Skip to main content

राजा आऊ, देश बचाऊ !

An ai generated image of Nepali politicians

नौ महिना पहिले जन्मेको हाम्रो छोरो घुँडा टेकेर अगाडि हैन्, पछाडी सर्न थालेपछि मैले प्रचण्ड नामका कम्युनिष्ट नेताको खुब याद गर्ने गरेको छु । कामरेड प्रचण्ड यस्तरी पछि सर्नुलाई स्वभाविक मान्दैनन् । यस्तो अवस्थाको उनी घोर विरोध गर्छन्, र भन्छन् - यो प्रतिगमन हो । यस्तो गर्ने व्यक्ति प्रतिगमनकारी । कामरेड प्रचन्नका कुरा मान्ने हो भने मैले मेरो छोरोलाई प्रतिगमनकारीको संज्ञा दिनुपर्ने हुन्छ । 


तर मैले कामरेड प्रचन्नका तिलस्मी कुराहरूमा विश्वास कहिल्यै नगरेकाले उनको परिभाषाको प्रतिगमन मेरा लागि चाँहि अग्रगमनको पूर्वतयारी हो। अतः हाम्रो छोराले पछाडितिर घस्रिदै जानुलाई प्रतिगमन नभएर अग्रगमनको तयारीको रूपमा लिएको छु । 


भन्न त मानिसहरूले भनेका छन्, कि विशेषतः कम्युनिष्ट भनेर चिनिन रूचाउनेहरू ज्यादातर नेतागणहरूमा फोस्रो आडम्बरपूर्ण जीवन शैली हावी भएको छ । मैले पनि बुझेको छैन् कि अमेरिकी अर्बपतिहरूले समेत अपनाउन लज्जा महशुस गर्ने जीवनशैली यि साम्यबाद ल्याउने सपना बाड्ने नेपाली कम्युनिष्टहरूले बेसरम अपनाएका छन् । तर किन कसैले यिनीहरूलाई अझै बुझाउन सकेको छैन कि जनताहरूलाई तन्त्रप्रति हैन तिमीहरूको विलाशी जीवनशैलीप्रति दिग्गारी लागेको हो । तिमीहरूसँग आन्दोलनमा होमिएका योद्वाहरूका छोराछोरीहरू साँझ विहानको जोहो गर्नैका लागि खाडीमा रगत पसिना बगाउनुपर्ने, तिम्रा सन्तानहरूले नेपालमै राजाशी ठाँटबाडमा जिउन पाउने ? 


खबरहरू पढियो पनि कि कुकुर बिराला जस्ता यी दुई कामरेडहरूको एउटा भेट सन्निकट छ । जबजब यिनीहरूको सत्तामा केहि आफत आइलाग्दछ, तबतब यी दुई भेटघाट गर्न राजी हुन्छन् । भेट्छन् । अनि छुट्छन् । बाझाबाझ गर्छन् । फेरि मिल्छन् । तर मेरो मनमा लागेको चाहिँ भेटमा यी पक्कै पनि एक अर्काले पहिरिने ब्रान्डेड सामानहरूमा कसले लगाएको महंगो र ब्रान्डेड सामाग्री हो ? भन्नेमा दलफसल गर्छन । नागरिकमा रहेको असन्तुष्टी र नेतामाथि नागरिकले गर्दै आएको विश्वासमा देखिएको संकटकाबारे छलफल चलाउँदा हुन त किन आज यी बोल्दा पनि सुन्ने मान्छेहरू हुँदैनन्, सुन्नेहरूले पनि यिनका कुरामा सहमत हुन नसकेका होलान् ?  


केहि हजार प्रजाहरूको राजा फर्काउने अभियानमा प्रचन्न कामरेड र केपी 'बा'लाई कुनैबेला चरेशको थालमा दुर्लभ मार्सी चामलको भूजा ज्यूनार गराएका मार्सी प्रसाई नामले ख्याति कमाएका पूर्वतिरका एक बेपारीले मुख्य नाइके भएर जुलुस गरेको देखेपछि एकैसाथ कमनिष्ट कामरेडहरू झस्किएको देखिएकै हो । झस्किनु अस्वभाविक पनि हैन्, जब कोही आफ्नै बफादार कुकुर ठानिएको मान्छे फुत्तै भागेर पल्लो किनारा पुग्दछ अनि मालिकतिर फर्केर पुराना प्रताडना सम्झी सम्झी एकनाश ठूलो स्वरले मुर्दाबादको नारा लगाउँछ । 


