Skip to main content

राजा आऊ, देश बचाऊ !

An ai generated image of Nepali politicians

नौ महिना पहिले जन्मेको हाम्रो छोरो घुँडा टेकेर अगाडि हैन्, पछाडी सर्न थालेपछि मैले प्रचण्ड नामका कम्युनिष्ट नेताको खुब याद गर्ने गरेको छु । कामरेड प्रचण्ड यस्तरी पछि सर्नुलाई स्वभाविक मान्दैनन् । यस्तो अवस्थाको उनी घोर विरोध गर्छन्, र भन्छन् - यो प्रतिगमन हो । यस्तो गर्ने व्यक्ति प्रतिगमनकारी । कामरेड प्रचन्नका कुरा मान्ने हो भने मैले मेरो छोरोलाई प्रतिगमनकारीको संज्ञा दिनुपर्ने हुन्छ । 


तर मैले कामरेड प्रचन्नका तिलस्मी कुराहरूमा विश्वास कहिल्यै नगरेकाले उनको परिभाषाको प्रतिगमन मेरा लागि चाँहि अग्रगमनको पूर्वतयारी हो। अतः हाम्रो छोराले पछाडितिर घस्रिदै जानुलाई प्रतिगमन नभएर अग्रगमनको तयारीको रूपमा लिएको छु । 


भन्न त मानिसहरूले भनेका छन्, कि विशेषतः कम्युनिष्ट भनेर चिनिन रूचाउनेहरू ज्यादातर नेतागणहरूमा फोस्रो आडम्बरपूर्ण जीवन शैली हावी भएको छ । मैले पनि बुझेको छैन् कि अमेरिकी अर्बपतिहरूले समेत अपनाउन लज्जा महशुस गर्ने जीवनशैली यि साम्यबाद ल्याउने सपना बाड्ने नेपाली कम्युनिष्टहरूले बेसरम अपनाएका छन् । तर किन कसैले यिनीहरूलाई अझै बुझाउन सकेको छैन कि जनताहरूलाई तन्त्रप्रति हैन तिमीहरूको विलाशी जीवनशैलीप्रति दिग्गारी लागेको हो । तिमीहरूसँग आन्दोलनमा होमिएका योद्वाहरूका छोराछोरीहरू साँझ विहानको जोहो गर्नैका लागि खाडीमा रगत पसिना बगाउनुपर्ने, तिम्रा सन्तानहरूले नेपालमै राजाशी ठाँटबाडमा जिउन पाउने ? 


खबरहरू पढियो पनि कि कुकुर बिराला जस्ता यी दुई कामरेडहरूको एउटा भेट सन्निकट छ । जबजब यिनीहरूको सत्तामा केहि आफत आइलाग्दछ, तबतब यी दुई भेटघाट गर्न राजी हुन्छन् । भेट्छन् । अनि छुट्छन् । बाझाबाझ गर्छन् । फेरि मिल्छन् । तर मेरो मनमा लागेको चाहिँ भेटमा यी पक्कै पनि एक अर्काले पहिरिने ब्रान्डेड सामानहरूमा कसले लगाएको महंगो र ब्रान्डेड सामाग्री हो ? भन्नेमा दलफसल गर्छन । नागरिकमा रहेको असन्तुष्टी र नेतामाथि नागरिकले गर्दै आएको विश्वासमा देखिएको संकटकाबारे छलफल चलाउँदा हुन त किन आज यी बोल्दा पनि सुन्ने मान्छेहरू हुँदैनन्, सुन्नेहरूले पनि यिनका कुरामा सहमत हुन नसकेका होलान् ?  


