोला नाला र बगैंचाहरू डुलिकन पहिरन फेरीफेरी तरह तरहका तस्बीरहरू खिचाउँथ्यौं । फोटा खिच्नमा दिपेन्द्र माहिर थिए । उनले खिचेका ती फोटाहरू यति रहरलाग्दा हुन्थे कि तिनलाई हेर्दा म आफैंले आफैंलाई लभलेटर लेखूँ लेखूँ लाग्ने गर्थ्यो । त्यस्तै खास तस्बीरहरू हामीले खिचेका पनि होइनौं, दिपेन्द्रको गाउँ पुगेजस्तै म तपाइँको गाउँ पुगेको पनि हैन्, न तपाइँ मेरो घरसम्म पुग्नु नै भएको हो । अँ एकदिन दरबाङबाट बेनी आउँदासँगै मैले डेरामा निम्ताएको थिएँ हजुरलाई खाना खान ।

बिहे गरेको भर्खर दुई बर्ष जति हुँदै गरेको समय थियो । मेरी बुढी भर्खर खाना पकाउन सिपालू हुँदै गर्दाको त्यो बेला तपाइँले भोजन यति मिठो मानेर ग्रहण गर्नुभो कि जसरी वेदाश्रममा बटुकहरू प्रसादी ग्रहण गर्छन् । मेरो डेरामा मैले खाजा, खाना, चियाका निम्ति तपाइँलाई निम्त्याउनु अगाडि र पछाडी पनि मेरा थुप्रै मित्रहरूलाई निम्ताएकै हो, तर विश्वास गर्नुस् तपाइँले झैं खानाको स्वाद लिएर भोजन ग्रहण गर्ने मित्रहरू कमै थिए, मेरा । त्यो बिहान तपाइँलाई खानापछि सायद मैले केहि कविताहरू सुनाएँ कि ? वा, 'हैन् गुरू अफिस त पुग्नैपर्छ १० बजे' भनेर तपाइँ छुट्टिनुभो, मलाई राम्ररी याद हुन सकेन् अहिले । त्यसको केहि वर्षपछि यहाँको काठमाडौंको डेरामा यहाँले नै तयार पारेको चियानास्ता खाइयो । अनि अन्तिम पटक चाँहि म नेपाल आएका बखत दुलेगौँडाको एक शानदार होटलमा खाना खाएथ्यौं ! यसरी हाम्रो मित्रताका दौरान हामीले सँगै जम्माजम्मी तीन पटकमात्रै खाना खाएका छौं । 

खानाबाना तीन पटक, चिया चमेना पाँच सात पटकसँगै भयो होला हाम्रो । तर म सारा भर्चुअल दुनियाँबाट गायप भएको एक वर्ष बितेपछि अचानक सन् २०२३ को मे तारिखका दिन मेरो इनबक्समा यहाँको इमेल आयो । ठ्याक्कै यहि बेला हो मैले महशुस गरेको साथी भनेको त्यो हुँदोरहेछ जसले आफ्ना वरिपरी सारा संसार हुँदा पनि दृश्यमैं नभएको मित्रको खोजी गर्दोरहिछ, ताकी ऊसँग मन खोलेर रून सकियोस् । आनन्द लिएर हाँस्न सकियोस् । उसो त यहाँले प्रेषित गर्नुभएको पहिलो बिजुली पत्रमा नै मैले जवाफ पठाइसकेको हुँ कि यहाँको पत्र पाउँदा खुशि लागेको कुरा । तर फेरि पनि मैले बताउनु नै पर्ने छ कि —

म हराए पनि मेरो याद गर्ने कोही त छ भन्ने महशुस गराउने मित्र पाउनु चानचुने कुरो हैन, त्यसका लागि म फेरि पनि यहाँलाई दीलभित्रको सबभन्दा भित्री कुनाबाट सप्रेम आभार प्रकट गर्न चाहन्छु । 