साम्यवादका रूमानी सपना बाड्दै जनताहरूलाई दिगभ्रमित पार्न खप्पिस कम्युनिष्ट नेताहरूले महिनाको गोडा बिसेक हजारको जागिर खाइरहेका प्रहरी जवानलाई लाइनमा उभ्भाएर पिर्के सलामी खाएको देखेपछि कुन बुझक्की मान्छेलाई झोक नचल्ने कुरो हुन्छ ? कर्मचारीतन्त्र, प्रहरी प्रशासनलाई जनमुखी नभै नेतामुखी बनाउने जो कृत्य भइरहेको देखिन्छ, त्यसले हरकोहीलाई आवेशमा आउन वाध्य पार्दछ । यिनका रूमानी सपनाको नशा लागेर यिनका आदेशमा निमुखा जनताका लागि आफ्नो बलि दिन तयार भएका सपुतहरूको आत्मा पनि त यतै कतै भड्कीरहेकै होलान्, तीनले पनि थकथक मान्दा हुन् यो थाहा पाएर कि सहिद त उनीहरू जनताको मुक्तिको लागि नभै केहि दर्जन टाठाबाठाहरूलाई सत्ताको चास्नीमा डुबुल्की मार्न सजिलो बनाउन पो बनाइएका रहिछन् । के यो विचार्ने हरी यि मृत जस्तै लाग्ने नेताहरूको आत्मामा कतै जिवित होला त? 


विकासका योजनाहरू आवश्यकतामा हैन ठूला भनिएका नेताहरूको मनमौजी र उडन्ते सपनाहरूमा खर्च हुन्छन् । सगरमाथाका देशमा भ्यू टावर ठडाउन पैसा हुने राज्यसँग, नवप्रवर्तनका लागि रूपैयाँ छैन् भनेको सुन्दा खासै रिस, संवेग प्रदर्शन नगरिहाल्ने वैज्ञानिक महावीर पुनले समेत अचेल आवेशपूर्ण सम्प्रेषणहरू गरेको पाइन्छ । देशको माया गर्ने हरकोहीलाई देशको त्यसै कन्तविजोग पारे भन्ने त लाग्छ नै जव एउटा वैज्ञानिक नवप्रवर्तनको रकम जोहो गर्नलाई एकसरो लुगामा आफ्नो थाप्लामा आफ्नै आत्मकथाको पुस्तक पसल चलाउन बाध्य हुन्छ ।


म राजावादी होइन् । तर राजाको भन्दा बढ्ता सम्भ्रान्त जीवन शैली बाँचेर निमुखा नेपालीहरूको चित्तमा आगो उमार्ने कथित कमनिष्ट नेताहरूको राजशी ठाँटले मेरा चित्तमा यिनीहरूप्रति घृणाको बादल मडारिरहेछ । घृणा यिनीहरूप्रति यति उम्रिसकेछ कि ज्ञानेन्द्र शाहको पुनः सत्तारोहण भएर किञ्चित यी उनका दरबारका नोकर चाकरका दर्जामा पदावनति भइहालेछन् भनेपनि मनमा कुनै क्लेश बाँकी रहने छैन् । 


पदच्युत भैसकेको दुई दशक पछि इतिहास बनिसकेको राजसिंहासनमा कथंकदाचित ज्ञानेन्द्र शाहको पुनरागमन भैहालेछ भने उधुमै हुने त केहि होइन् । तर पुरानो निर्णयलाई सच्चाएर नयाँ रणनीतिका साथ आफ्नो क्षेत्रमा फर्केर जबरजस्त पुनरागमन गरेका विभिन्न व्यक्ति एवं कम्पनीकाबारे पढ्दै गर्दा ज्ञानेन्द्र शाहमाथि पनि त्यस्तै प्रकारको आशा राख्न नसकिने ठाउँ नभएको चाँहि लुकाउनु किन पर्यो ? उनी पनि त आखिर विभिन्न कम्पनी चलाएका मालिक हुन् । व्यवसायिक व्यक्तित्व हुन् । राजा त उनी त्यतिबेला मात्रै थिए, जतिबेला राजदरबारमा राजाको उत्तराधिकारी समेत नभेटिने गरी राजा त्रिभुवन भारत पसिदिएका थिए ।