केहि हजार प्रजाहरूको राजा फर्काउने अभियानमा प्रचन्न कामरेड र केपी 'बा'लाई कुनैबेला चरेशको थालमा दुर्लभ मार्सी चामलको भूजा ज्यूनार गराएका मार्सी प्रसाई नामले ख्याति कमाएका पूर्वतिरका एक बेपारीले मुख्य नाइके भएर जुलुस गरेको देखेपछि एकैसाथ कमनिष्ट कामरेडहरू झस्किएको देखिएकै हो । झस्किनु अस्वभाविक पनि हैन्, जब कोही आफ्नै बफादार कुकुर ठानिएको मान्छे फुत्तै भागेर पल्लो किनारा पुग्दछ अनि मालिकतिर फर्केर पुराना प्रताडना सम्झी सम्झी एकनाश ठूलो स्वरले मुर्दाबादको नारा लगाउँछ । 


साम्यवादका रूमानी सपना बाड्दै जनताहरूलाई दिगभ्रमित पार्न खप्पिस कम्युनिष्ट नेताहरूले महिनाको गोडा बिसेक हजारको जागिर खाइरहेका प्रहरी जवानलाई लाइनमा उभ्भाएर पिर्के सलामी खाएको देखेपछि कुन बुझक्की मान्छेलाई झोक नचल्ने कुरो हुन्छ ? कर्मचारीतन्त्र, प्रहरी प्रशासनलाई जनमुखी नभै नेतामुखी बनाउने जो कृत्य भइरहेको देखिन्छ, त्यसले हरकोहीलाई आवेशमा आउन वाध्य पार्दछ । यिनका रूमानी सपनाको नशा लागेर यिनका आदेशमा निमुखा जनताका लागि आफ्नो बलि दिन तयार भएका सपुतहरूको आत्मा पनि त यतै कतै भड्कीरहेकै होलान्, तीनले पनि थकथक मान्दा हुन् यो थाहा पाएर कि सहिद त उनीहरू जनताको मुक्तिको लागि नभै केहि दर्जन टाठाबाठाहरूलाई सत्ताको चास्नीमा डुबुल्की मार्न सजिलो बनाउन पो बनाइएका रहिछन् । के यो विचार्ने हरी यि मृत जस्तै लाग्ने नेताहरूको आत्मामा कतै जिवित होला त? 


विकासका योजनाहरू आवश्यकतामा हैन ठूला भनिएका नेताहरूको मनमौजी र उडन्ते सपनाहरूमा खर्च हुन्छन् । सगरमाथाका देशमा भ्यू टावर ठडाउन पैसा हुने राज्यसँग, नवप्रवर्तनका लागि रूपैयाँ छैन् भनेको सुन्दा खासै रिस, संवेग प्रदर्शन नगरिहाल्ने वैज्ञानिक महावीर पुनले समेत अचेल आवेशपूर्ण सम्प्रेषणहरू गरेको पाइन्छ । देशको माया गर्ने हरकोहीलाई देशको त्यसै कन्तविजोग पारे भन्ने त लाग्छ नै जव एउटा वैज्ञानिक नवप्रवर्तनको रकम जोहो गर्नलाई एकसरो लुगामा आफ्नो थाप्लामा आफ्नै आत्मकथाको पुस्तक पसल चलाउन बाध्य हुन्छ ।


म राजावादी होइन् । तर राजाको भन्दा बढ्ता सम्भ्रान्त जीवन शैली बाँचेर निमुखा नेपालीहरूको चित्तमा आगो उमार्ने कथित कमनिष्ट नेताहरूको राजशी ठाँटले मेरा चित्तमा यिनीहरूप्रति घृणाको बादल मडारिरहेछ । घृणा यिनीहरूप्रति यति उम्रिसकेछ कि ज्ञानेन्द्र शाहको पुनः सत्तारोहण भएर किञ्चित यी उनका दरबारका नोकर चाकरका दर्जामा पदावनति भइहालेछन् भनेपनि मनमा कुनै क्लेश बाँकी रहने छैन् । 


पदच्युत भैसकेको दुई दशक पछि इतिहास बनिसकेको राजसिंहासनमा कथंकदाचित ज्ञानेन्द्र शाहको पुनरागमन भैहालेछ भने उधुमै हुने त केहि होइन् । तर पुरानो निर्णयलाई सच्चाएर नयाँ रणनीतिका साथ आफ्नो क्षेत्रमा फर्केर जबरजस्त पुनरागमन गरेका विभिन्न व्यक्ति एवं कम्पनीकाबारे पढ्दै गर्दा ज्ञानेन्द्र शाहमाथि पनि त्यस्तै प्रकारको आशा राख्न नसकिने ठाउँ नभएको चाँहि लुकाउनु किन पर्यो ? उनी पनि त आखिर विभिन्न कम्पनी चलाएका मालिक हुन् । व्यवसायिक व्यक्तित्व हुन् । राजा त उनी त्यतिबेला मात्रै थिए, जतिबेला राजदरबारमा राजाको उत्तराधिकारी समेत नभेटिने गरी राजा त्रिभुवन भारत पसिदिएका थिए ।