त्यो पत्र तपाइँले हामीले सबभन्दा पछिल्लो पटक भेटेको दुलेगौंडा पुग्दाको साँझ घर फर्केपछि लेखेको बताउनुभएथ्यो । आफ्ना खुशी, पीडा बाड्नलाई तपाइँको लागि म नै सबभन्दा उपयुक्त मित्र हुँ भन्ने थाहा पाउँदा म हर्षविभोर भएथेँ । उसो त यहाँले पत्रमा मित्रताको सीमा कति र कहाँसम्म भन्ने बारेको अनभिज्ञता लेख्नुभएथ्यो र सबभन्दा सुन्दर लाइन त त्यहि नै थियो, जहाँ सुखदुख बाड्न सकिने एकदमै कम मित्रहरूको सूचीमा मेरो नाम पनि थियो । 

त्यसपछि, नियमित जसो हामीले बिजुली पत्र आदान प्रदान गरिरहेकै छौं । त्यसैकारण त मेरा जीवनमा प्राप्त खुशीका खबरहरू पनि मसँग रगतका नाता जोडिएकाहरूसँग भन्दा धेरै धेरै समय पहिले तपाइँसामु पुग्नेगर्छन् । अनि मनभरी अटेसमटेस रहेका कतिपय व्यथाहरू म तपाइँ सामु यसरी पस्किन्छु, कि ती अरूलाई मैले बाड्नु नै आवश्यक ठान्दिनँ । 

मलाई थाहा छैन्, नियमित जसो बिजुली पत्रमा खुशी र पीडाका क्षणहरू साझा गर्ने, अनि बेलाबखत ह्वाटस्अप कलमा लामा छोटा संवाद गर्ने हामीहरू बेस्ट फ्रेन्ड हौं या होईनौं । मलाई यो पनि थाहा छैन् कि बेस्ट फ्रेन्डहरूले आफ्ना लामाछोटा फोन संवाद र इमेलहरूमा आफ्ना कम देशका बढी कुरा गर्छन् या गर्दैनन् । तर मलाई यत्ति चैं थाहा छ साथीहरू नियमित संवादमा हुन्छन् । ती कहिलेकाही हँसीमजाकका विषयमा हुन सक्छन् त कहिले अत्यन्तै गम्भीर विषयहरू पनि । तर मित्र, हामीले सधैंजसो किन गम्भीर विषयमा मात्र कुराकानी गर्दै आयौं हँ ? 

एउटै मात्र सन्तान हो बनाउने भन्ने मसँग आखिर तीन सन्तान किन भए ? त्यसकाबारे किन यहाँले कहिल्यै प्रश्न राख्नुभएन् ? मैले यहाँलाई चालीसको संघारमा नपुग्दै हजुरको तालु किन खुइलिएको ? भनेर प्रश्न गर्न किन बिर्सेको ? पाक्न थालेको आफ्ना केशकाबारे दुईचार हरफ कुराहरू लेख्न मैले के कारण छुटाएछु ?  अब हामीले हाम्रै कुरा पनि गर्नुपर्ने हुन्छ, जस्तो कि छोरीको पढाई कस्तो चल्दैछ ? सानी छोरीलाई हुर्काउँदै गर्दाको अनुभव ठूलो छोरीलाई हुर्काउनुभन्दाको सहज या विषम कस्तो छ ? छोरा र छोरीको हुर्काइबढाइमा बाबाले महशुस गर्ने पृथकताबारे अब मैले पक्कै लेख्नेछु । र, कामकाजी बाआमाका सन्तानहरूले अभिभावकसँग कस्ता गुनासाहरू पोख्दा रहिछन् ती अनुभवहरू हामीले साटासाट गर्नुपर्नेछ ।

प्रिय मित्र, भौतिक दुरीले हामी पाँच हजार माइल पर भएपनि भावनात्मक दुरी त हामीबिच शुन्य बराबर नै होला । तर के यो शुन्य बराबरको दुरी यस्तै रहिरहला वा समयले हाम्रो मित्रतामा पनि दुरी लेराउँला ? के कृष्ण र सुदामा पनि सधें साथी बनिरहन सके ? के हामी एउटा कृष्ण र अर्को सुदामा बन्न सकौंला ? कि कलियुगमा हर कोही सुदामा बन्ने सामर्थ्य राख्न सक्छ? के कोही आफ्ना मित्रका दाँजोमा शक्तिहिन र कान्तिविहीन भएर बाँच्न सक्छ ? के खासमा कोही कसैको मित्र बन्न सक्छ ?