प्रतक्ष्य राजनीतिको संलग्नताबाट विमुख भै सत्ताइस वर्ष जेल जीवन बिताएर राजनीतिमा फर्किदा नेल्सन मण्डेला दक्षिण अफ्रिकाका राष्ट्रपति बन्न पुगे । उनी फगत राष्ट्रपति मात्र बनेन, गृहयुद्वबाट आक्रान्त राष्ट्रलाई नयाँ शिराबाट उठाउने नायक बने । सूचना प्रविधीका क्षेत्रमा खुबै चर्चा गरिने स्टिभ जब्स पनि कुनै बेला एप्पल कम्पनीबाट बाहिरिनु परेको थियो । जब बार्ह वर्षपछि पुनः उनी उक्त कम्पनीमा फर्किए, तब मोबाइल फोनको स्वरूपमा कुन प्रकारको क्रान्तिकारी परिवर्तन भयो त्यसबारे नक्कली कथा बुन्नु जरूरी नै रहेन् । प्रमाण तपाइँ हामी कतिपयका हातैमा छन् । 


डिभिडी भाडामा उपलब्ध गराउने कम्पनिका रूपमा स्थापित एवं विस्तारित नेटफिलिक्सले परम्परागत ढाँचाको व्यापारिक शैली फेरेर मनोरञ्जनको दुनियाँमा भित्र्याएको स्ट्रिमिङ सेवाका कारण अहिले यस्तो सेवा प्रदान गर्ने विश्वकै अग्रणी कम्पनी बन्न पुगेको छ । रूढिवाद र भाग्यबादको दुष्चक्रमा अभिसप्त नेपाली समाजलाई साँचो अर्थको चेतनामा ल्याउन पहलकदमी किन कुनै गणतन्त्रको नेतृत्वले गर्न सकेन् ?


अन्तरिक्ष यात्रामा प्रयोगमा रहेको परम्परागत रकेट प्रक्षेपणको पद्दतीमा आमुल सुधार गर्न अन्तरिक्ष यात्रामा हुने खर्चको मितव्ययीताका बारे मन्थन गरेका एलन मस्कले एउटा कुनै दिन रकेटको पुनः प्रयोगका सम्भावनाबारे घोत्लिदा अन्तरिक्ष मिसन सञ्चालनमा हुने खर्चमा उल्लेख्य मात्रामा कटौती हुने स्थिति बन्न गएको छ । अनावश्यक खर्च कटौतीकाबारे के हाम्रा कुनै कथित साम्यवादी नेताहरू कहिल्यै घोत्लिए होलान् ? 


दक्षिण अफ्रिकाबाट भारत फर्केर महात्मा गान्धीले सिधैं राजनीति शुरू गरेनन् । गरिव किसानका जीवन बुझ्न हिन्दुस्थानका देहात छिरेका गान्धीले भारतलाई अंग्रेजको उपनिवेशबाट स्वतन्त्रता दिलाउने आन्दोलनको नायकत्व ग्रहण गरे । कुनै बेला गान्धीलाई दास बराबर मान्ने बेलायती शासकहरूकै देशमा उनीहरूका भन्दा बढी मूर्ति गान्धीका ठडिएका छन् । के यो सन्दर्भ हाम्रा कथित नेताहरूका लागि उनीहरूको राजनैतिक जीवनमा कहिल्यै सान्दर्भिक विषय बन्यो होला ?


भलै, भव्य पुनरागमनको हौसला कायम राख्न खड्गप्रसाद ओली असफल रहे, तर  २०७४ मा बहुमत गुमाएर सरकार छोड्न बाध्य उनी एकै वर्षको अन्तरालमा २०७५ मा, कुशल रणनीतिका साथ करिब दुई तिहाइको जितको श्रेष्ठता हासिल गर्न त सफल भएकै थिए नी । तर त्यो सफलता किन केहि महिनामा नै दुघर्टनामा पर्न गयो ? के यिनीहरूले त्यसको साँचो अर्थमा कहिल्यै समीक्षा गर्न सके ? के यसबाट यिनीहरूले केहि शिक्षा लिए ? 