प्रतक्ष्य राजनीतिको संलग्नताबाट विमुख भै सत्ताइस वर्ष जेल जीवन बिताएर राजनीतिमा फर्किदा नेल्सन मण्डेला दक्षिण अफ्रिकाका राष्ट्रपति बन्न पुगे । उनी फगत राष्ट्रपति मात्र बनेन, गृहयुद्वबाट आक्रान्त राष्ट्रलाई नयाँ शिराबाट उठाउने नायक बने । सूचना प्रविधीका क्षेत्रमा खुबै चर्चा गरिने स्टिभ जब्स पनि कुनै बेला एप्पल कम्पनीबाट बाहिरिनु परेको थियो । जब बार्ह वर्षपछि पुनः उनी उक्त कम्पनीमा फर्किए, तब मोबाइल फोनको स्वरूपमा कुन प्रकारको क्रान्तिकारी परिवर्तन भयो त्यसबारे नक्कली कथा बुन्नु जरूरी नै रहेन् । प्रमाण तपाइँ हामी कतिपयका हातैमा छन् । 


डिभिडी भाडामा उपलब्ध गराउने कम्पनिका रूपमा स्थापित एवं विस्तारित नेटफिलिक्सले परम्परागत ढाँचाको व्यापारिक शैली फेरेर मनोरञ्जनको दुनियाँमा भित्र्याएको स्ट्रिमिङ सेवाका कारण अहिले यस्तो सेवा प्रदान गर्ने विश्वकै अग्रणी कम्पनी बन्न पुगेको छ । रूढिवाद र भाग्यबादको दुष्चक्रमा अभिसप्त नेपाली समाजलाई साँचो अर्थको चेतनामा ल्याउन पहलकदमी किन कुनै गणतन्त्रको नेतृत्वले गर्न सकेन् ?


अन्तरिक्ष यात्रामा प्रयोगमा रहेको परम्परागत रकेट प्रक्षेपणको पद्दतीमा आमुल सुधार गर्न अन्तरिक्ष यात्रामा हुने खर्चको मितव्ययीताका बारे मन्थन गरेका एलन मस्कले एउटा कुनै दिन रकेटको पुनः प्रयोगका सम्भावनाबारे घोत्लिदा अन्तरिक्ष मिसन सञ्चालनमा हुने खर्चमा उल्लेख्य मात्रामा कटौती हुने स्थिति बन्न गएको छ । अनावश्यक खर्च कटौतीकाबारे के हाम्रा कुनै कथित साम्यवादी नेताहरू कहिल्यै घोत्लिए होलान् ? 


दक्षिण अफ्रिकाबाट भारत फर्केर महात्मा गान्धीले सिधैं राजनीति शुरू गरेनन् । गरिव किसानका जीवन बुझ्न हिन्दुस्थानका देहात छिरेका गान्धीले भारतलाई अंग्रेजको उपनिवेशबाट स्वतन्त्रता दिलाउने आन्दोलनको नायकत्व ग्रहण गरे । कुनै बेला गान्धीलाई दास बराबर मान्ने बेलायती शासकहरूकै देशमा उनीहरूका भन्दा बढी मूर्ति गान्धीका ठडिएका छन् । के यो सन्दर्भ हाम्रा कथित नेताहरूका लागि उनीहरूको राजनैतिक जीवनमा कहिल्यै सान्दर्भिक विषय बन्यो होला ?