फिनल्याण्ड आएको बार्ह बर्ष बितिसक्यो, यस बिच करिब एक वर्ष मैले नेपालमा बिताए हुँला । के अब जन्मेर सत्ताइस बर्ष बिताएको देशमा, चालिस बर्ष पुग्नै आँटेको नीराजनले बेस्ट फ्रेन्ड भेटेकै हो त ?

प्रिय मित्र मुक्ति, के खासमा कोही कसैको मित्र बन्न सक्छ ?

Comments

  1. Gajjab. Gahan chha mitrata Ani lekhai. Mitho. Padda majja aayo.

    ReplyDelete
    Replies
    1. तिमीलाई मिठो लागेछ, यो थाहा पाउँदा मलाई झनै खुशी लाग्यो। 💙

      Delete
  2. प्रिय मान्छे ! जीन्दगीमा आँफैलाई सम्बोधन गरेर कसैले पहिलोपटक ब्लग लेख्दा को खुशी नहोला र ! हामी साथी भन्दा पनि उस्तै समयमा उस्तै ठाउँमा उस्तै मन लिएर जन्मेका पात्र हौ जस्तो लाग्छ । त्यसैले पनि यो आलेखको जवाफ मैले या त ब्लगमा अझै व्याक्तिगत लागेमा पत्र मार्फत नै दिनेछु

    ReplyDelete
    Replies
    1. पत्रको प्रतिक्षामा रहनेछु प्रिय गुरू। 💙

      Delete
  3. I’m big fan of your writing Sathi , you have such a unique prospective. The way you admire friends is amazing ! I hope you will keep writing . I just need more of this 😊👍

    ReplyDelete
    Replies
    1. Finally finally you got some time for this blog. Much love Sathi. 💙

      Delete
  4. मैले भर्खर भर्खर मनु मन्जिल दाईको "हराएको साथी" को सम्बन्धमा एउटा कविता पढेथे जहाँ तपाईहरुको जस्तै मित्र र मित्रताको चर्चा भएथ्यो जुन पढदा आनन्द लागेको थियो, तेस्तै आनन्द दाजुको यो लेख पढदा पनि लाग्यो। दाजुको यो लेख पढ्दै गर्दा मैले पनि मेरा अभिन्न मित्रहरु सगंको सक्क्षात्कर सम्झिए। दाजु्लाई धेरै धेरै धन्यवाद।

    ReplyDelete
    Replies
    1. यो लेख मार्फत भाइलाई मैले भाइका मित्रहरूको सम्झना दिलाउन सकेकोमा धन्य महसुस गरेको छु। भाइलाई मेरो मुटुभरिको माया। 💙

      Delete
    2. ❤️❤️❤️❤️

      Delete
  5. Eakdam saral ani ramro lekh dai, jati tada bhayeni tapaharuko friendship yesari nai majbud banairakhnus 🙏

    ReplyDelete
    Replies
    1. ब्लग पढेर मिठो कमेन्ट गरेकोमा भाइलाई धेरै मिठो सम्झना!

      Delete
  6. दाइको लेखन शैली को फ्यान हो म त ! मित्र र मित्रतामा समर्पित लेखनी गज्जब छ दाई 💓

    ReplyDelete
    Replies
    1. धन्यबाद मेरो भाइ। लेखन शैली सुधार्दै जाने कोशिश रहनेछ।

      Delete
  7. लेख आर्को एउटा कोसे ढुंगा जस्तै रुपमा आएको छ। मित्र र साथीभाई को परिभाषित भाष्य‌को अन्तर, अनि बिषेश हुनुको परिधिको मानक लाइ राम्रो सँग प्रस्तुत गरेको‌मा लेखक लाइ अझ धेरै धन्यवाद। छिट्टै अर्को लेखको व्यग्र प्रतीक्षामा ।

    ReplyDelete
    Replies
    1. एउटा गज्जपको प्रतिक्रियाका लागि भेनाश्रीलाई हार्दिक नमन टक्याउन चाहेँ ।