ज्ञानेन्द्र शाहले त करिब बिस वर्षपछि राजसिंहासनमा पदस्थापनाका लागि कोशिस गर्न चाहेका छन् । मान्छेहरूको मनस्थिति बुझ्दा पनि रंग न ढंगका मान्छेहरूले गणतन्त्रको नाम दिएर आफ्नै प्रकारको राजतन्त्र चलाइरहनु भन्दा त परम्परादेखि नै मान्दै आएको राजसंस्थाकै निरन्तरता भएको राम्रो हो नी भन्ने देखिन्छ । हुन पनि राजा जस्तै असंख्य नेताहरू भन्दा त एउटै राजा हुनु वेश भन्नुमा गलत के नै छ र ? नेताहरू नेता जस्तै भए राजा कसले खोज्द्थ्यो ? राजा ज्ञानेन्द्र शाह राजसिंहासनबाट राजदण्ड फ्याँकेर मैदान झर्नु परेको आखिर  नेता जस्तै बन्न खोजेर त हो । राजाले नेता भएको नसहने तिनै नेपालीहरूले नेताहरू राजा बन्न खोजेको सहन गर्न कसरी सक्छन् ?


अगाडि नबढेर पछाडि घस्रिन शुरू गरेको एक शिशुको पिताको नाताले मैले भन्न करै लाग्दछ, पछाडि सर्नु फगत प्रतिगमन हैन् । यी राजा जस्तै नेताहरू हुनु भन्दा त राजा नै राज्यसत्तामा फर्किनु वेश होला कि ?


के साँच्चै अब नारा लगाउने बेला भएकै हो त ? नारा लगाउँदैमा के हुन्छ ? मुद्दा लाग्ने हैन्, जेल परिने हैन् । अँ बरू प्रचन्न कामरेड, केपी कामरेडका फोटा नजलाउनु जेल पर्न सकिन्छ । नेताहरूलाई पुत्ला र कालोपट्टीको एलर्जी छ । जेल हाल्दिन्छ्न्, मस्त सुत्दिन्छन् । यिनलाई दिनको भोक न रातको निन्द्रा बनाउने एउटै ओखती छ, त्यो हो अहिलेको क्रान्तिकारी नारा । आऊ, एकसाथ नारा घन्काऔं -  “राजा आऊ, देश बचाऊ ।”

Comments

  1. कहिलेकाहिँ सरल कुराहरु बुझ्न अलि बाङ्गो कोणबाट हेर्नु पर्ने हुन्छ र मलाइ लाग्दछ यो लेखले हामीले ३६० डिग्रीको द्रिस्याबलोकन गराएको छ। यति धेरै उदारहण र हुर्कदै गरेको छोराको "प्रतिगमन" को रुपक प्रयोगले यति बिशाल कुरालाई एक हरफमा यति मज्जाले प्रस्तुत गरिदिनु भएको छ कि मेरो बिचारमा सबैको बोलि बन्द हुन्छ।
    यो अर्को शक्तिसाली विस्फोटक ब्लग पढे पछि लेखकलाई तिन तोपे सलामी दिन मन छ, र तोपको अभाबमा मनको सलामी भने तिन को तिन लाख गुणा दिएँ। कृपया निरन्तर लेखिरहनु होला।

    ReplyDelete
    Replies
    1. शेखरजी, यहाँको व्यस्त कार्यतालिका बाबजुद पनि प्रेमपूर्वक यस ब्लगपोष्टमा मीठो टिप्पणी प्रेषण गर्नुभएकोमा हार्दिक आभार प्रकट गर्न चाहन्छु ।

      Delete
  2. लेख समय सान्दर्भिक रहेको पाइयो।राज सँस्था विश्वबाट लोप भाइसकेको परिप्रेक्ष्यमा फेरि पनि थुकेको थुक चाटनु जस्तो लाग्यो। नेपालको आवश्कता भनेको शून्य भ्रष्टाचारको राज गर्ने नेता, सुशासन माथि राजा गर्ने,अनि हरेक नेपालीको मौलिक हक अधिकारलाई समान गर्ने संस्कारको प्रत्याभूति दिलाउने राजा नेताको आवश्यकता हो जस्तो लाग्छ तर पनि जनताको निर्णयनै निर्णायक हुने सर्वोपरि मान्यता अनुसार आज भोलिको माहोल त्यस्तै बन्दै गएको छ।जुनकुरा लेखकले पक्रिएको जस्तो लाग्यो।लेखमा लेखकले पक्रिएको आफ्नो मौलिकतामा समय सान्दर्भिकलाई आफ्नु बाबु बामे सर्न अवस्थाको तुलना प्रतिगमन तिरको यात्रा सँग तुलना गरेर प्रस्तुत गरेका छन जुन कुराले अझ रोमाञ्चक बनाएको छ। यस्तै लेखको फेरी पनि अपेक्षा सहित शुभकामना।