भलै, भव्य पुनरागमनको हौसला कायम राख्न खड्गप्रसाद ओली असफल रहे, तर  २०७४ मा बहुमत गुमाएर सरकार छोड्न बाध्य उनी एकै वर्षको अन्तरालमा २०७५ मा, कुशल रणनीतिका साथ करिब दुई तिहाइको जितको श्रेष्ठता हासिल गर्न त सफल भएकै थिए नी । तर त्यो सफलता किन केहि महिनामा नै दुघर्टनामा पर्न गयो ? के यिनीहरूले त्यसको साँचो अर्थमा कहिल्यै समीक्षा गर्न सके ? के यसबाट यिनीहरूले केहि शिक्षा लिए ? 


ज्ञानेन्द्र शाहले त करिब बिस वर्षपछि राजसिंहासनमा पदस्थापनाका लागि कोशिस गर्न चाहेका छन् । मान्छेहरूको मनस्थिति बुझ्दा पनि रंग न ढंगका मान्छेहरूले गणतन्त्रको नाम दिएर आफ्नै प्रकारको राजतन्त्र चलाइरहनु भन्दा त परम्परादेखि नै मान्दै आएको राजसंस्थाकै निरन्तरता भएको राम्रो हो नी भन्ने देखिन्छ । हुन पनि राजा जस्तै असंख्य नेताहरू भन्दा त एउटै राजा हुनु वेश भन्नुमा गलत के नै छ र ? नेताहरू नेता जस्तै भए राजा कसले खोज्द्थ्यो ? राजा ज्ञानेन्द्र शाह राजसिंहासनबाट राजदण्ड फ्याँकेर मैदान झर्नु परेको आखिर  नेता जस्तै बन्न खोजेर त हो । राजाले नेता भएको नसहने तिनै नेपालीहरूले नेताहरू राजा बन्न खोजेको सहन गर्न कसरी सक्छन् ?


अगाडि नबढेर पछाडि घस्रिन शुरू गरेको एक शिशुको पिताको नाताले मैले भन्न करै लाग्दछ, पछाडि सर्नु फगत प्रतिगमन हैन् । यी राजा जस्तै नेताहरू हुनु भन्दा त राजा नै राज्यसत्तामा फर्किनु वेश होला कि ?


के साँच्चै अब नारा लगाउने बेला भएकै हो त ? नारा लगाउँदैमा के हुन्छ ? मुद्दा लाग्ने हैन्, जेल परिने हैन् । अँ बरू प्रचन्न कामरेड, केपी कामरेडका फोटा नजलाउनु जेल पर्न सकिन्छ । नेताहरूलाई पुत्ला र कालोपट्टीको एलर्जी छ । जेल हाल्दिन्छ्न्, मस्त सुत्दिन्छन् । यिनलाई दिनको भोक न रातको निन्द्रा बनाउने एउटै ओखती छ, त्यो हो अहिलेको क्रान्तिकारी नारा । आऊ, एकसाथ नारा घन्काऔं -  “राजा आऊ, देश बचाऊ ।”

Comments

  1. कहिलेकाहिँ सरल कुराहरु बुझ्न अलि बाङ्गो कोणबाट हेर्नु पर्ने हुन्छ र मलाइ लाग्दछ यो लेखले हामीले ३६० डिग्रीको द्रिस्याबलोकन गराएको छ। यति धेरै उदारहण र हुर्कदै गरेको छोराको "प्रतिगमन" को रुपक प्रयोगले यति बिशाल कुरालाई एक हरफमा यति मज्जाले प्रस्तुत गरिदिनु भएको छ कि मेरो बिचारमा सबैको बोलि बन्द हुन्छ।
    यो अर्को शक्तिसाली विस्फोटक ब्लग पढे पछि लेखकलाई तिन तोपे सलामी दिन मन छ, र तोपको अभाबमा मनको सलामी भने तिन को तिन लाख गुणा दिएँ। कृपया निरन्तर लेखिरहनु होला।

    ReplyDelete
    Replies
    1. शेखरजी, यहाँको व्यस्त कार्यतालिका बाबजुद पनि प्रेमपूर्वक यस ब्लगपोष्टमा मीठो टिप्पणी प्रेषण गर्नुभएकोमा हार्दिक आभार प्रकट गर्न चाहन्छु ।