      Delete
  8. "भौतिक दुरीले हामी पाँच हजार माइल पर भएपनि भावनात्मक दुरी त हामीबिच शुन्य बराबर नै होला " aahaa sarai man paryoo

    ReplyDelete

Post a Comment

प्रतिक्रिया ब्यक्त गर्दा सभ्य र सुसंस्कृत शैली प्रयोग गर्नका लागि सम्पूर्णमा सविनय अनुरोध गर्दछु ।

लोकप्रिय पोष्टहरू

अनि रोशन भाइले टिपेछन् ६ बाल्टिन बेरी

गएको साल, हेर्दै कलिला देखिने दुई जना ठिटाहरू तिक्कुरिला रेल बिसौनीको कुनामा मस्त चुरोटको पफ लिदैं गरेका बेला, "भाइहरू नेपाली हो ?" भनेर मैले सोधेको थिएँ । मेरो प्रश्न भुँइमा झर्न नपाउँदै, आफूले तान्दै गरेको चुरोट आफ्नो साथीलाई दिदैँ, झन कलिलो देखिने ठिटोले भनेथ्यो, "हो दाई । कसरी पो ठम्याउनु भो ?"  दुई फरक मुहारको बनोट लिएका मानिसहरू सँगै बसेर एउटै चुरोट तान्दैछन् भने ती पक्कै नेपालीहरू हुनुपर्छ, त्यसमाथि तिमीहरू नेपाली मैं बातचित गर्दै थियौ नी त । मेरो जवाफ सुनेपछि त्यो ठिटोले कपाल कन्याउँदै भनेथ्यो, "हाउ दाजु पनि, सारै मजाको पो हुनुहुदोँ रहिछ !" मैले बात मार्न खोज्दा, निसंकोच बात मार्न खोज्ने ठिटो त पूर्वतिरको लिम्बु भाइ रहेछन् । अनि खासै बात मार्न नचाहने चाँहि रहिछन् - काठतिरका बाहुन भाइ ।  त्यो दिन ती भाइहरू हेलसिन्कीबाट सवा घण्टाको रेल यात्रामा पुगिने ठाउँबाट काम पाइने आशामा साथीलाई भेट्न आएका रहेछन् । आफूलाई भेट्न निम्ता दिएको साथीसँग भेट  नभएपछि  कामको खोजीमा हेलसिन्की झरेका उनीहरूलाई  आफू बस्ने ठाउँतिर फर्कने क्रममा मैले भेट्न पुगेको थिएँ । छोटो भ...

घर कहाँ हो दाजुको ?

अन्तिम पटक ह्वाट्स एपकलमा तेर्ह मिनेट कुराकानी भएको ठ्याक्कै तीन महिनापछि ह्वाट्स एपमा तिमीलाई मेरो पछिल्लो ब्लग पोष्टको लिंक साझा गरेथेँ, करिब तीन हप्तापछि आजै बुनेले मीठो टिप्पणीसहितको सन्देश प्रवाह गर्ने क्रममा अम्रिकाबाट सोधी पठायौ, "Dai, I have a question, where is home? Nepal or Finland?" सायदै बुने तिम्रो प्रश्न यत्तिमै मात्र सक्किन्थ्यो भनेपनि मैले सजिलै भनिदिन सक्थेँ होला जसरी हाम्रै म्याग्दीका लोकगायक खड्ग गर्बुजाले आफ्नो ' पिरती ' एल्बमको एक गीतमा सोध्दा प्रश्न, "घर कहाँ हो मायालु?" कति सजिलै जवाफ दिएथीन् गायिकाले, "हिमालको काखैमा ।" तर तिम्रो प्रश्नमा जवाफ मात्र दिएर पुग्थेन्, त्यसले अन्तःस्करणको भाव पनि जान्न चाहन्थ्यो किनकी त्यसमा तिमीले थपेर पठाएथ्यौ - "What is your feeling since you've lived so many years in Finland?" म फिनल्याण्ड टेकेको वर्षदिन पनि त पुगेको थिएन् जतिबेला सन् २०१३ को हिउँदमा फिनल्याण्डमा मलाई पहिलो कामका लागि भनसुन गर्दिनुभएका दाजु राजन सुवेदीले, तिम्रो जत्तिकै गम्भीर त होईन् तर सिधा प्रश्न गर्नु भएथ्...