    ReplyDelete
    Replies
    1. प्रिय भेनाश्री, सधैं झैं फेरि पनि यहाँको गज्जपको टिप्पणीका लागि साधुवाद।

      Delete
  3. अहिले यो लेख पढिरहेको बेलामा मोबाइलमा नोटिफिकेसन आयो " मन्त्रीपरिषदको बैठकले नेपाल विद्युत प्राधिकरणका महानिर्देशक कुलमान घिसिङलाई हटाएर हितेन्द्र शाक्यलाई नियुक्त गर्‍यो ।" यी र यस्तै जनविरोधी कार्य गरेकै कारणले नेपाली जनता राजतन्त्रको पक्षमा देखिएको जस्तो लागेको हो । न त राजा फर्किन्छ न त राजाले यो देश बचाएकै हो, आफ्नो कुर्ची बचाउन नसक्नेले देश बचाउँछ भन्नु आफ्नो वंश समेत बचाउन नसक्नेले जनताको रक्षा गर्छु भन्नु र बिरालोले तुलसीको माला लगाएर शाकाहारी बन्नु जस्तै हो । तर यो देशका मान्छेहरू हजुरको बाबु झै अगाडि जानको लागि पछाडि हट्ने हैन कि पछाडि हट्नको लागि अगाडि बढेजस्तो गर्ने भएकाले मैले जै नहोस् भनेको त्यै हुन पनि बेर छैन । राजा फालेपनि नेपालीको मनमा निगुढ राजतन्त्र अझै हटेको छैन । त्यसैले त नेताहरू अघोषित राजा बने, तीनका धुपौरेहरू कथित भारदार . मलाई राजनीतिक लेखहरू उतिसारो रुचीकर लाग्दैन । तर गुरुको यो लेख अद्योपान्त पढिसकेपछि फेरि विक्रम संवत् २१०० पुनर्लेखन कि जस्तो लाग्यो ।

    ReplyDelete
    Replies
    1. प्रिय गुरू, घरायसी एवं कार्यालयको व्यस्तताका बाबजुद पनि यहाँले जुन प्रेम एवं श्रद्वाका साथ टिप्पणीहरू लेखिपठाउनु हुन्छ, त्यसप्रति म सदा आभारी छु । हजुरले भने झैं र मेलै यस ब्लगपोष्टमा उल्लेख गरे झैं नेताहरूको राजशी ठाँटबाँठले नै नागरिकहरूमा उनीहरूप्रति चरम वितृष्णा पैदा भएको हो । यसमा कुनै सन्देहः छैन् ।

      Delete

Post a Comment

प्रतिक्रिया ब्यक्त गर्दा सभ्य र सुसंस्कृत शैली प्रयोग गर्नका लागि सम्पूर्णमा सविनय अनुरोध गर्दछु ।

लोकप्रिय पोष्टहरू

अनि रोशन भाइले टिपेछन् ६ बाल्टिन बेरी

गएको साल, हेर्दै कलिला देखिने दुई जना ठिटाहरू तिक्कुरिला रेल बिसौनीको कुनामा मस्त चुरोटको पफ लिदैं गरेका बेला, "भाइहरू नेपाली हो ?" भनेर मैले सोधेको थिएँ । मेरो प्रश्न भुँइमा झर्न नपाउँदै, आफूले तान्दै गरेको चुरोट आफ्नो साथीलाई दिदैँ, झन कलिलो देखिने ठिटोले भनेथ्यो, "हो दाई । कसरी पो ठम्याउनु भो ?"  दुई फरक मुहारको बनोट लिएका मानिसहरू सँगै बसेर एउटै चुरोट तान्दैछन् भने ती पक्कै नेपालीहरू हुनुपर्छ, त्यसमाथि तिमीहरू नेपाली मैं बातचित गर्दै थियौ नी त । मेरो जवाफ सुनेपछि त्यो ठिटोले कपाल कन्याउँदै भनेथ्यो, "हाउ दाजु पनि, सारै मजाको पो हुनुहुदोँ रहिछ !" मैले बात मार्न खोज्दा, निसंकोच बात मार्न खोज्ने ठिटो त पूर्वतिरको लिम्बु भाइ रहेछन् । अनि खासै बात मार्न नचाहने चाँहि रहिछन् - काठतिरका बाहुन भाइ ।  त्यो दिन ती भाइहरू हेलसिन्कीबाट सवा घण्टाको रेल यात्रामा पुगिने ठाउँबाट काम पाइने आशामा साथीलाई भेट्न आएका रहेछन् । आफूलाई भेट्न निम्ता दिएको साथीसँग भेट  नभएपछि  कामको खोजीमा हेलसिन्की झरेका उनीहरूलाई  आफू बस्ने ठाउँतिर फर्कने क्रममा मैले भेट्न पुगेको थिएँ । छोटो भ...