      Delete
  2. लेख समय सान्दर्भिक रहेको पाइयो।राज सँस्था विश्वबाट लोप भाइसकेको परिप्रेक्ष्यमा फेरि पनि थुकेको थुक चाटनु जस्तो लाग्यो। नेपालको आवश्कता भनेको शून्य भ्रष्टाचारको राज गर्ने नेता, सुशासन माथि राजा गर्ने,अनि हरेक नेपालीको मौलिक हक अधिकारलाई समान गर्ने संस्कारको प्रत्याभूति दिलाउने राजा नेताको आवश्यकता हो जस्तो लाग्छ तर पनि जनताको निर्णयनै निर्णायक हुने सर्वोपरि मान्यता अनुसार आज भोलिको माहोल त्यस्तै बन्दै गएको छ।जुनकुरा लेखकले पक्रिएको जस्तो लाग्यो।लेखमा लेखकले पक्रिएको आफ्नो मौलिकतामा समय सान्दर्भिकलाई आफ्नु बाबु बामे सर्न अवस्थाको तुलना प्रतिगमन तिरको यात्रा सँग तुलना गरेर प्रस्तुत गरेका छन जुन कुराले अझ रोमाञ्चक बनाएको छ। यस्तै लेखको फेरी पनि अपेक्षा सहित शुभकामना।

    ReplyDelete
    Replies
    1. प्रिय भेनाश्री, सधैं झैं फेरि पनि यहाँको गज्जपको टिप्पणीका लागि साधुवाद।

      Delete
  3. अहिले यो लेख पढिरहेको बेलामा मोबाइलमा नोटिफिकेसन आयो " मन्त्रीपरिषदको बैठकले नेपाल विद्युत प्राधिकरणका महानिर्देशक कुलमान घिसिङलाई हटाएर हितेन्द्र शाक्यलाई नियुक्त गर्‍यो ।" यी र यस्तै जनविरोधी कार्य गरेकै कारणले नेपाली जनता राजतन्त्रको पक्षमा देखिएको जस्तो लागेको हो । न त राजा फर्किन्छ न त राजाले यो देश बचाएकै हो, आफ्नो कुर्ची बचाउन नसक्नेले देश बचाउँछ भन्नु आफ्नो वंश समेत बचाउन नसक्नेले जनताको रक्षा गर्छु भन्नु र बिरालोले तुलसीको माला लगाएर शाकाहारी बन्नु जस्तै हो । तर यो देशका मान्छेहरू हजुरको बाबु झै अगाडि जानको लागि पछाडि हट्ने हैन कि पछाडि हट्नको लागि अगाडि बढेजस्तो गर्ने भएकाले मैले जै नहोस् भनेको त्यै हुन पनि बेर छैन । राजा फालेपनि नेपालीको मनमा निगुढ राजतन्त्र अझै हटेको छैन । त्यसैले त नेताहरू अघोषित राजा बने, तीनका धुपौरेहरू कथित भारदार . मलाई राजनीतिक लेखहरू उतिसारो रुचीकर लाग्दैन । तर गुरुको यो लेख अद्योपान्त पढिसकेपछि फेरि विक्रम संवत् २१०० पुनर्लेखन कि जस्तो लाग्यो ।

    ReplyDelete
    Replies
    1. प्रिय गुरू, घरायसी एवं कार्यालयको व्यस्तताका बाबजुद पनि यहाँले जुन प्रेम एवं श्रद्वाका साथ टिप्पणीहरू लेखिपठाउनु हुन्छ, त्यसप्रति म सदा आभारी छु । हजुरले भने झैं र मेलै यस ब्लगपोष्टमा उल्लेख गरे झैं नेताहरूको राजशी ठाँटबाँठले नै नागरिकहरूमा उनीहरूप्रति चरम वितृष्णा पैदा भएको हो । यसमा कुनै सन्देहः छैन् ।

      Delete

Post a Comment

प्रतिक्रिया ब्यक्त गर्दा सभ्य र सुसंस्कृत शैली प्रयोग गर्नका लागि सम्पूर्णमा सविनय अनुरोध गर्दछु ।