बोई, बार्ह वर्षमा खोलो किन फर्किएन् ?

हिजो भर्खर जस्तो लाग्छ, २७ औं वसन्तमा हिड्दै गरेको म विना कुनै योजना देश छाडेर परदेश हिडेको । आज १२ वर्ष नाघिसकेछ, परदेश भनिएको ठाम देशजस्तै अनि देश ठानिएको ठाम परदेशजस्तै भएको । मेरी बोइ भन्नुहुन्थ्यो, "बार्ह बर्षमा खोलो फर्किन्छ ।" बार्है बर्ष वितिसकेछन्, म मान्छे भएर होला सायद आफूले आएको बाटैबाटो घर फर्किन नसकेको ! बोइ नफर्किने गरी गएको पनि ५ वर्ष त नाघिसकेछ, सायद अझै हुनुहुन्थ्यो भने फोन गरेर म सोध्दो हुँ, - बोइ बार्ह वर्षमा खोलो कसरी फर्किन्छ ? सिकाइमाग्दो हुँ फर्किने सुत्र, शिरोपर गर्दो हुँ ती सुत्रहरू र लाग्दो हुँ ढोडेनीको पक्की पुल तरेर किनारै किनार तेर्सिएर घैयारासम्म अनि अलिकति माथि उक्लिएर हाम्रा जिजुको पालादेखिको हाम्रो स्थायी ठेगाना उही ढुंगेपाली टोलमा । छिर्दो हुँ आफ्नै मेहनतले बनाएको साढे दुई तले पक्की घरको दैलोभित्र ।           दिनहरू यस्ता पनि थिए, जहिले म कविताहरू लेख्ने गर्थेँ । मेरा कविताहरूमा देश छाड्नेहरूलाई स्वदेशमैं बस्नु भनेर आव्हान हुने गर्थे । अहिले म तीनै कविताहरूका पात्र बनेर आफैले बाँच्नु परेको परिस्थितीलाई पचाउने प्रयत्न गर्दै...

क्लोरिनको झोल, वैज्ञानिकहरू र मेरी बोइको मुड्की

मेरो बाल्यकाल लगभग बोईसँगै बित्यो । त्यो चकचक गर्ने समय भएकाले मेरो चकचकसँग बोईलाई बेलाबेलामा झिझो लाग्नु स्वभाविक नै थियो । त्यसैले मैले अति नै अटेर गरेपछि बोईले मलाई भन्नुहुन्थ्यो -  "अहिले गाडूँला मुड्की (मुड्कीले हान्छु) ।" तर अहँ कहिल्यै पनि एक झापड खानुपरेन । मुड्की नै खानु नपरेपछि मेरो चकचक थामिने कुरै थिएन, त्यसैले बोईले पनि मुड्की गाडूँला भन्न छाड्नुभएन अनि मैले चकचक गर्न । मेरी बोईले यस धरा छोडेको पनि यहि हिउँदमा बर्षदिन पुग्दैछ, तर बोईले भन्ने गरेको "अहिले गाडूँला मुड्की" मेरो मनमा गडिरहेको छ, अनि यसो सोच्छु, दुईचार पटक बोईले साँच्चिकै मुड्की गाड्नुभएको भए, मेरा चकचक उहिले पहिले नै खत्तम हुन्थे कि ?  तर खासमा चकचक भन्ने जिनिस त्यत्तिकै खत्तम भएर गैहाल्ने कुरो हैन रहेछ । न त यो उमेर बढ्दै गएपछि आफै घट्दै र पछि निस्तेज नै हुने रहेछ । यसले खासमा उमेर बढ्दै गएर केश पाक्दै गएपनि आफ्नो स्वरूपमा अलिकति फेरिदै तरह तरहका रूपमा प्रकट हुँदै पो जाँदो रहेछ कि ? भन्ने निचोडमा पुगेको छु । यस्तै केहि केश पाक्नै थालेका मान्छेहरूको चकचक कोरोनको त्रास बढ्दै गएपछि अलिकति भि...