घर कहाँ हो दाजुको ?

अन्तिम पटक ह्वाट्स एपकलमा तेर्ह मिनेट कुराकानी भएको ठ्याक्कै तीन महिनापछि ह्वाट्स एपमा तिमीलाई मेरो पछिल्लो ब्लग पोष्टको लिंक साझा गरेथेँ, करिब तीन हप्तापछि आजै बुनेले मीठो टिप्पणीसहितको सन्देश प्रवाह गर्ने क्रममा अम्रिकाबाट सोधी पठायौ, "Dai, I have a question, where is home? Nepal or Finland?" सायदै बुने तिम्रो प्रश्न यत्तिमै मात्र सक्किन्थ्यो भनेपनि मैले सजिलै भनिदिन सक्थेँ होला जसरी हाम्रै म्याग्दीका लोकगायक खड्ग गर्बुजाले आफ्नो ' पिरती ' एल्बमको एक गीतमा सोध्दा प्रश्न, "घर कहाँ हो मायालु?" कति सजिलै जवाफ दिएथीन् गायिकाले, "हिमालको काखैमा ।" तर तिम्रो प्रश्नमा जवाफ मात्र दिएर पुग्थेन्, त्यसले अन्तःस्करणको भाव पनि जान्न चाहन्थ्यो किनकी त्यसमा तिमीले थपेर पठाएथ्यौ - "What is your feeling since you've lived so many years in Finland?" म फिनल्याण्ड टेकेको वर्षदिन पनि त पुगेको थिएन् जतिबेला सन् २०१३ को हिउँदमा फिनल्याण्डमा मलाई पहिलो कामका लागि भनसुन गर्दिनुभएका दाजु राजन सुवेदीले, तिम्रो जत्तिकै गम्भीर त होईन् तर सिधा प्रश्न गर्नु भएथ्...

मेरो एउटा साथी छ (हुनुहुन्छ)

 " नीराजन, मेरो बेस्ट फ्रेन्ड हो ।" जन्मेर २६ वर्ष बिताएको देश नेपालमा मलाई यस्तो भन्ने कोही थिएन् । तर यतै फिनल्याण्ड आइपुगेपछि,  मलाई यस्तो भन्ने एक जना भेट्टिएकी थिइन् ।  जोसँग बसेर एकै कप चिया वा कफि पिएकै थिइँन्, मैले । मनभरीका बह न मैले उनीसँग केहि पोखेकै थिएँ, न त उनले विशेष केही त्यस्त्तो साझा गरेकी थिइन् मसँग । तर मलाई चिन्ने र मसँग सम्पर्कमा रहेका धेरै साथीभाइसँग उनले सुनाउन बिर्सेकी रहिन्छिन् कि निराजन उनको बेस्ट फ्रेन्ड हो ।  यो पढ्दै गर्दा यहाँलाई लाग्ला, कि आफूलाई बेस्ट फ्रेन्ड बताउने साथीका सम्बन्धमा लेख्ता पनि यसले किन भूतकालको प्रयोग गर्यो ? प्रश्न स्वभाविकै हो तर मेरो जवाफ अलिकति अस्वभाविक लाग्न सक्ला यहाँलाई । कि मलाई बेस्ट फ्रेन्ड भन्ने उनको, खासमा म  फ्रेन्ड पनि थिइँन् । न उनी थिइन्, मेरो कुनै त्यस्तो विशेष मित्र । बस्, हाम्रो सामान्य चिनजान मात्र थियो । केहि मानिसहरू हुँदारहेछन्, जो सामान्य चिनजानलाई मित्रताको नाम दिदाँरहिछन्, उनले जस्तै । अनि कोही यस्ता पनि हुँदा रहिछन् कि जोसँग हामी विशेष सामिप्यतामा भएको ठानेका हुन्छौं, तर उनीहरूका ...

बोई, बार्ह वर्षमा खोलो किन फर्किएन् ?

हिजो भर्खर जस्तो लाग्छ, २७ औं वसन्तमा हिड्दै गरेको म विना कुनै योजना देश छाडेर परदेश हिडेको । आज १२ वर्ष नाघिसकेछ, परदेश भनिएको ठाम देशजस्तै अनि देश ठानिएको ठाम परदेशजस्तै भएको । मेरी बोइ भन्नुहुन्थ्यो, "बार्ह बर्षमा खोलो फर्किन्छ ।" बार्है बर्ष वितिसकेछन्, म मान्छे भएर होला सायद आफूले आएको बाटैबाटो घर फर्किन नसकेको ! बोइ नफर्किने गरी गएको पनि ५ वर्ष त नाघिसकेछ, सायद अझै हुनुहुन्थ्यो भने फोन गरेर म सोध्दो हुँ, - बोइ बार्ह वर्षमा खोलो कसरी फर्किन्छ ? सिकाइमाग्दो हुँ फर्किने सुत्र, शिरोपर गर्दो हुँ ती सुत्रहरू र लाग्दो हुँ ढोडेनीको पक्की पुल तरेर किनारै किनार तेर्सिएर घैयारासम्म अनि अलिकति माथि उक्लिएर हाम्रा जिजुको पालादेखिको हाम्रो स्थायी ठेगाना उही ढुंगेपाली टोलमा । छिर्दो हुँ आफ्नै मेहनतले बनाएको साढे दुई तले पक्की घरको दैलोभित्र ।           दिनहरू यस्ता पनि थिए, जहिले म कविताहरू लेख्ने गर्थेँ । मेरा कविताहरूमा देश छाड्नेहरूलाई स्वदेशमैं बस्नु भनेर आव्हान हुने गर्थे । अहिले म तीनै कविताहरूका पात्र बनेर आफैले बाँच्नु परेको परिस्थितीलाई पचाउने प्रयत्न गर्दै...

क्लोरिनको झोल, वैज्ञानिकहरू र मेरी बोइको मुड्की

मेरो बाल्यकाल लगभग बोईसँगै बित्यो । त्यो चकचक गर्ने समय भएकाले मेरो चकचकसँग बोईलाई बेलाबेलामा झिझो लाग्नु स्वभाविक नै थियो । त्यसैले मैले अति नै अटेर गरेपछि बोईले मलाई भन्नुहुन्थ्यो -  "अहिले गाडूँला मुड्की (मुड्कीले हान्छु) ।" तर अहँ कहिल्यै पनि एक झापड खानुपरेन । मुड्की नै खानु नपरेपछि मेरो चकचक थामिने कुरै थिएन, त्यसैले बोईले पनि मुड्की गाडूँला भन्न छाड्नुभएन अनि मैले चकचक गर्न । मेरी बोईले यस धरा छोडेको पनि यहि हिउँदमा बर्षदिन पुग्दैछ, तर बोईले भन्ने गरेको "अहिले गाडूँला मुड्की" मेरो मनमा गडिरहेको छ, अनि यसो सोच्छु, दुईचार पटक बोईले साँच्चिकै मुड्की गाड्नुभएको भए, मेरा चकचक उहिले पहिले नै खत्तम हुन्थे कि ?  तर खासमा चकचक भन्ने जिनिस त्यत्तिकै खत्तम भएर गैहाल्ने कुरो हैन रहेछ । न त यो उमेर बढ्दै गएपछि आफै घट्दै र पछि निस्तेज नै हुने रहेछ । यसले खासमा उमेर बढ्दै गएर केश पाक्दै गएपनि आफ्नो स्वरूपमा अलिकति फेरिदै तरह तरहका रूपमा प्रकट हुँदै पो जाँदो रहेछ कि ? भन्ने निचोडमा पुगेको छु । यस्तै केहि केश पाक्नै थालेका मान्छेहरूको चकचक कोरोनको त्रास बढ्दै गएपछि अलिकति भि...